Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CEB. Switch to the CEB to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रस्थान 4:1-5:21

मोशाको निम्ति प्रमाण

तब मोशाले परमेश्वरलाई भने, “तर इस्राएलीहरूले मलाई विश्वास गर्ने छैनन जब म तिनीहरूलाई भन्छु तपाईंले मलाई पठाउनु भयो। तिनीहरू भन्ने छन्, परमप्रभु तिमीअघि प्रकट हुनुभएन?”

तर परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो तिम्रो हातमा भएको के हो?”

मोशाले उत्तर दिए, “यो मेरो हिंड्ने लहुरो हो।”

तब परमेश्वरले मोशालाई भन्नु भयो, “त्यो तिम्रो हिँड्ने लहुरो भूँईंमा फ्याँकि देऊ।”

मोशाले आफ्नो लहुरो भूईंमा फ्याँकिदिए पछि अचनाक लहुरो सर्पमा परिणत भयो। मोशा डराए अनि त्यहाँबाट टाढा गए। तर परमप्रभुले मोशालाई भन्नुभयो, “अघि बढ र सर्पको पुच्छरमा समात।”

मोशा सर्प नजिक पुगे अनि त्यसको पुच्छरमा समाते। जब मोशाले सर्पलाई समाते त्यो फेरि लहुरो नै भइहाल्यो। तब परमप्रभुले मोशालाई भन्नु भयो, “आफ्नो लहुरो तिमीले यसरी नै प्रयोग गर, अनि मानिसहरूले विश्वास गर्नेछन् परमप्रभु तिनीहरूका पिता-पुर्खाहरूको परमेश्वर, अब्राहामको परमेश्वर, इसहाकका परमेश्वर अनि याकूबका परमेश्वर तिम्रोअधि प्रकट हुनु भएको थियो।”

त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीलाई अर्को एउटा प्रमाण दिनेछु। आफ्नो लुगाभित्र हात हाल।”

यसर्थ मोशाले लगाएको लुगा खोले अनि आफ्नो हात त्यसभित्र हाले। तब मोशाले उसको हात लुगाबाट बाहिर निकाल्दा उसको हात सेतो हिउँ जस्तो दागै-दाग भएको पाए।

तब परमेश्वरले भन्नुभयो, “अब फेरि तिम्रो हात लुगाभित्र हाल।” यसकारण मोशाले आफ्नो हात लुगाभित्र फेरि हाले मोशाले आफ्नो हात लुगाभित्र हालेर फेरि बाहिर निकाले। त्यो फेरि पहिलेकै जस्तो राम्रो भयो।

तब परमेश्वरले मोशालाई भन्नुभयो, “यदि मानिसहरूले तिमीलाई विश्वास गर्दैन जब तिमी हिंड्ने लहुरो प्रयोग गर्छौ जब तिमी तिनीहरूलाई यो संकेत देखाउँछौ, तिनीहरूले तिमीलाई विश्वास गर्नेछन्। यी दुइ संकेतहरू देखाउँदा पनि तिनीहरूले तिमीहरूलाई आफैं विश्वास गरेनन् भने तिमीले नील नदीबाट केही पानी ल्याऊ। त्यो पानी भूईंमा खन्याऊ, यसले भूईं छुने वित्तिकै त्यो रगतमा परिवर्त्तन हुनेछ।”

10 तर मोशाले परमप्रभुलाई भने, “तर परमप्रभु, म तपाईंलाई साँच्चो भन्दैछु म दक्ष वक्ता होइन। म कहिल्यै राम्रो बोल्ने योग्यको हुन सकेको छैन। अनि अहिले तपाईंसित कुरा गरें पछि पनि म असल वक्ता होइन। तपाईंलाई थाहै छ म ढिलो बोल्छु र उत्कृष्ट शब्दहरू प्रयोग गर्दिन।”

