The Daily Audio Bible
Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.
नातानको दाऊदसँग कुराकानी
12 परमप्रभुले नातानलाई दाऊदकहाँ पठाउनुभयो। नातान दाऊदकहाँ गए। नातानले भने, “एउटा शहरमा दुइजना मानिसहरू थिए। एकजना धनी अर्को एकजना गरिब। 2 त्यस धनी मानिसका धेरै भेंडा र पशुहरू थिए। 3 तर त्यस गरिब मानिसको एउटा किनेको भेंडाको सानो पाठी बाहेक केही थिएन त्यस गरिब मानिसले त्यो पाठीलाई खुवाउँथ्यो। पाठी बिस्तारै ठूलो हुँदै गयो। त्यस गरिब मानिसकै भागबाट पाठी खान्थ्यो र पिउँथ्यो। पाठी त्यस गरिबको छातीमा सुत्थ्यो। यहाँसम्म पाठी त्यस गरिबको छोरी समान थियो।
4 “तब एकजना यात्री धनी मानिसलाई भेट्न आए। धनी मानिसहरूले यात्रीलाई भोजन गराउन चाहान्थे। तर आफ्ना भेंडा अथवा पशुहरू मारेर खुवाउन चाहाँदैन थिए। यसैले धनी मानिसले त्यस गरिब मानिसको भेंडाको पाठी ल्याएर यात्रीलाई खुवाए।”
5 दाऊद धनी मानिसको अत्याचारमा साह्रै रिसाएर। तिनले नातानलाई भने, “परमप्रभुको कसम जसले त्यसो गर्यो त्यो मर्छ नै। 6 उसले भेंडाको पाठीको दामको चार दोब्बर दाम तिर्नुपर्छ कारण उसले त्यस्तो डरलाग्दो कार्य कुनै दयामाया बेगरै गर्यो।”
नातानले दाऊदलाई उसको पाप कर्मबारे भने
7 तब नातानले दाऊदलाई भने, “त्यो धनी मानिस तिमी नै हौ। परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छः ‘मैले तिमीलाई इस्राएलको राजाको रूपमा छाने। शाऊलबाट तिमीलाई बचाएँ। 8 मैले तिमीलाई उसकी पत्नीहरू र परिवार लिन अधिकार दिएँ। अनि मैले तिमीलाई इस्राएल र यहूदाको राजा बनाएँ। यदि त्यो एकदमै कम्ति भए म तिमीलाई अझ ज्यादा दिने थिए। 9 यसकारण किन तिमीले परमप्रभुको आदेशलाई घृणा गर्यौ? तिमीले परमेश्वरले जो भूल बताउनु हुन्छ तिमी किन त्यही गर्छौ? हित्ती उरियाहको मृत्युलाई अम्मोनीहरूको तरवारको कारण बनायौ। अनि तिमीले उसकी पत्नीलाई तिम्रो आफ्नै बनाउन लियौ। यस्तो प्रकारले उरियाहलाई तरवारले मार्ने तिम्रो जिम्मा हो? 10 यसकारण तरवारले तिम्रा परिवारका कसैलाई त्यही गति बनाउने छ। तिमीले उरियाहकी पत्नी लग्यौ। यसरी नै थाहा हुन्छ मेरो कुनै वास्तानै गरेनौ।’
11 “परमप्रभु यसो भन्नुहुन्छः ‘म तिमीमा विपत्ति ल्याइदिन्छु। त्यो विपत्ति आफ्नै परिवारबाट आउनेछ। म तिम्रो पत्नीहरूलाई तिम्रो एउटा धेरै नजिकका व्यक्तिलाई दिनेछु। त्यो मानिस तिम्री पत्नीहरूसँग सुत्नेछ र सबैले त्यो कुरा जान्नेछन्। 12 तिमी त गुप्त रूपमा बेतशेबासँग सुत्यौ। तर म तिमीलाई इस्राएलका मानिसहरूले थाहा पाउने गरी सजाय दिन्छु।’”
13 तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरूद्धमा पाप गरें।”
नातानले दाऊदलाई भने, “तिमीले यत्रो ठूलो पाप गरेर पनि परमप्रभुले क्षमा गर्नेछन्। तिमी मर्ने छैनौ। 14 तर तिमीले जे गर्यौ त्यसले गर्दा परमप्रभुका शत्रुहरूले उहाँलाई आदर गर्न छोडे। यही कारण तिम्रो काखको छोरा मर्नेछ।”
दाऊद र बेतशेबाको काखे नानी मर्छ
15 त्यसपछि नातान घर गए। परमप्रभुले दाऊद र उरियाहकी पत्नीबाट जुन छोरा जन्मियो, त्यसलाई साह्रै बिमारी बनाइदिनु भयो। 16 दाऊदले शिशुको निम्ति परमेश्वरमा प्रार्थना गरे। दाऊदले खान पिउन नै छोडे। उनी घर गएर भित्रै बस्न थाले। रातभरि भूइँमा नै लडिरहन थाले।
17 दाऊदका घरका ठूला बडाले दाऊदलाई बलपूर्वक उठाउन खोजे। तर दाऊद उठ्न मानेनन्। उनले खाना खान पनि मानेन्। 18 सातौं दिनको दिन शिशु मर्यौ। दाऊदका नोकरहरूले दाऊदलाई शिशु मरेको खबर भन्न साह्रै डराए। तिनीहरूले भने, “हेर्नुहोस्, शिशु जब जिउँदै थियो त्यस समय त हामीले दाऊदसँग कुरा गर्न सकेनौं। हाम्रो कुरा सुन्नै चाहानु भएन। यदि हामीले शिशु मरेको खबर दियौं भने आफैंले आत्महत्या गर्न सक्लान्।”
19 तर दाऊदले नोकरहरूले कानेखुशी गरेको थाहा पाए। तब दाऊदले शिशु मरेको अन्दाज गरे। यसैले दाऊदले नोकरलाई सोधे, “के शिशु मर्यो?”
