Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उत्पत्ति 23:1-24:51

साराको मृत्यु

23 सारा एक सय सत्ताईस बर्षसम्म बाँचिन्। अनि कनान देशको किर्य-तअर्बा (हेब्रोन) शहरमा मरिन्। अब्राहाम आफ्नी पत्नीको मृत्युमा दुःखी भए अनि उनको निम्ति रोए। त्यसपछि अब्राहामले आफ्नी मरेकी स्वास्नीलाई छोडेर हित्ती मानिसहरूसित कुरा गर्न गए। उनले भने, “म यस प्रदेशको बासिन्दा होइन। यहाँ त म केवल यात्री हुँ यसर्थ मेरी पत्नीको लाश गाड्नुको निम्ति कहीं जग्गा छैन, म अलिकति जग्गा चाहन्छु ताकि म त्यो लाश गाड्न सकुँ।”

ती हित्ती मानिसहरूले अब्राहामलाई उत्तर दिए, “महाशय सुन्नु होस्, तपाईं हामीहरूमाझ परमेश्वरका एकजना मानिस हुनुहुन्छ यसर्थ हाम्रो चिहान घारीमा तपाईं जहाँ मन पराउनु हुन्छ त्यहाँ फिक्री नगरी आफ्नो पत्नीको लाश गाड्न सक्नु हुन्छ। तपाईंकी पत्नीको लाश गाड्न यहाँ हामी मध्ये कसैले पनि बाधा दिन सक्तैनौ।”

अब्राहाम उठे अनि मानिसहरूको सामुन्ने शिर निहुराए। तिनले तिनीहरूलाई भने, “यदि तपाईंहरू साँच्चै मेरी पत्नीको लाश गाड्नको निस्ति सहायता गर्नु हुन्छ भने मेरो कुरा सुन्नु होस् र सोअरको छोरो एप्रोनसित मेरो निम्ति कुरा गरिदिनु होस्। उसलाई भन्नु होस् उसको खेतको आखिरमा मक्पेलाको ओडार छ र उनले मलाई त्यो मेरो दाममा चिहान बनाउन दियोस्।”

10 एप्रोन तिनीहरू कै बीचमा थियो। उनले अब्राहामलाई उत्तर दियो। 11 “होइन, महाशय। म तपाईंलाई जमीन दिनेछु। यी सब मानिसहरूकोअघि म तपाईंलाई ओडार दिनेछु जसको फलस्वरूप तपाईंले त्यस जग्गामा आफ्नी पत्नीको लाश गाड्न सक्नु हुन्छ।”

12 तब अब्राहामले हित्ती मानिसहरूको अघि शिर निहुराए। 13 ती सबै मानिसहरूको सम्मुख अब्राहामले एप्रोनसित भने, “तर म त खेतको पुरै मोल दिन चाहन्छु। मैले दिएको दाम स्वीकार गर्नु होस्। म मेरा मर्नेहरूलाई त्यहाँ गाड्छु।”

14 एप्रोनले अब्राहामलाई उत्तर दियो, 15 “हे महाशय मेरो कुरा सुन्नु होस्। त्यस जग्गाको दाम त चार सय चाँदीको शेकेल हुन सक्छ जो तपाईं र मेरो निम्ति यो कुनै ठूलो कुरा होइन। तपाईंले आफ्नी पत्नीको मृत देह त्यहाँ गाड्नु होस्।”

16 अब्राहामले एप्रोनको कुरा माने अनि हित्ती मानिसहरूको सामुन्ने तिनले चार सय सिक्का चाँदी तौलीएर जमीनको धन्धा गर्ने व्यापारीको हातमा थमाई दिए।

