Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उत्पत्ति 24:52-26:16

52 जब अब्राहामको नोकरले त्यो सुन्यो ऊ परमप्रभु अघि भूइँमा निहुरियो। 53 त्यसपछि उनले ल्याएका उपहारहरू रिबेकालाई दियो। उनले राम्रो लुगाहरू र सुन चाँदीका गहनाहरू दियो। उनले रिबेकाको आमा र दाज्यूलाई पनि बहुमूल्य उपहार दियो। 54 त्यसपछि त्यो नोकर र ऊसँगै पुगेको मानिसले खाइपिइ गरेर त्यहीं रात बिताए। बिहान मात्र चाँडै उठेर तिनीहरूले भने, “अब हामी मालिककहाँ जानै पर्छ।”

55 रिबेकाकी आमा र दाज्यूले भने, “रिबेका हामीसितै केही समयको निम्ति बसोस्। हामीसित त्यो दश दिनसम्म बसोस् र त्यसपछि जान सक्छे।”

56 तर नोकरले तिनीहरूलाई भने, “मलाई पर्खनु नलाउनु होला। परमप्रभुले मेरो यात्रा सफल पार्नु भएकोछ। मलाई मेरा मालिककहाँ फर्केर जानु दिनुहोस्।”

57 रिबेकाको दाज्यू र आमाले भने, “हामी रिबेकालाई बोलाउनेछौं र उनले के गर्न चाहन्छे सोध्नेछौं।” 58 तिनीहरूले रिबेकालाई बोलाएर भने, “के तँ यी मानिसहरूसँगै अहिले नै जान चाहन्छेस्?”

रिबेकाले भनिन्, “अँ, म जान्छु।”

59 यसकारण तिनीहरूले रिबेकालाई अब्राहामको नोकर अनि उसका साथीहरूसित जान दिए। रिबेकाकी सहेली पनि उसैसँग लागीन्। 60 जब तिनीहरू जानु तत्पर भए तब तिनीहरूले भने,

“ए हाम्री बहिनी, तिमी हजारौं हजार जनको जननी बन,
    र तिम्रो सन्तानले शत्रुहरूलाई हराओस्, अनि तिनीहरूको शहरहरू कब्जा गरून्।”

61 त्यसपछि रिबेका र उसको सहेलीहरू ऊँटमा चढेर अघि लागे अनि अब्राहामको नोकर र उसको साथीहरू तिनीहरूको पछि लागे। यसरी त्यो नोकरले रिबेकालाई आफूसँगै लिएर घर फर्किन यात्रा शुरू गरे।

62 त्यस बेला इसहाकले बेर-लहै-रोई छोडेर नेगेवमा बस्न शुरू गरेको थियो। 63 एक साँझ इसहाक मैदानमा घूमि रहेको थियो। इसहाकले आँखा उठाएर हेर्यो अनि टाडोमा ऊँटहरू आउँदै गरेको देख्यो।

64 रिबेकाले नजर घुमाई अनि इसहाकलाई देखी। तब तिनी ऊँटबाट ओर्लिन्। 65 उनले नोकरलाई सोधी, “हामीहरूसित भेट गर्न त्यहाँ मैदानमा घूमिरहने जवान केटो को हो?”

त्यो नोकरले भने, “यो मेरो मालिकको छोरो हो।” यति सुनेपछि रिबेकाले आफ्नो अनुहार छोपिन्।

66 जुन कुराहरू भएका थिए नोकरले इसहाकलाई सबै वृतान्त बतायो। 67 तब इसहाकले केटीलाई आफ्नो आमाको पालमा लग्यो। त्यही दिन इसहाकले रिबेकालाई विवाह गर्यो। ऊ रिबेकालाई अत्यन्तै प्रेम गर्थ्यो। यसकारण आफ्नी आमाको मृत्यु पछि उनले धेरै सान्तवना पायो।

