The Daily Audio Bible
Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.
हागार कमारी स्त्री
16 साराई अब्रामकी पत्नी थिइन्, तर ती दुइ जनाको कुनै सन्तान भएन। साराईकी एउटी कमारी थिई, जसको नाउँ हागार थियो त्यो मिश्रकी थिई। 2 साराईले आफ्नो लोग्नेलाई भनी, “परमप्रभुले मलाई कुनै सन्तान दिनु भएन। यसर्थ मेरी कमारीसित तपाईंले सहवास गर्नुहोस् अनि म त्यस कमारीबाट जन्मेको नानीलाई मेरो आफ्नै नानी मान्नेछु।” अब्रामले आफ्नी पत्नीको सल्लाह माने।
3 यो घट्ना अब्राम कनानमा दशबर्षसम्म बसे पछिको हो। साराईले अब्रामलाई आफ्नो कमारी राख्ने अनुमति दिई हालिन्। (हागार साराईको मिश्र देशकी कमारी थिई)
4 हागारले अब्रामको गर्भ धारण गरी। जब उनले चाल पाई उनले गर्भ धारण गरी ऊ घमण्डले फुलिइ अनि अनुभव गरी ऊ साराई उसको मालिकनीभन्दा असल हो। 5 तर साराईले अब्रामलाई भनिन्, “मेरी कमारीले मलाई घृणा गर्छे। यसको निम्ति म तपाईंलाई जिम्मावार ठहराउँछु। मैले तपाईंलाई आफ्नी कमारी दिएँ र त्यसले गर्भ धारण गरी। तब उनले आफूलाई म भन्दा असल हुँ भन्ने गर्छे। म चाहन्छु परमप्रभुले हामी दुइ बीच ठीक न्याय गरून्।”
6 तर अब्रामले साराईलाई भने, “तिमी हागारकी मालिकनी हौ र तिमीले उसलाई जे इच्छा लाग्छ त्यही गर्न सक्छौ।” यसर्थ साराईले हागारलाई सजाय दिई अनि हागार भागी।
हागारको छोरो इश्माएल
7 परमप्रभुको र्स्वग दूतले हागारलाई मरुभूमिमा पानीको स्रोतनेर भेटे। त्यो पानीको स्रोत शूर जाने बाटोनिर थियो। 8 स्वर्गदूतले हागारलाई भने, “हागार तिमी साराईकी दासी हौ, तिमी किन यहाँ छौ? तिमी कहाँ जाँदैछौ?”
हागारले भनी, “म साराईदेखि भाग्दैछु।”
9 परमप्रभुका स्वर्गदूतले हागारलाई भने, “साराई तिम्री मालिक्नी हुन, फर्केर जाऊ अनि तिनको आज्ञा पालन गर।” 10 स्वर्गदूतले पनि भने, “म तिम्रा सन्तानहरू यति सम्म बढाउनेछु तिनीहरूलाई गन्न सकिंदैन।”
11 परमप्रभुका दूतले यसो पनि भने,
“हागार अहिले तिमी गर्भवती छौ,
अनि तिमीले छोरो जन्माउने छौ।
तिमीले उसको नाउँ इश्माएल राख्ने छौ,
किनभने तिमीलाई कुव्यावहार गरिएको छ जो परमप्रभुले सुन्नु भएको छ,
र उहाँले तिमीलाई सहायता गर्नु हुनेछ।
12 इश्माएल स्वतन्त्र
र जंङ्गली गधा झैं हुनेछ,
ऊ सबैको विरूद्धमा जानेछ,
अनि सबै व्यक्तिहरू उसको विरूद्धमा आउनेछन्।
ऊ एउटा भूमिबाट अर्को भूमिमा जानेछ,
उनले आफ्नो आफन्तहरूको नजिक पाल हाल्नेछ,
तर तिनीहरूको विरूद्धमा जानेछ।”
