The Daily Audio Bible
Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.
पापको शुरु
3 परमप्रभु परमेश्वरले सृष्टि गर्नु भएको सबै जन्तुहरू मध्ये सर्प अत्यन्त धूर्त थियो। सर्पले उसलाई सोध्यो, “ए नारी! के परमेश्वरले बगैंचामा कुनै पनि रुखबाट फल खानु हुँदैन भनी मनाही गर्नु भएको छ?”
2 त्यस स्त्रीले सर्पलाई उत्तर दिईन्, “होइन! परमेश्वरले त्यसो भन्नु भएन। हामीले बगैंचामा भएका रुखहरूको फल खान सक्छौं।” 3 तर परमेश्वरले भन्नुभयो, “तिमीहरूले बगैंचाको बीचमा भएको रुखको फल खानु हुँदैन, तिमीहरूले छुनु पनि हुँदैन, नत्र तिमीहरू मर्नेछौ।”
4 तर सर्पले स्त्रीलाई भने, “तिमीहरू निश्चय मर्ने छैनौ। 5 परमेश्वरले पनि जान्नु हुन्छ जब तिमीहरूले त्यस रुखको फल खान्छौ तिमीहरूको ज्ञान खोलिन्छ अनि तिमीहरू कुन असल कुन खराब जान्ने ज्ञानी भई परमेश्वर जस्तै हुनेछौ।”
6 तब त्यो स्त्रीले त्यस रुखको फल हेर्नमा राम्रो र खानमा पनि असल बुझिन् कारण त्यस रुखको फलले ज्ञान दिन्थ्यो त्यस रुखबाट केही फलहरू टिपेर खाई अनि आफूसँग भएको मानिसलाई पनि खान दिई र उसले पनि खायो।
7 तब तिनीहरूले केही अनौंठो अनुभव गरे। तिनीहरूले देखे तिनीहरू नाङ्गै थिए। यसर्थ तिनीहरूले नेभाराको पात गाँसे अनि आफ्ना निम्ति लुगाहरू बनाए।
8 जब साँझको हावा बहिरहेको थियो परमप्रभु परमेश्वर बगैंचामा घुमिरहनु हुँदा ती पुरुष र स्त्रीले परमप्रभु परमेश्वरको आवाज चाल पाएर तिनीहरू बगैंचाको रुखहरू माझ लुके। 9 परमप्रभु परमेश्वरले त्यस पुरुष मानिसलाई बोलाउनु भयो अनि सोध्नु भयो, “तिमी कहाँ छौ?”
10 तब त्यस पुरुष मानिसले उत्तर दियो, “तपाईको आवाज मैले बगैंचा भित्र चाल पाएँ र म नाङ्गैं रहेको हुँदा डराएँ र म लुकें।”
11 तब परमप्रभु परमेश्वरले भन्नुभयो, “तिमी नाङ्गैं छौ भनी कसले भन्यो? के तिमीले मैले जुन रुखबाट फल नखानु भनी आज्ञा दिएको थिएँ त्यसैको फल त खाएनौ?”
12 त्यस मानिसले भने, “स्त्री जो तपाईंले मसित बस्न दिनु भयो, उसैले मलाई रुखको फल दिईन् अनि मैले खाएँ।”
13 तब परमप्रभु परमेश्वरले त्यस स्त्री मानिसलाई भन्नुभयो, “तिमीले किन यस्तो काम गर्यौ?”
