The Daily Audio Bible
Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.
यूसुफ मिश्र देशको पोतीफरलाई बेचियो
39 जुन व्यापारीले यूसुफलाई किन्यो उनले यूसुफलाई मिश्र देशमा लिएर गए। उनले यूसुफलाई फिरऊनको अगंरक्षकहरूको सेनापतिलाई बेचिदियो। 2 तर परमप्रभुले यूसुफलाई सहायता गर्नु भयो। यूसुफ एउटा सफल मानिस भयो। यूसुफ आफ्नो मिश्री मालिक पोतीफरको घरमा बस्यो।
3 पोतीफरले थाहा पायो परमप्रभुले यूसुफलाई सहायता गर्नु भएको छ। उनले यो पनि थाहा पायो यूसुफले जे गर्छ त्यसमा उसलाई सफल पार्न परमप्रभुले सहायता गर्नु भएको हुन्छ। 4 यसकारण यूसुफलाई पाएर पोतीफर अत्यन्तै खुशी थियो। पोतीफरले उसलाई आफ्नो काम गराउन तथा घरमा व्यवस्था मिलाउने काममा लगायो। पोतीफरको प्रत्येक कुरोमा उसको अधिकार थियो। 5 जब यूसुफ पोतीफरको घरमा प्रत्येक चीजको अधिकारी बनियो तब परमप्रभुले पोतीफरको घरमा रहेको प्रत्येक चीजमा आशीर्वाद दिनुभयो। परमप्रभुले यूसुफको कारणले यसो गर्नु भयो अनि पोतीफरको खेतीमा उब्जने प्रत्येक चीजलाई परमप्रभुले आशीर्वाद दिनु भयो। 6 यसैले पोतीफरले यूसुफलाई आफ्नो घरको प्रत्येक चीजको जिम्मावारी लगायो। पोतीफरले कुनै कुराको चिन्ता गर्दैनथ्यो ऊ खाली आफ्नो भोजनको विषयमा मात्र चिन्ता गर्दथ्यो।
पोतीफरकी पत्नी अनि यूसुफको अस्वीकृति
यूसुफ अत्यन्तै सुन्दर र राम्रो थियो। 7 केही समयपछि यूसुफको मालिककी पत्नीले उसलाई प्रेम गर्न थालीन्। एकदिन उनले भनिन्, “मसँग सुत्।”
8 तर यूसुफ मानेन। उनले भने, “मेरो मालिक यस घरको प्रत्येक चीजको निम्ति मलाई विश्वास गर्छन। उनले यस घरको प्रत्येक चीजको लागि मलाई जिम्मावारी दिएका छन्। 9 मेरा मालिकले मलाई आफू समान सम्झन्छन्। तर मैले उसकी पत्नीसित सुत्नु हुँदैन। यो उचित होइन। यो परमेश्वरको बिरूद्धमा पाप हो।”
10 त्यो स्त्रीले प्रत्येक दिननै यूसुफसित कुरा गर्थी। तर यूसुफले ऊसित सुत्न अस्वीकार गर्दथियो। 11 एक दिन यूसुफ आफ्नो कामको निम्ति घरभित्र पसेको थियो। त्यस बेला लोग्ने मानिस त्यस घरमा ऊ मात्रै थियो। 12 उसका मालिककी पत्नीले यूसुफको लुगा समाती अनि उसलाई भनी, “तिमी मसित ओछ्यानमा आऊ।” तर यूसुफ त्यहाँबाट यति चाँडो भाग्यो कि उसको लुगा मालिककी पत्नीको हातमा नै रह्यो।