13 परमप्रभुले हागारसित कुरा गर्नु भयो। हागारले परमेश्वरलाई अर्कै नाउँले सम्बोधन गरेर भनिन्, “तपाईं परमेश्वर हुनुहुन्छ जसले मेरो हेरचाह गर्नु हुन्छ।” यसैकारण उनले भनिन्, किनभने उनले विचार गरिन्, उनले साँच्चै त्यहाँ परमप्रभुलाई देखिन् जसले उसको हेरचाह गर्नु हुदै थियो। 14 यसैले त्यस पानीको स्रोतको नाउँ बेर-लहै-रोइ राखियो। त्यो स्रोत कादेश र बेरेदको बीचमा छ।
15 हागारले अब्रामको छोरो जन्माइन अनि अब्रामले छोरोको नाउँ इश्माएल राखे। 16 इश्माएललाई हागारले जन्म दिंदा अब्राम छयासी बर्ष पुगेका थिए।
खतना करारको प्रमाण
17 जब अब्राम 99 बर्ष पुगे परमप्रभु तिनी सामु प्रकट हुनुभयो। परमप्रभुले भन्नुभयो, “म सर्वशक्तिमान परमेश्वर हुँ। मसित सही पथ अनुशरण गर। 2 यदि तिमीले यसो गर्छौ, म हामीबीच एउटा करार तयार पार्नेछु। म तिम्रा सन्तानहरू व्यापक संख्यामा बढाउनेछु।”
3 तब अब्राम परमेश्वरअघि नतमस्तक भए र परमेश्वरले तिनलाई भन्नुभयो। 4 “यो हाम्रो करारमा मेरो भाग हो। म तिमीलाई धेरै-धेरै जाति-समूहहरूको पिता बनाउनेछु। 5 तिम्रो नाउँ अब्राम रहने छैन-तिम्रो नाउँ अब्राहाम हुनेछ। म तिमीलाई यो नाउँ राख्दैछु कारण तिमीलाई म धेरै-धेरै जाति-समूहहरूको पिता बनाउँदैछु। 6 म तिमीलाई धेरै-धेरै सन्तानहरू दिनेछु। नयाँ राष्ट्र र राजा तिमीबाट नै बनिनेछन्। 7 म तिम्रो र मेरो बीचमा एक करार तयार बनाउँछु जुन करार तिम्रा सन्तानहरूको निम्ति पनि हुनेछ। म तिम्रो र तिम्रा सबै सन्तानहरूको परमेश्वर रहनेछु। यो करार सधैँको निम्ति रही रहनेछ। 8 अनि म तँ र तेरा सन्तानहरूलाई यो भूमि दिनेछु। म तलाईं कनानको सम्पूर्ण भूमि दिनेछु जसमा तँ अहिले विदेशी छस्। म यो भूमि सधैँका लागि दिंदैछु अनि तेरो परमेश्वर हुन्छु।”
9 अनि परमेश्वरले अब्राहामलाई भन्नुभयो, “अब, यो चाहिं करारको तिम्रो भाग हो। अनि तिम्रा सन्तानहरूले यो मेरो करार पालन गर्नेछन्। 10 तेरो र मेरो बीचको करार यही हो अनि यो सब तिम्रा सन्तानहरूको निम्ति हो। सबै छोरालाई खतना गराउनु पर्छ। 11 तेरो र मेरो बिचमा भएको करार तैंले पालन गरेको देखाउनका लागी छाला काट्नेछस्। 12 जब केटो आठ दिनको हुन्छ, तैंले उसको खतना गर्नु पर्छ। तेरो घरमा जन्मिने कमाराको प्रत्येक केटो अनि विदेशीहरूबाट किनेका सबै पुरूष कमाराहरूलाई पनि खतना गर्नु पर्छ। 13 यसरी तिम्रो जातिमा जन्मेको प्रत्येक केटाहरूको खतना भएको हुनु पर्छ। प्रत्येक केटो जो तिम्रो जाति-समूहमा जन्मिन्छ र प्रत्येक कमारा जो तिम्रो जाति-समूहमा ल्याइन्छ उसको खतना गरिनु पर्छ। 14 जुन मानिसको खतना गरिंदैन, त्यसलाई बहिस्कृत गरिनु पर्छ किनभने यो मेरो करार हो जसलाई उनले उल्लंघन गरेको छ।”
