Print Page Options
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 शमूएल 22-23

दाऊद विभिन्न ठाउँहरूमा जान्छन्

22 दाऊदले गात छोडेर भागे। दाऊद आदुल्लामको गुफामा पुगे। दाऊदका दाज्यू-भाइहरू र आफन्तहरूले दाऊद आदुल्लाममा छ भनी सुने। तिनीहरू दाऊदलाई भेट्न गए। धेरै मानिसहरूले दाऊदलाई साथ दिएका थिए। दाऊदलाई साथ दिनेहरूमा तिनीहरू थिए जो केही न केही समस्यामा परेका थिए। कोही ऋणमा डुबेकाहरू थिए कोही आफ्नै जिन्दगीसँग असन्तुष्टि थिए। यिनीहरूले दाऊदलाई साथ दिए र तिनीहरूका नेता दाऊद थिए। त्यहाँ लगभग 400 पुरूषहरू दाऊदसँग थिए।

मोआबमा मिस्पा जाँदा दाऊदले आदुल्लाम छोडे। मोआबका राजालाई दाऊदले भने, “मलाई परमेश्वरले के गरिरहनु भएको छ भनि नजानुन्जेलसम्म मेरा आमा बाबुलाई तपाईंले यहाँ बस्ने अनुमति दिनुहोस्।” यसप्रकार दाऊदले उसका आमा-बुबालाई मोआबका राजा कहाँ ल्याए। जबसम्म दाऊद किल्लामा रहे तबसम्म उनका आमा बाबु मोआबका राजासँग बसे।

तर अगमवक्ता गादले दाऊदलाई भने, “किल्लामा नबस्नु होस्। बरू यहूदाको भूमिमा जानुहोस्।” यसर्थ दाऊद त्यहाँबाट हारेतको बन तिर गए।

शाऊलले अहीमेलेकको परिवारलाई नष्ट गरे

शाऊलले सुने कि उसका मानिसहरूले दाऊद र उनका मानिसहरू कतातिर छन् भन्ने थाहा पाए। शाऊल गिबाको टाकुरामा एउटा रूखको छाहारीमुनि बसिरहेका थिए। शाऊलले हातमा भाला लिएका थिए। तिनका सबै अधिकारीहरू वरिपरि उभिएका थिए। शाऊलले आफ्ना वरिपरि उभिएका अधिकारीहरूलाई भने, “बिन्यामीनका मानिसहरू हो सुन, तिमीहरूले विचार गरेका छौ, यिशैको छोरा दाऊदले तिमीहरूलाई खेत तथा दाखका बगान दिएको छ? तिमीहरूले यो पनि सोचेका छौ कि दाऊदले तिमीहरूको उन्नति गराउने छ अनि 1,000 र 100 मानिसहरूका अधिकारी बनाउने छ? तिमीहरू सबैले मेरो विरूद्ध षड्‌यन्त्र रच्दैछौ। तिमीहरू कसैले पनि छोरा जोनाथनले यिशैका छोरासँग सन्धि गरेको छ भनेर भनेनौ कसैले मेरो वास्ता गरेनौ। मेरो छोरा जोनाथनले दाऊद मेरो नोकरलाई सहायता गरेको कुरा कसैले पनि भनेनौ। जोनाथनले दाऊदलाई लुकेर रहनु भन्ने गर्थ्यो ताकि उसले मलाई आक्रमण गर्न सकोस्। अनि दाऊदले अहिले त्यही नै गर्दैछ।”

एदोमी दोएग शाऊलका अधिकारीहरूसँगै उभिरहेको थियो। दोएगले भन्यो, “मैले यिशैका छोरा दाऊदलाई नोब भन्ने ठाउँमा देखें। दाऊद अहीतूबका छोरा अहीमेलेकलाई भेट्न आएका थिए। 10 अहीमेलेकले परमप्रभुसँग दाऊदका लागि प्रार्थना गरे। तिनले दाऊदलाई भोजन पनि दिए। अनि अहीमेलेकले दाऊदलाई पलिश्ती गोल्यतको त्यो तरवार पनि दिए।”

11 त्यस पछि राजा शाऊलले पूजाहारीहरूलाई हाजिर गराउनु भनेर मानिसहरूलाई आदेश दिए। शाऊलले अहीतूबका छोरा अहीमेलेकलाई तिनका आफन्तहरूसितै लिएर आउनु भन्ने आदेश दिए। अहीमेलेकका आफन्तहरू नोबमा पूजाहारी थिए। तिनीहरू सबै राजाका अगाडि हाजिर भए। 12 शाऊलले अहीमेलेकलाई भने, “हे अहीतूबका छोरा, सुन।”