तब त्यस स्त्रीले भनी, “सर्पले मलाई धोका दियो र मैले त्यो फल खाएँ।”
14 तब परमप्रभु परमेश्वरले सर्पलाई भन्नुभयो,
“तैंले यस्तो काम गरेको हुनाले,
तँलाई अन्य पशुहरू गाई-वस्तु
र अरू सबै जङ्गली पशुहरूलाईभन्दा
अझै ज्यादा श्राप दिनेछु।
तैंले तेरो जीवन भरी आफ्नो पेटले घस्रनु
र माटो खाएर बस्नु परोस्।
15 म तँ र त्यस स्त्रीमाझ
शत्रुता सृष्टि गर्नेछु।
तेरो सन्तान र त्यस स्त्रीका सन्तानमाझ पनि
शत्रुता सृष्टि गर्नेछु
जसले गर्दा त्यसका सन्तानहरूले तेरो टाउको किच्याउने छन्
अनि तेरा सन्तानहरूले पनि तिनीहरूको कुर्कुच्चामा डस्ने छन्।”
16 त्यसपछि परमप्रभु परमेश्वरले त्यस स्त्रीलाई भन्नुभयो,
“जब तिमी गर्भधारण गर्नेछौ
त्यस अवस्थामा म तिमीलाई अति कष्ट दिनेछु,
र आफ्नो सन्तान जन्माउने बेलामा तिमीले
साह्रै नै प्रसव वेदना सहनु पर्नेछ।
तिमी आफ्नो पतिको चाहना गर्नेछौ।
तर उनले तिमीलाई शासन गर्नेछ।”[a]
17 त्यसपछि परमप्रभु परमेश्वरले त्यस मानिसलाई भन्नुभयो,
“जब तिमीले तिम्री पत्नीको कुरा मानेर
मैले नखानु भनी आज्ञा दिएको रुखको फल खायौ,
र म तिम्रो कारणले भूमिलाई सराप्ने छु,
जुन खाद्य पदार्थ भूमिबाट तिमीले पाउनेछौ,
त्यसको निम्ति तिमीले तिम्रो सारा जीवन भरि मेहनत गर्नु पर्नेछ।
18 त्यो भूमिले तिम्रो निम्ति जंङ्गली घाँस र काँढाहरू उमार्नेछ,
अनि तिमीले जङ्गलमा उम्रेको सागपात खानु पर्नेछ।
19 तिमीले आफ्नो आहारको निम्ति आफ्नो अनुहार पसीनाले
छ्याप्-छ्याप्ती नहुन्जेलसम्म मेहनत गर्नु पर्नेछ,
मरुन्जेलसम्म नै तिमीले मेहनत गर्नु पर्नेछ।
त्यसपछि तिमी फेरि माटोमा मिल्नेछौ।
मैले तिमीलाई बनाउँदा माटोको प्रयोग गेरको थिएँ
र जब तिमी मर्ने छौ फेरि माटोमा मिल्नेछौ।”
20 त्यस आदमले आफ्नी पत्नीको नाउँ हव्वा राख्यो किनभने सबै मानिसहरूकी तिनी आमा हुन्।
21 परमप्रभु परमेश्वरले पशुको छालाको लुगा बनाउनु भयो र त्यो मानिस र उसकी पत्नीलाई लगाउन दिनु भयो।
22 परमप्रभु परमेश्वरले भन्नुभयो, “हेर, त्यो मानिस हामी जस्तै भएको छ उनले राम्रो अनि नराम्रो विषयमा जान्दछ र अब जीवनको रुखबाट उनले फल खान सक्छ यदि उनले त्यो फल खायो भने, ऊ सधैँको निम्ति बाँच्नेछ।”
23 परमप्रभु परमेश्वरले आदमलाई बलपूर्वक जमीन जोत्नु निकाल्नु भयो जहाँबाट उसलाई सिर्जना गरिएको थियो। 24 उहाँले मानिसलाई टाढो खेद्नुभयो अनि अदनको बगैंचाको पूर्वतिर प्रवेशद्वारमा उहाँले एक जना स्वर्गदूत अनि एउटा प्रज्वलित तरवार जो जीवनको रुखतिर जाने बाटोको सुरक्षा गर्दै चारैतिर घुमिरहन्थ्यो।
पहिलो परिवार
4 आफ्नी पत्नी हव्वासँग आदमको सहवास भयो अनि तिनी गर्भवती भएर एउटा छोरो कयिनलाई जन्माइन। तिनले भनिन, “परमप्रभुको सहायताद्वारा मैले एउटा मानिसलाई जन्म दिएँ।”
2 तिनले फेरि अर्को छोरो हाबिललाई जन्माइन। हाबिल भेंडा गोठालो भयो अनि कयिन खेतीवाला भयो।
पहिलो हत्या
3 केही समय पश्चात कयिनले भूमिको उब्जनीबाट केही खाने कुरो परमप्रभु कहाँ भेटीस्वरुप चढाउन ल्यायो। 4 हाबिलले पनि आफ्नो भेंडाको बथानबाट पहिले जन्मेको भेंडाको उत्तम भाग चढाउन ल्यायो।
अनि हाबिलले ल्याएको भेटी परमप्रभुले स्वीकार गर्नुभयो। 5 तर परमप्रभुले कयिन र उनले चढाएको भेटी स्वीकार गर्नु भएन। यसर्थ कयिन साहै रिसायो र दुःखी भयो। 6 परमप्रभुले कयिनलाई सोध्नु भयो, “तँ किन रिसाएको छस्? 7 तँ किन आफ्नो अनुहार अँध्यारो पार्दछस्? यदि तैंले राम्रो काम गरिस् भने म तँलाई स्वीकार गर्छु अनि तैंले नराम्रो काम गरिस् भने पापले तँलाई एकदमै नियन्त्रण गर्नेछ तर तँ यसको मालिक हुनै पर्छ।”
8 कयिनले उसको भाइलाई भने, “हामी खेतमा जाऔं!” अनि तिनीहरू खेतमा गएका थिए, कयिनले उसको भाइलाई आक्रमण गरी तिनलाई मार्यो।
9 तब परमप्रभुले कयिनलाई भन्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?”
