Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उत्पत्ति 5-7

आदमको पारिवारिक इतिहास

आदमको परिवारको विषयमा लेखिएको इतिहास यही हो। परमेश्वरले मानिसको सृष्टि गर्दा आफ्नै प्रतिरुपमा मानिसजातिको[a] सृष्टि गर्नुभयो। परमेश्वरले मानिसलाई पुरूष र स्त्री दुइ रुपमा सृष्टि गर्नुभयो। जब उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो तिनीहरूलाई आशिष दिनु भयो अनि तिनीहरूलाई “मानिस” भन्नुभयो।

जब आदम 130 बर्षको वृद्ध भएका थिए, तिनको फेरि अर्को एउटा छोरो जन्मियो र उनले छोरोको नाउँ सेत राख्यो। सेतको जन्म भएपछि आदम अझ 800 बर्ष सम्म जीवित रहे अनि उनको अरू पनि छोरा-छोरीहरू भए। आदम 930 बर्षसम्म बाँचे र मरे।

जब सेत 105 बर्षको भए तब उनको एउटा छोरो जन्मियो जसको नाउँ उनले एनोश राखे। एनोश जन्मेपछि सेत 807 बर्षसम्म जीवित रहे र यो समयमा सेतका अरू छोरा-छोरीहरू जन्मे। यसर्थ सेत जम्मा 912 बर्षसम्म बाँचे र मरे।

एनोशको उमेर 90 बर्षको भएपछि उनको एउटा छोरो जन्मियो जसको नाउँ केनान राखियो। 10 केनान जन्मेपछि एनोश 815 बर्ष सम्म बाँचे। यो समयमा एनोशका अरू छोरा-छोरीहरू पनि जन्मे 11 यसर्थ एनोश जम्मा 905 बर्ष बाँचे र मरे।

12 केनान 70 बर्ष पुगेपछि उसको एउटा छोरा जन्मियो, उनले छोरोको नाउँ महलेल राखे। 13 महलेलले जन्म लिएपछि केनान 840 बर्ष उमेरसम्म बाँचे। त्यस समयमा केनानका आठ छोरा-छोरीहरूले पनि जन्म लिए 14 यसर्थ केनान 910 बर्ष सम्म बाँचे र मरे।

15 जब महलेल 65 बर्षको भयो उसको एउटा छोरो जन्मियो जसको नाउँ येरेद राखियो। 16 येरेद जन्मेपछि महलेल 830 बर्ष सम्म बाँचे र त्यस अवधिमा उसका धेरै छोरा-छोरीहरू जन्मे। 17 यसर्थ महलेल जम्मा 895 बर्ष सम्म बाँचे र मरे।

18 जब येरेद 162 बर्ष पुगे उनको एउटा छोरो जन्मियो जसको नाउँ हनोक राखिय। 19 हनोक जन्मिएपछि येरेद 800 बर्ष सम्म बाँचे। यस अवधिमा येरेदका अरू छोरा-छोरीहरू भए। 20 यसर्थ येरेद जम्मा 962 बर्षसम्म बाँचे।

21 जब हनोक 65 बर्ष पुगे उनको एउटा छोरो जन्मियो जसको नाउँ मतूशेलह राखियो। 22 मतूशेलह जन्मेपछि हनोक 300 बर्ष सम्म परमेश्वरको पछि-पछि हिंडिरहे। यस अवधिमा उसको अरू छोरा-छोरीहरू जन्मे। 23 यसर्थ हनोक 365 बर्ष सम्म बाँचे। 24 एक दिन हनोक परमेश्वरसित हिंडिरहेको समयमा हनोक हराए। परमेश्वरले उसलाई जिउँदै स्वर्ग लानु भयो।

25 जब मतूशेलह 186 बर्षको थिए उनको एउटा छोरो जन्मियो जसको नाउँ लेमेक राखियो। 26 लेमेक जन्मिएपछि मतूशेलह 682 बर्ष सम्म बाँचे। यस अवधि भित्र उनको अन्य छोरा-छोरीहरू पनि जन्मे। 27 यसर्थ मतूशेलह 969 बर्ष सम्म बाँचे।

