Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CEB. Switch to the CEB to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उत्पत्ति 50:1 - प्रस्थान 2:10

याकूबको दाह-सँस्कार

50 जब याकूबको मृत्यु भयो यूसुफ खुबै दुःखी भए। तिनले आफ्नो बाबुलाई अँगाले हालेर रूदै म्वाई खाए। यूसुफले आफ्ना सेवकहरूलाई आफ्नो बाबुको अन्तिम संस्कारको निम्ति तयार पार्न आज्ञा दिए। (ती सेवकहरू वैद्यहरू थिए।) ती वैद्यहरूले याकूबको शरीर अन्तिम संस्कारको निम्ति तयार पारे। तिनीहरूले याकूबको मृत शरीर मिश्र देशवासीहरूका विशेष नियम अनुसार तयार पारे। मिश्रीहरूले इस्राएलको लागि 70 दिन सम्म शोक गरे। तिनको शरीर तयार गर्ने समय 40 दिन भित्र पूरा भयो। शोकको पूरा समय पछि। यूसुफ फिरऊन कहाँ गए।

सत्तरी दिनपछि शोक समय सकियो र यूसुफले फिरऊनका अधिकारीहरूसँग कुरा गरे। यूसुफले भने, “फिरऊनलाई यो कुरो भनीदिनु। ‘मेरा बाबुको मृत्यु हुनअघि, मैले तिनलाई एउटा वचन दिएको थिएँ। मैले प्रतिज्ञा गरेको थिएँ म तिनलाई कनान भूमिमा दफन गर्नेछु। त्यो उनले आफ्नो निम्ति तयार पारेको ओडार हो। यसर्थ मेरा बाबुको अन्तिम संस्कार गर्न मलाई त्यहाँ जानु दिनु होस्। त्यसपछि म तपाईं कहाँ फर्केर आउने छु।’”

फिरऊनले उत्तर दिए, “आफ्नो प्रतिज्ञा पालन गर। जाऊ अनि बाबुको अन्तिम संस्कार गर।”

यसकारण यूसुफ आफ्नो बाबुको अन्तिम संस्कार गर्न गए। फिरऊनका अधिकारीहरू, फिरऊनका अग्रजहरू अनि मिश्रका अग्रजहरू समस्त यूसुफसित गए। तिनीसित आफ्ना सबै दाज्यू-भाइहरू अनि तिनका बाबुका समस्त परिवारका मानिसहरू गए। गोशेन भूमिमा खाली नानीहरू र पशुहरू मात्र थिए। मानिसहरूको त्यहाँ एउटा विशाल घुइँचो भयो। त्यहाँ रथहरूमा र घोडसवार भएका सिपाहीहरू पनि थिए।

10 तिनीहरू यर्दन नदीको पूर्व गोरेन आतादमा गए। तब तिनीहरू यर्दन नदीको पूर्वतिर आतादको खलामा पुगे। तिनीहरूले एउटा ठूलो अनि शोकपूर्ण अन्तिम संस्कार गरे। अनि त्यहाँ यूसुफले सात दिनसम्म आफ्नो बुबाको मृत्यु शोक पालन गरे। 11 जब कनान देशका मानिसहरू जो त्यस आताद खलामा थिए, तिनीहरूले भने, “मिश्र देशवासीहरू कति गहिरो शोक पालन गरिरहेका छन्।” यसर्थ तिनीहरूले त्यस भूमिको नाउँ हाबिल-मिश्रइम राखे।

12 यसर्थ याकूबका छोराहरूले आफ्ना बाबुले जे भनेका थिए त्यही गरे। 13 तिनीहरूले बुबाको मृत शरीर कनान देशमा ल्याए अनि उसलाई त्यस ओडारमा गाडे जो मकपेला क्षेत्रमा छ अनि जसलाई अब्राहामद्वारा माम्रे नजिक हित्ती, एप्रोनबाट आफ्नो चिहानको लागि उपयोग गर्न किनिएको थियो। 14 आफ्नो बुबाको मृत शरीर गाडे पछि यूसुफ सबै मानिसहरूसँगै मिश्र फर्किए जो तिनीसँग गएका थिए।

