The Daily Audio Bible
Today's audio is from the CEB. Switch to the CEB to read along with the audio.
इस्राएललाई परमेश्वरको विश्वसनीयता
46 यसर्थ इस्राएलले मिश्र देशको यात्रा शुरू गरे। पहिला तिनी बर्शेबा गए। त्यहाँ तिनले आफ्नो बुबा इसहाकका परमेश्वरलाई बलि चढाए। उनले परमेश्वरको आराधना गरे। 2 त्यस रात परमेश्वर इस्राएलसित सपनामा बोल्नु भयो। परमेश्वरले भन्नुभयो, “याकूब, याकूब।”
अनि इस्राएलले उत्तर दिए, “म यहाँ छु।”
3 तब परमेश्वरले भन्नुभयो, “म परमेश्वर हुँ, तिम्रा बाबुको परमेश्वर। मिश्रमा जान नडराऊ मिश्रमा म तिमीलाई ठूलो जातिहरू बनाउनेछु। 4 म तिमीसँगै मिश्र जानेछु, तर म आफैंले निश्चय नै मिश्रबाट तिमीलाई फर्काएर ल्याउनेछु। जब तिमी मर्छौ तिम्रो आँखा आफ्नो हातले बंद गरिदिने यूसुफ हुनेछ।”
इस्राएल मिश्र जान्छन्
5 त्यसपछि याकूबले बेर्शेबा छोडे र मिश्रको यात्रा गरे। उसका छोराहरू, पत्नीहरू र तिनीहरूका सबै नानीहरू मिश्रमा ल्याए। फिरऊनले पठाएको गाडीहरूमा तिनीहरूले यात्रा गरे। 6 तिनीहरूसित गाई-वस्तुहरू र मिश्रमा तिनीहरूसित भएका सबै चीजबीजहरू थिए। यसर्थ आफ्नो सबै नानीहरू र परिवारसित मिश्र गए। 7 तिनीसित तिनका छोरा-छोरीहरू र नाती-नातिनीहरू थिए। तिनका सबै परिवार तिनीसित मिश्रमा गए।
याकूबको परिवार
8 तिनीसित मिश्र जाने छोरा-छोरी तथा परिवार यिनै हुनः
रूबेन याकूबका जेठो छोरो थिए। 9 रूबेनका छोराहरूः हनोक, पल्लु, हेस्रोन अनि कर्मी थिए।
10 शिमोनका छोराहरूः यमूएल, यामीन, ओहद, याकीन अनि सोहर र कनानी पनि थिए। (शाओल कनानी पत्नीबाट जन्मेका शिमोनका थिए।)
11 लेवीका छोराहरूः गेर्शोन, कहात र मरारी थिए।
12 यहूदाका छोराहरूः एर, ओनान, शेला, पेरेस अनि जेरह थिए। (एर र ओनान कनानमा हुँदै मरे।) पेरेसका छोराहरूः हेस्रोन, अनि हामूल थिए।
13 इस्साकारका छोराहरूः तोला, पुवा, योब र शिम्रोन थिए।
14 जबूलूनका छोराहरूः सेरेद, एलोन अनि यहलेल थिए।
15 रूबेन, शिमोन, लेवी, यहूदा, इस्साकार अनि जबूलून याकूबकी पत्नी लेआबाट जन्मेका छोराहरू थिए। लेआले यी छोराहरू पद्यानआराममा जन्माएकी थिइन्। तिनकी एउटी दीना नाउँ भएकी छोरी पनि थिइन्। यस परिवारमा तेत्तीस जना मानिसहरू थिए।
16 गादका छोराहरूः यिम्ना, यिश्वा, यिश्वी, र बरीआ थिए। तिनीहरूकी बहिनी सेरह, तिनीहरूसित बरीआका हेबेर र मलकियल नाउँ भएका छोराहरू पनि थिए।
17 अशेरका छोराहरूः यिम्ना, यिश्वा, यिश्वी र बरीआ थिए। तिनीहरूकी बहिनी सेरह, तिनीहरूसित बरिआका हेवेर र मलकियल नाउँ भएका छोराहरू पनि थिए।
18 यी सब याकूबकी पत्नी लेआकी कमारी जिल्पाबाट जन्मिएका थिए। (जिल्पा लाबानले आफ्नी छोरी लेआलाई दिएको कमारी हो।) त्यस परिवारमा सोह्र जना मानिसहरू थिए।
19 याकूबसित उसकी पत्नी राहेलबाट जन्मेको छोरो बिन्यामीन थियो। (यूसुफ पनि राहेलबाट नै जन्मेको हो तर ऊ अघिदेखि नै मिश्र देशमा थियो।)
