The Daily Audio Bible
Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.
23 सबै मानिसहरू चिच्चाई रहेका थिए। राजा दाऊद र तिनका मानिसहरू मरुभूमि अघि बढदै जब किद्रोन बेंसी तरे तिनीहरू रोए। 24 सादोक र तिनीसँग भएका लेवीहरूले परमेश्वरको करारको सन्दूक बोकेका थिए। तिनीहरूले परमेश्वरको पवित्र सन्दूकलाई राखे। अनि एबीयातारले मानिसहरूले दाऊदसित यरूशलेम नछाडुन्जेलसम्म प्रार्थना गरे।
25 राजा दाऊदले सादोकलाई भने, “परमेश्वरको पवित्र सन्दूकलाई यरूशलेममा नै छोड। यदि परमप्रभु मसित खुशी हुनुहुन्छ भने मलाई यरूशलेम र उहाँको मन्दिरलाई हेर्ने मौका दिनुहुन्छ। 26 तर यदि परमप्रभु मसित खुशी हुनुहुन्न् भने उहाँले मलाई जे पनि गर्नसक्नु हुन्छ।”
27 राजाले पूजाहारी सादोकलाई भने, “तिमी एकजना द्रष्टा (अगमवक्ताको अर्को नाम) पनि हौ। शान्तसित शहर फर्क। साथमा तिम्रो छोरा अहीमास र एबीयातारका छोरा जोनाथन पनि लैजाऊ। 28 तिमीबाट सुन्नलाई म त्यहाँ पर्खिरहनेछु जहाँ मरुभूमि पारि मानिसहरू नदी तर्छन्।”
29 यसैले सादोक र एब्यातारले पवित्र सन्दूकलाई यरूशलेममा फिर्ता लगे र त्यहीं बसे।
दाऊद अहीतोपेलको बिरूद्धमा प्रार्थना गर्छन्
30 दाऊद जैतून डाँडा उक्ले। तिनी रोए। टाउको ढाकेर खाली खुट्टै हिंडे। दाऊदका साथमा भएका अन्य मानिसहरूले पनि टाउको ढाके। तिनीहरू पनि रूँदै दाऊदसँग गए।
31 एकजना मानिसले दाऊदलाई भने, “अहीतोपेल त्यो एउटा व्यक्ति हो जसले अब्शालोमसँग षडयन्त्रमा भाग लियो।” तब दाऊदले प्रार्थनामा भने, “परमप्रभु, म भन्दैछु अहीतोपेलको सल्लाह अनुरूपको कार्य विफल होस्।” 32 दाऊद पहाडको चुचुरोमा उक्ले। जहाँ दाऊदले कहिलेकाहीं परमेश्वरलाई आराधना गर्थे। त्यही समय एरेकी हूशै फाटेको कोट अनि टाउकोभरि धुलो हालेर तिनका अघि आए।
33 दाऊदले हूशैलाई भने, “यदि तिमी मसित गयौ भने अर्को हेरचाह गर्ने व्यक्ति हुनेछौ। 34 तर यदि तिमी यरूशलेम फर्कियौ भने तिमीले अहीतोपेलको सल्लाहलाई विफल पार्न सक्छौ। अब्शालोमलाई भन्नु, ‘राजा म तपाईंको सेवक हुँ। मैले तपाईंको पितालाई सेवा गरें। अब म तपाईंको सेवा गर्नेछु।’ 35 पूजाहारी सादोक र एबीयातार पनि तिमी सितै हुनेछन्। राजदरवारमा सुनेका कुरा सबै तिनीहरूलाई बताउने छौ। 36 सादोकका छोरा अहीमास र एबीयातारका छोरा जोनाथन तिनीहरू सितै हुनेछन्। तिमी जे-जे सुन्छौ तिनीहरूद्वारा तिमीले मलाई बुझ्नदेऊ।”
37 तब दाऊदका साथी हूशै शहर गए। अनि अब्शालोम यरूशलेम पुगे।
सीबाले दाऊदलाई भेट्छन
16 दाऊद जैतुन डाँडाको टापुमा अलिक पर मात्र पुगेका थिए, मपीबोशेतको नोकर सीबाले दाऊदलाई भेटे। सीबासँग जीन लगाम कस्सिएका दुइवटा गधा थिए। गधामा 200 रोटी, 100 झुप्पा किसमिस, 100 ग्रीष्मफल र दाखरस लादिएको एउटा मसक थियो। 2 राजा दाऊदले सीबालाई सोधे, “यी चीज किन ल्यायौ?”
