The Daily Audio Bible
Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.
17 यसर्थ इसहाकले त्यो भूमि छोडिदिए अनि गरारको उपत्यकामा बसे। 18 त्यस समयभन्दा धेरै अघि अब्राहामले धेरै कूवाहरू खनाएका थिए। जब अब्राहामको मृत्यु भयो, पलिश्तीहरूले सबै कूवाहरूमा माटो हालेर पुरिदिए। यसर्थ इसहाक त्यहाँ गएर फेरि ती कूवाहरू खानाए अनि उनका बाबु अब्राहामले जे-जे नाउँ ती कूवाहरूको राखेका थिए तीनै नाउँ राखे। 19 इसहाकका नोकरहरूले पनि त्यो सानो नदीको नजिक एउटा कूवा खने। त्यस कूवाबाट पानीको एउटा मूल बग्न थाल्यो। 20 तर जो मानिसहरूले गरार बेंसीमा भेंडा चराउँथे, तिनीहरूले इसहाकका गोठालासित झगडा़ गरे। तिनीहरूले भने, “यो पानी हाम्रो हो।” यसर्थ इसहाकले त्यस कूवाको नाउँ एसेक राखे। उनले त्यस कूवाको नाउँ त्यसकारण राखे किनभने त्यही जग्गामा ऊसित ती मानिसहरूले झगडा़ गरेका थिए।
21 त्यसपछि इसहाकका नोकरहरूले अझ अर्को एक कूवा खने। त्यस जग्गाका मानिसहरूले पनि त्यस कूवाको निम्ति झगडा़ गरे। यसर्थ इसहाकले त्यस कूवाको नाउँ पनि सित्ना राखे।
22 इसहाक त्यहाँबाट गए अनि फेरि अर्को कूवा खनाए। तर त्यहाँ कूवाको विषयमा कोही पनि झगडा़ गर्न आएनन्। यसर्थ इसहाकले त्यस कूवाको नाउँ रहोबोत राखे। इसहाकले भने, “अहिले परमप्रभुले हाम्रो निम्ति स्थान पाउनु भएछ। हामी अघि बढनेछौं अनि सफल हुनेछौं।”
23 त्यस भूमिबाट इसहाक बेर्शेबा गए। 24 त्यस रात परमप्रभुले इसहाकसित कुरा गर्नु भयो। परमप्रभुले भन्नुभयो, “म तेरो बाबु अब्राहामका परमेशवर हुँ। नडरा, म तँसित छु र म तलाईं आशीर्वाद दिनेछु। मेरो दास अब्राहामको कारणले म तेरो परिवारलाई विशाल बनाउनेछु।” 25 यसर्थ त्यस ठाउँमा इसहाकले एउटा वेदी बनाए अनि परमप्रभुको आराधना गरे। इसहाकले त्यहाँ एउटा पाल अनि त्यहाँ उसका नोकरहरूलाई एउटा कूवा पनि खनाए।
26 अबीमेलेक इसहाकलाई भेट्न गरारबाट आए। तिनीसँग आफ्नो सल्लाहकार अहुज्जत र सैन्य सेनापनि पीकोललाई पनि ल्याएको थिए।
27 इसहाकले सोध्यो, “तिमी मलाई भेट्न किन आयौ? तिमी त मसित मैत्री सम्बन्ध राख्दैन थियौ। तिमीले मलाई आफ्नो देश त्याग्नु पनि बाध्य गराएको थियौ।”
28 उसले उत्तर दियो, “अब हामीले बुझ्यौं परमप्रभु तिमीसित हुनुहुन्छ। हामी चाहन्छौं तिमीसित हाम्रो एउटा सम्झौता होस्। हामी चाहन्छौं तिमीले हामीलाई एउटा वचन देऊ। 29 हामीले तिमीलाई कुनै नोक्सान गरेका थिएनौ र अब तिमीले वचन दिनु पर्छ तिमीले पनि हाम्रो केही नोक्सान गर्ने छैनौ। हामीले तिमीलाई पठायौं तर हामीले शान्तिसितै पठायौं। अब यो निश्चित छ परमप्रभुले तिमीलाई आशीर्वाद दिनु भएको छ।”
30 त्यसकाराण इसहाकले तिनीहरूलाई उधुय-भोज दिए। तिनीहरू सबैले खाए अनि पिए। 31 अर्को दिन बिहान तिनीहरू प्रत्येक मानिसले कसम खाए अनि त्यसपछि इसहाकले तिनीहरूलाई शान्तिसित विदा दिए अनि तिनीहरू पनि सकुशल फर्के।
