Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उत्पत्ति 11:1-13:4

संसारको विभाजन

11 यतिबेला समस्त पृथ्वीमा एउटै भाषा थियो अनि थोरै शब्दहरू थिए। जब मानिसहरू पूर्वबाट बसाइँ सर्न थाले शिनार देशमा तिनीहरूले समतल भूमि भेटे अनि तिनीहरूले त्यहाँ बसोबास शुरू गरे। तिनीहरू आपसमा कुरा गरे, “हामीले ईंटा बनाउनु पर्छ अनि त्यसलाई कडा बनाउनको लागि आगोमा पोल्नु पर्छ।” यसर्थ तिनीहरूको घर बनाउदा ढुङ्गाको सट्टामा ईंटालाई प्रयोग गरे अनि ईंटा जोड्न माटोको सट्टामा मसला प्रयोग गरे।

तिनीहरूले भने, “आऊ, हामी आफ्नो निम्ति एउटा शहर बनाऔं अनि एउटा धरहरा बनाऔं जसको शिखर स्वर्ग पुग्छ। हामी प्रख्यात हुनु पर्छ र यसले हामीलाई सँगठित राख्नेछ। नत्र हामी संसारभरि छरपष्ट हुनेछौं।”

परमप्रभु मानिसहरूले बनाउदै गरेको किल्ला र शहर हेर्न तल आउनु भयो। तब परमप्रभुले भन्नुभयो, “हेर, तिनीहरू मिलेर एक भएका छन्, तिनीहरूले एउटै भाषा बोल्दैछन्। तिनीहरूले के गर्ने छन् यो एउटा शुरू मात्र हो, अब चाँडै तिनीहरूले के गर्न खोज्छन् त्यही गर्न सक्ने हुन्छन्। यसर्थ हामी तिनीहरूको माझमा जाऔं र तिनीहरूको भाषामा खलबल पारिदिऔं जसले गर्दा तिनीहरू एक-अर्काले बोलेको भाषा बुझ्न नसकुन्।”

यसरी परमप्रभुले तिनीहरूलाई पृथ्वीको सम्पूर्ण सतहभरि छरपष्ट पारिदिनु भयो। यसर्थ उहाँले भवन निर्माणको काम रोकिदिनु भयो। त्यसकारण यो शहरको नाउँ बाबेल राखियो। यसप्रकार त्यस ठाउँबाट परमप्रभुले मानिसहरूलाई पृथ्वीको सतहभरि छरपष्ट पार्नु भएको थियो।

शेमको पारिवारिक इतिहास

10 शेमको पारिवारिक इतिहास यही हो। जल प्रलय भएको दुइ बर्षपछि शेम जब एक सय बर्ष पुगेका थिए तिनी अर्पक्षदका पिता भए। 11 अर्पक्षद जन्मेपछि शेम पाँच सय बर्षसम्म बाँचे अनि तिनका अन्य छोरा-छोरीहरू पनि जन्मे।

12 जब अर्पक्षद पैतीस बर्षका भए तिनको एउटा छोरो जन्मियो जसको नाउँ शेलह थियो। 13 शेलह पछि अर्पक्षद चार सय तीन बर्ष सम्म बाँचे अनि त्यस अवधिमा तिनका अन्य छोरा-छोरीहरू पनि भए।

14 शेलह तीस बर्ष पुगेपछि तिनको एउटा छोरो जन्मियो जसको नाउँ एबेर थियो। 15 एबेर जन्मेपछि शेलह चार सय तीन बर्षसम्म जीवित रहे। त्यस अवधिमा शेलहका अन्य छोरा-छोरीहरू जन्मे।

16 एबेर चौंतीस बर्षको भएपछि तिनको एउटा पेलेग नाउँका छोरो जन्मियो। 17 पेलेग जन्मेपछि पनि एबेर चार सय तीस बर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अन्य छोरा-छोरीहरू जन्मे।

