The Daily Audio Bible
Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.
जल प्रलयको अन्त
8 नूह र उनीसित जहाजमा जो मानिस पशु र चराहरू थिए, तिनीहरूलाई परमेश्वरले सम्झनु भयो। परमेश्वरले पृथ्वीमा हावा बहाउनु भयो। र पानी बिस्तारै घट्न थाल्यो।
2 आकाशबाट पानी पर्न छोडे पछि भूमि मुनिबाट पनि पानी बग्न छोड्यो। 3 त्यसपछि बिस्तारै जमिनमा पानी घट्न थाल्यो। 150 दिन पुगेपछि पानी घटेको थियो 4 अनि सातौं महीनाको सत्रौं दिन अरारात पर्वतमा जहाज अडियो। 5 यसरी पानी दशौं महीना नपुगुन्जेलसम्म घटिरह्यो। महीनाको पहिला दिन पर्वतको चुचुराहरू देखिए।
6 त्यसपछि चालीसौं दिनको अन्तमा नूहले जहाजको ढोका खोलेर एउटा कागलाई उडाई दिए। 7 अनि त्यो काग पृथ्वीमा पानी नसुकुन्जेलसम्म उडेर जाँदै-फर्कंदै गरिरह्यो। 8 त्यसपछि उनले फेरि पृथ्वीको सतहमा पानी सुकीसकेको छ वा छैन जान्न जहाजबाट एउटा ढुकुर उडाइ दिए।
9 तर त्यस ढुकुरले पृथ्वीमा कतै आफ्नो पाऊ राख्ने ठाउँ पाएन। जमीनमा कतै पाऊ राख्ने ठाउँ नपाएर त्यो ढुकुर फर्केपछि नहुले हात फिंजाएर त्यसलाई समाती जहाजभित्र पसाए।
10 नूहले अझै सात दिन पर्खेर फेरि त्यस ढुकुरलाई जहाजबाट बाहिर उडाइदिए, 11 अनि त्यो ढुकुर साँझमा फेरि जहाजमा फर्किएर आयो। यस पल्ट नूहले पृथ्वीको सतहबाट पानी सुकेको चाल पाए कारण यस पल्ट त्यस ढुकुरले आफ्नो चुच्चोमा एउटा भद्राक्षको पात चेपेर ल्याएको थियो। 12 त्यसपछि नूहले फेरि सात दिनसम्म पर्खे र त्यही ढुकुरलाई जहाजबाहिर उडाइ दिए तर यस पल्ट त्यो ढुकुर फर्केर नूह भएको जहाजमा आएन।
13 नूहको उमेरको 601 बर्ष भएको थियो पहिलो महीनाको पहिलो दिन पृथ्वीको सतहमाथि पानी पूर्णरुपले सुक्यो। यसर्थ नूहले जहाजको ढोका खोलेर हेर्दा देख्यो पृथ्वीको सतहमा पानी सुकिसकेको थियो। 14 दोस्रो महीनाको सत्ताईसौं दिनमा पृथ्वीको सतहबाट सम्पूर्ण रूपले पानी सुकेको थियो।
15 तब परमेश्वरले नूहलाई भन्नुभयो, 16 “तँ, तेरी पत्नी, तेरा छोराहरू र बुहारीहरू लिएर जहाज बाहिर आइज। 17 जहाजमा तँसँग जे जति चराहरू, पाल्तू जनावर, वनका जनावार भूमिमा घस्रने जन्तुहरू ती सब भूमिमा ओह्राल जसले गर्दा तिनीहरूले पृथ्वीमा आफ्नो सन्तान बढाउन्, पशुहरूले तिनीहरूको संख्या पृथ्वीमा बढाउन्।”
18 यसर्थ, नूह उनका छोराहरू, उनकी पत्नी तथा बुहारीहरू जहाजबाट बाहिर भूमिमा निस्के। 19 आफ्नो-आफ्नो परिवार, प्रत्येक जनावर, घस्रने प्राणीहरू, प्रत्येक चरा जो पनि पृथ्वीमाथि हिँड़डुल गर्छन् तथा आकाशमा उड्छन् ती सबै पृथ्वीमा ओर्लिए।
