The Daily Audio Bible
Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.
अब्राम अनि लूत छुट्टीए
5 त्यस समयमा लूत पनि अब्रामसित यात्रा गरिरहेको थियो अनि तिनीसँग पनि पशुहरू र पालहरू धेरै नै थिए। 6 अब्राम र लूतसित यति धेरै पशुहरू र सर-समानहरू भएकाले जग्गाको अभावले तिनीहरूलाई एकैठाउँ सँगै बस्न असम्भव भयो। 7 त्यसै समयमा त्यस भूमिमा कनानी, परिज्जी मानिसहरू पनि बस्थे। अब्राम र लूतका गोठालाहरू एक-अर्कासँग झगड़ा। गर्न थाले।
8 यसर्थ अब्रामले लूतलाई भने, “हामीहरू सबै दाज्यू-भाइहरू हौं, यसर्थ तँ र म अथवा तेरा मानिसहरू र मेरा मानिसहरू भनेर झगडा़ हुनु हुँदैन। 9 हामी अलग-अलग बसौं र तँ आफ्नो इच्छा अनुसार ठाउँ रोज, यदि तँ देब्रेतिर गइस् भने म दाहिने तिर जानेछु र यदि तँ दाहिनेतिर गइस् भने म देब्रेतिर जानेछु।”
10 लूतले भूमि खोजे अनि यर्दन नदीको बेंसीमा चाँहि पानी प्रशस्त भएको पाए। (यो परमप्रभुले सदोम र गमोरा ध्वंश पार्नु भन्दा अघिको कुरो हो। त्यस समयमा सोअरपट्टी यर्दनको बेंसी परमप्रभुको बगैंचा जस्तै थियो। यो भूमि मिश्रदेशको झैं राम्रो थियो।) 11 यसर्थ लूतले आफू बस्नको निम्ति यही भूमि रोजे र ती दुइ व्यक्तिहरू छुट्टीए अनि लूतले पूर्वतिर यात्रा शुरू गरे। 12 अब्राम कनान भूमिमा रहे भने लूत बेंसीको शहरहरूमाझ बसे। लूत सदोमतिर निकै पर दक्षिणपट्टी गए अनि त्यही आफ्नो पाल बनाए। 13 सदोमका मानिसहरू परमप्रभुको नजरमा अत्यन्तै दुष्ट थिए।
14 लूत गएपछि परमप्रभुले अब्रामलाई भन्नुभयो, “आफ्नो वरिपरि हेर, उत्तर, दक्षिण पूर्व, पश्चिमतिर हेर। 15 किनभने म तिमीलाई सम्पूर्ण भूमि दिनेछु जो तिम्रो आफ्नो आउँदो पुस्ताकोलागि हुनेछ अनि यो सदाका लागि तिम्रो भूमि हुनेछ। 16 म तिम्रो सन्तानहरूलाई पृथ्वीको धूलो जस्तै गन्न नसकिने बनाउनेछु। जसरी पृथ्वीमा धूलो गन्न सकिंदैन अनि त्यसतै प्रकारले तिम्रो सन्तानहरूलाई गन्न सकिने छैन। 17 यसर्थ अघि बढ, आफ्नो सम्पूर्ण भूमिमा हिंड किनभने मैले यो तँलाईं दिएको छु।”
18 यसरी अब्रामले आफ्नो पालहरू हटाए अनि हेब्रोनमा माम्रे फँलाटका रूखहरू भएकहाँ गए। अब्रामले त्यस ठाउँमा परमप्रभुको आराधना गर्नको लागि एउटा वेदी बनाए।
लूतको कैद
14 शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योक, एलामका राजा कदोर्ला ओमेर, तिदाका राजा गोयीम थिए। 2 यी सबै मिलेर सदोमका राजा बेरा, गमोराका राजा विर्शा अदमाका राजा शिनाब, सबोयीमका राजा शेमेबेर र बेलाका राजासित युद्ध लडे। (बेलालाई सोअर पनि भनिन्छ)।
