The Daily Audio Bible
Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.
याकूब बेतेलमा
35 परमेश्वरले याकूबलाई भन्नु भयो, “बेतेल शहरमा जाऊ, त्यहाँ बस अनि पूजा गर्नलाई त्यहाँ एउटा वेदी बनाऊ। ‘एल’ लाई स्मरण गर, ती परमेश्वर जो तिमी दाज्यू एसावदेखि बाँच्नको लागि भाग्दै थियौ, त्यस समय तिमीलाई परमेश्वरले दर्शन दिनु भएको थियो। तिमीले आराधना गर्नको निम्ति त्यहाँ एउटा वेदी बनाऊ।”
2 यसकारण, याकूबले आफ्नो परिवार तथा आफ्ना सबै सेवकहरूलाई भने, “काठ र धातुले बनिएका जे जति झूटा देवताहरू तिमीहरूसित छन् ती सब नष्ट गरिदेऊ। आफूलाई पवित्र बनाऊ अनि सफा लुगाहरू लगाऊ। 3 हामीहरू यो ठाउँ छोडेर बेतेल जानेछौं, अनि त्यहाँ आफ्नो परमेश्वरको निम्ति एउटा वेदी बनाउनेछौं। उहाँ मेरो उही परमेश्वर हुनुहुन्छ जसले मेरो प्रत्येक कष्टमा सहायता गर्नुहुन्छ, अनि म जहाँ जान्छु मसँगै हुनुहुन्छ।”
4 यसर्थ मानिसहरूसित भएका झूटा देवताहरू तिनीहरूले सबै याकूबलाई दिए। तिनीहरूले आफ्नो कानमा लगाएका कुण्डलहरू पनि याकूबलाई दिए। याकूबले शकेम नाउँको शहरको नजिक एउटा फलाँटको रूखको नजिक ती सब चीजहरू गाडि दिए।
5 याकूब र तिनका छोराहरूले त्यो ठाउँ छोडे। त्यस ठाउँका मानिसहरूले तिनीहरूलाई लखेटेर मार्न चाहन्थे। तर तिनीहरूले त्यसो गरेनन् किनभने तिनीहरू परमेश्वरसित आत्यन्तै डराएका थिए। 6 यसर्थ याकूब अनि उसका मानिसहरू लूज पुगे। आज लूजलाई बेतेल भनिन्छ। यो कनान भूमिमा पर्छ। 7 याकूबले त्यहाँ एउटा वेदी बनाएर त्यस ठाउँको नाउँ “एल-बेतेल” राख्यो। याकूबले त्यस ठाउँको नाउँ त्यही रोजे कारण जति बेला ऊ आफ्नो दाज्यू देखि भाग्दै थियो परमेश्वरले त्यहीं दर्शन दिनु भएको थियो।
8 रिबेकाकी धाई दबोराह त्यहाँ मरी, तिनीहरूले त्यसलाई बेतेलमा फलाँटको रूखमुनि गाडे। तिनीहरूले त्यस ठाउँको नाउँ अल्लोन बकुत राखे।
याकूबको नयाँ नाउँ
9 याकूब जब पद्दनआरामबाट फर्कियो परमेश्वरले फेरि उसलाई दर्शन दिनु भयो। परमेश्वरले याकूबलाई आशीर्वाद दिनुभयो। 10 परमेश्वरले याकूबलाई भन्नुभयो, “तिम्रो नाउँ याकूब हो, तर म तिम्रो नाउँ बद्ली गरी दिनेछु। अब उसो तिमीलाई याकूब भनिने छैन र तिम्रो नयाँ नाउँ इस्राएल हुनेछ।” यसर्थ परमेश्वरले उसको नाउँ इस्राएल राख्नु भयो।
