The Daily Audio Bible
Today's audio is from the EHV. Switch to the EHV to read along with the audio.
शाऊलले अमालेकीहरूलाई नष्ट गरे
15 एक दिन शमूएलले शाऊललाई भने, “परमप्रभुले मलाई उहाँका इस्राएली मानिसहरूको राजाको रूपमा तिमीलाई अभिषेक गर्न पठाउनु भएको थियो। अब परमप्रभुको भनाइ सुन। 2 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, ‘जब इस्राएलीहरू मिश्रबाट बाहिर आए तब अमालेकीहरूले तिनीहरूलाई कनान जानलाग्दा रोक्ने चेष्टा गरे। अमालेकीहरूले जे गरे मैले देखे। 3 अब गएर अमालेकीहरूसित युद्ध गर। अमालेकीहरूसित जे जति छ सम्पूर्ण रूपले नष्ट गर। कसैलाई जिउँदो नछाड। तिमीहरूले ती सबलाई मार्नु पर्छ, लोग्ने मानिसहरू होस् कि स्त्रीहरू केटा-केटीहरू होस् कि काखका नानी। सबलाई मार गाई-गोरू, भेंडा ऊँट गधा केही बाँकी नराख।’”
4 शाऊलले सबै सेनाहरूलाई तेलैममा भेला गराए। त्यहाँ 2,00,000 पैदल सेना र 10,000 अन्य मानिसहरू थिए। यसमा यहूदाका मानिसहरू पनि थिए। 5 त्यसपछि शाऊल अमालेक शहरतिर लागे र बेंसीमा पर्खेर बसे। 6 शाऊलले केनीहरूलाई भने, “तिमीहरू सबैले अमालेकीहरूलाई छोडी देऊ। म तिमीहरूलाई अमालेकीहरूसित मार्दिन। कारण तिमीहरूले मिश्रबाट आउँदा इस्राएलीहरूलाई दया गरेका थियौ।” यसपछि केनीहरूले अमालेकीहरूलाई छोडे।
7 शाऊलले अमालेकीहरूलाई हराए, तिनले हवीलाबाट शूरतक मिश्रको सीमानासम्म अमालेकीहरूलाई खद्दै गए। 8 शाऊलले अमालेकीहरूका राजा अगागलाई जिउँदै पक्रे र अगागका सबै सैनिकलाई मारे। 9 शाऊल र इस्राएली सैनिकहरूले सम्पूर्ण कुराहरू नष्ट गर्दा नराम्रो मन गरे। यसर्थ तिनीहरूले अगागलाई मारेनन् र बलिया गाईहरू राम्रा जातका भेंडा र पाठाहरू पनि बचाएर राखे। राख्न योग्यका सामानहरू राखेर काम नलाग्ने जति नष्ट गरे।
शमूएलले शाऊलबाट भएको पाप बताइदिए
10 शमूएलले परमप्रभुबाट खबर पाए। 11 परमप्रभुले भन्नुभयो, “शाऊलले मलाई पछ्याउन छोडीदियो। यसर्थ म शाऊललाई राजा बनाएर आफैं दुःखी छु। म जे भन्छु त्यसले त्यो गर्दैन।” शमूएल धेरै रिसाए र रातभरी परमप्रभुसित प्रार्थना गरे।
12 शमूएल भोलिपल्ट बिहान चाँडै नै उठे र शाऊललाई भेट्न गए। तर मानिसलहरूले शमूएललाई भने, “शाऊल यहूदाको कर्मेल भन्ने ठाउँमा गएका छन्। शाऊल त्यहाँ उसको सम्मानमा एउटा स्मारक स्थापित गर्न गएका छन्। त्यसपछि धेरै ठाउँ भ्रमण गरेर तिनी अन्त्यमा गिलगाल जानेछन्।”
त्यसपछि शमूएल शाऊल भएको ठाउँमा गए। अमालेकीहरूबाट लिएका चीजबिजको पहिलो अंश शाऊलले भेंटीको रूपमा चढाए, शाऊलले तिनीहरूलाई परमप्रभुको अघि एउटा होमबलि जस्तै चढाए।[a] 13 शमूएल शाऊलको नजिक गए। शाऊलले स्वागत जनाएर भने, “परमप्रभुको आशीर्वाद तपाईंमा रहोस्। मैले परमप्रभुको आज्ञा पालन गरें।”
14 शमूएलले भने, “त्यसो हो भने म यो के सुन्दैछु। किन मैले भेंडा र पशुहरूको आवाज सुनेको?”