13 त्यस मानिसकि पत्नीले देखी उसको लुगा उसैको हातैमा थियो अनि यूसुफ घरदेखि बाहिर भागेर गए। यसर्थ उनले निश्चय गरी जे भएको थियो त्यस विषयमा झूटो प्रचार गर्नुपर्छ। 14 ऊ बाहिरका मानिसहरूलाई बोलाउन गई। उनले भनी, “हेर, यो हिब्रू कमारा हाम्रो बेइज्जत गर्न यहाँ आएको थियो। ऊ भित्र आयो अनि मसित सुत्ने कोशिश गर्यो, तर म साह्रै चिच्याएँ। 15 म चिच्चाएकोले गर्दा त्यो डरायो अनि यहाँबाट भाग्यो। तर उनले आफ्नो कोट मसितै छोडेर गयो।” 16 यसकारण उनले आफ्नो लोग्ने घर फर्कुन्जेलसम्म त्यो लुगा आफूसँगै राखी। 17 अनि उनले आफ्नो लोग्नेलाई त्यही कथा सुनाई। उनले भनिन, “तिमीले ल्याएको हिब्रू दासले मसित ब्यभिचार गरेर लज्जित पार्यो। 18 जब ऊ मकहाँ आयो म चिच्चाएँ अनि त्यो भाग्यो तर त्यसले आफ्नो लुगा छोडेर गयो।”
19 जति बेला यूसुफको मालिकले कथा सुने, तिनी साह्रै नै रिसाए। 20 त्यहाँ एउटा झ्यालखाना थियो अनि त्यसमा राजाका शत्रुहरूलाई राखिन्थ्यो। पोतीफरले यूसुफलाई त्यही झ्यालखानामा राख्यो अनि यूसुफ त्यही बसिरह्यो।
यूसुफ झ्याल खानामा
21 तर परमप्रभु यूसुफसित हुनुहुन्थ्यो। उहाँ सधैँ ऊसँग दयालु हुनुहुन्थ्यो। 22 उहाँले अरू कैदीहरूको प्रमुख यूसुफलाई बनाए अनि एक रक्षकबाट गरिनु पर्ने प्रत्येक कुरो तिनलाई गर्न लगाए। 23 रक्षकहरूका अधिकारीले झ्यालखानको सबै कुराहरूमा यूसुफमाथि विश्वास गर्थे। यस्तो यसकारण हुने भयो कारण परमप्रभुले यूसुफलाई सहायता गर्नुहुन्थ्यो। यूसुफले जे गर्थ्यो परमप्रभुले उसलाई सफल गराउनु हुन्थ्यो।
यूसुफले दुइवटा सपना व्याख्या गर्छ
40 पछि, फिरऊनका दुइजना नोकरहरूले फिरऊनप्रति केही गल्ती गरे। तिनीहरूमध्ये एकजना फिरऊनका लागि रोटी पकाउने अनि अर्को उनको दाखरस दिने नोकर थिए। 2 फिरऊन यी रोटी पकाउने र दाखरस सेवा गर्ने मानिसहरूसित क्रोधित भए। 3 उनले तिनीहरूलाई फिरउनले यूसुफलाई जस्तै फोतिफरलाई झ्यालखानाम पठाए जसको मुख्य अगंरक्षकको घरमा जहाँ यूसुफ थियो। 4 प्रमुखले ती दुइजनालाई यूसुफको हेरचाहमा राखि दिनुभयो। तिनीहरू यस झ्यालखानामा केही दिन थिए। 5 एक दिन राती ती दुइजनाले सपना देखे। ती दुइजना नोकरहरू, एकजना रोटी पकाउने र अर्को दाखरस सेवा गराउने मिश्र देशका राजाका नोकरहरू थिए। प्रत्येक कैदीको आ-आफ्नो सपना थियो। अनि प्रत्येक सपनाको अलग्गै अर्थ थियो। 6 यूसुफ भोलिपल्ट बिहानै तिनीहरूकहाँ गए। उनले तिनीहरूलाई साह्रै कष्टमा परेको भेट्टाए। 7 यूसुफले सोध्यो, “आज तिमीहरू किन चिन्तित देखिन्छौ?”
