Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CEB. Switch to the CEB to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उत्पत्ति 42:18-43:34

शिमोनलाई बन्धक झैं राख्यो

18 तीन दिनपछि यूसुफले तिनीहरूलाई भने, “म परमेश्वरको डर मान्ने मानिस हुँ। मैले भनेको मान तब म तिमीहरूलाई बाँच्ने मौका दिन्छु। 19 यदि तिमीहरू साँच्चै नै इमानदार मानिसहरू हौ भने, तिमीहरू मध्ये एक भाइ यही झ्यालखानमा रहन सक्छ। अनि अन्य भाइहरू तिमीहरूका मानिसहरूको निम्ति अन्न लिएर फर्किन सक्छन्। 20 तर तिमीहरूको कान्छो भाइ लिएर तिमीहरू फर्की आउनै पर्छ। तब मात्र म थाहा पाउने छु तिमीहरूले साँच्चो बोलिरहेका छौ अनि तिमीहरूले मर्नु पर्ने छैन।”

दाज्यू-भाइहरू यसमा सहमत भए। 21 तिनीहरूले एकार्कामा कुरा गरे, “हामीले हाम्रो भाइ यूसुफलाई नराम्रो कुरा गरेकोले दण्ड भोगिरहेका छौं। उनले भोगेको कष्ट हामीले देख्यौं, उनले आफ्नो बचाऊको निम्ति हामीसित प्रार्थना गर्यो तर हामीले उसको प्रार्थना अस्वीकार गर्यौ। यसर्थ अहिले हामीहरूले कष्ट भोगिरहेका छौं।”

22 त्यसपछि रूबेनले तिनीहरूलाई भने, “मैले त्यस केटोलाई नराम्रो केही नगर्नु भनी तिमीहरूलाई भनेको थिएँ। तर तिमीहरूले मेरो सल्लाह मानेनौ। यसर्थ अहिले उसको मृत्युको सट्टामा हामी दण्ड भोगिरहेका छौं।”

23 आफ्ना दाज्यू-भाइहरूसित कुरा गर्नको निम्ति यूसुफले एकजना अनुवादक राखेका थिए। यसर्थ उनका भाइहरूले तिनीहरूको भाषा बुझे भनी जान्न सकेनन्। तर तिनीहरूले के-के कुरा गरे तिनले सुने र बुझे। 24 तिनीहरूको कुराले यूसुफ अत्यन्तै दुःखी भए। यसर्थ उनी तिनीहरूबाट अलग भए अनि रोए। केही क्षणपछि यूसुफ तिनीहरू समक्ष गए। उनले शिमोनलाई समाते अनि बाँधे तर अरू दाज्यू भाइहरूले हेरिरहे। 25 यूसुफले केही नोकरहरूलाई तिनीहरूका बोरामा अन्न भर्न लगाए। ती दाज्यू-भाइहरूले यूसुफलाई अन्नको दाम दिए। तर यूसुफले तिनीहरूले तिरेको अन्नको पैसा तिनीहरूकै अन्नको बोरामा हालिदिए। त्यसपछि यूसुफले तिनीहरूलाई घर फर्कदा बाटोमा आवश्यक पर्ने चीजहरू दिए।

26 यसर्थ ती दाज्यू-भाइहरू अन्नको बोरा गधामा लादेर त्यहाँबाट हिंडे। 27 त्यस रात तिनीहरू एक ठाउँमा बास बसे। तिनीहरू मध्ये एकजनाले गधालाई खुवाउँनु आफ्नो थैलो खोल्यो। अनि त्यस थैलोमा उनले तिरेको पैसा पायो। 28 उनले आफ्नो दाज्यू-भाइहरूलाई भने, “हेर, मैले अन्नको निम्ति दिएको पैसा यहाँ छ। कसैले मेरो थैलोमा पैसा राखेको हुन सक्छ।” त्यस समय ती दाज्यू-भाइहरूको साहस हरायो अनि डराए। तिनीहरू एक-अर्कातिर फर्किए अनि भने, “परमेश्वर हामीमाथि के गर्नु हुँदैछ?”