अहीमेलेकले जवाफ दिए, “भन्नुहोस, मेरो प्रभु।”

13 शाऊलले अहीमेलेकलाई भने, “तिमी र यिशैका छोरा दाऊदले मेरो विरूद्ध किन षड्‌यन्त्र रच्यौ? तिमीले दाऊदलाई रोटी र तरवार दियौ। परमेश्वरसँग तिमीले उसको लागि विन्तीभाउ पनि गर्यौ। अनि अहिले दाऊद सोझै मलाई आक्रमण गर्ने मौका हेर्दैछ।”

14 अहीमेलेकले जवाफ दिए, “दाऊद तपाईंको सबभन्दा भरोसा गर्न योग्यको पात्र हो। तपाईंका कुनै अधिकारी पनि दाऊद जस्ता विश्वासी छैनन्। दाऊद त तपाईंका आफ्नै ज्वाइँ हुन्। साथै दाऊद तपाईंका अंगरक्षकहरूका कप्तान पनि हुन्। तपाईंका परिवारका सबैले दाऊदलाई आदर गर्छन्। 15 दाऊदको लागि मैले प्रार्थना गरेको यो प्रथमचोटि होइन। मलाई र मेरा आफन्तहरूलाई दोष नदिनुहोस्। हामी त तपाईंका सेवक हौं। कहाँ के भइरहेछ मलाई केही थाहा छैन।”

16 तर राजाले भने, “अहीमेलेक, तिमी र तिम्रा आफन्तहरू मारिनु नै पर्छ।” 17 अनि राजाले आफ्ना छेऊमा उभिएको रक्षकलाई आदेश दिए, “जाऊ, परमप्रभुका ती पूजाहारीहरूलाई मार। यसो गर्नै पर्छ कारण तिनीहरू दाऊदका मानिसहरू हुन्। दाऊद भाग्दै थियो भन्ने जान्दा जान्दै पनि तिनीहरूले मलाई बताएनन्।”

तर राजाका अधिकारीहरूले परमप्रभुका ती पूजाहारीहरूलाई मार्न अस्वीकार गरे 18 यसर्थ राजाले दोएगलाई आदेश दिए। शाऊलले भने, “दोएग, तिमी गएर पूजाहारीहरूलाई मार।” एदोमी दोएग गएर पूजाहारीहरूको हत्या गरे। त्यस दिन दोएगले 85 जना पूजाहारीहरूलाई मारे। 19 नोब पूजाहारीहरूको शहर थियो। दोएगले नोबका सम्पूर्ण मानिसहरूलाई मारे। दोएगले तरवारले पुरूष, स्त्री बालक र शिशु लगायत सबैलाई मारे। यहाँ सम्म दोएगले गाईं, गोरु, गधा र भेंडा समेत बाँकी राखेनन्।

20 तर एबीयातार उम्केर भागे, एबीयातार अहीमेलेकका छोरा थिए। अहीमेलेक चाँहि अहीतूबका छोरा थिए। एबीयातार भागेर गए र दाऊदसँग मिले। 21 एबीयातारले दाऊदलाई शाऊलले पूजाहारीहरू मारेको वृतान्त बताए। 22 त्यसपछि दाऊदले एबीयातारलाई भने, “त्यस दिन नोबमा मैले एदोमी दोएगलाई देखेको थिएँ। मलाई थाहा थियो त्यसले शाऊललाई बताउने छ भनेर। तिम्रा पिताको परिवालाई मारेकोमा म आफूलाई जिममेवार ठान्छु। 23 त्यो मानिस (शाऊलले) तपाईंलाई मार्न चाहान्छ र मलाई पनि। तिमी यहीं बस नडराऊ, तिमी यहाँ मसँग सुरक्षित रहने छौ।”

दाऊद कीलाको नगरमा

23 मानिसहरूले दाऊदलाई भने, “हेर्नुहोस्, पलिश्तीहरूले कीलाको शहरमाथि आक्रमण गरिरहेका छन्। खलाबाट तिनीहरूले अन्न लूट्न शुरू गरे।”

दाऊदले परमप्रभुलाई सोधे, “के मैले पलिश्तीहरू विरूद्ध युद्ध गर्न जानु?”