8 ती दुइजना मानिसहरूले उत्तर दिए, “हामीले राती सपना देख्यौं तर के सपना देख्यौं बुझ्न सकेनौं। त्यो सपनाको अर्थ हामीलाई बुझाउने अथवा व्याख्या गर्ने मानिस यहाँ कोही पनि छैन।”
यूसुफले तिनीहरूलाई भने, “परमेश्वर नै एकजना हुनुहुन्छ जसले सपना बुझाउनु अथवा व्याख्या गर्न सक्नु हुन्छ। यसर्थ म बिन्ती गर्छु मलाई तिमीहरूको सपना बताऊ।”
दाखरस सेवकको सपना
9 यसर्थ दाखरस सेवकले यूसुफलाई आफ्नो सपना बतायो। त्यसले भने, “मैले मेरो सपनामा दाखको बोट देखें। 10 त्यस बोटमा तीनवटा हाँगाहरू थिए। कोपिला लागेपछि लगत्तै यसका फूलहरू प्रस्फूटित भए अनि पाकेको अंङ्गूरको गुच्छा भयो। 11 मैले फिरऊनको प्याला समातेको थिए यसर्थ दाख टिपेर त्यो प्यालामा निचोरेर त्यो प्याला फिरऊनलाई दिएँ।”
12 तब यूसुफले उत्तर दियो, “म सपनाको व्याख्या तिमीलाई दिनेछु। ती तीनवटा हाँगाहरूको अर्थ तीन दिन हो। 13 तीन दिन शेष हुनुअघि फिरऊनले यहाँ आएर तिमीलाई आफ्नो काममा जान अनुमति दिनेछन्। तिमीले त्यही काम गर्नेछौ जुन काम तिमीले फिरऊनसित पहिले गरिरहेका थियौ। 14 तर जब तिमी यहाँबाट मुक्ति पाउँछौ मलाई पनि सम्झना गर्नु। मलाई सहायता अनि मेरो भलाई गर। मेरो विषयमा फिरऊनलाई भन जसले गर्दा म यहाँबाट निस्कन सकुँ। 15 मलाई हिब्रूहरूको भूमि, मेरो देशबाट बल प्रयोग गरेर निकालियो। अनि त्यस समयमा मैले कुनै भूल गरेको थिइनँ जसले गर्दा म कैदमा पर्नु पर्ने थियो।”
रोटी पकाउनेवालाको सपना
16 त्यस रोटी पकाउनेले थाहा पायो अर्को नोकरको सपना राम्रो थियो। यसर्थ मुख्य रोटी पकाउनेले यूसुफलाई भने, “मैले पनि सपना देखें। मैले सपनामा देखें मेरो टाउको माथि रोटीले भरिएको तीनओटा डालाहरू थिए। 17 सब भन्दा माथिको डालामा सबै प्रकारको पकाएको भोजन थियो। यो भोजन राजाको निम्ति थियो। तर भोजन चराहरूले खाइरहेका थिए।”
18 यूसुफले उत्तर दियो, “सपनाको अर्थ के हुन्छ म बताउने छु। ती तीन डालाहरूको अर्थ तीन दिन हो। 19 तीन दिनभित्र राजा यहाँ आउनु हुनेछ अनि तिमी कैदबाट मुक्त हुनेछौ। तब राजाले तिम्रो टाउको छिनाउनु हुनेछ अनि तिम्रो शरीर खुट्टामा झुण्ड्याउँनु हुनेछ अनि तिम्रो शरीरको मासु चराहरूले खानेछन्।”
नोकरले यूसुफलाई बिर्सिन्छन्
20 तीन दिनपछि फिरऊनको जन्म दिन थियो। फिरऊनले आफ्नो सबै नोकरहरूलाई भोज दिए। भोजमा फिरऊनले मुख्य दाखरस दिने र मुख्य रोटी पकाउने नोकरहरूलाई झ्यालखानाबाट निकाल्ने अनुमति दिए। 21 फिरऊनले दाखरस दिने सेवकलाई मुक्त गर्यो अनि उसलाई आफ्नो पुरानो काममा नै लगायो। अनि दाखरस दिने सेवकले फिरऊनको हातमा दाखरसको प्याला राखिदियो। 22 तर फिरऊनले मुख्य रोटी पकाउनेलाई फाँसी दियो अनि यूसुफले जे जे हुन्छ भनी बताएको थियो त्यही भयो। 23 तर मुख्य दाखरस दिने सेवकले यूसुफलाई सहायता गर्न पनि बिर्सियो उसले यूसुफको विषयमा फिरऊनलाई केही पनि भनेन। यूसुफको विषयमा उनले सबै बिर्सियो।
फिरऊनको सपना