इसहाक-प्रतिज्ञाका पुत्र
15 परमेश्वरले अब्राहामलाई भन्नुभयो, “म साराईलाई नयाँ नाउँ दिनेछु अनि तिम्री पत्नि साराईको नयाँ नाउँ सारा हुनेछ। 16 म उसलाई आशीर्वाद दिनेछु। म उसलाई एउटा छोरा पनि दिनेछु अनि तँ छोराको बुबा हुनेछस्। तिनी धेरै राष्ट्रहरूको आमा हुनेछिन् अनि उबाट धेरै राजाहरू जन्मिनेछन्।”
17 परमेश्वरलाई सम्मान दर्शाउन अब्राहाम जमीनतिर मुख गरी घोप्टो भए। तर तिनले हाँस्दै आफैंसित भने, “म एक सय बर्षको भएँ, अब म छोरा जन्माउन सक्तिन। अनि सारा पनि नब्बे बर्षकी भई र उनले नानी जन्माउन सक्तिन।”
18 तब अब्राहामले परमेश्वरलाई भने, “म आशा गर्छु इश्माएल जीवित रही तपाईंको सेवा गर्नेछ।”
19 परमेश्वरले भन्नुभयो, “होइन! मैले भनी सकें तिम्री पत्नी साराले एउटा छोरो जन्माउनेछिन् जसको नाउँ तिमीले इसहाक राख्नेछौ। म त्यो सित करार गर्नेछु। त्यो करार त्यस्तो हुनेछ उसका सबै सन्तानहरूसित सधैँको निम्ति बाँचिरहने छ।”
20 “तैंले इश्माएलको कुरा गरिस अनि मैले त्यो सुनें। म उसलाई आशीर्वाद दिन्छु। उसको धेरै सन्तानहरू हुनछन् अनि तिनी बाह्रजना महान राजकुमारहरूको पिता हुनेछन् र तिनको परिवारहरूबाट एउटा महान् राष्ट्र बनिनेछ। 21 मेरो करार इसहाकसित गर्नेछु। इसहाक साराको छोरो हुनेछ। त्यो छोरो अर्को बर्ष यही समयमा जन्मिनेछ।”
22 परमेश्वर अब्राहामसित कुरा गरिसकेपछि स्वर्गमा जानु भयो। 23 परमेश्वरले अब्राहामलाई सबै पुरूष मानिसहरूको खतना गर्नु भनेको हुनाले तिनले इश्माएल र तिनको घरमा भएका सबै कमाराहरूलाई सँगै भेला गराए। अब्राहामले बाहिरबाट किनेर ल्याइएका कमाराहरूलाई पनि सँगै भेला गराए। अब्राहामको घरमा भएका सबै पुरूषहरूलाई भेला गराए अनि तिनीहरूको खतना गरियो। अब्राहामले तिनीहरूलाई त्यही दिन खतना गराए जुन दिन परमेश्वरले भन्नु भएको थियो।
24 जब खतना गरियो अब्राहाम उनन्सय बर्षका र 25 तिनको छोरो इश्माएल तेह्र बर्षका थिए। 26 तिनको छोरो इश्माएल र तिनको एकै दिन खतना गरियो। 27 त्यही दिन अब्राहामको घरमा जन्मेका कमाराहरू र किनेर ल्याइएका कमाराहरूको पनि खतना गरियो।
तीनजना पाहुनाहरू