नोकरहरूले जवाफ दिए, “ज्यू, मर्यो।”
20 त्यसपछि दाऊद भुइँबाट उठे। आफू स्नान गरे र लुगाहरू लगाए र तयार भए। त्यसपछि परमप्रभुको पवित्र स्थानमा आराधना गर्न गए। फर्केर आई खानेकुरा के छ भनेर मागे। नोकर चाकरले खाना टक्राए, तिनले खाए।
21 दाऊदका नोकरहरूले तिनलाई सोधे, “तपाईंले यसो किनगर्नु भयो? जबसम्म शिशु जिउँदै थियो तपाईंले केही पनि खानुभएन। तपाईं रोइरहनु भयो। तर जब शिशु मर्यो अनि उठेर खाना खानुभयो।”
22 दाऊदले भने, “जबसम्म शिशु जीवित रह्यो मैले केही खाइनँ र रोइमात्र रहें कारण मैले सोचें, ‘कसलाई थाहा छ? हुनसक्छ परमप्रभु मेरो निम्ति दुःखी हुनुहुन्छ र शिशुलाई बचाइराख्नु हुन्छ।’ 23 तर अहिले शिशु मर्यो। अब पनि म किन नखाई बस्ने? के म शिशुलाई जीउँदो पाउन सक्छु? सकिंदैन। कुनै दिन म त्यो भएकहाँ जाउँला, तर त्यो यहाँ मकहाँ आउन सक्दैन।”
सुलेमानको जन्म
24 त्यसपछि दाऊदले आफ्नी पत्नी बेतशेबालाई सान्त्वना दिए। तिनले पत्नीसँग शारिरीक सम्बन्ध पनि स्थापित गरे। बेतशेबा फेरि गर्भवती भइन्। अर्को छोरा जन्माइन्। दाऊदले छोराको नाउँ सुलेमान राखे। परमप्रभुले सुलेमानलाई प्रेम गर्नु भयो। 25 परमप्रभुले अगमवक्ता नातानद्वारा सन्देश पठाउनुभयो, नातानले सुलेमानको नाउँ यददीया राखे। नातानले परमप्रभुको निम्ति यसो गरे।
दाऊदले रब्बामाथि अधिकार जमाउँछन
26 रब्बा शहर अम्मोनीहरूको राजधानी थियो। योआबले रब्बामाथि लडाईं गरेर अधिकार जमाए। 27 योआबले दाऊदकहाँ दूतहरू पठाएर खबर भने, “मैले रब्बा बिरूद्ध लडाईं गरें। मैले पानीको शहर जितें। 28 अब अरू सैनिकहरू ल्याएर रब्बामाथि अधिकार जमाउनुहोस् नत्र यदि मैले शहरमाथि अधिकार जमाएँ भनें शहरको नाउँ मेरो आफ्नो नाममा हुनेछ।”
29 यसैले दाऊदले मानिसहरू भेला पारेर रब्बातिर लागे। तिनले रब्बामा धावा बोलेर आफ्नो अधिकार जमाए। 30 दाऊदले उनीहरूका राजाको मुकुट झिकिदिए। उक्त मुकुटको ओजन झण्डै एक तोडा[a] सुनको थियो। त्यसमा बहुमूल्य पत्थरहरू पनि जडित थिए। तिनीहरूले दाऊदको शिरमा उक्त मुकुट पहिर्याए। दाऊदले शहरबाट धेरै बहुमूल्य सम्पत्ति हात पारे।
31 दाऊदले रब्बा शहरदेखि मानिसहरू बाहिर ल्याए। तिनीहरूलाई आरा, गल र बञ्चरोहरूले काम गर्न लगाए। ईंटाको काम गर्न लगाए। दाऊदले सबै अम्मोनीहरूका शहरमा एउटै व्यवहार गरे। त्यसपछि दाऊद र तिनका फौज यरूशलेम फर्किए।
16 “मैले यी कुराहरू तिमाहरूलाई भनें ताकि तिमीहरूले आफ्नो विश्वास हराउने छौनौ। 2 तिनीहरूले तिमीहरूलाई सभा घरहरूबाट बाहिर निकालिदिने छन्। समय आँउदैछ ताकि मानिसहरूले तिमीहरूलाई मारेर परमेश्वकरको सेवा गर्दैछौ भन्ने सोच्नेछन्। 3 मानिसहरूले यी सबै कुराहरू गर्नेछन् कारण न त तिनीहरूले पितालाई चिनेका छन् न त मलाई नै चिन्दछन्। 4 यी कुराहरू म तिमीहरूलाई अहिले भन्दैछु। अतः जब यी कुराहरू हुने समय आउनेछ, तब तिमीहरूले मैले होशियारी गराएको समझ्नेछौं।
