The Daily Audio Bible
Today's audio is from the CEB. Switch to the CEB to read along with the audio.
मनश्शे अनि एप्रैमको लागि आशीर्वाद
48 केही समय पछि यूसुफले थाहा पाए उनका बाबु सिकिस्त बिमार थिए। यसर्थ यूसुफले आफ्ना छोराहरू मनश्शे र एप्रैमलाई लिएर बाबुकहाँ गए। 2 जब त्यहाँ यूसुफ पुगे कसैले इस्राएललाई भने, “तिम्रो छोरो यूसुफ तपाईंलाई भेट्न आएका छन्।” इस्राएल खुबै दुर्बल भएका थिए तापनि तिनले आफ्नो ओछ्यानबाट उठेर बस्ने चेष्टा गरे।
3 तब इस्राएलले यूसुफलाई भने, “सर्वशक्तिमान परमेश्वरले कनान देशको लूजमा मलाई दर्शन दिनु भयो। परमेश्वरले त्यहाँ मलाई आशीर्वाद दिनु भयो। 4 परमेश्वरले भन्नुभयो, ‘म तिम्रो एउटा विशाल परिवार बनाउनेछु। म तिमीलाई धेरै नानीहरू दिनेछु अनि तिमी महान व्यक्ति हुने छौ। तिम्रा परिवारले यो भूमिमा सधैँको निम्ति अधिकार जमाउनेछन्।’ 5 अनि अहिले तिम्रा दुइ छोराहरू छन्। यी छोराहरू म मिश्रमा आउनुभन्दा अघि नै यहाँ जन्मेका हुन्। तिम्रा एप्रैम र मनश्शे छोराहरू मेरो निम्ति रूबेन र शिमोन जस्तै हुन्। 6 यसर्थ यी दुइ भाइ मेरा छोराहरू हुनेछन्। मेरो प्रत्येक चीजमा नै तिनीहरूले अंश पाउनेछन्। तर यदि अब तिम्रा अरू छोराहरू जन्मे, ती तिम्रा छोराहरू हुनेछन्, र तिनीहरू एप्रैम र मनश्शेका छोराहरू झैं भएर भविष्यमा एप्रैम र मनश्शेको सम्पत्तिको हकदार हुनेछन्। 7 पद्दनआरामबाट यात्रा गेरपछि राहेलको मृत्यु भयो जसले मलाई अत्यन्तै शोकाकुल पार्यो। तिनी कनानमा मरिन् हामीहरू अझै एप्रातपट्टी यात्रा जारी राख्यौ। मैले तिनलाई एप्राततिर जाने बाटो छेउमा गाडें। (एप्रात नै बेतलेहेम हो)”
8 तब इस्राएलले यूसुफका छोराहरूलाई देखे। इस्राएलले भने, “यी केटाहरू को हुन्?”