18 पछि फेरि परमप्रभुले अब्राहामलाई दर्शन दिनु भयो। अब्राहाम मम्रेको फलाँटको रूखको नजिक बस्दै थिए। एकदिन, दिउँसो एकदमै गर्मीको समयमा अब्राहाम पालको ढोकामा बसेका थिए। 2 अब्राहामले आँखा उठाएर हेरे र उनले तीन जना पुरूषहरूलाई आफ्नो अगाडि उभिएको देखे। जब तिनले तिनीहरूलाई देखे तिनी तिनीहरूको सामु गए अनि नमस्कार गरे। 3 अब्राहामले तिनीहरूलाई भने, “हे मेरा महाशय म हजूरको दाससित केही बेर बस्नु होस्। 4 म तपाईंको पाउ धुनको निम्ति पानी लिएर आउँछु। तपाईंहरू रूखमुनि विश्राम गर्नुहोस्। 5 म तपाईंहरूको निम्ति केही रोटी ल्याउनेछु र तपाईंहरूको इच्छा अनुसार खान सक्नु हुन्छ। त्यसपछि तपाईंहरू आफ्नो गन्तव्य स्थानतिर प्रस्थान गर्न सक्नु हुन्छ।”
तीनैजनाले भने, “यो अति नै असल कुरो हो र तपाईं जस्तो ठीक सम्झनु हुन्छ त्यही गर्नुहोस्।”
6 अब्राहाम लगतै पालभित्र पसे र सारालाई भने, “चाँडो गरी मिहिन पीठोको तीनवटा रोटी बनाऊ।” 7 तब फेरि अब्राहाम झट्टारिएर गाई-गोरूहरूको बथानतिर गई एउटा खाईलाग्दो असल बाछो ल्याएर झट्टै त्यसलाई मारी भोजन बनाउन नोकरलाई अह्राए। 8 अब्राहामले ती तीनै जनालाई मासुको परिकार, केही दही र दूध टक्रायाए। जब तिनीहरू रूखमुनि बसेर खान लागे अब्राहाम तिनीहरूको नजिक त्यहीं उभिरहे।
9 ती तीनजना मानिसहरूले अब्राहामलाई सोधे, “तिम्री पत्नी सारा कहाँ छिन्?”
अब्राहामले उत्तर दिए, “तिनी भित्र पालमा छिन्।”
10 तब परमप्रभुले भन्नुभयो, “म फेरि वसन्त ऋतुमा आउनेछु। त्यस समयमा तिम्री पत्नी साराले छोरो जन्माएकी हुनेछिन्।”
साराले पालबाट यी सब कुराहरू सुनिरहेकी थिइन्। 11 अब्राहाम र सारा निकै वृद्ध भइसकेका थिए। साराको सन्तान जन्मिने समय बितिसकेको थियो। 12 यसर्थ उनले जे सुनिन त्यो विश्वास गरिनन्। तिनी आफू एक्लै हाँसिन र भनिन्, “म र मेरा पति दुवै वृद्ध भइसकेका छौं मेरो गर्भधारण गर्ने समय बितिसकेको छ।”
13 तब परमप्रभुले अब्राहामलाई भन्नुभयो, “किन सारा हाँस्छिन् र भन्छिन् उमेरले गर्दा तिनी गर्भधारण गर्न असमर्थ भएकी छिन्। 14 के परमप्रभुको निम्ति केही चीज गर्न गाह्रो छ? होइन! जब म वसन्तमा आउनेछु अनि तिम्री पत्नी साराले छोरो जन्माउनेछिन्।”
15 तर साराले आफू, “नहाँसेको कुरो भनिन्।” तिनले डराएर त्यसो भनेकी हुन्।
तर परमप्रभुले भन्नुभयो, “होइन। तिमीले जे भन्यौ त्यो साँचो होइन। तिमी साँच्चै हाँस्यौ।”
येशूद्वारा दान दिने बारे शिक्षा
6 “होशियार बस, जब तिमीहरू राम्रो काम गर्छौ, अरू मानिसहरूका उपस्थितिमा त्यस्ता देखावटीका निम्ति काम नगर। यदि त्यसो गर्यौ भने स्वर्गमा भएका तिम्रा पिताबाट तिमीहरूलाई केही इनाम मिल्नेछैन।