दाज्यू-भाइहरू यूसुफसित अझै डराइरहे

15 याकूबको मृत्यु पछि यूसुफका दाज्यू-भाइहरू चिन्तित भए। तिनीहरूले धेरै बर्षअघि यूसुफसित गरेको कर्मको निम्ति तिनीहरू डराए। तिनीहरूले भने, “हुन सक्छ, हामीले गरेको कर्मको निम्ति यूसुफले अझसम्म हामीलाई घृणा गर्छ।” 16 यसर्थ उसका दाज्यू-भाइहरूले उसलाई यो संदेश पठाए, “तिम्रो बुबा मर्नु अघि उहाँ आफैंले यो संदेश तिमीलाई दिनु भनी हामीलाई भन्नु भएको थियो। 17 उनले भने, ‘दाज्यू-भाइहरूले तिमीसित गरेको कुकर्मको निम्ति क्षमा दिनु भनी म बिन्ती गर्दछु।’ यसर्थ, यूसुफ, हामीले तिमीसित गरेको कुकर्मको निम्ति दया गरी हामीलाई क्षमा गर। हामी तपाईंका बुबाको परमेश्वरका दासहरू हौं।”

त्यस समाचारले यूसुफलाई साह्रै दुःखी तुल्यायो, अनि तिनी खुबै रोए। 18 तिनका दाज्यू-भाइहरू तिनीकहाँ गए अनि तिनी अघि निहुरिएर भने, “हामी तपाईंका दास हुनेछौं।”

19 तब यूसुफले तिनीहरूलाई भने, “नडराओ। म परमेश्वर होइन। तिमीहरूलाई दण्ड दिने मेरो कुनै अधिकार छैन। 20 यो सत्य हो तिमीहरूले मेरो विरूद्धमा हानि गर्ने योजना गरेका थियौ। तर वास्तवमा, परमेश्वरले राम्रोको निम्ति योजना बनाउनु भएको थियो। परमेश्वरको योजना अनुसार धेरै मानिसहरूको जीवन बचाउँन मलाई प्रयोग गर्नु थियो। अनि उहाँको योजना जस्तो थियो त्यस्तै भयो। 21 यसर्थ तिमीहरू नडराओ। म तिमीहरू र तिमीहरूका नानीहरूको हेरचाह गर्नेछु।” यसरी यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई राम्रा कुराहरू भने। यसले दाज्यू-भाइहरूले धेरै शान्ति पाए।

22 यूसुफ उनको परिवारसित मिश्रमा बसे। यूसुफ एक सय दश बर्ष पुगेर मरे। 23 यूसुफकै जीवन कालमा एप्रैमको छोरा-छोरी तथा नाति-नातिनीहरू जन्मेका थिए। अनि तिनको छोरो मनश्शेबाट छोरो जन्मियो जसको नाउँ माकीर थियो। यूसुफ माकीरका नानीहरूको मुख हेर्न बाँचिरहे।

यूसुफको मृत्य

24 जब यूसुफको मर्ने बेला भएको थियो, उनले आफ्ना दाज्यू-भाइहरूलाई भने, “प्रायः मेरो मृत्युको समय भयो। तर म जान्दछु परमेश्वरले तिमीहरूको हेरचाह गर्नु हुनेछ, अनि यस देशबाट बाहिर लैजानु हुनेछ। परमेश्वरले अब्राहाम, इसहाक र याकूबलाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा तिमीहरूलाई लैजानु हुनेछ।”

25 तब यूसुफले मानिसहरूलाई एउटा प्रतिज्ञा गर्नु लगाए। उनले भने, “जब परमेश्वरले तिमीहरूलाई त्यो नयाँ भूमिमा लानु हुनेछ त्यस बेला मेरा अस्थिहरू तिमीहरूसित लिएर जानेछौं भनी प्रतिज्ञा गर।”

26 यूसुफ जब एक सय दश बर्ष पुगेपछि तिनको मृत्यु भयो। अन्तिम संस्कारको निम्ति वैद्यहरूले तिनको लाश तयार पारे अनि तिनको शरीरलाई मिश्रमा एउटा कफनमा राखे।