11 परमेश्वरले उसलाई भन्नुभयो, “म सर्वशक्तिमान परमेश्वर हुँ अनि म तिमीलाई आशीर्वाद दिन्छु। फल्दै-फुल्दै अनि बढदै जाऊ। तिम्रा सन्तानहरूबाट धेरै राष्ट्र अनि राजाहरू बनिनेछन्। 12 मैले अब्राहाम र इसहाकलाई विशेष भूमि दिएँ र अब तिमीलाई त्यो भूमि दिनेछु। अनि त्यो भूमि तिमीपछि आउने तिम्रा सन्तानलाई पनि दिनेछु।” 13 त्यसपछि परमेश्वर त्यहाँबाट जानु भयो। 14-15 त्यस ठाउँमा याकूबले एउटा स्मारक ढुङ्गा राख्यो। उनले दाखरस र तेलले अभिषेक गरी त्यस ढुङ्गालाई पवित्र पार्यो। यो ठाउँ एउटा विशेष ठाउँ भयो किनभने यहाँ परमेश्वरले याकूबसित कुरा गर्नु भएको थियो। याकूबले यस ठाउँको नाउँ बेतेल राख्यो।
राहेल प्रसुति पीडामा मरी
16 याकूब अनि उसको दलले बेतेल छोडे। तिनीहरू ठीक एप्रात आई पुग्नअघि राहेल प्रसुति वेदना भोग्न थाली। 17 तर यसपल्ट राहेललाई सही नसक्नु वेदना भइरहेको थियो। राहेलकी कमारीले हेरि र भनी “नडराऊ राहेल तिमीले अर्को छोरो जन्माउँदैछ्यौ।”
18 छोरो जन्मदा-जन्मदै राहेल मरी। मृत्युअघि आफ्नो त्यस छोरोको नाउँ तिनले बेन-ओनी राखीन्। तर याकूबले उसको नाउँ बिन्यामीन राख्यो।
19 राहेललाई एप्रात जाने बाटोमा नै गाडियो। (एप्रात नै बेतलेहेम हो)। 20 राहेलको सम्मानमा याकूबले उसको चिहानमाथि एउटा खामो उभ्यायो। त्यो खामो अझ पनि त्यहीं खडा छ। 21 त्यसपछि इस्राएलले आफ्नो यात्रा जारी राख्यो। उनले एदेर स्तम्भकै दक्षिणमा आफ्नो पाल हाल्यो।
22 इस्राएल त्यस ठाउँमा छोटो समयको निम्ति बस्यो। जब ऊ त्यहाँ थियो, रूबेन इस्राएलको सेविका बिल्हासित सुत्यो। इस्राएल यो सुनेर साह्रै क्रोधित भए।
इस्राएलको परिवार
याकूब (इस्राएल) का बाह्र जना छोराहरू थिए।
23 लेआका छोराहरू हुनः रूबेन (याकूबको पहिलो छोरो), शिमोन, लेवी, यहूदा, इस्साकार अनि जबूलून।
24 राहेलका छोराहरूः यूसुफ र बिन्यामीन।
25 राहेलकी कमारी बिल्हाबाट जन्मिएका छोराहरू दान र नप्ताली थिए।
26 लेआकी कमारी जिल्पाबाट जन्मिएका छोरीहरू गाद र आशेर थिए।
यी तिनका नानीहरू तब जन्मिएका थिए जब तिनी पद्दम-आराममा थिए।
27 याकूब आफ्ना बुबा इसहाककहाँ किर्यतर्बामा (हेब्रोन) गए। यो त्यही ठाउँ हो जहाँ अब्राहाम र इसहाकले बसो-बास गरेका थिए। 28 इसहाक एक सय असी बर्ष बाँचे। 29 इसहाक जब मरे तिनीहरू अत्यन्त वृद्ध भएका थिए अनि सम्पूर्ण जीवन उपभोग गरे। उसको छोरा एसाव अनि याकूबले तिनलाई तिनका पिताको ठाउँमै गाडे।
एसावको परिवार