2 “जब तिमी दरीद्रहरूलाई सहायता दिन्छौ त्यसको विज्ञापन नगर कपटीहरूले जस्तो काम नगर। तिनीहरूले अरूले देखुन भनेर दरीद्रलाई सहायता गर्न अघिबाटै आफ्ना तुरही बजाउँछन्। तिनीहरूले सभाघरहरू र गल्लीहरूमा यसो गर्छन्। मानिसहरूबाट प्रशंसा पाउनलाई तिनीहरू यसो गर्दछन्। म तिमीहरूलाई साँच्चो भन्छु, यो नै ती सबै इनामहरू हुन् जो तिनीहरूले पाउने छन्। 3 तर जब तिमी दरीद्रका निम्ति दान-पुण्य गर्दछौ, एकदमै गुप्त रुपले गर। तिमीले के गर्न लागि रहेका छौ भनेर कसैले चाल नपाओस्। 4 तिम्रो दान-पुण्य गुप्त रूपमा होस्। गुप्त रुपमा गरेका तिम्रो दान-पुण्य तिम्रा पिताले अवश्यै देख्नु हुनेछ। तब तिम्रा पिताले, जसले गुप्तहरूपमा के गरिएको छ देखनुभएको छ र उहाँले तिमीलाई इनाम दिनुहुनेछ।
येशूद्वारा प्रार्थना बारे शिक्षा
(लूका 11:2-4)
5 “जब तिमी प्रार्थना गर्दछौ, तब कपटीहरूले जस्तो नगर। कपटीहरू सभाघरहरूमा र गल्लीहरूमा उभिएर अरूले देखून् भनी प्रार्थना गर्दछन्। म तिमीहरूलाई साँच्चो भन्दछु, यी सबैको इनाम तिनीहरूले पाइसकेका छन्। 6 जब तिमी प्रार्थना गर्दछौ, तिमी आफ्नो भित्री कोठामा पसी ढोका बन्द गर। त्यसपछि तिमी आफ्ना पितासित गुप्तमा प्रार्थना गर। गुप्तरूपमा गरेको सबै कुरा तिम्रा पिताले देख्नुहुनेछ, र तिमीलाई उहाँले इनाम दिनुहुनेछ।
7 “जब तिमी प्रार्थना गर्दछौ, तब परमेश्वरलाई नजान्ने अरू मानिसहरूले जस्तो व्यवहार नगर्। तिनीहरू अर्थहीन कुरा गर्छन्। तिमीले त्यसप्रकारले प्रार्थना गर्नु हुँदैन। तिनीहरूले सोंचेका हुन्छन् परमेश्वरले तिनीहरूका कुरा सुन्नुहुनेछ भनी। 8 त्यस्ता मानिसहरू जस्तो नहोऊ। तिमीहरूले पितासँग माग्नुभन्दा अघि नै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिताले जान्नुहुन्छ। 9 यसैले जतिबेला तिमी प्रार्थना गर्दछौ त्यसबेला यसरी प्रार्थना गर:
‘हे हाम्रा स्वर्गमा बस्नुहुने पिता,
हामी प्रार्थना गर्दछौं तपाईंको नाउँ सधैँ पवित्र रहोस्।
10 हामी प्रार्थना गर्दछौं, तपाईंको राज्य आओस्,
अनि तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस्।
11 आज दिनभरिको भोजन हामीलाई दिनुहोस्।
12 हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्।
जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं।
13 हामीलाई परीक्षामा पर्न नदिनुहोस्,
तर हामीलाई दुष्टहरूबाट बँचाउनु होस्।’[a]