41 दुइबर्ष पछि फिरऊनले एउटा सपना देख्यो। उनले आफैंलाई नील नदीको किनारमा उभिरहेको सपना देख्यो। 2 सपनामा उनले देख्यो सातवटा गाईहरू नदीबाट निस्केर घाँस खाँदै उभिएका थिए। ती गाईहरू हेर्दा राम्रा र स्वस्थ थिए। 3 त्यसपछि अझ सातवटा गाईहरू नदीबाट निस्के अनि ती स्वस्थ गाईहरूको नजिकमा नदीको किनारमा उभिए। तर गाईहरू दुब्लो र बिमारी जस्ता थिए। 4 आफ्नो सपनामा उनले यी सातवटा रोगी गाईहरूले सातवटा स्वस्थ गाइहरूलाई खाँदै गरेको देख्यो। तब फिरऊन ब्यूँझीयो।
5 फिरऊन फेरि सुत्यो र सपना देख्यो। उनले सपनामा एउटा अन्नको बोटमा सातवटा बाला लागेको देख्यो। अन्नको बालाहरू मोटा र राम्रा थिए। 6 अनि पछि अझ सातवटा अन्नहरू भएको उसले देख्यो। तर तिनीहरू पातलो र बाफिलो हावाले सुकेका थिए। 7 ती पातला सातवटा अन्नका बालाहरूले ती राम्रा र भरिला अन्नका बालाहरू खाए। त्यसपछि फिरऊन ब्यूँझीयो अनि सोच्यो त्यो सब एउटै सपना मात्र थियो। 8 र अर्को बिहान यी सपनाहरूको विषयमा फिरऊन एकदमै चिन्तित भयो। यसर्थ उनले मिश्र देशका सबै जादूगर अनि सबै ज्ञानी मानिसहरूलाई बोलायो। फिरऊनले ती सबै मानिसहरूलाई आफ्नो ती सपनाहरूको विषयमा बतायो तर कसैले पनि त्यस विषयमा व्याख्या गर्न सकेनन्।
नोकरले यूसुफको विषयमा फिरऊनलाई भन्छ
9 तब त्यो दाखरस पुर्याउने सेवकले यूसुफलाई सम्झिए अनि फिरऊनलाई भने, “आज म मेरो अतीतका भूलहरू सम्झना गराइरहेको छु। 10 तपाईं म र रोटी पकाउनेसित दिक्कहुनु भएको थियो अनि हामीलाई प्रमुख रक्षकको घरमा कैदी बनाउनु भयो। 11 त्यसपछि एक रात उनले र मैले सपना देख्यौं। प्रत्येक सपनाको भिन्दा भिन्दै अर्थ थियो। 12 हामीसित झ्यालखानामा एक जना हिब्रू मानिस थियो। त्यो अंगरक्षकहरूको कप्तानको नोकर थियो। उसलाई हामीले आफ्नो सपना बतायौं र ती सपनाहरूको विषयमा उनले हामीलाई व्याख्या गर्यो। हामीलाई उनले प्रत्येक सपनाको अर्थ बतायो। 13 उसले जे भनेको थियो म झ्यालखानबाट मुक्त हुनेछु अनि मेरो आफ्नै नोकरी पाउनेछु, त्यो सही भयो। उनले त्यो रोटी पकाउने मानिस मर्छ भनेको थियो अनि त्यो मर्यो। यसर्थ उनले जे-जे भनेको थियो सत्य भयो।”
यूसुफलाई सपना व्याख्या गर्न बोलाइयो
14 यसर्थ यूसुफलाई फिरऊनले झ्यालखानबाट झिकायो र अंग-रक्षकहरूले उसलाई लगत्तै झ्यालखानबाट ल्याए। यूसुफले दाह्री काट्यो अनि केही सफा लुगाहरू लगाएर फिरऊनलाई भेट्न गयो। 15 फिरऊनले यूसुफलाई भन्यो, “मैले थाहा पाएँ कसैले तिमीलाई आफ्नो सपना बताए तिमी त्यसको बारेमा व्याख्या दिन सक्छौ अरे। मैले पनि एउटा सपना देखेको छु अनि त्यस सपनाको विषयमा बताउन यहाँ कसैले ब्यख्या गर्न सकेनन्।”
16 यूसूफले उत्तर दिए, “म त ब्यारख्या दिन सक्दिनँ तर हुनसक्छ परमेश्वले तिमीलाई सपनाको बिषयमा बताउनु हुनेछ।”
चेलाहरू नै येशूका परिवार
(मर्कूस 3:31-35; लूका 8:19-21)
46 जब येशू मानिसहरूसित अझ बातचीत गर्दै हुनुहुन्थ्यो उहाँका आमा र भाइहरू बाहिर उभिरहेका थिए। तिनीहरू येशूसँग भेट गर्न चाहन्थे। 47 कुनै एकजनाले भने, “तपाईंकी आमा र भाइहरू बाहिर उभिरहेका छन्, अनि तिनीहरू तपाईंसँग भेट गर्न चाहन्छन्।” 48 येशूले त्यो बोल्दै गर्ने मानिसलाई भन्नुभयो, “मेरा आमा र मेरा भाइहरू को हुन्?”