32 त्यसदिन इसहाकका नोकरहरू आए तिनीहरूले खनेको कूवाहरूको विषयमा बताए। नोकरहरूले भने, “हामीहरूले ती कूवाहरूबाट पानी पियौं।” 33 यसकारण इसहाकले त्यसको नाउँ शिबा राखे र अहिले पनि त्यस शहरको नाउँ बेर्शेबा भनिन्छ।
एसाव र उनका पत्नीहरू
34 जब एसाव चालीस बर्ष पुगे उनले हित्ती स्त्रीहरूसित विवाह गरे। एक जना बेरीकी छोरी यहूदीत थिइन् अर्की एलोनकी छोरी बासमत थिइन्। 35 यी विवाहले इसहाक अनि रिबेकाको मन दुःखले भरिदियो।
पैतृकधनखी समस्या
27 इसहाक बूढा भइसकेका थिए र उनका आँखा यति कमजोर भएका थिए उनले राम्ररी देख्न सक्तैन थिए। एक दिन आफ्नो जेठा छोरा एसावलाई बोलाएर भने, “हे मेरो छोरा।”
एसावले उत्तर दिए, “भन्नु होस्, बाबु।”
2 इसहाकले भने, “हेर, म बूढो भइसकेकोछु। हुन सक्छ अब म चाँडै मर्नेछु। 3 अब तँ मेरो निम्ति धनु काँड लिएर शिकार खेल्न जा र एउटा जनावर मारेर। 4 मेरो निम्ति स्वादिष्ट भोजन बनाएर मलाई दे, म खान्छु। तब म मर्नुभन्दा पहिले तँलाईं आशीर्वाद दिन्छु।” 5 यसर्थ एसाव शिकार खेल्न गए।
जति बेला इसहाकले एसावसँग ती कुराहरू गरे रिबेकाले सुनिरहेकी थिइ। 6 रिबेकाले आफ्नो छोरो याकूबलाई भनिन्, “सुन्! तेरो बाबु र दाज्यू कुरा गरिहेको मैले सुनें। 7 तेरो बाबुले भने, ‘मेरो निम्ति एउटा जनावर मार। मेरो निम्ति भोजन बना र म खानेछु। त्यसपछि म मर्नुभन्दा पहिले तँलाईं आशीर्वाद दिनेछु।’ 8 यसर्थ मेरा कुरा सुन छोरो, र म जसो भन्छु त्यसै गर। 9 आफ्ना बाख्राहरू भएको ठाउँमा जा र दुइवटा मजाका बाख्राहरू लिएर आइज। म तिनीहरूबाट यस्तो स्वादिष्ठ भोजन तयार पार्नेछु जस्तो तेरो बाबुले मन पराउँछन्। 10 त्यसपछि तैंले तेरो बाबुलाई भोजन पुर्याउनु र उनको मृत्युअघि तँलाईं आशीर्वाद दिनेछन्।”
11 तर याकूबले आफ्नी आमालाई भने, “मेरा दाज्यू रौं नै रौं भएको मानिस हुन् म तिनी जस्तो रौं नै रौं भएको मानिस होइन। 12 यदि मेरा बुबा मलाई छुनु हुन्छ, तब उनीले थाह पाउनेछन्, म एसाव होइन। उनले मलाई आशीर्वाद दिने छैनन्। किनभने मैले उनीसँग हिंड्ने प्रयत्न गरे।”
13 यसर्थ रिबेकाले उसलाई भनिन्, “यदि केही झमेला उब्जेको खण्डमा म त्यसको दोष स्वीकार्नेछु। मैले भनेको मान अनि गएर दुइवटा छिप्पिएका बाख्राहरू लिएर आइज।”
14 यसर्थ याकूब बाहिर गए अनि दुइवटा बाख्राहरू समाते अनि आमाकहाँ ल्याए। उनकी आमाले मासुको उसका बुबाले मन पराउने तरकारी पकाइन्। 15 त्यसपछि रिबेकाले उसको जेठा छोरोले लगाउन मन पराउँने पोशक ल्याईन्। उनले आफ्नो कान्छो छोरो याकूबलाई त्यो पोशाक लगाउन दिईन्। 16 रिबेकाले बाख्राको पाठाका छालाहरू याकूबको गाला अनि हातमा वाँधिदिई। 17 तब उनले याकूबलाई आफूले पकाएको स्वादिष्ट भोजन अनि पोलेको रोटी दिईन्।
18 याकूबले आफ्नो बाबुको नजिक गएर भने, “बुबा।”
अनि उसको बाबुले सोधे, “के, तँ को होस्?”