15 शाऊलले भन्यो, “सैनिकहरूले अमालेकीहरूबाट पशुहरू लिए। सैनिकहरूले राम्रा भेंडा र पशुहरू परमप्रभु तपाईंको परमेश्वरमा बलिचढाउन भनेर बचाए। तर हामीले अरू सबै चीज नष्ट पार्यौ।”
16 शमूएलले शाऊललाई भने, “चुप लाग! हिजो राती परमप्रभुले मलाई के भन्नुभयो त्यो म तपाईंलाई बताउनेछु।”
शाऊलले भने, “ठीक छ, के भन्नु भयो भन्नुहोस्।”
17 शमूएलले भने, “विगतमा, तपाईंले आफैंलाई तुच्छ सम्झनु हुन्थ्यो। तर त्यसपछि तपाईं इस्राएलका कुलहरूका अगुवा हुनुभयो। इस्राएलको राजाको रूपमा परमप्रभुले तपाईंलाई चुन्नुभयो। 18 परमप्रभुले तपाईंलाई एउटा विशेष सेवाकार्यको निम्ति पठाउनु भयो। परमप्रभुले भन्नुभयो, ‘अमालेकीहरूकहाँ जाऊ, अनि तिनीहरूलाई नष्ट पार किनभने तिनीहरू खराब मानिस हुन्।’ 19 तपाईंले परमप्रभुको कुरा सुन्नु भएन। किन तपाईंले ती चीजहरू राख्न चाहनुहुन्छ। तपाईंको यो कार्य परमप्रभुको इच्छा विरूद्धको कार्य भयो।”
20 शऊलले भने, “तर मैले त परमप्रभुको सबै कुरा मानें मलाई जहाँ पठाउँनु भयो त्यहीं गएँ। मैले अमालेकीहरू सबैलाई नष्ट गरे। मैले खाली साथमा एकजना मानिस ल्याएँ तिनीहरूका राजा अगाग। 21 गिलगालमा परमप्रभु तपाईंका परमेश्वरलाई बलि चढाउन भनेर। सैनिकहरूले राम्रा-राम्रा भेंडा र पशुहरू लिए।”
22 शमूएलले जवाफ दिए, “परमप्रभुलाई के ले खुशी पार्छ होमबलि र बलिदानहरू चढाएर कि उहाँको आज्ञालाई पालन गरेर? उहाँलाई बलि भेट दिएर भन्दा उहाँको प्रत्येक आदेशलाई पालन गर्नु राम्रो हो। भेंडाको बोसो चढाउनु भन्दा पहिले परमेश्वरको वचन सुन्नु नै राम्रो हो। 23 आज्ञा पालन नगर्नु चाहि तन्त्र-मन्त्रको पाप जस्तै हो। हठी स्वभावको हुनु र आफ्नै इच्छानुसार हिँड्नुचाहिँ मूर्ति पूजा गरे झैं पाप हो। तपाईंले परमप्रभुको आज्ञा मान्न इन्कार गर्नुभयो। यही कारणले, अब परमप्रभुले पनि तपाईंलाई राजाको रूपमा इन्कार गर्नुभयो।”
24 शाऊलले शमूएललाई भने, “मैले पाप गरें। मैले परमप्रभुको आज्ञा तपाईंले भन्नु भए जस्तै गरिनँ। म मानिसहरूसित साह्रै डराएँ अनि तिनीहरूले जे भने माने। 25 अब म बिन्ती गर्दछु यो पाप गरेको निम्ति मलाई क्षमा गरिदिनुहोस्। मतिर फर्किनु होस्, यसकारण म परमप्रभुको आराधाना गर्न सकौं।”
26 तर शमूएलले शाऊललाई भने, “म तपाईंसँग जाँदिन। तपाईंले परमप्रभुको वचनलाई उलंघन गर्नुभयो अनि अहिले परमप्रभुले पनि राजा अस्वीकार गरिदिनुभएको छ।”