20 मिश्रमाहुँदा यूसुफको दुइवटा छोराहरू जन्मिएः मनश्शे अनि एप्रैम थिए। ओन शहरका एक जना पूजाहारी पोतीफेराकी छोरी आसनतले यूसुफका लागि यी छोराहरू जन्माइन्।
21 बिन्यामीनका छोराहरूः बेला, बेकेर, अश्बेल, गेरा, नामान, एही शेश, मुप्पीम, हुप्पीम अनि आर्द थिए।
22 यिनीहरू याकूबकी पत्नी राहेलबाट जन्मेका छोराहरू थिए। यस परिवारमा चौध जना मानिसहरू थिए।
23 हुशीम दानका छोरो थियो।
24 नप्तालीका छोराहरूः यहसेल, गुनी, येसेर अनि शिल्लेम थिए।
25 याकूब र बिल्हाबाट जन्मेका छोराहरू तिनीहरू नै थिए। (बिल्हा लाबानले आफ्नी छोरी राहेललाई पठाएको कमारी थिइ।) यस परिवारमा सात जना मानिसहरू थिए।
26 याकूबका सन्तानहरू जम्मा छयसठ्ठी जना थिए जो तिनीसित मिश्र देश गएका थिए। (यस संख्यामा याकूबका छोरा बुहारीहरू परेका छैनन्।) 27 त्यसमा यूसुफका दुइजना छोराहरू पनि थिए जो मिश्र देशमा जन्मेका थिए। यसर्थ मिश्र देशमा याकूब परिवारका मानिसहरू जम्मा सत्तरी जना थिए।
इस्राएल मिश्रमा पुग्छ
28 याकूबले यूसुफसित कुराकानी गर्न यहूदालाई पहिले पठाए। गोशेन भूमिमा यहूदा यूसुफसित कुरा गर्न गयो। त्यसपछि याकूब र उनका अन्य मानिसहरू त्यस भूमिमा गए। 29 यूसुफले थाहा पाए तिनका बाबु आउँदै हुनु हुन्छ। यसर्थ यूसुफले इस्राएल तथा तिनका बाबुलाई गोशेनमा भेट्न जान रथ तयार पारे। जब यूसुफले आफ्नो बाबुलाई भेटे र धेरै बेरसम्म आलिंगन गरे र धेरै बेरसम्म रोए।
30 तब इस्राएलले यूसुफलाई भने, “अब म शान्तिसित प्राण त्याग्न सक्छु। मैले तेरो मुख देखें अनि बुझें तँ जिउँदै छस्।”
31 यूसुफले आफ्नो दाज्यू-भाइ तथा बाबुका अरू परिवारलाई भने, “म जान्छु र फिरऊनलाई तिमीहरू यहाँ आएको कुरा गर्छु। म फिरऊनलाई भन्छु ‘मेरा दाज्यू-भाइ र मेरो बाबुका अरू सन्तानहरूले कनान देश छोडेर यहाँ मकहाँ आएका छन्। 32 यी परिवारहरू गोठालाहरू थिए। तिनीहरूले सधैँ भेंडा र गाई-गोरूहरू पाल्थे। तिनीहरूसित भएका गाई-वास्तुहरू सबै लिएर आएका छन्।’ 33 जब फिरऊनले बोल्ने छन् र तिमीहरूलाई तिनले सोध्ने छन्, ‘तिमीहरूले के काम गर्छौ?’ 34 तिमीहरूले उनलाई भन्नु, ‘हामी भेंडा गोठालाहरू हौं। जीवनभरि हामी भेंडा गोठाला थियौं। अनि हामी भन्दाअघि हाम्रा पुर्खाहरू पनि भेंडागोठाला नै थिए।’ तब फिरऊनले तिमीहरूलाई गोशेन भूमिमा बस्ने अनुमति दिनेछन्। मिश्र देशीहरूले गोठालाहरू मन पराउँदैनन्, यसर्थ तिमीहरू गोशोनमा बस्दा राम्रो हुन्छ।”
इस्राएल गोशेनमा बस्छन्
47 यूसुफ फिरऊनकहाँ गए अनि भने, “मेरा बाबु, दाज्यू-भाइहरू र सबै तिनीहरूका परिवारहरू कनान देश छाडेर तिनीहरूसित भएका सबै पशुहरू तथा प्रत्येक चीज लिएर यहाँ मकहाँ आएका छन्। अहिले तिनीहरू गोशेन भूमीमा छन्।” 2 फिरऊनकहाँ जान यूसुफले अरू आफ्ना पाँच दाज्यू-भाइहरूलाई रोजे।
3 फिरऊनले ती दाज्यू-भाइहरूलाई भने, “तिमीहरूको काम धन्धा के हो?”