20 त्यसपछि नूहले परमप्रभुको निम्ति एउटा वेदी उभ्याए र उनले केही पवित्र पशुहरू र पवित्र चराहरू परमप्रभुको निम्ति वेदीमा होमबलि चढाए।
21 परमप्रभुले त्यस बलिदानहरूको बास्ना लिएपछि मनमा भन्नुभयो, “फेरि पृथ्वीलाई कहिल्ये पनि सराप दिने छैन। यसर्थ अब उसो कहिले पनि यस प्रकारका जीवित प्राणीहरूलाई नष्ट पार्ने छैन। 22 जहिलेसम्म पृथ्वी रहन्छ, बिउ छर्ने र फसल काट्ने समय, जाडो र गर्मी, ग्रीष्म र शिशिर, दिन अनि रातको कहिल्यै अन्त हुनेछैन।”
नयाँ शुरु
9 परमेश्वरले नूह र उसका छोराहरूलाई आशीर्वाद दिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका सन्तानहरूको संख्या यति सम्म बढोस् धर्ती फेरि मानिसहरूले भरियोस्। 2 यस पृथ्वीको प्रत्येक पशु, आकाशको प्रत्येक चरा, प्रत्येक जन्तु जो भूइँमा घस्रन्छ र समुद्रका प्रत्येक माछा तिमीसित डराउने छन। तिनीहरू सबै तेरो नियन्त्रणमा बसुन्। 3 कुनै पनि गतिशील चीज तेरो आहारको निम्ति होस्, जस्तो मैले पहिले हरियो उद्भिदहरू खाद्यको निम्ति दिएँ अहिले तलाईं प्रत्येक चीज खानको निम्ति दिन्छु। 4 जिउँदो पशुहरूको मासुमा जतिन्जेलसम्म रगत रहन्छ त्यो चाँहि नखानु। 5 अब उसो, यदि कुनै सजीवले एकजना मानिसलाई मार्छ भने, यसले त्यसको लागि आफ्नो जीवन दिनु पर्छ। यदि एकजना मानिसलाई अर्को मानिसले मार्छ भने म उसको जीवन लिनेछु।
6 “यदि कसैले एउटा मानिसलाई मार्छ त्यसलाई अर्को मानिसले प्राणदण्ड दिनु पर्छ,
कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरुपमा सृष्टि गर्नु भएको छ।”
7 “अनि तिमीले धेरै सन्तानहरू पाउनेछौ जसले गर्दा तिम्रो जनसंख्या बढ्नेछ अनि धर्ती भर्नेछ।”
8 तब परमेश्वरले नूह र उनका छोराहरूलाई भन्नुभयो, 9 “म तिमी, तिम्रा भावी सन्तान अनि तिमीसित भएको प्रत्येक सजीव वस्तुसित विशेष सम्झौता तयार गर्दै छु। 10 म मेरो करार सबै चराहरू अनि पाल्तू पशुहरू अनि पृथ्वीमा भएका सबै जनावरहरूसित जो तिमीहरूसित जहाजभित्र, पृथ्वीको सबै जीवित प्राणीहरूसित गर्नेछु। 11 तिमीहरूसित म यो करार गर्दैछु अब उसो कहिल्यै पनि जल प्रलयद्वारा प्राणीहरू नष्ट हुने छैनन् अनि अब फेरि पृथ्वीलाई नष्ट पार्न जल-प्रलय कहिल्यै हुनेछैन।”
12 अनि परमेश्वरले भन्नुभयो, “यो चाँहि मैले तिमीहरू र तिमीहरूसित भएका प्राणीहरूसित गरेको करारको चिन्ह हो। यो करार पृथ्वीमा तिमीहरूका सन्तान जति पनि जन्मन्छन् सबैसित सधैँ रही रहनेछ। 13 तिमीहरूसित मैले स्थापित गरेको करारको चिन्ह स्वरुप बादलमा इन्द्रेणी बनिए त्यो इन्द्रेणी म र पृथ्वीको करारको प्रमाण हो। 14 जब म पृथ्वीमाथि बादल ल्याउँछु बादलमा इन्द्रेणी देखा पर्छ। 15 म मेरो करार सम्झनेछु ताकि कहिले पनि फेरि बाढीले पृथ्वीका सजीव प्राणीहरूलाई नष्ट गर्ने छैन। 16 जब म इन्द्रेणीलाई देख्छु म त्यो करार सधैँ सम्झना गर्नेछु म अनि पृथ्वीमा भएको प्रत्येक जीवित प्राणीहरू बिचमा भएको करार सम्झना गर्नेछु।”
