The Daily Audio Bible
Today's audio is from the CEB. Switch to the CEB to read along with the audio.
यूसुफले जाल फिजाउँछ
44 तब यूसुफले आफ्नो नोकरलाई हुकुम गरे! यूसुफले भने, “यी मानिसहरू बोराहरूमा जति अन्न लिएर जान सक्छन् त्यति धेरै अन्न हालिदेऊ। अनि प्रत्येक मानिसको पैसा उसको अन्नको बोराभित्र हालिदेऊ। 2 कान्छो भाइको थैलोमा पैसा हालिदेऊ। तर उसको थैलोमा मेरो चाँदीको कचौरा पनि हालिदेऊ।” यूसुफको सेवकले उसलाई जस्तो गर्नु भनिएको थियो त्यस्तै गर्यो।
3 अर्कोदिन, एका बिहानै, सबै दाज्यू-भाइहरूलाई तिनीहरूको गधा समेत फर्काई आफ्नो देशतिर पठाइयो। 4 जब तिनीहरूले शहर नाघेका थिए यूसुफले आफ्नो नोकरलाई भने, “जाऊ अनि तिनीहरूलाई पछ्याऊ। तिनीहरूलाई रोकेर भन, ‘हामी तिमीहरूसित राम्रो थियौं, तर किन तिमीहरू हाम्रो निम्ति नराम्रो भयौ? मेरा मालिकको चाँदीको कचौरा किन चोर्यौ? 5 मेरा मालिकले यसै कचौराबाट पिउँछन् अनि गुप्तकुराहरू जान्नुको लागि यसलाई प्रयोग गर्छन्। तिमीहरूले जे गर्यौ त्यो साँच्चै धेरै नराम्रो हो।’”
6 यसर्थ त्यस नोकरले यूसुफको आज्ञा मानी सवारमा चढेर गयो अनि ती दाज्यू-भाइहरूलाई रोक्यो। यूसुफले तिनीहरूलाई जे भन्न लगाएको थिए त्यही उसले भन्यो।
7 तर ती दाज्यू-भाइहरूले त्यस नोकरलाई भने, “किन हजूरका, शासकले यी कुराहरू गर्छन्। हामीले त्यस्तो केही गर्दैनौ। 8 हामीले अघिल्लो पल्ट हाम्रो बोराहरूमा जुन पैसा पाएका थियौं त्यो पनि फर्काएर ल्यायौं। यसर्थ हामीले तिम्रो मालिकको घरबाट कुनै सुन अथवा चाँदी चोरेका छैनौं। 9 यदि त्यो चाँदीको कचौरा हामी मध्ये कसैको थैलामा भेटियो भने त्यो मरोस्। तिमीहरू आफैंले उसलाई मार्न सक्छौ अनि तब हामी तिमीहरूको कमारा हुनेछौं।”
10 नोकरले भने, “तिमीहरूले भने झैं गर्नेछौं। तर म मानिसको हत्या गर्दिन। जुन मानिससँग म चाँदीको कचौरा भेट्छु त्यो मानिस मेरो कमारा हुनेछ, तर अरू मानिसहरू स्वतन्त्र भएर जानेछन्।”
फिंजाइएको जालमा बिन्यामीन पर्यो
11 तब प्रत्येक भाइले आफ्नो थैलो छिटो-छिटो भूइँमा राखे। 12 त्यस नोकरले बोराहरू निरीक्षण गर्न थाल्यो। उनले सबभन्दा जेठोबाट शुरू गरेर कान्छोसम्म निरीक्षण गर्यो। उनले बिन्यामीनको बोरामा चाँदीको कचौरा भेट्यो। 13 ती दाज्यू-भाइहरू अत्यन्तै दुःखी भए। तिनीहरूले आफ्नो दुःख प्रदर्शनगर्न आफ्ना लुगाहरू च्याते। तिनीहरूले बोराहरू आफ्नो-आफ्नो गधमा चढाए र शहरतिर फर्के।
14 यहूदा अनि उसका दाज्यू-भाइहरू यूसुफको घरमा गए। यूसुफ त्यतिन्जेल त्यही थिए। ती दाज्यू-भाइहरू भूइँमा उनी अघि निहुरिए। 15 यूसुफले तिनीहरूलाई भने, “तिमीहरूले किन यस्तो कुरा गर्यो? के तिमीहरूलाई थाह छैन म जस्तो मानिससित अगमवाणी गर्ने अभ्यास अनि यस्तो वस्तु पत्तो लगाउने क्षमता छ?”