परमप्रभु परमेश्वरले दाऊदलाई भन्नु भयो, “जाऊ र पलिश्तीहरूमाथि जाइ लाग अनि कीला शहरको रक्षा गर।”

तर दाऊदका मानिसहरूले भने, “हेर्नुहोस्, हामी यहाँ यहूदामा डराएर बसिरहेका छौं। साँच्चै पलिश्ती सेनाहरू अघि पुग्दा हामी झन् ज्यादा डराउने छौं।”

दाऊदले फेरि परमप्रभुलाई सोधे अनि परमप्रभुले जवाफ दिनुभयो, “कीलामा जाऊ। म पलिश्तीहरूलाई हराउन म सहयोग गर्ने छु।” यसरी दाऊद र तिनका मानिसहरू कीलामा गए। दाऊद र तिनका मानिसहरू पलिश्तीसँग लडे। दाऊदका मानिसहरूले पलिश्तीहरूलाई हराए अनि तिनीहरूका पशु लिए। यसरी दाऊदले कीलाका मानिसहरूलाई बँचाए। (जब एबीयातार भागेर दाऊदकहाँ पुगे तिनले आफूसँग एउटा एपोद पनि लगेका थिए।)

मानिसहरूले शाऊललाई अहिले दाऊद कीलामा छ भनेर सुनाए। शाऊलले भने, “परमेश्वरले दाऊदलाई मेरा हातमा सुम्पिनु भएको छ। दाऊद फन्दामा परेकोछ। ऊ यस्तो शहरमा पस्यो जहाँ ढोकाहरू छन् र ढोकाहरूमा ताला लगाउने बारहरू छन्।” शाऊलले आफ्ना सारा सेनाहरूलाई लडाईंकोलागि भेला गराए। ती सेनाहरू कीलामा दाऊदका मानिसहरूसँग युद्ध गर्न तयार रहे।

शाऊलले दाऊदको विरूद्धमा बनाएको योजना उसलाई थाहा भयो। दाऊदले पूजाहारी एबीयातारलाई भने, “एपोद ल्याऊ।”

10 दाऊदले प्रार्थना गरे, “हे परमप्रभु इस्राएलका परमेश्वर, मैले सुनें कि मेरो कारण शाऊलले यो शहर नष्ट गर्ने योजना बनाउँदैछ। 11 के साँच्चै हुन आउँछ? के किलाका मानिसहरूले म र मेरो मानिसहरूलाई शाऊलको हातमा सुम्पी देलान्? परमप्रभु इस्राएलका परमेश्वर, म तपाईंको दास हुँ। मलाई बताउँनुहोस्।”

परमप्रभुले भन्नु भयो, “हो यो हुन आउँछ।”

12 दाऊदले फेरि आफ्नो प्रश्न दोहोर्याए, “के कीलाका मानिसहरूले मलाई शाऊलका हातमा सुम्पिनेछन्?”

परमप्रभुले भन्नु भयो, “तिनीहरूले त्यसै गर्नेछन्।”

13 त्यसर्थ दाऊद र तिनका मानिसहरूले कीला छोडिदिए। दाऊदसँगै जानेहरू प्रायः 600 मानिस थिए। दाऊदको र उसका मानिसहरू एक ठाउँ देखि अर्को ठाउँ हुँदै घुमिरहे। शाऊलले दाऊद किलाबाट भागे भन्ने थाहा पाए। यसर्थ शाऊल त्यस शहरतिर गएनन्।

शाऊलले दाऊदको खेदो गर्छन्

14 दाऊद मरुभूमिको किल्लामा बस्न पुगे। दाऊद जीपको मरुभूमिको पहाडी क्षेत्रमा गए। शाऊलले सधै नै दाऊदको खोजी गर्थे, तर परमप्रभुले शाऊलको हातबाट दाऊदलाई जोगाउनु हुन्थ्यो।

15 दाऊद जीपको मरुभूमिको होरेश भन्ने ठाउँमा थिए। त्यहाँ शाऊल दाऊदललाई मार्न आइरहेकाले तिनी साह्रै डराए। 16 तर शाऊलको छोरा जोनाथन दाऊदलाई भेट्न होरेश गए। जोनाथनले दाऊदलाई परमेश्वरलाई विश्वास गर्न अझ जोड गरे। 17 जोनाथनले दाऊदलाई भने, “डराउनु पर्दैन। मेरा पिता शाऊलले तपाईंलाई हानि गर्ने छैनन्। तपाईं इस्राएलका राजा हुनुहुनेछ। मचाहिं तपाईं पछिको हुनेछु। यो कुरा मेरा पिताले पनि जान्दछन्।”