मिश्रदेशमा याकूबको परिवार

याकूबले आफ्ना छोराहरूसित मिश्रदेशतिर यात्रा गरे अनि तिनका प्रत्येक छोराहरूका आफ्नो-आफ्नो परिवार थिए। इस्राएलका छोराहरू यिनीहरू नै हुन्: रूबेन, शिमोन, लेवी, यहूदा, इस्साकार, जबूलून, बिन्यामीन, दान, नप्ताली, गाद र आशेर। याकूबका आफ्नै परिवारका जम्मा सन्तानहरू सत्तरी जना थिए। यूसुफ याकूबका बाह्रजना छोराहरू मध्ये एकजना थिए (तर तिनी पहिलेदेखि नै मिश्रमा थिए।)

यूसुफ, उनका दाज्यू-भाइहरू अनि त्यस पुस्ताका सबै मानिसहरूको मृत्यु भयो। तर इस्राएलका मानिसहरूका धेरै बाल-बच्चाहरू थिए अनि तिनीहरूका सन्तान बढि नै रहे। इस्राएलका मानिसहरू शक्तिशाली भए र इस्राएलीहरूले नै मिश्र देश भरियो।

इस्राएलका मानिसहरूको दुःख

तब नयाँ राजाले मिश्रदेशमा शासन गर्न थाले। त्यो राजाले यूसुफलाई चिन्दैन थिए। त्यो राजाले आफ्ना मानिसहरूलाई भने, “इस्राएलका मानिसहरूलाई हेर, तिनीहरू विशाल संख्यामा छन् र हामीभन्दा बलिया पनि छन्। 10 यी इस्राएलीहरूको संख्या वृद्धिमा अंकुशे लगाउन हामीले केही योजनाहरू बनाउनु पर्छ। यदि हामीसित कसैले लडाइँ गरे यी इस्राएलीहरू शत्रु पक्षपट्टि लाग्न सक्छन्। अनि तिनीहरूले हामीलाई जितेर हामीबाट उम्कन सक्छन्।”

11 मिश्रीहरूले इस्राएलीहरूको जीवन कष्टपूर्ण पार्ने निर्णय गरे। यसर्थ मिश्रीहरूले इस्राएलीहरूमाथि कमारा-स्वामीहरू नियुक्त गरे। ती स्वामीहरूले फिरऊनको निम्ति पिताम र रामसेस शहरहरू बनाउन ती इस्राएलीहरूलाई जोर लगाए। राजाले यी शहरहरू अन्न र अरू चीजहरू राख्न प्रयोग गरे।

12 मिश्रीहरूले इस्राएलीहरूलाई कठिन-कठिन कामहरू गर्न लगाउन थाले, तर जति तिनीहरूलाई काममा लगाइन्थ्यो त्यति नै तिनीहरूको संख्या बढथ्यो अनि फैलिन्थे। अनि मिश्रीहरू इस्राएलीहरूसँग अझै डराउन थाले। 13 यसर्थ तिनीहरूलाई मिश्रीहरूले अझ कठिन कामहरू गर्न लगाए।

14 मिश्रीहरूले इस्राएलीहरूको जीवन कठिन बनाइ दिए। मिश्रीहरूले इस्राएलीहरूलाई ईंटा र त्यसको मसला बनाउँने जस्ता कठिन काम गर्न वाध्य गराए। तिनीहरूलाई खेतमा पनि कठिन काम गर्न वाध्य गराए। तिनीहरूलाई खेतमा पनि कठिन कामहरू गर्न जोर दिए। तिनीहरूले गर्ने प्रत्येक काममा नै इस्राएलीहरूलाई सह्रै अप्ठयारोमा पारे।

सेविकाहरू जसले परमेश्वरलाई पछ्याए

15 हिब्रू स्त्रीहरूले नानी जन्माउने समयमा हेरचाह गर्ने त्यहाँ दुइजना सुँडेनीहरू थिए। तिनीहरूको नाउँ शिप्रा र पूआ थियो। मिश्रदेशका राजाले ती दुइ सुँडेनीसँग कुरा गरे। 16 राजाले तिनीहरूलाई भने, “जब तिमीहरूले एउटा हिब्रू स्त्रीहरूलाई नानी जन्माउनमा सहायता गर्नेछौ, यदि छोरी जन्मेछ भने उसलाई बाँच्न देऊ। तर यदि छोरा जन्मिछ भने तब त्यसलाई अवश्य मारिदेऊ।”