27 जब शमूएले शाऊललाई छोडेर हिंड्न खोजे, शाऊलले शमूएलको खास्टोको किनार समाते र त्यो च्यातियो। 28 शमूएलले शाऊललाई भने, “जसरी तपाईंले मेरो खास्टो च्याति दिनुभयो। यसरी नै परमप्रभुले आज इस्राएलको राज्य तपाईंबाट च्यात्नु भएकोछ। परमप्रभुले इस्राएलको राज्य तपाईंको साथीहरू मध्ये एकजनालाई दिनुभयो। त्यो मानिस तपाईं भन्दा असल छ। 29 परमप्रभु इस्राएलका परमेश्वर हुनुहुन्छ। परमप्रभु शाश्वत हुनुहुन्छ। परमप्रभु न त झूटो बोल्नु हुन्छ न त विचार बदल्नु हुन्छ। परमप्रभु मानिस जस्तै छिन-छिनमा विचार बदल्ने हुनुहुन्न।”
30 शाऊलले भने, “ठीक छ, मैले पाप गरें। दया गरी मसित आइदिनुहोस्। इस्राएलका नेताहरू र मानिसहरूका अघि मेरो केही इज्जत राखिदिनु होस्। मसित आइदिनु होस्। ताकि म परमप्रभु तपाईंको परमेश्वरलाई आराधना गर्न सकुँ।” 31 शमूएल शाऊलसँग गए अनि शाऊलले परमप्रभुलाई आराधना गरे।
32 शमूएलले भने, “अमालेकीहरूका राजा अगागलाई मेरो सामु ल्याऊ।”
अगागलाई शमूएलको अघि ल्याइयो। साङ्गलाले बाँधिएको अगागको मनमा थियो, “मलाई निश्चय पनि मार्दैनन् होला भनेर।”
33 तर शमूएलले अगागलाई भने, “तेरो तरवारले नानीहरूलाई आमाको काखबाट खोस्यो। त्यसकारण अब तेरो आमाले तिनका छोरा-छोरीहरू गुमाउने छन्।” यति भनेर गिलगालमा परमप्रभुको अघि शामूएलले अगागलाई टुक्रा-टुक्रा बनाएर काटिदिए।
34 त्यसपछि शमूएल त्यहाँबाट हिंडे र रामा गए। शाऊल चाहि गिबामा आफ्नो घर फर्के। 35 त्यसपछि शमूएलले शाऊललाई जीवनभरी कहिले भेटेनन्। शमूएल शाऊलसँग साह्रै दुःखी थिए। परमप्रभु पनि शाऊललाई इस्राएलका राजा बनाएकोमा दुःखी हुनुहुन्थ्यो।
शमूएल बेतलेहेम जान्छन्
16 परमप्रभुले शमूएललाई भन्नुहुन्छ, “कति दिन शाऊलको निम्ति दुःखीत भइरहन्छस्? शाऊललाई मैले इस्राएलको राजपदबाट हटाइसकें तरै पनि त्यसको दुःख मानिरहन्छस्। तँसित भएको सींङ तेलले भर र बेतलेहेम जा। म तँलाई बेतलेहेमको यिशै नाउँको मानिसकहाँ पठाउँदैछु। यिशै बेतलेहेममा बस्छ। मैले त्यसकै एकजना छोरालाई नयाँ राजाको रूपमा चुनें।”
2 शमूएलले भने, “यदि म गएँ भने यो समाचार शाऊलले सुन्ने छ र मलाई मार्ने छ।”
परमप्रभुले भन्नुभयो, “बेतलेहेममा जा साथमा एउटा बाछा पनि लानु र भन्नु, ‘परमप्रभुलाई बलि चढाउन आएको।’ 3 यिशैलाई बलि चढाउन बोलाउनु। त्यसपछि म तँलाई के गर्नु पर्छ भन्ने छु। तैंले त्यस मानिसलाई अभिषेक गर्नु जुन म तँलाई देखाउँनेछु।”
4 शमूएलले त्यसै गरे जो परमप्रभुले तिनलाई गर्नु भन्नु भएको थियो। शमूएल बेतलेहेम गए। बेतलेहेमका बूढा-प्रधानहरू डरले कामे। तिनीहरूले शमूएललाई भेटे र सोधे, “के तपाईं शान्ति पूर्वक आउँनु भयो?”
