Print Page Options
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 शमूएल 17

अहीतोपेलले दाऊदबारे सल्लाह दिन्छन्

17 अहीतोपेलले अब्शालोमलाई भने, “दया गरि मलाई 12,000 मानिस छान्न दिनुहोस्। म आज राती नै दाऊदको खेदो गर्छु। जब उ थाकेर कमजोर भएको हुन्छ म उसलाई पक्रनेछु। म त्यसलाई धम्काउँछु। तब उसका मानिसहरू सबै भाग्नेछन्। तर म खालि दाऊदलाई मात्र मार्नेछु। त्यसपछि उसका सेनालाई तपाईंको अनुगामी बनाइदिन्छु। यदि दाऊद मरे भने सबै मानिसहरू शान्तिसित तपाईंको पछि आउनेछन्।”

यो योजना अब्शालोम र इस्राएलका अगुवाहरूलाई राम्रो लाग्यो। तर अब्शालोमले भने, “अहिले एरेकी हूशैलाई बोलाऊ। म उसलाई पनि सोध्छु, उसले के भन्छ सुनौं।”

हूशैले अहीतोपेलको सल्लाहलाई खतम पारिदिन्छ

हूशै अब्शालोम भएकहाँ आए। अब्शालोमले हूशैलाई भने, “यो अहीतोपेलको योजना हो। के यो योजनालाई हामी कार्यमा ल्याउन सक्छौं? अथवा सक्दैनौं दया गरेर तपाईंको विचार भन्नुहोस्।”

हूशैले भने, “यस समय अहीतोपेलको सल्लाह ठीक छैन। तपाईंलाई थाहै छ तपाईंका पिता र उहाँसँग भएका मानिसहरू धेरै बलियाछन्। तिनीहरू बच्चाहरू खोसिएका भालू जस्तै हिंस्रक छन् तपाईंका पिता निपुण योद्धा हुनुहुन्छ। उहाँ रातभरी सैनिकहरू सित रहनु हुन्न। जहाँसम्म उहाँ त कुनै गुफा अथवा अरू कुनै ठाउँमा लुकिसक्नु भयो। यदि तपाईंका पिताजीले तपाईंका मानिसहरू माथि धावा बोल्नुभयो भने मानिसहरूले यो खबर सुन्नेछन्। अनि तिनीहरूले सोच्ने छन्, ‘अब्शालोमका अनुयायीहरू हार्दैछन्।’ 10 तब सिंह जस्ता सहासी मानिसहरू पनि डराउने छन। किनभने? इस्राएलका सबै मानिसहरूलाई थाहै छ कि तपाईंका पिता बलिया लडाकू हुन्, अनि उनका मानिसहरू धेरै साहसी छन्।

11 “म यो सुझाव दिन्छुः दानदेखि बेर्शेबासम्मका सबै इस्राएलीहरूलाई भेला गराउनु होस्। मानिसहरू समुद्रका किनारका बालुवा जस्तै हुनेछन्। त्यसपछि तपाईं आफैं युद्धभूमिमा जानुहोस्। 12 हामीले दाऊदलाई लुकेकै ठाउँमा समाउने छौं। दाऊदलाई धेरै सिपाहीहरूको साथमा जाइलाग्नु पर्छ। हाम्रो संख्या भुइँमा खसेको शीतका थोपाहरू जस्तो हुनुपर्छ। हामीले दाऊदलाई उसका मानिसहरूसँगै मार्नु पर्छ। कसैलाई जिउँदो छाड्ने होइन। 13 तर यदि दाऊद कुनै शहरमा भाग्यो भने, सबै इस्राएलीहरूले डोरी ल्याउने छन् अनि हामी शहरको पर्खाललाई बेंसीको तल तान्ने छौ एउटा सानो ढुङ्गा सम्म पनि छोडिने छैन्।”

14 अब्शालोम अनि इस्राएलीहरूले भने, “एरेकी हूशैको सल्लाह अहीतोपेलको भन्दा राम्रो छ।” तिनीहरूले किन यसो भन्यो भने यो परमप्रभु कै योजना हो। परमप्रभुले अहीतोपेलको राम्रो सल्लाहलाई नष्ट पारिदिनु भयो। कसरी परमप्रभुले अब्शालोमलाई सजाय दिनुभयो।

