The Daily Audio Bible
Today's audio is from the NET. Switch to the NET to read along with the audio.
8 तब परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊन कहाँ जाऊ र भन, परमप्रभु भन्नुहुन्छ, ‘मेरो मानिसहरूलाई मेरो आराधना गर्न जान दिइयोस्। 2 यदि तिमी मेरो मानिसहरूलाई छोडन अस्वीकार गर्छौ, तब म मिश्र देशलाई भ्यागुत्ताहरूले भरिदिनेछु। 3 नील नदी भ्यागुत्ताले भरिनेछ। भ्यागुत्ताहरू नदीबाट आउने छन् अनि तिमीहरूका घरभित्र पस्नेछन्। तिनीहरूको सुत्ने कोठाहरू र ओछ्यानहरू भरि हुनेछन्। भ्यागुत्ताहरू रोटी बनाउने भाँडाहरू अनि अधिकारीहरूका घरहरूमा भरिनेछन्। 4 भ्यागुत्ता तपाईं, तपाईंका मानिसहरू र तपाईंका अधिकारीहरूका वरिपरि हुनेछन।’”
5 तब परमप्रभुले मोशालाई भन्नु भयो, “हारूनलाई आफ्नो टेक्ने लहुरो नदीहरू, खोला, पोखरीमाथि राख्न भन भ्यागुत्ताहरू बाहिर जमीनमा निस्कनेछन्।”
6 यसर्थ हारूनले आफ्नो लहुरो मिश्र देशको पानीमाथि उठाए अनि ती सब पानीबाट भ्यागुत्ताहरू बाहिर निस्केर मिश्रको भूमिमा भरिन थाले।
7 जादूगरहरूले पनि त्यसै गरेर मिश्र देशमा भ्यागुत्ताहरू ल्याए।
8 फिरऊनले मोशा र हारूनलाई बोलाए। फिरऊनले भने, “म र मेरा मानिसहरूबाट भ्यागुत्ताहरू हटाउन भनी परमप्रभुलाई भन, म मानिसहरूलाई आफ्नो परमप्रभु अघिबलि चढाउनु छोडीदिनेछु।”
9 मोशाले फिरऊनलाई भने, “भन्नुहोस् भ्यागुत्ताहरू कहिले जावोस्। म तपाईं, तपाईंका मानिसहरू तथा तपाईंका अधिकारीहरूको निम्ति प्रार्थना गर्नेछु। तब भ्यागुत्ताहरूले तपाईंहरू र तपाईंका घर छोड्ने छन् र नदीमा मात्र रहनेछन्।”
10 फिरऊनले भने, “भोलिसम्म।”
मोशाले भने, “तपाईंले जे भन्नु भयो त्यसै हुनेछ। यसरी तपाईंले जान्नु हुनेछ, त्यहाँ कोही परमप्रभु हाम्रा परमेश्वर जस्तो छैन, 11 भ्यागुत्ताहरूले तपाईं र तपाईंका मानिसहरू र अधिकारीहरूलाई छोडेर जानेछन्, र भ्यागुत्ताहरू नदीमा मात्र रहनेछन्।”
12 मोशा र हारून फिरऊनबाट बिदा लिएर बाहिर निस्के। मोशाले परमप्रभु परमेश्वरले फिरऊनकहाँ पठाएका भ्यागुत्ताको विषयमा चिच्याए र भने। 13 अनि मोशाले प्रार्थनामा गरेको माग परमप्रभुले पूरा गरिदिनु भयो। भ्यागुत्ताहरू घर, आँगन र खेतमा मरे। 14 मरेका भ्यागुत्ताहरू सडेर पूरा देशमा नै दुर्गन्ध चल्न शुरू भयो। 15 फिरऊनले देखे तिनीहरू भ्यागुत्ताहरूबाट मुक्त भए अनि फेरि उनी अट्टेरी भए मोशा र हारूनले जे गर्नु भनेका थिए फिरऊनले गरेनन्। त्यस्तै नै भयो जो परमप्रभुले भन्नु भएको थियो।
जुम्राहरू
16 तब परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन उसले आफ्नो लहुरो उठाएर भूईँको धूलोमा हिर्काओस् अनि धूलो मिश्रमा जता ततै जुम्रामा परिणत हनेछ।”