3 यी सब राजाहरूले आफ्ना-आफ्ना सेनाहरू सिद्दीमको बेंसीमा भेला पारे। (वर्तमान खाराको समुद्र नै सिद्दीमको बेंसी हो)। 4 यी राजाहरूले राजा कदोर्लाओमेरलाई बाह्र बर्षसम्म सेवा गरेका थिए तर तेह्रौं बर्षमा यी सब राजाहरूले तिनको विरूद्ध विद्रोह गरे। 5 यसर्थ राजा कदोर्लाओमेर अरू राजाहरूसित मिले जो उनको समर्थनमा थिए, तिनीहरूसित युद्ध गर्न आए। राजा कदोर्लाओमेर र तिनका सहयोगीहरूले अस्तरो कर्णोममा रपाईलाई पराजित गरे। तिनीहरूले हाममा जूजी मानिसहरू, शावे-किर्यामा एमीमका मानिसहरूलाई परास्त गरे। 6 अनि तिनीहरूले सेईर एल्पारान पहाडी इलाकामा बसो-बास गर्ने होरीत मानिसहरूलाई पराजित गरे। (एल्पारान मरुभूमि नजिक छ)। 7 त्यसपछि राजा कदोर्लाओमेर एनमिशपात (कादेश) फर्किए अनि हस्सोन्तामारमा बोसो-बास गर्ने अमालेकी अनि अमोरीहरूलाई परास्त गरे।
8 त्यस वेला सदोम, गमोरा, अदमा, सबोयीम र बेलाका राजाहरू मिले अनि तिनीहरूको शत्रुसित सिद्दीमको बेंसीमा युद्ध गर्न भनी गए। 9 तिनीहरूले एलामका राजा कदोर्लाओमेर, गोइमका राजा तिदाल, शिनारका राजा अम्रापेल अनि एल्लासारका राजा अर्योकसित युद्ध लडे। अतः पाँच जना राजाहरूको विरूद्धमा चार जना राजाहरू थिए।
10 सिद्दीमको उपत्यकामा धेरै अलकत्राका खाल्डाहरू थिए। सदोम र गमोरका राजाहरू आफ्नो सेनाहरू समेत भागे। धेरै सेनाहरू ती खाल्डाहरूमा परे। तर रहेका सेनाहरू पहाडी अञ्चलतिर भागे।
11 शत्रुहरूले सदोम अनि गोमराको सबै सम्पत्ति अनि तिनीहरूको सबै खाद्य पनि लगेर गए। 12 तिनीहरूले अब्रामको दाज्यूको छोरा लूतसँगै उसको सबै सम्पत्ति लगे 13 लूतका मानिसहरूमा एकजना जो कैद भएको थिएन र हिब्रु अब्राम भएको ठाउँमा गएर के भएको थियो वृतान्त दियो। त्यस समय अब्राम एश्कोल र अनेर एमोरीको मम्रेको फलाँटको रूखहरू नजिकै बसेका थिए। तिनीहरूले एक-अर्कामा सहायता गर्नु भनी एउटा सम्झौतामा सही गरेका थिए। अनि तिनीले अब्रामलाई पनि सहायता गर्ने सम्झौता सही गरे।
लूतको छुटकारा
14 जब अब्रामले लूत पक्राउ परेको समाचार पाए तिनले आफ्नो सम्पूर्ण परिवारलाई बोलाए। आफ्नो परिवार भित्रका तीन सय अठ्ठार जना प्रशिक्षित सेनाहरू लिई तिनी दानसम्म शत्रुहरूलाई खेद्दै गए। 15 शत्रुहरूमाथि आक्रमण गर्न तिनले आफ्नो सेनाहरूलाई राती दल-दलमा भाग गरी दमीसकसको उत्तर दिशामा पर्ने होबासम्म खेदेर तिनीहरूलाई परास्त पारे। 16 अब्रामले आफ्नो भतिजो लूत र उसको सम्पत्ति, स्त्रीहरू र अरू कैदीहरू दुबै फर्काएर ल्याए।
17 कदोर्लाओमेर र तिनीसित मिलेका राजाहरूलाई पराजित गेरपछि अब्राम आफ्नो घर फर्के। जब तिनी घर आए सदोमका राजा तिनलाई भेट्न शाबेको बेंसीमा आए। यस ठाउँलाई ऐले राजाको बेंसी भनिन्छ।
मल्कीसेदेक
18 शालेमका राजा मल्कीसेदेक पनि रोटी र दाखरस लिएर अब्रामसित भेट्न आए। तिनी सर्वोच्च परमेश्वरको पूजाहारी थिए। 19 मल्कीसेदेकले अब्रामलाई आशीर्वाद दिएर भनेः