हूशैले दाऊदलाई चेतावनी पठाउँछन्

15 हूशैले ती कुराहरू पूजाहारी सादोक र एबीयातारलाई भने। हूशैले अहीतोपेलको अब्शालोम र इस्राएलका अधिकारीलाई दिएको सल्लाहबारे भने। हूशैले आफूले दिएको सल्लाहको पनि उल्लेख गरे। हूशैले भने, 16 “दाऊदलाई छिटो खबर पठाऊ। तिनलाई मानिसहरूले जहाँ मरुभूमि पार गर्छन् त्यहाँ नबस्नु भन्नु। चाँडै यर्दन नदी पार गर्नु भन्नु। यदि नदी पार गरे भने राजा र तिनका मानिसहरू समातिने छैनन्।”

17 पूजाहारीका छोरा जोनाथन अनि अहीमास एन-रोगेलमा पर्खिएका थिए। शहरभित्र आफू नदेखुन् भनेर तिनीहरू चाहान्थे, यसैले एउटी नोकर्नी तिनीहरूकहाँ आइन् र तिनले खबर दिइन्। तब जोनाथन र अहीमास दाऊदलाई खबर भन्न हिँडे।

18 तर एउटा केटोले जोनाथन र अहीमासलाई देखे। त्यो केटो अब्शालोमलाई भन्न दौड्यो। जोनाथन र अहीमास चाँडो-चाँडो भागे। तिनीहरू बहूरीमका एकजनाको घरमा आइपुगे। जसको आँगनमा एउटा कुवा थियो। जोनाथन र अहीमास कुवाभित्र गए। 19 त्यस मानिसकी पत्नीले च्यादरले कुवा ढाकिदिइन्। तब तिनले त्यो च्यादरलाई अन्नले ढाकिन। कुवा अन्नको राश जस्तो देखिइयो। यसकारण कसैले पनि जोनाथन र अहीमास त्यहाँ लुकेका छन् भनेर सोच्नै सकेनन्। 20 अब्शालोमको नोकर त्यस महिलाको घरमा आएर सोधे, “अहिमास र जोनाथन कहाँ छन्?”

त्यस महिलाले अब्शालोमको नोकरलाई भनिन्, “तिनीहरूले त खोला तरिसके होला।”

अब्शालोमको नोकर जोनाथन र अहीमासको खोजीमा अघि बढ्यो। तर तिनीहरूलाई भेट्न सकेनन् यसर्थ अब्शालोमको नोकर यरूशलेम फर्कियो।

21 अब्शालोमको नोकर हिँडेपछि जोनाथन र अहीमास कुवाबाट निस्किए। तिनीहरू दाऊदलाई खबर भन्न गए। तिनीहरूले दाऊदलाई भने, “छिटो, नदी पार गरिहाल्नु होस्। अहीतोपेलले तपाईंको विरूद्धमा यस्तो योजना बनाएको छ।”

22 तब दाऊद र उसका सबै मानिसहरूले यर्दन नदी तरे सूर्य उदय हुन अघि, दाऊदका मानिसहरू प्रत्येकले यर्दन नदी पार गरे।

अहीतोपेलले आत्माहत्या गर्छन्

23 अहीतोपेलले बुझे कि कुनै इस्राएलीले पनि उनको सल्लाह मानेनन्। अहीतोपेल आफ्नो गधामा चढेर आफ्नो शहरको घर गए। परिवारका लागि केही योजना बनाएर आफू पासो लागेर मरे। तिनको मृत्युपछि मानिसहरूले उनैका पिताको चिहानको छेउमा गाडे।

अब्शालोमले यर्दन नदी पार गरे

24 दाऊद महनैम पुगे। अब्शालोम र उनका साथमा रहेका इस्राएलीहरू यर्दन नदी पार गरेर गए। 25 अब्शालोमले आमासालाई सेनाका नयाँ कप्तान बनाए। आमासाले योआबको ठाउँ लिए। आमासा इश्माएली यित्रका छोरा थिए। आमासाकी आमा अबीगेल सरूयाहकी बहिनी नाहाशकी छोरी थिइन्। सरूया योआबकी आमा थिइन्। 26 अब्शालोम र इस्राएलीहरूले गिलादमा छाउनी बसाए।