28 जब लेमेक 182 बर्षको थिए उनको एउटा छोरा जन्मियो। 29 उनले आफ्नो छोरोको नाउँ नूह राखे। उनले भने, “यसले हाम्रो काममा विश्राम देओस्। परमेश्वरले भूमिलाई श्राप दिनु भएकोले हामी खेतीको लागि कठिन परिश्रम गर्छौ। तर नूहले हामीलाई विश्राम दिनु हुनेछ।”

30 नूह जन्मेपछि लेमेक 595 बर्षसम्म जीवित रहे। त्यस अवधिमा उनका अरू छोरा-छोरीहरू जन्मे। 31 लेमेक जम्मा 777 बर्षसम्मा बाँचे।

32 नूह 500 बर्ष पुगेपछि उनको शेम, हाम र येपेत नाउँ भएका छोराहरू जन्मे।

मानिसहरू दुष्ट हुन्छन्

पृथ्वीमा जब मानिसहरूको संख्या बढ्दै गयो, तिनीहरूले कन्याहरूलाई जन्म दिए। परमेश्वरका छोराहरूले ती मानव कन्याहरूलाई मन पराए। यसकारण परमेश्वरका छोराहरूले आफूले रोजेका केही कन्याहरूलाई विवाह गरे।

तब परमेश्वरले भन्नुभयो, “तिनीहरू मरणशील भएकाले मानव रुपमा लामो समयसम्म बाँच्ने छैनन्। तिनीहरूको आयु केवल 120 बर्षसम्म मात्र हुने छ।”

यस पृथ्वीमा नपील मानिसहरू त्यस समय र त्यसपछि पनि थिए। परमेश्वरका छोराहरूले जब मनुष्य कन्याहरूसित शारीरिक सम्बन्ध राखे तिनीहरूले परमेश्वरका छोराहरूका नानीहरू जन्माए। तिनीहरू प्राचीन समयबाट नै प्रसिद्ध लडाकुहरू थिए।

परमप्रभुले देख्नु भयो पृथ्वीका मानिसहरूमा दुष्टता अत्यन्तै धेरै थियो अनि तिनीहरूले मनमा जे चिताउँद थिए सधैँ विचारहरू नै दुष्टपूर्ण हुन्थ्यो। अनि परमप्रभु पृथ्वीमा मनुष्य जाति सृष्टि गरेकोमा दुःखी हुनुभयो। त्यसले परमप्रभुलाई हृदयबाट नै दुःखी तुल्यायो। तब परमप्रभुले भन्नुभयो, “पुथ्वीबाट नै यी मानिसहरूलाई म ध्वंश पार्ने छु। म मानिस, घस्रने र अन्य पशुहरू अनि आकाशमा उड्ने चराहरू जे मैले सृष्टि गरें म सबैलाई ध्वंश पार्नेछु।”

तर नूहले परमप्रभुलाई खुशी तुल्याए।

नूह र महा-जलप्रलय

यो नूहको पारिवारीक इतिहास हो। नूह उसको जीनवनभरि एकजना असल व्यक्ति थिए। नूहले सधैँ परमेश्वरको अनुशरण गर्द थिए। 10 नूहका तीन छोराहरू शेम, हाम र येपेत नाउँ भएका थिए।

11 परमेश्वरको नजरमा पृथ्वी भ्रष्ट थियो। मानिसहरूले पृथ्वीमा हिंसा ब्याप्त पारेका थिए। 12 परमेश्वरले पृथ्वीमा देख्नु भयो पृथ्वीका मानिसहरूले आफ्नो जीवन भ्रष्ट पारेकोले पृथ्वी नै नष्ट भएको थियो।

13 तब परमेश्वरले नूहलाई भन्नुभयो, “मानिसहरूको हिंसाले पृथ्वी भरिएकोले यसमा भएका सबै प्राणीहरूलाई नष्ट पार्न मैले निर्णय लिएँ। यसर्थ पृथ्वीसितै तिनीहरू सबैलाई म झट्टै नष्ट पार्नेछु। 14 तैंले गोपेर काठको एउटा जहाज बनाउनु र त्यसमा कोठाहरू बनाउनु र त्यसको भित्र र बाहिर पट्टी अलकत्राले लिप्नु।