सीबाले जवाफ दिए, “गधाहरू राजाको परिवारलाई चढनको निम्ति ल्याएको हो। रोटी र ग्रीष्मफलहरू अधिकारीहरूलाई खाना भनेर अनि मरुभूमिमा हिंडदा जो कमजोरी भएर हिंडन सक्दैनन् तिनीहरूका निम्ति दाखरस ल्याएको।”
3 राजाले सोधे, “मपीबोशेत खै कहाँ छन्।?”
सीबाले जवाफ दिए, “मपीबोशेत यरूशलेममा नै बसे। तिनले सोचे, ‘अब इस्राएलीहरूले मेरा पिताका राज्य मलाई दिन्छन्।’”
4 तब राजाले सीबालाई भने, “यही कारणले मेपीबोशेथका जाय जेथा अब म तिमीलाई दिन्छु।”
सीबाले भने, “म तपाईंसँग नतमस्तक छु। मलाई विश्वास छ म तपाईंलाई सधैँ रिझाउनसक्छु।”
शिमीले दाऊदलाई सराप्छ
5 दाऊद बहूरीममा आए। बहूरीमबाट शाऊलका परिवारका एकजना मानिस निस्किए। त्यसको नाउँ शिमी थियो, जो गेराका छोरा थिए। शिमीले दाऊदलाई धेरै सराप्दै आए। लगातार नराम्रो नामले सराप्दै थिए।
6 शिमीले दाऊद र तिनका अधिकारीहरूलाई ढुङ्गाले हान्न शुरू गरे। तर मानिसहरू र सिपाहीहरूले दाऊदलाई घेरे। 7 शिमीले दाऊदलाई सराप दिए। उनले भने, “ए हत्यारा, भाग यहाँबाट छिटो भाग। 8 परमप्रभुले तलाईं सजाय दिदैछन्। किन थाहा छ? कारण तैले शाऊलका परिवारलाई मारिस्। तैंले शाऊलको राजसिंहासन चोरिस्। तर अहिले ठीक यस्तो गति हुँदैछ तेरो। परमप्रभुले तेरो राज्य तेरो छोरा अब्शालोमलाई दिनुभयो। किन थाहा छ? कारण तँ हत्यारा होस्।”
9 सरूयाहका छोरा अबीशैले राजालाई भने, “हे मेरो मालिक राजा यो मरेको कुकुरले किन तपाईंलाई सराप्दैछ? दया गरी मलाई उसको टाउको छिनाउन दिनुहोस्।”
10 तर राजाले जवाफ दिए, “सरूयाहका छोराहरू किन तिमीहरू मेरो मामलाहरूमा हात हाल्छौ? साँच्चो हो, शिमीले मलाई सराप्दै छ। तर सायद परमप्रभुले मलाई सराप्नु उसलाई भन्नु भएको होला। कसले परमप्रभुलाई उहाँले गर्नु भएको विषयमा प्रश्न गर्न सक्छ र?” 11 दाऊदले अबीशै र सारा नोकरहरूलाई भने, “हेर, मेरो आफ्नै छोरा (अब्शालोम) ले मलाई मार्न खोज्दैछ। यो मानिस (शिमी) बिन्यामीन कुल समूहले मलाई मार्ने अधिकार ज्यादा प्राप्त गर्छ। उसलाई एक्लै रहन देऊ। मलाई मनपरि भन्न देऊ। परमप्रभुले नै त्यसो गर्नु भन्नु भएको हो। 12 यो हुनसक्छ, परमप्रभुले मैले शिमीद्वारा गालि खाएको देखेर म प्रति दया गर्दै राम्रो गर्नुहुन्छ।”
13 यसकारण दाऊद र तिनका मानिसहरू आफ्नो बाटो लागे। तर शिमीले दाऊदलाई पछ्याए। पहाडको बाटोको अर्कोतिर भएर शिमी हिंड्न थाल्यो। यात्राभरि दाऊदलाई गाली गर्दै शिमी हिडयो। शिमीले दाऊदलाई ढुङ्गा र धूलोले पनि हान्यो।
14 राजा दाऊद र तिनका अनुयायीहरू यर्दन नदी पुगे। राजा र अनुयायीहरू थकित थिए। त्यहाँ तिनीहरूले आराम गरे र आफूलाई थकावट मुक्त पारे।
15 अब्शालोम, अहीतोपेले र अन्य मानिसहरू जो इस्राएलवासी थिए यरूशलेम आए। 16 दाऊदका एरेकी हूशै नामक साथी अब्शालोमलाई भेट्न आए। उसले अब्शालोमलाई भने, “राजाको चिरायु होस्। राजाको चिरायु होस्।”
17 अब्शालोमले सोधे, “तिमी तिम्रा मित्र दाऊदको विश्वासपात्र किन बनेनौ? यरूशलेम छोडेर किन दाऊदसँग गएनौ?”