पवित्र-आत्माका काम
“मैले यी कुराहरू तिमीहरूलाई शुरूमा भनिन, किनभने म त्यस बेला तिमीहरूसँगै थिएँ। 5 अब म उहाँकैमा गइरहेकोछु जसले मलाई पठाउनुभयो। तर तिमीहरू कसैपनि मलाई सोधेनौ, ‘तपाईं कहाँ गइरहुन भएको छ?’ 6 तिमीहरूका हृदय उदासिनताले भरिएको छ किनभने मैले तिमीहरूलाई ती कुराहरू भने। 7 तर म तिमीहरूलाई साँच्चो भन्दछु। तिमीहरूको भलाईको निम्ति म टाढिनु नै राम्रो छ। किनभने जब म जानेछु तिमीहरूका लागि सहायक पठाइदिने छु। तर यदि म गइन भने, सहायक तिमीहरूकहाँ आउने छैन।
8 “जब सहायक आउँछन्, उहाँले संसारलाई यी विषयहरूमा प्रमाण दिनु हुनेछः पापको विषय, धार्मिकताको विषय र न्यायको विषयमा। 9 सहायकले मानिसहरूको जीवनमा पाप छ भनेर प्रमाण गर्नेछन् किनभने तिनीहरूले ममा विश्वास गर्दैनन्। 10 उसले मेरो धार्मिकताको प्रमाण तिनीहरूलाई गराउनेछन्, किनभने म पिताकहाँ नै गई रहेछु। तब तिमीहरूले मलाई फेरि देख्नेछैनौ। 11 अनि सहायकले न्यायको विषयमा सत्य कुराको प्रमाण संसारलाई गराउने छ, किनभने यस संसारको शासकलाई पहिल्यै नै जाँची सकेकोछ।
12 “मलाई अझ तिमीहरूसँग धेरै कुराहरू भन्नु छ। तर अहिले ती कुराहरू तिमीहरूलाई अधिक हुनेछ र ग्रहण गर्न साह्रो पर्नेछ। 13 तर जब सत्यको आत्मा आउँदछ, उहाँले भविष्यका कुराहरू घोषणा गर्नु हुनेछ। उहाँले आफ्नो कुराहरू भन्नु हुनेछैन उहाँले जे सुन्नु हुन्छ त्यही बताउनु हुन्छ। 14 सत्यको आत्माले मकहाँ महिमा ल्याउनु हुनेछ। कसरी? उसले मबाट कुराहरू पाउने छन् र तिमीहरूलाई ती सबैकुरा व्याख्या गर्नेछन्। सबै कुराहरू जो पितासँग छन् ती सबै मेरा हुन्। 15 त्यसैकारणले म भन्दैछु त्यस आत्माले जे कुराहरू मबाट पाउने छन् र ती सबै तिमीहरूलाई घोषणा गर्नेछन्।
शोक खुशीयालीमा परिवर्तन
16 “केही बेरपछि तिमीहरूले मलाई देख्नेछैनौ। अनि अर्को केही बेर पछि मलाई फेरि तिमीहरूले देख्नेछौ।”
17 कोही चेलाहरूले आपसमा भने, “येशूले जब त्यसो भन्नु हुन्छ त्यसको मतलब के हो? ‘केही बेरपछि तिमीहरूले मलाई देख्नछैनौ अनि तब केही बेरपछि मलाई फेरि देख्नेछौ?’ त्यसो जब भन्नुहुन्छ, ‘म पिताकहाँ जादैछु।’ त्यसको अर्थ के हो?” 18 चेलाहरूले सोधे, “‘केही बेरपछि’ भन्नुको तात्पर्य के हो? उहाँले के भनिरहनु भएको छ हामीले केही बुझेनौ।”