15 “त्यो जहाज 300 हात लामो, 50 हात चौंडा र 30 हात अल्गो बनाउनु र 16 त्यसमा छाना लगाउनु। तब छानाको एक हात तल झ्याल बनाउँनु। त्यस जहाजको एकापट्टी एउटा ढोका राख्नु र त्यसमा पहिलो, दोस्रो र तेस्रो तला बनाउनु।

17 “मेरो भागमा म यस धर्तीका सबै प्राणीहरूको सर्वनाश पार्न खतरनाक बाढी ल्याइरहेको छु। सजीव वस्तुहरू मर्नेछन्। 18 तर म तँसँग एउटा करार गर्नेछु। जहाज भित्र पस्दा तैंले आफूसँग आफ्नो छोराहरू, पत्नी, अनि बुहारीहरू लानु। 19 अनि आफूसँग प्रत्येक जोडी जीवित प्राणी जहाज भित्र लानु, ती जीवित प्राणीहरू सबै भाले-पोथीको जोडी होस् र तिनीहरू पनि तिमीहरूसितै बाँचिरहुन्। 20 जीवन रक्षाको निम्ति प्रत्येक जातका पशु चरा र घस्रने प्राणीहरू त्यहाँ तिमीहरूसित रहनेछन्। 21 अनि तेरो भागमा सबै प्रकारको खाद्य सामग्री भोजनको लागि जम्मा गर्नु। तेरो र ती सब प्राणीहरूका निम्ति भोजन हुनेछ।”

22 परमेश्वरको आज्ञा अनुसार नूहले सबै काम पूरा गर्यो।

जलप्रलय प्रारम्भ

त्यसपछि परमप्रभुले नूहलाई भन्नुभयो, “आफ्नो पुरै परिवारसित जहाजमा पस किनभने पृथ्वीमा अहिले जीवित रहेका मानिसहरूमा तँ मात्र असल मानिस छस् भनी मैले देखें। सात जोडी, सातवटा भाले र सातवटा पोथी शुद्ध पशुहरू र एक जोडी एउटा भाले र एउटा पोथी अशुद्ध पशु। अनि सबै जातका चराहरूबाट पनि सातवटा भाले र सातवटा पोथी लिएर जहाजभित्र पसा। यी पशु-चराहरू अरू सबै ध्वंश गरिए पछि यिनीहरूका जातिहरूलाई पृथ्वीमा बचाई राख्नु यी सब तैंले लानु पर्छ। अबदेखि सातौं दिनमा म यस पृथ्वीमा चालीस दिन चालीस रात पानी पार्नेछु अनि यस पृथ्वीबाट मैले सृष्टि गरेका सबै जीवित प्राणीहरू ध्वंश पार्नेछु।” अनि परमप्रभुबाट भएको आज्ञा नूहले पूर्ण रुपले पालन गरे।

जब पृथ्वीमा प्रलय आयो नूह 600 बर्ष पुगेका थिए प्रलयबाट बाँच्नको निम्ति नूह आफ्नो छोराहरू अनि पत्नी र बुहारीहरू लिएर जहाजभित्र पसे। 8-9 तब प्राणीहरू, नर र नारी, जोडी नूहकहाँ जहाजमा आए। परमेश्वरले आज्ञा गर्नु भए अनुसार धर्तीमा सबै स्वच्छ, अस्वच्छ प्राणीहरू तथा घस्रिने प्राणीहरू आए। 10 अनि ठीक सात दिनपछि पृथ्वीमा जल-प्रलयको पानी पर्नलाग्यो।