“जुन परमेश्वरले पृथ्वी र स्वर्ग बनाउनु भयो,
सर्वोच्च परमेश्वरले अब्रामलाई आशीर्वाद दिऊन्।
20 अनि हामी सर्वोच्च परमेश्वरलाई धन्यवाद दिन्छौं।
परमेश्वरले तिम्रा शत्रुहरूलाई परास्त पार्न तिमीलाई सहायता गर्नु भयो।”
अब्रामले आफूले युद्धमा पाएको प्रत्येक चीजको एक-दशांश मल्कीसेदेकलाई दिए। 21 तब सदोमका राजाले अब्रामलाई भने, “तिमीले सब चीजहरू आफ्नै निम्ति राख्न सक्छौ। मलाई केवल कैद गरिएका शत्रुहरू फर्काइ देऊ।”
22 तर अब्रामले सदोमका राजालाई भने, “म सर्वोच्च परमप्रभु परमेश्वरसित जसले स्वर्ग र पृथ्वी बनाउनु भयो, प्रतिज्ञा गरेको छु। 23 मैले प्रतिज्ञा गरेको छु कुनै पनि चीज जो तिम्रो हो म लिंदिन, यहाँसम्म एक टुक्रा धागो अथवा जुत्ताको फिता पनि म लिंदिन, म तिमीलाई भन्ने मौका दिंदिन, ‘अब्रामलाई मैले धनी बनाएँ।’ 24 म मात्र त्यो ग्रहण गर्नेछु जो ती जवान मानिसहरूले खाए। तर तिमीले ती अन्य मानिसहरूको भाग तिनीहरूलाई नै दिनु पर्छ। हामीले युद्धमा जितेर ल्याएका चीजहरू ग्रहण गर अनि त्यसबाट अनेर, एरकोल र मम्रेलाई तिनीहरूको हिस्सा देऊ। तिनीहरूले मलाई युद्धमा सहायता गरेका थिए।”
अब्रामलाई परमेश्वरको करार
15 यी सब कुराहरू भई सकेपछि अब्रामलाई परमप्रभुबाट दर्शनद्वारा केही संदेशहरू आए। परमप्रभुले भन्नुभयो, “अब्राम तिमी नडराऊ। म तिम्रो ढाल हुँ। तिम्रो इनाम अत्यन्त विशाल हुनेछ।”
2 अब्रामले भने, “हे परमप्रभु परमेश्वर! हजुरले मलाई के दिनुहुन्छ? यस्तो हजुरले दिंदा मलाई खुशी पार्ने केही छैन। किनभने, मसित छोरा छैन। यसर्थ मेरो घरमा जन्मेको कमारा दमीसकको एलीएजरले मेरो मृत्यु पछाडी मसँग भएका सबै सम्पत्ति पाउनेछ।” 3 अब्रामले भने, “तपाईंले मलाई एउटा छोरा दिनुभएको छैन, अतः मेरो घरमा जन्मेको कमाराले मेरो जम्मै सम्पत्ति पाउनेछ।”
4 त्यसपछि परमप्रभुले अब्रामसित कुरा गर्नु भयो। परमेश्वरले भन्नुभयो, “तिमीसँग भएको सम्पत्ति त्यो कमारोले पाउँदैन। तिम्रो आफ्नै छोरो जन्मनेछ। अनि तिम्रो सम्पत्तिको उत्तराधिकारी उही तिम्रो छोरो हुनेछ।”
5 त्यसपछि परमेश्वरले अब्रामलाई बाहिर लानु भयो र भन्नुभयो, “आकाशमा हेर, तिमीले त्यहाँ यति धेरै ताराहरू देख्नेछौ गन्नु सक्तैनौ। भविष्यमा तिम्रा पनि त्यति धेरै सन्तानहरू हुनेछन्।”
6 अब्रामले परमेश्वरलाई विश्वास गरे अनि परमेश्वरले अब्रामको विश्वासलाई विचार गर्नुभयो कि उसले वास्तवमा के गराउन चाहन्थे। 7 परमेश्वरले अब्रामलाई भन्नुभयो, “म उही परमप्रभु हुँ जसले तिमीलाई कल्दीहरूको ऊरबाट ल्याएँ। मैले यसो गर्नुको तात्पर्य तिमीलाई यो भूमि दिनु हो, यो भूमि तिमीले ग्रहण गर्नेछौ।”
8 तर अब्रामले भने, “हे परमप्रभु मेरा मालिक, यो भूमि मैले नै पाउनेछु भनी म कसरी थाहा पाउन सक्छु?”