11 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “मानिसको मुख कसले बनायो? अनि मानिसलाई कसले बहिरो, बोल्न नसक्ने बनाउन सक्छ? कसले मानिसलाई अन्धो बनाउन सक्छ? कसले मानिसलाई देख्न सक्ने बनाउन सक्छ? त्यो म नै एक हुँ जसले यी सब कर्महरू गर्न सक्छ, म यहोवा हुँ। 12 यसकारण, तिमी जाऊ, जब तिमी कुरा गर्छौ म तिमीसित हुनेछु। म तिमीलाई भन्नु पर्ने शब्दहरू दिनेछु।”

13 तर मोशाले भने, “हे मेरो परमप्रभु! मलाई होइन, अरू कसैलाई पठाउनु होस्।”

14 तब परमप्रभु मोशासित रिसाउनु भयो अनि उसलाई भन्नु भयो, “तिम्रो दाज्यू हारून जो लेवी कुलका हुन्। म हारूनलाई तिम्रो सहायताको निम्ति पठाउनेछु। तिनी कुशल वक्ता हुन्। तिमीलाई भेट्न हारून आउदैछन् र तिमीलाई देखेर तिनी खुशी हुनेछन्। 15 ऊ तिमीसँग फिरऊन कहाँ जानेछ। म तिमीहरूलाई भन्नेछु के भन्नु पर्ने हो। तब तिमीले हारूनलाई भन्नुपर्छ, अनि हारूनले फिरऊनसित बोल्ने सही शब्दहरू चुन्नेछ। 16 तिम्रो दाज्यू हारूनले पनि मानिसहरूसँग बोल्ने छन्। तिमी महान राजा जस्तै हुनेछौ अनि हारून तिम्रा अधिकृत वक्ता बनिनेछन्। 17 यसर्थ अब तिमी जाऊ। तिमीसित तिम्रो हिँड्ने लहुरो लैजाऊ अनि मैले बताएको संकेतहरू मानिसहरूलाई देखाऊ अनि बुझाऊ म तिमीसँगै छु।”

मोशा मिश्र फर्किन्छन्

18 तब मोशा आफ्नो ससूरा यित्रोकहाँ गए। मोशाले तिनलाई भने, “दया गरी मलाई मिश्र देश फर्किन दिनुहोस्। मेरा मानिसहरू अझै जीवित छन् कि? म भेट्न चाहन्छु।”

यित्रोले मोशालाई भन्यो, “अवश्य, तिमी शान्तिसित जान सक्छौ।”

19 जब, मोशा मिद्यानमा थिए, परमप्रभुले उनलाई भन्नुभयो, “अहिले तिमी मिश्रमा फर्केर जानु सुरक्षित छ। ती मानिसहरू जसले तिमीलाई मार्न चाहन्थे अहिले सबै मरिसकेका छन्।”

20 यसर्थ मोशाले आफ्नो नानीहरू र पत्नीलाई गधामाथि चढाए अनि मिश्र फर्के। तिनले परमेश्वरको शक्ति भएको आफ्नो लहुरो पनि साथै लगे।

21 मिश्र जाँदा बाटोमा, परमप्रभुले मोशालाई भन्नुभयो, “जब तिमी फिरऊनसित कुरा गर्छौ मैले तिमीलाई दिएका सबै शक्तिको चमत्कारहरू सबै सम्झना गर। तर म फिरऊनलाई मानिसहरूलाई जान नदिने अट्टेरी बनाउँछु। 22 तब तिमीले फिरऊनलाई भन्नुपर्छ। 23 परमप्रभु भन्नुहुन्छ, ‘इस्राएल मेरो जेठो छोरा हो। अनि जान देऊ र मेरा उपासना गर्न देऊ, नत्र भने उहाँले तिमीहरूको जेठो छोरो मारिदिनु हुनेछ।’”