19 येशूले जान्नु भयो कि चेलाहरूले त्यस विषयमा उहाँलाई सोध्न चाहन्छन्। तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू आपसमा सोधिरहेछौ मेरो भन्नुको तात्पर्य जब मैले भने, केही बेरपछि तिमीहरूले मलाई देख्ने छैनौ। तिमीहरूले यो जान्नलाई आपसमा बहस गरेकाछौ। त्यसपछि फेरि अर्को केही बेरपछि देख्नेछौ? 20 म तिमीहरूलाई साँच्चो भन्छु। तिमीहरू रूनेछौ र दुःखी हुनेछौ तर संसार प्रसन्न हुनेछ। तिमीहरू दुःखी हुने छौ तर तिमीहरूका दुःख आनन्दमय हुनेछ।
21 “जब एक नारीले बालकलाई जन्म दिने समय हुन्छ, उसलाई पीडा हुँदछ, किनभने उसले जन्माउने समय आएको हुँदछ। तर जब बालक जन्मिसक्दछ, उनले अघिका पीडाहरू भुल्छिन्, किनभने उनले बालक संसारमा जन्मिएको खुशीमा अघिका पीडाहरू त्यसै भुल्दछिन्। 22 तिमीहरूसँग पनि ठीक त्यस्तै हुनेछ। अहिले तिमीहरू दुःखीछौ। तर म तिमीहरूलाई फेरि देख्नेछु र तिमीहरू खुशी हुनेछौ। अनि कसैले पनि तिमीहरूको खुशी खोसेर लानेछैन। 23 त्यस दिन तिमीहरूले मलाई केही पनि सोध्ने छैनौ। म तिमीहरूलाई साँच्चो भन्दछु। मेरो नाममा जे मागे पनि मेरा पिताले तिमीहरूलाई दिनुहुनेछ। 24 तिमीहरूले अझ सम्म मेरो नाममा केही पनि मागेकै छैनौ। माग अनि तिमीहरूले पाउनेछौ। अनि तिमीहरूको आनन्द पूर्ण हुनेछ।
संसार माथि विजय
25 “यी कुराहरू मैले तिमीहरूलाई अर्थ लुकाएर भनिसकेकोछु। तर समय आउँदैछ म तिमीहरूसँग खुल्ला पारेर यी कुराहरू भन्नेछु। मेरा पिताको विषयमा म तिमीहरूलाई सरल भाषामा भन्नेछु। 26 त्यस समय मेरो नाममा मेरा पितालाई बिन्ती गर्नेछौ। तर मैले भनिरहेकोछैन कि तिमीहरूको निम्ति म मेरा पितालाई भन्नेछु। 27 किनभने पिता आफैंले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। उहाँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ किनभने तिमीहरूले मलाई प्रेम गरेकाछौ। त्यसकारणले तिमीहरूले विश्वास गर्छौ कि म परमेश्वरबाट आएको हुँ। 28 म पिताबाट संसारमा आएँ। अब म यो संसार छोडेर पिता कहाँ फर्केर जाँदैछु।”
29 तब येशूका चेलाहरूले भने, “तपाईंले अहिले हामीलाई खुलस्त भन्नुभयो। त्यस्तो बुझ्नै नसक्ने अप्ठेरो नबनाई तपाईंले भन्नु भएन। 30 हामीले अब बुझ्न सक्छौ कि तपाईंले प्रत्येक कुरा जान्नु हुन्छ। तपाईंले सोध्नु अगाडि नै कुनै पनि मानिसको उत्तर दिनु सक्नुहुन्छ। यही कारणले हामीलाई विश्वास दिलाउँछ कि तपाईं परमेश्वरबाटै आउनु भएको हो।”
31 येशूले भन्नुभयो, “यसर्थः अब तिमीहरूले विश्वास गर्यौ? 32 ध्यानले सुन, तिमीहरू छरिएर बस्ने समय आइरहेछ। तिमीहरू प्रत्येक आफ्नै घरमा छरपष्ट हुनेछौ। त्यो समय अब आएको छ। तिमीहरूले मलाई छाडनेछौ। म एकलो रहनेछु। तर म वास्तवमा एक्लो रहनेछैन किनभने पिता मसँग रहनु हुनेछ।