तिनीहरूले फिरऊनलाई भने, “हजूर, हामीहरू भेंडा गोठालाहरू हौं। अनि हाम्रा अघिका पिता-पुर्खाहरू पनि भेंडा गोठालाहरू नै थिए।” 4 तिनीहरूले फिरऊनलाई भने, “कनान देशमा अनिकालको घोर प्रकोप परेको छ। हाम्रा पशुहरूको निम्ति त्यहाँ कुनै भूमिमा घाँस छैन। यसर्थ हामी यस भूमिमा बस्न भनी आएका छौ र तपाईलाई अनुमतिको निम्ति बिन्ती गर्छौ।”
5 तब फिरऊनले यूसुफलाई भने, “तिम्रा बाबु अनि दाज्यू-भाइहरू तिमी कहाँ आएका छन्। 6 तिनीहरूका लागि बस्ने कुनै ठाउँ मिश्रमा तिमी छान्न सक्छौ। आफ्ना बुबा र भाइहरूको लागि असल ठाउँ छानिदेऊ। गोशेनको भूमिमा तिनीहरूलाई बस्ने अनुमति देऊ। यदि तिनीहरूमध्ये कोही राम्रा गोठाला छन् भनी तिमीलाई थाहा छ भने तिनीहरूलाई मेरा पशुहरू हेर्ने जिम्मा देऊ।”
7 तब यूसुफले आफ्ना बाबु याकूबलाई फिरऊनसित भेट गर्न बोलाए। याकूबले फिरऊनलाई आशीर्वाद दिए।
8 अनि फिरऊनले उनलाई भने, “तिम्रो उमेर कति हो?”
9 याकूबले फिरऊनलाई भने, “मेरो जीवन छोटो अनि दुःखले भरिएको छ। म केवल एक सय तीस बर्ष पुगेको छु। यो मेरा पुर्खाहरूसित तुलना गर्दा केही होइन जब तिनीहरू यस धर्तीमा बाँचेका थिए।”
10 याकूबले फिरऊनलाई आशीर्वाद दिए अनि उनले फिरऊनबाट विदा लिए।
11 यूसुफले फिरऊनको निर्देशन अनुसार आफ्ना बुबा र दाज्यू-भाइहरूलाई मिश्रको सबै भन्दा मलिलो भूमि रामसेसेमा राखे। 12 यूसुफले आफ्ना बाबु, दाज्यू-भाइ तथा तिनीहरूका मानिसहरूलाई चाहिएको खाद्य पदार्थहरू पनि दिए।
यूसुफ फिरऊनको निम्ति भूमि किन्छन्
13 अनिकालको समयले अझ भयंकर रूप धारण गर्यो। त्यस भूमिमा कतै खाद्य वस्तुहरू थिएन। अनिकालको समयले गर्दा मिश्र र कनानको अवस्था सोचनीय भयो। 14 त्यस भूमिका मानिसहरूले धेरै भन्दा धेरै अन्न किन्न थाले, यूसुफले रूपियाँ जम्मा गरे अनि फिरऊनको महलमा ल्याए। 15 केही समय पछि मिश्र र कनान देशका मानिसको पैसा सकियो। तिनीहरूले आफ्नो सबै पैसा अन्न किनेरै खर्च गरे। यसर्थ मिश्रका मानिसहरूले यूसुफलाई भने, “हाम्रो पैसा सकियो हामीलाई खाने कुरा दिनुहोस्। यदि हामीले खान पाएनौ भने तपाईंको अघि नै हामी मर्नेछौं।”
16 तर यूसुफले भने, “तिमीहरूले आफ्नो गाई-वस्तुहरू मलाई देऊ तब म अन्न दिनेछु।” 17 यसर्थ मानिसहरूले आफ्नो सबै पशुहरूको बदलीमा खाद्यान्न किने। त्यस बर्ष यूसुफले मानिसहरूबाट भेंडा, बाख्रा, घोडा र गधा लिए अनि तिनीरूलाई खाद्यान्न दिए।