19 याकूबले आफ्नो बुबालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ। तपाईंले जे भन्नुभयो मैले त्यही गरें। अब उठ्नुहोस् अनि मैले शिकार गरी मारेको मृगको मासुको स्वाद चाख्नु होस् ताकि तपाईंले मलाई आशिष दिनुहुन्छ।”
20 तर इसहाकले आफ्नो छोरालाई भने, “तैंले यति चाँडो शिकार खेली कसरी जनावरहरू मारिस्?”
याकूबले भने, “किनभने परमप्रभु परमेश्वले मलाई झट्टै नै शिकार फेला पारिदिनु भयो।”
21 तब इसहाकले याकूबलाई भने, “मेरो छोरो, मेरो छेऊमा आइज, यदि मैले छोएँ भने म जान्न सक्छु साँच्चै तँ मेरो छोरो एसाव नै होस्।”
22 यसर्थ याकूब आफ्नो बाबु इसहाक छेऊमा गए। इसहाकले छोए अनि भने, “तेरो आवाज याकूबको जस्तो सुनिन्छ, तर तेरा पाखुराहरू रौंले भरिएकोले एसाव जस्तै लाग्छ।” 23 इसहाकले यो याकूब नै हो भनी चिन्न सकेनन् किनभने उसको पाखुराहरू एसावको झैं थियो। यसर्थ इसहाकले याकूबलाई आशीर्वाद दिए।
24 इसहाकले सोधे, “के तँ साँच्चै मेरो छोरो एसाव होस्?”
याकूबले उत्तर दिए, “हो, म एसाव नै हुँ।”
याकूबको निम्ति आशीर्वाद
25 तब इसहाकले भने, “मलाई खाने कुरो ल्याइदे। म त्यो खानेछु अनि तलाईं आशीर्वाद दिनेछु।” याकूबले इसहाकलाई खान दिए अनि तिनले खाए। त्यसपछि याकूबले तिनलाई केही दाखरस पनि दिए अनि उनले पिए।
26 त्यसपछि इसहाकले उनलाई भने, “मेरो छोरो, मेरो नजिकै आएर मलाई चुम्बन गर्”। 27 तब याकूबले आफ्नो बाबुको नजिक गएर चुम्बन गरे। इसहाकले तिनका लुगाहरूको गन्ध सुँघे र उनलाई आशीर्वाद दिए। इसहाकले भने,
“मेरो छोरो परमप्रभुबाट आशीर्वाद पाएको
खेतको सुगन्ध झैं होस्।
28 परमप्रभुले तँलाईं धेरै बर्षा दिऊन्
जसले गर्दा तँलाईं धेरै अन्न र दाखरसहरू प्राप्त होस्।
29 सबै मानिसहरूले तेरो सेवा गरून्।
राष्ट्र तेरो अघि झुकोस्।
तँ आफ्नो दाज्यू-भाइहरूको शासक हुनेछस्।
तेरी आमाका छोराहरू, तँ अघि झुक्नेछन् अनि तेरो आज्ञा पालन गर्नेछन्।
“प्रत्येक मानिस जसले तँलाईं सराप दिन्छ उसले सराप पाउँछ,
अनि प्रत्येक मानिस जसले तलाईं आशीर्वाद दिन्छ, उसले आशीर्वाद पाउँछ।”
एसावलाई “आशीर्वाद”
30 इसहाकले याकूबलाई आशीर्वाद दिने काम पूरा गरे। याकूबले आफ्नो बाबु इसहाकलाई छोडेर गएको मात्र थिए एसाव शिकारबाट फर्केर आए। 31 एसावले आफ्नो बुबाले मन पराउने परिकारको मासु तयार पारे अनि बुबाकहाँ ल्याए। उनले आफ्नो बुबालाई भने, “बुबा” म तपाईंको छोरो हुँ। उठ्नुहोस् अनि मृगको मासु चाख्नु होस ताकि तपाईं मलाई आशिष दिनु सक्नुहुन्छ।
32 तर इसहाकले उसलाई सोधे, “तँ को होस्?”