18 पेलेगको उमेर तीस बर्ष पुग्दा तिनको रऊ नाउँका छोरो जन्मियो। 19 रऊ जन्मेपछि पेलेग अर्को दुइ सय नौ बर्षसम्म बाँचे अनि यस अवधिमा तिनका अरू छोरा-छोरीहरू पनि जन्मिए।

20 रऊको उमेर बत्तीस बर्ष पुग्दा तिनको सरूग नाउँका छोरो जन्मियो। 21 सरूगको जन्म पछि रऊ अर्को दुइ सय सात बर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू पनि जन्मिए।

22 सरूगको उमेर तीस बर्ष पुग्दा तिनको नाहोर नाउँको छोरो जन्मियो। 23 नाहोर जन्मेपछि पनि सरूग दुइ सय बर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू जन्मे।

24 नाहोरको उमेर उन्तीस बर्ष पुग्दा तिनको तेरह नाउँको छोरो जन्मियो। 25 तेरह जन्मेपछि पनि नाहोर एक सय उन्नाइस बर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू जन्मे।

26 तेरहको उमेर सत्तरी बर्ष पुग्दा तिनका अब्राम, नाहोर र हारान नाउँका छोराहरू जन्मे।

तेरहको पारिवारिक इतिहास्

27 तेरह परिवारको इतिहास यही हो। तेरह अब्राम, नाहोर र हारानका बुबा थिए। हारान लूतका बुबा थिए। 28 हारान बाबेलको ऊरमा मरे अनि त्यस समय तिनका बुबा तेरह जीवित नै थिए। 29 अब्राम र नाहोरले विवाह गरे, अब्रामको पत्नीको नाउँ साराई र नाहोरकी पत्नीको नाउँ मिल्का थियो। मिल्का हारानकी छोरी थिईन र हारान मिल्का र इस्काका बुबा थिए। 30 साराईबाट कुनै सन्तान भएन कारण ऊ बाँझी थिईन।

31 तेरहले आफ्नो छोरो अब्राम, उसको नाति लूत, बुहारी सराई-अब्रामकी पत्नी, लिएर कल्दीहरूको ऊर शहर छाडी कनान देशमा जान हिँडे। तर तिनीहरू हारानसम्म गई त्यहीं बसो-बास गर्न थाले। 32 तेरह दुइ सय पाँच बर्षसम्म बाँचे र हारानमा मरे।

परमेश्वर अब्रामलाई बोलाउनु हुन्छ।

12 परमप्रभुले अब्रामलाई भन्नुभयो,

“तिम्रो देश र तिम्रा मानिसहरूलाई छोड,
    र मैले देखाएको देशमा जाऊ।
म तिमीलाई आशीर्वाद दिनेछु,
तिमीबाट महान् राष्ट्र बनाएर
    प्रसिद्ध बनाउनेछु।
तब मानिसहरूले अरूलाई आशीर्वाद दिदाँ
    तिम्रो नाउँ लिनेछन्।
म तिमीलाई आशीर्वाद दिने मानिसहरूलाई आशीर्वाद दिनेछु,
    अनि तिमीलाई सराप दिनेहरूलाई सराप दिनेछु।
पृथ्वीमा सबै मानिसहरूलाई आशीर्वाद दिनका लागि
    म तिम्रो नाउँ प्रयोग गर्नेछु।”

अब्राम कनान जान्छन्

यसर्थ अब्रामले परमप्रभुले भन्नु भए अनुसार नै हारान छोडे अनि लूत तिनीसित गए। जब अब्रामले हारान छोडे त्यस समय तिनी पचहत्तर बर्ष पुगेका थिए। अब्रामले आफ्नी पत्नी साराई, उसको भतिजो लूत, आफूसित भएका कमारा-कमारीहरू र हारानमा आफ्नो जे जति थियो लिएर कनान गए। अब्राम कनान देशको शकेमसम्म गए अनि मोरेमा ठूलो रूख भएको ठाउँ सम्म पुगे। त्यस समयमा कनानी मानिसहरू त्यस ठाउँमा बस्थे।