18 तर अर्को बर्ष मानिसहरूसित अन्न किन्ने पैसा तथा पशुहरू केही थिएन। यसर्थ मानिसहरू यूसुफकहाँ गए अनि भने, “तपाईं जान्नु हुन्छ हामीसित पैसा छैन अनि पशुहरू पनि तपाईंकै भए। यसर्थ हामीसित यस घडी हाम्रो जीवन र जग्गा जमीनबाहेक केही छैन। 19 अब हामी तपाईंको नजरको सामुन्ने मर्नेछौं। तर यदि तपाईंले हामीलाई अन्न दिनु भयो भने हामी फिरऊनलाई जमीन दिनेछौ र उनको कमारा कमारी हुनेछौं। हामीलाई अन्नको बीउ दिनोस् त्यसलाई छरेर हामी अन्न उब्जाउन सक्छौं। त्यसो भए हामी मर्दैनौ र बाँच्छौ अनि हाम्रो निम्ति भूमिले फसल फेरि उब्जाउनेछ।”
20 यसर्थ यूसुफले फिरऊनको निम्ति मिश्र देशको सबै भूमि किने। सबै मानिसहरूले यूसुफलाई भूमि बेचे। अनिकाल लागेको हुनाले तिनीहरूले त्यसो गरे। 21 जहाँ सम्म साधारण मानिसहरूको कुरा छ, उनले तिनीरूलाई सम्पूर्ण मिश्रका शहरहरूमा घुमफिर गर्ने अनुमति दिए। 22 पूजाहारीहरूको भूमि मात्र यूसुफले फिरऊनको निम्ति किनेनन्। पूजाहारीहरूले आफ्नो भूमि बेच्न परेन कारण तिनीहरूको कार्यको निम्ति फिरऊनले तिनीहरूलाई पैसा दिन्थे। यसर्थ अन्न किन्दा तिनीहरूले त्यही पैसा खर्च गरे।
23 यूसुफले मानिसहरूलाई भने, “मैले फिरऊनका निम्ति तिमीहरूको भूमि ल्याएँ। यसर्थ म तिमीहरूलाई बीउ दिन्छु जसले गर्दा तिमीहरू त्यसलाई खेतमा छर्न सक्छौ।
24 “फसल उठाउँदा तिमीहरू उब्जनीको पाँचौ हिस्सा फिरऊनलाई दिनु पर्छ। आफ्नो निम्ति तिमीहरूले अर्को फसलको निम्ति बीउ चार भाग राख्न सक्छौं। आफ्नो खेतमा र अन्न उब्जाउन सक्छौ। अब तिमीहरू आफ्नो परिवार र नानीहरूलाई खुवाउन सक्छौ।”
25 मानिसहरूले भने, “हामी फिरऊनको कमारा हुन खुशी छौं। कारण तपाईंले हामीलाई हाम्रो जीवन दान दिनु भयो।”
26 यसर्थ यूसुफले त्यस समयमा एउटा नियम बनाए जुन आजसम्म चलिरहेको छ। त्यस नियमले यसो भन्छ “भूमिबाट उब्जेको प्रत्येक चीजको पाँच भागमा एक भाग चाहि फिरऊनको हो। पूजाहारीहरूले राखेको भूमि मात्र फिरऊनको होइन नत्र मिश्र देशको पुरै भूमि फिरऊनको हो।”
“मिश्र देशमा मलाई नगाड”
27 इस्राएल मिश्र देशको गोशेन भूमिमा बसे। तिनका परिवारहरू बढेर अति विशाल भयो। तिनीहरूले मिश्रमा भूमि पाए अनि राम्रो जीवन बिताए।