तब कयिनले उत्तर दियो, “म जान्दिन, मेरो भाइको हेरचाह गर्ने काम मेरो हो र?”
10 त्यसपछि, परमप्रभुले कयिनलाई सोध्नु भयो, “तैंले उसलाई के गरिस्? कारण भूमिबाट उसको रगत मसँग कराउँदैछ। 11 तैंले तेरो भाइको हत्या गरिस् र तेरो हातबाट रगत पिउनलाई भूमिले मुख बाही रहेकोछ। यसकारण अब म त्यस भूमिमा नराम्रो कुराहरू हुने बनाइदिनेछु। 12 जब तैंले त्यो भूमिमा केही रोप्छस् तेरो निम्ति त्यस भूमिले केही फसल दिने छैन। पृथ्वीमा तेरो एउटा घर पनि हुने छैन, तँ एक ठाउँदेखि अर्को ठाउँ घुमिहिँड्ने छस्।”
13 तब कयिनले परमप्रभुलाई भने, “यो दण्ड चाँहि मैले सहन सक्नेभन्दा धेरै भयो। 14 हेर्नुहोस्, आज तपाईंले मलाई जमीनबाट निकालिदिनु भयो अनि म तपाईंको नजरबाट बाहिर रहनु पर्यो, यस पृथ्वीमा घरबेगरको घुमिहिंड्ने हुने भएँ र जसले पनि मलाई भेट्छ मलाई मार्नेछन्।”
15 तब परमप्रभुले उसलाई भन्नुभयो, “यस्तो हुन पाउने छैन! यदि कसैले तँलाई मार्छ भने त्यसलाई म कठोर दण्ड दिनेछु।” तब परमप्रभुले कयिनमाथि यस्तो एउटा चिन्ह लगाउनु भयो जसले गर्दा त्यो देखेपछि कसैले कयिनलाई मार्ने छैन।
कयिनको परिवार
16 तब कयिन परमप्रभुको सामुन्नेबाट टाढा गएर अदनको पूर्वपट्टि नोद देशमा बस्न थाल्यो।
17 कयिनको उसकी पत्नीसित सहवास भयो र तिनी गर्भवती भईन र हनोक नाउँ भएको एउटा छोरा जन्माइन्। अनि कयिनले एउटा शहर बनायो र त्यो शाहरको नाउँ हनोक राख्यो।
18 हनोकको ईराद नाउँको छोरा जन्म्यो। ईरादको एउटा छोरो भयो र उसको नाउँ महूयाएल राखियो। महूयाएलको पनि मतूशाएल नाउँको छोरो भयो अनि मतूशाएलको पनि लेमेक नाउँको छोरो भयो।
19 लेमेकले दुइवटी स्त्रीहरूसित विवाह गर्यो, तिनीहरूको नाउँ आदा र सिल्ला थियो। 20 आदाले याबाल नाउँको छोरोलाई जन्म दिइन्। याबाल पालमा बस्ने र गाई-वस्तुहरू पाल्नेहरूको पुर्खा थिए। 21 याबालको भाइको नाउँ यूबाल थियो अनि तिनी नै वीणा र बाँसुरी बजाउनेहरू सबैका पुर्खा थिए। 22 सिल्लाले तूबल कयिनलाई जन्माइन् जो सबै प्रकारका पीतल र फलामको हतियारहरू बनाउँथ्यो। तूबल कयिनका बहिनीको नाउँ नामा थियो।
23 लेमेकले आफ्ना पत्नीहरूलाई भने,
“हे आदा र सिल्ला!
लेमेकका पत्नीहरू हो, म के भन्छु, सुन।
मलाई चोट पुर्याउने मानिसलाई मैले मारें,
त्यस जवान केटोले मलाई हिर्कायो मैले उसलाई मारें।
24 यदि कयिनलाई मारेकोमा सात गुणा बढी दण्ड भयो भने,
लेमेकलाई मारेकोमा सतहत्तर गुणा बढी दण्ड हुनेछ!”