14 यदि, तिमीहरूले तिनीहरूको कसुर क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा बस्नुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। 15 यदि तिमीहरूले मानिसहरूका दोष क्षमा गरेनौ भने स्वर्गमा बस्नुहुने तिमीहरूका पिताले पनि तिमीहरूका दोष क्षमा गर्नुहुनेछैन।
येशूद्वारा उपवास बारे शिक्षा
16 “जब तिमीहरू उपवास बस्छौ, तब कपटीहरू जस्ता उदासी नबन। कपटीहरूले जस्तो आचरण नगर। आफू उपवास बसेको कुरा मानिसहरूलाई देखाउन तिनीहरू आफ्नो मुखलाई अनौठो देखिने पार्छौ। म तिमीहरूलाई साँच्चो भन्दछु, ती कपटीहरूले पाउने सबै इनाम यही हो। तिमीहरूले इनाम पाइसकेकाछन्। 17 यसर्थ जब तिमीहरू उपवास बस्छौ, आफू राम्रो र असल भएर बस। आफ्नो मुख धोऊ। 18 तब मानिसहरूले तिमीहरू उपवास बसिरहेकाछौ भन्ने कुरा थाहा नपाऊन तर गुप्तमा भएका तिम्रा पिताले सबै कुराहरू देख्नुहुनेछ। अनि उहाँले नै इनाम दिनुहुनेछ।
धन-सम्पत्तिभन्दा परमेश्वर महान् हुनुहुन्छ
(लूका 12:33-34; 11:34-36; 16:13)
19 “आफ्नो निम्ति पृथ्वीमा सम्पत्ति नथुपार। जहाँ खीया र किराहरूले सम्पत्ति ध्वंस पारिदिनेछ। अनि चोरहरूले पनि तिम्रो घर फोरेर त्यहाँको सम्पत्ति चोर्छन्। 20 तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार। स्वर्गमा भएको धन-सम्पत्ति खीया र किराहरूले नष्ट पार्न सक्दैन। चोरले पनि त्यहाँ पसेर चोर्न सक्दैन। 21 कारण जहाँ तिम्रो धन हुन्छ, त्यहीं तिम्रो मन पनि हुनेछ।
22 “तिम्रो शरीरको ज्योति आँखा हो। यदि तिम्रा आँखाहरू निर्मल छन् भने, तिम्रा सारा शरीर उज्यालो रहनेछ। 23 तर यदि तिम्रा आँखा खराब छन् भने, तिम्रो सम्पूर्ण शरीर अँध्यारो हुनेछ। यदि तिम्रो उज्यालो चाहिं अँध्यारो भयो भने, त्यो घनघोर अँध्यारो हुनेछ।
24 “कसैले पनि दुइ मालिकको सेवा एकै समयमा गर्न सक्दैन। उसले एउटालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ। अथवा त्यो एउटासित झुक्नेछ, र अर्कोलाई तुच्छ गन्नेछ। यसैले एउटै समयमा एकै साथमा तिमीहरूले परमेश्वर र धनको चाकरी गर्न सक्दैनौ।
परमप्रभुको लागि गाइने दाऊदको यो भजन कूशका छोरा शाऊलको विषयमा हो जो बिन्यामीन परिवारका हुन्।
1 हे परमप्रभु, मेरा परमेश्वर, म तपाईंमाथि भरोसा राख्दछु।
ती खेदो गर्ने मानिसहरूबाट मलाई बचाउनु होस्।
2 यदि तपाईंले मलाईं सहयोग गर्नु हुन्न भने, म सिंहले पक्रेको पशु जस्तै हुनेछु।
मलाई तिनीहरूले लगेर जानेछन्, र मलाई कसैले बचाउन सक्ने छैन!
3 हे परमप्रभु मेरा परमेश्वर, मैले त्यस्तो कुनै नराम्रो काम गरिनँ।
म कसम खान्छु मैले नराम्रो काम गरिनँ!