दाज्यू-भाइहरूले याकूबलाई बताए

29 कनानका ती दाज्यू-भाइहरू आफ्ना बाबु याकूबकहाँ पुगे। तिनीहरूले याकूबलाई के भएको थियो प्रत्येक कुरो बताए। 30 तिनीहरूले भने, “त्यस देशका शासकले हामीसित निष्ठुर शब्दमा कुरा गरे। तिनले हामी जासूस हौ पनि भने। 31 तर तिनलाई हामीले भन्यौं हामी जासूस होइनौं, हामी इमानदार मानिसहरू हौं। 32 हामीले तिनलाई भन्यौं हामीहरू बाह्र भाइ छौं। हामीले आफ्नो बुबाको विषयमा भन्यौं र यो पनि भन्यौं हाम्रो सब भन्दा कान्छो भाइ कनान देशमा नै छ।

33 “तब ती प्रशासकले हामीलाई भने, ‘तिमीहरू इमानदार मानिसहरू हौ भनी प्रमाण गर्ने एउटा उपाय छ। तिमीहरू मध्ये एकजनालाई मसित छोड अनि अरू भाइहरू आफ्ना मानिसहरूको निम्ति अन्न लिएर फर्क। 34 त्यसपछि तिमीहरूको कान्छो भाइ लिएर मकहाँ आऊ, तब म बुझ्ने छु तिमीहरू साँच्चै इमानदार मानिसहरू हौ अथवा हामीलाई नष्ट पार्ने सेनाको पक्षका तिमीहरू एउटा सेनाद्वारा हामीहरूलाई नष्ट पार्नु पठाएका हौ। यदि तिमीहरूले साँच्चो भनेका रहेछौ र इमानदार ठहरियौ भने आफ्नो भाइ फिर्ता पाउनेछौ। म उसलाई दिनेछु र तिमीहरू पनि हाम्रो देशमा अन्न किन्न स्वतन्त्र हुनेछौ।’”

35 त्यसपछि ती दाज्यू-भाइहरूले आ-आफ्नो बोराहरूबाट अन्न बाहिर निकाल्न शुरू गरे अनि प्रत्येकले आफ्नो पैसाको थैलो आफ्नो अन्नको बोरामा पाए। ती दाज्यू-भाइहरू र तिनीहरूका बाबुले पैसा देखे र खुबै डराए।

36 याकूबले तिनीहरूलाई भने, “के तिमी मैले मेरा सबै नानीहरू गुमाएको चाहन्छौ? यूसुफ गए, शिमोन पनि गए अनि अहिले तिमी मबाट बिन्यामीनलाई पनि छुट्‌याउन चाहन्छौ।”

37 तर रूबेनले आफ्नो बाबुलाई भने, “बुबा! यदि मैले बिन्यामीनलाई फर्काएर तपाईंकहाँ नल्याए मेरा दुवै छोराहरू मारिदिनु होस्। विश्वास गर्नु होस्, म बिन्यामीनलाई फर्काएर ल्याउँने नै छु।”

38 तर याकूबले भने, “म बिन्यामीनलाई तिमीहरूसित जान दिंदिन। उसको दाज्यू मर्यो अनि मेरी पत्नी राहेलबाट जन्मेको छोरो यो मात्र छ। मिश्र देश जाँदा यसलाई बाटोमा केही भए त्यस घटनाले मेरो मृत्युलाई निम्त्याउने छ। एक अति शोकाकुल बूढो मानिसलाई तिमीहरूले चिहानमा गाड्नेछौं।”

याकूबले बिन्यामीनलाई मिश्रदेश जान दिन्छन्

43 त्यस देशमा अनिकालको प्रकोप साह्रै थियो। मानिसहरूले मिश्र देशबाट ल्याएको सबै अन्न खाइसके। जब अन्न सकियो, याकूबले आफ्ना छोराहरूलाई भने, “हामीले खानुको निम्ति अझ केही अन्न किन्न मिश्र देश जानु पर्छ।”

तर यहूदाले याकूबलाई भने, “तर त्यस देशको शासकले हामीलाई चेताउनी दिएकाछन्। उनले भने, ‘यदि तिमीहरूले आफ्नो भाइ मकहाँ लिएर आएनौ भने म तिमीहरूसित कुरा गर्ने छैन।’ यदि तपाईं बिन्यामीनलाई हामीसित पठउनु हुन्छ भने, मात्र हामीहरू अन्न किन्नु जान सक्छौ। तर यदि तपाईं उसलाई पठाउन अस्वीकार गर्नु भयो भने तब हामी जानेछैनौ। त्यस मानिसले बिना बिन्यामीन हामीलाई त्यहाँ जानु होशियारी गराएकाछन्।”

इस्राएलले भने, “उसलाई तिमीहरूले अर्को पनि भाइ छ भनी किन भन्यौ? तिमीहरूले मेरो निम्ति यस्तो नराम्रो काम किन गर्यौ?”