शोबी, माकिर अनि बर्जिलाइ

27 दाऊद महनैम पुगे। शोबी, माकीर र बर्जिलाइहरू त्यस ठाउँमा थिए। (शोबी रब्बाको अम्मोनी नाहाशका छोरा थिए। माकीरचाहि लोदबारको अमीएलका छोरा थिए। बर्जिलाइ गिलादका रोग्लीमबाट थिए।) 28-29 ती तीनै जना मानिसहरूले भने, “यस मरुभूमिद्वारा जाने मानिसहरू साह्रै थकित र भोक प्यासी छन्।” यसैले तिनीहरूले दाऊद र उनका मानिसहरूका निम्ति धेरै थोक ल्याए। तिनीहरूले ओढ्ने-ओछ्यान, र अन्य भाँडा-कुँडाको बन्दबस्त मिलाइदिए। तिनीहरूले गहुँ, जौं, आँटा, उसिनेको फल, सिमी, सुकेको विजन, मह, नौनी, भेंडा अनि गाईको दूधबाट बनेको चिज ल्याइ दिए।

यूहन्ना 19:23-42

23 क्रूसमा येशूलाई टाँगिसके पछि सिपाहीहरूले उहाँका वस्त्र उतारिदिए र त्यस वस्त्रलाई तिनीहरूले चार टुक्रमा च्याते, प्रत्येक सिपाहीले एक-एक गरेर पाए। तिनीहरूले कुर्ता सम्म खोलिदिए जो एउटै लुगाको टुक्रालाई माथि देखि तलसम्म सिलाएको थियो। 24 यसर्थ सिपाहीहरूले आपसमा भने, “यसलाई हामीले भाग गर्न च्यात्नु हुँदैन। यसलाई चिट्ठा लगाऊ कसको नाउँमा पर्छ।” धर्मशास्त्रमा भने जस्तै त्यो हुनगयोः

“तिनीहरूले आपसमा मेरा लुगाहरू बाँडे,
    अनि मेरो लुगामा चिट्ठा हाले।”(A)

सिपाहीहरूले त्यसै गरे।

25 येशूकी आमा क्रूसकै नजिक उभिएकी थिइन। उहाँकी आमाको बहिनी, क्लोपासकी पत्नी पनि मरियमसँग उभिरहेकी थिइन्। मग्दलिनी मरियम पनि उभिरहेकी थिइन्। 26 येशूले आफ्नी आमालाई देख्नु भयो। उहाँले ती उभिनेहरूमा आफ्ना चेलाहरूलाई पनि देख्नु भयो। उहाँले आफ्ना आमालाई भन्नु भयो, “हे प्रिय नारी तिम्रो पुत्र यहाँ छ।” 27 त्यसपछि आफ्ना चेलालाई भन्नुभयो, “यहाँ तिम्रा आमा हुनुहुन्छ।” तब त्यसपछि, ती चेलाहरूले येशूकी आमालाई आफ्ना घरमा लगे।

येशू मर्नु भयो

(मत्ती 27:45-56; मर्कूस 15:33-41; लूका 23:44-49)

28 त्यसपछि, येशूले जान्नुभयो कि सबै कामहरू सिद्धियो। उहाँले धर्मशास्त्रमा लेखिएको सिद्ध होस् भनि भन्नुभयो, “मलाई तिर्खा लाग्यो।” 29 त्यहाँ सिर्काले भरिएको एउट भाँडो थियो। यसर्थ सिपाहीहरूले स्पन्जमा त्यो सोसे र हिसप उद्भिदको हाँगामा त्यसलाई डुबाए। त्यसलाई तिनीहरूले येशूको मुख सम्म पुर्याईदिए। 30 उहाँले सिर्का खानु भयो, स्वाद लिनु भयो। तब उहाँले भन्नुभयो “सिद्धियो।” येशूको शिर झुक्यो र उहाँले अन्तिम सास फेर्नु भयो।