17 तिनीहरूले त्यसै गरे। हारूनले जमीनको धूलोमाथि आफ्नो लहुरोले हिर्काए अनि धूलो मिश्रको जता ततै जुम्रामा परिणत भयो। जुम्रा पशु र मानिसहरूमा सरे।
18 यसर्थ जादूगरहरूले आफ्नो छल प्रयोग गरेर त्यसरी नै जुम्राहरू उब्जाउने चेष्टा गरे। तर ती जादूगरहरूले धूलोबाट जूम्राहरू बनाउन सकेनन्। जूम्रा मानिसहरू र जनावरहरूमाथि नै रहे। 19 यसर्थ जादूगरहरूले फिरऊनलाई भने यो परमेश्वरको शक्तिले यस्तो भयो। तर फिरऊनले तिनीहरूका कुरा सुन्न मानेनन्। परमप्रभुले जे भन्नु भएको थियो त्यही भयो।
झींगाहरू
20 परमप्रभुले मोशालाई भन्नु भयो, “बिहान उठ अनि फिरऊनकहाँ जाऊ। फिरऊन नदीमा जानेछ। उसलाई भन, परमप्रभु भन्नुहुन्छ, ‘मेरा मानिसहरूलाई मेरो आराधना गर्न जानदेऊ। 21 यदि तपाईंले मेरो मानिसहरूलाई जान दिनु हुन्न भने म झींगाहरू तिमी, तिम्रा अधिकारीहरू र तिम्रा मानिसहरूको विरूद्धमा पठाउनेछु। झींगाहरू तिम्रो र तिम्रा अधिकारीहरूका घरहरूमा जानेछन्। मिश्रका सबै घरहरू झींगाले भरिनेछन्। जमीन पनि झींगाले भरिनेछ। 22 तर इस्राएलहरू र मिश्रका मानिसहरूसित एकै प्रकारको व्यवहार गर्दिनँ गोशेनमा जहाँ मेरा मानिसहरू बस्छन् त्यहाँ झींगा हुनेछैनन्। यसप्रकार तिमीले चाल पाउँने छौ कि म परमप्रभु यस भूमिमा छु। 23 यसर्थ भोलि म अरूलाई भन्दा मेरो मानिसहरूलाई अलग प्रकारले व्यवहार गर्छु। मेरो प्रमाण त्यही हुनेछ।’”
24 त्यसपछि परमप्रभुले जे भन्नु भएको थियो, त्यही भयो। धेरै-धेरै झींगाहरू मिश्रमा आए। फिरऊन र तिनका अधिकारीहरूको घर झींगाले भरिए अनि मिश्र देश भरी नै झींगै-झींगा भए। झींगाहरूले देश नै नष्ट पारिरहेका थिए। 25 त्यसपछि फिरऊनले मोशा र हारूनलाई बोलाएर तिनीहरूलाई भने, “यही भूमिमा तिमीहरूले आफ्नो परमेश्वरलाई बलि चढाओ।”
26 तर मोशाले भने, “यसो गर्नु ठीक हुँदैन। परमप्रभु हाम्रा परमेश्वरलाई पशु बलिदान चढाउँदा मिश्र देशका मानिसहरूले भयानक कुरा हो भनी सम्झन्छन्। यदि यहाँ हामीले बलिदान चढायौं भने मिश्रदेशका मानिसहरूले देख्नेछन् र तिनीहरूले हामीमाथि ढुङ्गा हिर्काउने छन्। 27 हाम्रा परमप्रभु परमेश्वरले आज्ञा गर्नु भए झैं परमप्रभुलाई बलिदान चढाउनु हामीलाई तीन दिन मरुभूमिमा यात्रा गर्नु दिनुहोस्।”
28 यसर्थ फिरऊनले भने, “म परमप्रभु तिमीहरूका परमेश्वरलाई बलि चढाउन मरुभूमिमा जान दिनेछु। तर तिमीहरू ज्यादै टाढा जान पाउँने छैनौ अहिले जाऊ अनि मेरो निम्ति प्रार्थना गर।”
29 मोशाले भने, “म बिदा लिन्छु र भोलिनै तिमी, तिम्रा मानिसहरू र तिम्रा अधिकारीहरूका घरबाट झीगाहरू हटाइ दिनु भनी परमप्रभुसित प्रार्थना गर्नेछु। तिमीले परमप्रभुलाई बलि चढाउनमा मानिसहरूलाई बाधा दिनु हुँदैन।”