36 एसावको पारिवारिक इतिहास यही हो। 2 एसावले कनानी स्त्रीहरूसित विवाह गरे। तिनीहरू थिएः हित्ती एलोनकी छोरी आदा, अन्नाकी छोरी ओहोलीबामा अनि हिव्वी सिनीकी नातिनी अनि 3 बासमत-इश्माएलकी छोरी अनि नबायोतकी बहिनी। 4 एसाव अनि आदाले एलीपज नाउँको छोरो जन्माए। बासमतले रूएल नाउँको छोरो जन्माइन्। 5 अनि ओहोलीबामाका तीन जना छोराहरू थिएः तिनीहरूको नाउँ-यऊश, यालाम अनि कोरह। तिनीहरू एसावका छोराहरू थिए जो कनान भूमिमा जन्मे।
6-8 याकूब अनि एसावाका परिवारहरू अत्यन्तै विशाल भए जसले गर्दा कनान भूमिको अन्नले तिनीहरूलाई पुग्न असम्भव भयो। यसर्थ एसावले आफ्नो भाइ याकूबलाई छोडेर धेरै टाढा देशमा गए। एसावले आफ्ना सबै चीजहरू आफूसँग लिएर गए। कनानमा हुँदा उनले यी सब चीजहरू प्राप्त गरेको थियो। यसर्थ एसावले आफूसँग पत्नीहरू छोराहरू, छोरीहरू, सबै नोकरहरू, पशुहरू लग्यो। एसाव र याकूबको परिवारहरू यति बढ्दै गए, तिनीहरूलाई एकै ठाउँमा बस्न असम्भव भयो। त्यस भूमिबाट दुइ परिवारहरूलाई जीवन निर्वाह गर्न मुश्किल थियो। तिनीहरूसित धेरै गाई-वस्तुहरू थिए। एसाव पहाडी भूमि सेइरतिर लागे (एसावको नाउँ एदोम अनि सेइर पनि हो।)
9 एसाव एदोमी मानिसहरूका पिता थिए। सेईर एदोमको पहाडी भूमिमा बस्ने एसावका परिवारहरूको नाउँ यी नै हुन्,
10 एसाव र आदाको छोरोको नाउँ एलीपज हो। एसाव र बासमतको छोरोको नाउँ रूएल हो।
11 एलीपजका पाँचजना छोराहरूको नाउँ थियोः तेमान, ओमार, सपो, गोताम अनि कनज।
12 एलीपजकी पनि एउटी दासी थिइ। उसको नाउँ तिम्ना थियो अनि तिम्ना र एलीपजको अमालेक नाउँका छोरो थियो।
13 रूएलका चारजना छोराहरू थिए। तिनीहरूः नहत, जेरह, शम्मा र मिज्जा थिए।
यिनीहरू एसावकी पत्नी बासमत पट्टीका नातिहरू नै हुन्।
14 एसावकी साइँली पत्नी सेबोनकी छोरो अन्नाकी छोरी ओहोलीबामा थिइन्। एसाव र ओहोलीबामाकी छोरीहरू यऊश, यालाम र कोरह थिए।
15 यी परिवार एसावबाट आएका हुन्।
एसावको जेठा छोरो एलीपज थियो। एलीपजबाट यिनीहरू आए – तेमान, गोमार, सपो, कनज, 16 कोरह, गाताम अनि अमालेक।
ती सबै परिवारिक मुखियाहरू एसावकी पत्नी आदाबाट जन्मेका हुन्।
17 एसावको छोरो रूएल यी परिवारहरूको पहिलो बाबु थियो। नहत, जेरह, शम्मा अनि मिज्जा।
ती सब परिवाहरू एसावकी पत्नी बासमतबाट आएका हुन्।
18 एसाव को पत्नी र अनाकी छोरी ओहोलीबामाबाट जन्मेका छोराहरू हुन्; यऊश, यालाम अनि कोरह। ती तीन जना मानिसहरू तिनीहरूको परिवारहरूका बाबु हुन्।
19 यी मानिसहरू एसाव (एदोम) बाट आएका परिवाका प्रमुखहरू थिए।
20 एसावभन्दा अघि एदोममा सेइर नाउँको एक होरी मानिस बस्थ्यो। सेइरका छोराहरू थिए:
लोतान, शोबाल, सिओन, अना, 21 दीशोन, एसेर, दीशान। यी छोराहरू एदोममा सेईबाट आएका छोरी पारिवार मुखियाहरू थिए।
22 लोतान होरी र हेमानको बाबु थियो। (तिम्ना लोतानकी बहिनी थिई।)
23 शोबालः अल्बान, मानहत, एबाल, सपो अनि ओनामका बाबु थियो।
24 सिबोनका अय्या र अना नाउँका दुइ छोराहरू थिए। (अना त्यही मानिस थियो जसले पहाडमा आफ्नो बाबुका गधाहरूको हेरचाह गर्दा तातो पानीको मुहान भेट्टाएको थियो।)
25 दीशोन र ओहोलीबामाका बाबु अना थिए।
26 दीशोनका चार छोराहरू हेमदान, एश्बान, यित्रान र करान थिए।
27 एसेरका तीन जना छोराहरू बिल्हान, जावान र अकान थिए।
28 दीशोनका दुइ छोराहरू ऊज र आरान थिए।
29 होरी परिवाहरूका प्रमुखहरू थिए-लोतान, शोनान, सिबोन, अना, 30 दीशान, एसेर, अनि दीशान। जो सेइर भूमिमा बसे तिनीहरूको पारिवारिक प्रमुखहरू ती मानिसहरू नै थिए।
31 त्यस समयमा एदोममा राजाहरू थिए। इस्राएल राजा हुनुभन्दा धेरै समयअघि एदोममा राजाहरू थिए।
32 बओरको छोरो बेला राजा थियो जसले एदोममा शासन गर्यो। उनले दिन्हारा शहरमाथि शासन गर्यो।
33 जब बेला मर्यो योबाब राजा भयो। योबाब बोज्रामाको जेरहको छोरो थियो।
34 जब योबाब मर्यो, हूशामले शासन गर्यो। हूशाम तेमानी मानिसहरूको देशको थियो।
35 जब हूशाम मर्यो हददले त्यस इलाकाको शासन गर्यो। हदद बेदादको छोरा थियो (हदद ऊ थियो जसले माओबको भूमिमा मिद्यानीहरूलाई जितेको थियो।) हदद अबीत शहरको थियो।
36 जब हदद मर्यो सम्लाले देशमा शासन चलायो। सम्ला मसेकामाको थियो।
37 जब सम्ला मर्यो त्यो इलाकामा शावलले शासन चलायो। शावल फरात नदीको किनारमा रहोबोतको थियो।
38 जब शावल मर्यो त्यो देशमा बाल्हनानले शासन चलायो। बाल्हनान अकबोरको छोरो थियो।
39 जब बाल्हनान मर्यो, हदरले त्यहाँ शासन गर्यो। हदर पाऊ शहरको थियो। हदरकी पत्नीको नाम महेतबेल थियो, तिनी मत्रेदकी छोरी थिइन्। (मेजाहाब मत्रेदको बाबु थियो।)
40-43 एसाव एदोमी परिवारहरूः
तिम्ना, अल्वा, यतेत, ओहोलीबामा, एला, पीनोन, कनज, तेमान, मिब्सार, मग्दीएल अनि ईरामको बुबा थियो। यी परिवारहरू प्रत्येक नै त्यस इलाकामा बसो – बास गरे जुन इलाकाको नाउँ र पारिवारको नाउँ एकै थियो।
यहूदीहरूद्वारा येशूको आलोचना
(मर्कूस 2:23-28; लूका 6:1-5)