17 तर ती सुँडेनीहरूले परमेश्वरलाई सम्मान गर्थे। यसकारण तिनीहरूले राजाको हुकुम पालन नगरी, जन्मेका बालकहरूलाई बाँच्न दिए।

18 तब राजाले ती सुँडेनीहरूलाई बोलाए र तिनीहरूलाई भने, “तिमीहरूले यस्तो किन गर्यौ? तिमीहरूले बालकहरूलाई किन बाँच्न दियौ? यसो किन गर्यौ?”

19 सुँडेनीहरूले फिरऊनलाई उत्तर दिए, “महाराज! हिब्रू स्त्रीहरू मिश्री स्त्रीहरूभन्दा ज्यादै बलिया छन्। हामीहरू तिनीहरूलाई सहायता गर्न पुग्नअघिनै नानी जन्माइसकेका हुन्छन्।” 20-21 परमेश्वर सुँडेनीहरूसित खुशी हुनुहुन्थ्यो, यसकारण परमेश्वर तिनीहरू प्रति राम्रो हुनुहुन्थ्यो, उहाँले तिनीहरूलाई आफ्नै परिवारहरू बनाउने अनुमति दिनुभयो।

हिब्रू मानिसहरूका धैरे नानीहरू हुँदै गए अनि तिनीहरू साह्रै शक्तिशाली भए। 22 यसकारण राजा फिरऊनले आफ्ना सबै मानिसहरूलाई आदेश दिए, “सबै बालिकाहरूलाई बाँच्न देऊ। तर जब प्रत्येक पल्ट बालक जन्मन्छ तिमीहरूले उसलाई नील नदीमा अवश्यै फ्याँक्नु पर्छ।”

शिशु मोशा

एकजना मानिस जो लेवी कुलका थिए, तिनले लेवी कुलकै एउटी आइमाईलाई विवाह गरे। त्यो महिला गर्भवती भई अनि छोरा जन्माई। त्यो बालक अत्यन्त सुन्दर थियो। यसर्थ उसकी आमाले उसलाई तीन महीनासम्म लुकाएर राखी। जब उनले त्यसलाई अझ लामो समयसम्म लुकाउन सकिन उसले एउटा डालो बनाई अनि त्यसलाई अलकत्राले लिपि कारण यसो गर्दा त्यो पानीमा बग्थ्यो, उसले त्यो बालकलाई डालो भित्र हाली अनि डालो निगालोधारी बीच नील नदीको छेउमा राखी। त्यस नानीकी दिदीले बालकलाई के हुँदो रहेछ भनेर हेर्नको निम्ति केही टाढा बसी।

जब फिरऊनकी छोरी नील नदीमा नुहाउन आइन् तिनकी सेवीकाहरू नील नदीको छेउमा हिंडे, फिरऊनकी छोरीले डालो अग्ला निगालो घारिको बीचमा देखिन्। यसर्थ तिनले त्यो डालो ल्याउन तिनीहरू मध्ये एकजनालाई अह्राइन्। राजकुमारीले ती डालो खोलिन् र त्यसभित्र एउटा बालकलाई रोइरहेको पाइन्। बालक रोइरहेकोमा त्यो राजकुमारी दुःखी भइन्। त्यसपछि तिनले थाहा पाइन् कि त्यो बालक कुनै हिब्रूको हो।

त्यस बालककी दिदीले फिरऊनको छोरीलाई सोधी, “म एउटी हिब्रू आइमाईलाई खोजूँ जसले यो नानीलाई तपाईंको निम्ति स्याहार सुसार गर्न सक्छे?”