मोशाको छोरालाई खतना गरिन्छ

24 मिश्रको बाटोमा जाँदा, रात बिताउन मोशा एक ठाउँमा रोकिए। परमप्रभुले तिनलाई त्यस ठाउँमा भेटेर मार्ने इच्छा गर्नुभयो। 25 तर सिप्पोराले ढुङ्गाको छुरीले आफ्नो छोराको खतना गरिदिइन्। उसले छाला निकालेर मोशाको खुट्टा छुइन्। तब तिनले मोशालाई भनिन्, “तिमी मेरो रगत को साइनो भएको लोग्ने हौ।” 26 सिप्पोराले यसो भनिन् किनभने उसले आफ्नो छोराको खतना गर्नु थियो यसकारण परमप्रभुले मोशालाई क्षमा गर्नुभयो अनि उसलाई मार्नु भएन।

मोशा र हारून परमेश्वरको सम्मुख

27 परमप्रभुले हारूनसित कुरा गर्नु भएको थियो। परमप्रभुले उसलाई भन्नुभएको थियो, “तिमी मरुभूमिमा जाऊ अनि मोशालाई भेट।” यसर्थ हारून गए अनि परमेश्वरको पर्वतमा मोशालाई भेटे अनि मोशालाई चुम्बन दिए। 28 मोशाले हारूनलाई बताए किन परमप्रभुले उसलाई पठाउनु भयो अनि कुन चमत्कारहरू र संकेतहरू प्रमाणको निम्ति तिनले देखाउनु पर्ने थियो ती सबै मोशाले हारूनलाई बताए।

29 यसर्थ मोशा र हारून गए अनि तिनीहरूले इस्राएली मानिसहरूका सबै अगुवाहरूलाई भेला गरे। 30 त्यसपछि हारूनले मानिसहरूसँग कुरा गरे। उनले परमप्रभुले मोशालाई भनेका सबै कुराहरू तिनीहरूलाई बताईदिए। त्यसपछि मानिसहरूलाई देखाउनाको निम्ति सबै प्रमाणहरू प्रदर्शन गरे। 31 मानिसहरूले विश्वास गरे परमप्रभुले नै मोशालाई पठाउनु भएको रहेछ। इस्राएलका मानिसहरूले थाह पाए परमप्रभुले तिनीहरूका दुःख अनि कष्ट बुझ्नु भएको छ अनि तिनीहरूको सहायताका निम्ति आउनु भएको छ। यसर्थ तिनीहरू निहुरिए अनि परमेश्वरको आराधना गरे।

मोशा र हारून फिरऊनको सामुन्ने

मानिसहरूसँग कुरा गरेपछि मोशा र हारून फिरऊनकहाँ गए। तिनीहरूले भने, “परमप्रभु इस्राएलीहरूका, परमेश्वर भन्नुहुन्छ, ‘मेरो मानिसहरू भरूभूमिमा जाऊन अनि तिनीहरूले मेरो सम्मानमा भोज मनाउन सकून्।’”

तर फिरऊनले भने, “परमप्रभु को हुनुहुन्छ? मैले किन उहाँको आज्ञा पालन गर्नु पर्छ? मैले किन इस्राएलीहरूलाई जान दिनु पर्छ? म यो परमप्रभुको हो चिन्दिन, अनि म इस्राएलीहरूलाई जान दिंदिनँ।”

तब हारून र मोशाले भने, “हिब्रूहरूका परमेश्वरले हामीसित कुरा गर्नु भयो। यसर्थ हामीहरूलाई तीन दिनसम्म मरुभूमिमा यात्रा गर्न दिनुहोस् भनी विन्ती गर्छौं। हामी परमप्रभु हाम्रा परमेश्वरलाई त्यहाँ बलि चढाउने छौं। यदि हामीले त्यसो गरेनौं भने उहाँले हामीमाथि रोगहरू लगाउनु हुनेछ अथवा शत्रुहरूद्वारा आक्रमण गराउनु हुनेछ।”

तर फिरऊनले तिनीहरूलाई भने, “हारून र मोशा! तिमीहरूले कर्मचारीहरूलाई विरक्त पारिरहेका छौ। तिनीहरूलाई आफ्नो काम गर्न देऊ! जाऊ तिमीहरू आफ्नो काम गर। हिब्रूहरू ती मिश्रीहरूभन्दा ज्यादै संख्यामा छन्, अनि तिमीहरू उनीहरूलाई काम गर्नबाट रोक्न चाहन्छौ।”