9 यूसुफले आफ्नो बाबुलाई भने, “यिनीहरू मेरा छोराहरू हुन। परमेश्वरले यी छोराहरू नै मलाई दिनु भएको हो।”
इस्राएलले भने, “ती तिम्रा छोराहरूलाई मकहाँ ल्याऊ, म तिनीहरूलाई आशीर्वाद दिन्छु।”
10 इस्राएल बूढो भइसकेकोले आखाँ राम्रो देख्दैन थिए। यसर्थ यूसुफले ती छोराहरूलाई आफ्ना बाबु नजिक ल्याए। इस्राएलले ती केटाहरूलाई चुम्बन गर्दै अङ्गालो हाले। 11 तब इस्राएलले यूसुफलाई भने, “म तँलाई हेर्न पाउँछु भनी कहिल्यै सोचेको थिइन, तर हेर, परमेश्वरले तँ र तेरा छोराहरू समेत मलाई भेटगराउँनु भयो।”
12 यूसुफले ती केटाहरूलाई आफ्ना बाबुको घुँडाबाट हटाए अनि तिनीहरू सबै आफ्नो बाबुअघि निहुरिए। 13 यूसुफले एप्रैमलाई दाहिने तिर र मनश्शेलाई आफ्नो देब्रेतिर राखे। (यसरी एप्रैम याकूबको देब्रे र मनश्शे दाहिने पट्टी थिए।) 14 तर इस्राएलले हात लम्काएर आफ्नो दाहिने हात सानो नानी एप्रैमको शिरमा राखे। त्यसपछि उनले आफ्नो देब्रे हात ठूलो चाँहि नानी मनश्शेको शिरमा राखे। मनश्शे पहिले जन्मेको र एप्रैमभन्दा जेठो भएता पनि इस्राएलले त्यसको शिरमा देब्रे हात राखे। 15 अनि इस्राएलले यूसुफलाई आशीर्वाद दिंदै यसो भने,
“मेरो पिता-पुर्खाहरू अब्राहाम र इसहाकले हाम्रा परमेश्वरलाई आराधना गरे,
अनि परमेश्वरले नै मेरो जीवनभरि डोर्याउँनु भयो।
16 उहाँ एकजना स्वर्गदूत हुनु हुन्थ्यो जसले मलाई मेरो जीवनका सबै कष्टहरूबाट मुक्त गर्नु भयो।
अनि म प्रार्थना गर्छु, उहाँले यी केटाहरूलाई पनि आशीर्वाद दिनु हुनेछ।
मेरा अनि मेरो पुर्खाहरू अब्राहाम अनि इसहाकको नाउँ यी केटाहरूले बढाउने छन्।
तिनीहरू बढुन अनि बहुसंख्यक मानिसहरूका राष्ट्र होउन्।”
17 यूसुफले आफ्ना बाबुले एप्रैमको शिरमा दाहिने हात राखेको देखे र यस मा यूसुफ खुशी भएनन्। उनले इस्राएलको दाहिने हात एप्रैमको शिरबाट हटाएर मनश्शेको शिरमाथि राख्न चाहन्थे, र तिनले आफ्नो बाबुको हात समाते। 18 यूसुफले आफ्नो बाबुलाई भने, “तपाईंको दाहिने हात एप्रैमको शिरमा पर्यो तर त्यो राम्रो भएन कारण मनश्शे पहिले जन्मेको हो। यसर्थ तपाईंको दाहिने हात उसको शिरमा राख्नु होस्।”
19 तर तिनका बुबाले तर्क गर्नुभयो अनि भन्नुभयो, “मेरा छोरा, म जान्दछु। म जान्दछु, मनश्शे जेठो छोरो हो अनि ऊ महान् हुनेछ। मनश्शे ठूलो परिवारहरूको बुबा पनि हुनेछ। तर कान्छो छोरा जेठाभन्दा अझै महान् हुनेछ। अनि कान्छोका सन्तानहरू बढ्नेछन् अनि देशमा महान् हुनेछन्।”
20 यसर्थ इस्राएलले तिनीहरूलाई त्यस दिन आशीर्वाद दिए। उनले भने,