28 याकूब मिश्र देशमा सत्र बर्षसम्म बसे। यसर्थ तिनी एक सय सैंतालीस बर्षका भए। 29 इस्राएलले आफ्नो मृत्युको समय आयो भनी थाहा पाए। यसर्थ तिनले आफ्नो छोरो यूसुफलाई बोलाएर भने, “यदि तैंले मलाई साँच्चै प्रेम गर्छस् भने आफ्नो हात मेरो तिघ्रामुनि राखेर कसम खा। मलाई वचन दे जे म भन्छु त्यही मान्छु भनेर म प्रति तँ साँचो हो। जब म मर्छु मलाई मिश्र देशमा नगाड। 30 मलाई त्यही जग्गामा गाड्नु जहाँ मेरा पिता-पुर्खाहरू गाडिएका छन्। मलाई मिश्रबाट बाहिर लगेर हाम्रा परिवारको चिहान घारीमा गाड्नु।”
यूसुफले भने, “तपाईंले जे भन्नु हुन्छ म त्यही गर्छु म वचन दिन्छु।”
31 तब याकूबले भने, “कसम खाऊ।” तब यूसुफले कसम खाए अनि भने उनले त्यही गर्नेछन् जे उनले गर्नु भनि कसम खाए। तब इस्राएल आफ्नो पलङ्गमाथि[a] अडेसिएर शिर निहुराए।
परमेश्वरको र मानिसको व्यवस्था
(मर्कूस 7:1-23)
15 त्यसपछि केही फरिसीहरू र शास्त्रीहरू येशूकहाँ आए। तिनीहरू यरूशलेमबाट आएका थिए तिनीहरूले भने, 2 “तपाईंका चेलाहरूले किन हाम्रा पुर्खाहरूले बनाएको नियमहरू भङ्ग गर्दछन्? खानभन्दा अघि तिनीहरू हात धुँदैनन्।”
3 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरू पनि किन आफ्ना परम्पराको निम्ति परमेश्वरको आज्ञा भङ्ग गर्दछौ? 4 परमेश्वरले भन्नु भएको छ, ‘आफ्ना बाबु र आमाको आदर गर।’(A) फेरि उहाँले भन्नु भएको छ, ‘जसले आफ्ना बाबु अनि आमालाई अपमान गर्छ त्यसलाई मार्नुपर्छ।’(B) 5 तर तिमीहरू जसले म बाट तपाईंले जे पाउने सक्नु हुन्थ्यो त्यो परमेश्वरलाई चढाईएको छ भनी आफ्ना आमा-बाबुलाई भन्छौ उसले उनीहरूलाई आदर गरिरहनु पर्दैन भन्ने शिक्षा दिन्छौ। 6 तिमीहरू त्यस मानिसलाई आफ्नो पिताको आदर गर्नु पर्दैन् भन्छौ। यसरी तिमीहरू आफ्नो नियमका निम्ति परमेश्वरको आदेशलाई एकातिर पन्छाउँछौ। 7 तिमीहरू कपटीहरू हौ। यशैयाले तिमीहरूको बारेमा सही बोले। यशैयाले भनेका थिए:
8 ‘यी मानिसहरू मलाई मुखले आदर गर्छौं भन्छन्
तर तिनीहरूको हृदय मदेखि टाढा छ।
9 तिनीहरूले मलाई अर्पण गरेको आराधना व्यर्थ छ।
तिनीहरूले आफैंले रचेका नियमहरू मात्रै पालन गर्न सिकाउँछन्।’”(C)
10 येशूले मानिसहरूलाइ आफूकहाँ बोलाउनु भयो। उहाँले भन्नुभयो, “म तिनीहरूलाई केही भन्छु। सुन र यसलाई बुझ। 11 जे-जति कुरा मुखभित्र पस्छ, त्यसले मानिसहरूलाई अशुद्ध गराँउदैन। तर जे मुखबाट बाहिर निस्कन्छ, त्यसैले मानिसहरूलाई अशुद्ध तुल्याउँछ।”
12 तब चेलाहरू येशूकहाँ आएर उहाँलाई भने, “के तपाईंलाई थाहा भयो कि तपाईंले भन्नुभएको कुराबाट फरिसीहरू रिसाए भने तपाईंले थाहा पाउनुभयो?”