17 अनि परमेश्वरले नूहलाई भन्नुभयो, “यही नै म र पृथ्वीमा भएका सबै जीवित प्राणीहरूसित स्थापित गरिएको करारको चिन्ह हो।”
कष्टहरूको प्रारम्भ
18 जहाजबाट निस्केका नूहका छोराहरू शेम, हाम र येपेत थिए (हाम कनानका पिता थिए) 19 यी तिनै जना नूहका छोराहरू थिए र यी तीन जनाका सन्तानहरूले नै यो पृथ्वी भरियो।
20 नूह नै दाखको खेती गर्ने पहिलो खेतीवाला थिए। 21 नूहले दाखरस बनाएर पिए अनि माते र उनी पालभित्र सुतिरहे। नूहले कुनै लुगा लगाएका थिएनन्। 22 कनानका बाबु हामले आफ्नो बाबु नूहलाई नाङ्गै सुतिरहेको देख्यो र त्यो बाहिर आएर आफ्नो दुवै दाज्यूहरूलाई बाबु नाङ्गै सुतिरहेको कुरो सुनायो। तब शेम र येपेतले एउटा कोट लिएर दुबैजनाको कुममा राखी पछिल्तिरवाट हिंडेर आफ्नो बाबुको नाङ्गो शरीर ढाकिदिए। 23 तिनीहरू पछिल्तिर फर्केका थिए र तिनीहरूले बाबुलाई नाङ्गो देखेनन्।
24 जब नूह मध्य निंद्राबाट ब्यूँझिए उसको कान्छो छोरोले के गरेको थियो त्यो थाहा पाए। 25 तब नूहले भने,
“कनानलाई सराप लागोस्,
ऊ आफ्ने दाज्यू-भाइहरूको कमारो हुनेछ।”
26 तब नूहले भने,
“शेमका परमप्रभु परमेश्वर, धन्यका होऊन्।
कनान उसको दास बनियोस्।
27 परमेश्वरले येपेतको विकास गराई दिऊन्,
अनि येपेत शेमको पालहरूमा बसोस्,
अनि कनान उसको कमारा होस्।”
28 नूह जल प्रलयपछि 350 बर्ष बाँचे र मरे। 29 यसर्थ नूह जम्मा 950 बर्ष बाँचे र मरे।
राष्ट्रहरू बढ्दै गए अनि फिंजिए
10 नूहका छोराहरू शेम, हाम र येपेत थिए र यिनीहरूको पारिवारिक इतिहास यही हो। नूहको छोराहरूका धेरै सन्तानहरू भए।
येपेतका सन्तानहरू
2 येपेतका छोराहरू थिए गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास।
3 गोमेरका छोराहरू थिए अशकनज, रीपत र तोगर्मा।
4 याबानका छोराहरू थिए; एलीशा, तर्शोश, कित्तीम र दोदानीम।
5 तिनीहरूबाटै समुद्रतट वासीहरू फिंजिए। तिनीहरूको देशभित्र आफ्नो भाषा र जाति अनुसार फिंजिए। यी सबै येपेतका छोराहरू थिए।
हामका सन्तानहरू
6 हामका छोराहरू थिए: कूश, मिश्र, पूत र कनान।
7 कूशका छोहरू थिए: सबा, हवीला, सबता, रामा र सबतका।
रामाका छोराहरू थिए: शबा र ददान।
8 निम्रोद कूशको छोरा थियो। निम्रोद ज्यादै शक्तिशाली योद्धा बनिने पहिले मानिस थिए। 9 परमप्रभुको महान योद्धा शिकारीहरू मध्ये एकजना थिए। त्यसकारण मानिसहरू निम्रोदसित तुलना गर्छन् अनि भन्दछन्, “यो मानिस परमप्रभुको दृष्टिमा निम्रोद जस्तै राम्रो शिकारी हो।”