9 परमेश्वरले अब्रामलाई भन्नुभयो, “हामी एउटा करार गर्नेछौं। एउटा तीन बर्षको कोरली, त्यसरी नै तीन बर्ष पुगेको बाख्रा अनि तीन बर्ष पुगेको एउटा भेंडा ल्याऊ। अनि एउटा ढुक्कुर र एउटा परेवाको बच्चा पनि ल्याऊ।”
10 परमेश्वरको निम्ति अब्रामले यी सबै कुराहरू ल्याएर यी सबै कुराको बलि चढाई ती सबलाई दुइ-दुइ टुक्रा पारे। तब अब्रामले प्रत्येक आधा भागलाई अर्को आधा भाग माथि र्तेस्याए। तर तिनले पंक्षीहरूलाई टुक्रा पारेनन्। 11 पछि, ती पशुको मासु खान ठूला-ठूला पंक्षीहरू उडेर आए तर अब्रामले तिनीहरूलाई धपाए।
12 पछि सूर्य अस्ताउन लाग्दा अब्रामलाई साह्रै निन्द्रा लाग्यो। चुक झैं कालो अन्धकारले उसलाई चारै तिरबाट घेर्यो। 13 तब परमप्रभुले अब्रामलाई भन्नुभयो, “तैंले यो निश्चय जान्नु पर्छ, तिम्रा सन्तानहरू विदेशी हुनेछन्, तिनीहरू त्यस धर्तीमा जानेछन् जो तिनीहरूको होइन, तिनीहरू त्यहाँ कमारा-कमारीको रूपमा चार सय बर्षसम्म सेवा गर्नेछन् अनि तिनीहरूसित धेरै खराब व्यवहार गरिनेछ। चार सय बर्षसम्म तिनीहरूले धेरै दुर्व्यवहार र अन्याय सहनु पर्नेछ। 14 म त्यो जाति जसले तिम्रा सन्तानहरूलाई कमारा-कमारी बनाए तिनीहरूको न्याय गर्नेछु अनि जब तिमीपछि आउँने तिम्रा सन्तानहरूले त्यो देश छोड्नेछन्, तिनीहरूले आफूसित धेरै राम्रा चीजहरू ल्याउँछन्।
15 “तर जहाँसम्म तेरो कुरा छ, तँ मनग्गे बाँच्नेछस्। तँ शान्तिपूर्वक मर्नेछस् अनि तँ त्यहीं गाडिनेछस् जहाँ तेरा पिता-पुर्खाहरूलाई गाडिएको थियो। 16 चार पुस्तापछि तिम्रा सन्तानहरू यही देशमा फर्केर आउनेछन् र तिनीहरूले एमोरीहरूलाई हराउँनेछन्। यहाँ बस्ने एमोरीहरूलाई सजाय भोग्न लगाउन म ती तिम्रा सन्तानहरूलाई प्रयोगमा ल्याउनेछु। यी सब कुराहरूपछि हुन्छ कारण ती एमोरीहरू अहिले सजाय पाउनुको निम्ति त्यति नराम्रो भई सकेका छैनन्।”
17 जब सूर्य अस्तायो, अत्यन्तै अंन्धकार छायो। बलि चढाई मारिएका पशुहरू दुइ-दुइ टुक्रामा अहिलेसम्म जमीनमा लडिरहेको थिए। त्यही समयमा धुँवाको मुस्लो जसमा बल्दै गरेको ज्वाला थियो ती मारेर टुक्रा पारिएको पशुहरू बीचबाट गए।
18 यस प्रकारले त्यसै दिन परमप्रभुले अब्रामसित एउटा सम्झौता गर्नु भयो अनि भन्नुभयो, “तेरा सन्तानहरूका लागि मात्र म यो घर्ती दिनेछु। 19 तिनीहरूलाई म मिश्रको नदीदेखि यूफ्रेटिस महा-नदीसम्म केनी कदमोनी, कनज्जी, 20 हित्ती, परिज्जी, रपाई, 21 एमोरी कनानी, गिर्गाशी तथा यबूसी दिनेछु। यो सम्पूर्ण भूमि मिश्रको नदी अनि यूफ्रेटिस नदीको माझमा पर्छ।”
येशूद्वारा व्यभिचार बारे शिक्षा
27 “तिमीहरूले यसो भनेको सुनेकाछौ, ‘व्यभिचारको पापबाट अलग बस।’(A) 28 तर म तिमीहरूलाई भन्दछु, जसले स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै उसित त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ। 29 यदि तिम्रो दाहिने आँखाले तिमीलाई बाधा पुर्याउँछ भने, त्यसलाई निकालेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा पर्नु भन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ। 30 यदि तिम्रो दाहिने हातले तिमीलाई पाप गराउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानु भन्दा बरू तिम्रो अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ।