5 शमूएलले भने, “ज्यू, म शान्ति पूर्वक आएँ। म परमप्रभुलाई बलिदान चढाउन आएको हुँ। तपाईंहरू पनि पूजाका निम्ति तयार भएर बलिदान चढाउन मसित आउनु होस्।” शमूएलले यिशै र तिनका छोराहरूलाई तयार पारे। त्यस पछि शमूएलले तिनीहरूलाई बलिदान चढाउन बोलाए।
6 जब यिशै र तिनका छोराहरू आइ पुगे, शमूएलले एलीआबलाई देखे। शमूएलले सोचे, “निश्चय पनि परमप्रभुले छान्नु भएको मानिस यिनै हुनु पर्छ।”
7 तर परमप्रभुले शमूएललाई भन्नु भयो, “एलीआब अग्लो र सुन्दर छ। तर यस्तो विचार गर्नु हुदैन। परमेश्वरले ती चीजहरू हेर्नु हुन्न जो मानिसहरूले हेर्छन्। मानिसले बाहिरी रूप मात्र हेर्छ, तर परमप्रभुले उसको हृदय हेर्नुहुन्छ। एलीआब त्यो ठीक मानिस होइन।”
8 त्यसपछि यिशैले तिनका दोस्रो छोरा अबीनादाबलाई बोलाए। अबीनादाब शमूएलकै छेउ भएर हिंडे। तर शमूएलले भने, “होइन, यसलाई पनि परमप्रभुले चुन्नु भएको छैन।”
9 त्यसपछि यिशैले शम्मालाई शमूएलको छेउमा बोलाए। तर शमूएलले भने, “होइन, यसलाई पनि परमप्रभुले चुन्नु भएको होइन।”
10 यिशैले सातौं छोरा देखाए। तर शमूएलले यिशैलाई भने, “परमप्रभुले यिनीहरू मध्ये कसैलाई पनि चुन्नु भएको छैन।”
11 शमूएले यिशैलाई सोधे, “के तपाईंका छोराहरू यति नै हुन्?”