16 यहूदाले भने, “व्याख्या गर्ने कुनै बाटो छैन। हामी दोषी छैनौ भनी साबित गर्ने हामीसित कुनै सबूत नै छैन। परमेश्वरले मात्र दोषी मानिस पत्तो लगाउनु भएको छ। यसर्थ हामी दुवै अनि जसको थैलामा कचौरा भेटियो कमारा कै रूपमा सेवा गर्न तयार छौ।”
17 तर यूसुफले भने, “म तिमीहरू सबैलाई कमारा बनाउँदिन। त्यही मानिस मात्र कमारा हुनेछ जसले कचौरा चोरी गरेको छ। अरू तिमीहरू शान्तिसितै आफ्ना बाबु भएको भूमिमा जान सक्छौ।”
यहूदाले बिन्यामीनको निम्ति विन्ती गरे
18 त्यसपछि यहूदा यूसुफको नजिक गए अनि भने, “महाशय, दया गरी मलाई स्पष्टसित केही भन्न दिनु होस्। दया गरी मसित नरिसाउनु होस्। म जान्दछु तपाईं फिरऊन राजा सरह हुनुहुन्छ। 19 हामी अघिल्लो पाली यहाँ हुँदा तपाईंले सोध्नु भयो, ‘के तिम्रो बाबु अथवा दाज्यू-भाइहरू छन्?’ 20 हामीले उत्तर दियौं, ‘हाम्रा बाबु हुनुहुन्छ, उहाँ बूढो मानिस हुनुहुन्छ। अनि हाम्रो सानो भाइ पनि छ। हाम्रा बाबुले त्यसलाई खुबै प्रेम गर्नु हुन्छ कारण त्यो उहाँको वृद्ध अवस्थामा जन्मेको हो। त्यस सानो छोराको दाज्यू पनि मर्यो। यसर्थ त्यस आमाबाट जन्मेर बाँचेको छोरो त्यो मात्र हो। हाम्रा बाबुले उसलाई खुबै माया गर्नुहुन्छ।’ 21 तब तिमीले हामीलाई भनेका थियौ, ‘त्यसो भए त्यस भाइलाई मकहाँ लिएर आऊ।’ म उसलाई हेर्न चाहन्छु। 22 अनि हामीले तपाईंलाई भनेका थियौं, ‘त्यो भाइ आउन सक्तैन। उनले बाबुलाई छोड्न सक्तैन। यदि उसको बाबुले यसलाई पनि गुमाउनु परे तिनी अत्यन्तै शोकाकुल हुनेछन्। तिनी त्यही शोकमा मर्न पनि सक्छन्।’ 23 तपाईंले भन्नु भएको थियो, ‘तिमीले आफ्नो कान्छो भाइलाई मकहाँ अवश्य ल्याउनु पर्छ, होइन भने तिमीहरूले अन्न पाउँने छैनौ।’ 24 यसर्थ हामी आफ्ना बाबु भएको ठाउँमा गयौं अनि तपाईंले बताउनु भएका कुराहरू सबै उनलाई बतायौं।
25 “पछि हाम्रा बाबुले भन्नुभयो, ‘हाम्रो निम्ति तिमीहरू फेरि गएर अन्न किन।’ 26 अनि हामीले आफ्नो बाबुलाई भन्यौ, ‘हामी आफ्नो कान्छो भाइ नलिइ जान सक्तैनौ। शासकले भनेका छन् जबसम्म उनी हाम्रा कान्छो भाइलाई देख्दैनन् तबसम्म हामीलाई अन्न बेच्ने छैनन्।’ 27 तब हाम्रा बाबुले हामीलाई भन्नुभयो, ‘तिमीहरूलाई थाहा छ मेरी पत्नी राहेलले मेरो निम्ति दुइवटा छोरा जन्माइन्। 28 एकजनालाई मैले टाढा पठाएँ अनि जंङ्गली पशुहरूले उसलाई मार्यो। अनि अहिलेसम्म मैले उसलाई देखेको छैन। 29 अनि यदि अर्को छोरो पनि तिमीहरूले लगेर यदि उसलाई केही खतरा भए, तब मैले मेरो काल पर्खनु पर्दैन, त्यो मेरो निम्ति मृत्यु नै हुनेछ।’ 30 अब, सोच्नु होस् यदि हामी त्यसलाई नलिई गए के हुन्छ होला। हाम्रा बाबुको जीवनको महत्व पूर्ण अङ्ग नै यही केटो हो। 31 यदि हाम्रा बाबुले त्यस केटोलाई हामीसित नदेखे तिनी मर्नेछन् र त्यसमा हामी दोषी हुनेछौं। हामी आफ्ना शोकाकुल बाबुलाई चिहान भित्र पठाउने छौं।