त्यहाँ परमप्रभु अब्रामको अघि प्रकट हुनुभयो अनि भन्नुभयो, “म तेरो सन्तानहरूलाई (अनि अरू कसैलाई पनि होइन) यो भूमि दिनेछु।”

अब्रामले त्यस ठाउँमा जहाँ परमप्रभु तिनी अघि प्रकट हुनु भएको थियो। पूजाको निम्ति वेदी बनाए। त्यसपछि अब्रामले त्यस ठाउँ छाडी बेतेलको पूर्वको पहाडतिर यात्रा गरे अनि तिनले त्यहीं आफ्नो पाल बनाए। त्यस ठाउँबाट बेतेल पश्चिममा थियो र ऐ-शहर पूर्वमा पर्थ्यो। तिनले त्यस ठाउँमा परमप्रभुको निम्ति वेदी बनाए अनि परमप्रभुको उपासना गरे। तब अब्रामले यहूदाको दक्षिणी मरुभूमि इलाका नेगेबपट्टि आफ्नो यात्रा शुरू गरे।

अब्राम मिश्रमा

10 त्यस समय त्यहाँ अनिकाल चलिरहेको थियो। त्यहाँ अनिकाल अत्यन्तै भएकोले तिनी केही समयको निम्ति मिश्र देशतिर लागे। 11 तिनी मिश्र देशमा पस्न मात्र लागेका थिए, तिनले आफ्नी पत्नी साराईलाई भने, “हेर, म जान्दछु तिमी सुन्दरी नारी छ्यौ। 12 जब मिश्र देशीहरूले तिमीलाई देख्नेछन् तिनीहरूले भन्नेछन् त्यो स्त्री मानिस मेरी पत्नी हुनु पर्छ र तिनीहरूले मलाई मार्नेछन्। तर तिमीलाई जीवित राख्नेछन्। 13 यसकारण दया गरी तिनीहरूलाई भनी देऊ तिमी मेरी बहिनी हौ, यदि तिमीले यसो भन्यौ भने, त्यो मेरो निम्ति राम्रो हुन सक्छ अनि तिम्रो कारणले म बाँच्नेछु।”

14 अब्राम मिश्र देश भित्र पसे अनि त्यहाँका मानिसहरूले साराईलाई सुन्दरी देखे। 15 केही मिश्र देशी अधिकारीहरूले राजा फिरऊनलाई साराईको सुन्दरताको विषयमा सुनाए। तिनीहरूले साराईलाई फिरऊनकहाँ लगे। 16 फिरऊनले अब्रामसित राम्रो व्यवहार गरे कारण तिनलाई फिरऊनले साराईको भाइ सम्झे अनि उनले अब्रामलाई भेंडा, गाई-वस्तु, गधा तथा पुरूष अनि महिला सेवकहरू र ऊँटहरू पनि दिए।

17 फिरऊनले अब्रामकी पत्नी साराईलाई राखेकोले परमप्रभुले फिरऊन र उसको परिवारमाथि कष्टदायक रोगहरू पठाउनु भयो। 18 यसर्थ फिरऊनले अब्रामलाई बोलाएर भने, “तिमीले मेरो निम्ति एकदमै नराम्रो काम गर्यौ तिमीले साराईलाई तिम्री पत्नी भनी बताएनौ। 19 किन तिमीले तिम्री बहिनी भन्यौ। किन तिमीले त्यस्तो कुरा गर्यौ? यसैकारण मैले साराईलाई आफ्नी पत्नी होस् भनेर राखें। तर अब म तिम्री पत्नी तिमीलाई नै फर्काउँछु र उसलाई लिएर तिमी जाऊ।” 20 त्यसपछि फिरऊनले आफ्ना मानिसहरूलाई अब्रामलाई मिश्रदेशबाट बाहिर पठाउने आज्ञा दिए। यसर्थ अब्राम र तिनकी पत्नी तिनीहरूसित भएका सबै मानिसहरू नयाँ अरू कुराहरू लिएर त्यहाँबाट प्रस्थान गरे।