17-18 यसरी एप्रोनको खेतको मालिक बद्लिएर अब्राहाम बनिए। त्यो जग्गा मम्रेको पूर्व मक्पेलामा थियो र त्यसभित्र भएका ओडार र रूखहरू थिए। शहरका सबै मानिसहरू जो शहरको फाटकमा भेला भएका थिए, तिनीहरूले एप्रोन र अब्राहाम बीच भएको सौदा देखे। 19 तब अब्राहामले उनकी पत्नीको मृत शरीरलाई मक्पेलाको चउरमा कनान देशको हेब्रोन (मम्रे) को छेऊमा गुफामा गाडे। 20 अब्राहामले त्यो जमीन र ओडार हित्ती मानिसहरूको अघि किने अनि त्यो तिनको कानूनी रूपले भयो अनि तिनले त्यो जमीन चिहान घारीको निम्ति प्रयोग गरे।

इसहाककी पत्नी

24 अब्राहाम दीर्घ जीवन बाँचे अनि अत्यन्तै वृद्धा भएका थिए र त्यो समय भरि तिनले गरेका प्रत्येक कुरालाई परमप्रभुले आशीर्वाद दिनु भयो। अब्राहामको सबभन्दा पुरानो अनि प्रमुख सेवक तिनको प्रत्येक चीजको जिम्मेवार थियो। अब्राहामले उसलाई आफू भएको ठाउँमा बोलाए अनि भने, “तेरो हात मेरो तिघ्रामुनि राख। अब म चाहन्छु तैंले मलाई एउटा वचन दे। पृथ्वी अनि स्वर्गका परमप्रभु परमेश्वरको अघि तैंले मलाई वचन दे कनान देशकी कुनै पनि कन्यासित मेरो छोरोको विवाह हुन दिने छैनस्। हामी तिनीहरूको वीचमा बस्छौं तर तैंले कनानी कन्यासित उसलाई विवाह गर्न दिने छैनस्। तँ तेरो आफ्नै देशमा गएर मेरो छोरो इसहाकको निम्ति एउटी कन्या लिएर आइज।”

त्यस नोकरले अब्राहामलाई भने, “हुन सक्छ कन्याले मसँग यहाँ आउने इच्छा गरिनन् भने के म तपाईंको छोरोलाई मेरो देशमा लैजाउँ?”

अब्राहामले उसलाई भने, “होइन, तैंले मेरो छोरोलाई त्यस देशमा नलैजा। परमप्रभु, स्वर्गका परमेश्वरले मलाई मेरो जन्म थलोबाट यस भूमिमा ल्याउनुभयो। त्यो देश मेरो पिता अनि उनको परिवारको निम्ति थियो। तर परमप्रभुले म र मेरो परिवारलाई यो नयाँ भूमि दिने प्रतिज्ञा गर्नु भयो। परमप्रभु आफैंले तिमीलाई लिएर जानका लागि एकजना स्वर्गदूत पठाउन् ताकि मेरो छोरोले बेहुली रोज्न सक्छ अनि यहाँ ल्याउँछ। तर यदि केटीले तिमीसँग आउन अस्वीकार गर्छे भने तिमी आफ्नो वचन पूरा गर्नका लागि बाध्य हुनु पर्ने छैन। त्यहाँ मेरो छोरालाई न लैजाऊ।”

यसर्थ त्यो नोकरले आफ्नो हात आफ्ना मालिक अब्राहामको तिघ्रा मुनि राखेर कसम खाए।

खोज शुरू हुन्छ

10 त्यो नोकरले अब्राहामबाट दशवटा ऊँट लियो अनि ऊ त्यस ठाउँबाट हिंड्‌यो। नोकरले धेरै प्रकारको राम्रा-राम्रा उपहारहरू लिएर गयो। ऊ नाहोरको शहर मेसोपोटामिया गयो। 11 त्यो नोकर शहर बाहिरको कूवामा गयो जहाँ साँझमा स्त्रीहरू पानी लिन घरबाट बाहिर आउँथे। त्यस नोकरले त्यहाँ ऊँटहरूलाई घुँडा टेकाएर बसायो।