यिशैले भने, “होइन अर्को छोरा छ सब भन्दा कान्छो, तर अहिले भेंडा चराउँदैछ।”
शमूएलले भने, “उसलाई यहाँ तुरून्तै लिन पठाऊ। ऊ नआउँन्जेल सम्म हामी खान बस्ने छैनौं।”
12 यिशैले कान्छो छोरा लिन तुरून्तै कसैलाई पठाए। त्यो छोरा हेर्दै राम्रो थियो, रातो वर्णको युवक। ऊ साँच्चै सुन्दर थियो।
परमप्रभुले शमूएललाई भन्नु भयो, “उठेर उसलाई अभिषेक गर। त्यहि एउटा हो।”
13 शमूएलले सींङबाट तेल निकालेर यिशैको कान्छा छोराको शिरमा दाजूहरूका अगाडी त्यो खन्याई दिए। परमप्रभुको आत्मा एकदमै शक्तिको साथ दाऊदमाथि त्यस दिन देखि उत्रियो। त्यस पछि शमूएल रामा घरतिर फर्के।
शाऊललाई दुष्ट आत्माले सताउन थाल्यो
14 परमप्रभुको आत्माले शाऊललाई त्यागि दियो। परमप्रभुले दुष्ट आत्मा शाऊल कहाँ पठाउँनु भयो। त्यसले शाऊललाई साह्रै सतायो। 15 शाऊलको नोकरले भन्यो, “परमेश्वरद्वारा पठाउँनु भएको दुष्ट आत्माले तपाईंलाई साह्रै दुःख दियो। 16 हामीलाई आदेश दिनुहोस् हामीले कुनै त्यस्तो व्यक्ति खोज्न सकौं जसले वीणा बजाउन सक्छ। यदि परमप्रभुबाट आएको त्यस दुष्ट आत्माले तपाईंलाई सताउन थालेछ भने त्यस मानिसले वीणा बजाउन थाल्नेछ र तपाईंलाई आराम अनुभव हुनेछ।”
17 शाऊलले नोकर-चाकरहरूलाई भने, “एउटा मानिसलाई मेरो निम्ति खोज जसले असल तरिकाले सँगीत बजाउँछ। त्यसलाई म कहाँ ल्याऊ।”
18 एउटा नोकरले भन्यो, “एउटा यिशै नाउँका मानिस छन्। बेतलेहेममा बस्छन्। मैले देखेको छु यिशैको छोरा। उसले कसरी वीणा बजाउनु पर्छ जान्दछ। ऊ साह्रै वीर र युद्ध गर्न जान्दछ। ऊ साह्रै फुर्तिलो र सुन्दर छ। परमप्रभु पनि उसैको साथ हुनुहुन्छ।”
19 यसकारण शाऊलले समाचार दिने मानिसलाई यिशैकहाँ पठाए। तिनीहरूले यिशैलाई भने, “तिम्रो दाऊद नाउँको छोरा छ। जसले तिम्रा भेंडाहरू चराउँछ। उसलाई मकहाँ पठाऊ।”
20 यिशैले शाऊलका निम्ति उपहारको बन्दोबस्त गर्यो। यिशैले उपहारको रूपमा एउटा गधा, केही रोटी, एक मशक दाखरस र एउटा बाख्राको पाठो तयार पार्यो। यिशैले ती चीजहरू दाऊदका साथ लगाएर शाऊल कहाँ पठायो। 21 यसरी दाऊद शाऊल कहाँ गयो र तिनका अगाडि हाजिर भयो। शाऊलले दाऊदलाई धेरै प्रेम गरे। दाऊद शाऊलको अस्त्र बोक्ने सहयोगी भए। 22 शाऊलले यिशैलाई खबर पठाए, “दाऊद बसेर मेरो सेवा गरोस्। ऊ मलाई असाध्यै मन पर्यो।”
23 जब परमेश्वरले पठाएको दुष्ट आत्माले शाऊललाई दुःख दिन थाल्थ्यो, दाऊदले हातमा वीणा लिएर बजाउँन थाल्दथे र दुष्ट आत्माले शाऊललाई छोडि हाल्थ्यो र शाऊल असल हुन्थे।
8 येशू जैतून डाँडामा जानुभयो। 2 बिहानै येशू मन्दिर तर्फ फर्कनुभयो। सबै मानिसहरू येशूकहाँ आए। येशू बस्नु भयो र तिनीहरूलाई सिकाउनु भयो।
3 शास्त्रीहरू र फरिसीहरूले एकजना आइमाईलाई त्यहाँ ल्याए। त्यस आइमाईले व्यभिचार गरिररहेको बेला समातिएकी थिई। ती यहूदीहरूले त्यस आइमाईलाई बलजफ्ती जनसमूह समक्ष ल्याए। 4 तिनीहरूले येशूलाई भने, “गुरूज्यू, यस आइमाई पर-पुरुषसँग व्याभिचार सम्बन्धमा रहेको बेला समातिई। 5 मोशाको व्यवस्थाले आज्ञा गर्दछ कि यस्तो आइमाईलाई ढुङ्गाले हानेर मार्नु पर्छ। अब तपाईं के भन्नु हुन्छ?”