18 हूशैले भने, “म परमप्रभुले छान्नु भएको मानिसका अधीनमा बस्छु। यी मानिसहरू अनि इस्राएलका मानिसहरूले तपाईंलाई छाने। म तपाईंसँगै बस्छु। 19 पहिले मैले तपाईंका पिताको सेवा गरें। अब म तपाईंको सेवा गर्नेछु तपाईं दाऊदका छोरा हुनहुन्छ।”
अब्शालोमले अहीतोपेलबाट सल्लाह लिन्छन्
20 अब्शालोमले अहीतोपेललाई भन्छन्, “कृपया अब हामीले के गर्नु पर्छ भन।”
21 अहीतोपेलेले अब्शालोमलाई भने, “तिम्रा पिताजीले उहाँका केही पत्नीहरूलाई आफ्नो घर रेखदेख गर्न छोड्नु भएको छ। जाऊ र तिनीहरूसित शारीरिक सम्बन्ध राख। त्यसपछि प्रत्येक इस्राएलीलाई यो थाहा हुनेछ कि तिमीलाई तिम्रा पिताले घृणा गर्छन् भनेर। अनि ती सबै मानिसहरूले तिमीलाई सहयोग पुर्याउन उत्साहित हुनेछन्।”
22 तब अब्शालोमको निम्ति तिनीहरूले महलको छानामा एउटा पाल हाले। अनि अब्शालोमले आफ्ना पिताका रखौटी पत्नीहरूसित शारीरिक सम्बन्ध राखे। सबै इस्राएलीहरूले यो देखे। 23 त्यस समय अहीतोपेलको सल्लाह दाऊद र अब्शालोम दुवैका निम्ति साह्रै महत्वपूर्ण थियो। तिनीहरूले सोचे कि यो त्यति महत्वपूर्णको हो जति परमेश्वरको वचन एउटा मानिसको निम्ति हुन्छ।
पत्रुसले फेरि झूट बोल्यो
(मत्ती 26:71-75; मर्कूस 14:69-72; लूका 22:58-62)
25 शिमोन पत्रुस आगोको छेउमा आफूलाई न्यानो पार्दै उभिरहेको थियो। केही मानिसहरूले पत्रुसलाई भने, “तिमी त्यस मान्छेको चेलाहरू मध्ये एक हौ?”
तर पत्रुसेल अस्वीकार गर्दै भन्यो, “अँहँ, म होइन।”
26 प्रधान पूजाहारीको एकजना नोकर त्यहाँ थियो। त्यो नोकर त्यस मान्छेको आफन्त थियो जसको कान पत्रुसले काटेको थियो। नोकरले भन्यो, “तिमीलाई उसँग मैले बगैंचामा देखेको होइन?”
27 तर फेरि पत्रुसले भन्यो, “अँहँ! म उनीसँग थिइनँ।” अनि त्यहीबेला भाले बास्यो।
पिलातसको समक्ष येशूलाई ल्याइयो
(मत्ती 27:1-2,11-31; मर्कूस 15:1-20; लूका 23:1-25)
28 त्यसपछि यहूदीहरूले येशूलाई कैयाफाबाट लिएर रोमी राज्यपालको महलतर्फ गए। यो बिहानी पख थियो। यहूदीहरू महलभित्र पसेनन्। तिनीहरू आफूले आफूलाई अशुद्ध राख्न चाहेनन् किनभने तिनीहरूले निस्तार चाडको भोज खानु थियो। 29 यसर्थ पिलातस बाहिर निस्केर यहूदीहरूलाई सोधे, “यस मानिसको विरुद्धमा तिमीहरूले के आरोप लगाएकोछौ?”
