Print Page Options
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the EHV. Switch to the EHV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 शमूएल 10-11

शमूएलले शाऊललाई अभिषेक गरिदिए

10 शमूएलले एक ढुँग्रो विशेष तेल लिए र शाऊलको टाउकोमा खन्याई दिए। शमूएलले म्वाई खाँदै भने, “परमप्रभुले तपाईंलाई आफ्ना मानिसहरूका अगुवाको रूपमा अभिषेक गर्नुभएको छ। तपाईंले परमप्रभुका मानिसहरूलाई शासन गर्नुहुनेछ तपाईंले तिनीहरूलाई चारैतिरका शत्रुबाट रक्षा गर्नुपर्छ। परमप्रभुले तपाईंलाई आफ्नो मानिसहरूको शासकको रूपमा अभिषेक गर्नुभएको हो। यहाँ एउटा संकेत छ त्यसले यो सत्य हो भनि प्रमाण दिइने छ। आज तपाईंले मबाट बिदा भएर जानु भएपछि बिन्यामिनीको सिमानामा भएको राहेलको चिहाननेर सेलमहमा दुइजना मानिसहरू भेट्टाउनु हुनेछ। ती दुइजना मानिसहरूले भन्नेछन्, ‘तपाईंले खोजिरहनु भएको गधाहरू कसैले पाएको छ। तपाईंका पिता गधाहरूबारे चिन्तित हुन छाडेर तपाईंको निम्ति सुर्ता गर्दै भन्दै हुनुहुन्छ: अब म मेरो छोराको लागि के गरूँ?’”

तब शमूएलले भने, “तपाईंहरू ताबेरमा बज्राँठको रूख नआइन्जेलसम्म अघि बढ्नुहोस्। त्यहाँ तीनजना मानिसहरू भेट्नुहुनेछ। तिनीहरू बेतेलमा परमेश्वरको आराधना गर्न गइरहेका हुनेछन्। ती मध्येको पहिलोले तीनवटा पाठा बोकेको हुनेछ। दोस्रोले तीनवटा रोटी र तेस्रोले एक मशक दाखरस बोकेको हुनेछन्। ती तीनै जना मानिसले तपाईंलाई अभिवादन गर्नेछन्। तिनीहरूले दुइवटा रोटी दिनेछन्। ती दुइवटै रोटी तपाईंले स्वीकार गर्नुपर्छ। त्यहाँबाट तपाईं गिबियत एलोहिम जानुपर्छ। त्यहाँ पलिश्तीहरूको एउटा चौकी छ। जब तपाईं त्यस शहरमा पुग्नुहुन्छ केही अगमवक्ताहरू निक्लदै गरेको भेट्नु हुनेछ। ती अगमवक्ताहरू आराधनास्थानबाट झर्दै गरेका हुनेछन्। तिनीहरूले अगमवाणीहरू बोलिरहेका हुनेछन्। तिनीहरूले खैंजडी, ढोलक, बाँसुरी र वीणा बजाउँदै गरेका हुनेछन्। त्यति बेला परमप्रभुको आत्मा तपाईंमाथि उत्रनुहुनेछ र तपाईंलाई शक्ति दिनुहुनेछ, तपाईं परिवर्तन हुनुहुनेछ। तपाईं भिन्न मानिस हुनुहुनेछ। तपाईं पनि ती अगमवक्ताहरूसितै अगमवाणी बोल्नसक्ने हुनुहुन्छ। यी घटनाहरू घटिसके पछि तपाईं जे चाहनुहुन्छ गर्न सक्नुहुन्छ। किनकी परमेश्वर तपाईंसित हुनुहुनेछ।

“म भन्दा पहिले गिलगाल जानुहोस्। त्यसपछि म तपाईं भएकोमा आउने छु। म त्यहाँ होमबलि र मेलबलि चढाउँनेछु। तर तपाईंले सात दिन पर्खनु पर्नेछ। तब म आउनेछु अनि तपाईंले के गर्नुपर्छ म बताउँनेछु।”