12 त्यो समय, येशू विश्रामको दिनमा अन्नका खेतहरूबाट जानुहुँदै थियो, येशूका चेलाहरू पनि उहाँसँगै थिए। तिनीहरू भोकाएका थिए। ती चेलाहरूले अन्नका बाला टिप्दै खान लागे। 2 फसिहीहरूले यो देखेर। तिनीहरूले येशूलाई भने, “हेर्नुहोस्! तपाईंको चेलाहरू विश्रामको दिनमा गर्नु निषेध गरिएका कुरा गर्दैछन्।”
3 उहाँले तिनीहरूलाई भन्नुभयो, “दाऊदले, आफैं र आफूसँगका मानिसहरू भोकाउँदा के गरेथे, के तिमीहरूले पढेका छैनौ? 4 दाऊद परमेश्वरको घरमा गए। दाऊद र तिनका साथीहरूले परमेश्वरलाई चढाइएको रोटी खाए। दाऊद र तिनका साथीहरूले यसरी रोटी खानु नियमको विरुद्ध थियो। केवल पूजाहारीहरूलाई मात्र त्यस्तो रोटी खाने अनुमति थियो। 5 अनि तिमीहरूले मोशाको व्यवस्थामा यो पनि निश्चयनै पढेको हुनुपर्छ कि कसरी प्रत्येक विश्रामको दिनमा पूजारीहरूले मन्दिरमा विश्राम अथवा विश्रामको नियम भङ्ग गर्छन्। तरै पनि पूजाहारीहरूलाई त्यस दोषको निम्ति दोषी ठानिन्दैन। 6 म तिमीहरूलाई भन्दछु, ‘यहाँ मन्दिर भन्दा ठूलो’ केही छ। 7 धर्मशास्त्रमा भनिएको छ, ‘म पशुहरूको बलिदान चाहन्न। म मानिसहरूमा दया चाहन्छु।’(A) वास्तवमा तिमीहरू ती शब्दहरूका अर्थ के हो त्यो पनि जान्दैनौ। यदि ती शब्दहरूका अर्थ तिमीहरूले बुझ्यौ भने ती तिमीहरूले निर्दोषहरूलाई न्याय गर्ने थिएनौ।
8 “मानिसको पुत्र विश्राम दिनको पनि प्रभु हो।”
येशूले विश्राम दिनमा निको पार्नु भयो
(मर्कूस 3:1-6; लूका 6:6-11)
9 येशू त्यहाँबाट हिँड्नु भयो अनि तिनीहरूको सभाघरमा जानूभयो। 10 उहाँले सभाघरमा एउटा सुकेर चाउरिएको हात भएको मानिसलाई देख्नु भयो। केही यहूदीहरू येशूलाई दोष लगाउनलाई निहुँ खोजिरहेका थिए। अनि तिनीहरूले उहाँलाई सोधे, “के विश्रामको दिनमा कसैलाई निको पार्नु न्यायोचित छ?”
11 उहाँले भन्नुभयो, “यदि तिमीहरूमध्ये कसैको एउटा भेंडा़ छ, त्यो विश्रामकोदिनमा एउटा खाल्डामा खस्यो भने के आफ्नो हातले समातेर बाहिर तान्दैनौ? 12 एउटा मानिस भेंडा़ भन्दा धेरै असल हुन्छ। त्यसर्थ विश्रामको दिनमा भलो गर्न व्यवस्थाले दिन्छ।”
13 तब उहाँले त्यस डुँडेहात भएको मानिसलाई भन्नुभयो, “मलाई तिम्रो हात हेर्न देऊ।” त्यसले येशू भएतिर हात पसार्यो। अनि उसको हात, त्यो अर्को हात जस्तै निको भयो। 14 तर फरिसीहरू बाहिर गए अनि येशूलाई मार्नका निम्ति योजना बनाए।
येशू परमेश्वरद्वारा चुनिएको सेवक हुनुहुन्छ