12 त्यस नोकरले भने, “हे परमप्रभु! तपाईं मेरा मालिक अब्राहामको परमेश्वर हुनुहुन्छ। आज उनको छोरोको निम्ति मलाई एउटी दुलही हासिल गराई दिनु होस्। कृपा गरी मेरा मालिक अब्राहामको निम्ति यति गरिदिनु होस्। 13 म यहाँ पानीको कूवाको छेउमा बस्छु अनि पानी लिनको निम्ति कन्याहरू शहरबाट आइरहेका छन्। 14 म विशेष एउटा चिन्हको निम्ति हेरिरहनेछु जसद्वारा म जान्न सकूँ कुन चाँहि केटी इसहाकको निम्ति असल हुन सक्छे। यो एउटा विशेष चिन्ह होः म कन्यालाई भन्नेछु ‘दया गरी पानीको गाग्री तल राख म पानी पिउन सकूँ।’ जब त्यस कन्याले भन्‌छिन्, ‘लौ पानी खाऊ, म तपाईंको ऊँटलाई पनि पानी दिन्छु,’ तब मलाई यो पक्का हुन्छ त्यो कन्या इसहाकको निम्ति योग्य छे। यदि यस्तो भयो तपाईंले प्रमाणित गराई दिनु हुन्छ त्यो कन्या इसहाकको निम्ति योग्य हुन्छे अनि म पनि यो सम्झनेछु तपाईंले मेरा मालिक अब्राहामको निम्ति दया गर्नु भयो।”

एउटी दुलही पाइयो

15 तब नोकरको प्रार्थना शेष हुनअघि नै रिबेका नाउँ भएकी एउटी कन्या त्यहाँ आई। रिबेका बतूएलकी छोरी थिइ। बतूएल अब्राहामको भाइ नाहोर अनि मिल्काको छोरो थियो। रिबेका आफ्नो काँधमा पानीको गाग्रो लिएर कूवामा आएकी थिइन। 16 तिनी अत्यन्तै सुन्दरी तरूणी थिइन जो सँग कुनै मानिस सुतेका थिएनन्। तिनी आफ्नो गाग्रीमा पानी भर्न कूवाको नजिक आइन्। 17 तब त्यो नोकर त्यस केटी भएकोमा दगुरेर पुग्यो अनि भने, “दया गरी तिम्रो गाग्रीबाट मलाई पानी पिउन देऊ।”

18 रिबेकाले तुरन्तै काँधबाट गाग्री तल राखेर उसलाई पानी पिउन दिइ। उनले भनी, “महाशय, पानी पिउनुहोस्।” उनले त्यस नोकरलाई केही पानी पिउन दिइ शेष मात्र गरेकी थिइ। 19 उनले भनी हालीन, “म तपाईंको ऊँटहरूको निम्ति पनि केही पानी दिन्छु।” 20 त्यसपछि रिबेकाले गाग्रीमा रहेको पानी सबै ऊँटहरूको निम्ति पिउन राखिएको द्रोणिकामा खन्याई। तब ऊ पानी ल्याउन कूवामा गई अनि सबै ऊँटहरूलाई पानी खुवाई।

21 त्यस नोकरले रिबेकालाई राम्ररी हेर्यो। त्यो निश्चित हुन चाहन्थ्यो परमप्रभुले उसको प्रार्थना सुन्नुभयो र उसलाई उत्तर दिनु भयो अनि उसको यात्रा सफल पारिदिनु भयो। 22 ऊँटहरूले पानी खाईसके पछि उनले रिबेकालाई आधा शेकेल तौलको सुनको एउटा नत्थी र दश शेकेल तौलको सुनको दुइवटा बालाहरू पनि दियो। 23 त्यस नोकरले उसलाई सोध्यो, “तिम्रा पिता को हुनुहुन्छ? अनि के उहाँको घरमा मेरो दललाई बास बस्ने ठाउँ छ?”