10 शुरूमा तिनको राज्य शिनारको बाबेल, एरेक, अक्कद र कल्ने थियो। 11 यहाँबाट तिनी अश्शूर गए अनि नीनवे, रहोबोतीर र कालह शहरहरू बनाए। 12 कालह र नीनवे माझ तिनले शहर रेसेन बनाए। ती शहरहरू मध्ये कालह सबै भन्दा ठूलो थियो।
13 मिश्र, लूद, अनाम, लहाब, नप्तूह, 14 पत्रुस, कसलू अनि कपतोर मानिसहरूका पिता थिए। (पलिश्ती मानिसहरू कसलूका सन्तान थिए।)
15 कनान सीदोनका पिता थिए र त्यो नै कनानका जेठो छोरो थियो। कनान हेत मानिसहरूका पिता थिए। 16 कनानबाट हित्ती, यबूसी, एमोरी, गिर्गाशी, 17 हिब्बा, अर्कोत र सिनीत मानिसहरू, 18 अर्वादी, समारी र हमाती मानिसहरू उत्पन्न भए।
यसरी कनानका सन्तानहरू संसारका जताततै फिंजिए। 19 कनानी मानिसहरूको भूमिको सिमाना उत्तरमा सीदोनदेखि दक्षिणमा गरारसम्म, पश्चिममा गाजादेखि सदोमसम्म र पूर्वमा गमोरा, अदाम र सबोयीमदेखि लाशासम्म थियो।
20 ती सब मानिसहरू हामका सन्तान थिए र ती सबै मानिसहरूको आफ्नो-आफ्नो भाषा र आफ्नै भूमि थियो र तिनीहरूको एउटा अलगै राज्य थियो।
शेमका सन्तानहरू
21 शेम येपेतका जेठा दाज्यू थिए। शेमका सन्तानहरूमा एक जना एबेर सबै हिब्रू मानिसहरूका पिता थिए।
22 शेमका छोराहरू एलाम, अश्शूर, अर्पक्षद, लूद अराम थिए।
23 अरामका छोराहरू ऊज, हुल, गेतेर अनि मश थिए।
24 अर्पक्षद शेलहका पिता थिए,
शेलह एबेरका पिता थिए,
25 एबेर दुइजना छोराहरूका पिता थिए जसमा एकजनाको नाउँ पेलेग थियो। उसलाई पेलेग नाउँ राखिएको कारण उसकै जीवनकालमा पृथ्वी विभक्त भएको थियो। अर्को छोरोको नाउँ योक्तान थियो।
26 योक्तान अल्मोदाद, शेलेप, हसर्मवित र येरह, 27 हदोराम, ऊजाल, दिक्ला, 28 ओबाल, अबमाएल, शबा, 29 ओपीर, हवीला अनि योबाबको पिता थिए। यी सबै मानिसहरू योक्तानका छोराहरू थिए। 30 ती सबै मानिसहरू मेशा र पूर्वमा पहाडी भूमि इलाकामा बसो बास गर्थे। मेशा सापारा भूमितिर पर्थ्यो।
31 ती मानिसहरू शेमको परिवारका थिए। तिनीहरू आफ्नो वंश, परिवार, भाषा, भूमि र राष्ट्रमा गठित थिए।
32 नूहका सन्तानको वंश अनुसार तिनीहरूका जातिहरू यी नै थिए। यिनीहरू आफ्ना आफ्ना राष्ट्रमा गठित थिए अनि जल-प्रलय पछि तिनीहरूबाट नै पृथ्वीमा सबै मानिसहरू फिंजिएका थिए।
गालिलमा येशू आफ्नो काम शुरु गर्दै
(मर्कूस 1:14-15; लूका 4:14-15)
12 येशूले यूहन्ना थुनामा परे भन्ने कुरा सुन्नु भयो। त्यसपछि उहाँ गालील तर्फ लाग्नुभयो। 13 येशू नासरतमा बस्नु भएन। उहाँ गालिल झीलको नजिकको कर्फनहुम नगरमा बस्नु भयो। कर्फनहुम, जबुलून अनि नप्तालीका क्षेत्रमा पर्छ। 14 येशूले यशैया अगमवक्ताद्वारा बोलिएको यिनै वचनलाई पूरा गर्नका निम्ति यसो गर्नु भयो:
15 “सुन! जबुलून र नप्तालीको मुलुक,
यर्दन नदीपारिको क्षेत्र, समुन्द्रको किनारा तिरजाने बाटो,
गालील, गैर-यहूदीहरूको मुलुक।
16 जहाँका मानिसहरू आत्मिकि अन्धकारमा थिए,
तिनीहरूले एउटा ठूलो ज्योति देखे।
अँध्यारो मुलुकमा बस्नेहरूको निम्ति ज्योति चम्कियो।
जो मुलुकको चिहान जस्तै ठाउँमा बाँच्न परेको थियो।”(A)
17 यसै बेलादेखि येशूले प्रचार गर्न थाल्नुभयो। उहाँले भन्नलाग्नुभयो, “तिमीहरू पश्चताप गर अनि आफ्नो रहन-सहन परिवर्तन गर, किनभने, स्वर्गको राज्य नजिक आइपुगेको छ।”
येशू केही चेलाहरू चुन्नु हुन्छ
(मर्कूस 1:16-20; लूका 5:1-11)
18 गालील झीलका छेउ भएर येशू हिँडिरहनु भएको थियो। उहाँले दुइजना दाज्यू-भाइलाई देख्नुभयो पत्रुस भनिने शिमोन र तिनको भाइ अन्द्रियास दुवै दाज्यू-भाइ माछामार्ने जालहारी थिए। अनि तिनीहरूले समुन्द्रमा जाल हानेर माछा मार्दैं थिए। 19 येशूले भन्नुभयो, “मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका जलहारी बनाउनेछु।” 20 शिमोन र अन्द्रियास दुवैले आफ्नो जालहरू त्यति नै बेला छाडिदिए र येशूको पछिलागे।
21 गालील झील भएर येशू हिंड्दै जानुभयो। उहाँले अरू दुइजना दाज्यू-भाइलाई देख्नुभयो, याकूब र यूहन्ना ती जब्दीका छोराहरू थिए। तिनीहरूले जाल बुन्दै गरेका देख्नु भयो। येशूले ती दुइ दाज्यू-भाइलाई पनि बोलाउनु भयो। 22 तिनीहरूले पनि तुरन्तै आफ्नो डुङ्गा र आफ्नो बाबुलाई छोडेर येशूको पछि लागे।
येशूको उपदेश र मानिसहरूको चंगाई
(लूका 6:17-19)
23 येशूले गालीलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभाघरहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो।
24 उहाँको कीर्ति सिरियाभरि फिँजियो, अनि मानिसहरूले शारीरिक रूपले रोगी भएका सबै रोगीहरूलाई उहाँकहाँ ल्याउन थाले। ती रोगी मानिसहरू अनेक प्रकारका रोग र कष्टले पीडित थिए। कतिजना मानिसहरू एकदमै नराम्रा रोगले पीडित थिए भने कतिजना भूत-प्रेत र पिशाच लागेकाहरू थिए। कतिजना छारेरोग लागेकाहरू र कतिजना पक्षघात भएकाहरू थिए। येशूले तिनीहरू सबैलाई निको पार्नुभयो। 25 धेरै-धेरै मानिसहरूले उहाँलाई पछ्याउन लागे। ती मानिसहरू गालील, डेकापोलिस[a] यरूशलेम, यहूदिया तथा यर्दन नदी पारिका अन्य इलाकाबाट आएकाहरू थिए।
प्रमुख संगीतकारको लागिः तार भएको बाजासहित (वीणा-वाद्य) दाऊदको भजन।
1 हे मेरो धार्मिक परमेश्वर, जब म प्रार्थना गर्दछु
मलाई जवाफ दिनुहोस्।
मेरो प्रार्थना सुन्नुहोस् र ममाथि कृपा राख्नु होस्!