33 “मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ताकि तिमीहरूलाई ममा शान्ति रहोस्। यस संसारमा तिमीहरूलाई संकट हुनेछ। तर साहसी बन। मैले संसारलाई पराजित गरेको छु।”
तेथ्
65 परमप्रभु, तपाईंले आफ्नो दासको लागि असल काम गर्नुभयो।
तपाईंले वचन दिएकै अनुसार काम गर्नुभयो।
66 हे परमप्रभु, ज्ञानी निर्णयहरू लिन मलाई बुद्धि दिनुहोस्।
म तपाईंको आज्ञाहरूमा भरोसा राख्छु।
67 म पीडित हुनु भन्दा अगाडि, मैले धेरै नराम्रो कामहरू गरेको थिएँ
तर अहिले खुब सतर्क भएर तपाईंको आज्ञाहरू पालन गर्दछु।
68 परमेश्वर तपाईं भलो हुनुहुन्छ, र तपाईंले असल कामहरू गर्नुहुन्छ।
मलाई तपाईंको नियमहरू सिकाउनु होस्।
69 मानिसहरू ज-जसले आफूलाई म भन्दा उत्तम ठान्दछ तर तिनीहरूले मेरो बारेमा झूटा कुराहरू गर्छन्।
तर परमप्रभु मेरो सम्पूर्ण हृदय सहित म तपाईंको आज्ञाहरू लगातार पालन गर्छु।
70 ती मानिसहरू अत्यन्त मूर्ख छन्।
तर म तपाईंका उपदेशहरू अध्ययन गर्दा आनन्दित हुन्छु।
71 मेरो निम्ति वेदना उत्तम थियो।
मैले तपाईंको नियमहरू सिकें।
72 हे परमप्रभु, तपाईंका उपदेशहरू मेरो लागि असल छन्।
तिनीहरू एक हजार टुक्रा चाँदी र सुनहरू भन्दा उत्तम छन्।
योद्
73 हे परमप्रभु, तपाईंले मलाई बनाउनु भयो अनि मलाई सघाउनु भयो।
मलाई तपाईंका आज्ञाहरू सिक्नु र बुझ्नुलाई सहयोग गर्नुहोस्।
74 हे परमप्रभु! तपाईंका भक्तजनहरूले मलाई हेर्दछन् र आदर गर्दछन्।
तिनीहरू खुशी छन् किनभने तपाईंले जे भन्नुभयो मैल त्यसैमा विश्वास गरें।
75 हे परमप्रभु, म जान्दछु कि तपाईंका निर्णयहरू निष्पक्ष छन्।
अनि तपाईंले मलाई दण्ड दिनु सठीक थियो।
76 अब, तपाईंको स्नेहपूर्ण करूणाले मलाई सान्त्वना दिनुहोस्।
तपाईंको प्रतिज्ञा बमोजिम मलाई सान्त्वना दिनुहोस्।
77 हे परमप्रभु, मलाई सान्त्वना दिनुहोस् र मलाई बाँच्न दिनुहोस्।
म तपाईंको शिक्षाहरूमा आनन्दित् हुन्छु।
78 मानिसहरू ज-जसले तिनीहरू म भन्दा असल हुँ भनेर सोचे,
र मेरो बारेमा झूटो बोले।
ती मानिसहरू लज्जित होऊन् परमप्रभु,
म तपाईंको व्यवस्था सिक्छु, पढछु।
79 भरोसा गर्छु तपाईंको भक्तजनहरू मकहाँ फर्केर आऊन।
यसकारण तिनीहरूले तपाईंको करार-वचनहरू सिक्न सक्छन्।
80 परमप्रभु, मैले तपाईंको आज्ञाहरू सम्पूर्ण प्रकारले पालन गर्न सकुँ,
ताकि म लज्जित हुने छैन।
4 परमप्रभुले प्रत्येक वस्तु आफ्नो उद्देश्यमूलक योजनाले रच्नु भएको हो र दुष्ट मानिसहरूलाई पनि उहाँले तिनीहरूको विपत्तिको योजना गर्नु भएको छ।
5 जुन मानिसले आफूलाई अरू भन्दा असल सम्झन्छ, त्यसलाई परमप्रभुले घृणा गर्नु हुन्छ। निःसंन्देह त्यस्तो घमण्डी मानिसलाई उहाँले दण्ड दिनु हुन्छ।
© 2004, 2010 Bible League International