शाऊल अगमवक्ताको रूपमा

जब शाऊल शमूएलबाट बिदा लिन फर्के, परमेश्वरले शाऊलको जीवन नै अर्कै बनाइदिनुभयो। त्यही दिन यी सबै घटनाहरू घटे। 10 शाऊल र तिनको नोकर गिबियथ एलोहिम गए। त्यहाँ शाऊलले अगमवक्ताहरूको एक समूहलाई भेटे। परमेश्वरको आत्मा शक्तिसाथ शाऊलमाथि तुरून्तै उत्रियो अनि शाऊलले पनि ती अगमवक्ताहरूको समूहमा अगमवाणी गर्नुभयो। 11 ति-जसले शाऊललाई पहिले देखि चिन्थे उनीहरूले शाऊललाई अगमवाणी गरेका देखे। यसर्थ तिनीहरूले एक अर्कासित प्रश्न गर्न थाले, “कीशको छोरालाई के भयो? के शाऊल पनि अगमवक्ताहरू मध्ये एउटा हो?”

12 गिबियथ एलोहिमका एकजनाले भने, “हो! यस्तो देखिंदैछ, ऊ नै तिनीहरूका गुरू हुन्।” यसैकारण यो भनाइ प्रचलित छः “के शाऊल पनि एउटा अगमवक्ता नै हो?”

शाऊल घर पुग्छन्

13 शाऊलले अगमवाणी बोल्न छोडेपछि घरकै छेउको स्थानमा आराधना गर्न गए।

14 शऊलका काकाले शाऊललाई र त्यस नोकरलाई भने, “कता गएका थियौ?”

शाऊलले भने, “हामी गधाका खोजीमा थियौं। जब हामीहरूले तिनीहरूलाई पाउँन सकेनौ त्यसपछि हामी शमूएललाई भेट्न गयौं।”

15 शाऊलका काकाले भने, “मलाई भन त, शमूएलले के-के भने?”

16 शाऊलेले भने, “शमूएलले हामीलाई गधाहरू पाइसकेको छ भने।” शाऊलले प्रत्येक कुराहरू बताएनन्। राज्यको बारेमा शमूएलले भनेको कुरा बताएनन्।

शमूएलले शाऊललाई राजा घोषित गर्छन्

17 शमूएलले सबै इस्राएलका मानिसहरूलाई मिस्पामा परमप्रभुकहाँ भेला हुन बोलाए। 18 शमूएलले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘मैले इस्राएललाई मिश्रबाट बाहिर ल्याएँ। मैले तिमीहरूलाई मिश्रको अधीनबाट बचाएँ र अन्य राष्ट्रहरूबाट पनि बचाएँ जसले तिमीहरूलाई चोट पुर्याउन चाहन्थे।’ 19 तर आज तिमीहरूले आफ्नो परमेश्वरलाई अस्वीकार गर्यौ। तिमीहरूका परमेश्वरले तिमीहरूलाई सबै दुःख र कष्टहरूबाट बचाउनुभयो। तर तिमीहरू भन्छौ, ‘होइन, हामीलाई शासन गर्ने एउटा राजा चाहिन्छ।’ यसैकारणले अब परमप्रभुको अगाडि परिवारका सदस्यहरू र परिवार समूहहरू लिएर उपस्थित होऊ।”

20 शमूएलले इस्राएलका सबै परिवार समूहलाई उपस्थित गराए। त्यसपछि शमूएलले नयाँ राजा छान्न थाले। पहिलो बिन्यामिनी कुल समूह चुनियो। 21 शमूएलले बिन्यामिनी कुलसमूहका प्रत्येकलाई एक-एकजना गरेर अगाडि जानु भने। त्यसपछि मन्त्रीको परिवारालाई चुनियो। त्यसपछि त्यही मन्त्री परिवारको प्रत्येकलाई एक एकजना गरेर अगाडि जानु भने। यसरी कीशका छोरा शाऊललाई चुनियो।

जब मानिसहरूले शाऊललाई खोजे, त्यहाँ शाऊललाई भेट्टाएनन्। 22 अनि तिनीहरूले परमप्रभुसित सोधे, “शाऊल यहाँ अझै आइपुगेकै छैनन्?”