अब्राहामको परिवार

25 अब्राहामले फेरि विवाह गरे अनि तिनकी नयाँ पत्नीको नाउँ कतुरा थियो। कतुराले जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहालाई जन्माइन्। योक्षान, शबा अनि ददानका बुबा थिए। ददानका सन्तानहरू, अश्शूरी, लतूशी अनि लऊम्मी हुन्। एपा, एपेर, हनोक अबीदा अनि एल्दा मिद्यानका छोराहरू थिए। अब्राहाम र कतुराको विवाहबाट यी नानीहरू भए। 5-6 अब्राहामको मृत्यु हुनु अघि नै आफ्नो नोकर्नीहरूका छोराहरूलाई केही उपहारहरू दिए अनि तिनीहरूलाई पूर्बतिर पठाइदिए। तिनीहरूलाई इसहाकदेखि टाढा पठाइदिए। त्यसपछि आफूसँग जे जति थियो अब्राहामले इसहाकलाई दिए।

अब्राहाम एक सय पचहत्तर बर्षसम्म स्वस्थ थिए। त्यसपछि तिनी दुर्बल भए अनि मरे। तिनी घेरै बर्षसम्म आनन्दपूर्वक बाँचे। तिनलाई तिनका पुर्खाहरूसितै गाडियो। तिनका छोराहरू इसहाक अनि इश्माएलले तिनलाई मक्पेलाको ओडारमा गाडे। यो ओडार सोअरको छोरो एप्रोनको खेतमा थियो। यो मम्रेको पूर्वमा थियो। 10 यो त्यही ओडार थियो जुन अब्राहामले हित्ती मानिसहरूबाट किनेका थिए। अब्राहाम र तिनकी पत्नी सारालाई त्यही ओडारमा गाडे। 11 अब्राहामको मृत्यु भएपछि परमेश्वरले इसहाकलाई आशीर्वाद दिनुभयो अनि तिनी बेर-लहै-रोईमा बसिरहे।

12 इश्माएलको परिवारको सूची यही हो। इश्माएल अब्राहाम र हागारको छोरो थिए। हागार साराकी मीश्र देशी कमारी थिइन् 13 इश्माएलका छोराहरूको नाउँ यस प्रकार थियो। पहिलो छोरो नबायोत थियो। त्यसपछि जन्मनेहरूको सूची अनुसार केदार, अबदेल, मिब्साम, 14 मिश्मा, दुमा, मस्सा, 15 हदद, तेमा, यतूर, नपीश अनि केदमा थिए। 16 तिनीहरूको पर्खालभित्र र बाहिरको सम्झौता अनुसार यिनीहरू इस्राएलका छोराहरू थिए। 17 इश्माएल एक सय सैंतीस बर्षसम्म बाँचे। त्यसपछि उनको मृत्यु भयो। अनि उनलाई उनका आफन्तहरू गाडेको ठाउँमा गाडियो। 18 इश्माएलका सन्तानहरू समस्त मरुभूमिको इलाकामा बसे। यिनीहरूको इलाका हवीलादेखि शूरको नजिक मिश्रको सीमा र यसको पनि अघि अश्शूरको किनारसम्म थियो। तिनीहरू घुमी हिंडे अनि आफ्नो दाज्यू-भाइ, सन्तानहरू र भूमिमाथि आक्रमण गरिरहे।

इसहाकको परिवार

19 इसहाक अब्राहामको छोरो थियो र यो तिनको वृत्तान्त कथा हो। 20 जब इसहाक चालीस बर्षका भए उनले रिबेका नाउँकी कन्यासित विवाह गरे। रिबेका पद्दन-आराम भनिने ठाउँकी थिइन् अनि अरामी बतूएलकी छोरी र अरामी लाबानकी बहिनी थिइन्। 21 इसहाककी पत्नी रिबेका बाँझी थिई। यसर्थ इसहाकले आफ्नी पत्नीका निम्ति परमप्रभुसित प्रार्थना गरे। परमप्रभुले तिनको प्रार्थना सुन्नु भयो अनि रिबेका गर्भवती भइन्।

22 जब रिबेका गर्भवती भइन्, उनले आफ्नो गर्भमा भएको शिशुबाट अत्यन्तै कष्ट सहनु पर्यो। उनको गर्भमा भएको शिशुहरू गर्भभित्रै आपसमा एका-अर्कामा लडाइँ गर्थे। रिबेकाले परमप्रभुसित प्रार्थना गरिन् अनि भनिन्, “मसित यस्तो किन भइरहेकोछ?” 23 परमप्रभुले उनलाई भन्नुभयो,