15 फरिसीहरूले के गर्न लगिरहेका थिए सो येशूलाई थाहा भयो। अनि उहाँले त्यो ठाउँ छोड्नुभयो। धेरै मानिसहरूले उहाँलाई पछ्याउन लागे। उहाँले सबै रोगीहरूलाई निको पारी दिनुभयो। 16 उहाँ को हुनुहुन्छ भनेर मानिसहरूलाई केही नभन्नुभनी तिनीहरूलाई येशूले चेताउनी दिनुभएको थियो। 17 येशूले यी कुराहरू यशैया अगमवक्ताले भनेका कुराहरू पूर्ण गर्नका निम्ति गर्नु भयो।
18 “यहाँ मेरो दास छ,
मैले उसलाई चुनेको हुँ।
म उसलाई प्रेम गर्छु
अनि म उसित खुशी छु।
म मेरो आत्मा उसमा हालिदिनेछु,
अनि उसले नै अन्य राष्ट्रहरूमाथि न्यायको घोषणा गर्नेछ।
19 उसले झगडा गर्नेछैन न त चिच्याउने नै छ;
उसको स्वर कसैले पनि गल्लीहरूमा सुन्ने छैन।
20 उसले बाङ्गि सकेको निगालो भाँच्ने छैन।
उसले जलिहरेको दीयो निभ्दै जाँदैछ भनि निभाउने छैन।
उसले यी सबै गरिरहनेछ जबसम्म साँच्चो न्यायले विजय प्राप्त गर्दैन।
21 सबै राष्ट्रहरूले उहाँमाथिनै आशा गर्नेछन्।”(B)
दाऊदको भजन।
1 हे परमप्रभु, तपाईंको पवित्र पालमा को बस्न सक्छ?
तपाईंको पवित्र पर्वतमा को चढ्न सक्छ?
2 केवल त्यो मानिस बस्न सक्छ जसको जीवन पवित्र छ र जसले असल कामहरू गर्न सक्छ।
जसले सत्य बोल्छ, केवल त्यो मात्र तपाईंको पर्वतमा बस्न सक्छ।
3 यस्तो मानिसले अरूको विषयमा खराब बोल्दैन।
उसले आफ्नो छिमेकीको विरूद्धमा नराम्रो गर्दैन।
उसले आफ्ना परिवारका मानिसहरूको विषयमा लज्जाजनक कुराहरू गर्दैन।
4 त्यो मानिसले तिनीहरूलाई अस्वीकार गर्छ
जसले परमेश्वरलाई घृणा गर्छ।
तर उसले तिनीहरूलाई सम्मान गर्छ जसले परमप्रभुलाई आदर गर्छ।
यस्तो मानिसले आफूलाई हानि गराएर पनि आफ्नो प्रतिज्ञा कायम राख्छ।
5 उसले कसैलाई ऋण दिन्छ
तर ब्याज लिंदैन।
अनि निर्दोष मानिसहरूलाई नोक्सान पार्न घूस लिंदैन।
यदि ऊ कुनै असल मानिस जस्तै बाँच्छ भने
ऊ सदा परमेश्वरको नजिक हुनेछ।
21 हे मेरो छोरा, ज्ञानलाई तिम्रो विवेकशील दृष्टिबाट ओझेलमा नपार। विजयहरूमा नियालेर सोंच अनि होशियारीसित योजनाहरू बनाऊ। 22 ज्ञान र समझ-शक्तिले तिमीलाई जीवन दिनेछन र यसले तिम्रो जीवन सुन्दर पार्नेछ। 23 त्यसपछि तिमी सुरक्षित बस्नेछौ र तिम्रो पतन हुनेछैन। तिमी आफ्नो मार्गमा सुरक्षित भई हिँड्ने छौ कतै पल्टने छैनौ। 24 जब तिमी ओछ्यानमा पल्टनेछौ तिमीलाई डर लाग्दैन अनि सुत्दा घोर निद्रामा पर्नेछौ। 25 तिमी आकस्मिक विनाशमा कहिल्यै नडराउनु अथवा जुन विनाशमा दुष्ट मानिसहरू फँसिन्छन् त्यसमा कदापि नडराउनु। 26 किनभने परमप्रभु तिमीहरूको छेवैमा हुनुहुनेछ, यसर्थ उहाँले नै तिम्रो पाऊ कतै फँस्न दिनु हुन्न।
© 2004, 2010 Bible League International