परमप्रभुले भन्नुभयो, “त्यो त्यहाँ भेटी चढाइएका सामानहरूको पछि लुकेकोछ।”

23 मानिसहरूले शाऊललाई सामानहरूको पछाडिबाट खोजेर निकाले। शाऊल मानिसहरूका माझमा खडा भए। त्यहाँ शाऊल अरू भन्दा अग्ला थिए।

24 शमूएलले सबै मानिसहरूलाई भने, “परमप्रभुले चुन्नु भएको मानिसलाई हेर। मानिसहरूमा शाऊल जस्तो मानिस अर्को कोही छैन।”

त्यसपछि मानिसहरूले नारा लगाए, “हाम्रा राजा दीर्घायु रहुन्।”

25 शमूएलले राज्यका नियमहरू मानिसहरूलाई बुझाए। यो एउटा पुस्तकमा पनि लेखे र यस व्यवस्थाको पुस्तकलाई परमप्रभुको अघि राखे। तब तिनले मानिसहरूलाई घर जानु भने।

26 शाऊल पनि गिबामा आफ्ना घर गए। अनि केही बीर पुरूषहरू शाऊलसित गए। अनि परमेश्वरले यी वीर पुरूषहरूको हृदय छुनुभयो। 27 तर कोही बद्‌माशहरूले भने, “यो मानिसले हामीलाई कसरी रक्षा गर्छ?” तिनीहरूले शाऊलको विरूद्धमा नराम्रो भन्न थाले र उपहार नदिनेभए। तर शाऊलबाट कुनै प्रतिक्रिया भएन।

अम्मोनीहरूका राजा नाहाश

अम्मोनीका राजा नाहाशले गाद र रूबेन कुल समूहरूलाई सताईरहेका थिए। नाहाशले प्रत्येक पुरूषको एउटा दाहिने आँखा निकाल्न लगायो। नाहाशले तिनीहरू कसैलाई पनि सहायता गर्न दिएनन्। अम्मोनीका राजा नाहाशले यर्दन नदीको पूर्वतिर बस्ने प्रत्येक इस्राएली मानिसहरूको दाहिने आँखा निकाले। तर 7,000 इस्राएली मानिसहरू अम्मोनीबाट भागेर याबेश गिलाद आए।

11 झण्डै एक महिना पछि अम्मोनी नाहाश र तिनका सेनाहरूले याबेश गिलादलाई चारैतिरबाट घेरे। याबेशका सबै मानिसहरूले नाहाशलाई भने, “यदि तपाईंले हामीसँग सन्धि गर्नुभयो भने हामी तपाईंका प्रजा बन्न तयार छौ।”

तर अम्मोनी नाहाशले भने, “यदि मैले जम्मै इस्राएलीहरूका दाहिने आँखा घोंचेर निकाल्न सकें भने म तिमीहरूसित सन्धि गर्नेछु। तब मात्र सारा इस्राएलको बेइज्जत हुनेछ।”

याबेशका प्रमुखले भने, “हामीलाई सात दिनको समय दिनुहोस्। सारा इस्राएलमा हामी दूत पठाउँछौ। यदि कोही पनि सहायता गर्न आएनन् भने हामी आएर तपाईंको अघि समर्पित हुनेछौं।”

शाऊलले याबेश गिलादलाई बचाउँछन्

ती दूतहरू गिबामा आए जहाँ शाऊल बस्थे। तिनीहरूले मानिसहरूलाई समाचार दिए। मानिसहरू समाचार सुनेर रून थाले। शाऊल आफ्ना खेतबाट गाईहरू लिएर फर्कंदै थिए। शाऊलले खेतको अघि आउँदा मानिसहरू रोइरहेका सुने। शाऊलले भने, “मानिसहरूलाई के कष्ट भयो? किन रोइरहेकाछन्।”