24 रिबेकाले उत्तर दिइ, “मेरा बुबा बतूएल हुनुहुन्छ। उहाँ मिल्का र नाहोरका छोरा हुनुहुन्छ। तपाईंका ऊँटहरूको निम्ति पराल र तपाईंको निम्ति बास बस्ने ठाउँ छ।” 25 उनले फेरि भनिन्, “हजुर हामीसँग पराल र चारो दुवै अनि तपाईंहरूको लागि सुत्न एउटा कोठा पनि छ।”

26 त्यो नोकर निहुरियो अनि परमप्रभुको उपासना गर्यो। 27 त्यसले भने, “परमप्रभु मेरा मालिकका परमेश्वर, तपाईं धन्य हुनुहुन्छ। परमप्रभु मेरा मालिकको निम्ति दयालु तथा विश्वस्त हुनु भएको छ। मेरा मालिकको छोरोको निम्ति योग्य केटी भएकोले मलाई परमप्रभुले डोर्याएर ल्याउनु भयो।”

28 तब रिबेका दगुरेर गई अनि आफ्नो परिवारलाई यो विषय वृतान्त बताई। 29 रिबेकाको दाज्यू थियो। उसको नाउँ लाबान थियो। रिबेकाले त्यस मानिसले भनेको सबै कुरा सुनाई। 30 लाबानले उनले भनेको सुनिरहेको थियो अनि जब उनले रिबेकाको नाकमा सुनको नत्थ र हातमा बालाहरू देख्यो ऊ कूवामा दगुर्दै गए। अनि त्यहाँ कूवामा त्यो मानिस आफ्नो ऊँटहरूको नजिक उभिरहेको थियो। 31 लाबानले भने, “महाशय, तपाईं यहाँ बाहिर नउभिनुहोस्, तपाईंलाई हाम्रो घरमा स्वागत छ। विश्राम गर्न मैले तपाईंको निम्ति एउटा कोठा र ऊँटहरूलाई बस्ने ठाउँ ठीक पारेकोछु।”

32 यसर्थ अब्राहामको सेवक लबनानको घरभित्र गए अनि ऊँटहरूबाट भारी झार्न सघायो। उसले ऊँटहरूका लागि पराल ल्यायो। उनले पानी पनि तयार राख्यो ताकि सेवक अनि मानिसहरू जो उनीसँग थिए आफ्नो गोडा धुन सकुन्। 33 लाबानले त्यस नोकरलाई खानु पनि दियो तर उनले खानु मानेन र भने, “म यहाँ किन आएको हुँ, जबसम्म म त्यो बताउँदिन, म खाने छैन।”

यसकारण लाबानले भने, “तब हामीलाई भन्नुहोस्, किन आउनु भएको हो?”

रिबेकाको विषयमा कुराकानी

34 त्यस नोकरले भने, “म अब्राहामको एकजना नोकर हुँ। 35 परमप्रभुले मेरा मालिकलाई धेरै आशीर्वाद दिनुभएको छ। मेरा मालिक महान मानिस हुनु भएकोछ। परमप्रभुले अब्राहामलाई धेरै बगाल बाख्राहरू र धेरै बथान गाई-वस्तु दिनु भएकोछ। अब्राहामको धेरै-धेरै ऊँटहरू र गधाहरू छन् दास-दासी र सुन-चाँदीहरू पनि निकै नै छन्। 36 सारा मेरा मालिक अब्राहामकी पत्नी थिइन् अनि तिनले वृद्धावस्थामा एउटा छोरो जन्माइन् र मेरा मालिकले उनीसँग भएका प्रत्येक चीज आफ्नो छोरोलाई दिएका छन्। 37 मेरा मालिकले मलाई एउटा शपथ गर्न कर लाउनु भयो। मेरो मालिकले मलाई भन्नुभयो, ‘तिमीले मेरो छोरोलाई कनानी केटी विवाह गर्न नदिनु। हामी यद्धपि तिनीहरूकै माझमा बस्छौं तर म छोरोले कनानी केटी विवाह नगरोस् भन्ने चाहन्छु। 38 यसर्थ तिमी मेरो आफ्नो पिताको भूमिमा जानेछौ र हाम्रो सन्तान भित्रबाट उसको निम्ति एउटी कन्या केटी रोजेर ल्याउने छौ।’ 39 मैले मालिकलाई भने, ‘हुन सक्छ कन्या मसित यो देशमा नआउलीन्।’ 40 तर मेरा मालिकले मलाई भन्नुभयो, ‘म परमप्रभुको सेवा गर्छु, अनि परमप्रभुले आफ्नो स्वर्गदूत तँसित पठाउनु हुन्छ अनि तँलाईं सहायता गर्नु हुन्छ। मेरो मानिसहरूबीच नै तैंले मेरो छोरोको निम्ति एउटी दुलही पाउनेछस्। 41 तर मेरो पिताको देशमा मेरा मानिसहरूले यदि मेरो छोरोको निम्ति दुलही दिन अस्वीकार गरे भने तँ यो शपथबाट मुक्त हुनेछस्।’