ती दाज्यू-भाइहरूले जवाफ दिए, “उनले हामी र हाम्रा कुटुम्बका विषय धेरै जान्न खोज्थ्यो र उनले हामीलाई थुप्रै प्रश्नहरू गर्यो। उनले हामीलाई सोध्यो, ‘के तिम्रा दाज्यू-भाइहरू अझ बाँचेका छन्? घरमा अझ कोही भाइहरू छन् छैनन्?’ हामीले खाली उसको प्रश्नहरूको उत्तर मात्र दियौं। हामीले जानेका थिएनौ उनले भाइ लिएर मात्र आइज भन्छ।”

त्यसपछि यूहदाले आफ्नो बाबु इस्राएललाई भने, “बिन्यामीन मसित जाओस्। म उसको हेरचाह गर्नेछु। हाम्रो निम्ति अन्न लिनु हामी मिश्र देश जानै पर्छ। यदि हामी गएनौं भनें हाम्रा नानीहरू हामीहरूसँगै मर्नेछन्। म तिमीलाई विश्वास दिलाउँछु हाम्रो भाइ सुरक्षित रहनेछ। यसको लागि म सम्पूर्ण दायित्व लिने छु। यदि मैले उसलाई फर्काउन सकिन भने तिमीले मलाई सधैँ दोष दिन सक्छौ। 10 यदि तपाईं हामीलाई अघाडी नै जान दिएको भए, अहिलेसम्म दुइ चोटी अन्न लिएर आई सक्ने थियौं।”

11 त्यसपछि तिनीहरूका बाबु इस्राएलले भने, “यदि यो सही रूपमा नै साँचो हो भने, तब बिन्यामीनलाई तिमीहरूसँगै लिएर जाऊ। तर त्यस शासकको निम्ति केही उपहारहरू लैजाऊ। हामीले आफ्नो भूमिमा उब्जाएका चीजहरूबाट केही लिएर जाऊ। केही सुगन्धित मसला, अलिकती मह, अलिकता, सुगन्धित लेप, मूर्र, पेक्ता, र हाडे-बदाम लिएर जाऊ। 12 यसपाली तिमीहरूसँग भएको पैसा भन्दा पनि दुइ गुणा वेशी लिएर जाऊ। हुन सक्छ शासकले भूल गरे होलान, यसर्थ तिमीहरूलाई फर्काई दिएको पैसा पनि लिएर जाऊ। 13 बिन्यामीनलाई त्यस मानिसकहाँ लिएर जाऊ। 14 म प्रार्थना गर्छु जब तिमी त्यो प्रशासकअघि उभिन्छौ सर्वशक्तिमान परमेश्वरले सहायता गर्नु हुनेछ। म प्रार्थना गर्छु उनले बिन्यामीन र शिमोनलाई सुरक्षित फर्कन दिनेछन। यदि यस्तो भएन भने, म फेरि पुत्र शोकले व्याकुल हुनेछु।”

15 यसर्थ ती दाज्यू-भाइहरूले शासकलाई दिनको निम्ति उपहार लगे। तिनीहरूले पहिलो पाली लगेको भन्दा दोबर रकम पनि लिएर गए। यस पल्ट बिन्यामीन आफ्नो दाज्यूहरूसँग मिश्र देश गए।

दाज्यू-भाइहरूलाई यूसुफको घरमा निम्त्याइयो

16 मिश्र देशमा यूसुफले तिनीहरूसँग बिन्यामीनलाई देखे। यूसुफले आफ्ना नोकरलाई भने, “ती मानिसहरूलाई मेरो घरमा लिएर जाऊ। एउटा पशु मार अनि पकाऊ, यिनीहरू आज दिउँसो मसित भोजन खानेछन्।” 17 उसलाई जे भनिएको थियो नोकरले त्यही गर्यो। उनले ती मानिसहरूलाई यूसुफको घरमा ल्यायो।