उनले उत्तर दिए, “म तपाईंको छोरो एसाव हुँ। तपाईंको जेठो छोरो।”
33 तब इसहाक छक्क परे र काँपे अनि भने, “त्यो को थियो जसले तँ आउनु भन्दा अघि नै मासु ल्यायो? मैले सबै खाँए अनि त्यसलाई आशीर्वाद दिएँ। अब आशीर्वाद फर्काउन अत्यन्तै ढिलो भयो।”
34 एसावले आफ्नो बाबुको कुरा सुने। तिनी अत्यन्तै क्रोधित भए अनि दुःखी भए। तिनी चिच्याए अनि बाबुलाई भने, “बुबा, मलाई पनि आशीर्वाद दिनुहोस्।”
35 इसहाकले भने, “तेरो भाइले मसित ध्रूत्याइँ गर्यो। त्यो आयो अनि तैंले पाउने आशीर्वाद लिएर गयो।”
36 एसावले भने, “उसको नाउँ याकूब हो। यो नाउँ उसको निम्ति उपयुक्त छ। उनले मसित दुइ पल्ट चलाखी गर्यो। उनले मबाट जेठो छोरोको अधिकार खोस्यो अनि अहिले मैले पाउँने आशीर्वाद लग्यो।” त्यसपछि एसावले भने, “मेरो निम्ति केही आशीर्वाद साँच्नु भएको छ?”
37 इसहाकले उत्तर दिए, “छैन, अब एकदमै ढिलो भयो। मैले याकूबलाई तँमाथि शासन गर्ने शाक्ति दिएँ। उसका सबै दाज्यू-भाइहरू उसको नोकर हुनेछन् पनि भनें। अनि मैले उसको निम्ति धेरै अन्न फलोस् अनि दाखरस होस् भनेर आशीर्वाद दिएँ। अब तेरो निम्ति मेरोमा केही छैन।”
38 तर एसावले आफ्नो बाबुलाई आशीर्वाद मागिरह्यो। “के तपाईंसित खाली एउटै मात्र आशीर्वाद छ, बुबा? बुबा! मलाई पनि आशीर्वाद दिनुहोस्!” एसाव रून थाले।
39 तब इसहाकले उनलाई भने,
“तँ मलिलो भूमिमा बस्न पाउने छैनस्।
तैंले आकाशबाट शीत सम्म पनि पाउने छैनस्।
40 तैंले बाँच्नको निम्ति सङ्घर्ष गर्नु पर्छ।
अनि तँ आफ्नो भाइको कमारा बनिनेछस्।
तर तैंले स्वाधीन हुन युद्ध गर्ने छस्।
तैंले उसको नियन्त्रणलाई भत्काउने छस्।”
याकूबले देश छोड्छन्
41 यस आशीर्वादको कारणले त्यसपछि एसावले याकूबलाई घृणा गर्न थाले। एसावले मनमा सोचे, “मेरा बाबु अब चाँडै मर्नु हुन्छ, अनि त्यसपछि उनको शोक गर्ने समय आउनेछ, तर त्यसपछि म उसलाई मार्नेछु।”
42 एसावको याकूबलाई मार्ने योजना रिबेकाले सुनिन्। उनले याकूबलाई बोलाइन् र भनिन्, “सुन, तेरो दाज्यू एसावले तँलाईं मार्ने षड्यन्त्र रचिरहेको छ। 43 यसर्थ, छोरो, म जे भन्छु त्यही गर। मेरो दाज्यू लाबान हारानमा छ, तँ त्यहाँ जा अनि लुक। 44 त्यहाँ उसित केही समयको निम्ति बस्। जब सम्म दाज्यू रिसाउन छाड्दैन त्यतिन्जेल तँ त्यहीं बस। 45 केही समयपछि तेरो दाज्यूले तैंले उनलाई के गरिस् भुल्नेछ। त्यसपछि तँलाईं लिन म नोकरहरू पठाउनेछु। म एकै दिनमा दुइवटा छोराहरू हराउनु चाँहदिन।”