42 “आज मैले यो कूवामा आएर परमप्रभुसित बिन्ती गरें ‘हे परमप्रभु, मेरा मालिकका परमेशवर, दया गरी मेरो यो यात्रा सफल तुल्याइदिनु होस्। 43 यहाँ यस कूवा नजिक उभिएर पानी भर्न आउने केटीलाई पर्खिन्छु। तब म भन्नेछु, “मलाई तपाईंको गाग्रोबाट पानी पिउन दिनु होस्।” 44 योग्य केटीले विशेष प्रकारले उत्तर दिन्‌छे। उनले भन्छे, “यो पानी पिउनु होस-अनि म तपाईंका ऊँटलाई पनि पानी दिन्छु।” त्यस प्रकारले म चाल पाउनेछु परमप्रभुले मेरा मालिकको छोरोको निम्ति रोज्नु भएको दुलही यही केटी हुनु पर्छ।’

45 “मेरो प्रार्थना शेष हुनु अघि अचम्म हेर; रेबेका कूवामा पानी भर्न आइन्। कूवामा पानी भर्न आउँदा उनको काँधमा एउटा गाग्री थियो। मैले उनलाई अलिकति पानी मागें। 46 उनले झट्टै आफ्नो काँधबाट गाग्रो तल झारिन अनि मलाई पानी दिइन्। तब उसले भनिन्, ‘यो पिउनु होस् अनि तपाईंका ऊँटहरूको निम्ति केही अरू पनि पानी दिनेछु।’ 47 त्यसपछि मैले उनलाई सोधें, ‘तिम्रा बाबु को हुन्?’ तिनले भनिन्, ‘मेरा बाबु बतूएल हुन्, मिल्का र नाहोरका छोरा।’ तब मैले उनलाई नत्थी र पाखुरामा लाउने बालाहरू दिएँ। 48 मैले मेरो शिर झुकयाएर परमप्रभुलाई धन्यवाद चढाएँ, मैले परमप्रभु मेरा मालिकका परमेशवरलाई धन्यवाद दिएँ। मलाई सोझै मेरा मालिकको भाइकी नातिनीकोमा पुर्याइदिनु भएकोमा मैले परमप्रभुलाई धन्यवाद दिएँ। 49 अब भन्नु होस्, के तपाईं मेरा मालिकप्रति कृपालु अनि विश्वासी भई उनका छोरोलाई तपाईंकी छोरी दिनु हुन्छ? अथवा उसलाई तपाईंकी छोरी दिनु हुन्छ? मलाई भन्नु होस् त्यपछि मैले के गर्नु पर्छ म बुझ्नेछु।”

50 त्यसपछि लाबान र बतूएलले उत्तर दिए, “हामीले थाहा पायौ यो सब परमप्रभुबाट नै भइरहेकोछ, यसर्थ यसकुरालाई बद्ली गर्ने विषयमा हामी केही पनि भन्न सक्तैनौं। 51 रिबेका यहीं छे, यसलाई लिएर जाऊ। उनले तिम्रा मालिकका छोरोसित विवाह गरोस्। परमप्रभु यही चाहनु हुँदोरहेछ।”

मत्ती 8:1-17

येशूले कुष्टरोगीलाई निको पार्नुभयो

(मर्कूस 1:40-45; लूका 5:12-16)

येशू डाँडाबाट ओर्लनुभयो। असंख्य मानिसहरूले उहाँलाई पछ्याए। त्यसैबेला एउटा कुष्टरोगी उहाँ छेउ आइपुग्यो। येशूको अघि आफ्नो शिर निहुर्याएर त्यसले भन्यो, “हे प्रभु, तपाईंको इच्छा भए मलाई शुद्ध गर्नसक्नुहुन्छ।”