49 आफ्ना चेलाहरूलाई संकेत गर्दै उहाँले भन्नुभयो, “हेर! यिनीहरू नै आमा र भाइहरू हुन्। 50 जसले स्वर्गको मेरो पिताले चाहनु भए झैं गर्दछ उनीहरूनै मेरा भाइ, बहिनी र आमा हुन्।”
येशूले बीऊ र बीऊ छर्नेको बिषयमा उखान भन्नुहुन्छ
(मर्कूस 4:1-9; लूका 8:4-8)
13 ठीक त्यही दिन येशू बाहिर गएर झीलको छेउमा बस्नु भयो। 2 उहाँलाई अनेकौं मानिसहरूले घेरेका थिए। यसकारण उहाँ एउटा डुङ्गामा चढ्नु भयो। सबै मानिसहरू चाँहि किनारमा बसेका थिए। 3 उखानहरूको उपयोग गरेर उहाँले मानिसहरूलाई धेरै शिक्षा दिनुभयो। येशूले बताउनुभयो:
“कोही किसान बीऊ छर्नलाई निस्क्यो। 4 जब तिनीले बीऊ छर्दै थिए, केही बीऊहरू बाटोतिर परे। चरा-चुरूङ्गी आएर ती बीऊहरू खाए। 5 केही बीऊहरू नभएको कारणले बीऊहरू चाँडै उम्रनथाले चट्टानमय खेतमा झरे। जमीन त्यत्ति गहिरो थिएन। 6 तर जब घाम लाग्नथाल्यो, ती बीरूवाहरू प्रचण्डघामले सुकेर गए किनभने तिनीहरूका जराहरू थिएनन्। कतिपय बीऊहरू काँडाधारीमा खसे। जब काँडाहरू बढ्दै गए तिनीहरूले ती बीरूवाहरूलाई उम्रन दिएनन्। 7 कतिपय बीऊहरू मलिलो माटोमा खसेका थिए। 8 अनि ती बीऊहरू उम्रिए र फसल उत्पन्न गरे। कतिपय बोटहरूले सय, कतिपयल साठ्ठी अनि कतिपयले तीस गुणा फल फलाए। 9 ऊ जसले सुन्न सक्छ मेरो कुरा सुन।”
येशूले सिकाउनलाई उखान भन्नु भएको
(मर्कूस 4:10-12; लूका 8:9-10)
10 चेलाहरू आए र येशूलाई सोधे, “तपाईंले उपदेश गर्नुहुँदा तपाईंले किन उखानहरू भन्नु भएको?”