11 नूहको जीवनको 600 बर्षको दोस्रो महीनाको सातौं दिनमा जमीनबाट मूल फुट्‌यो अनि आकाशमा ठूला-ठूला प्वालहरू बनिए। 12 अनि पृथ्वीमा मूसलधारे पानी चालीस दिन चालीस रात एकोहोरो परिरह्यो। 13 त्यही दिन नूह, उसकी पत्नी, छोराहरू शेम, हाम र येपेत अनि बुहारीहरू जहाज भित्र गए। 14 ती मानिसहरू, प्रत्येक जातका भाले पोथी गरी जोडी जोडी वन पशुहरू, घरमा पालिने पशुहरू, भूँईमा घस्रने जन्तुहरू अनि प्रत्येक जातका चराहरू जहाजमा पसे। 15 यी सबै पशु-चराहरू नूहसँगै जहाजमा पसे। सास फेर्ने सबै जीवित प्राणीहरू भाले र पोथीको जोडीको दलमा ती पशु चराहरू जहाजमा आए। 16 यी सबै पशुहरू परमेश्वरले नूहलाई दिनु भएको आज्ञा अनुसार जोडी जोडी भएर आए। त्यसपछि परमप्रभुले जहाजको ढोका बन्द गरिदिनु भयो।

17 जल प्रलय पृथ्वीमा चालीस दिन चालीस रातसम्म भयो। पानी बढेर जहाजलाई जमीनबाटमाथि उचाल्न थाल्यो। 18 पानीको स्तर माथि उठ्‌यो अनि जहाज पानी माथि तैरिन थाल्यो। 19 पानी यति साह्रो बढ्यो अग्लो-अग्लो पहाडहरू पनि पानीले ढाकिए। 20 एकोहोरो पानी परिरहेकोले पृथ्वीमा यति धेरै पानी भयो अग्ला पहाडहरू पनि पानीमा बीस फिट डुबे।

21-22 पृथ्वीमा बस्ने सबै पुरुष र स्त्रीहरू घरेलु पशुहरू, र जंङ्गली पशुहरू, पृथ्वीमाथि उड्ने सबै प्राणीहरू अनि सबै सजीव वस्तुहरू जो सुख्खा भूमिमा थिए मरे। 23 यसर्थ पृथ्वीको सतहमा रहने मानिसहरू पशुहरू, घस्रिने जन्तुहरू अनि आकाशमा उड्ने प्राणीहरू परमेश्वरले नष्ट पार्नु भयो। यी सब प्राणीहरूलाई पृथ्वीबाट नष्ट गरियो। केवल नूह र उनीसँगै जहाजमा भएका मानिसहरू र अन्य प्राणीहरू मात्र जीवित रहे। 24 एक सय पचास दिनसम्म परेको पानी पृथ्वीमाथि बगिरह्यो।

मत्ती 3:7-4:11

धेरै फरिसीहरू र सदुकीहरू यूहन्नाकहाँ बप्तिस्मा लिनका निम्ति आए। जब यूहन्नाले तिनीहरूलाई देखे तिनले भने, “हे सर्पका सन्तान हो, आउन लागेको परमेश्वरको क्रोधबाट भाग्न कसले तिमीहरूलाई चेताउनी दियो? तिमीहरू यस्तो काम गर। जसबाट, तिमीहरूको हृदय र रहन-सहन साँच्चै परिवर्तन भएको बुझिनेछ। अनि ‘अब्राहामनै हाम्रा पिता हुनुहुन्छ’ भन्ने कुरा आपसामा विचार नगर। म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी ढुङ्गाबाट अब्राहामका लागि सन्तान प्रदान गर्न सक्नुहुन्छ। 10 अनि अहिलेनै रूखहरूको फेदमा बञ्चरो परेको छ। असल फल नफलाउने सबै रूखहरूलाई काटेर ढालिनेछ अनि आगोमा फालिनेछ।

11 “म चाहिं तिमीहरूले पश्चाताप गर्यौ भनी देखाउनका निम्ति पानीद्वारा बप्तिस्मा गरिदिन्छु। तर मपछि आउने एक जना मभन्दा शक्तिशाली हुनुहुन्छ, जसको जुत्ताको फित्ता खोल्ने लायकको म छैन, उहाँले नै तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। 12 उहाँले अन्न र भूसलाई अलग पार्न निफन्ने नाङ्गलो आफ्नो हातमा लिनु भएकोछ, उहाँले गहूँ संग्रह गरी आफ्नो गहूँको भकारीमा जम्मा गर्नुहुनेछ। अनि भूस जति ननिभ्ने आगोमा जलाउनुहुनेछ।”