“तिम्रो कोखमा दुइवटा राष्ट्रहरू छन्।
    दुइवटा राष्ट्रका राजाहरू तिमीबाट जन्मनेछन्,
    र तिनीहरू छुट्टीनेछन्।
एउटा छोरो अर्को छोरोभन्दा शाक्तिशाली हुनेछ
    अनि जेठाले कान्छाको सेवा गर्नेछ।”

24 अनि जब समय पूरा भयो तब रिबेकाले जुमल्याहा छोरा जन्माइन्। 25 पहिलो छोरो रातो वर्णको थियो अनि उसको छाला भुत्लाले बनिएको लुगा जस्तो थियो। यसर्थ उसको नाउँ एसाव राखियो। 26 जब दोस्रो छोरो जन्मियो। उनले पहिलो छोरो एसावको कुर्कुच्चा बलियोसित समातेको थियो। यसैले उसको नाउँ याकूब राखियो। एसाव र याकूब जन्मदा इसहाक साठी बर्ष पुगेका थिए।

27 केटाहरू हलहली बढे। एसाव एकजना सिपालु शिकारी भयो अनि ऊ मैदानतिरै बस्न मन पराउँथ्यो। तर याकूब शान्त स्वभावको थियो अनि पाल भित्रै बस्थ्यो। 28 इसहाकले एसावलाई मन पराउँथिए अनि उनले मारेको जनवारहरूको मासु खान रूचाउँथिए। तर रिबेकाले याकूवलाई माया गर्थिन्।

29 एकदिन एसाव शिकारबाट थाकेर भोकले हत्तु भएर फर्केर आयो। याकूब एक भाँडा सिमी उसिनिरहेको थियो। 30 यसर्थ एसावले याकूबलई भने, “म भोकले दुर्बल भइरहेकोछु। मलाई त्यो केही रातो सिमी खान देऊ।” (यही कारणले मानिसहरूले उसलाई एदोम भन्ने गर्द थिए।)

31 तर याकूबले उनलाई भने, “पहिला तिमीले मलाई जेठा छोराको जन्मअधिकार बेच्नु पर्छ।”

32 एसावले भने, “म भोकले मर्न आँटेकोछु। यदि म मरें भने मेरो बाबुको सबै सम्पत्तिले पनि केही सहायता गर्न सक्तैन। यसर्थ म मेरो अंश दिइहाल्छु।”

33 तर याकूबले भने, “पहिले मलाई वचन दे तैंले मलाई त्यो दिन्छस्।” यसकारण एसावले याकूबलाई वचन दियो। एसावले आफ्नो बाबुको सम्पत्तिको आफ्नो जेष्ठ-अधिकार याकूबलाई बेचि दियो। 34 तब याकूबले एसावलाई रोटी र भोजन दियो। एसावले खायो, र हिंड्‌यो। यस प्रकारले एसावले यो देखायो आफू पहिलो छोरो भएकोमा उसलाई आफ्नो जेष्ठ-अधिकारको कुनै पर्वाह छैन।

इसहाकले अबीमेलेकसित झूटो कुरा गर्छन

26 एकपल्ट त्यहाँ अनिकाल भयो। यो अनिकाल पनि त्यस्तै प्रकारको थियो जुन अब्राहामको समयमा भएको थियो। यसर्थ इसहाक गरार शहरमा पलिश्ती राजा अबीमेलेककहाँ गए। परमप्रभुले इसहाकसित कुरा गर्नु भयो। उहाँले इसहाकलाई भन्नुभयो, “मिश्र देश नजाऊ, त्यस ठाउँमा जाऊ जुन म तिमीलाई देखाउनेछु। त्यहीं देशमा बस तब म तँलाईं सहायता गर्नेछु। म तँलाईं आशीर्वाद दिनेछु। तेरो परिवार र तँलाईं यो सबै देश दिनेछु। म त्यही गर्नेछु जुन मैले तेरो बाबु अब्राहामलाई वचन दिएको थिएँ। म तेरो परिवारलाई आकाशका ताराहरू जस्तै बनाउनेछु। अनि यी सबै भूमिहरू तेरो परिवारहरूलाई दिनेछु? पृथ्वीका सबै राष्ट्रहरूले तेरा सन्तानहरूद्वारा आशीर्वाद पाउँनेछन्। म यस्तो यसैले गरिरहेकोछु किनभने तेरो बाबु अब्राहामले मेरो आज्ञा पालन गरे अनि मैले जे-जे भने ती सब गरे। अब्राहामले मेरो आज्ञा, मेरो विधिहरू र मेरो नियमहरूको पालन गरे।”