18 जोनाथन र दाऊद दुवैले परमप्रभु अघि एउटा बाचा-बन्धन गरे। त्यसपछि जोनाथन घरतिर लागे अनि दाऊद होरेशमानै बसे।

जीपका मानिसहरूले शाऊललाई दाऊदबारे बताउँछन्

19 जीपका बासिन्दाहरू गिबामा शाऊललाई भेट्न आए। तिनीहरूले शाऊललाई भने, “दाऊद हाम्रै क्षेत्रमा लुकेरहेका छन्। ऊ हकीला पहाडको होरेश नाउँको किल्लामा छन्, जो यशीमोनको दक्षिणमा पर्छ। 20 अब, महाराज, तपाईं जहिले आए पनि हुन्छ। दाऊदलाई तपाईंको जिम्मा लगाउने काम हाम्रो भयो।”

21 शाऊलले जवाफ दिए, “परमप्रभुले मलाई सहायता गरेकोमा तिमीहरूलाई आशीर्वाद दिऊन्। 22 जाऊ र उसको बारे अझ जानकारी लेऊ। दाऊद कहाँ बस्छ थाहा गर। दाऊदलाई त्यहाँ कसले देख्छ त्यो पनि बुझिराख। शाऊलले मनमनै विचारे, ‘दाऊद साह्रै चलाख छ। उसले मलाई छक्याउनँ सक्छ।’ 23 दाऊद लुकेको ठाउँहरू पत्ता लगाऊ। त्यसपछि आएर मलाई वृतान्त बताऊ। त्यस पछि म तिमीहरूसित जानेछु। यदि दाऊद ती ठाँउहरूमा कतै छ भने यहूदाको प्रत्येक घरहरूमा छापामारेर म त्यसलाई पत्तालगाउँनेछु।”

24 अनि जीपका मानिसहरू जीपमा फर्किए पछि शाऊल त्यहाँ गए।

दाऊद र तिनका मानिसहरू यशीमोनको दक्षिणमा भएको अराबाको माओन वनमा थिए। 25 शाऊल र तिनका मानिसहरू दाऊदको खोजीमा गए। तर मानिसहरूले दाऊदलाई होसियार गराए। शाऊलले तिमीलाई खोज्दै छ भनेर खबर दिए। त्यसपछि दाऊद माओनको मरुभूमिको तल चट्टानतिर गए। शाऊलले दाऊद माओनको मरुभूमितिर गएको कुरा थाहा पाए। यसरी शाऊल दाऊदको खोजीमा त्यस ठाउँतिर गए।

26 शाऊल पहाडको एकापट्टि थिए, त्यही पहाडको अर्कोपट्टि दाऊद र तिनका मानिसहरू थिए। दाऊद शाऊलको पञ्जाबाट बाँच्न हतारिदै थिए। शाऊल र उसका सिपाहीहरू दाऊदलाई पक्रन पहाडको चारैतिर घुमिरहेका थिए।

27 त्यत्ति नै बेला एउटा समाचार-वाहक शाऊल कहाँ आयो अनि जानकारी दियो, “चाँडो आउनुहोस् पलिश्तीहरूले हामीलाई आक्रमण गर्दैछन्।”

28 यसकारण शाऊलले दाऊदको पिछा गर्न छोडे अनि पलिश्तीहरूसँग लडन गए। यही कारण मानिसहरूले त्यस ठाउँको नाउँ “छुट्टयाउने चट्टान” भन्न थाले। 29 दाऊद माओनको मरुभूमि त्यागेर एनगदीको छेउको किल्लामा गए।