18 जब ती दाज्यू-भाइहरूलाई यूसुफको घरमा लगियो तिनीहरू डराए। तिनीहरूले भने, “अस्तिको पाली हाम्रो बोराहरूमा पैसा हालेर फर्काइएको थियो त्यसैकारण हामीलाई यहाँ ल्याइयो। त्यो तिनीहरूले हाम्रो बिरूद्धमा अस्त्र बनाउने छन्। अनि तिनीहरू हाम्रो गधाहरू चोरेर लगी हामीलाई कमारा बनाउनेछन्।”

19 यसर्थ ती दाज्यू-भाइहरू यूसुफको घरको नोकरहरूको मुखियाकहाँ गए। 20 तिनीहरूले भने, “महाशय, म प्रतिज्ञा गर्छु यो सत्य हो, अस्तिको पाली हामी अन्न किन्न आयौं। 21 तर जब हामीहरूले रात बिताउनु पर्ने ठाउँमा आई पुग्यौं, हामीले आफ्नो बोरा खोल्यौं तब बोराको मुखमा नै हामीहरूले तिरेको पुरै रकम पायौं। अहिले हामीले यहाँ ल्याएका छौं। 22 अनि अहिले फेरि पनि अन्न किन्नको निम्ति अरू रकम ल्याएका छौं। हामी जान्दैनौ कसले त्यो रकम हाम्रो बोरामा राख्यो।”

23 तब नोकरले उत्तर दियो, “तिमीहरू शान्तिसित बस। नडराऊ। तिमीहरूका परमेश्वर, तिमीहरूको बाबुका परमेश्वरले नै तिमीहरूको निम्ति बोरामा धन राखिदिएको हुनसक्छ। तिमीहरूले तिरेको रकम मैले पाएकै हुँ।”

त्यसपछि त्यस नोकरले तिनीहरू भएको ठाउँमा शिमोनलाई ल्यायो। 24 तब उनले तिनीहरूलाई यूसुफको घरमा ल्याए अनि पानी दिए। तिनीहरूले तिनको खुट्टा धोए। उसले तिनीहरूको गधाहरूलाई पनी खुवायो।

25 यूसुफले पनि मध्य दिनको भोजन तिनीहरूसित खानेछन् भनी सुनेकोले त्यसपछि तिनीहरूले यूसुफलाई दिइने उपहार तयार राखे।

26 यूसुफ घरमा आए अनि दाज्यू-भाइहरूले तिनीहरूसित ल्याएको उपहारहरू तिनलाई दिए। त्यसपछि तिनीहरू तिनको अगाडी भूइँमा निहुरिए।

27 यूसुफले तिनीहरूलाई आफ्नो भलोकुशल सोधपूछ गरे। यूसुफले भने, “तिमीहरूले आफ्नो बूढो बाबुको बारेमा बताएका थियौ, तिनी अझै जीवित अनि स्वस्थ हुनुहुन्छ?”

28 ती दाज्यू-भाइहरूले जवाफ दिए, “ज्यू हजुर, उहाँ जीवित हुनु हुन्छ।” अनि तिनीहरू फेरि यूसुफअघि निहुरिए।

29 त्यसपछि यूसुफले आफ्नो भाइ बिन्यामीनलाई देखे। (बिन्यामीन र यूसुफकी एउटै आमा हुन्।) यूसुफले भने, “तिमीहरूले मलाई बताएको कान्छो भाइ यही हो?” त्यसपछि यूसुफले बिन्यामीनलाई भने, “हे बाबू, परमेश्वरले तिमीलाई आशीर्वाद दिनु हुनेछ।”

30 तब यूसुफ हतारिएर कोठा छोडे किनभने तिनी आफ्ना दाज्यू-भाइहरूको मनोभावले व्याकुल भएका थिए अनि रून चाहन्थे। तिनी आफ्नो कोठाभित्र पसे अनि रोए। 31 त्यसपछि यूसुफ मुख धोएर बाहिर आए। तिनले आफौंलाई वशमा राखेर भने, “अहिले भोजन गर्ने समय हो।”