येशूले त्यो मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, “म तिमीलाई शुद्ध गर्न चाहन्छु। तिमी जाती भइजाऊ।” अनि तुरून्तै उसको कुष्ट रोग निको भइहाल्यो। तब येशूले त्यस मानिसलाई भन्नुभयो, “हेर यसबारे तिमीले कसैलाई नभन्नू। तर आफैं जाऊ अनि पूजाहारीलाई देखाऊ र प्रमाणको लागि मोशाको आज्ञानूसार, तिनीहरूका समक्ष भेटी चढाऊ। जसले गर्दा मानिसहरूले तिमीलाई निको भएको देख्न सक्ने छन्।”

येशूले अधिकारीको नोकरलाई निको पार्नुभयो

(लूका 7:1-10; यूहन्ना 4:43-54)

येशू कफर्नहुममा पुग्नुभयो। जब उहाँले शहरमा प्रवेश गर्नुभयो, एकजना सेनाका अधिकारी उहाँकहाँ आए अनि उहाँको सहयोगको निम्ति विन्ती गरे। अधिकारीले भने, “हे प्रभु! मेरो नोकर पक्षघातले थलिएर मेरो घरको पलङ्गमा लडिरहेको छ। उसले आफ्नो शरीर चलाउनसम्म सकेको छैन अनि उग्र व्यथाले पीडित छ।”

येशूले ती अधिकारीलाई भन्नुभयो, “म त्यहाँ जानेछु अनि तिनलाई निको पारिदिनेछु।”

अधिकारीले जवाफ दिए, “हे प्रभु! तपाईं मेरो घरमा पस्नु हुने त्यति योग्यको म छैन। तर तपाईंले एक वचन भनिदिनुहोस् र मेरो नोकर निको भइहालोस्। म कसैको अधीनमा छु। अनि मेरो अधिनमा अरू सैनिकरू छन्। यदि मैले कुनै एकजना सिपाहीलाई भनें, ‘जाऊ’ भन्दा उ जान्छ। अनि अर्को एक सिपाहीलाई मैले आउ भन्दा ऊ आँउछ। यदि मैले मेरो नोकरलाई भनें, ‘यो गर’ अनि उसले त्यो गर्छ। मलाई थाहा छ तपाईंसँग पनि यस्तो शक्ति छ।”

10 जब येशूले यी सबै कुराहरू भनेको सुन्नुभयो, उहाँ आश्चर्यचकित हुनुभयो। उहाँले आफ्नो साथमा भएका ती सबै मानिसहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु, इस्राएलमा पनि मैले कुनै मानिस यस्तो दृढ विश्वासी पाइनँ। 11 धेरै मानिसहरू पूर्व र पश्चिमबाट आई पुग्ने छन् अनि तिनीहरू स्वर्गको राज्यमा अब्राहाम, इसाहाक र याकूबसँग भोजन गर्नका निम्ति मेचमा बस्नेछन्। 12 तर राज्यमा मार्ग पाउनु पर्ने मानिसहरू चाहिं तिनीहरू अन्धकार भित्र फालिनेछन्। अनि त्यो ठाउँमा मानिसहरू पीडाले रूवाबासी र दाह्रा किट्ने छन्।”

13 तब येशूले त्यस अधिकारीलाई भन्नुभयो, “तिम्रो घरमा जाऊ। तिमीले विश्वास गरे जस्तै तिम्रो नोकर निको भइसकेको हुनेछ।” अनि ठीक त्यसैबला उसको नोकर निको भयो।

येशूद्वारा धेरै मानिसहरू निको पारिएका

(मर्कूस 1:29-34; लूका 4:38-41)

14 येशू पत्रुसको घरमा जानुभयो। त्यहाँ येशूले उसकी सासूलाई कड़ा ज्वरोले थलिएर पलङ्गमा लडिरहेको पाउनु भयो। 15 तब येशूले तिनको हात छुनुभयो तिनी निको भइन्। अनि तिनी उठिन् र उहाँको सुसार गरिन्।