“जहिले पनि इस्राएलका मानिसहरूले आशीर्वाद दिंदा,
तिमीहरूको नाउँ उच्चारण गर्नेछन्।
तिनीहरूले भन्नेछन्, ‘परमेश्वरले तिमीहरूलाई पनि
एप्रैम र मनश्शे झैं महान बनाउन्।’”
यसरी इस्राएलले एप्रैमलाई मनश्शेभन्दा महान् बनाए।
21 तब इस्राएलले यूसुफलाई भने, “हेर, मेरो अन्तिम समय आइसकेको छ। तर परमेश्वरले तिमीलाई सधैँ सघाउनु हुनेछ। उहाँले तिमीहरूलाई तिमीहरूको पिता पुर्खाहरूको भूमिमा लैजानु हुनेछ। 22 जुन कुरो तिम्रा दाज्यू-भाइहरूलाई दिइनँ त्यो तिमीहरूलाई दिएको छु। मैले एमोरीहरूबाट जितेको पहाड तिमीलाई दिन्छु। यस पहाडलाई जित्नको निम्ति मैले तरवार र धनु-काँड चलाएँ, अनि जितें।”
याकूबले छोराहरूलाई आशीर्वाद दिन्छन्
49 तब याकूबले सबै छोराहरूलाई बोलाए। उनले भने, “मेरा सबै छोराहरू मकहाँ आऊ। भविष्यमा के हुनेवाला छ म त्यो भन्ने छु।
2 “हे याकूबका छोराहरू, तिमीहरू सँगै आऊ,
अनि तिम्रा बाबु इस्राएलले भनेको सुन।
रूबेन
3 “रूबेन, तँ मेरो जेठो छोरो होस्, तँ मेरो जेठो छोरो साथै
मेरो शक्तिको पहिलो प्रमाण होस्।
तँमेरा छोराहरू मध्ये सबै भन्दा गौरव शालि,
अनि शक्तिशाली हुन्छस्।
4 तर तेरो महत्वपूर्ण शक्ति
बाढीको पानी जस्तै शक्तिशाली थियो
तर तैंले त्यसलाई बचाई राख्न सकिनस्।
यहीकारण तँ अरू छोराहरूभन्दा महत्वपूर्ण छैनस्।
तँ आफ्नो बुबाको ओछ्यानमा चढिस्
अनि उनकी एउटी पत्नीसित सुतिस्।
तँ मेरो ओछ्यानमा गइस्
अनि त्यसलाई भ्रष्ट पारिस्।
शिमोन र लेवी
5 “शिमोन र लेवी दाज्यू-भाइ हुन्।
तिनीहरू आफ्नो तरवार लिएर खेल्न रूचाउँछन्।
6 तिनीहरूको दुष्ट योजनामा म भाग लिनु चाहँदिनँ
अनि तिनीहरूको सभामा उपस्थित हुनु चाहँदिन किनभने
तिनीहरू आफू रिसाउँदा मानिसहरू मार्छन्।
अनि आफ्नो आनन्दका लागि तिनीहरू प्राणीहरूलाई दुःख दिन्छन्।
7 तिनीहरूलाई रिसको सराप परेको छ किनभने यो साह्रै उग्र हुन्छ।
जब तिनीहरू रिसले बौलाहा भए, तिनीहरू साह्रै निर्दयी भए।
तिनीहरू याकूबको भूमिमा आफ्नो अंश पाउने छैनन्।
तिनीहरू याकूबको भूमिमा छरपस्ट हुनेछन्।
यहूदा
8 “हे यहूदा, तेरा दाज्यू-भाइहरूले तेरो प्रशंसा गर्नेछन्।
तैंले तेरा शत्रुहरूलाई ध्वंश पार्नेछस्।
तेरा दाज्यू-भाइहरू तेरो अघि नतमस्तक हुनेछन्।
9 यहूदा तँ सिंह जस्तै छस्।
मेरो छोरा, तँ त्यो सिंह जस्तो देखिन्छस् जो आफूले मारेको जनावरमाथि उभिंदा देखिन्छ।
तँ जब आराम गर्न ढल्किन्छस तँ सिंह जस्तै देखिन्छस्,
अनि कसैले तेरो विरोध गर्ने साहस गर्दैन।