इसहाक गरारमै बसे। इसहाककी पत्नी रिबेका अत्यन्तै सुन्दरी थिइन्। त्यस ठाउँका मानिसहरूले इसहाकलाई रिबेकाको विषयमा सोधे। इसहाकले भने, “यो मेरो बहिनी हो।” इसहाकले रिबेकालाई आफ्नो पत्नी हो भन्न डरायो। इसहाक रिबेकालाई पाउँनुको निम्ति मानिसहरूले उसलाई मार्न सक्छन् भनेर डराउँथ्यो।

जब इसहाक त्यहाँ धेरै दिनसम्म बसे तब एक दिन अबीमेलेकले आफ्नो झ्यालबाट हेरे अनि इसहाक रिबेकासित जिस्की रहेको देखे। अबीमेलेकले इसहाकलाई बोलाए अनि भने, “यो आइमाई तेरी पत्नी रहेछ, तर तैंले हामीलाई किन तेरो बहिनी हो भनेर भनिस्?”

इसहाकले उसलाई भने, “म डराएँ कतै तिमीले उसलाई आफ्नो बनाउनुको निम्ति मलाई मार्नेछौ।”

10 अबीमेलेकले भने, “तिमीले हाम्रो निम्ति नराम्रो काम गर्यौ। हाम्रा कोही पनि मानिस तिम्री पत्नीसित सुत्न सक्थ्यो। तब त्यो मानिस ठूलो पापको दोषी हुने थियो।”

11 तब अबीमेलेकले सबै मानिसहरूलाई चेतावनी दिए अनि भने, “तिनीहरूले त्यस मानिस र तिनकी पत्नीलाई नोक्सान नपुर्याउनु। यदि कसैले तिनीहरूलाई नोक्सान पुर्याउँछ भने उसलाई निश्चय नै मारिनेछ।”

इसहाक धनी बनिन्छन्

12 इसहाकले त्यस भूमिमा खेती गरे अनि त्यस बर्ष धेरै नै फसल उब्जाए। परमप्रभुले उसलाई धेरै आशिष दिनु भयो। 13 इसहाक धनी भए। उनले त्यस बेलासम्म सम्पत्ति बटुली बसे जब सम्म उसँग धेरैभन्दा धेरै सम्पत्ति भएन। 14 ऊसित धेरै बगाल अनि हूल गाई बस्तुहरू थिए। कमारा-कमारीहरू पनि उनकोमा घेरै नै थिए। सबै पलिश्तीहरू ऊसँग आरीस गर्थे। 15 यसैले धेरै बर्ष अघि इसहाकका बाबु अब्राहाम र तिनका नोकरहरूले बनाएका कूवाहरू पलिश्तीहरूले ध्वंश पारिदिए। पलिश्तीहरूले कूवाहरूमा मैला हालेर भरिदिए। 16 अनि अबीमेलेकले इसहाकलाई भने, “हाम्रो देश छोडी देऊ। तिमी हामी भन्दा धेरै शक्तिशाली भएकाछौ।”

मत्ती 8:18-34

येशूका चेलाहरू

(लूका 9:57-62)

18 येशूले देख्नुभयो आफूलाई धेरै मानिसहरूले घेरेका थिए। अनि आफ्ना चेलाहरूलाई झीलको अर्को तिर जान लगाउनु भयो। 19 त्यसबेला एकजना शास्त्री उहाँकहाँ आए अनि भने, “हे गुरूज्यू। तपाईं जता-जता जानुहुन्छ, म तपाईंको पछि-पछि लाग्नेछु।”

20 येशूले तिनलाई भन्नुभयो, “स्यालहरूका बस्ने प्वाल हुन्छन्। आकाशका चराचुरूङ्गीको बस्ने गुँड हुन्छ। तर मानिसको पुत्रको लागि ता शिर अडाउने ठाउँ सम्म छैन।”