यूहन्नाद्वारा येशूको बप्तिस्मा

(मर्कूस 1:9-11; लूका 3:21-22)

13 त्यसैबेला येशू गालील भएर यर्दन नदीमा आउनुभयो येशू यूहन्नाद्वारा बप्तिस्मा लिनका निम्ति यूहन्नाकहाँ आउनुभयो। 14 तर यूहन्नाले उनी येशूलाई बप्तिस्मा दिनु योग्यको छैनन्-भन्ने कोशिश गरे उनले सोधे, “तपाईं मकहाँ बप्तिस्मा लिन किन आउनुभयो? म आफैंले तपाइँबाट बप्तिस्मा लिनु पर्ने हो।”

15 येशूले भन्नुभयो, “अहिलेलाई यस्तै हुनदेऊ। हामीले यसरीनै सही कुरा गर्नु पर्छ।” त्यसपछि यूहन्ना येशूलाई बप्तिस्मा दिन राजी भए।

16 त्यसपछि येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनु भयो। स्वर्ग उहाँको निम्ति उघ्रियो अनि परमेश्वरको आत्मा ढुकुर जस्तै आफूमाथि आइरहेको देख्नु भयो। 17 तब स्वर्गबाट यो वाणी आएको सुनियो। वाणिले यसो भन्यो, “यिनी मेरो प्यारो पुत्र हुन् र म यिनीसँग अत्यन्त प्रसन्न छु।”

येशूको निम्ति कठिन परीक्षा

(मर्कूस 1:12-13; लूका 4:1-13)

यसपछि आत्माले येशूलाई मरुभूमिमा लगेर गयो। दुष्टात्माद्वारा परीक्षा गर्नको निम्ति त्यहाँ लगिएको थियो। चालीस दिन र चालीस रात येशूले केही खानु भएन। यसपछि उहाँ भोकाउनु भयो। शैतान येशू कहाँ परीक्षा गर्नलाई आयो र भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनूहुन्छ भने यी ढुङ्गाहरू रोटी होऊन् भनी आज्ञा दिनुहोस्।”

जवाफमा येशूले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएकोछ,

‘मानिस रोटी खाएर मात्र बाँच्दैन।
    परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।’”(A)

त्यसपछि शैतानले येशूलाई पवित्र शहर यरूशलेममा लग्यो। त्यो दुष्टात्माले येशूलाई मन्दिरको गजूरमाथि राख्यो। शैतानले भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हाम फाल्नुहोस्। किनभने धर्मशास्त्रमा यस्तो लेखिएको छ,

‘परमेश्वरले तपाईंको निम्ति स्वर्गदूतहरूलाई खटाउनु हुनेछ,
    अनि तिनीहरूले तपाईंलाई हात-हातमा उचाल्नेछन्,
जसद्वारा, तपाईंको खुट्टाहरू ढुङ्गामा बजारिने छैनन्।’”(B)

येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ,

‘तैंले परमप्रभु आफ्नो परमेश्वरलाई परीक्षा नगर्नु।’”(C)

त्यसपछि शैतानले येशूलाई एउटा अति अल्गो पर्वतमा पुर्यायो। उसले येशूलाई संसारका सबै राज्यहरू, त्यहाँ भएका वैभव देखायो। शैतानले भन्यो, “यदि तपाईंले घोप्टो परेर मलाई दण्डवत् गर्नुभयो भने, यी सब थोक म तपाईंलाई दिनेछु।”

10 येशूले शैतानलाई भनुभयो, “म देखि टाढा भइहाल, शैतान! धर्मशास्त्रमा यस्तो लेखिएको छ,

‘तैंले परमप्रभु आफ्नो परमेश्वरलाई दण्डवत् गर्नु पर्छ।
    अनि उहाँकै मात्र सेवा गर्नु पर्छ।’”(D)