30 त्यसपछि मोशाले फिरऊनबाट बिदा लिए अनि परमप्रभुलाई प्रार्थना गरे। 31 मोशाले विन्ती गरे जस्तै नै परमप्रभुले गर्नु भयो। परमप्रभुले फिरऊन, उसका अधिकारीहरू र उसका मानिसहरूका घरहरूबाट झींगाहरू हटाइदिनु भयो। झींगा एउटा पनि रहेन। 32 तर फिरऊन फेरि अट्टेरी भए अनि मानिसहरूलाई जान दिएनन्।
खेतका पशुहरूको रोग
9 तब परमप्रभुले मोशालाई फिरऊनकहाँ गएर यसो भन, “परमप्रभु, हिब्रू मानिसहरूका परमेश्वर भन्नुहुन्छ, ‘मेरा मानिसहरूलाई मेरो आराधना गर्न जान देऊ।’ 2 यदि मेरो मानिसहरूलाई जान दिएनौ र रोकी राख्यौ भने, 3 तब परमप्रभुले आफ्नो शक्ति तिम्रा खेतका पशुहरूमाथि प्रयोग गर्नुहुनेछ। तिम्रा सबै घोडाहरू, गधाहरू, ऊँटहरू, गाई वस्तुहरू अनि भेंडाहरूमाथि भयानक रोगले ग्रस्त हुनेछन्। 4 परमप्रभुले इस्राएलीहरूको र मिश्रीहरूका पशुहरूलाई भिन्दा भिन्दै व्यवहार गर्नु हुनेछ। इस्राएलीहरूका कुनै पशु मर्ने छैनन्। 5 यस्तो अनिष्ट हुने समय परमप्रभुले तोक्नु भएको छ। परमप्रभुले यस्तो विपत्ति यस भूमिमा भोलि ल्याउनु हुनेछ।”
6 परमप्रभुले जे गर्छु भन्नु भएको थियो त्यसै गर्नु भयो। अर्को दिन बिहान मिश्रका सबै पशुहरू मरे। तर इस्राएलीहरूका एउटा पनि पशु मरेनन्। 7 फिरऊनले आफ्नो मानिस इस्राएलीहरूका कुनै पशु मरे कि मरेन पत्तो लगाउन पठायो। तर इस्राएलीहरूका कुनै पशु मरेनन्। फिरऊन अट्टेरी थियो इस्राएली मानिसहरूलाई उसले जानु दिएन।
खट्टिराहरू
8 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “चुल्हाको खरानी हत्केलाभरी लेऊ। मोशा, फिरऊन अधि त्यो खरानी हावामा उडाईदेऊ। 9 त्यो धूलो बनिन्छ र मिश्रको भूमिमाथि उडनेछ। जब धूलोले गर्दा मिश्रका मानिसहरू र पशुहरूलाई छालामा खटिराहरू निस्कनेछन्।”
10 यसर्थ मोशा र हारूनले एउटा भट्टीबाट खरानी लिए अनि फिरऊनको अघि उभिए। मोशाले खरानी हावामा फ्याँकिदिए अनि मानिसहरू तथा पशुहरूको छालामा खटिरा निस्कन थाल्यो। 11 मोशाले गरे जस्तो जादूगरहरूले गर्न सकेनन् कारण तिनीहरू पनि यस रोगले ग्रस्त थिए। यस्तो मिश्र देशमा जता-ततै भयो। 12 तर परमप्रभुले फिरऊनलाई अट्टेरी नै बनाई राख्नु भयो, यसर्थ मोशा र हारूनका कुरा सुन्न उसले अस्वीकार गर्यो। परमप्रभुले मोशालाई भन्नु जस्तै नै भयो।
असिना