4 मैले मेरा साथीहरूका लागि अधर्म काम गरेको छैन्।
म बिना कारण मेरा शत्रुहरूमाथि जाइलागेको छैन्।
5 यदि त्यो सत्य होइन भने, मलाई दण्ड दिनुहोस्।
मलाई मेरो शत्रुहरूले खेदुन्, समातुन् र मारून्।
मलाई भुइँमा कुल्चिउन् र मेरो आत्मालाई धूलो-मूलोमा फालिदिउन्।
6 हे परमप्रभु, जाग्नु होस् अनि तपाईंको रिसले तिनीहरूलाई न्याय गर्नुहोस्।
मेरा रिसाएका शत्रुहरूको विरोधमा उठ्नु होस्।
हे मेरा परमेश्वर, तपाईं न्याय गर्नुहुन्छ यसर्थ मेरो निम्ति न्याय गर्नुहोस्।
7 हे परमप्रभु, मानिसहरूको न्याय गर्नुहोस्, जातिहरूलाई वरिपरि जम्मा गर्नुहोस्।
परमप्रभु, जाग्नु होस् र स्वच्छ न्याय गर्नुहोस्।
8 हे परमप्रभु, मानिसहरूको न्याय गर्नुहोस्।
मेरो न्याय गर्नुहोस्।
म सही र निर्दोष छु भनेर प्रमाणित गर्नुहोस्।
9 दुष्ट मानिसहरूलाई दण्ड दिनुहोस्,
अनि धार्मिक मानिसहरूलाई सहयोग गर्नुहोस्।
हे परमप्रभु, तपाईंले
मानिसहरूको हृदय देख्न सक्नुहुन्छ।
10 परमेश्वरले ईमान्दार हृदयसँग मानिसहरूलाई सघाउनु हुन्छ।
यसकारण परमेश्वरले मेरो रक्षा गर्नुहुन्छ।
11 परमेश्वर असल न्यायाकर्त्ता हुनुहुन्छ,
उहाँ सधैँ अधर्मको विरूद्ध बोल्नु हुन्छ।
12-13 यदि परमेश्वरले कुनै निर्णय लिनु भयो भने उहाँले आफ्नो मन बदल्नु हुन्न।
यदि दुष्ट मानिसहरू परिर्वतन हुँदैनन् भने,
परमेश्वर तिनीहरूलाई सजाय दिनु तयार हुनुहुन्छ।
परमेश्वरले आफ्नो तरवार उध्याउनु भएकोछ
अनि काँड हान्न तयार हुनुहुन्छ।
14 दुष्ट मानिसहरूले दिएको कष्ट
र पीरहरू तपाईंले निश्चय देख्नु भएकोछ।
यस विषायमा तपाईंले केही गर्नुहोस्।
15 ती असहाय मानिसहरूलाई सहायता गर्ने कोही पनि छैनन्।
दृष्टीहीनको निम्ति तपाईं रक्षक हुनुहुन्छ।
16 तिनीहरूले पाउनु पर्नै दण्ड पाउने छन्,
जो अरूको लागि कपटी छन्।
तर तिनीहरूले जस्तो रोपेका छन् त्यस्तै फल पाउनेछन्।
17 म परमप्रभुको प्रशंसा गाउँदछु किनभने उहाँ असल हुनुहुन्छ।
सर्वोच्च परमप्रभुको नाउँको म प्रशंसा गर्नेछु।
ज्ञानका कुराहरू सुन
2 मेरो छोरा, म जे भन्छु ग्रहण गर! मेरा आदेशहरू स्मरण गर! 2 ज्ञानका कुराहरूमा ध्यान देऊ। तिम्रो समझ शिक्षाहरू तिर लगाऊ। 3 ज्ञानलाई बोलाऊ अनि समझशक्ति पाउनलाई कराऊ। 4 चाँदी खोजे झैं ज्ञान खोज, गाड़-धन खोजे झैं ज्ञान खोज। 5 यदि तिमीले यसो गर्यौ भने परमप्रभुको डर मान्नुको अर्थ के हो? सो तिमीले जान्न सक्ने छौ। तिमीले साँच्चै नै परमेश्वरको विषयमा जान्ने छौ।
© 2004, 2010 Bible League International