The Daily Audio Bible
Today's audio is from the NET. Switch to the NET to read along with the audio.
मोशा परमेश्वरसित शिकायत गर्छन्
22 तब मोशाले परमप्रभुसित प्रार्थना गर्दै भने, “हे मालिक! तपाईंले आफ्नो मानिसहरूसित किन नराम्रो व्यवहार गर्नु भयो? तपाईंले मलाई यहाँ किन पठाउनु भयो? 23 म फिरऊनकहाँ गएँ र तपाईंले जे भन्नु भएको थियो त्यही कुरा गरें। तर त्यस समयदेखि फिरऊन तिनीहरू प्रति अधिक क्रोधित भएका छन् अनि तपाईंले तिनीहरूलाई केही सहायता गर्नु भएन।”
6 तब परमप्रभुले मोशालाई भन्नुभयो, “अब तिमीले हेर्नेछौ फिरऊनलाई म के गर्नेछु। म मेरो महा-शक्ति उसको विरोधमा चलाउनेछु अनि उसले मेरा मानिसहरूलाई जान दिनेछ। तिनीहरूलाई पठाउनको निम्ति फिरऊन यति व्याकुल हुनेछ कि ऊ आफैंले तिनीहरूलाई जबरजस्ती पठाउनेछ।”
2 तब परमेश्वरले मोशालाई भन्नु भयो, “म परमप्रभु हुँ, 3 अब्राहाम, इसहाक र याकूबको अघि प्रकट भएको थिएँ। तिनीहरूले मलाई एल-सद्दाई[a] भने। तिनीहरूले मेरो नाउँ यहोवा (परमप्रभु) भनी जाने। 4 मैले तिनीहरूसित करार बाँधे। मैले तिनीहरूलाई बसो-बास गर्न कनान भूमि दिनेछु भनी प्रतिज्ञा गरें। तिनीहरू त्यस भूमिमा बसे तर त्यो भूमि तिनीहरूको आफ्नै थिएन। 5 इस्राएलीहरू पीरले कराएको मैले सुनेको छु। म जान्दछु इस्राएलका मानिसहरू मिश्र देशका दास हुन्। अनि म मेरो करार सम्झना गर्छु। 6 यसर्थ ती इस्राएलका मानिसहरूलाई भन, ‘म परमप्रभु हुँ, म तिमीहरूलाई मिश्रीहरूद्वारा जबरजस्ती लगाएको कामबाट मुक्त गर्नेछु। म तिमीहरूलाई दासत्वबाट स्वतन्त्र गर्नेछु। म यसलाई मेरो महा-शक्ति अनि महान न्यायले पूर्ण गर्ने छु। 7 तिमीहरू मेरा मानिसहरू हुनेछौ अनि म तिमीहरूका परमेश्वर हुनेछु। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ र तिमीहरूलाई मैले मिश्रको मानिसहरूबाट स्वतन्त्र पारेको थाह पाउनेछौ। 8 मैले अब्राहाम, इसहाक, याकूबसित महान प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूलाई एउटा देश दिनेछु भनी वचन दिएको थिए। यसैकारण म तिमीहरूलाई त्यो देशमा लानेछु। म त्यो देश तिमीहरूलाई दिनेछु र त्यो देश तिमीहरूको हुनेछ। म परमप्रभु हुँ।’”
9 यसर्थ मोशाले इस्राएलीका मानिसहरूलाई प्रत्येक कुरा भने तर मानिसहरू यति कठोर परिश्रम गरिरहेका थिए तिनीहरूले मोशाका कुरा धैर्यसित सुनेनन्।
10 तब परमप्रभुले मोशालाई भन्नुभयो, 11 “जाऊ अनि मिश्रको राजा फिरऊनलाई भन इस्राएलका मानिसहरूलाई उसको भूमिमा जान दिनोस्।”