येशूद्वारा सम्बन्ध बिच्छेद शिक्षा
(मत्ती 19:9; मर्कूस 10:11-12; लूका 16:18)
31 “यसलाई यसप्रकारले भनिएको छ, ‘जसले आफ्नी पत्नीलाई त्याग गर्ला, त्यसले उसलाई त्यागपत्र लेखी देओस्।’(B) 32 तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई व्यभिचारको कारणबाहेक अन्य कारणले त्याग गर्ला, उसलाई त्यसले व्यभिचारिणी तुल्याउँछ, र जसले त्याग गरिएकोसित विवाह गर्ला, त्यसले पनि व्यभिचार गर्नेछ।
येशूद्वारा शपथ बारे शिक्षा
33 “फेरि तिमीहरूले सुनेकाछौ, कि हाम्रा प्राचीन समयका पुर्खाहरूलाई यसो भनिएको थियो, ‘जब तिमी शपथ खान्छौ, त्यो प्रतिज्ञा नतोड। परमेश्वरको निम्ति आफ्नो प्रतिज्ञा पूरा गर।’[a] 34 तर म तिमीहरूलाई भन्दछु, स्वर्गको नाउँमा कसम वा प्रतिज्ञा खाँदै नखाऊ, किनभने स्वर्ग परमेश्वरको सिंहासन हो। 35 पृथ्वीको नाममा पनि कसम नखाऊ, किनभने पृथ्वी परमेश्वरको पाउदान हो। यरूशलेमको नाउँमा कसम नखाऊ, किनभने त्यो महाराजाको शहर हो। 36 अनि आफ्नो शिरको कसम पनि नखाऊ, किनभने तिमी आफ्नो शिरको एउटा केशलाई पनि सेतो वा कालो तुल्याउन सक्दैनौ। 37 यदि तिमी ‘हो’ भने ‘हो’ भन ‘होइन’ भने ‘होइन’ भन। यस भन्दा बढ्ता चाहिं दुष्ट-तर्फबाट भएको हो।
येशूद्वारा बद्ला लिने बारे शिक्षा
(लूका 6:29-30)
38 “तिमीहरूले सुनेकाछौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बद्ला दाँत।’(C) 39 तर म तिमीहरूलाई भन्दछु, दुष्टको सामना नगर्। यदि कसैले तिम्रो दाहिने गालामा चट्काइदियो भने त्यसलाई देब्रे गाला पनि फर्काइदेउ। 40 यदि कसैले मुद्दा चलाएर तिम्रो दौरा लीने दाबी गर्छ भने, त्यसलाई तिम्रो खाष्टो पनि दिइहाल। 41 यदि कसैले तिमीलाई एक माइलसम्म जबरजस्त हिंड्न लगाउँछ भने उसित दुइमाइलसम्म जाऊ। 42 यदि कसैले तिमीसित केही माग्छ भने त्यो दिइहाल। कुनै व्यक्तिले कर्जा लिन चाहेमा पनि केही दिन अस्वीकार नगर।
सबैलाई प्रेम गर
(लूका 6:27-28,32-36)
43 “तिमीहरूले यसो भनिएको सुनेकाछौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर(D) र तिम्रो शत्रुलाई घृणा गर।’ 44 तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई खेदो गर्नेहरूको निम्ति प्रार्थना गर। 45 यदि तिमीले यसो गर्यौ भने तिमी स्वर्गको पिताका साँच्चो पुत्र हुनेछौ। किनभने उहाँले दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ। अनि धर्मी र अधर्मीहरूको निम्ति वृष्टि पठाइदिनुहुन्छ। 46 यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूले कनै इनाम पाउने छैनौ। महसूल उठाउनेहरूले पनि त्यसै गर्छन्। 47 अनि यदि तिमीहरू आफ्ना साथी-भाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरू मानिसहरूसँग असल ठहर्नेछैनौ। अरू परमेश्वरलाई नजान्ने मानिसहरू पनि आफ्ना साथीभाइहरूसँग असल नै हुन्छन्। 48 यसैकारणले तिमीहरू सिद्ध होऊ, जसरी तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ।
संगीत प्रमुखलाई, तार-वाद्यमा शिमिनिथको सहयोगद्वारा, दाऊदको भजन।
1 हे परमप्रभु, तपाईं क्रोधित भएको समयमा मलाई नहप्काउनुहोस्।
तपाईं क्रोधित नहुनुहोस् अनि मलाई सजाय नदिनुहोस्।
2 हे परमप्रभु, ममाथि दया राख्नुहोस्
कारण म रोगी र कमजोर छु।
मलाई निको पार्नुहोस्!