6 यहूदीहरूले येशूलाई जालमा पार्नुका निम्ति त्यस्ता प्रश्नहरू गरिरहेका थिए। तिनीहरू येशूले गल्ती कुरा गरोस् भन्ने चाहन्थे ताकि तिनीहरूले उहाँलाई आरोप लगाउन सकुन। तर येशू निहुरनु भयो र आफ्नो औंलाले जमीनमा लेख्न थाल्नु भयो। 7 यहूदीहरूले लगातार त्यही प्रश्न येशूलाई सोधिरहे। तब येशू उभिनु भयो अनि भन्नुभयो, “तिमीहरू माझमा कुनै एक मानिस जो पाप रहित छ त्यो मानिसले उसलाई प्रथम ढुङ्गा हान्नुहोस्।” 8 तब फेरि येशू निहुँरनु भयो र जमीनमा लेख्नु भयो।
9 जब येशूले भनेको तिनीहरूले सुने तिनीहरू एक पछि अर्को गर्दै त्यहाँबाट जान थाले। बूढा मानिसहरूले पहिला छाडे र त्यसपछि अरूअरूले छाड्दै गए। येशू एक्लो छाडिनु भयो त्यस आइमाईसँग। त्यस आईमाई उहाँ समक्ष उभिरहेकी थिई। 10 येशू उठनु भयो अनि तिनलाई सोध्नु भयो, “नारी, तिनीहरू कहाँ छन्? तिनीहरू कसैले तिमीलाई दोषी ठहराउन सकेनन्?”
11 उसले भनी, “महोदय, मलाई कसैले दोषी ठहरयाउन सकेन।”
तब येशूले भन्नुभयो, “तब म पनि तिमीलाई दोषी ठहरयाउँदिन, तिमी जान सक्छौ, तर फेरि पाप नर्गनू।”
येशू, संसारको ज्योति
12 त्यसपछि, येशू फेरि मानिसहरूसँग कुराकानी गर्न थाल्नु भयो। उहाँले भन्नुभयो, “म संसारको ज्योति हुँ। जुन मानिस मेरो पछि लाग्दछ ऊ कहिल्यै अन्धकारमा पर्ने छैन। त्यस मानिसले ज्योति पाउनेछ जसले जीवन प्रदान गर्दछ।”
13 तब फरिसीहरूले येशूलाई भने, “तपाईं आफैं आफ्नु गवाही दिइरहनु भएकोछ। यसर्थ तपाईको गवाही अमान्य ठहरिन्छ।”
14 येशूले जवाफ दिनुभयो, “हो, मैले यी कुराहरू आफ्नै विषयमा भनिरहेको छु। तर मैले भनेका कुरा सत्य हुन्। किनभने म जान्दछु म कहाँबाट आएको हुँ र कहाँ जान्छु। म तिमीहरू जस्तो होइन। तिमीहरू जान्दैनौ म कहाँबाट आएँ र कतातिर गइरहेछु। 15 तिमीहरूले मलाई अन्य मानिसलाई सरह न्याय गर्दैछौ। म कुनै मानिसलाई न्याय गर्दिनँ। 16 तर यदि मैले न्याय गरें भने, मेरो न्याय सत्य हुनेछ। किनभने जब म न्याय गर्दछु म एक्लो हुन्न। पिता जसले मलाई पठाउनु भयो उहाँ मसँग हुनुहुन्छ। 17 तिमीहरूको आफ्नै व्यवस्था छ कि यदि दुइ जना गवाहीले एउटै कुरा भन्यो भने तिमीहरूले स्वीकार गर्नैपर्छ। 18 म त्यस्तै एक गवाही हुँ जसले आफ्नै विषयमा भन्दछ। अनि पिता जसले मलाई पठाउनु भयो उहाँ अर्को गवाही हुनुहुन्छ।”
19 मानिसहरूले सोधे, “तपाईंको पिता कहाँ छ?”