13 तब परमप्रभुले मोशालाई भन्नुभयो, “बिहान चाँडै उठ अनि फिरऊनकहाँ जाऊ। उसलाई भन, ‘परमप्रभु हिब्रू मानिसहरूका परमेश्वर भन्नुहुन्छ, “मेरा मानिसहरूलाई जान देऊ तिनीहरूले मेरो आराधना गरून।” 14 यदि मेरा मानिसहरूलाई यसो गर्न दिएनौ भने म मेरो सम्पूर्ण शक्ति तिमी, तिम्रा मानिसहरू अनि तिम्रा अधिकारीहरूमाथि प्रयोग गर्नेछु। तब तिमीले जान्ने छौ संसारमा म जस्तो परमेश्वर अरू छैन। 15 तिमी र तिम्रा मानिसहरूलाई यस भूमिबाट बाहिर ल्याउन म मेरो शक्ति प्रयोग गर्न सक्छु। 16 तर मैले तिमीलाई मेरो शक्ति प्रकटको निम्ति राखेको हुँ। यसो गर्दा संसारका मानिसहरूले मेरो विषयमा बुझ्ने छन्। 17 तिमी अझै पनि मेरो मानिसहरूको विरोधमा छौ कारण तिमीले अझसम्म मुक्ति दिएका छैनौं। 18 यसर्थ भोलि यही समयमा अत्यन्तै नराम्रो असिना पार्नेछु। यस प्रकारको असिना मिश्र एउटा राष्ट्र बनिएदेखि कहिल्यै परेको थिएन। 19 अब, तिमीले आफ्नो पशुहरूलाई सुरक्षित ठाउँमा राख्नुपर्छ। प्रत्येक तिम्रो चीच जो अहिले खेतमा छ, त्यो तिमीले सुरक्षित ठाउँमा राख्नुपर्छ। किनभने मानिस होस् अथवा पशु जे पनि खेतमा हुन्छ त्यसलाई मारिनेछ। तिम्रो घर भित्र नराखिएको कुनै पनि वस्तुमाथि असिना पर्नेछ।’”
20 फिरऊनका केही अधिकारीहरू ज-जसले परमप्रभुको वचनलाई आदर गरेका थिए, तिनीहरूले आफ्नो पशुहरू र कमारा-कमारीहरू घरभित्र राखे। 21 तर अरू मानिसहरूले परमप्रभुको वचन ध्यान दिएका थिएनन् तिनीहरूका पशुहरू अनि कमारा-कमारीहरू खेतमा नै छोडी दिए।
22 परमप्रभुले मोशालाई भननु भयो, “तिम्रो पाखुरा हावामामाथि उठाऊ अनि मिश्रभरी असिना पर्न शुरू हुनेछ। मिश्रमा प्रत्येक मानिस, पशु र उद्भिदमाथि असिना पर्नेछ।”
23 तब मोशाले आफ्नो लहुरो हावामा उठाए अनि परमप्रभुले बिजुली गर्जन र असिनाहरू मिश्रमाथि पठाउनु भयो। 24 असिना परिरहेको थियो र सँग-सँगै बिजुली पनि चम्किरहेको थियो। मिश्र एउटा राष्ट्र भए पछि सब भन्दा बढी असिना परेको यही थियो। 25 मिश्रका सबै मानिसहरू, पशु अनि उद्भिद आँधी-बेरीले ध्वंश पार्यो। असिनाले खेतका रूखहरू पनि भाँचिदियो। 26 असिना नपरेको ठाउँ चाँहि गोशेन मात्र थियो जहाँ इस्राएलका मानिसहरू बस्थे।
27 फिरऊनले मोशा र हारूनलाई बोलाए। तिनीहरूलाई भने, “यस पल्ट मैले पाप गरेकोछु। परमप्रभु सही हुनुहुन्छ। म र मेरा मानिसहरू गलत छौं। 28 परमेश्वरद्वारा परेको असिना अनि गर्जन एकदमै बेशी भयो। परमेश्वरसित आँधी थाम्नको निम्ति प्रार्थना गर, म तिमीहरूलाई जान दिनेछु। तिमीहरूले यहाँ बस्नु पर्ने छैन।”
29 मोशाले फिरऊनलाई भने, “जब म शहर छोडछु, म मेरो पाखुरा परमप्रभुसँगको प्रार्थनामा उठाउँनेछु गर्जन र असिना पर्न रोकिनेछ। तब तिमीलाई थाहा हुनेछ परमप्रभु यो भूमिमा हुनुहुन्छ। 30 तर म जान्दछु तिमी अनि तिम्रा अधिकारीहरू अझै पनि परमप्रभु परमेश्वरसित डराएका छैनौ अनि सम्मान गर्दैनौ।”
31 पातमा बिउहरू लागि सकेको थियो अनि जौंमा फूल फूलिसकेको थियो। यसकारण यो उद्भिदहरू नष्ट भयो। 32 गहूँ र कठिया गहूँ अरू अन्नहरू भन्दा ढिलो उम्रन्छ यसकारण यो नष्ट भएन।