आदम र हव्वाको नयाँ पुत्र भए
25 आदमको फेरि आफ्नी पत्नीसित सहवास भयो र तिनले फेरि एउटा छोरो जन्माइन् जसको नाउँ सेत राखियो। तिनले भनिन्, “कयिनले हाबिललाई मारेकोले उसको सट्टामा परमेश्वरले मलाई अर्को बालक दिनु भयो।” 26 सेतको पनि एउटा छोरो भयो जसको नाउँ एनोश थियो। यही समयदेखि मानिसहरूले परमप्रभुलाई विश्वास गर्न थाले।
मातापितासँग येशू मिश्रदेशमा
13 ज्योतिषीहरू गएपछि, परमप्रभुको एउटा दूत सपनामा यूसुफकहाँ देखा परे। दूतले भने, “उठ, साना बालक र उहाँकी आमालाई साथमा लिएर मिश्रदेशमा जाऊ। हेरोदले साना बालकहरूलाई खोज्न लागिरहेकोछ। उसले सानो बालकलाई मार्न चाहन्छ। मैले नभनेसम्म तिमी त्यही बस्नु।”
14 अनि यूसुफ उठेर सानो बालक र उनकी आमालाई साथमा लिएर त्यसै बखत मिश्रदेश तर्फ लागे। तिनीहरूले रातीनै घर छोडे। 15 हेरोदको मृत्यु नभएसम्म यूसुफ मिश्रदेशमा नै बसे अगमवक्ताद्वारा परमेश्वरले भन्नु भएको वचन यसरी पूरा भयो। परमेश्वरले भन्नुभयो, “मैले आफ्नो पुत्रलाई मिश्र देशबाट बोलाएँ।”(A)
बेतलेहेममा हेरोदद्वारा स-साना बालकहरूको हत्या
16 ज्योतिषीहरूबाट हेरोदले धोका पाएको थाहा पाएपछि तिनी साह्रै रिसाए। अनि बेतलेहेम र त्यसका छेउछाउमा भेट्टाएका सबै स-साना बालकहरूलाई मार्ने आदेश दिए। ज्योतिषीहरूबाटै हेरोदले बालक जन्मेको समय पत्ता लगाएका थिए। त्यस बेलादेखि अहिलेसम्म दुइ वर्षको अवधि बितेको थियो। अनि हेरोदले दुइ वर्षर त्यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाएका थिए। 17 तब यर्मिया अगमवक्ताद्वारा परमेश्वरले भन्नुभएको वचन सत्य भयो:
18 “रामामा एउटा स्वर सुनियो,
रूवाबासी र आलाप-विलापको।
राहेलले आफ्ना बालकहरूको लगि विलाप गरिरहेकी थिइन,
शान्त बन्न तिनले अस्वीकार गरिन्, किनकि तिनका बालकहरू अब जीवित थिएनन्।”(B)
यूसुफ र मरियम मिश्रदेशबाट फर्कन्छन्
19 हेरोद मरेपछि, परमप्रभुका एकजना दूत यूसुफकहाँ सपनामा देखा परे। यो घट्ना त्यसबेला भयो जब यूसुफ मिश्रदेशमा नै थिए। 20 स्वर्गदूतले यसो भने, “उठ, साना बालक र उहाँकी आमालाई लिएर इस्राएल जाऊ। बालकलाई मार्न चाहने ती मानिस अहिले मरिसकेका छन्।”
21 त्यसपछि यूसुफ उठे, बालक र उहाँकी आमालाई लिएर इस्राएल तर्फ आए। 22 तर यूसुफले यहूदियामा त्यसबेला अर्खिलाउस राजा भएको कुरो सुने। आफ्ना बाबु हेरोदको मृत्युपछि अर्खिलाउस राजा भए। यसकारण यूसुफ त्यहाँ जान डराए। सपनामा पनि तिनलाई चेताउनी भयो। त्यसपछि तिनले त्यो ठाउँ छाडे अनि गालीलको इलाकामा गए। 23 यूसुफ नासरत भन्ने ठाउँमा पुगे र त्यही बस्न थाले। यसरी अगमनक्ताद्वारा बोलिएको वचन सत्य भयो। परमेश्वरले भन्नुभएको थियो कि “ख्रीष्टलाई नासरी[a] भनिनेछ।”
बप्तिस्मा दिने यूहन्नाको कार्य
(मर्कूस 1:1-8; लूका 3:1-9,15-17; यूहन्ना 1:19-28)
3 त्यही समयमा बप्तिस्मा दिने यूहन्ना देखापरे। अनि यहूदियाको मरूभूमिमा प्रचार गर्न थाले। 2 तिनले भने, “पश्चाताप गर, आफ्नो हृदय र रहन-सहन परिवर्तन गर, किनभने स्वर्गको राज्य चाँडै आउन लागेको छ।” 3 बप्तिस्मा दिने यूहन्ना उही हुन् जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो। यशैयाले भनेका थिए,
“मरुभूमिमा एकजना कराइरहेछन्:
‘परमप्रभुको बाटो तयार पार।
उहाँका मार्गहरू सोझोबनाऊ।’”(C)
4 यूहन्नाको लुगा ऊँटको रौको थियो। तिनको कम्मरमा छालाको पेटी थियो। तिनको आहार सलह र वन-मह थियो। 5 यूहन्नाको सन्देश सुन्न मानिसहरू एकत्र भए। यरूशलेम र सारा यहूदिया र यर्दन नदी वरिपरि सबै भागका मानिसहरू तिनीहरूकहाँ गए। 6 आफ्नो पाप स्वीकार गरे पछि मानिसहरू आए अनि यूहन्नाद्वारा यर्दन नदीमा बप्तिस्मा लिए।
1 अन्य राष्ट्रका मानिसहरू किन रिसाउँछन्?