मानिसहरूलाई याबेशका दूतहरूले जे खबर ल्याएका थिए शाऊललाई बताए। शाऊले ध्यान दिएर सबै सुने। त्यति नै बेला शाऊलमाथि परमेश्वरको आत्मा उत्रिनुभयो। शाऊल साह्रै रिसाए। शाऊलले एक जोडी गाई ल्याए अनि टुक्रा-टुक्रा पारे। अनि ती मासुका टुक्राहरू सबै ती खबर ल्याउने दूतहरूलाई दिए। तिनले ती सबै मासुको टुक्राहरू इस्राएलभरी पुर्याउन दूतहरूलाई आदेश दिए। यो सन्देश इस्राएलीहरूलाई दिनुभनि तिनीहरूलाई भने, “आऊ अनि शाऊल र शमूएललाई अनुशरण गर। यदि कसैले यसो गर्दैन भनि तिनीहरूलाई पनि उसको गाईलाई गरेको व्यवहार गरिनेछ!”

परमप्रभुबाट मानिसहरूमा ज्यादै डर पस्यो। यसकारण मानिसहरू एकसाथ सबै एउटै मानिसजस्ता भई निस्के। शाऊलले सबै मानिसहरूलाई बेजेकमा एकसाथ भेला गराए। त्यहाँ इस्राएलका 3,00,000 र यहूदाका 30,000 मानिसभेला भए।

शाऊल र तिनका सैनिकहरूले याबेशका दूतहरूलाई भने, “गिलादमा याबेशका मानिसहरूलाई भन भोलि मंध्यान्ह भित्र तिमीहरूको उद्धार हुनेछ।”

दूतहरूले शाऊलको सु-सन्देश याबेशका मानिसहरूलाई दिए। याबेशका मानिसहरू अतिनै खुशी भए। 10 त्यसपछि याबेशका मानिसहरूले अम्मोनी नाहाशलाई भने, “भोलि हामी तपाईंकहाँ आउनेछौं। तपाईंलाई जे इच्छा लाग्छ हमीलाई त्यही गर्नुहोस्।”

11 भोलिपल्ट शाऊलले आफ्ना सैनिकहरूलाई तीन खण्डमा बाँडे। सूर्योदयको समयपछि शाऊल र तिनका सैनिकहरू अम्मोनीहरूको छाउनी भित्र पसे। जब शाऊलले आक्रमण गरे यो रातमा बस्ने रक्षक दलको अदला-बदली गर्ने समय थियो, शाऊल र तिनका सैनिकहरूले अम्मोनीहरूलाई मध्याह्र भन्दा पहिले नै हराए। सबै अम्मोनी सैनिकहरू तितर-वितर भए। दुइजना अम्मोनी सैनिक एकसाथ हुने मौका कतै पाएनन्।

12 तब मानिसहरूले शमूएललाई भने, “ती मानिसहरू कहाँ छन् जसले शाऊललाई राजाको रूपमा शासन गरेको हेर्न चाहेनन्। ती मानिसहरू हाम्रा सामु झिकाईउन्। हामी तिनीहरूलाई मार्छौ।”

13 तर शाऊलले भने, “होइन, आज कसैलाई मार्नु हुँदैन। आज परमप्रभुले इस्राएलको रक्षा गर्नु भएको छ।”

14 त्यसपछि शमूएलले मानिसहरूलाई भने, “आऊ, हामी गिलगाल जाऊँ। गिलगालमा हामी शाऊललाई फेरि राजाकोरूपमा घोषणा गरौं।”

15 यसरी सबै गिलगाल गए। त्यहाँ परमप्रभुको अगाडि शाऊललाई मानिसहरूले राजा बनाए। तिनीहरूले परमप्रभुलाई मेलबलि पनि चढाए। शाऊल र सबै इस्राएलीहरूले ठूलो हर्षमा उत्सव मनाए।