अब्राम कनान फर्के

13 अब्रामले उसकी पत्नी, भतिजो लूत अनि तिनीसँग भएका अन्य सबै वस्तुहरू लिएर नेगेब हुँदै मिश्र देश छोडे। यस समय अब्राम निकै धनी थिए कारण तिनीसँग घेरै गाई-वस्तु र घेरै सुन-चाँदीहरू थिए।

अब्रामले नेगेब पार गरे अनि बेतेल गए अनि त्यो स्थान बेतेल अनि ऐ-शहरहरूको बीचमा आइपुगे। त्यहाँ पाल बनाएका थिए अनि वेदी पनि बनाएका थिए। यसर्थ अब्रामले त्यहाँ परमप्रभुलाई उपासना गरे।

मत्ती 5:1-26

येशूद्वारा मानिसहरूलाई शिक्षा

(लूका 6:20-23)

येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नु भयो। येशू डाँडामा उक्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए। उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले भन्नुभयो,

“ती मानिसहरू धन्य हुन् जसले आफूलाई आत्मिक रूपले दरिद्र छौं भनी बुझेका छन्,
    किनभने स्वर्गको राज्य तिनीहरूकै हो।
अहिले शोक गर्नेहरू धन्यकाहुन्,
    किनभने परमेश्वरले तिनीहरूलाई सान्तवना दिनुहुनेछ।
धन्य नम्र हुनेहरू,
    किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।
धन्य धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू,
    किनभने परमेश्वरले तिनीहरूलाई तृप्त पार्नु हुनेछ।
धन्य अरू प्रति दया देखाउनेहरू,
    किनभने तिनीहरूले दया पाउनेछन्।
धन्य हृदयमा शुद्ध हुनेहरू,
    किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।
धन्य मेल-मिलाप गराउनेहरू,
    किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना छोरा-छोरी भन्नुहुनेछ।
10 धन्य धार्मिकताको निम्ति सताइएकाहरू,
    किनभने स्वर्गका राज्य तिनीहरूकै हुनेछ।

11 “धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूको निन्दा गर्नेछन् र खेदो गर्नेछन्। झूटो बोलेर हरेक किसिमका दुष्ट कुरा गरेर तिमीहरूको खेदो गर्नेछन्, किनभने तिमीहरू मेरा चेलाहरू हौ। 12 सुखी र खुशी बन। स्वर्गमा तिमीहरूलाई ठूलो इनाम मिल्नेछ। किनभने तिमीहरूका अघिका अगमवक्तहरूलाई तिनीहरूले यसरीनै व्यवहार गरेका थिए।

तिमीहरू पृथ्वीका नून र ज्योति जस्तै हौ

(मर्कूस 9:50; 4:21; लूका 14:34-35; 8:16)

13 “तिमीहरू पृथ्वीका नून हौ। यदि नूनको स्वाद नै छैन भने, फेरि त्यसलाई नुनिलो के-ले पार्ने र? यदि नूनमा नूनको स्वाद नै छैन भने त्यो ता-फालिन र मानिसका खुट्टाले कुल्चनबाहेक अरू केही कामको हुँदैन।

14 “तिमीहरू संसारका ज्योति हौ जसले संसारलाई उज्यालो पार्छ। डाँडामा बसालिएको नगर अदृष्य रहन सक्तैन। 15 त्यसरीनै मानिसहरूले बत्ती बालेर पाथीमुनि राख्दैनन्। त्यसको सट्टामा तिनीहरूले त्यसलाई सामदानमा राख्छन्। यसरी घरमा भएका सबै मानिसहरूले उज्यालो पाउने छन्। 16 त्यसै गिरी, अरूका निम्ति तिमीहरू पनि उज्यालो बनिदिनु पर्छ। तिमीहरूले गरेका सुकर्महरू मानिहरूले देख्नेछन् र स्वर्गमा बस्नु हुने तिमीहरूका पिताका महिमा गर्नेछन्।