31 यो दिन तयारीको दिन थियो अर्को दिन विशेष विश्रामको दिन थियो। यहूदीहरूले विश्रामको दिन त्यो मृत शरीर क्रूसमा झुण्ड्याई राख्न चाहेनन्। तब तिनीहरूले पिलातसलाई ती मानिसहरूको खुट्टा भाँच्नुका निम्ति आदेश मागे ताकि तिनीहरू छिटो मर्न सकुन्। अनि तिनीहरूको मृत शरीर क्रूसबाट तल झार्न सकियोस्। 32 सिपाहीहरू आए र पहिला येशूको छेऊको क्रूसको मान्छेको खुट्टा भाँचे। त्यसपछि तिनीहरूले क्रूसमा भएको येशूकै छेऊको अर्को मान्छेको खुट्टा भाँचे। 33 तर जब ती सिपाहीहरू येशूको छेऊमा गए, तिनीहरूले देखे उहाँ अघि नै मरिसक्नु भएको थियो। यसैले तिनीहरूले उहाँको खुट्टा भाँचेनन्।

34 तर एकजना सिपाहीले उहाँको कोखामा भालाले घोंचे। रगत र पानी बाहिर निस्कयो। 35 ऊ जसले त्यो देख्यो ऊ गवाही भयो अनि उसको गवाही सत्य छ। उसले जान्दछ कि उसले साँच्चो बोलिरहकोछ। उसले गवाही दिन्छ ताकि तिमीहरूले पनि विश्वास गर्न सक्छौ। 36 यी सबै कुराहरू घटे ताकि धर्मशास्त्र साँच्चो हुन्छः “उहाँको एउटै हड्डी पनि भाँचिनछैन।”(B) 37 अर्को ठाउँमा धर्मशास्त्र भन्छः “मानिसहरूले उनलाई हेर्नछन् जसलाई भालाले रोप्नेछन्।”(C)

येशू गाडिनुभयो

(मत्ती 27:57-61; मर्कूस 15:42-47; लूका 23:50-56)

38 त्यसपछि अरिमाथियावासी योसेफ नाम भएकोले पिलातसलाई येशूको मृत-शरीर लैजान पाऊँ भनेर विन्ती गरे। योसेफ येशूका चेलाहरू मध्ये एक थिए। तर तिनले यहूदीहरूको डरले यो गुप्त राखे। पिलातसले योसेफलाई येशूको शरीर लान सक्छ भनेर अनुमति दिए। त्यसकारण योसेफ येशूको शरीर लिएर गए।

39 निकोदेमस योसेफसँग गए। निकोदेमस ती एकजना मानिस थिए जो येशूकहाँ राती आउँदथ्यो र बात गर्दथ्यो। निकोदेमसले तेत्तीस किलो जति मसलाहरू त्यहाँ ल्याए। त्यो मूर्र र एलवाको मिश्रण थियो। 40 यी दुइ मानिसहरूले येशूको मृत शरीर लगे। उहाँको शरीर तिनीहरूले सुगन्धीत द्रव्यसहित सूती कपडाले बाँधे। यसरी नै यहूदीहरूले मानिसहरूलाई गाड्दथे। 41 जुन ठाउँमा येशू क्रूसमा टाँगिए, त्यहाँ एक बगैंचा थियो। बगैंचामा एक नयाँ चिहान थियो। कुनै मानिस पनि पहिल्यै कहिले त्यहाँ गडिएको थिएन। 42 मानिसहरूले येशूलाई त्यहीं नयाँ चिहानमा राखे कारण यो नजिक थियो अनि यहूदीहरू आफ्ना विश्रामको दिन तयारी गर्न थालेका थिए।