12 तर मोशाले उत्तर दिए, “इस्राएली मानिसहरूले मेरा कुरा सुन्दैनन् भने। फिरऊनले मेरो कुरा कसरी सुन्छन्? म एउटा एकदमै अयोग्य वक्ता हुँ।”
13 परमप्रभुले मोशा र हारूनसँग कुरा गर्नुभयो। उहाँले तिनीहरूलाई इस्राएली मानिसहरूसित अनि फिरऊनसँग कुरा गर्ने आज्ञा दिनुभयो। परमप्रभुले तिनीहरूलाई भन्नु भयो, इस्राएलका मानिसहरूलाई मिश्रबाट बाहिर लैजाऊ।
इस्राएलका केही परिवारहरू
14 इस्राएल कुल समूहका अगुवाहरू यिनीहरू हुन्, इस्राएलीको प्रथम पुत्र रूबेन थिए। रूबेनको छोराहरूः
हनोक, पल्लू, हेस्रोन र कर्मी थिए। त्यो रूबेनको परिवार थियो।
15 शिमोनका छोराहरू हुन्: यमूएल, यामिन, ओहद, याकिन, सोहर र शाऊल। (शाऊल कनानी पत्नीबाट जम्मेका छोरा थिए) यो शिमोनको वंश थियो।
16 लेवी एक सय सैंतीस बर्ष बाँचे अनि उनका छोराहरू गेर्शोन, कहात र मरारी हुन्।
17 गेर्शोनका छोराहरू लिब्नी अनि शिमी थिए। तिनीहरूका पनि आफ्नै परिवारहरू थिए।
18 कहात एक सय तेत्तिस बर्ष बाँचे अनि तिनका छोराहरू हुन्: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल।
19 महली अनि मूशी मरारीका छोराहरू थिए।
यी सबै परिवारहरू लेवीबाट जन्म भएका थिए।
20 अम्राम एक सय सैंतीस बर्षसम्म बाँचे। तिनले आफ्नो फूपु (पिताको बहिनी) योकेबेदसित विवाह गरे। अम्राम अनि येकेबेदबाट मोशा र हारून जन्मे अम्राम 137 बर्ष बाँचे।
21 यिसहारका छोराहरू हुन् कोरह, नेपेग, र जिक्री।
22 मीशाएल, एल्सापान अनि सिथ्री उज्जीएलका छोराहरू थिए।
23 हारूनले अम्मीनादाबकी छोरी तथा नहशोनकी बहिनी एलीशेबासित विवाह गरे। हारून र एलीशेबाले नादाब, अबीहू, एलाजार अनि ईतामारलाई जन्म दिए।
24 कोरहका छोराहरू (कोरहका पिता-पूर्खाहरू) हुन्, अस्सीर, एलकाना र अबिआसाप।
25 हारूनका छोरो एलाजारले पतीएलकी छोरीसित विवाह गरे अनि तिनीबाट पीनहास जन्मे।
यी सबै मानिसहरू इस्राएलको छोरो लेवीबाट जन्मेका हुन्।
26 हारून र मोशा यही परिवारका हुन्। अनि यी दुइ जना नै ती मानिसहरू हुन् जोसित परमेश्वरले कुरा गर्नु भयो, “मेरा मानिसहरूलाई दल-दलमा मिश्र बाहिर ल्याउनु पर्छ।” 27 हारून र मोशा नै ती मानिसहरू हुन् जसले मिश्रका राजा, फिरऊनसित कुरा गरे। तिनीहरूले इस्राएली मानिसहरूलाई मिश्रबाट छोड्न फिरऊनलाई भने।
परमेश्वर मोशालाई फेरि बोलाउनु हुन्छ
28 मिश्र देशमा परमप्रभुले मोशासँग कुरा गर्नुभयो र 29 उसलाई भन्नुभयो, “म परमप्रभु हुँ। मैले तिमीहरूलाई जो भनें त्यो मिश्रको राजा फिरऊनलाई भन।”
30 तर मोशाले उत्तर दिए, “म अकुशल वक्ता हुँ, यसर्थ फिरऊनले मेरा कुरा सुन्ने छैनन्।”