फिरऊनले मानिसहरूलाई दण्ड दिन्छन्

त्यही दिन इस्राएलीहरूको निम्ति कठोर काम दिनु भनी फिरऊनले आदेश दिए। फिरऊनले कमारा मालिकहरू र हिब्रू परिदर्शकहरूलाई भने, “अहिलेसम्म ईंटा बनाउने कर्मीहरूलाई तिमीहरूले पराल दिइरहेका छौ। अब उसो तिनीहरू आफैंले पराल बटुल्नु पर्छ अनि ईंटा बनाउनु पर्छ। तिनीहरूले पहिले झैं त्यति नै संख्या ईंटा बनाउनु पर्छ। तिनीहरू अल्छी भएका छन् अनि त्यसैकारण तिनीहरू यहाँबाट जाने अनुमति मागि रहेका छन् त्यसैले तिनीहरू आफ्नो परमेश्वरलाई बलि चढाउन अनुमति माग्दैछन्। यसर्थ तिनीहरूलाई कठोर काम दिएर व्यस्त राख। तिनीहरूले मोशाका झूटा कुराहरू सुन्ने समय पाउने छैनन्।”

10 यसर्थ मिश्र देशका कमारा मालिकहरू र हिब्रू परिदर्शकहरू इस्राएली मानिसहरू कहाँ गए र भने, “तिमीहरूलाई ईंटा बनाउन फिरऊनले पराल नदिने निर्णय लिएका छन्। 11 तिमीहरू आफैं गएर आफ्नो ईंटा बनाउने पराल खोज। तर तिमीहरूले आफ्नो निम्ति पराल खोजेर पनि ईंटा चाँहि पहिले जति बनाउँथ्यौ त्यति नै संख्यामा बनाउनु पर्छ।”

12 यसर्थ ती मानिसहरू पराल बटुल्नलाई मिश्र देशको प्रत्येक ठाउँमा गए। 13 कमाराका मालिकहरूले मानिसहरूलाई झन् कठोर काममा लगाए। तिनीहरूलाई बलपूर्वक पहिले बनाए जति नै ईंटा बाउने आदेश दिए। 14 मिश्री कमारा मालिकहरूले हिब्रू परिदर्शकहरूलाई चुनेर मानिसहरूको कामको निम्ति उत्तरदायी बनाएका थिए। मिश्र कमारा मालिकहरूले ती हिब्रू नायकहरूलाई पिटे अनि तिनीहरूलाई भने, “तिमीहरूले किन पहिले जति ईंटा बनाइरहेका छैनौ, यदि तिमीहरूले त्यति समय बनाउन सक्थ्यौ भने अहिले बनाउन सक्छौ?”

15 त्यसपछि हिब्रू परिदर्शकहरू फिरऊनकहाँ गए। तिनीहरूले अर्जी गरे। “हामी तपाईंका सेवकहरू हौं, किन हामीसित यस्तो व्यवहार गर्नु हुँदैछ? 16 तपाईंले हामीलाई पहिला पराल दिंदै हुनु हुन्थ्यो। तर अहिले आफ्नो आफ्नो निम्ति पराल जम्मा गर्नु पर्छ। तर पहिलेको जति नै ईंटाहरू बनाउन हामीलाई भन्नुहुन्छ। अहिले हामीलाई मालिकहरूले कुट्छन्। तपाईंहरूका मानिसहरू यस्तो गरेर गल्ती गर्दैछन्।”

17 फिरऊनले जवाफ दिए, “तिमीहरू अल्छे छौ र तिमीहरू काम गर्न चाँहदैनौ यसकारण तिमीहरू मलाई छोडी दिनु भन्छौ। त्यसैले यहाँको काम छोडेर तिमीहरू आफ्नो परमप्रभुलाई बलि चढ़ाउन खोज्छौ। 18 अब तिमीहरू आ-आफ्नो काममा जाऊ तर तिमीहरूलाई पराल दिने छैनौं। र तिमीहरूले अब पनि त्यति नै ईंटाहरू बनाउनु पर्छ जति पहिले बनाउँथ्यौ।”