11 येशूले जवाफ दिनुभयो, “स्वर्गको राज्यको सत्यरहस्यहरूको बारेमा तिमीहरूले मात्र बुझ्नसक्छौ। तर अरूहरूले ती जान्नसक्दैनन्। 12 जसले बुझ्न सक्दछ उसलाई अरू बुझाइनेछ अनि उसले चाहेभन्दा धेरै बुझ्न पाउनेछ। तर जसले बुझ्न सक्दैन उसले जति बुझेकोछ त्यो पनि उसकोबाट खोसिनेछ। 13 यसैले, ती मानिसहरूलाई उपदेश दिएँ म उखानहरू भन्ने छु तिनीहरू हेर्दछन्, तर देख्दैनन्। तिनीहरू सुन्छन् तर बुझ्दैनन्। 14 यसरी यशैयाले जुन अगमवाणी गरे त्यो तिनीहरूमा पूर्ण भयो:
‘तिमीहरू सुन्न त सुन्छौ,
तर बुझ्दैनौ।
तिमीहरू हेर्न त हेर्छौ,
तर देख्न सक्दैनौ।
15 हो, यी मानिसहरूको हृदय कठोर भएको छ।
कान भएर पनि यिनीहरू सुन्न सक्दैनन्,
तिनीहरूका आँखा त छन्, ता पनि तिनीहरू देख्दैनन्।
यस्तो भएको छ त्यसकारण तिनीहरूले
आफ्ना आँखाले देख्दैनन्,
आफ्ना कानले सुन्दैनन्,
तिनीहरूका हृदयले बुझ्दैनन्,
हैन भने तिनीहरू मकहाँ आउने थिए, सुन्ने थिए,
अनि म तिनीहरूलाई निको पार्नेथिएँ।’(A)
16 तर तिमीहरू धन्य छौ किनभने तिम्रा आँखाहरूले देख्न सक्छन्, अनि तिम्रा कानहरूले सुन्न सक्छन्। 17 म तिमीहरूलाई साँच्चो भन्दछु। धेरै अगमवक्ताहरू र धर्मी मानिसहरू पहिले तिमीहरूले देखेका कुराहरू हेर्न चाहन्थे। तर तिनीहरूले ती कुराहरू देख्न सकेनन्। अनि धेरै अगमवक्ताहरू र धर्मी मानिसहरू तिमीहरूले सुनेका कुराहरू पहिले सुन्न चाहन्थे। तर तिनीहरूले ती कुराहरू सुन्न सकेनन्।
बीऊ छर्नेको उखानको व्याख्या
(मर्कूस 4:13-20; लूका 8:11-15)
18 “अब किसानको बारेमा उखान सुन:
19 “बाटोमा छरिएको बीऊ के हो? त्यो बीऊ त्यो मानिस जस्तो हो जसले राज्यको बारेमा केही उपदेश सुन्छ तर बुझ्दैन। दुष्ट आउँछ अनि उसको मनमा रोपिएको कुराहरू लैजान्छ।
20 “अनि चट्टानमय भूमिमा खसेको बीऊहरू चाहिं के हुन्? ती बीऊहरू त्यो मानिस जस्तै हुन् जसले उपदेश सुन्छ अनि आनन्दसित तुरन्तै ग्रहण गर्दछ। 21 तर त्यो मानिसले त्यो सन्देशलाई गहनरूपले उसको जीवनमा पस्न दिदैन। त्यो उपदेशलाई त्यसले थोरै बेरसम्म मात्र आफ्नो जीवनमा राख्छ। उपदेशको कारणले जब उसले कष्ट र सतावटको सामना गर्नुपर्छ त्यसले तत्काल आफ्नो विश्वास गुमाउँछ।
22 “अनि काँडाहरूमा छरिएको बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्दछन् तर जीनवको विषयमा बढ्ता फिक्री गर्छन् अनि पैसाको प्रेमले तिनीहरूले सुनेको उपदेश निसासिन्छ। यसले गर्दा उपदेशले फलफलाउन सक्दैन।
23 “तर मलिलो जमीनमा झरेका बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्छ र त्यसलाई बुझ्दछ। त्यो बीरूवा उम्रन्छन् अनि कहिले सयगुणा ज्यादा, कहीले साठी गुणा ज्यादा, र कहिले तीसगुणा अधिक फल फलाउँछन्।”
दाऊदको प्रार्थना।
1 हे परमप्रभु, न्यायको निम्ति मेरो प्रार्थना सुन्नुहोस्।
म तपाईंलाई उच्च स्वरमा पुकार्दैछु।