येशूले जवाफमा भन्नुभयो, “तिमीहरूले मलाई अथवा मेरो पितालाई चिन्दैनौ। यदि तिमीहरूले मलाई चिन्दछौ भने, तिमीहरूले मेरो पितालाई पनि चिन्दछौ।” 20 येशूले यी कुराहरू मन्दिरमा सिकाई रहनु भएको बेलामा भन्नुभयो। उहाँ त्यस ठाउँको छेऊमा हुनुहुन्थ्यो जहाँ सबै जना मानिसहरू भेटी चढाउन आउँथे। तर कुनै मानिसले पनि उहाँलाई पक्रेनन्। येशूको ठीक समय अझ आइपुगेको थिएन।
दाऊदको स्तुतिगान।
1 परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो,
“जति बेला सम्म म तिम्रा शत्रुहरूलाई तिम्रो अधीनमा पार्दिन,
त्यस बेलासम्म मेरो दाहिनेपट्टि बस्।”
2 परमप्रभुले तिम्रो राज्य बढाउनलाई सहयोग गर्नु हुनेछ।
तिम्रो राज्य सियोनमा शुरूहुनेछ,
अनि यो त्यति बेलासम्म बढ्दै जानेछ,
जति बेलासम्म आफ्ना शत्रुहरूलाई आफ्नो शासन गर्नेछौ!
3 जब तिमीले आफ्ना सैनिकहरूसँगै भेला गर्नेछौ,
तिम्रो मानिसहरू स्वयंसेवक हुनेछन्।
तिनीहरूले आफ्नो विशेष पोशाकहरू लगाउनेछन्।
अनि विहानै एका-अर्कासित भेट हुनेछ।
ती युवा पुरूषहरू भूईँमा शीत परे जस्तै
तिम्रो वरिपरि हुनेछन्।
4 परमप्रभुले प्रतिज्ञा गर्नुभयो
उहाँले आफ्नो मन बद्लि गर्नुहुँदैन।
“तिमी अनन्तको निम्ति
मल्कीसेदेक जस्तै पूजाहारी हौ।”
5 मेरो स्वामी तिम्रो दाहिनेपट्टि हुनुहुन्छ।
जब उहाँ क्रोधित हुनुहुन्छ उहाँले अन्य राजाहरूलाई डराउनु हुनेछ।
6 परमेश्वरले जाति-जातिहरूलाई न्याय गर्नुहुनेछ।
धर्ती मृत शरीरहरूले ढाकिने छ।
अनि परमेश्वरले शक्तिशाली जातिहरूका नेताहरूलाई दण्ड दिनु हुनेछ।
7 राजाले बाटोमा झरनाको पानी पिउनु हुनेछ।
त्यसपछि उहाँले टाउको उठाउनु हुनेछ अनि बलियो[a] हुनु हुनेछ।
8 एउटा अन्यायी मानिसले चढाएको बलिदानलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर ईमान्दारीसित व्यवहार गर्ने मानिसको प्रार्थनासित उहाँ खुशी हुनुहुन्छ।
9 दुष्ट मानिसको मार्गलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर जो मानिस न्यायीक र ईमान्दारी हुन प्रयास गर्छ, त्यसलाई उहाँले प्रेम गर्नु हुन्छ।
10 जुन मानिसले सही मार्ग अपनाउँदैन उसलाई कठोर सजायले अपेक्षा गरिरहेको हुन्छ, अनि जसले सुधारलाई घृणा गर्छ त्यो निश्चय नै मर्छ।
© 2004, 2010 Bible League International