13 येशूले भन्नुभयो, “स्वर्गको मेरा पिताले नरोपेको प्रत्येक बोट उखेलिनेछ। 14 फरिसीहरूलाई छाडिदेऊं। तिनीहरू मानिसहरूलाई अगुवाई त गर्छन्, तर तिनीहरूको अगुवाई एउटा अन्धाले अर्को अन्धलाई डोर्याएको जस्तो हुन्छ। अनि जब एक अन्धाले अर्को अन्धालाई डोर्याउँछ तब दुवै खाल्डामा पर्नेछन्।”
15 पत्रुसले भने, “अघि तपाईंले मानिसहरूलाई भन्नु भएको कुराको हामीलाई व्याख्या गर्नुहोस्।”
16 येशूले सोध्नुभयो, “के तिमीहरूलाई पनि यो कुरा बुझ्न अझ कठिन परिरहेको छ? 17 तिमीहरू जान्दैनौ कि मुखबाट खाएको खानेकुरा पेटमा पुग्दछ। अनि त्यसपछि शरीरदेखि जे कुरा बाहिर जान्छ। त्यो काम नलाग्ने हुन्छ। 18 मुखबाट निस्कने जेसुकैको उत्पत्ति हृदयमा हुन्छ अनि त्यसैले मानिसलाई अशुद्ध तुल्याउछ। 19 किनभने हृदयबाट यस्ता नराम्रा कुराहरू आउँछन् दुष्ट विचार, हत्या, व्यभिचार, यौन अनैतिकता, चोरी, कसम खाएर ढाँटनु, निन्दा जस्ता कुराहरू निस्कन्छन्। 20 यी कुराहरूले मानिसलाई अशुद्ध तुल्याउँछन। तर हात नधोइ खानाले मानिसलाई अशूद्ध तुल्याउँदैन।”
येशूबाट कनानी स्त्रीहरूलाई सहायता
(मर्कूस 7:24-30)
21 येशू त्यो ठाउँ छोडेर जानु भयो अनि टायर र सिडोनका क्षेत्रतिर जानुभयो। 22 त्यस क्षेत्रकी कुनै एउटी कनानी स्त्री येशूकहाँ आई। तिनले रूँदै भनिन्, “परमप्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्। मेरो छोरीलाई भूतले सताएको छ ऊ साह्रै यातनामा छे।”
23 तर येशूले त्यस स्त्रीलाई जवाफ दिन एउटा शब्द पनि भन्नु भएन। अनि चेलाहरू उहाँकहाँ आएर बिन्ती गर्न लागे, “कृपया यो स्त्रीलाई पठाइदिनु होस, यसले हाम्रो पिछा गर्दै कराइरहेकी छे।”
24 येशूले भन्नुभयो, “इस्राएलका हराएको भेंडा़को निम्ति मात्र जानु भनी परमेश्वरले मलाई पठाउनु भएको हो।”
25 त्यो स्त्री फेरि येशूकहाँ आई। येशूको अघि घोप्टो परेर त्यसले भनी, “प्रभु, मलाई सहायता गर्नुहोस्।”
26 उहाँले जवाफ दिनु भयो, “नानीहरूको रोटी कुकुरलाई दिनु असल हुन्छ त?”