भजनसंग्रह 119:129-152

पे

129 हे परमप्रभु, तपाईंको करार अद्भूत छ।
    यसकारण म त्यसको अनुशरण गर्दछु।
130 कुनै ज्योतिले तिनीहरूलाई बाँच्ने ठीक तरिका देखाए झैं मानिसहरूले तपाईंको शब्दहरू बुझ्न शुरू गरे।
    तपाईंका वचनले सामान्य भन्दा सामान्य मानिसहरूलाई सम्म बुद्धिमानी बनाउँदछ।
131 हे परमप्रभु, म साँच्चो रूपले तपाईंका आज्ञाहरू मनन गर्न चाहन्छु,
    म त्यो स्वास रोकिएर अधैर्यपूर्ण पर्खिरहेको मानिस जस्तो छु।
132 हे परमेश्वर, मलाई हेर्नुहोस र म प्रति कृपालु बन्नु होस्।
    जसले तपाईंको नाउँको पुकारा गर्छन्,
    ती मानिसहरूका लागि असल काम गरिदिनुहोस्।
133 हे परमप्रभु, तपाईंले कसम खाए झैं मलाई डोर्याउनु होस्
    मतर्फ कुनै प्रकारको दुर्घटना घट्न नदिनुहोस्।
134 हे परमप्रभु, मलाई दुःख-कष्ट दिने मानिसहरूबाट बचाउनु होस्
    अनि म तपाईंको आज्ञाहरू पालन गर्ने छु।
135 हे परमप्रभु, मलाई ग्रहण गर्नुहोस्,
    अनि आफ्नो नियमहरू सिकाउनुहोस्।
136 म आँसुका बलिन्द्रधारा नदी सरी बहाएर रोएँ
    किनभने कसैले पनि तपाईंको शिक्षाहरू पालन गरेनन्।

त्साधे

137 हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ।
    तपाईंका नियमहरू सही र ईमान्दार छन्।
138 तपाईंले हामीलाई आफ्ना करारमा धार्मिक नियमहरू दिनुभयो।
    हामी साँच्चै नै तिनीहरूमा भरोसा गर्न सक्छौं।
139 मेरो उत्साहले मलाई ध्वंश पारिरहेछ।
    म अत्यन्त उदास छु किनभने मेरो शत्रुहरूले तपाईंको आज्ञाहरू भूले।
140 परमप्रभु, हामीले प्रमाण पनि दियौं कि हामी तपाईंकै वचनमा विश्वास गर्छौं।
    अनि म यसलाई मन पराउँछु।
141 म क्षुद्र र तुच्छ छु, अनि मानिसहरूले मेरो आदर गर्दैनन्।
    तर म तपाईंको आज्ञाहरू भुल्ने छैन।
142 परमप्रभु, तपाईंको धार्मिकता चिरस्थायी छ।
    अनि तपाईंको उपदेशहरू विश्वास गर्न सकिन्छ।
143 मसँग सङ्कट र दुःखका दिनहरू छँदै थिए
    तर म तपाईंको आज्ञाहरूमा आनन्द लिन्छु।
144 तपाईंको करार अनन्तको लागि असल छ।
    यसलाई समझशक्ति दिनुहोस् ताकि म बाँच्न सकुँ।

कोफ

145 हे परमप्रभु, म मेरो सम्पूर्ण हृदयले तपाईंलाई पुकारा गर्छु।
    मलाई जवाफ दिनुहोस्! म तपाईंको आज्ञाहरू पालन गर्छु।
146 हे परमप्रभु, म तपाईंलाई पुकारा गर्छु मलाई बँचाउनु होस्!
    अनि म तपाईंको करार पालन गर्नेछु।
147 तपाईंलाई प्रार्थना गर्न म बिहानै उठ्दछु।
    म तपाईंले भन्नुभएको कुरामा विश्वास गर्दछु।
148 तपाईंका वचनहरू मनन गर्न
    म रातमा अबेर सम्म बस्छु।
149 आफ्नो सारा प्रेमले, मलाई बोलाउनु होस्।
    हे परमप्रभु, तपाईंले ठीक भनेका कुरानै गरूँ अनि मलाई बाँच्न दिनुहोस्।
150 मानिसहरूले मेरो विरूद्ध दुष्ट योजनाहरू बनाइरहेछन्।
    ती मानिसहरूले तपाईंको शिक्षाहरू अनुशरण गर्दैनन्।
151 परमप्रभु, तपाईं मेरो नजीकै हुनुहुन्छ।
    अनि तपाईंका सबै आदेशहरूमा भरोसा गर्न सकिन्छ।
152 धेरै बर्ष अघिदेखि तपाईंको करारबाट सिकें
    कि तपाईंको उपदेशहरू अनन्त रहने छन्।

हितोपदेश 16:12-13

12 राजाले दुष्ट्याईं गर्नु घृणीत हो किनभने धार्मीकताद्वारा सिंहासन सबल हुन्छ।

13 साँच्चो कुरा सुन्न मन पराउँने राजाहरूले ईमानदारीसंग बोल्ने मानिसहरूलाई मन पराउँछन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International