32 “त्यस केटोको जिम्मादारी मैले लिएँ। मैले मेरो बाबुलाई भनें, ‘यदि मैले त्यस केटोलाई फर्काई ल्याइन भने तपाईंले मलाई सारा जीवनभरि दोष दिन सक्नु हुन्छ।’ 33 यसर्थ म तपाईंसित बिन्ती गर्छु, त्यस केटोलाई आफ्नो दाज्यूहरूसित फर्कन दिनु होस्, अनि म बस्छु र तपाईंको कमारो बनिन्छु। 34 यदि केटो मसँगै फर्किदैन भने म आफ्नो अनुहार बुबालाई देखाउन सक्दिनँ। यसले के आपत्ति मेरो बुबामाथि आउनेछ, म हेर्न भयभीत छु।”
यूसुफ भन्छ ऊ को हो
45 यूसूफले अब केही क्षण पनि आफूलाई नियन्त्रणमा राख्नु सकेन। तिनी त्यहाँ भएका सबै मानिसहरूको अघाडी रोए। यूसुफले भने, “प्रत्येकलाई यो ठाउँ छोडी जानु भन।” यसर्थ मानिसले त्यो ठाउँ छोडी दिए। खाली ती दाज्यू-भाइहरू मात्र यूसुफसित बसे। त्यसपछि यूसुफले तिनी को हुन् भने। 2 यूसुफ रोइरहे अनि फिरऊनको घरमा भएका जन्मै मिश्र देशीहरूले सुने। 3 यूसुफले उनका दाज्यू-भाइहरूलाई भने, “म तिमीहरूका भाइ यूसुफ हुँ। के मेरा बाबु कुशल हुनुहुन्छ?” तर दाज्यू भाइहरूले तिनलाई उत्तर दिएनन्। तिनीहरू अलमल्ल परे अनि घबराएका थिए।
4 यसर्थ यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई फेरि भने, “मकहाँ आऊ। म बिन्ती गर्छु, तिमीहरू मेरो नजिक आओ” यसर्थ तिनीहरू यूसुफको नजिकमा गए। अनि उनले तिनीहरूलाई भने, “म तिमीहरूको भाइ हुँ। म त्यही भाइ हुँ जसलाई तिमीहरूले मिश्र देशमा कमारोको रूपमा बेचेका थियौ। 5 अहिले चिन्ता नगर। तिमीहरू आफैंसित आफूले गरेको कार्यको निम्ति नरिसाऊ। मलाई यहाँ ल्याउनमा परमेश्वरको एउटा योजना हो। म यहाँ तिमीहरूको जीवन बचाउनुको निम्ति छु। 6 यस भयंकर अनिकाल दुइ बर्षसम्म चल्यो अनि अझै पाँच बर्षसम्म कुनै अन्न-बाली तथा उद्भिदको उब्जाऊ बिना अनिकाल चलिरहने छ। 7 यसर्थ तिमीहरूका मानिसहरूलाई बचाउनको निम्ति परमेश्वरले मलाई यस देशमा तिमीहरूभन्दा अगि पठाउनु भयो। 8 यसर्थ मलाई यहाँ पठाएकोमा तिमीहरूको कुनै दोष छैन। यो परमेश्वरको इच्छा थियो। परमेश्वरले मलाई फिरऊनको बुबा जस्तै बनाउनु भयो। म मिश्रको सम्पूर्ण भूमि अनि फिरऊनको घरको राज्यपाल हुँ।”
मिश्रमा इस्राएललाई निम्तो