10 यहूदाको परिवारबाट राजाहरू हुनेछन्।
राजत्वको प्रतीक यस परिवारबाट हराउने छैन,
जब सम्म एकजना वास्तविक राजा आउनु हुँदैन।[a]
तब उनको आज्ञाहरू पालन गर्न र उहाँलाई सेवा पुर्याउनु धेरै मानिसहरू आउनेछन्।
11 उनले उसको जवान गधा सबभन्दा असल दाखको बोटमा बाँध्नेछ।
सबभन्दा असल अङ्गुरको रसमा उनले आफ्नो लुगाहरू धुनेछ।
12 उसका आँखाहरू मद्यलेगर्दा राता हुनेछन्,
र उसका दाँतहरू दूधलेगर्दा सेता छन्।
जबूलून
13 “जबूलून समुद्रको किनारमा बस्नेछ।
समुद्रको किनार जहाजहरूको निम्ति सुरक्षित ठाउँ हुनेछ।
उसको भूमि सीदोन शहरसम्म विस्तृत रहनेछ।
इस्साखार
14 “इस्साखार आफ्नो जीन थैलोको बीचमा आराम
गर्न ढल्किएको बलियो गधा जस्तो हो।
15 ऊ हेर्छ उसको विश्राम गर्ने ठाउँ राम्रो छ।
ऊ हेर्छ उसको जग्गा राम्रो छ।
त्यसपछि ऊ गह्रुँ भारी बोक्न राजी हुने छ।
ऊ कमारा जस्तै खट्न राजी हुने छ।
दान
16 “दानले इस्राएलका अरू कुलहरूले झैं
आफ्ना मानिसहरूको न्याय गर्ने छ।
17 दान बाटोको किनारमा बसेको
सर्प झैं हुनेछ।
दान बाटो छेउमा सुतिरहेको
सर्प झैं भयानक हुनेछ।
त्यो सर्पले घोडाको खुट्टामा डस्नेछ,
र घोडामाथि सवार हुने भूइँमा लड्नेछ।
18 “परमप्रभु, म तपाईंको उद्धारको प्रतीक्षामा पर्खिरहेको छु।
गाद
19 “एक हुल डाकुहरूले गादमाथि आक्रमण गर्नेछन्,
तर गादले तिनीहरूलाई धपाउने छ!
आशेर
20 “आशेरको भूमिमा राम्रो उब्जनी हुनेछ।
त्यसले राजाका लागि उत्तम उपयोगी खाद्य प्रदान गर्ने छ।
नप्ताली
21 “नप्ताली स्वतन्त्र दगुर्ने मृग जस्तै हो।
अनि उसका शब्दहरू मृगका पाठा-पाठीहरू भन्दा सुन्दर छन।
यूसुफ
22 “यूसुफ अत्यन्त सफल भएको छ।
यूसुफ फलले लादिएको बोट जस्तै वसन्तमा बढने बोट जस्तै
अनि यस्तो बोट हो जसका हाँगाहरू भित्तामा चढ्छन्।
23 धेरै मानिसहरू तिनको विरोधी भए
अनि तिनीसित युद्ध गरे।
काँडहरू लिएका मानिसहरू तिनका शत्रु भए,
24 तर दक्षता र बहादूरी अनि बलियो धनुले गर्दा उसले लडाँई जित्यो।
याकूबको परमेश्वर गोठालाबाट साहस र शक्ति प्राप्त गर्नेछन्।
25 आफ्ना बाबुका परमेश्वरबाट उसले शक्ति पाउनेछ।
“सर्वशाक्तिमान परमेश्वरले तिमीलाई आशीर्वाद दिऊन,
अनि स्वर्गबाट तिमीलाई आशीर्वाद दिऊन, अनि अगाध गहिरो समुद्रबाट तिमीलाई आशीर्वाद दिऊन्।
उहाँले तिमीलाई स्तन र गर्भबाट आशीर्वाद दिऊन।
26 मैले प्राप्त गरेको आशीर्वादहरू
मेरा माता-पिताले प्राप्त गरेको आशीर्वादभन्दा धेरै छन्।
ती पुराना पर्वतहरू जस्तै थुपारिएका यूसुफका यस्ता आशीर्वादहरू,