अनि मैले भनेका कुरामा म ईमान्दार छु।
यसैले मेरो प्रार्थनाप्रति ध्यान दिनुहोस्।
2 तपाईं मेरो विषयमा सही निर्णय लिनु हुनेछ
किनभने तपाईं सत्य देख्न सक्नु हुन्छ।
3 तपाईंले मेरो हृदयलाई गहिरो हेर्नु भएको छ
तपाईं रातभरि मसँग हुनुहुन्थ्यो।
तपाईंले मलाई प्रश्न गर्नु भयो अनि केही दोषहरू पाउनु भएन।
मैले कुनै खराब योजना बनाइनँ।
4 मैले जहाँसम्म एकजना मानवको निम्ति सम्भव छ
त्यतिनै मैले तपाईंको आज्ञाहरू पालन गर्ने चेष्टा गरेको छु।
5 मैले तपाईंको पथ अनुशरण गरेकोछु।
मेरो पाइलाहरूले तपाईंले बताउनु भएको बाँच्ने तरिका कहिल्यै छोडेका छैनन्।
6 हे परमेश्वर, प्रत्येक पल्ट मैले तपाईंलाई बोलाएँ।
तपाइँले मलाई जवाफ दिनुभयो।
यसैले अब मेरो कुरा सुन्नु होस्।
7 हे परमेश्वर, तपाईंले ती मानिसहरूलाई सहयोग गर्नुभयो,
जसले तपाईंमाथि भरोसा गरे।
तिनीहरू तपाईंको दाहिनेतर्फ उभिएका छन्।
त्यसैले यो प्रार्थना तपाईंले आफ्ना भक्तजनहरू मध्ये एकजनाबाट सुन्नु होस्।
8 तपाईंले आफ्नो आँखाको नानी जस्तै मेरो रक्षा गर्नुहोस्।
तपाईंको छत्रछाँयामुनि मलाई लुकाउनु होस्।
9 हे परमप्रभु, मलाई नष्ट गर्न खोज्ने दुष्ट मानिसहरूबाट जोगाउनु होस्।
मेरो चारैतिरबाट घात पुर्याउन प्रयास गरिरहेका दुष्ट मानिसहरूदेखि मलाई जोगाउनु होस्।
10 तिनीहरूमा दया छैन।
तिनीहरू साह्रै अहंकारी छन्।
तिनीहरूले परमेश्वरका कुराहरू सुन्दैनन्।
11 ती मानिसहरूले मेरो खेदो गरे।
अहिले तिनीहरू मेरो चारैतिर
आक्रमण गर्न तयार छन्।
12 ती दुष्ट मानिसहरू हिंस्रक सिंहहरू जस्तै अन्य प्राणीहरूलाई मारेर खान्छन्।
तिनीहरू सिंहहरू जस्तै लुक्छन् र आक्रमण गर्न तयार रहन्छन्।
13 हे परमप्रभु, उठ्नुहोस र शत्रु तर्फ जानु होस्।
तिनीहरूलाई आत्मासमर्पण गर्न बाध्य पार्नुहोस्।
तपाईंको आफ्नो तरवार चलाउनु होस् र ती दुष्ट मानिसहरूबाट मलाई बचाउँनुहोस्।
14 हे परमप्रभु, तपाईंको शक्ति प्रयोग गर्नुहोस् र दुष्ट मानिसहरूलाई यस धर्तीबाट हटाउनुहोस्।
हे परमप्रभु, प्रशस्त मानिसहरू तपाईं कहाँ सहायता माग्न आउँछन्।
ती मानिसहरूलाई प्रशस्त खानेकुरा दिनु होस्।
तीनीहरूलाई यति प्रशस्त खानेकुराहरू दिनुहोस्, तिनीहरूका भावी सन्तानलाई पनि पुगोस्।
15 मैले न्यायको निम्ति प्रार्थना गरें। यसैले, हे परमप्रभु, म तपाईंको मुहार हेर्नेछु।
हे परमप्रभु, तपाईंलाई हेरेर, म पूर्ण सन्तुष्ट हुनेछु।
33 दुष्ट मानिसको घर परमप्रभुद्वारा श्रापित रहन्छ अनि ईमान्दार मानिसको घर उहाँद्वारा आशीषित हुन्छ।
34 यदि कुनै मानिस घमण्डी छ र अन्य मानिसहरूको खिल्ली उडाउँछन् भने परमेश्वरले त्यस मानिसलाई दण्ड दिनु हुनेछ र खिसि गर्नु हुनेछ। तर नम्र मानिसहरू प्रति परमेश्वर दयालु हुनुहुन्छ।
35 ज्ञानी मानिसले आदर पाउँछन तर मूर्ख मानिसले लाज तथा अपमान मात्र पाउँछ।
© 2004, 2010 Bible League International