येशू अनि पुरानो नियमको लेखाई

17 “म मोशाको व्यवस्था अथवा अगमवक्ताहरूद्वारा लेखिएको अगमवाणी रद्द गर्न आएको भन्ने नसम्झ, रद्द गर्न होइन, तर पूरा गर्न म आएको हुँ। 18 म साँच्चो भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी बितेर जाँदैन, व्यवस्थाको हरेक कुरा पूरा हुनेछ सबै कुरा पूरा नहोउन्जेल कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु पनि हटाइने छैन।

19 “हरेक मानिसले प्रत्येक आदेश पालन गर्नैपर्छ चाहे त्यो आदेश सामान्य नै किन नहोस्। यदि कुनै मानिसले एउटा पनि आदेश पालन गर्न चाँहदैन अनि अरूलाई पनि आदेश पालन नगर्नु भनी सिकाउँछ भने स्वर्गको राज्यमा त्यो सबैभन्दा तुच्छ ठहरिनेछ। तर जसले आदेश पालन गर्छ अनि अरूलाई पनि आदेश पालन गर्न सिकाउँछ, त्यो नै स्वर्गको राज्यमा ठूलो कहलाइनेछ। 20 म भन्दछु धर्मशास्त्री र फरिसीहरूको भन्दा तिमीहरूले राम्रो काम गर्नु पर्छ। यदि तिमीहरूले तिमीहरूलाई उछिन्न सकेनौ भने तिमीहरूले स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछैनौ।

येशूद्वारा रीस बारे शिक्षा

21 “तिमीहरूले सुनेका छौ, प्राचीन समयकाहरूलाई यसो भनिएको थियो, ‘कसैको हत्या नगर्।(A) जसले हत्या गर्छ, त्यो व्यवस्था समक्ष उभिनु पर्नेछ।’ 22 तर म तिमीहरूलाई भन्दछु, कोही अन्य मानिससित नरिसाओ। सबैजना तिम्रा भाइ हुन्। यदि तिमी अरू मानिससंग रिसाउँछौ भने, तिमी इन्साफको निम्ति खड़ा हुनु पर्नेछ। यदि तिमीले अर्को मानिससित नराम्रा कुरा गर्यौ भने तिमी यहूदीहरूको महासभाको समक्ष उभिनु पर्नेछ। यदि अर्को मानिसलाई ‘मुर्ख’ भन्छौ भने तिमी नरकको आगोमा फालिइनु पर्नेछ।

23 “जब तिमीले परमेश्वरलाई भेटी चढाउँछौ त्यसबेला तिमी अरूहरूलाई पनि सम्झ। यदि तिमीले वेदीमा भेटी चढाउँदा तिम्रो विरुद्धमा तिम्रो भाइको हृदयमा केही छ भन्ने सम्झ्यौ भने, 24 त्यही वेदीको छेउमा तिम्रो भेटी छोड। पहिला तिमी फर्केर जाऊ अनि त्यो मानिससित मिलाप गर। त्यसपछि आफ्नो भेटी वेदीमा चढाऊ।

25 “यदि तिम्रो विरोधीले तिमीलाई न्यायालयमा लाँदैछ भने उसित मिलाप गरिहाल। न्यायलय पुग्नु अघिनै तिमीले यसो गर। यदि तिमी उसको साथी बन्न असफल भयौ भने उसले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला, न्यायाधीशले तिमीलाई प्रहरीको हातमा सुम्पिदेलान् अनि तिमीलाई झ्यालखानामा थुनिदिनेछ। 26 म तिमीलाई भन्दछु कि तिमीले ऋणको अन्तिम पैसा नतिरुन्जेल तिमी त्यहाँबाट कुनै तरिकाले उम्कने छैनौ।