9 यूसुफले भने, “चाँडो गर अनि मेरा बाबुकहाँ जाऊ। उनलाई भन उनका छोरो यूसुफले यो समाचार पठाएको छ।” परमेश्वरले मलाई मिश्रदेशको शासक बनाउनु भएको छ। यसर्थ मकहाँ आउनु। अबेर नगरी। अहिले नै आउनु। 10 तिमीहरू गोशेनमा मेरो नजिकै बस्न सक्छौ। तिमी, तिमीहरूका बाल-बच्चाहरू, नाति-नातिनाहरू साथै सबै तिम्रा पशुहरूलाई यहाँ स्वागत गरिन्छ। 11 म आउँदो पाँच बर्षसम्म हुने अनिकालमा तिमीहरूको हेरचाह गर्नेछु। यसर्थ तिमीहरू र तिमीहरूका परिवारहरूले आफूसँग भएका कुनै चीज पनि हराउने छैनौ।
12 यूसुफले आफ्ना दाज्यू-भाइहरूसित कुरा गरी रहे। उनले भने, “अब तिमीहरू जान्नेछौ म साँच्चै नै यूसुफ हुँ र तिमीहरूको भाइ बिन्यामीनले जान्दछ म यूसुफ नै हुँ। म तिमीहरूको भाइ तिमीहरूसितै बात गरी रहेको छु। 13 यसर्थ मेरा बुबालाई मैले मिश्र देशमा पाएको सम्मानको विषयमा भनिदेऊ। तिमीहरूले यहाँ देखेको प्रत्येक कुरा सुनाई देऊ। अब झट्टै जाऊ अनि मेरा बुबालाई यहाँ लिएर आऊ।” 14 त्यसपछि तिनको भाइ बिन्यामीनसित यूसुफले आलिङ्गन गरे अनि तिनीहरू दुवैजना रून शुरू गरे। 15 त्यसपछि यूसुफले आफ्ना सबै दाज्यू-भाइहरूलाई म्वाइँ खाए अनि तिनीहरूको निम्ति रोए। त्यसपछि उनका दाज्यू-भाइहरू उनीसँग कुरा गर्न थाले।
16 फिरऊनले थाहा पाए यूसुफका दाज्यू-भाइहरू त्यहाँ आएका थिए। फिरऊको राजमहलमा प्रत्येकले यो खबर चाल पाए। फिरऊन र उनका सेवकहरू यो खबर सुनेर खुशी भए। 17 यसकारण फिरऊनले यूसुफलाई भने, “तिम्रो दाज्यू-भाइहरूलाई भन तिनीहरूलाई जति अन्न चाहिन्छ लिएर कनान देशमा जाऊन। 18 आफ्ना दाज्यू भाइहरूलाई भन तिनीहरू आफ्नो बाबु र परिवारहरू लिएर यहाँ मकहाँ आउन्। जीवन निर्वाहको निम्ति म तिनीलाई यहाँको सब भन्दा असल भूमि दिनेछु अनि तिनीहरूले सबभन्दा असल भोजन गर्ने छन्।” 19 त्यसपछि फिरऊनले भने, “तिम्रा दाज्यू-भाइहरूलाई यहाँ भएका गाडीहरू मध्ये सबभन्दा असल चाँहि दिनु। तिनीहरूलाई भन ती गाडीहरूमा तिनीहरू कनान गएर आफ्ना बाबु र जहान, छोरा-छोरीहरू लिएर आउनु। 20 आफ्ना ती सर-समानहरूको फिक्री नगर जो तिमी आफूसँगै ल्याउन सक्दैनौ किनभने मिश्रका सर्वोत्तम वस्तुहरू तिनीलाई दिइनेछ।”
21 यसर्थ इस्राएलका छोराहरूले यसो गरे। फिरऊनले प्रतिज्ञा गरे झैं यूसुफले तिनीहरूलाई गाडीहरू दिए। तिनीहरूको यात्राको निम्ति प्रशस्त भोजन पनि दिए। 22 यूसुफले तिनीहरू प्रत्येकलाई सुन्दर लुगाको जोडा दिए। तर बिन्यामीनलाई चाँहि तिनले राम्रो लुगाले बनिएको पाँच जोडा दिए। बिन्यामीनलाई तिनले चाँदीको तीन सय सिक्का पनि दिए। 