27 त्यस स्त्रीले भनी, “हो प्रभु, तर कुकुरहरूले आफ्नो मालिकको टेबलबाट झरेको रोटीका टुकाहरू खान्छन्।”
28 तब येशूले भन्नुभयो, “हे नारी तिमीमा ठूलो विश्वास रहेछ। तिमी जे चाहान्छौ म गर्नेछु।” अनि त्यसको छोरी त्यसैबेला निको भइहाली।
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
1 स्वर्गले परमेश्वरको महिमाको विषयमा बोल्छ।
आकाश-मण्डलले उहाँका हातबाट बनिएका राम्रा-राम्रा कुराहरूका विषयमा भन्दछ।
2 प्रत्येक नयाँ दिनले धेरै-धेरै सृष्टिको कथा वर्णन गर्छ।
अनि प्रत्येक रातले परमेश्वरको धेरै-धेरै शक्ति प्रकट गर्छ।
3 तिमीले साँच्चि नै केही वचन वा शब्दहरू सुन्न सक्तैनौ।
उनीहरूले स्वर निकाल्दैनन् जो हामी सुन्न सक्छौं।
4 तर तिनीहरूको “स्वर” सारा संसारभरि फैलिएर जाँदछ।
तिनीहरूका “वचनहरू” पृथ्वीको कुना-कुनासम्म पुग्छन्।
घामको लागि आकाश घर सरह हुन्छ।
5 घाम एक हर्षित दुलहा जस्तो भएर आफ्नो ओछ्यानबाट आउँछ।
यो एउटा बलियो खेलाडी जस्तै दगुर्नमा तीव्र इच्छा भए झैं,
आफ्नो यात्रा आकाशमा तर्न शुरू गर्छ।
6 घामले आफ्नो यात्रा एक क्षितिजबाट थालेर अर्को क्षितिजमा शेष गर्छ।
यसको तापबाट केही पनि लुक्दैन।
परमप्रभुको उपदेशहरू पनि त्यस्तै छ।
7 परमप्रभुका शिक्षाहरू अत्युत्तम छन्।
तिनीहरूले परमेश्वरका भक्तजनहरूलाई शक्ति प्रदान गर्छन्।
परमप्रभुको व्यवस्था विश्वास योग्यको छ।
यसले मूर्ख मानिसहरूलाई ज्ञानी बनाउँछ।
8 परमप्रभुका विधिहरू सही छन्।
तिनीहरूले मानिसहरूलई खुशी पार्छन्।
परमप्रभुका आदेशहरू निष्कपट छन्,
तिनीहरूले जीवनमा उचित मार्ग देखाउँछन्।
9 परमप्रभुको उपासना एउटा ज्योति जस्तै हो
जसले अनन्त चम्किलो उज्यालो पार्छ।
परमप्रभुको न्यायहरू उचित र निष्कपट छन्।
तिनीहरू सम्पूर्ण ठीक छन्।
10 परमप्रभुको शिक्षाहरू अकबरी सुनभन्दा पनि मूल्यवान छन्।
तिनीहरू सोझै घरबाट निकालेको उत्तम महभन्दा पनि मीठा छन्।
11 परमप्रभुका शिक्षाहरूले आफ्ना दासहरूलाई होशियार पार्छ।
यदि तिनीहरूलाई पालन गर्यौं भने असल चिजहरू आउँछन्।
12 हे परमप्रभु, कसैले पनि आफ्ना सबै भूलहरू देख्न सक्तैनन्।
यसैले मलाई गुप्ती पापहरू गर्न नलगाउनु होस्।
13 मैले चाहेका पापहरू गर्न नलगाउनु होस्।
ती पापले ममाथि राज नगरोस्।
यदि तपाईंले मलाई सहयोग गर्नुभयो भने म आफ्ना पापहरूबाट मुक्त हुन्छु।
14 आशा गर्छु, मेरा वचनहरू र विचारहरूले तपाईंको चित्त बुझ्यो होला।
परमप्रभु, तपाईं मेरो चट्टान हुनुहुन्छ, तपाईंले मात्र मलाई बचाउनु हुन्छ।
14 दुष्ट मानिसहरूको बाटो नकुल्च अनि दुष्ट मानिसहरूको मार्गमा नहिँड। 15 यसलाई त्याग, यसलाई काटेर पनि नजाऊ। त्यसलाई तिम्रो पिठ्यूँ फर्काई देऊ अनि टाढा हिँड। 16 दुष्ट मानिसहरू दुष्टयाईं नगरी सुत्न सक्तैनन्। जब सम्म कसैलाई नोक्सान पुर्याउँदैनन् तिनीहरू निदाउँ नै सक्तैनन्। 17 किनभने तिनीहरू त सबै पाप कर्मबाट नै जीवन निर्बाह गर्छन् र पाशविक कमाईबाट मद्य पिउँछन् कारण पाप तथा खराब कर्म गर्न त तिनीहरूको निम्ति खानु पिउनु जत्तिकै स्वभाविक हो।
18 तर धर्मको बाटो चाँहि सूर्यको प्रभात किरण झैं हुन्छ जसले मध्यान्न सम्म प्रकाश बढाउँदै जान्छ। 19 दुष्टहरूको चाल अत्त्यन्तै अन्धकारमय हुन्छ र दुष्ट मानिसले जान्दैन कि कहाँ उसले ठक्कर खान्छ।
© 2004, 2010 Bible League International