21 अर्को एकजना मानिस, जो येशूको चेलाहरूमध्ये एकजना थिए तिनले येशूलाई भने, “हे प्रभु, पहिला गएर मलाई मेरो बाबुलाई गाड्न दिनुहोस्। त्यसपछि म तपाईंलाई पछ्याउनेछु।”

22 तर येशूले ती मानिसलाई भन्नुभयो, “मेरोपछि लाग, मरेका मानिसहरूले तिनीहरूको आफ्नो मुर्दाहरूलाई आफैं गाडुन्।”

येशूले आँधीलाई शान्त गराउनु हुन्छ

(मर्कूस 4:35-41; लूका 8:22-25)

23 येशू एउटा डुङ्गामा चढनुभयो र उहाँको चेलाहरू पनि उहाँको पछि लागे। 24 जब डुङ्गाले किनार छाड्यो, त्यसैबेला झीलमा अचानक एक भयङ्कर आँघी चल्न थाल्यो। छालहरूले डुङ्गालाई ढाक्न लाग्यो। तर येशू सुतिरहनु भएको थियो। 25 चेलाहरू गए र उहाँलाई ब्यूँझाए र भने, “हे प्रभु, हामीलाई बँचाउनुहोस् हामी डुब्न लागिरहेछौं।”

26 येशूले भन्नुभयो, “तिमीहरू किन डराउँछौ? तिमीहरू सित त्यत्ति विश्वास छैन?” तब येशू उठ्नुभयो अनि आँधी र छालहरूलाई आज्ञा गर्नु भयो। आँधी थामियो, अनि झीलमा पूरा शान्ति छायो।

27 सबै मानिसहरू छक्क परे। तिनीहरू भन्नलागे, “उहाँ कस्तो मानिस हुनुहुन्छ? किनभने हावा र बतासले पनि उहाँको आज्ञा मान्दो रहेछन्।”

येशूले भूत लागेको दुइजना मानिसहरूलाई चंगाई गर्नु भयो

(मर्कूस 5:1-20; लूका 8:26-39)

28 गदरिनीहरूको मुलुकको एउटा झीलको अर्कोतर्फ येशू आइपुग्नु भयो। त्यहाँ दुइजना मानिस येशू कहाँ आए। तिनीहरूलाई भूत लागेको थियो। तिनीहरू चिहानको गुफामा बस्दथे। तिनीहरू अत्यन्तै डरलाग्दा थिए। यसले गर्दा मानिसहरू त्यो बाटो हिँड्ने आँट गर्दैनथे। 29 ती दुइजना येशूकहाँ आए अनि चिच्याउन थाले, “परमेश्वरको पुत्र तपाईं हामीबाट के चाहानु हुन्छ? के समय आउनु भन्दा अघि हामीलाई दण्ड दिनु आउनु भएको हो?”

30 छेउको क्षेत्रमा सुँगुरहरूको बथान चरिरहेको थियो। 31 भूतहरूले येशूलाई बिन्ती गर्न लागे, “यदि तपाईंले हामीलाई यी मानिसहरूबाट धपाउन चाहनुहुन्छ भने, दयागरी हामीलाई ती सुँगुरहरूको बथानमा पस्न दिनुहोस्।”

32 येशूले तिनीहरूलाई भन्नुभयो, “जाऊ!” तब ती भूतहरूले मानिसहरूलाई छाडे र सुँगुरहरूमा पसे। त्यसपछि ती सम्पूर्ण बथानहरू डाँडाको भिरालो धारबाट झील तिर ओर्लिए। ती सबै झीलमा डुबे। 33 ती सुँगुर चराउनेहरू भागे, र शहरतिर गए अनि सबैलाई सुँगुरहरू र भूतहरूले सताएको विषयमा सुनाउन थाले। 34 तब शहरका सबै मानिसहरू येशूलाई हेर्न आए। जब मानिसहरूले येशूलाई देखे, तिनीहरूले त्यस मुलुकलाई छोडेर जानुभनी निवेदन गरे।