7 परमप्रभुले मोशालाई भन्नु, भयो, “म तिमीसँग हुनेछु, फिरऊनको अघि तिमी एकजना देवता जस्तै हुनेछौ अनि हारून तिम्रो अगमवक्ता हुनेछ। 2 तिमीले प्रत्येक चीज हारूनलाई भन जो मैले तिमीलाई आज्ञा गरेको छु। त्यसपछि उसले ती सबै कुराहरू फिरऊनलाई भन्नेछ अनि फिरऊनले इस्राएली मानिसहरूलाई मिश्रबाहिर पठाउँनेछ। 3 तर फिरऊनलाई म अट्टेरी बनाउनेछु। अनि मिश्रमा म धेरै आश्चर्यकर्मका चिन्हहरू देखाउनेछु अनि मैले भनेका कुरा उसले ग्रहण अझै गर्नेछैन् र 4 यसैकारण, म मिश्रलाई दण्ड दिनेछु अनि म मेरा इस्राएली मानिसहरूलाई बाहिर ल्याउनेछु। 5 तब मिश्रीहरूले जान्नेछन म परमप्रभु हुँ, म तिनीहरूको विरोधमा हुनेछु अनि तिनीहरूले जान्ने छन्। तब म आफ्नो मानिसहरूलाई तिनीहरूको देशबाट निकाल्ने छु।”
6 परमप्रभुले तिनीहरूलाई भनेका कुराहरू मोशा र हारूनले पालन गरे। 7 तिनीहरूले जब फिरऊनसित कुरा गरे त्यस समय मोशा 80 बर्ष र हारून 83 बर्षका थिए।
मोशाको टेक्ने लहुरो सर्प बनिन्छ
8 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, 9 “फिरऊनले तिमीलाई केही शक्ति प्रदर्शन गर्नु भन्नेछ। हारूनलाई आफ्नो लहुरो फिरऊनको अघि भूईंमा फ्याँक्नु भन। फिरऊन हेरिरहेको हुन्छ, लट्ठी सर्प हुनेछ।”
10 यसर्थ मोशा र हारूनले परमप्रभुको आदेश पालन गरेर फिरऊन कहाँ गए। हारूनले फिरऊन र तिनका अधिकारीहरूले हेरेको समयमा आफ्नो लहुरो तल फ्याँकिदिए अनि त्यो लहुरो सर्प भयो।
11 तब राजाले त्यहाँका ज्ञानी मानिसहरू तथा जादूवालाहरूलाई बोलाए। ती मानिसहरूले आफ्नो तन्त्र-मंत्र प्रयोग गरे र हारूनले गरे जस्तै गर्न सके। 12 तिनीहरूले पनि आफ्नो-आफ्नो लहुरो भुईंमा फ्याँके अनि ती फ्याँकेका लहुरोहरू सर्पमा परिणत भए। तर हारूनको लहुरोले सबै लहुराहरू निली दियो। 13 तर फिरऊन अट्टेरी नै बसे अनि मानिसहरूलाई जान दिएनन्। यो त्यस्तो भयो परमप्रभुले जस्तो भन्नु भएको थियो।
पानी रगत बनिन्छ
14 तब परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊन अट्टेरी गरिरहेकोछ। उसले मानिसहरूलाई जान दिंदैन। 15 बिहानै फिरऊन नदीतिर जानेछ। नील नदीको किनारमा उसलाई भेट। त्यो सर्प बनिएको लहुरो लगेर जाऊ। 16 उसलाई यसो भन, ‘परमप्रभु हिब्रूहरूका परमेश्वरले मलाई तपाईंकहाँ यो भन्नु पठाउनु भएको छ: मेरा मानिसहरूलाई मेरो उपासना गर्न मरुभूमिमा पठाऊ। अहिलेसम्म तपाईंले उहाँको कुरा मान्नु भएको छैन।’ 17 यसर्थ परमप्रभु भन्नुहुन्छ, ‘उहाँ परमप्रभु हुनुहुन्छ भनी बुझाउनको निम्ति उहाँले तपाईंलाई केही देखाउनु हुनेछ। म यो मेरो हातको लहुरो नील नदीको पानीमा हिर्काउँछु र नदी रगतमा परिवर्तन हुनेछ। 18 नदीका माछाहरू मर्नेछन् अनि पानी गानाउन थाल्नेछ। तब मिश्रका मानिसहरूले नील नदीको पानी पिउनु सक्ने छैनन्।’”