यूहन्ना 6:43-71

43 तर येशूले भन्नु भयो, “एक-अर्कामा गनगनाउन बन्द गर। 44 पिता एक हुनुहुन्छ जसले मलाई पठाउनु भयो अनि मानिसहरूलाई मेरो समक्ष ल्याइदिनु हुन्छ। तिनीहरूलाई म अन्त्यको दिनमा जीवित पार्नेछु। कोही पनि आफ्नो मर्जीले आउन सक्तैन। केवल पिताले मात्र मकहाँ ल्याइदिनु सक्नुहुन्छ। 45 अगमवक्ताहरूले लेखेः ‘परमेश्वरले सबैलाई सिकाउनु हुनेछन्।’ मानिसहरू जसले पितालाई सुन्नेछन्। अनि उहाँबाटै सिक्ने छन् मकहाँ आउनेछन्। 46 मैले यो भन्न खोजेको होइन कि पितालाई कसैले देखेकाछन्। तिनी मात्र एक हुन् जो पिताबाट आएकाछन्। जसले पितालाई देखेकाछन्।

47 “म तिमीहरूलाई साँच्चो भन्दछु, जसले विश्वास गर्छ त्यससित अनन्त जीवन हुनेछ। 48 म रोटी हुँ जसले जीवन प्रदान गर्दछ। 49 तिमीहरूका पुर्खाहरूले मरूभमूमिमा मन्ना खाए तरै पनि अन्य मानिसहरू जस्तै तिनीहरू मरे। 50 म त्यो रोटी हुँ जो स्वर्गबाट आयो। यदि कुनै मानिसले यो रोटी खाँदछ भने उ कहिल्यै मर्दैन। 51 म जिउँदो रोटी हुँ जो स्वर्गबाट आएको हो। जो मानिसले त्यो रोटी खाँदछ ऊ अनन्त सम्म बाँच्दछ। यो रोटी मेरो शरीर हो। म दिनेछु ताकि संसारका मानिसहरूले जीवन पाउनेछन्।”

52 तब यहूदीहरूको आपसमा वाद-विवाद शुरू भयो। तिनीहरूले भने, “यो मान्छेले कसरी आफ्नो शरीर खान दिन्छ?”

53 येशूले भन्नुभयो, “म साँच्चो भन्छु। तिमीहरूले मानिसको पुत्रको शरीर खानै पर्छ। उसको रगत पिउनु नै पर्छ। यदि तिमीहरूले त्यसो गरेनौ भने तिमीहरूले जीवन पाउने छैनौ। 54 तर जसले मेरो शरीर खान्छ र रगत पिउँछ उसको जीवन अनन्त हुन्छ। अन्त्यको दिनमा म उसलाई उठाउनेछु। 55 मेरो शरीर साँच्चो भोजन हो। मेरो रगत साँच्चो पिउने कुरा हो। 56 जसले मेरो शरीर खान्छ र रगत पिउँदछ तब त्यो मानिस मभित्र र म ऊभित्र हुनेछ।

57 “जीवित पिताले मलाई पठाएका हुन्। उहाँको कारणले म बाँच्छु। यसर्थ जसले मलाई खाँदछ मेरो कारणले पनि ऊ बाँच्नेछ। 58 म त्यो रोटी जस्तो होइन जुन हाम्रा पिताहरूले मरूभूमिमा खाए औ अन्य मानिसहरू सरह मरे। म स्वर्गबाट आएको त्यो रोटी हुँ। ऊ जसले यो रोटी खाँदछ, अनन्त बाँच्ने छ।”

59 येशूले ती कुराहरू त्यतिबेला गर्नुभयो जब उहाँ कफर्नहुम शहरको यहूदीहरूको सभा-घरमा सिकाउनु हुँदैथ्यो।

धेरै चेलाहरूले येशूलाई छाडे

60 धेरै येशूका चेलाहरूले यस्तो सुनेपछि भने, “यो शिक्षा बुझ्न गाह्रो छ। कसले यो शिक्षा ग्रहण गर्न सक्छ?”