32 यूसुफले एक्लै एउटा टेबलमासँगै भोजन खाए। उनका भाइहरूले अर्को एउटा टेबलमा भोजन खाए। मिश्र देशबासीहरूले अर्को टेबलमासँगै भोजन खाए। तिनीहरूको विश्वास थियो हिब्रु मानिसहरूसँगै बसेर खानु राम्रो होइन। 33 यूसुफका दाज्यूभाइहरू तिनकै टेबल अघि बसेका थिए। तिनीहरू जेठादेखि कान्छासम्म उमेर अनुसार लहरै बसेका थिए। के भइरहेको छ सबै दाज्यूभाइहरूले एका-अर्कामा आश्चर्यमानी हेरिरहेका थिए। 34 नोकरहरूले यूसुफको टेबलबाट भोजन ल्याएर तिनीहरूलाई दिन्थे। तर ती नोकरहरूले बिन्यामीनलाई अरू दाज्यूभाइहरूलाई भन्दा पाँच गुणा वेशी दिन्थे। ती दाज्यूभाइहरू नअघाउञ्जेलसम्म यूसुफसँगै खाए।

मत्ती 13:47-14:12

माछामार्ने जालको उखान

47 “स्वर्गको राज्य समुद्रमा हानेको एउटा महा-जाल जस्तै हो। त्यो जालमा विभिन्न किसिमका माछाहरू परे। 48 त्यो जालभरि माछा थिए। तब जालहारीले त्यो जाललाई किनारमा ताने, भुईंमा बसेर तिनीहरूले राम्रो किसिमका माछाहरू छुट्याउन र आफ्नो टोकरीमा हाल्न थाले। अनि तिनीहरूले नराम्रा किसिमका माछाहरू फ्याँकिदिए। 49 जगतको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आइपुग्ने छन् अनि राम्रा मानिसहरूबाट नराम्रा मानिसहरूलाई अलग गर्नेछन्। 50 स्वर्गदूतहरूले तिनीहरूलाई जल्दो भट्टीमा फालिदिनेछन्। ती मानिसहरू पीडाले रूनेछन् दाँत किट्नेछन्।”

51 तब येशूले आफ्ना शिष्यहरूलाई सोध्नुभयो, “के यी सुबै कुराहरू तिमीहरूले बुझ्यौ?”

तिनीहरूले जवाफ दिए, “ज्यु प्रभु, हामीले बुझ्यौं।”

52 तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “प्रत्येक शास्त्री जसले स्वर्गको राज्यको विषयमा सिकेको एउटा घरको मालिक जस्तै हुन्। उसले आफ्नो घरमा पुराना र नयाँ चीजहरू जोगाई राखेको हुन्छ। अनि उसले ती पुराना र नयाँ चीजहरू बाहिर झिक्दछ।”

येशू आफ्नो शहर जानुहुन्छ

(मर्कूस 6:1-6; लूका 4:16-30)

53 यसरी उखानहरूमा शिक्षा दिइसकेपछि येशूले त्यो स्थान छाड्नु भयो। 54 येशू आफू हुर्किएको ठाउँमा पुग्नुभयो। येशूले सभा घरमा तिनीहरूलाई शिक्षा दिनुभयो। मानिसहरू उहाँ देखि अचम्मित भए। यसकारण तिनले आपसमा कुरा गरे, “चमत्कारहरू गर्ने यस्तो बुद्धि र शक्ति यिनले कहाँबाट पाए? 55 यिनी उही सिकर्मीका पुत्र हुन्। अनि उनकी आमा मरियम हुन्। याकूब, यूसुफ, शिमोन र यहूदा उनका भाइहरू हुन्। 56 अनि उनका सबै बहिनीहरू अहिले हामीसँग छन्। यसर्थ, उनले यी कुराहरू गर्ने यत्रो बुद्धि र शक्ति कहाँबाट पाए?” 57 यसर्थ मानिसहरूले येशूलाई स्वीकार गर्न सकेनन्।

तर येशूले तिनीहरूलाई भन्नुभयो, “अरू मानिसहरूले अगमवक्तालाई आदर गर्छन्। तर आफ्नो शहरमा र आफ्नै घरमा भएका मानिसहरूले अगमवक्तालाई त्यसरी उनको जस्तो आदर गर्दैनन्।” 58 त्यस ठाउँका मानिसहरूले येशूलाई विश्वास नगरेका हुनाले उहाँले त्यहाँ त्यति धेरै आश्चर्यकर्महरू देखाउनु भएन।

हेरोदले येशूको बारेमा जानकारी लिए

(मर्कूस 6:14-29; लूका 9:7-9)