46 तब रिबेकाले इसहाकलाई भनिन्, “तिम्रो छोरो एसावले हित्ती आइमाईहरू विवाह गरेको छ। म यी आइमाईहरूसित विरक्त भइसकेकी छु, कारण यी आइमाईहरू हाम्रा समाजका होइनन्। यदि याकूबले पनि ती आइमाईहरूबाट नै कसैसित विवाह गरे, म पनि मरिहाल्नेछु।”
येशूले पक्षवातको रोगीलाई निको पार्नुभयो
(मर्कूस 2:1-12; लूका 5:17-26)
9 येशू एउटा डुङ्गामा चढ्नुभयो र झील पारी जानुभयो अनि उहाँ आफ्नो शहरमा पुग्नुभयो। 2 केही मानिसहरू एकजना पक्षघाती रोगीलाई आफूहरू सित लिएर येशू भएकहाँ आए। त्यो मानिस ओछ्यानमै लडीरहेको थियो। येशूले तिनीहरूमा औधी विश्वास भएको देख्नुभयो। अनि उहाँले त्यो पक्षघातीको रोगीलाई भन्नुभयो, “सुखी होऊ, जवान मानिस! तिम्रो पापहरू क्षमा गरिएका छन्।”
3 केही शास्त्रीहरूले यी कुराहरू सुने। तिनीहरूले आफू माझ त्यस कुराको वहस गरे, “यो मानिस परमेश्वरले जस्तै कूरा गर्छ उसले परमेश्वरकै निन्दाको कुरा गरे जस्तो छ।”
4 तिनीहरूले के सोंचिरहेका छन् भनेर येशूले जान्नू भयो अनि उहाँले भन्नुभयो, “किन तिनीहरू यस्ता दुष्ट विचारहरू आफ्नो मनमा राख्छौ? 5-6 यो पक्षाघातको रोगीलाई कुन कुरा भन्न असल छ: ‘तिम्रा पापहरू क्षमा गरिए’ अथवा ‘उठ र हिँड’ भन्नु। म तिमीहरूलाई यो देखाउनेछु कि यस पृथ्वीमा मानिसको पुत्रलाई पापको क्षमा गर्ने शक्ति प्राप्त छ।” तब येशूले पक्षघातको रोगीलाई भन्नुभयो, “उठ तिम्रो बिछ्यौना बोक र घर जाऊ।”
7 अनि त्यो मानिस उठ्यो र घरतिर लाग्यो। 8 मानिसहरू यो देखी छक्क परे। मानिसहरूलाई यस्तो शक्ति प्रदान गरेकोमा तिनीहरूले परमेश्वरको प्रशंसा गरे।
येशूले मत्तीलाई बोलाए
(मर्कूस 2:13-17; लूका 5:27-32)
9 जब येशू गइरहनु भएको थियो, उहाँले एकजना मत्ती नाम गरेको मानिसलाई भेट्नु भयो। मत्ती महसूल उठाउने अड्डामा बसिहहेका थिए। येशूले भन्नुभयो, “मसित आऊ।” त्यसपछि मत्ती जुरूक्क उठे र येशूको पछि लागे।
10 येशू बेलुकीको भोजन मत्तीकै घरमा खान बस्नु भएको बेला त्यहाँ धेरै कर उठाउनेहरू र पापीहरू आएका थिए अनि तिनीहरूले येशू र उहाँका चेलाहरू सँगै भोजन खादै थिए। 11 येशूले ती मानिसहरूसँग खाना खाइ रहनु भएको फरिसीहरूले देखे। फरिसीहरूले येशूका चेलाहरूलाई सोधे, “किन तिमीहरूका गुरूले कर उठाउनेहरू र पापीहरूसँग बसेर खाना खान्छन्?”