यूहन्ना 10:1-21

भेंडा़वाला र उसको भेडो

10 येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। जब कुनै पनि एक मानिस भेंडा़-गोठभित्र पस्दछ, त्यो ढोकाबाट पस्दछ। यदि त्यो अर्को तिरबाट पस्छ भने त्यो चोर अनि डाकू हो। तर कुनै मानिस ढोका खोलेर गोठमा पस्दछ तब ऊ गोठाला हो। जसले ढोकाको देखरेख गर्छ उसैले गोठालाको लागी ढोका खोल्दछ। अनि भेंडा़ले पनि उसैको कुरा सुन्छ। गोठालाहरूले नामद्वारा आफ्नो भेंडा़हरूलाई डाक्दछन अनि गोठ बाहिर निकाल्दछन्। गोठालाले सबै भेंड़ाहरू बाहिर निकाल्दछ। तब ऊ सबैको अघि जाँदछ तिनीहरूको अगुवाई गर्दछ। भेंडा़हरू उसैको पछि लाग्दछन् किनभने तिनीहरूले उसको आवाज चिन्दछन्। भेंडा़हरूले नचिनेको मानिसलाई पछ्याउँदैन। तिनीहरू त्यस्ता नचिनेको मान्छेदेखि टाडा भाग्दछन्, किनभने तिनीहरूले उसको आवाज चिन्दैनन्।”

यसरी येशूले मानिसहरूलाई एउटा कथा सुनाउनु भयो। तर त्यस कथाको तात्पर्य के हो तिनीहरूले बुझेनन्।

येशू असल गोठालो हुन्

येशूले फेरि भन्नुभयो, “म साँच्चो भन्दछु। म भेंडा़हरूको लागि ढोका हुँ। जो मेरो अघि आए, तिनीहरू सबै चोरहरू र डाकूहरू हुन्। भेंडा़ले तिनीहरूलाई ध्यान दिएनन्। म ढोका हुँ। जुन मानिस मद्वारा पस्दछ ऊ जोगिन्छ। त्यो मानिस भित्र आउने र बाहिर जाने योग्य हुँदछ। उसले चाहेको जति सबै कुराहरू पाउनेछ। 10 एक चोर चोर्न, मार्न र ध्वंस गर्न मात्र आउँदछ। तर म जीवन-दान गर्न आएँ-त्यस्तो जीवन जुन पूर्ण र असल छ।

11 “म असल गोठालो हुँ। असल गोठालोले भेंडा़का निम्ति आफ्नो जीवन प्रदान गर्दछ। 12 पैसा दिएर राखेको कर्मी र खास गोठालोमा भिन्नता हुँदछ। तलब दिएर राखेका गोठालाहरूको आफ्नो भेंडा़ हुदैन। जब उसले ब्वाँसो देख्दछ, ऊ भेंडा़लाई छाडेर भाग्दछ। तब ब्वाँसोले भेंडा़हरूमाथि आक्रमण गरेर तितर-बितर पार्दछ। 13 किनभने ऊ तलबमा राखिएको मान्छे हो। त्यसकारणले भाग्छ। उसले भेंडा़को देखरेख गर्दैन। उसलाई भेंड़ाको चिन्ता हुँदैन। उसलाई भेंड़ासँग कुनै मतलब रहँदैन।

14-15 “म त्यो गोठालो हुँ जसले भेंडा़लाई साँच्चो मनले रक्षा गर्छ। म मेरा भेंडा़हरू चिन्दछु जसरी पिताले मलाई चिन्नुहुन्छ। अनि भेंडा़ले पनि मलाई चिन्दछ जसरी म पितालाई चिन्दछु। म ती भडाहरूका लागि जीवन अर्पण गर्छु। 16 मसँग अन्य भेंडा़हरू पनि छन्। तिनीहरू यस झुण्डमा छैनन्। मैले तिनीहरूलाई पनि अगुवाई गर्नु पर्छ। तिनीहरूले मेरो आवाज सुन्नेछन्, तब तिनीहरू एउटै झुण्डमा हुनेछन् तब त्यहाँ, एउटा बगाल अनि एउटै गोठालो हुदँछ। 17 मेरो पिताले मलाई प्रेम गर्नुहुन्छ किनभने म मेरो जीवन दिनु तयार छु ताकि त्यो म फेरि फिर्ता पाउँनेछु। 18 मबाट कसैले जीवन लिन सक्दैन, मेरो आफ्नै जीवन आफ्नो इच्छाले दिन्छु मेरो आफ्नो जीवन दिने अधिकार छ। अनि त्यसैलाई पुनः प्राप्त गर्न अधिकार पनि छ। यही नै त मेरा पिताले मलाई गर्नु भन्नुभयो।”

19 फेरि यहूदीहरू आपसमा सहमती भएनन्, किनभने यशूले यी कुराहरू भन्नु भएको थियो। 20 धेरै यहूदीहरूले भने, “भूतात्मा उसमा छ र ऊ बौलाहा भएको छ। किन उसलाई ध्यान दिनु?”