19 परमप्रभुले मोशालाई भन्नु भयो, “हारूनलाई भन् कि उसले आफ्नो हातको लहुरोले मिश्र देशका मानिसहरूले जम्मा गरेको पानीको कुवा, नहर, नदी, ताल प्रत्येक ठाउँमा हिर्काओस् जब उसले त्यसो गर्छ सबै पानी रगतमा परिवर्तन हुनेछ। यहाँसम्म तिनीहरूले काठ र ढुङ्गाको भाँडामा राखेको पानी पनि रगत बनिनेछ।”
20 यसर्थ परमप्रभुले आज्ञा गर्नु भएका सबै कुरा मोशा र हारूनले गरे। हारूनले आफ्नो लहुरो उठाएर नील नदीको पानीमा हिर्काए। उसले यसो फिरऊन र उसका अधिकारीहरूको सामुन्नेमा गरे। यसो गरेपछि नदीको सबै पानी रगतमा परिणत भयो। 21 पानीका माछाहरू मर्न थाले अनि नदीको पानीबाट कुहेको गन्ध आउन थाल्यो। यसर्थ मिश्रका मानिसहरूले नदीबाट पानी पिउन सकेनन्। मिश्रमा जता ततै रगत भयो।
22 जादूगरहरूले आफ्नो मंत्र प्रयोग गरे अनि तिनीहरूले पनि त्यसै गरे। यसर्थ फिरऊनले मोशा र हारूनको कुरा मान्न अस्वीकार गरे। त्यस्तै भयो जस्तो परमप्रभुले भन्नु भएको थियो। 23 फिरऊन आफ्नो राजमहलमा फर्के। मोशा र हारूनले जे गरे त्यस विषयमा उनले त्यती चासो दिएनन्।
24 मिश्र देशका मानिसहरूले नदीको पानी खान सकेनन्। यसकारण तिनीहरू नदीको वरिपरि पिउने पानीका लागि कुवाहरू खन्न लागे।
भ्यागुत्ताहरू
25 परमप्रभुले नील नदीलाई परिणत गरेपछि सात दिन बित्यो।
क्षमाको उखान
21 त्यसपछि पत्रुस येशूकहाँ आएर सोधे, “प्रभु मेरो भाइले मेरो विरोधमा घरिघरि गल्ती गर्दछ, तब मैले कति पटक सम्म उसलाई क्षमा गर्नु? के सातपल्ट सम्म?”
22 येशूले जवाफ दिनूभयो, “म तिमीहरू सबैलाई भन्दछु, यदि उसले आफ्नो गल्ती गरिरह्यो भने पनि तिमीले सात गुणा सत्तरी पटकसम्म क्षमा दिनुपर्छ।”
23 “यसकारण स्वर्गको राज्य एउटा राजा जस्तै हो जसले आफ्ना नोकरहरूबाट हिसाब मिलाउने निश्चय गर्यो। 24 राजाले हिसाब मिलाउन शुरू गरे। उसको एउटा नोकर हजारौं चाँदीको सिक्काको ऋणी थियो। 25 त्यो नोकर आफ्नो ऋण तिर्न असमर्थ थियो। राजाले उसलाई, उसकी पत्नी, उसका नानीहरू अनि उसित भएका सबै कुरा बेचेर ऋण चुकाउनलाई आदेश गरे।
26 “तर त्यो नोकरले मालिकको खुट्टामा घोप्टो परेर विन्ती गर्यौ, ‘मेरो निम्ति केही धैर्य गरीदिनुहोस्। अनि मलाई लागेको जे जति ऋण म तिर्नेछु।’ 27 यो सुनेर राजालाई नोकरप्रति दया जाग्यो। तब उसले त्यो ऋण तिर्नु पर्दैन भनी भन्यो अनि उसलाई ऋण मुक्त भएर जान दियो।