23 यूसुफले आफ्ना बाबुको निम्ति उपहारहरू पनि पठाए। तिनले दश गधामा लदाएर मिश्र देशको राम्रा-राम्रा समानहरू पठाइ दिए अनि आफ्ना बाबु लिएर आउनको लागि दशवटा छाउरी गधामा अन्न, रोटी र अरू भोजनहरू पूरा लादेर पठाए। 24 त्यसपछि यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई जाने अनुमति दिए। अनि जब तिनीहरू जान लागेका थिए यूसुफले तिनहरूलाई भने, “सरासरी घर जानु बाटोमा कतै लडाइँ नगर्नु।”
25 यसर्थ ती दाज्यू-भाइहरू मिश्र देश छोडी तिनीहरूका पिता भएका देश कनानमा गए। 26 दाज्यू-भाइहरूले उनलाई भने, “बाबु, यूसुफ अझसम्म जीवित छ। अनि त्यो समस्त मिश्र देशको शासक छ।”
तिनीहरूका बाबुले के सोच्नु पर्ने केही जानेन। प्रथम त, तिनले आफ्ना छोराहरूको कुरामा विश्वास गरेनन्। 27 तर तिनीहरूले उनलाई यूसुफले भनेको प्रत्येक कुरा बताए। अनि यूसुफले आफ्नो बाबुलाई मिश्र देश लिएर आउनु भनी पठाएको गाडीहरू याकूबले देखे। तिनी उत्तेजित र अत्यन्तै खुशी भए। 28 इस्राएलले भने, “अब म तिमीहरूलाई विश्वास गर्छु। मेरो छोरो यूसुफ अझ जीवित छ। मेरो मृत्युअघि म उसलाई भेट्न जानेछु।”
पाँचहजारभन्दा बढी मानिसहरूलाई भोजनको प्रबन्ध
(मर्कूस 6:30-44; लूका 9:10-17; यूहन्ना 6:1-14)
13 जब येशूले यूहन्नामाथि भएका घट्नाहरू सुन्नुभयो, उहाँ एउटा नाउमा चढेर निर्जन ठाउँमा जानूभयो। जब मानिसहरूले येशू गइसक्नु भएको कुरा थाहा पाए। तिनीहरूले आफ्नो शहर छाडेर जमीनको बाटो भएर येशूलाई पछ्याए। 14 जब येशू नाउबाट उत्रनुभयो, त्यहाँ उहाँले मानिसहरूको भीड देख्नुभयो। उहाँ तिनीहरूप्रति अत्यन्त टीठाउनु भयो, अनि तिनीहरूमा विरामी परेकाहरूलाई निको पार्नु भयो।
15 त्यसै अपरान्ह चेलाहरू येशू कहाँ पुगेर भन्नलागे, “यहाँ कुनै मानिस बस्दैनन्। अनि अब धेरे ढिलो भयो, तिनीहरूलाई पठाईदिनुहोस जसमा कि तिनीहरू आफैं गएर आफ्ना निम्ति खानेकुरा किन्न सकून्।”
16 येशूले भन्नुभयो, “मानिसहरू यहाँबाट नजाउन बरू तिमीहरू आफैंले तिनीहरूलाई केही खानेकुराको प्रबन्ध गरिदेऊ।”
17 चेलाहरूले भने, “तर हामीहरूसित जम्मा पाँचवटा रोटी र दुइवटा माछा मात्र छन्।”
18 येशूले भन्नुभयो, “ती रोटी र माछाहरू यहाँ ल्याऊ।” 19 त्यसपछि येशूले सबै मानिसहरूलाई घाँसमा पंक्ति मिलाएर बस्न लगाउनु भयो। उहाँले पाँचवटा रोटी र दुइवटा माछा लिनुभयो। उहाँले आकाशतर्फ हेरेर परमेश्वरलाई धन्यवाद दिनुभयो। त्यसपछि उहाँले रोटीहरू टुक्रा पारेर चेलाहरूलाई ती रोटी दिनुभयो, अनि चेलाहरूले चाँही रोटी मानिसहरू माझ बाडिदिए। 20 सबैले खाए र सन्तुष्ट भए। सबै मानिसहरूले खाना खाइसके, पछि चेलाहरूले उब्रिएका टुक्राहरू बटुलेर बाह्रवटा टोकरीहरूमा भरे 21 त्यहाँ स्त्रीहरू र केटाकेटीहरू बाहेक प्राय पाँच हजार मानिसहरू थिए।