21 तर अन्य यहूदीहरूले भने, “भूतात्माले भेट्टाएको मान्छेले यस्तो प्रकारको कुरा गर्नसक्तैन। के भूतात्माले अन्धा मान्छेहरूका आँखा निको पार्न सक्छ? अँहँ!”

भजनसंग्रह 115

हे परमप्रभु, हामीले सम्मान पाउनु पर्ने होइन।
    तपाईंको प्रेम र विश्वासले गर्दा
    सम्मान तपाईंको मात्र हो।
किन ती जातिहरू “हाम्रा परमप्रभु कहाँ छन्?” भनेर छक्क पर्दछन्।
परमप्रभु स्वर्गमा हुनुहुन्छ।
    अनि उहाँले आफ्नो चाहनाले जे पनि गर्न सक्नुहुन्छ।
ती सम्प्रदायहरूका “देवताहरू” सुन र चाँदीले बनिएका खाली मूर्तिहरू मात्र हुन्।
    तिनीहरू कुनै मानिसले बनाएका मूर्तिहरू मात्र हुन्।
ती मूर्तिहरूका मुखहरू छन्, तर बोल्न सक्दैनन्।
    तिनीहरूका आँखाहरू छन्, तर देख्न सक्दैनन्।
तिनीहरूका कानहरू छन्, तर सुन्न सक्दैनन्।
    तिनीहरूका नाकहरू छन्, तर सुँघ्न सक्तैनन्
तिनीहरूका हातहरू छन्, तर अनुभव गर्न सक्दैनन्
    तिनीहरूका खुट्टाहरू छन्, तर हिंड्न सक्दैनन्
    अनि कुनै स्वर-ध्वनिहरू उनीहरूका कण्ठबाट निकाल्न सक्तैनन्।
ती मानिसहरू जसले तिनीहरूलाई बनाउँछन् र तिनीहरूमाथि भरोसा गर्छन्,
    तिनीहरू त्यस्तै हुन्छन्!

हे इस्राएल का मानिसहरू, परमप्रभुमाथि भरोसा गर!
    परमप्रभु तिनीहरूका बल र ढाल हुन्।
10 हारूनका परिवारहरू, परमप्रभुमाथि भरोसा राख!
    परमप्रभु तिनीहरूका बल र ढाल हुनुहुन्छ।
11 हे परमप्रभुका अनुयायीहरू, परमप्रभुमाथि भरोसा गर!
    परमप्रभु तिनीहरूका बल र ढाल हुन्।

12 परमप्रभुले हामीलाई सम्झनुहुन्छ।
    परमप्रभुले हामीलाई आशीर्वाद दिनुहुन्छ।
परमप्रभुले इस्राएल लाई आशीर्वाद दिनुहुनेछ।
    परमप्रभुले हारूनका परिवारलाई आशीर्वाद दिनुहुनेछ।
13 महान् र क्षुद्र दुवैलाई आशीर्वाद दिनुहुनेछ।
    परमप्रभुले आफ्ना भक्तहरूलाई आशीर्वाद दिनुहुनेछ।

14 परमप्रभुले तिमीहरूका छोरा-छोरीहरूलाई
    धेरै भन्दा धेरै नै आशिर्वाद दिऊन्।
15 परमप्रभु जसले स्वर्ग र पृथ्वी बनाउनु भयो,
    तिमीहरूलाई आशीर्वाद दिऊन्!
16 स्वर्ग परमप्रभुको अधिकारमा छ।
    तर पृथ्वी उहाँले मानिसहरूका अधिकारमा दिनु भयो।
17 मरेका मानिसहरूले परमप्रभुको प्रशंसा गर्दैनन्।
    चिहान भित्र भएका मानिसहरूले परमप्रभुको प्रशंसा गर्दैनन्।
18 तर हामी अहिले परमप्रभुको प्रशंसा गर्छौं,
    अनि हामी उहाँको प्रशंसा सदा-सर्वदा गर्छौं।

परमप्रभुको प्रशंसा गर!

हितोपदेश 15:18-19

18 एउटा क्रोधित मानिसले झगडा़ मच्चाउँछ तर सहनशील मानिसले झगडा़लाई शान्त गराउँछ।

19 एकजना अल्छे मानिसको मार्ग, काँढाहरूले भरिएको हुन्छ, तर ईमानदार मानिसको मार्ग फराकिलो बाटो झैं हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International