उनका दाज्यू-भाइहरू मध्ये राजकुमारको शिरमा परून्।
बिन्यामीन
27 “बिन्यामीन एउटा भोकाएको ब्वाँसो जस्तै हो।
बिहान ऊ शिकार गर्छ, जनावर मार्छ अनि खान्छ।
अनि राती ऊ लुटेका वस्तुहरू भाग लगाउँछ।”
28 यिनीहरू इस्राएलका बाह्र कुलहरू थिए। यो नै तिनका बुबाले भन्नु भएको थियो जब उहाँले तिनीहरूलाई आशीर्वाद दिनु भयो। उहाँले प्रत्येकलाई उचित आशीर्वाद दिनु भयो। 29 तब इस्राएलले तिनीहरूलाई आज्ञा दिए अनि भने, “म मर्न आँटेको छु। मलाई मेरो पिता पुर्खाहरूसँग गाड्नू। म एप्रोन हित्तीको क्षेत्रको ओडारमा गाडिन चाहन्छु जहाँ मेरा पुर्खाहरू गाडिएका छन्। 30 कनानमा माम्रेको छेउ मकपेलाको मैदानमा भएको ओडार यही हो। यो त्यो ओडार हो जसलाई मेरा बुबा अब्राहामले एप्रोन हित्तीबाट इलाकासमेत आफ्नो गाड्ने चिहानको लागि किनेका थिए। 31 त्यही ओडार हो जहाँ अब्राहाम र उसको स्वास्नी सारालाई गाडिएको थियो। इसहाक र उसकी स्वास्नी सारालाई गाडिएको थियो। इसहाक र उसकी पत्नी रिबेकालाई पनि त्यस ओडारमा गाडिएको थियो। मैले मेरी पत्नी लेआलाई पनि त्यहाँ गाडेँ। 32 त्यो ओडार हित्ती मानिसहरूबाट किनेको भूमि हो।” 33 आफ्ना छोराहरूसित कुरा गरिसके पछि याकूबले आफनो खुट्टा ओछ्यानमा राखे अनि अन्तिम सास फेरे।
येशूले अनेक रोगहरू निको गर्नुभयो
29 त्यसपछि येशूले त्यो ठाउँ छोड्नुभयो अनि गालील झीलको किनारमा जानुभयो। येशू डाँडामा चढ़नु भयो र त्यहाँ बस्नुभयो।
30 धेरै, मानिसहरू येशूकहाँ आए। ती मानिसहरूले थुप्रै रोगीहरूलाई लिएर आए अनि येशूको अघि राखिदिए। लङ्गडा, अन्धा, गुंगा अनि बहिरा भीडद्वारा ल्याइएका थिए। येशूले यी सबैलाई निको पारिदिनु भयो। 31 लाटाहरू बोल्न सक्ने भए लुलाहरू बलिया भए हिँड्न नसक्नेहरू फेरि हिँड्न सक्ने भए र अन्धाहरू फेरि देख्न सक्ने भए यस्तो आश्चर्य देखेर ती मानिसहरू चकित भएर पहिले यस्तो कहिल्यै देखिएको थिएन भन्दै इस्राएलका परमेश्वरलाई धन्यवाद चढाए।
येशूले चार हजारभन्दा धेरै मानिसहरूलाई खुवाउनु भएको
(मर्कूस 8:1-10)
32 येशूले आफ्ना चेलाहरूलाई बोलाएर भन्नुभयो, “यी मानिसहरूलाई देखेर मलाई दया लागेको छ। अहिले तिनीहरू मसँग तिनदिनदेखि छन्, अनि तिनीहरूको खानेकुरा छैन। म तिनीहरूलाई भोकै पठाउन चाहन्न घर जाने बाटोमा तिनीहरू मुर्छा पर्न सक्छन्।”
33 चेलाहरूले येशूलाई सोधे, “यी मानिसहरूलाई खुवाउन यति विघ्न भोजन हामी कहाँ पाउन सक्छौं? शहरदेखि हामी धेरै टाढा छौं।”
34 येशूले जवाफ दिनु भयो, “तिमीहरूसित कतिवटा रोटी छन्?”