फिरऊनकी छोरीले भनी, “हुन्छ, ल्याई देऊ।”

यसर्थ त्यो केटी गएर त्यस नानीकी आफ्नै आमालाई लिएर आई।

फिरऊनकी छोरीले नानीकी आमालाई भनी, “यो नानी लैजाऊ अनि यसलाई हेरचाह गर र म तिमीलाई त्यसका निम्ति ज्याला दिनेछु।”

तब आइमाईले नानीलाई लगी र उसलाई हेरचाह गरी। 10 त्यो नानी हुर्कियो अनि केही समयपछि त्यस आइमाईले राजकुमारीलाई नानी दिई। त्यो राजकुमारीले नानी ग्रहण गरी अनि त्यो नानीलाई उसले पानीबाट तानेर निकालेको हुनाले त्यसको नाउँ मोशा राखी।

मत्ती 16:13-17:9

येशू नै ख्रीष्ट हुनुहुन्छ पत्रुस भन्छन्

(मर्कूस 8:27-30; लूका 9:18-21)

13 जब येशू सिजरिया फिलिप्पीका इलाकामा पुग्नुभयो। उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “म मानिसको पुत्र हुँ। मानिसहरू मलाई को हो भन्छन्?”

14 चेलाहरूले जवाफ दिए, “कसैले तपाईंलाई बप्तिस्मा दिने यूहन्ना हुन् भन्दछन्। कसैले तपाईंलाई एलिया हुन् भन्दछन्। अनि कसैले तपाईंलाई यर्मिया अथवा कुनै अगमवक्ताहरू मध्ये एकजना ठान्छन्।”

15 तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू चाहिं मलाई को हो भन्छौ?”

16 शिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र।”

17 येशूले भन्नुभयो, “तिमी धन्य हौ, हे योनाको छोरो शिमोन। कुनै पनि मानव जातिले तिमीलाई यो सिकाएको होइन। स्वर्गमा भएका मेरा पिताले तिमीलाई प्रकाश गरिदिनुभएको हो। 18 यसैले म भन्दछु, तिमी पत्रुस हौ। अनि म मेरो मण्डली यो चट्टानमाथि बनाउनेछु। मेरो मण्डलीलाई हराउन मृत्युको शक्तिहरू सामर्थ हुनेछैनन्। 19 म स्वर्गका साँच्चोहरू (चाबी) तिमीहरूलाई दिनेछु। जब तिमी यो पृथ्वीमा न्यायका लागि बोल्नेछौ तब त्यो न्याय परमेश्वरको न्याय हुनेछ। जब तिमीले यो पृथ्वीमा कसैलाई क्षमा दिनेछौ तब त्यो क्षमा परमेश्वरको क्षमा हुनेछ।”

20 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई कसैलाई पनि उहाँ ख्रीष्ट हुनुहुन्छ भनि नभन्नु भनी चेताउनी दिनुभयो।

आफूले मर्नुपर्छ भनी येशू बताउनहुन्छ

(मर्कूस 8:31–9:1; लूका 9:22-27)

21 त्यसै बेलादेखि येशूले आफ्ना चेलाहरूलाई आफू यरूशलेम जान पर्नेछ भनेर प्रष्ट पार्न थाल्नुभयो। अनि यहूदीहरूका अग्रज प्रमुखहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाका शास्त्रीहरूले उहाँलाई धेरै यातना दिनेछन्। येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो कि उहाँलाई मारिनु नै पर्नेछ। अनि उहाँ तेस्रो दिनमा मृत्युबाट बौरी उठ्नु हुनेछ।

22 येशूलाई एक्लै एकातिर लगेर टिका टिप्पणी गर्न लागे। पत्रुसले भने, “परमेश्वरले तपाईंलाई यस्ता कुराबाट बचाउँनु हुनेछ, हे परमप्रभु तपाईं माथि यस्ता कुराहरू आउने छैनन्।”

23 तब येशूले पत्रुसतिर फर्केर भन्नुभयो, “तिमी म देखि टाढो जाऊ, शैतान! मेरो पक्षमा छैनौ। परमेश्वरले सोच्नु भएको जस्तो तिमीले सोच्दैनौ। तिमी मानिसहरूले सोचे जस्तैसोच्छौ।”