19 हिब्रू परिदर्शकहरूले बुझे तिनीहरूले पहिले जाति ईंटा बनाउन सक्ने छैनन् र तिनीहरू अप्ठेरोमा पर्नेछन्।

20 जब तिनीहरू फिरऊनलाई भेटेर जाँदैथे तिनीहरूले मोशा र हारूनलाई भेटे। मोशा र हारूनले तिनीहरूलाई पर्खिरहेका थिए। 21 यसैकारण तिनीहरूले मोशा र हारूनलाई भने, “तपाईंहरूले साँच्चै गल्ती गर्नु भयो जब तपाईंहरूले फिरऊनलाई हामीलाई छोड्ने कुरा गर्नुभयो। परमप्रभुले तपाईंहरूलाई दण्ड दिऊन्। किनभने तपाईंहरूले फिरऊन र उसका अधिकारीहरूलाई हामीसित घिनाउने बनाउनु भयो। तपाईंले तिनीहरूलाई हामीलाई मार्ने निहुँ दिनु भएको छ।”

मत्ती 18:1-20

येशू सोध्नुहुन्छ सबभन्दा महान को हो?

(मर्कूस 9:33-37; लूका 9:46-48)

18 त्यसैबेला चेलाहरू येशूकहाँ आए र सोधे, “स्वर्गको राज्यमा सबभन्दा महान को होलान्?”

येशूले एकजना सानो बालकलाई आफूकहाँ बोलाउनुभयो। अनि चेलाहरूको अघि त्यो बालकलाई उभ्याउनु भयो। अनि भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। यदि तिमीहरू सानो बालकहरू जस्तै बदलिएनौ भने तिमीहरू स्वर्गको राज्यमा कहिल्यै प्रवेश गर्न सक्नेछैनौ। जसले आफूलाई यो सानो बालक झैं आफूलाई नम्र बनाउन सक्छ स्वर्गको राज्यमा उही महान हुन्छ।

“यदि कुनै मानिसले मेरो नाममा यो बालकलाई ग्रहण गर्छ भने, उसले मलाई ग्रहण गरेको हुनेछ।

पापको बारेमा चेताउनी

(मर्कूस 9:42-48; लूका 17:1-2)

“यदि एउटा सानो बालकले ममाथि विश्वास राख्छ भने, अनि कसैले त्यो बालकलाई पापमा पार्छ भने त्यस मानिसको लागी अति नराम्रो हुनेछ। त्यसको निम्ति त घाँटीमा एउटा ठूलो जाँतो झुण्ड्याएर स्वयंलाई अगाध समुद्रमा डुबाइदिनु असल हुनेछ। जुन कारणले मानिसहरूलाई पाप गराउँछ यस संसारमा म ती मानिसहरूको निम्ति दु:ख मान्छु। यस्तो घट्ना हुनैपर्छ। तर यस्तो गर्ने मानिसहरूलाई कहिल्यै राम्रो हुनेछैन।

“यदि तिम्रो हात वा खुट्टाले तिमीलाई पाप गर्नलाउँछ भने त्यसलाई काटेर फालिदेऊ। दुइहात वा खुट्टा सहित निरन्तर नरकको आगोमा जल्नुभन्दा त बरू शरीरको एउटा अङ्ग गुमाएर सधैँ भरि बाँच्नु असल हो। यदि तिम्रा आँखाले तिमीलाई पापगर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ। दुइवटा आँखा भएर सधैँ भरिलाई नरकको अग्निमा पस्नु भन्दात एउटा आँखा लिएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुनेछ।

हराएको भेंडा़को उखान

(लूका 15:3-7)

10 “होशियार बस। यी साना बालकलाई तुच्छ नठान। म तिमीहरूलाई भन्दछु यी बालकहरूका स्वर्गमा दुतहरू छन्। अनि ती दूतहरू स्वर्गमा मेरा पिताका साथमा छन्। 11 [a] परमेश्वरको पुत्र हराएकाहरूलाई वचाउन आउनु भएको छ।