61 येशूले चेलाहरू गनगनाउँदैछन् भन्ने थाहा पाउनु भयो। तिमीहरूलाई भन्नुभयो, “के यस शिक्षाले तिमीहरूलाई ठेस लाग्छ? 62 तब तिमीहरूले मानिसको पुत्रलाई जहाँ ऊ पहिले थियो, त्यहाँ जाँदै गरेको देख्यौ भने के हुन्छ? 63 त्यो आत्मा हो जसले मानिसलाई जीवन दिन्छ। शरीरबाट केही फाईदा छैन। म जो चीज तिमीहरूलाई भन्छु त्यो आत्मा हो तिनहरूले जीवन दिन्छ। 64 तर तिमीहरू मध्ये कसैले विश्वास गर्दैनौ।” (येशूलाई शुरूबाट नै थाहा थियो कस-कसले विश्वास गरेनन् र कसले धोखा दिन्छ।) 65 येशूले भन्नुभयो “त्यसैले मैले भनेकोछु ‘पिताले अनुमति नदिए सम्म कोही पनि म भएकोमा आउन सक्तैन।’”

66 जब येशूले त्यसो भन्नुभयो, उनका धेरै चेलाहरू पछि हटे र उहाँको पछि लाग्नु छाडे।

67 येशूले बाह्रजना प्रेरितहरूलाई भन्नुभयो, “तिमीहरू पनि छाड्न चाहन्छौ?”

68 शिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “हे प्रभु हामी कसकोमा जाऊँ? तपाईंकोमा वचन छ जसले अनन्त जीवन दिन्छ। 69 हामी तपाईंमाथि विश्वास गर्छौं। हामी जान्दछौं कि तपाईं मात्र एक पवित्र हुनुहुन्छ जो परमेश्वरबाट आउनुभएको हो।”

70 तब येशूले उत्तर दिनुभयो, “मैले तिमीहरू बाह्रजनालाई चुन्छु। तर पनि तिमीहरूमा एकजना शैतान हो।” 71 येशूले यहूदाको विषयमा भनिरहनु भएको थियो। यहूदा शिमोन इस्कारियोतको छोरो थिए। यहूदा ती बाह्र चेलाहरू मध्येका एकजना थिए। किनभने उसले उहाँलाई धोका दिनेवाला थियो।

भजनसंग्रह 107

पाँचौं भाग

(भजनसंग्रह 107–150)

परमप्रभुलाई धन्यवाद चढाओ, किनभने उहाँ उपकारी हुनुहुन्छ।
    उहाँको प्रेम सधैँ रहन्छ।
यसैले ज-जसलाई परमप्रभुले बचाउनु भएको थियो,
प्रत्येक मानिसले भन्नु पर्दछ कि परमप्रभुले बचाउनु भयो।
    परमप्रभुले तिनीहरूका शत्रुहरूदेखि तिनीहरूलाई बचाउनु भयो।
परमप्रभुले आफ्ना मानिसहरूलाई विभिन्न देशहरूबाटसँगै भेला गर्नुभयो।
    उहाँले तिनीहरूलाई पूर्व र पश्चिम, उत्तर र दक्षिणबाटसँगै भेला पार्नु भयो।

तिनीहरूमा कतिपय सुख्खा मरुभूमिमा छोडिए।
    तिनीहरूले बस्ने ठाउँ खोजिरहेका थिए।
    तर तिनीहरूले कुनै शहर भेट्टाएनन्।
तिनीहरू भोका र प्यासा थिए
    अनि कमजोर हुँदै गइरहेका थिए।
त्यसपछि तिनीहरूले परमप्रभुलाई सहायताको निम्ति पुकारे।
    अनि उहाँले तिनीहरूलाई सङ्कटहरूबाट जोगाउनु भयो।
परमप्रभुले तिमीहरूलाई सोझै शहर तिर डोराएर लैजानु भयो,
जहाँ तिमीहरू बस्न पाउँथे।
उहाँको अनन्त प्रेमको निम्ति उहाँले सृजना गर्नु भएका
    आश्चर्यकामहरूको निम्ति उहाँलाई धन्यवाद देओ।
परमेश्वरले तिर्खाएको आत्मालाई तृप्त पार्नु भयो।
    परमेश्वरले भोको आत्मालाई गुणपूर्ण कुराहरूले परिपूर्ण पारिदिनु भयो।