भजनसंग्रह 5

संगीत प्रमुखको निम्ति, बाँसुरीसहित गाइने दाऊदको भजन।

हे परमप्रभु, मेरो वचनहरू सुन्नुहोस्
    र बुझ्नुहोस् मैले के भन्न खोजिरहेको छु।
हे मेरा राजा, हे मेरा परमेश्वर,
    मेरो प्रार्थना सुनिदिनु होस्।
हे परमप्रभु, प्रत्येक बिहान, म आफ्ना उपहारहरू तपाईंको समक्ष राख्दछु,
    र तपाईंको सहयोग खोज्दछु।
अनि प्रत्येक बिहान तपाईंले मेरो प्रार्थना सुन्नुहुन्छ।

हे परमेश्वर, तपाईंको नजिक दुष्ट मानिसहरू भएको तपाईं मन पराउनु हुन्न।
    तिनीहरू तपाईंको आदर गर्दैनन्।
मूर्खहरू तपाईंको नजिकै आउन सक्तैनन्।
    तपाईंले अधर्मी काम गर्नेहरूलाई घृणा गर्नुहुन्छ।
जसले झूटो बोल्दछ त्यसलाई नष्ट गर्नुहुन्छ।
    तपाईंले ती मानिसलरूलाई घृणा गर्नुहुन्छ जसले अन्य मानिसहरूलाई चोट पुर्याउने गुप्त योजनाहरू बनाउँ छन्।

तर परमप्रभु, तपाईंको मन्दिर अघि म दण्डवत् गर्नेछु।
हे परमप्रभु! मेरा शत्रुहरूले कतै म गल्ती गर्छु कि भनी हेरिरहेकाछन्।
    यसकारण मलाई ठीक काम गर्न सजिलो पारिदिनु होस्।
ती मानिसहरू सत्य बोल्दैनन्।
    तिनीहरू झूटा छन् तिनीहरू सत्य बङ्ग्याउँछन्।
तिनीहरूका मुख खाली चिहान जस्ता छन्।
    तिनीहरू अरूहरूलाई फसाउनको लागि मात्र मिठो बोल्दछन्।
10 हे परमेश्वर, तिनीहरूलाई दण्ड दिनुहोस्!
    तिनीहरूले थापेको पासोमा आफैं परून्।
ती मानिसहरूले तपाईंको विरूद्धमा विद्रोह गरे,
    यसर्थ तिनीहरूको धेरै अपराधहरूको लागि दण्ड दिनुहोस्।
11 तर जसले तपाईंमाथि भरोसा राख्दछन् तिनीहरू सुखी रहुन्।
तिनीहरू अनन्त सुखी रहुन्।
    परमेश्वर, जसले तपाईंको नाउँलाई प्रेम गर्दछन् तिनीहरूको रक्षा गर्नुहोस् अनि शक्ति दिनुहोस्।
12 हे परमप्रभु, धार्मिक मानिसहरूलाई तपाईंले आशीर्वाद दिनुहुन्छ।
    तिनीहरू प्रति तपाईंको दया तिनीहरूको निम्ति ढाल झैं छ।

हितोपदेश 1:24-28

24 “मैले बोलाएँ तर तिमीहरूले मलाई सुनेनौ, मैले तिमीहरूको लागि आफ्नो हात अघि बढाँए तर तिमीहरूले म तिर ध्यानै दिएनौ। 25 र मेरा सबै उपदेशहरू सुनेनौ। मेरा हप्कीहरू अस्वीकार गर्यौ। 26 यसकारण तिमीहरू नाश हुँदा म हाँस्नेछु। जब तिमीहरूमाथि आपत्ति आउँछ म तिमीहरूलाई खिसी गर्नेछु। 27 जब तिमीहरूमाथि आँधी झैं विनाश आउँछ, जब हटात प्रकोपको भुँवरीले झैं अत्याउँछ, जब आपात र कष्ट तिमीमाथि आउँछ।

28 “तब तिमीहरूले मलाई बोलाउनेछौ र मैले जवाफ दिनेछैन्। तिमीहरूले सहायताको निम्ति मलाई खोज्नेछौ, तर मबाट तिमीहरूले सहायता पाउँने छैनौ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International