चेलाहरूले जवाफ दिए, “हामीसित सातवटा रोटी र केही ससाना माछा छन्।”
35 येशूले सबैलाई भूईंमा बस्न भन्नुभयो। 36 येशूले सातवटा रोटी र केही माछा लिनुभयो। अनि भोजनकोलागि परमेश्वरलाई धन्यवाद दिनुभयो। उहाँले ती रोटीलाई भाँचेर चेलाहरूलाई दिनुभयो। तिनीहरूले मानिसहरूलाई बाँडिदिए। 37 सबै मानिसहरू खाए र तृप्त भए। चेलाहरूले उब्रेका रोटीको टुक्राहरू बटुले ती सात टोकरीभरि भए। 38 त्यहाँ प्राय चार हजार मानिसहरू थिए। जसले खाए। त्यसमा स्त्री र बालकहरू पनि थिए। 39 जब तिनीहरूले खाए येशूले तिनीहरूलाई आ-आफ्नो घर पठाउनुभयो अनि उहाँ एउटा डुङ्गामा चढेर मग्दानको क्षेत्रमा जानुभयो।
यहूदी नेताहरूद्वारा येशूको परीक्षा
(मर्कूस 8:11-13; लूका 12:54-56)
16 फरिसीहरू र सदुकीहरू येशूकहाँ आए। तिनीहरू येशूको परीक्षा लिन चाहन्थे। अनि तिनीहरूले येशूलाई परमेश्वरबाट आएको हो भन्ने प्रमाणको निम्ति चमत्कार देखाउन विन्ती गरे।
2 येशूले भन्नुभयो, “जब तिमीहरूले सूर्यास्त भएको देख्छौ, तिमीहरू भन्छौ, आकाश रातो छ, मौसम राम्रो हुनेछ। 3 अनि बिहान तिमीहरू भन्छौ। आकाश अन्धकार र रातो छ, यसकारण आज आँधी चल्ने छ। यी मौसमका संकेतहरू हुन्। जब तिमीहरू आकाशमा हेरेर त्यसको संकेत बुझ्छौ। भने, अहिले के भइरहेछ त्यो तिमीहरूले बुझ्नु पर्छ। यी पनि संकेतहरू हुन्। तर यी संकेतहरूको अर्थ तिमीहरू बुझ्दैनौ। 4 दुष्ट र पापी मानिसहरूले चिन्हको निम्ति चमत्कार खोज्छन्। तर तिनीहरूलाई योनाको चिन्ह।[a] बाहेक अरू चिन्ह देखाइनेछैन।” त्यसपछि अन्त कतै जानका निम्ति उहाँले त्यो स्थान छोड्नु भयो।
येशूद्वारा यहूदी नेताहरूलाई चेताउनी
(मर्कूस 8:14-21)
5 येशू र उहाँका चेलाहरू गालील झीलको अर्कोतिर जानुभयो। तर चेलाहरूले आफूसँग रोटी लैजान भुले। 6 येशूले तिनीहरूलाई भन्नुभयो, “आफैंलाई बचाऊ। फरिसीहरू र सदुकीहरूको खमीर चालबाट आफैंलाई जोगाऊ।”
7 चेलाहरूले यो भनाइको विषयमा बहस गर्न थाले तिनीहरूले भने, “मीले आफूसँग रोटी नल्याएको हुनाले उहाँले यसो भन्नुभएको हो भनी बहस गर्न थले?”