28 “केही समय पछि, त्यो नोकरले अर्को नोकरलाई भेट्टायो, जसले उसबाट एकसय चाँदीका सिक्क ऋण लिएको थियो। उसले त्यसको घोक्रो अँठ्याएर भन्यो, ‘मेरो ऋण तुरन्तै तिरिहाल्।’
29 “त्यो नोकर घुँडा टेकेर विन्ती गर्न लाग्यो, ‘म माथि दया गर्नुहोस् म तपाईंको सबै ऋण चुक्ता गर्नेछु।’
30 “तर त्यो पहिले नोकरले धैय गर्न सकेन। त्यसले अर्को नोकरको विरुद्ध न्यायधीश समक्ष नालिश हाल्यो अनि उसलाई जेलमा पुर्याइदियो। ऋण चुक्ता नगरून्जेल त्यो जेलमा बस्नु पर्यो। 31 अरू सबै नोकरहरूले यो घट्ना देखे। तिनीहरू दुःखी भए र तिनीहरूले आफ्ना मालिकलाई यो घट्नाको वृतान्त सुनाइदिए।
32 “तब मालिकले नोकरलाई बोलाए र उसलाई भने, ‘तँ दुष्ट नोकर रहेछस्। तैंले म बाट धेरै ऋण लिएको थिईस्। तर तैंले मसित विन्ती गरेको हुनाले मैले त्यो माफ गरिदिए। तर तैंले तेरो ऋणीलाई दया देखाउन सकिनस्। 33 मैंले तँलाईं दया गरे जस्तै तैले पनि त्यसलाई दया गर्नु पर्ने होइन।’ 34 मालिक खुबै रिसाए र दण्डको दिनको निम्ति त्यस नोकरलाई जेलमा हालिदिए। सम्पूर्ण ऋण चुक्ता नतिरून्जेल तिनी त्यो जेलमा नै बस्नुपर्यो।
35 “राजाले पनि स्वर्गमा भएका मेरा पिताले जे गर्नुहुन्छ त्यही गर्यो यदि तिमीहरू प्रत्येकले आफ्ना भाइ-बहिनीहरूलाई आफ्ना हृदयले क्षमा गरेनौ भने मेरो स्वर्गको पिताले पनि तिमीहरूलाई क्षमा दिनुहुने छैन।”
येशूद्वारा सम्बन्ध विच्छेद बारे शिक्षा
(मर्कूस 10:1-12)
19 यी सबै कुराहरू सुनाएपछि येशूले गालील छाड्नुभयो। यर्दन नदीको पारिपट्टि छेउमा भएको यहुदिया क्षेत्रभित्र उहाँ पुग्नुभयो। 2 धेरै मानिसहरू येशूको पछिलागे। येशूले रोगी मानिसहरूलाई निको पारिदिनु भयो।
3 केही फरिसीहरू येशूकहाँ उहाँको परीक्षा गर्न त्यहाँ आए। तिनीहरूले येशूलाई सोधे, “के कुनै पनि निहुँमा कसैले आफ्नी पत्नीलाई त्याग्न सक्छ?” तिनीहरू येशूले केही गलत कुरा वोलेको चाहान्थे।
4 येशूले जवाफ दिनुभयो, “के तिमीहरूले धर्मशास्त्रमा पढेका छैनौ? जब परमेश्वरले संसारको सृष्टि गर्नुभयो, ‘उहाँले नर र नारी बनाउनु भयो।’(A) 5 अनि परमेश्वरले भन्नु भयो, ‘त्यसकारण मानिसले आफ्नो आमा-बाबुलाई छोडेर आफ्नी पत्नीसेग मिलेर बस्छ। यसरी यी दुइ मानिसहरू एक हुनेछन्।’(B) 6 यसर्थ दुइजना मानिसहरू दुइ रहदैनन् तर एउटै हुन्छन्। परमेश्वरले यी दुइलाई एउटै बनाउनु भएको हो। यसैकारणले कसैले तिनीहरूलाई अलग पार्नु हुँदैन।”
7 फरिसीहरूले सोधे, “यदि त्यसो भए मोशाले किन एउटा मानिसलाई विवाह विच्छेदको कागज लेखेर आफ्नी पत्नीसित सम्बन्ध विच्छेद हुन्छ भन्ने आज्ञा दिए?”