14 त्यस समयमा हेरोदले, गालिलका शासकबाट येशूको बारेमा खबर सुनेका थिए। हेरोदले आफ्ना नोकरहरूलाई भने, “यो मानिस साँच्चै बप्तिस्मा दिने यूहन्ना हुन्। उनी मृत्युबाट बौरी उठेछ। यसैले यत्रो आश्चर्यकर्महरू गर्न सक्छ।”

बप्तिस्मा दिने यूहन्ना कसरी मारिए

यसअघि हेरोदले यूहन्नालाई कैद गरेका थिए। हेरोदले यूहन्नालाई साङ्गलोले बाँधेर कैदमा हालेका थिए हेरोदियासको कारणले। हेरोदियास, हेरोदको दाज्यू फिलिपकी पत्नी थिइन्। यसो भनेका थिए, “तपाईं हेरोदले बुहारीलाई पत्नि बनाएर राख्नु ठीक हुदैन यसकारण यूहन्नालाई पक्रेको थिए।” तर मानिसहरूदेखि उसलाई डर थियो। मानिसहरूले यूहन्नालाई एकजना अगमवक्ता भनी विश्वास गरेका थिए।

हेरोदको जन्म दिनमा, हेरोदियासकी छोरीले हेरोद र तिनका अतिथिहरूका निम्ति नाचेर देखाई। हेरोद खूबै खुशी भए। अनि उसले चाहेको कुनै पनि चीज दिने वचन हेरोदले दिए। के चाहिँ माग्नु पर्ने हो हेरोदियसले आफ्नी छोरीलाई सोधी। यसर्थ उसले हेरोदसँग माँगी, “कृपया बप्तिस्मा दिने यूहन्नाको टाउको मलाई एउटा थालमा दिनुहोस्।”

राजा हेरोद खूबै दुःखी भए। तर छोरीले जे चाहन्छे त्यो उसलाई दिने शपथ उनले लिएका थिए। अनि हेरोदसँगै खाने मेचमा बसेका मानिसहरूले पनि यो (शपथ) सुनेका थिए। उसले आफ्नी छोरीले चाहेको कुरा ल्याउने आदेश दिए। 10 यसर्थ उनले केही मानिसहरूलाई पठाए अनि तिनीहरूले कैदमा परेका यूहन्नाको टाउको काट्न लगाए। 11 तिनीहरूले यूहन्नाको टाउको एउटा थालमा ल्याए र त्यस केटीलाई दिए। उसले यूहन्नाको टाउको आफ्नी आमा हेरोदियास कहाँ लगे। 12 यूहन्नाका चेलाहरू आए र तिनको देह लगेर गाडे। अनि तिनीहरू येशूकहाँ गए र भएका घट्नाहरूको वर्णन गरे।

भजनसंग्रह 18:16-36

16 परमप्रभु माथिबाट ओर्लेर तलसम्म पुग्नु भयो र मलाई बचाउँनु भयो।
    परमप्रभुले मलाई समात्नु भयो र गहिरो पानीबाट तानेर निकाल्नुभयो।
17 मेरा शत्रुहरू म भन्दा बलिया थिए, तिनीहरूले मलाई घृणा गर्दथे।
    मेरा लागि मेरा शत्रुहरू एकदम शक्तिशाली थिए, यसर्थ परमेश्वरले मलाई बचाउनु भयो।
18 म विपत्तिमा थिएँ, र मेरा शत्रुहरू ममाथि आइलागे।
    तर परमप्रभु मेरो सहयोगको लागि त्यहाँ हुनुहुन्थ्यो!
19 परमप्रभुले मलाई प्रेम गर्नु हुन्छ यसैले उहाँले मलाई बचाउनु भयो।
    उहाँले मलाई सुरक्षित ठाउँमा ल्याउनु भयो।
20 म निर्दोष छु, यसैकारण उहाँले मलाई पुरस्कार दिनुहुनेछ।
    मैले अलिकति पनि गल्ती काम गरिनँ, यसैकारण उहाँले मेरो निम्ति राम्रो काम गर्नुहुनेछ।
21 किनभने मैले उहाँका आज्ञाहरू पालन गरेकोछु!
    मैले परमेश्वरको विरूद्धमा पाप काम गरेकोछैन।
22 म सधैँ उहाँको निर्णयहरूलाई सम्झना गर्छु।
    म उहाँको नियमहरू मान्दछु!
23 म उहाँसँग पवित्र र ईमान्दार थिएँ,
    मैले अधर्मका कामहरू गर्नदेखि आफूलाई अलग राखें।
24 यसैकारण परमप्रभुले मलाई पुरस्कार दिनु हुनेछ।
किनभने म निर्दोष छु! परमेश्वरको दृष्टिमा मैले सानो भूल पनि गरिनँ।
    यसैकारण उहाँले मप्रति राम्रै व्यवहार गर्नुहुन्छ।