भजनसंग्रह 10:1-15

हे परमप्रभु, तपाईं यति टाढा किन बस्नु हुन्छ?
    दुःखी मानिसहरूले तपाईंलाई देख्न सक्तैनन्।
घमण्डी र दुष्ट मानिसहरूले खराब योजनाहरू बनाउँछन्।
    अनि दिनहीन मानिसहरूलाई चोट पुर्याउँछन्।
दुष्ट मानिसहरूले आफ्नो इच्छामाथि घमण्ड गर्छन् अनि ती लोभी मानिसहरूले परमप्रभुलाई सराप्छन्।
    ती पापीहरूले परमप्रभुलाई घृणा गर्छन्।
दुष्ट मानिसहरू यस्तो घमण्डी हुन्छन् तिनीहरूले परमेश्वरलाई मान्दैनन्।
    तिनीहरूले आफ्ना खराब योजनाहरू बनाउँछन् अनि त्यहाँ परमेश्वर हुनुहुन्न भने झैं व्यवहार गर्छन्।
दुष्ट मानिसहरूले सधैँ नराम्रा कामहरू मात्र गर्दछन्।
    तिनीहरूले परमेश्वरको विधिहरू र ज्ञानीको शिक्षामा ध्यान दिंदैनन्,
    परमेश्वरका शत्रुहरूले उहाँका शिक्षाहरूलाई अस्वीकार गर्छन्।
तिनीहरूले सोच्छन् तिनीहरूमाथि केही पनि नराम्रो हुन सक्तैन।
    तिनीहरू भन्छन्, “हामीमा मज्जा गर्नेछौ र हामी कहिल्यै दण्डित हुनेछैनौं।”
ती मानिसहरू सधैँ सरापी रहन्छन।
    तिनीहरू सधैँ अरूको अहितका कुराहरू मात्र सोच्दछन्।
ती मानिसहरू गुप्त ठाउँमा लुकेर बस्दछन् र मानिसहरू पक्रन पर्खी रहन्छन।
    तिनीहरू लुक्छन् र मानिसहरूलाई घात पुर्याउन खोजिरहेका हुन्छन्,
    तिनीहरूले निर्दोष मानिसहरूलाई पनि मार्दछन्।
तिनीहरू त्यस्ता सिंह जस्तो हुँन्छन्
    जसले जनावर पक्रेर खान्छ।
तिनीहरूले असहाय मानिसहरूमाथि आक्रमण गर्दछन्।
    गरीब मानिसहरू दुष्टहरूले बनाएका पासोमा फँस्दछन्।
10 घरि-घरि ती दुष्ट मानिसहरूले
    असहाय मानिसहरूलाई कष्ट दिंदछन्।
11 यसकारण ती असहाय मानिसहरूले सोच्न थाल्दछन्, “परमेश्वरले हामीलाई बिर्सनु भयो।
    हामीदेखि उहाँ सदाको लागि विमुख हुनुभयो।
    हामीमाथि के घटिरहेछ परमेश्वरले हेर्नुहुन्न!”

12 हे परमप्रभु, उठ्नुहोस् र केही गर्नुहोस्!
    हे परमेश्वर, ती पापीहरूलाई दण्ड दिनु होस्,
    असहायहरूलाई नबिर्सनु होस्।

13 किन दुष्ट मानिसहरू परमेश्वरको विरोधी हुन्छन्?
    किनभने तिनीहरू सोच्दछन् उहाँले दण्ड दिनु हुन्न।
14 हे परमप्रभु, निश्चय नै तपाईंले ती दुष्टहरूले गरेको निर्दयतापूर्ण र दुष्ट कार्यहरू देख्नुहुनेछ,
    अनि तिनीहरूको निम्ति केही गर्नु हुनेछ!
समस्याहरूले लादिएका मानिसहरू तपाईं कहाँ सहयोग माग्न आउँछन्।
    हे परमप्रभु, तपाईं मात्र हुनुहुन्छ,
    जसले टुहुरा-टुहुरीलाई सहायता गर्नु हुन्छ।

15 हे परमप्रभु, दुष्टहरूलाई नष्ट गर्नुहोस्।
    खराब मानिसको दुष्टता खोज्नुहोस्
    र उनीहरूको विनाश गर्नुहोस्।

हितोपदेश 3:7-8

आफैंलाई बुद्धिमानि नसोच, परमप्रभुसित डराऊ अनि दुष्कर्मबाट टाडो बस। यदि तिमीले यसो गर्यौ भने तिम्रो शरीरलाई त्यो औषधी हुनेछ अथवा तिम्रो शरीरलाई ताजा बनाउने कुनै पेय वस्तु झैं हुनेछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International