किन तिनीहरू मूर्खतापूर्ण योजनाहरू बनाउँदै छन्?
2 तिनीहरूका राजाहरू र अगुवाहरू परमप्रभुको विरूद्ध
र उहाँले रोजेका राजाको विरूद्धमा युद्ध गर्न एकजुट भए।
3 ती अगुवाहरूले भने, “परमेश्वर र आफूले रोजेका राजाको विरूद्ध विद्रोह गरौं,
तिनीहरूबाट अलग हौं।”
4 तर मेरा स्वामी, स्वर्गका राजा ती मानिसहरू प्रति हाँस्नुहुन्छ।
परमप्रभुले तिनीहरूलाई हाँसोको पात्र बनाउनु हुन्छ।
5 तब परमेश्वर रिसाउनु हुन्छ,
अनि यसो गर्दा ती अन्य अगुवाहरू डराउँछन्।
6 अनि ती मानिसहरूलाई भन्नुहुन्छ, “यो मानिस राजा होस् भनी मैले रोजें।
अनि उसले सियोन पर्वतमा राज गर्नेछ।
सियोन मेरो एक विशेष पर्वत हो।”
7 अब म तिमीलाई परमप्रभुको करारको विषयमा भन्नेछु।
परमप्रभुले मलाई भन्नुभयो, “आज म तिम्रो पिता भएँ,
तिमी मेरा पुत्र भयौ।
8 यदि तिमीले माग्छौ भने, म तिमीहरूलाई यो देश दिनेछु
अनि पृथ्वीमा भएका सबै जातिहरू तिमीहरूका मानिसहरू हुनेछन्।
9 तिमीहरूले ती देशहरूलाई फलामको डण्डाले
माटोको भाँडाहरू टुक्रा पारे झैं नष्ट गर्न सक्ने छौ।”
10 यसैकारण, राजा र शासकहरू बुद्धिमान होउन्
र तिम्रा सम्पूर्ण शासकहरूले यो पाठ सिकुन्।
11 यसकारण एकदम डराएर परमप्रभुको आज्ञा पालन गर।
12 तिमीहरूले परमप्रभुको पुत्रको भक्त हुँ भन्ने देखाऊ।
यदि तिमीहरूले त्यसो गरेनौ भने उहाँ क्रोधित हुनुहुनेछ,
र तिमीहरू सबैलाई ध्वंश पार्नु हुनेछ।
जसले परमप्रभुमाथि विश्वास गर्छन् उनीहरू सुखी हुन्छन्।
तर अन्य मानिसहरू होशियार हुनु पर्नेछ।
परमप्रभु आफ्नो क्रोध देखाउन तयार हुनुहुन्छ।
7 परमप्रभुलाई सम्मान गर्नु बुद्धिको शुरूवात हो। तर मूर्खहरूले[a] अनुशासन अनि ज्ञानलाई घृणा गर्छन्।
उसको छोरोलाई सुलेमानको उपदेश
8 हे मेरो छोरो, आफ्नो बाबुको कुरा सुन् जब उनले तिमीलाई प्रशिक्षण दिन्छन् अनि आफ्नी आमाले दिएको शिक्षालाई अवहेलना नगर। 9 तिम्रा आमा बाबुले तिमीलाई सिकाएका शिक्षाहरू कुनै मानिसलाई सुहाउँदो मुकुट अथवा सबैलाई अझ शोभायमान गराउने सुनको हार झैं हुन्।
© 2004, 2010 Bible League International