25 हे परमप्रभु, यदि कुनै मानिसले तपाईंलाई साँच्चै नै प्रेम गर्छ भने तपाईंले आफ्नो स्नेहपूर्ण करूणा उसलाई देखाउनु होस्।
    यदि कुनै मानिस तपाईं प्रति साँच्चो छ भने तपाईं पनि ऊ प्रति साँच्चो हुनुहुनेछ।
26 हे परमप्रभु, तपाईं धार्मिक र शुद्ध मानिसहरूका लागि धार्मिक अनि शुद्ध हुनुहुन्छ।
    तर कपटीहरूका निम्ति तपाईं अझै कपटीपूर्ण कार्य गर्नु हुन्छ।
27 हे परमप्रभु, तपाईं नम्र मानिसहरूलाई सघाउनु हुन्छ
    तर अंहकारीहरूलाई अपमान गर्नुहुन्छ।
28 हे परमप्रभु! तपाईंले मेरो दियो बाल्नु होस्।
    मेरो परमेश्वरले चारैतिरका अंन्धकारलाई उज्यालो पारीदिनु होस्!
29 परमप्रभु तपाईंको सहायताले म सिपाहीहरूसँग दगुर्न सक्छु।
    परमेश्वरको सहयोगले म शत्रुहरूको पर्खालहरूमाथि चढ्न सक्छु।

30 परमेश्वरको शक्ति पूर्ण छ।
    उहाँको वचन प्रमाणित भएको छ।
    उहाँ आफूमाथि भरोसा गर्ने मानिसहरूलाई रक्षा गर्नुहुन्छ।
31 त्यहाँ परमप्रभु बाहेक अरू कुनै परमेश्वर छैन,
    त्यहाँ परमेश्वर छोडेर अर्को चट्टान छैन।
32 परमेश्वर मलाई शक्ति प्रदान गर्नु हुन्छ।
    उहाँले मलाई चोखो जीवन जिउन सहायता गर्नुहुन्छ।
33 परमेश्वरले मलाई मृग जस्तो चाँडो दगुर्न सक्ने क्षमता दिनुहुन्छ।
    उहाँले सर्वोच्च ठाउँहरूमा मलाई दृढ भई उभिने बनाउनु हुन्छ।
34 परमेश्वरले मलाई युद्ध-कौशलता सिकाउनु हुन्छ।
    यसकारण मेरा पाखुराहरू बलिया धनुबाट काँडहरू हान्न योग्यको हुनेछ।

35 परमेश्वर तपाईंले रक्षा गर्नुभयो र मलाई जित्नमा सघाउनु भयो।
    तपाईंको दाहिने पाखुराले मलाई सघाउनु भयो।
    तपाईंले शत्रुलाई परास्त गर्नमा सघाउनु भयो।
36 मेरा खुट्टाहरू र पाइलाहरू दरिलो पारिदिनु होस्।
    यसैले म ठेस् नलागिकन चाँडो-चाँडो हिंड्न सक्छु।

हितोपदेश 4:7-10

“सबभन्दा महत्वपूर्ण कुरो नै ज्ञान हो। तिमीले ज्ञान प्राप्त गर्न आँफूसँग भएको सबै बेच। ज्ञानलाई सम्मान गर अनि यसैले तिमीलाई महान बनाउँने छ। ज्ञानलाई अङ्गाल यसले तिमी मा सम्मान ल्याउनेछ। उसले तिम्रो शिरमाथि महिमाको माला लगाई दिन्छ अनि तिमीलाई महिमामय शिरपेचले सुसोभित पार्छे।”

10 हे मेरा छोरा, त्यो मैले दिएको शिक्षा सुन अनि तिमीले लामो जीवन जीउने छौ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International