24 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहान्छ भने उसले आफूलाई चाहिएको चीजहरू प्रति अस्वीकार गर्नु पर्छ। उसलाई प्रदान गरीएको क्रूस उसले स्वीकार गर्नै पर्छ अनि त्यसपछि मलाई उसले पछ्याउनु पर्छ। 25 जसले आफ्नो जीवन बचाउन चाहन्छ उसले त्यो गुमाउँछ अनि जसले मेरो निम्ति जीवन गुमाउँछ उसले यसको रक्षागर्छ। 26 यदि कुनै मानिसले सबै संसार हात पर्छ तर आफ्नै जीवन गुमाउँछ भने उसलाई के लाभ हुन्छ? आफ्नो जीवन प्राप्त गर्नलाई कुनै मानिसले के दिनसक्छ? 27 आफ्ना पिताको महिमासित मानिसको पुत्र आफ्ना दूतहरूसँग आउनेछ। त्यसबेला मानिसका पुत्रले प्रत्येकलाई आफ्नो कामको निम्ति इनामहरू दिनेछ। 28 तिमीहरूलाइ साँच्चो भन्दछु। कोही मानिस जो यहाँ उभिरहेको छ, त्यसले आफ्नो मृत्यु हुनु भन्दा अघि मानिसका पुत्रको राज्य आएको देख्नेछन्।”

येशू मोशा र एलियासँग देखिनु हुन्छ

(मर्कूस 9:2-13; लूका 9:28-36)

17 त्यसको छ दिनपछि, येशू आफूसँग पत्रुस, याकूब अनि यूहन्ना (याकूबको दाज्यू) लाई लिएर एउटा अग्लो पर्वततिर लाग्नु भयो। तिनीहरू सुनसान ठाउँमा थिए। तिनिहरूको आँखा अघि, येशू परिर्वतन हुनुभयो। उहाँको मुहार घाम जस्तै चम्किलो भयो। अनि उहाँको पहिरन ज्योति जस्तै चम्किलो भयो। तब तिनीहरूले दुइजना मानिसहरूलाई येशूसँग बातचीत गरीरहेका देखे। तिनीहरू मोशा र एलिया थिए।

पत्रुसले येशूलाई भने, “प्रभु, यो उत्तम हो कि हामी यहाँ छौं। यो उत्तम हो यदि तपाईं इच्छा गर्नुहुन्छ भने म यहाँ तीनवटा आश्रयहरू निर्माण गर्नेछु, एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति अनि एउटा चाहिँ एलियाको निम्ति।”

जब पत्रुस कुरा गरिरहेका थिए, एक्कासि एक उज्यालो बादलले तिनीहरूलाई ढाकिहाल्यो। बादलबाट एउटा आवाज आयो। आवाज यस्तो थियो, “यी मेरा पुत्र हुन् अनि म यिनलाई प्रेम गर्दछु। म यिनीसित अति प्रसन्न छु। यिनको आज्ञा मान।”

चेलाहरूले त्यो आवाज सुने। तिनीहरू खुबै डराए, अनि तिनीहरू घोप्टो परे। तर येशू आफ्ना चेलाहरूकहाँ आउनुभयो। अनि तिनीहरूलाई छुनु भयो। उहाँले भन्नुभयो, “उठ। तिमीहरू डराउनु पर्दैन।” चेलाहरूले पुलुक्क हेरे, तर कसैलाई देखेनन्। त्यहाँ येशू मात्र हुनुहुन्थ्यो।

येशू र उहाँका चेलाहरू पहाडबाट ओर्लंदै थिए। उहाँले चेलाहरूलाई आज्ञा दिनुभयो, “पहाडमा तिमीहरूले देखेको त्यस घट्नाहरूको बारे मानिसको पुत्र मृत्युबाट बौरी नउठे सम्म कसैलाई केही नभन्नु। त्यसपछिमात्र तिमीहरूले देखेका कुराहरू मानिसहरूलाई भन्नू।”

भजनसंग्रह 21

प्रमुख संगीतकारलाई: दाऊदको भजन।

हे परमप्रभु, तपाईंको बलले राजालाई खुशी पार्छ।
    जब तपाईं उसलाई बचाउनु हुन्छ ऊ अति नै खुशी हुन्छ।
तपाईंले राजालाई ती थोकहरू दिनु भयो जुन उनले चाहेका थिए।
    हे परमप्रभु, राजाले तपाईंसँग केही थोकहरू मागे र मागेका थोकहरू सबै तपाईंले दिनुभयो।