10 परमेश्वरका कतिपय मानिसहरू कैदीहरू थिए,
    झ्यालखानाको अँध्यारो कोठाहरूमा बन्दी थिए।
11 किनभने तिनीहरू परमेश्वरले भनेका कुराहरूका विरूद्ध लडेका थिए।
    तिनीहरूले सर्वोच्च परमेश्वरबाट आएका सल्लाहहरू प्रति कानै थापेनन्।
12 परमेश्वरले तिनीहरूकै कु-कर्मको कारणले गर्दा
    उनीहरूका जीवन जीउन कठिन परिदिनु भयो।
तिनीहरू ठेस लागेर लडे
    अनि त्यहाँ तिनीहरूलाई साथ दिने कोही पनि थिएन।
13 ती मानिसहरूलाई सङ्कटहरूमा फँसाइयो।
यसैकारण तिनीहरूले परमेश्वरलाई गुहार मागे
    अनि उहाँले तिनीहरूलाई सङ्कटबाट बचाउनु भयो।
14 कालो कोठरीको कैदबाट परमेश्वरले तिनीहरूलाई बाहिर निकाल्नु भयो।
    तिनीहरूलाई बाँधिएका डोरीहरू उहाँले चुडाई दिनुभयो।
15 उहाँको अनन्त प्रेम र मानिसहरूको निम्ति उहाँले सृजना गर्नु भएको
    आश्चर्यकामहरूको निम्ति उहाँलाई धन्यवाद देऊ।
16 हाम्रा शत्रुहरूलाई नाश गर्न परमप्रभुले हामीलाई सहायता दिनुभयो,
परमेश्वरले तिनीहरूको काँसाको मूल ढोका भत्काउन सक्नुहुन्छ।
    परमेश्वरले तिनीहरूका फलामका बारहरू टुक्रा-टुक्रा पारिदिन सक्नुहुन्छ।

17 कतिपय मानिसहरूले आफ्ना पापहरू र दोषहरूद्वारा आफैंलाई मूर्ख बनाए।
    उनीहरूले गरेको दुष्ट कामको निम्ति उनीहरूले कष्ट भोगे।
18 ती मानिसहरूले खान पनि रूचाउँदैनन्
    अनि तिनीहरू प्रायः मर्छन्।
19 तिनीहरू सङ्कटहरूमा थिए, यसैले सहयोगको निम्ति परमेश्वरलाई गुहार मागे
    र उहाँले तिनीहरूलाई ती सङ्कटहरूबाट बँचाउनु भयो।
20 परमेश्वरले आज्ञा गर्नुभयो र तिनीहरू निको भए।
    यसकारण ती मानिसहरू चिहानबाट बाँचे।
21 परमप्रभुको अनन्त प्रेम
    अनि मानिसहरूका निम्ति उहाँले सृजना गर्नु भएको
    आश्चर्यकामहरूको निम्ति परमप्रभुलाई धन्यवाद देऊ।
22 उहाँप्रति बलिदान स्वरूप उपहारहरू अर्पण गर
    अनि उहाँका कार्यहरू प्रति धन्यवाद प्रदान गर।
    खुशी भएर उहाँले गर्नु भएका कार्यहरूको बारे भन्दै जाऊ।

23 कतिपय मानिसहरू जहाजमा तरेर समुद्र पारी पुगे।
    तिनीहरूका कर्मले नै तिनीहरूलाई महासागर पार तार्यो।
24 ती मानिसहरूले परमेश्वरले के गर्न सक्नु हुन्छ भन्ने कुरा देखे।
    तिनीहरूले समुद्रमा गर्नु भएको उहाँको अद्भूत कामहरू देखे।
25 परमेश्वरले आज्ञा गर्नुभयो, अनि प्रबल बतास बहन थाल्यो।
    छालहरू उच्च भन्दा उच्च हुँदै गए।
26 ती छालहरूले तिनीहरूलाई उठाएर आकाशमा पुर्याए
    अनि गहिरो समुद्रमा झारिदिए।
    तूफान एकदम भयङ्कर थियो ती मानिसहरूको साहस हराएर गयो।
27 तिनीहरू धरमरिरहेका थिए अनि मातेको मानिस सरह पछारिए,
    माझीको रूपमा तिनीहरूको कुशलता बेकार भयो।
28 तिनीहरू सङ्कटहरूले घेरिए, यसैकारण तिनीहरूले परमेश्वरलाई गुहार मागे।
    अनि उहाँले ती सङ्कटहरूबाट तिनीहरूलाई बँचाउनु भयो।
29 परमेश्वरले समुद्र तूफानलाई रोक्नु भयो।
    अनि छालहरूलाई शान्त पार्नुभयो।
30 माझीहरू खुशी भए किनभने समुद्र शान्त थियो।
    अनि परमेश्वरले तिनीहरू जहाँ जान चाहन्थे त्यहाँ जोगाएर लैजानु भयो।
31 उहाँको प्रेम र मानिसहरूको लागि उहाँले सृजना गर्नु भएको
    आश्चर्यकामहरूको निम्ति परमप्रभुलाई धन्यवाद देऊ।
32 महासभामा परमेश्वरको प्रशंसा गर।
    बूढा-प्रधानहरू सँगै भेला भएको बेला उहाँको प्रशंसा गर।