12 “तिमीहरू के सोच्छौ? यदि कुनै मानिसको 100 वटा भेंडा़हरू छन्, अनि कुनै एउटा हराएको छ, भने अरू 99 वटा भेंडा़लाई डाँडामा छोडेर ऊ हराएको एउटा भेंडा़लाई खोज्न जाँदैन? के यो ठीक होइन? 13 अनि जब उसले हराएको भेंडा़ भेट्टाउँछ तब ऊ आफूसित भएका 99 वटा भेंडा़मा भन्दा त्यो एउटा भेंडा़ पाएर रमाउनेछ। म तिमीहरूलाई साँच्चो भन्दछु। 14 त्यसरीनै तिम्र स्वर्गका पिताको इच्छा यो छ कि यी मध्ये कुनै पनि साना बालकहरू नहराओस्।

जब कसैले गल्ती गर्छ

(लूका 17:3)

15 “यदि तिम्रा भाइ वा बहीनीले तिम्रो विरुद्धमा केही गल्ती गर्यो भने जब उ एकान्तमा हुन्छ तिमी उसकोमा जाऊ। अनि उसले के गल्ती गरेको छ भनेर सम्झाऊ। यदि त्यो मानिसले तिमीलाई सुन्न चाहे, भने उसलाई तिमीले आफ्नो गरायौ। 16 यदि उसले सुन्न अस्वीकार गर्यो भने अरू एक वा दुइ मानिसहरूलाई ल्याऊ जसमा ती दुइ वा तीन साक्षीहरूले त्यहाँ जे जति कुरा भए ती प्रमाणित गर्नेछन्। 17 यदि उसले तिनीहरूका कुरा पनि सुन्न मानेन् भने यस मण्डली समक्ष ल्याऊ। मण्डली समुदायले भनेको कुरा मानेन भने उसलाइ परमेश्वरमा विश्वास नगर्ने र महसूल उठाउने सरह व्यवहार गर।

18 “म तिमीहरूलाई साँच्चो भन्दछु। जब यो पृथ्वीमा तिमी न्यायको लागि बोल्दछौ, त्यो न्याय परमेश्वरबाट हुनेछ। जब तिमीले यो पृथ्वीमा क्षमाको बचन दिन्छौ, त्यो क्षमा परमेश्वरबाट हुनेछ। 19 म तिमीलाई भन्छु, यो पृथ्वीमा केही कुराको बारेमा तिमीहरूमध्ये दुइजना मिलेर सहमत भयौ भने त्यसको निम्ति प्रार्थना गर्नसक्छौ। अनि तिमीहरूले जुन चीजको निम्ति प्रार्थना गर्छौ त्यो मेरा स्वर्गीय पिताबाट प्राप्त गर्नेछौ। 20 यो साँच्चो हो, किनभने दुइ वा तीनजनाले म माथि विश्वास गरेर भेला हुन्छन्, भने, म त्यहाँ तिनीहरूका साथमा हुनेछु।”

भजनसंग्रह 22:19-31

19 हे परमप्रभु, मलाई छोडी नजानुहोस्! तपाईं मेरो बल हुनुहुन्छ।
    मेरो सहायताको निम्ति आइहाल्नुहोस्।
20 हे परमप्रभु, मेरो प्राणलाई तरवारबाट बचाउँनुहोस्।
    मेरो बहुमूल्य प्राण ती कुकुरहरूबाट जोगाई दिनुहोस्।
21 सिंहको मुखदेखि मेरो रक्षा गर्नुहोस्।
    साँढेहरूका सींगहरूबाट मेरो रक्षा गर्नुहोस्।