8 येशूले भन्नुभयो, “मोशाले तिमीहरूलाई आफ्नी पत्नीहरूसँग विवाह विच्छेद गर्ने अनुमति दिएको कारण के हो भने तिनीहरूले परमेश्वरको शिक्षालाई स्वीकार गर्न अस्वीकार गरेको थियो। तर शुरूमा यस्तो थिएन। 9 म भन्दछु जसले आफ्नो पत्नीलाई त्यागेर अर्को स्त्रीसँग विवाह गर्दछ उसले व्यभिचार गर्दछ। एउटा मानिसले आफ्नी स्वास्नीलाई त्यागेर अर्की पत्नीसँग त्यतिबेला विवाह गर्न पाउँदछ जब उसको पहिलेकी पत्नीले अरू कुनै मानिससँग व्यभिचार गर्दछे।”
10 चेलाहरूले येशूलाई भने, “यदि त्यही कारणले मात्र एउटा मानिसले आफ्नो पत्नीलाई त्याग्न सक्छ भने विवाह नगर्नु नै असल हुन्छ।”
11 येशूले जवाफ दिनुभयो, “सबैले विवाह सम्बन्धी यो सत्यतालाई मान्न सक्तैनन्। तर परमेश्वरले कसै-कसैलाई मात्र यो कुरा मान्न सक्ने बनाउनु भएको छ 12 कोही मानिसहरूले किन विवाह गर्न सक्दैन भन्ने बारेमा विभिन्न कारणहरू छन्। तिनीहरूमध्ये कोही सन्तान जन्माउने क्षमता भएका हुन सक्छन् कोही मानिसहरूलाई, अरू मानिसहरूले केही समय पछि त्यस्तो गराएको हुन्छ। कोही अरू स्वर्गको राज्यको निम्ति विवाह अस्वीकार गर्छन्। तर विवाह गर्नेले विवाह सम्बन्धी यो शिक्षा मान्नु पर्दछ।”
दाऊदको भजन।
1 परमप्रभु मेरो गोठाला हुनुहुन्छ।
मलाई खाँचो परेका सबै थोकहरू पाउनेछु।
2 उहाँले मलाई हरियो घाँसको चौरमा सुताउनुहुन्छ।
उहाँले मलाई शान्त तलाउतिर लानु हुन्छ।
3 उहाँले आफ्नै नाउँको लागि मेरो आत्मामा नयाँ शक्ति दिनुहुन्छ।
उहाँ साँच्चै नै असल हुनुहुन्छ भन्ने देखाउनलाई उहाँले मलाई धार्मिकताको बाटोतर्फ डोराउनु हुन्छ।
4 यदि म चिहानभन्दा पनि अन्धकार-खाडी भएर हिंडे पनि,
डरले रातभरी तर्सने छैन, किनभने हे परमप्रभु, तपाईं मसँग हुनुहुन्छ।
तपाईंको लाठ्ठी र लौरोले मलाई सान्तवना दिंदछ।
5 हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूका समक्ष मेरो निम्ति भोजन तयार पारिदिनु भयो,
अनि तपाईंले मेरो शिरलाई तेलले अभिषेक गर्नु भयो।[a]
मेरो कचौरा चुलिन्छ र पोखिएर बगिरहनेछ।
6 मेरो जीवनको अन्त सम्म करूणा र भलाई मसँगै रहने छ,
अनि म परमप्रभुको मन्दिरमा सधैँको निम्ति बस्नेछु।
22 एकजना खराब मानिस उसले गरेको खराब कर्महरूद्वारा नै फँस्छ। उसको पापले उसलाई डोरीले झैं बाध्ने छ। 23 एकजना खराब मानिस अनुशासनको अभावले मर्नेछ। उसको ठूलो मूर्खताले उसलाई पथभ्रष्ट बनाउँछ।
© 2004, 2010 Bible League International