मेरो सम्पूर्ण कष्टहरूदेखि मलाई मुक्ति दिनुहोस्!
2 हे मानिसहरू हो! मेरो विषयमा कहिलेसम्म दुष्ट कुराहरू गरिरहन्छौ?
मेरो विषयमा तिमीहरूले फेरि नयाँ झूटा कुराहरू खोजिरहेका छौ।
त्यस्ता झूटा कुराहरू भन्न गर्न तिमीहरू मन पराउँछौ।
3 तिमीहरूलाई थाहा छ परमप्रभुले आफ्ना धार्मिक मानिसहरूको कुरा सुन्नु हुन्छ।
यसकारण जब म प्रार्थना गर्दछु उहाँले सुन्नु हुन्छ।
4 यदि तिमीहरूलाई केही कुराले विरक्त पार्दा रीस उठ्न सक्छ, तर पाप चाँहि नगर।
जब तिमी सुत्न जान्छौ तब ती कुराहरू सोच र निदाऊ।
5 परमप्रभुलाई पवित्र बलिदानहरू चढाऊ,
र उहाँमा भरोसा राख।
6 धेरै मानिसहरूले भन्छन्, “हामीलाई कसले परमेश्वरको भलाई देखाऊला?”
हे परमप्रभु, तपाईंको प्रज्वलित अनुहार हामीलाई देखाउनु होस्!
7 हे परमप्रभु, तपाईंले मलाई खुशी बनाउनु भयो।
तपाईंले मलाई अन्न बाली काट्ने उत्सव भन्दा पनि ज्यादा खुशी दिनु भयो।
जब हामीसँग प्रचुर मात्रमा अन्न र दाखरसहरू थिए।
8 जब म ओछ्यानमा जान्छु र मस्तसँग निदाउँछु।
किनभने, परमप्रभुले मलाई सुरक्षित निदाउँन दिनुहुन्छ।
असल स्त्रीको बुद्धि
20 सुन! ज्ञान गल्लीहरूमा जोडले कराउँदै मानिसहरूकहाँ पुग्ने चेष्टा गर्छे। ज्ञानले शहरको सार्वजनिक स्थानहरूमा आवाज निकाल्छे। 21 ज्ञानले भीड गल्लीहरूमा बोलाइरहेकी हुन्छे। ज्ञान नगरको फाटकमा बसेर मानिसहरूलाई बोलाई रहन्छे।
22 ज्ञानले भन्छे, “अनुभवहीन मानिसहरू। आफ्नो सरलतालाई तिमी गिल्ला गर्नेहरू, कहीले सम्म गिल्ला गरी आनन्द लिइरहने छौ। हे मुर्खहरू हो! तिमीहरूले कहिले सम्म बुद्धिलाई घृणा गरिरहने छौ। 23 यदि तिमीहरूले मेरो हप्कीलाई ध्यान दियौ भनें, म जे जान्दछु तिमीहरूलाई भन्नेछु अनि मेरो जम्मै बुद्धि सिकाउनेछु।
© 2004, 2010 Bible League International