22 हे परमप्रभु, म तपाईंको विषयमा मेरा दाज्यू-भाइहरूलाई भन्नेछु।
    महासभामा म तपाईंको प्रशंसा गाउने छु।
23 सम्पूर्ण मानिसहरू ज-जसले उहाँको प्रशंसा गर्छन् परमप्रभुको प्रशंसा गर।
    हे इस्राएल का सन्तान हो, परमप्रभुलाई सम्मान देखाऊ।
    हे, इस्राएल का मानिसहरू! परमप्रभुको डर मान र सम्मान गर।
24 किनभने परमप्रभुले सङ्कटहरूमा परेका सबै दीनहीन मानिसहरूलाई सहयोग गर्नुहुन्छ।
    परमप्रभु तिनीहरूदेखि लज्जित हुनुहुन्न।
    यदि मानिसहरूले परमप्रभुलाई गुहार मागे,
    उहाँ आफैं तिनीहरूदेखि लुक्नु हुन्न।

25 हे परमप्रभु, तपाईंले जे गर्नु भएकोछ त्यसको निम्ति म तपाईंको प्रशंसा महासभामा गर्छु।
    ती सम्पूर्ण भक्तजनहरूको सम्मुख मैले सबै जुन दिन्छु भनेर वचन दिएको थिएँ बलिहरू अर्पण गर्नेछु।
26 नम्र मानिसहरू, आऊ, खाऊ र सुन्तष्ट हौ!
    तिमीहरू जो परमप्रभुलाई खोज्दै आएका छौ उहाँको प्रशंसा गर!
    तिमीहरूका हृदयहरू सधैँको निम्ति खुशी रहोस्।
27 टाढा-टाढा भएका जातिका मानिसहरूले परमप्रभुलाई सम्झून्
    र उहाँतिर फर्केर आऊन्!
विदशीहरूका परिवारहरूले पनि, उहाँ अघि दण्डवत् गरून् र उहाँको पूजा गरून्।
28 किनभने परमप्रभु नै राजा हुनुहुन्छ।
    उहाँले सबै जातिहरू माथि शासन गर्नुहुन्छ।
29 बलिया, स्वस्थ्य मानिसहरूले खाइसके पछि परमेश्वरको सम्मुख शिर निहुराएर ढोग गर्दछन्।
    वास्तवमा, सबै मानिसहरू मर्नेछ
अनि जो मरिसकेका छन्,
    तिनीहरूले परमेश्वर सम्मुख शिर निहुराएर ढोग्दछन्!
30 अनि भविष्यमा हाम्रा सन्तानहरूले परमप्रभुको सेवा गर्नेछन्।
    मानिसहरूले सदा-सर्वदा उहाँको विषयमा भन्ने छन्।
31 प्रत्येक मानिसहरूले आफ्ना भावी सन्तान र केटा-केटीहरूलाई
    परमेश्वरले गर्नु भएको राम्रा कुराहरूको विषयमा भन्नेछन्।

हितोपदेश 5:15-21

15 तिमी आफ्नै पानीको कुवाबाट निकालेको पानी पिउने गर। तिमी आफ्नै जल श्रोतबाट स्वच्छ पानी पिउने गर। 16 तिमी नै भन, के तिम्रो आफ्नो जल श्रोतबाट पानी बाटोमा जताततै बगोस्। तिम्रो जलश्रोतबाट निस्केको पानी बाहिर कहीं नबगोस्। 17 त्यो पानी त केवल तिम्रो हो, तिम्रो मात्र। त्यसमा कुनै विदेशीको अंश नहोस्। 18 तिम्रो श्रोत धन्य रहोस् अनि आफूले तन्नेरी हुँदा विहे गरेकी पत्नीसित आनन्द गर। 19 ऊ एउटी सुन्दरी मृर्ग झैं होस्, एउटी प्यारी हरिणको बच्चा झैं होस्, उसका स्तनहरूले तिमीलाई सधैँ तृप्त पारून् र उसको प्रेमले तिमीलाई सधैँ बाँधोस्। 20 हे मेरो छोरो, तिमीलाई किन व्यभिचारी स्त्रीले वशमा राख्छे। किन तिमीले अर्को स्त्रीको छातीलाई अङ्गालो हाल्नै पर्छ?

21 परमप्रभुको आँखाहरूले मानिसको बाटोहरूलाई हेरीरहन्छन्, उसले गरेको प्रत्येक चीज उहाँले देख्नु हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International