8 येशूले चेलाहरूका धारणा बुझ्नुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “न रोटीको विषयमा तिमीहरू कुरा गर्न लागिरहेछौ? तिमीहरूसित कमजोर विश्वास छ। 9 तिमीहरूले किन अझै नबुझेको? पाँचवटा रोटी जो पाँच हजार मानिसहरूलाई खुवाइए पछि तिमीहरूले कतिवटा टोकरी बटुल्यौ तिमीहरूलाई याद भएन? 10 अनि त्यसरीनै चार हजार मानिसहरूले सातवटा रोटी खाएको कुरा र कति टोकरी तिमीहरूले बटुल्यौ, तिमीहरूलाई थाहा छैन? 11 यसर्थ म रोटीको विषयमा कुरा गरीहरेको होइन भनेर तिमीहरू किन बुझिरहेका छैनौ? म तिमीहरूलाई फरिसीहरू र सदुकीहरूको खमीरको विरूद्ध सावधान हुन भन्दैछु।”
12 तब उहाँले रोटीको खमीर देखि होइन, तर फरिसीहरू र सदुकीहरूको शिक्षा देखि तिनीहरू होशियार बस्नु भन्नु भएको रहेछ भनी तिनीहरूले बुझे।
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
1 सङ्कष्ट परेको बेलामा परमप्रभुले तिम्रो गुहारलाई सुन्नु भएको होस्।
याकूबका परमेश्वरले तिम्रो रक्षा गर्नु भएको होस्।
2 उहाँको पवित्र स्थानबाट परमप्रभुले तिमीलाई सहायतामा पठानु भएको होस्।
उहाँले सियोनबाट तिमीलाई मद्दत गरून्।
3 तिमीले अर्पण गरेका सम्पूर्ण उपहारहरू परमेश्वरले सम्झना गरून्।
उहाँले तिम्रा सबै बलिहरू स्वीकार गरून्।
4 तिमीले खास जे चाहन्छौ परमेश्वरले त्यही गरून्।
उहाँले तिम्रा सबै योजनाहरू सफल पारी गरून्।
5 जब परमप्रभु परमेश्वरले तिमीलाई सहयोग गर्नु हुन्छ हामीहरू खुशी हुनेछौं।
परमेश्वरको नाउँको स्तुति गरौं।
तिमीले मागेको प्रत्येक कुरा परमप्रभुले दिऊन्!
6 अब म जान्दछु आफूले रोजेका राजालाई परमप्रभुले सहयोग गर्नुहुन्छ!
परमेश्वर आफ्नो पवित्र स्वर्गमा हुनुहुन्छ अनि आफूले रोजेका राजालाई जवाफ दिनुहुन्छ।
परमेश्वरले बचाउन आफ्नो महान् शक्ति चलाउनु हुन्छ।
7 कतिपय मानिसहरूले आफ्ना रथहरूमाथि भरोसा गर्दछन् कतिपय मानिसहरूले आफ्ना सिपाहीहरू माथि भरोसा गर्दछन्।
तर हामी ता परमप्रभु हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौं।
8 ती अन्य मानिसहरू पराजित भए, तिनीहरू युद्धमा मारिए।
तर हामीले जित्यौं! हामी विजेता हौं।
9 परमप्रभुले आफूले रोजेका राजालाई बचाउनु हुन्छ!
परमेश्वरले रोजेका राजाले गुहार मागे अनि परमेश्वरले त्यसको जवाफ दिनुभयो!
20 हे मेरा छोरा, मेरा कुराहरू सुन्। मैले के भन्छु ध्यान दिएर सुन्। 21 ती कुराहरूलाई सदा आफ्नो मनमा राख र तिनीहरूलाई आफ्नो सामनेबाट टाढा नराख। 22 मेरो शिक्षाहरूले तिनीहरूलाई जीवन दिन्छ जसले यसलाई पालन गर्छ अनि मेरा वचनहरूले शरीरमा तन्दुरूस्ती दिन्छ। 23 सबभन्दा महत्वपूर्ण कुरो के हो भने तिमीले सोच्नु पर्ने कुराहरूमा तिमी अत्यन्तै होशियारी हुनु पर्छ। किनभने तिम्रो मन तिम्रो जीवनको स्रोत हो।
24 तिम्रो मुखबाट मिथ्यापूर्ण शब्दहरू निस्कन नदेऊ झूटो नबोल। 25 तिम्रा आँखाहरू अघि सधैँ मार्ग सोझो रहोस् र आँखाको पलकले सधैँ अघि नै ताकिरहेको होस्। 26 तिमी हिँडेको मार्गलाई राम्ररी हेर अनि तिमीले गरेका सबै कुरामा सुरक्षित हुनेछौ। 27 दाहिने अथवा देब्रे नफर्क, तिम्रो खुट्टाहरूलाई गल्ती मार्गमा जानबाट रोक।
© 2004, 2010 Bible League International