येशू पानी माथि हिँड्नु भयो
(मर्कूस 6:45-52; यूहन्ना 6:16-21)
22 तब येशूले चेलाहरूलाई डुङ्गामा चढेर झीलको अर्कोतर्फ जान लगाउनु भयो। उहाँले आफू पछि आउने कुरा भन्नुभयो। मानिसहरूलाई घर पठाउनका निम्ति येशू त्यहाँ बस्नुभयो। 23 मानिहरूलाई बिदा गरिसकेपछि, येशू एक्लै प्रार्थना गर्नलाई डाँडामा चढनुभयो। अबेर सम्म उहाँ एक्लै त्यहाँ बस्नुभयो। 24 यसबेलासम्म डुङ्गा धेरै टाढा पुगिसकेको थियो। हावा विपरित दिशाबाट चलेको कारणले छालहरूले गर्दा डुङ्गालाई कठीन परिरहेथ्यो।
25 बिहानको पहिलो प्रहारतिर, येशूका चेलाहरू डुङ्गामा नै थिए। येशू पानीमाथि हिँड्दै तिनीहरू भएतिर जानुभयो। 26 उहाँलाई पानीमा हिड्दै गरेको देखेर चेलाहरू डराउन लागेका थिए। “यो भूत हो।” तिनीहरू डरले चिच्याए।
27 तर येशूले तत्कालै भन्नुभयो, “साहसी होऊ यो म हुँ। डराउनु पर्दैन।”
28 पत्रुसले भने, “प्रभु, यदि वास्तवमा तपाईं नै हुनुहुन्छ भने, मलाई पानीमाथि हिँडेर तपाईंकहाँ आउन भन्नुहोस्।”
29 येशूले भन्नुभयो, “आऊ पत्रुस।”
त्यसपछि पत्रुसले डुङ्गा छोडे र पानिमाथि हिंड्दै येशू भएकहाँ गए। 30 पानीमाथि हिंडदा पत्रुसले तेज बतास र छालहरू आएको देखे। अनि भयभीत भए। उनी भयभीत भए र पानीमा डुब्नलागे। उनी चिच्याए, “प्रभु, मलाई बचाउनुहोस्।”
31 त्यसपछि येशूले पत्रुसको हात समात्नु भयो। उहाँले भन्नुभयो, “ए अल्पविश्वासी तिमी किन शंका गर्छौ?”
32 जब पत्रुस र येशू दुवै डुङ्गामा चढे आँधी पनि थामियो। 33 डुङ्गामा भएका चेलाहरूले येशूलाई आराधना गर्दै भन्न लागे, “साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।”
येशूले धेरै बिमारी मानिसहरूलाई निको पार्नुभयो
(मर्कूस 6:53-56)
34 त्यसपछि उहाँहरू झील तरेर गनेसरेतको किनारमा पुग्नुभयो। 35 त्यस ठाउँका मानिसहरूले येशूलाई देखे। उहाँ वास्तवमा को हुनहुन्छ भनेर तिनीहरूले जान्न पाए। तिनीहरूले त्यस क्षेत्र वरिपरिका सबै मानिसहरूलाई येशू त्यहाँ आउनु भएको छ भनेर खबर फैल्याए। धेरै रोगीहरूलाई येशूकहाँ पुर्याए। 36 तिनीहरूले उहाँको लुगाको किनार मात्र पनि छुनलाई अनुमति माँगे ताकि तिनीहरूको बिमार जाति होस्।
37 त्यसपछि म मेरा शत्रुहरूलाई खेद्न र पक्रन सक्छु
तिनीहरूलाई ध्वंश नगरीकन म फर्केर आउने छैन!