मेरो हड्डीहरू दुःखीरहेका छन्।
3 मेरो सम्पूर्ण शरीर कामि रहेकोछ,
परमप्रभु, कहिले सम्म मलाई निको पार्नुहुन्छ?
4 परमप्रभु, फेरि फर्की आउनुहोस् र मलाई बलियो बनाउनुहोस!
तपाईं अत्यन्त दयालु हुनुहुन्छ, यसैले मलाई बचाउनुहोस्।
5 मरिसकेकाहरूले आफ्नो चिहानबाट तपाईंलाई सम्झने छैनन्।
मसान घाटबाट कसैले तपाईंको स्तुति गर्न सक्दैनन्।
यसैले मलाई निको पार्नुहोस्!
6 हे परमप्रभु, रातभरि मैले तपाईंलाई प्रार्थना गरिरहें।
मेरो आँसुले ओछ्यान छ्याप्पै भिजेको छ।
आँसु मेरो ओछ्यानबाट तप-तप तप्किरहेछ।
म तपाईंको लागि कराएर, चिच्याएर थाकिसकें।
7 मेरो शत्रुहरूले मलाई धेरै दुःख-कष्टहरू दिए।
त्यसले मलाई अत्यन्त दुःखी र व्यथित बनायो।
अब मेरो आँखाहरू रूँदा-रूँदा शिथिल भएकाछन्।
8 दुष्ट काम गर्ने प्रत्येक मानिस मबाट टाढा जाऊ!
किनभने परमप्रभुले मेरो विलाप सुन्नु भएकोछ।
9 परमप्रभुले मेरो प्रार्थना सुन्नुहुन्छ
अनि परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्दै जवाफ दिनुहुन्छ।
10 मेरा सबै शत्रुहरू विरक्त दुःखी र निराश हुनेछन्।
अचानक केही कुरा अवश्य घट्नेछ र तिनीहरू लज्जित हुनेछन्।
29 म तिमीहरूलाई सहायता गर्ने छैन कारण मैले दिएको ज्ञान तिमीहरूले लिन अस्वीकार गरेका छौ तिमीहरूले परमप्रभुको डर मान्न र उहाँलाई सम्मान गर्न अस्वीकार गरेका थियौ। 30 तिमीहरूले मेरो उपदेश सुन्न अस्वीकार गरेका थियौ। जब मैले तिमीहरूलाई सही मार्ग-दर्शन गराउन खोजें त्यस बेला तिमीहरूले मलाई ध्यानै दिएनौ। 31 तिमीहरूले आफूले रोजेको जीवन शैली नै मन परायौ। दुष्ट योजनामा व्यस्त रह्यौ, तिमीहरूले मेरा उपदेश मानेनौ, यसर्थ तिमीहरूले अहिले आफ्नो कर्मको फल भोग्नै पर्छ, त्यही नै तिमीहरूले ग्रहण गर्नु पर्छ।
32 “अनुभवहीन मानिसहरू बरालिन्छन् अनि मर्छन्, मुर्खहरू कुनै विषयमा चिन्तित हुदैनन् अनि यसले तिनीहरूलाई नष्ट गर्नेछ। 33 तर त्यो मानिस जसले मलाई पछ्याउँछ ऊ सधैँ सुरक्षित रहनेछ। त्यस्ता मानिस अचानक आइपर्ने खतराहरूबाट सुरक्षित रहनेछन्।”
© 2004, 2010 Bible League International