16 त्यसै साँझ मानिसहरूले भूत लागेका धेरै जनालाई लिएर येशूकहाँ आए। येशूले भूतहरूलाई खेदनु भयो। जो-जो बिमारी परेका थिए ती सबै ठीक भए। 17 यशैया अगमवक्ताले भनेका सबै कुरा येशूले पूरा गर्नुभयो:

“उहाँले हाम्रा यातनाहरू हटाइदिनु भयो,
    अनि हाम्रा रोगहरू उहाँले बोक्नुभयो।”(A)

भजनसंग्रह 9:13-20

13 मैले परमेश्वरलाई यो प्रार्थना गरें, “हे परमप्रभु, ममाथि कृपा गर्नुहोस्।
    मेरो शत्रुहरूले मलाई सताइरहेछन्,
    ‘मृत्युको द्वारबाट’ मलाई बचाउँनु होस्।
14 तब, यरूशलेमको प्रवेशद्वारहरूमा म तपाईंको लागि स्तुति-गान गर्न सक्छु।
    परमप्रभु म अत्यन्त खुशी हुनेछु किनभने तपाईंले मलाई बचाउँनु भयो।”

15 ती मानिसहरू जो अन्य जातिहरूबाट आएका थिए,
तिनीहरूले अरूलाई संकष्टमा पार्न खाडल खने।
    तर तिनीहरू आफूले थापेका पासोहरूमा आफैं फस्नेछन्।
    अनि तिनीहरू ती जालहरूमा आफैं पर्ने छन्।
16 परमप्रभुले ती दुष्ट मानिसहरूलाई समाउनु हुनेछ,
    यसकारण मानिसहरूले अधर्म काम गर्दा परमप्रभुबाट दण्ड पाइन्छ भनेर ज्ञान पाउनेछन्।

17 मानिसहरू जसले परमेश्वरलाई बिर्सन्छन्
    तिनीहरू दुष्टहरू हुन्, तिनीहरू मृत्युको ठाउँमा जानेछन्।
18 कहिले काहीं यस्तो लाग्छ परमेश्वरले दुःखमा परेका मानिसहरूलाई बिर्सनु भयो।
    यस्तो भान हुन्छ ती गरीबहरूमा आशा छैन।
    तर परमेश्वले तिनीहरूलाई कहिल्यै पनि बिर्सनु हुने छैन।

19 हे परमप्रभु, उठ्नुहोस् र जाति-जातिहरूलाई न्याय गर्नुहोस्।
    तिनीहरू शक्तिशाली छन् भनेर मानिसहरूलाई सोच्न नदिनुहोस्।
20 मानिसहरूलाई शिक्षा दिनुहोस्।
    तिनीहरूले जान्न सकुन् कि तिनीहरू मानिस मात्र हुन्।

हितोपदेश 3:1-6

सही जीवन जीउनाले तिम्रो आयु थपिन्छ

हे मेरो छोरा, मेरा शिक्षाहरूलाई नभुल्। मैले तिमीलाई गर्नु भनेका ती चीजहरूको सम्झना गर। मैले भनेका कुराहरूले तिमीलाई दीर्घ, सुखमय तथा अधिक शान्तिपूर्ण जीवन जीउँन सिकाउँछ।

प्रेम, विश्वासनीयताले तिमीलाई कहिल्यै नछाडोस्। तिनीहरूलाई आफ्नो मानसपटलमा गहिरोसित राख। ती शिक्षाहरूलाई माला गुँथे र गलामा लगाई राख। तब तिमी ज्ञानी हुनेछौ अनि तिमीले परमेश्वर अनि मानिसहरूबाट अनुग्रह पाउनेछौ।

तिम्रो सम्पूर्ण हृदयले परमप्रभुमा भरोसा गर। तिम्रो आफ्नै बुद्धिमा मात्र भरनपर। तिम्रा सम्पूर्ण मार्गहरूमा परमप्रभुलाई सम्झ। उहाँले नै तिम्रा सबै मार्गहरू सोझो पारिदिनु हुनेछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International