38 म शत्रुहरूलाई नाश गर्नेछु तिनीहरू फेरि उठ्ने छैनन्।
सम्पूर्ण शत्रुहरू मेरो पैतालामुनि हुनेछन्।
39 हे परमेश्वर, तपाईंले मलाई शक्तिशाली बनाउनु भयो,
युद्धमा तपाईंले मेरो शत्रुहरूलाई मेरो अघि झुकाउनु भयो।
40 तपाईंले मलाई मेरा शत्रुहरूका घिंच्रोमा हिर्काउने
र मेरा विरोधीहरूलाई ध्वंश पार्ने मौका दिनुभयो।
41 मेरा शत्रुहरूले सहयोगको लागि गुहारे,
तर त्यहाँ तिनीहरूलाई बचाउने कोही पनि थिएन।
तिनीहरूले परमप्रभुलाई समेत गुहारे,
तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन।
42 मैले मेरो शत्रुहरूलाई धूलो पिठो पारेर कुटें।
तिनीहरू बतासमा उडाइएको धूलो जस्तो भए।
मैले तिनीहरूलाई धूलो पिठो पारिदिएँ।
43 मलाई ती मानिसहरूसँग जोगाउनु होस् जो मेरो विरूद्ध लडाइँ गर्छन्।
मलाई जातिहरूका अगुवा बनाउनु होस्।
मलाई नचिन्ने मानिसहरूले पनि मेरो सेवा गरून्।
44 ती मानिसहरूले मेरो विषयमा सुन्नेछन् अनि झट्टै मेरो आज्ञा पालन गर्नेछन्।
ती विदेशीहरू मदेखि भयभित हुनेछन्।
45 ती विदेशीहरू डरले काम्नेछन्।
तिनीहरू आफू लुकेका ठाउँहरूबाट डरले काम्दै निस्कने छन्।
46 परमप्रभु जीवित हुनुहुन्छ,
म मेरो चट्टानलाई प्रशंसा गर्छु।
किनभने उहाँ महान् हुनुहुन्छ!
47 मेरो निम्ति परमप्रभुले मेरो शत्रुहरूलाई दण्ड दिनुभयो।
उहाँले मानिसहरूलाई आफ्नो अधीनमा राख्नु भयो।
48 हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूबाट मलाई बचाउनु भयो जो मेरो विरूद्ध उभिए,
तिनीहरूलाई पराजित गर्न मलाई सहयोग गर्नुभयो।
मलाई अत्याचारी मानिसहरूबाट जोगाउनु भयो।
49 हे परमप्रभु, यही कारणले ती जातिहरूको बीचमा म तपाईंको स्तुति गर्छु।
यही कारणले गर्दा म तपाईंको नाउँको गीत गाउँछु।
50 परमप्रभुले आफ्ना राजालाई धेरै युद्धहरूमा सहयोग गर्नुहुन्छ!
उहाँले आफ्नो स्नेहपूर्ण करूणा आफूले अभिषेक गर्नु भएको राजालाई देखाउनु हुन्छ।
उहाँ दाऊद र उनका सन्तानहरूसित सघैंको लागि विश्वासयोग्य रहनुहुनेछ।
11 म तिमीलाई ज्ञानको बाटोको शिक्षा दिइरहेको छु अनि मैले तिमीलाई सोझोबाटोमा डोर्याइरहेको छु 12 जब तिमी अघि बढ्छौ, तिम्रो खुट्टा जालमा पर्ने छैन अनि जब तिमी दगुर्छौ तिमीलाई ठेस लाग्ने छैन। 13 अर्तीलाई समातिराख अनि यसलाई जान नदेऊ। यसमाथि नजर राख किनभने ऊ तिम्रो जीवन हो।
© 2004, 2010 Bible League International