33 मोशाले फिरऊनबाट विदा लिए अनि शहर बाहिर गए। उनले आफ्नो हात प्रार्थनामा उठाए गर्जन र असिना रोकियो अनि त्यसपछि पानी पर्न थामियो।
34 जब फिरऊनले असिना पानी अनि गर्जन रोकिएको देखे उनले फेरि परमेश्वरको विरूद्ध पाप गरे, फिरऊन र उसका अधिकारीहरू अट्टेरी भए। 35 उनले इस्राएलका मानिसहरूलाई स्वतन्त्रता गर्नु अस्वीकार गरे। परमेश्वरले मोशालाई जे भन्नु भएको थियो त्यो पूरा भयो।
येशूद्वारा बालकहरूको स्वागत
(मर्कूस 10:13-16; लूका 18:15-17)
13 त्यसपछि मानिसहरू आफ्ना बाल-बालिकहरूलाई लिएर येशूकहाँ गए ताकि उहाँले तिनीहरू माथि आफ्ना हात राखेर प्रार्थना गरिदिनु भएको चाहन्थे। जब उहाँका चेलाहरूले यो देखे, तिनीहरूले मानिसहरूलाई हप्काएर त्यसो गर्न दिएनन्। 14 तर येशूले भन्नुभयो, “स-साना बालकहरूलाई मकहाँ आउन नरोक। किनभने स्वर्गको राज्य यी साना बालकहरू जस्तै मानिसहरूको हो” 15 त्यसपछि तिनीहरूमाथि हात राखेर येशू त्यहाँबाट जानुभयो।
धनी मानिसबाट येशूलाई ग्रहन गर्न अस्वीकार
(मर्कूस 10:17-31; लूका 18:18-30)
16 एउटा मानिस येशूकहाँ आएर सोध्यो, “गुरूज्यू, अनन्त जीवन प्राप्त गर्नका लागि मैले के गर्नु पर्छ?”
17 येशूले जवाफ दिनूभयो, “असल के हो? मलाई किन यसरी सोध्दैछौ? परमेश्वर मात्र असल हुनुहुन्छ। यदि तिमी अनन्त जीवन पाउन चाहन्छौ भने, तिमीले आज्ञाहरू पालन गर्नु पर्दछ।”
18 त्यस मानिसले सोध्यो, “कुन आज्ञाहरू?”
येशूले जवाफ दिनुभयो, “‘कसैको हत्या नगर, कसैसित व्यभिचार नगर, झूटो गवाही नदेऊ, अरूको निन्दा गर्नु हुँदैन, 19 आफ्ना आमा-बाबुको आदर गर।’(A) अनि ‘आफैंलाईं प्रेम गरे जस्तो अरूलाई पनि प्रेम गर।’(B)”
20 त्यो जवान मानिसले भने, “मैले यी सब आज्ञाहरू पालन गरेको छु। अब अरू मैले के गर्नु पर्छ?”
21 येशूले भन्नुभयो, “यदि तिमी सिद्ध हुन चाहन्छौ भने, आफूमा भएको जे जति चीजहरू छन् त्यो बीक्री गर। त्यसबाट आएको पैसा-रूपीयाँ गरीबाहरूलाई बाँढ। तिमीले त्यसो गर्यौ भने तिमीले स्वर्गमा भएको सम्पत्ति प्राप्त गर्नेछौ। तब तिमी आएर मेरो पछि लाग।”
22 तर यो कुरा सुनेर त्यो जवान मानिस खुबै निराश भयो किनभने त्यो धनी मानिस थियो। यसर्थ ऊ येशूलाई छोडेर गइहाल्यो।
23 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। एउटा धनी मानिसलाई स्वर्गको राज्यमा पस्न खुबै कठिन हुन्छ। 24 धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नु भन्दा बरू ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो पर्नेछ।”
25 जब चेलाहरूले यस्ता कुरा सुने, तिनीहरू खूबै चकित भए। तिनीहरूले सोधे, “यदि यस्तो भए कसले उद्धार पाउन सक्छ त?”