12 फरिसीहरूले भन्दै गरेको कुरा येशूको सुन्नुभयो। अनि उहाँले भन्नुभयो, “स्वस्थ मानिसहरूलाई वैद्यको आवश्यकता पर्दैन। जो रोगी छ उसैलाई वैद्यको आवश्यकता पर्दछ। 13 म तिमीहरूलाई एउटा कुरो भन्नेछु। जाऊ अनि यसको अर्थ के हो सिक: ‘म पशुको बलिदान चाहन्न। म मानिसहरूमा दया चाहन्छु।’(A) म यहाँ धार्मिक मानिसहरूलाई भेट्न आएको होइन, ती पापीहरूलाई भेट्न आएको हुँ।”
येशू अरू यहूदीहरू जस्तो हुनुहुन्न
(मर्कूस 2:18-22; लूका 5:33-39)
14 त्यसपछि यूहन्नाका चेलाहरू येशूकहाँ आए। तिनीहरूले येशूलाई भने, “हामी अनि फरिसीहरू धेरै जसो उपवास बस्दछौ। ती तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?”
15 येशूले भन्नुभयो, “विवाहको बेलामा जो दुलहासँग हुन्छन्, तिनले दुःख मान्दैनन् तर त्यस्तो समय आउँछ जब तिनीहरूबाट दुलहालाई अलग गरिन्छ। तब तिनीहरू दुःखी बन्छन् र तिनीहरू उपवास लिन्छन्।
16 “कसैले पुरानो वस्त्रमा भएको प्वालमा नखुम्चिएको लुगाको टुक्रा टाल्दैन। यदि कसैले त्यसो गरे त्यो टालो पुरानो लुगाबाट च्यातिन्छ र त्यो प्वाल झन नराम्रो हुन्छ। 17 कसैले पनि नयाँ दाखरसलाई छालाको पुरानो थैलाहरूमा हाल्दैन। पुरानो थैलीमा कसैले नयाँ दाखरस हाल्यो भने, त्यो थैली फाट्छ र दाखरस पनि नष्ट हुन्छ। यसकारण मानिसहरूले नयाँ थैलाहरूमा नयाँ दाखरस हाल्दछन्। यसरी दाखरस र थैलाहरू दुवै सुरक्षित रहन्छन्।”
16 परमप्रभु सदा सर्वदाको निम्ति राजा हुनुहुन्छ।
तपाईंको भूमिबाट तिनीहरूलाई हटाउनु होस्!
17 हे परमप्रभु, तपाईंले सुन्नु हुन्छ गरीब मानिसहरूले के चाहन्छन्।
उनीहरूको प्रार्थना सुनिदिनु होस् अनि उनीहरूले मागेको कुरा गरिदिनु होस्!
18 हे परमप्रभु, टुहुरा-टुहुरीहरूको रक्षा गर्नुहोस्।
दुःखी मानिसहरूलाई अझै समस्या र कष्टहरूमा बढ्ता पीडित हुन नदिनु होस्।
दुष्टहरूलाई यहाँ बस्नसम्म भयभीत पारीदिनु होस्।
9 तिम्रो सम्पत्तिले परमप्रभुको आदर गर। तिम्रो सर्वोतमबाट परमप्रभुलाई चढाऊ। 10 त्यस पछि तिम्रो सम्पूर्ण खाँचो पूरा हुनेछ। तिम्रा ढुकुटीहरू अन्नले भरिने छन् अनि तेरा मसकबाट दाखरस पोखिरहेको हुनेछ।
© 2004, 2010 Bible League International