33 परमेश्वरले नदीहरूलाई पनि मरुभूमिमा परिवर्त्तन गर्नुभयो।
    परमेश्वरले झरनाहरू बहनुदेखि रोकिदिनु भयो।
34 परमेश्वरले मलिलो भूमिलाई काम नलाग्ने नूनिलो जमीन बनाई दिनुभयो।
    किनभने ती दुष्ट मानिसहरूले गर्दा हो, जो त्यस ठाउँमा बसीरहेका थिए।
35 परमेश्वरले मरुभूमिलाई पानीको पोखरीमा परिवर्त्तन गर्नुभयो।
    परमेश्वरले बाँझो जमीनमा पानीको मूल फुटाउनु भयो।
36 परमेश्वरले भोकाएका मानिसहरूलाई राम्रो ठाउँमा लानुभयो।
    अनि तिनीहरूले आफ्नो निम्ति शहर बसाए।
37 ती मानिसहरूले त्यस धर्तीमा बिऊ छरे,
र तिनीहरूले त्यहाँ अङ्गुरको खेती गरे।
    अनि तिनीहरूले असल बाली पाउन सके।
38 परमेश्वरले ती मानिसहरूलाई आशीर्वाद दिनु भयो।
तिनीहरूका सन्तानहरू बढे।
    तिनीहरूका अधिक भन्दा अधिक पशुहरू भए।
39 घोर विपत्ति र सङ्कटहरूले गर्दा
    तिनीहरूका परिवारहरू सानो र कमजोर भए।
40 परमेश्वरले तिनीहरूका शासकहरूलाई लज्जित र व्याकुल पार्नु भयो।
    उहाँले तिनीहरूलाई मरुभूमिमा भडकिहिँड्ने बनाउनु भयो जहाँ कुनै बाटो छैन।
41 त्यसपछि परमेश्वरले ती गरीब मानिसहरूलाई तिनीहरूको दुःखबाट मुक्ति दिनुभयो।
    अनि तिनीहरूका परिवारहरू भेंडाका बथानहरू जस्ता विशाल हुँदै गए।
42 असल मानिसहरूले त्यसलाई देख्छन् अनि तिनीहरू आनन्दित हुन्छन्
    तर दुष्ट मानिसहरूले त्यसलाई देखे पछि अनुहार खुम्च्याउँछन्।
43 यदि कुनै मानिस ज्ञानी छ भने उसले यी कुराहरू सम्झने छ।
    परमेश्वरको प्रेम के हो, त्यसपछि मात्र उसले वास्तविक रूपमा बुझ्न थाल्नेछ।

हितोपदेश 15:1-3

15 नम्र तथा कोमल वचनले क्रोध शान्त गराउँछ भने कठोर वचनले क्रोधलाई अझ उत्तेजित पार्छ।

ज्ञानीको जिब्रोले ज्ञानलाई आनन्दित बनाउँछ, अनि मूर्खको मुखबाट खाली मूर्खता नै बाहिरिन्छ।

परमप्रभुको नजर प्रत्येक कुनामा पुगेको हुन्छ। उहाँ खराब असल देखिरहनु भएको हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International