26 येशूले चेलाहरूलाई हेरेर भन्नुभयो, “मानिसहरूको निम्ति यो असम्भव छ। तर परमेश्वरको निम्ति हरेक कुरा सम्भव छ।”
27 पत्रुसले येशूलाई भने, “हामीले आफूसित भएका प्रत्येक कुरा त्यागेर तपाईंको पछि लाग्यौं। त्यसो भए हामीले के पाउनेछौ।”
28 येशूले चेलाहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। जब नयाँ संसारको सृष्टि हुनेछ, मानिसको पुत्र त्यो महान सिंहासनमा बस्नेछ। अनि तिमीहरू पनि इस्राएलका बाह्र कुलमाथि इन्साफ गर्दै बाह्रवटा सिंहासनहरूमा बस्नेछौ। 29 अनि ती जस-जसले मेरो निम्ति आफ्नो घर, दाज्यू-भाइ, दिदी-बहिनी, बाबु-आमा, छोरा-छोरीहरू, अनि जग्गा-जमीनहरू छोडेका छन् तिनीहरूले छोडेको भन्दा धेरै पाउनेछन्। तिनीहरूले अनन्त जीवन पाउनेछन्। 30 अहीले उच्च ओहोदामा पुगेकाहरू सबैले भविष्यमा होचो स्थान पाउनेछन्। धेरै जसो जो निम्न स्थानमा परेका छन् भविष्यमा उच्च ओहोदामा पुग्नेछन्।
दाऊदको भजन।
1 पृथ्वी र त्यसमा भएका सबै थोकहरू परमेश्वरका सम्पत्ति हुन्।
यो संसार र यसका सबै मानिसहरू उहाँकै सम्पत्ति हुन्।
2 परमप्रभुले पानीमाथि पृथ्वी बनाउनु भयो
उहाँले यसलाई नदीहरूमा बसाउनु भयो।
3 परमप्रभुको पर्वतमाथि को जान सक्छ?
उठेर परमप्रभुको पवित्र मन्दिरमा उपासना गर्न को सक्छ?
4 मानिसहरू जसले पाप कर्महरू गरेका छैनन्
मानिसहरू जसका शुद्ध हृदयहरू छन्।
मानिसहरू जसले सत्य भनेर झूट बोल्नलाई मेरो नाउँ प्रयोग गरेका छैनन्।
अनि जसले झूटो बोलेनन् र झूटा कसमहरू खाएका छैनन्, तिनीहरूले मात्र त्यहाँ उपासना गर्न सक्छन्।
5 असल मानिसहरूले मात्र अन्य मानिसहरूलाई पनि आशीर्वाद दिइयोस् भनी परमप्रभुलाई प्रार्थना गर्छन्।
ती असल मानिसहरूले आफ्ना परमेश्वर, आफ्ना उद्धारकलाई असल कुराहरू गरिदिनु होस् भनी याचना गर्छन्।
6 ती असल मानिसहरूले परमेश्वरलाई पछ्याउने कोशिश गर्दछन्।
तिनीहरू सहयोग माग्न याकूबका परमेश्वर कहाँ जान्छन्।
7 हे मूल प्रवेश-द्वारहरू आफ्ना टाउकाहरू उठाऊ।
सनातनका द्वारहरू, खोल,
अनि महिमापूर्ण राजा भित्र आउनु हुनेछ।
8 महिमाका महाराज को हुनुहुन्छ?
परमप्रभु नै ती राजा हुन्, उहाँ शक्तिशाली सिपाही हुनुहुन्छ।
परमप्रभु उही राजा हुनुहुन्छ, उहाँ पराक्रमी हुनुहुन्छ।
9 हे मूल प्रवेश-द्वारहरू, आफ्ना टाउकाहरू उठाऊ।
सनातनका द्वारहरू खुल्ला होऊ,
र महिमापूर्ण महाराजा भित्र आउनु हुनेछ।
10 यो महिमाका महाराजा को हुनुहुन्छ?
सर्वशक्तिमान् परमप्रभु नै महाराजा हुनुहुन्छ, उहाँ नै महिमाका राजा हुनुहुन्छ।
कुनै मानिसलाई ऋण लिन सहायता गर्दा खतरा
6 हे मेरो छोरो! यदि तिमी छिमेकीको ऋणको लागि जमानी बसेको भए अथवा त्यसले आफ्नो ऋण तिर्न नसकेकोमा आफूले तिर्ने वचन दिएको भए, 2 तिमी तब जालमा फँस्यौ, तिमी आफ्नै प्रतिज्ञामा आफैं पक्राउ पर्यौ। 3 तिमी तिम्रै छिमेकीको नियन्त्रणमा पर्यौ, यसकारण फेरि पनि जाऊ अनि तिम्रो छिमेकिसँग क्षमा माग। 4 अलिकति समय पनि नपर्ख अथवा नसुत। 5 मृग एउटा सिकारीबाट भागे झैं अथवा त्यो एउटा चरा जालबाट उम्के झैं तिमी आफैंलाई रक्षा गर।
© 2004, 2010 Bible League International