हे परमप्रभु, तपाईंले साँच्ची नै राजालाई आशीर्वाद दिनु भयो।
    तपाईंले सुनको मुकुट उहाँको शिरमा लगाई दिनु भयो।
हे परमेश्वर, राजाले जीवन-दान तपाईंसित मागे र तपाईंले उनलाई त्यही दिनुभयो।
    तपाईंले उनलाई दीर्घायु प्रदान गर्नुभयो, जुन सदा-सर्वदाको निम्ति जारी रहनेछ।
तपाईंले जित्नका लागि राजालाई अगुवाइ गर्नुभयो अनि उनलाई महान् महिमा प्रदान गर्नुभयो।
    तपाईंले उसलाई इज्जत र आदर दिनुभयो।
हे परमेश्वर, तपाईंले साँच्ची नै राजालाई सदा सर्वदाको निम्ति आशीर्वाद दिनुभयो।
    जब राजाले तपाईंको मुहार हेर्नु हुन्छ अनि त्यसले उहाँलाई आनन्दित पार्छ।
राजाले परमप्रभुमाथि भरोसा राख्छ।
    सर्वोच्च परमेश्वरको दयाबाट उनले कहिल्यै उदास हुनु पर्दैन।
हे परमेश्वर, तपाईंले आफ्ना शत्रुहरूलाई तपाईं कतिको शक्तिशाली हुनुहुन्छ देखाउनु हुनेछ।
    जसले तपाईंमाथि हेय-दृष्टि राख्छन्।
    तपाईंको शक्तिले ती मानिसहरूलाई परास्त गर्छ।
हे परमप्रभु, तपाईं जब राजासँग हुनुहुन्छ,
    उनी तातो चूल्हा जस्तो हुन्छन्।
जसले प्रत्येक कुरा दिंदछन्।
    आफ्नो क्रोधको ज्वालामा सबै शत्रुहरूलाई नष्ट पार्छ।
10 शत्रुहरूका सन्तानहरू समेत नष्ट भए।
    तिनीहरू यस पृथ्वीबाट लोप भएर गए।
11 किनभने ती मानिसहरूले तपाईंको विरूद्ध नराम्रा योजनाहरू तयार गरे, परमप्रभु।
    तिनीहरूले अधर्मका कामहरू गर्ने योजना गरे तर तिनीहरू सफल भएनन्।
12 हे परमप्रभु, तपाईंले ती मानिसहरूलाई आफ्ना दास बनाउनु भयो।
तपाईंले तिनीहरूलाई डोरीले सँगै बाँध्नु भयो।
    तपाईंले तिनीहरूका घाँटीहरू वरिपरि डोरीहरू बाँध्नु भयो,
    तिनीहरूलाई दासहरूले जस्तै शिर झुकाएर बस्ने पार्नु भयो।

13 हे परमप्रभु, हामी तपाईंको प्रशंसा गर्छौ!
    हामी तपाईंको महा-शक्तिको विषयमा वाद्य-वादनसहित गीतहरू गाउने छौं।

हितोपदेश 5:1-6

व्यभिचारबाट जोगाऊने ज्ञान

हे मेरो छोरो! तिमी मेरो ज्ञानपूर्ण शिक्षाहरूमा ध्यान देऊ। मेरा बुद्धिका वचनहरू होशियार साथ सुन। यी कुराहरूबाट तिमीलाई कुन असल अथवा खराब त्यो बोध भइरहनेछ र तिम्रो ओंठमा ज्ञानका कुराहरू वास गरिरहन्छन्। कारण पर-स्त्रीको मुखबाट मह टप्किन्छ अनि ओठ भद्राक्षको तेल दले झैं चिप्लो हुन्छ। तर पछि परिणाम चाँहि नीमको पत्ता झैं तीतो तथा दुइ धारे तरवार जस्तै धारिलो हुन्छ। पर-स्त्रीको गोडाहरू मृत्यु तिर लम्कन्छन र उसको पाइला चिहानतिर जान्छन्। उसको मार्गले कहाँ लगिरहेको छ त्यसले विचार गर्दिन त्यसले बाटो विराएर हिँडेकि हुन्छे तैपनि त्यसले त्यो जान्दिन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International