11 त्यसपछि शैतानले येशूलाई छोडिदियो। त्यसपछि केही स्वर्गदूतहरू येशूकहाँ आएर उहाँको सेवा-टहल गरे।

भजनसंग्रह 3

यो आफ्ना छोरो अब्शालोम देखि भागेर जाँदा दाऊदको भजन हो।

हे परमप्रभु, मेरा शत्रुहरू धेरै छन्।
    धेरै मानिसहरू मेरो विरूद्ध उभिएका छन्।
धेरै मानिसहरूले मेरो विषयमा कुरा गर्छन्।
तिनीहरू भन्छन्, “परमेश्वरले उसलाई बचाउनु हुन्न।”

तर, हे परमप्रभु, तपाईं मेरो ढाल हुनुहुन्छ।
    परमप्रभु तपाईं मेरो आदर हुनुहुन्छ।
    तपाईंले मलाई महान् बनाउनु भयो।

म परमप्रभुलाई प्रार्थना गर्नेछु
    र उहाँले मलाई आफ्नो पवित्र-पर्वतबाट उत्तर दिनुहुनेछ।

म ढल्केर आराम गर्न सक्छु, अनि जान्दछु म उठ्ने छु।
    किनभने परमप्रभुले मलाई ढाक्नु र रक्षा गर्नुहुन्छ!
मेरो वरिपरि हजारौं सिपाहीहरू हुन सक्लान्,
    तर म ती शत्रुहरूदेखि डराउने छैन!

हे परमप्रभु, उठ्नु होस्!
    हे मेरा परमेश्वर, मलाई बचाउनुहोस्!
यदि तपाईंले मेरो दुष्ट शत्रुहरूको गालामा हिर्काउनु मात्र भयो भने
    तपाईंले तिनीहरूका सबै दाँत झारि दिनु हुनेछ।

हे परमप्रभु, विजय तपाईंको हो!
    आफ्ना मानिसहरू प्रति कल्यानकारी हुनुहोस्।

हितोपदेश 1:10-19

10 हे मेरो छोरा, केही मानिसहरू नराम्रो कर्म गर्न रूचाउँछन् अनि त्यस्ता मानिसहरूले तिमीलाई पनि नराम्रो कर्म गर्न उत्साह दिन्छन् तिनीहरूको कुरा नसुन्। 11 त्यस्ता मानिसहरूले भन्लान, “हामी सित आऊ, हामी लुकेर ढुकौं अनि कसैलाई मार्नेछौं। हामी निर्दोष मानिसमाथि जाईलाग्नेछौं। 12 आऊ, हामी त्यस मानिसलाई जसरी चिहानले लाश निल्छ त्यसरी नै सम्पूर्णरूपले त्यसलाई निल्ने छौं, जसरी चिप्लेर कोही गहिरो खाल्डामा झर्छ त्यसरी नै त्यस मानिसलाई शुन्य पार्नेछौं। 13 हामी धेरै बहुमूल्य चीजहरू लूटेर आफ्नो घर लैजानेछौं। 14 यसकारण हामी सित आऊ अनि हामीलाई सहायता गर। हामीले लुटेर पाएको प्रत्येक चीजको भाग बराबरी बाँड्नेछौं।”

15 हे मेरो छोरो, तिमी तिनीहरूको बाटोको अनुशरण नगर। त्यस्तो बाटोमा एक पाइला पनि नराख। 16 किनभने तिनीहरू पाप कर्म गर्न सधैँ अग्रसर रहन्छन् अनि तिनीहरू कसैको हत्या गर्न हतारिन्छन्।

17 बेकारछ जाल थाप्नु जब सबै चराहरूले तिमीलाई देखिरहेका हुन्छन्। 18 यसर्थ जो मानिस निर्दोष मानिसलाई हत्या गर्न लुकेर बसेको हुन्छ, वास्तवमा त्यो मानिस त्यस्तै जालमा फँसेर मर्छ। 19 जो मानिसहरू भ्रष्ट कर्मद्वारा धन कमाउने लालचमा बस्छन् तिनीहरूको अन्त पनि नराम्रो प्रकारले नै हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International