30 यहूदीहरूले भने, “यो अपराधी हो, यसकारण तपाईंको समक्ष ल्याएका छौं।”
31 पितालसले यहूदीहरूलाई भने, “तिमीहरू यिनलाई आफैं लैजाऊ अनि तिमीहरूकै व्यवस्था अनुसार न्याय गर।”
यहूदीहरूले भने, “तर तपाईंको कानुनले कुनै मानिसलाई मृत्यु दण्ड दिन हामीलाई अनुमति दिंदैन।” 32 (यस्तो भयो ताकि येशूले कस्तो मृत्युवरण गर्ने उहाँको वचन पुरा हुन सक्थ्यो।)
33 त्यसपछि पिलातस महलभित्र फर्के। पिलातसले येशूलाई बोलाएर सोध, “तिमी यहूदीहरूका राजा हौ?”
34 येशूले भन्नुभयो, “यो तपाईंको आफ्नै प्रश्न हो कि अरूले तपाईंलाई मेरो विषयमा सोध्नु लगाएको हो?”
35 पिलातसले भने, “म यहूदी होइन! तिम्रै मानिस र तिनीहरूका मुख्य पूजाहारीहरूले तिमीलाई मलाई सुम्पिए। तिमीले के भूल गरेका छौ?”
36 येशूले भन्नुभयो, “मेरो राज्य यस संसारको होइन। यदि म यस संसारको हुँदो हुँ तब मेरा सेवकहरूले मलाई यहूदीहरूको हातमा पर्नुबाट बचाउनुका निम्ति लडाईँ गर्ने थिए। तर मेरो राज्य भिन्दै जग्गाको हो।”
37 पिलातसले भने, “यसर्थ तिमी एक राजा हौ?”
येशूले उत्तर दिनुभयो, “तिमीले भन्यौ म राजा हुँ। त्यो सत्य हो। सत्यको साक्षीको लागि म जन्मेको थिए। त्यसैकारणले गर्दा म संसारमा आएको हुँ। अनि प्रत्येक मानिस जो सत्यको पक्षमा छ, मेरो कुरा सुन्दछ।”
38 पिलातसले भने, “सत्य के हो?” पिलातसले त्यसो भने पछि तिनी फेरि बाहिर यहूदीहरूकहाँ गए अनि भने, “मैले यस मानिसमाथि आरोप लगाउन केही दोष पाइन। 39 तिमीहरूको एक रीति अनुसार मैले तिमीहरूको निस्तार चाडको समयमा एक जना कैदीलाई मुक्ति दिनुपर्छ। तिमीहरू यस ‘यहूदीहरूको राजालाई’ मुक्ति दिइयोस् भन्ने चाहन्छौ?”
40 यहूदीहरूले फेरि चिच्याउँदै भने, “अँहँ, यसलाई होइन! बारब्बालाई मुक्त गरियोस्।” (बारब्बा एक डाँकू थियो।)
19 तब पिलातसले येशूलाई लैजाने र कोर्रा लगाउने आदेश दिए। 2 सिपाहीहरूले काँडादार हाँगाहरूका एउटा मुकुट गुँथे अनि येशूको टाउकोमा लगाई दिए। त्यसपछि तिनीहरूले बैजनी रंगको वस्त्र उनको शरीरमा पहिराइ दिए 3 सिपाहीहरूले धेरै पल्ट येशूको छैउमा आउँदै भने, “प्रणाम, हे यहूदीहरूका राजा!” भन्दै उहाँको अनुहारमा थप्पड लगाए।
4 फेरि पिलातस एक पल्ट बाहिर निस्के र यहूदीहरूलाई भने, “हेर! म येशूलाई तिमीहरू कहाँ ल्याउँदैछु किनभने मैले उसको विरूद्धमा आरोप लगाउने कुनै कारण पाइनँ।” 5 येशू बाहिर आए। उहाँले काँडेदार मुकुट र बैजनी वस्त्र लगाउनु भएको थियो। पिलातसले यहूदीहरूलाई भने, “त्यो मान्छो यही हो।”
6 जब मुख्य पूजाहारीहरू र यहूदीका द्वारपालहरूले येशूलाई देखे तिनीहरू चिच्याए, “क्रूसमा यसलाई टाँग्नुहोस्! क्रूसमा यसलाई टाँग्नुहोस्!”
तर पिलातसले भने, “तिमीहरू यिनलाई लैजाऊ र क्रूसमा टाँग। मैले उनीमाथि आरोप लगाउने कुनै कारण नै पाईनँ।”
7 यहूदीहरूले उसलाई उत्तर दिए, “हाम्रो व्यवस्था बमोजिम ऊ मर्नै पर्छ, किनभने उसले दावी गरेको छ कि ऊ परमेश्वरको पुत्र हो।”
8 जब पिलातसले यो सुने, उनी साह्रै डराए। 9 पिलातस महलभित्र फेरि पसे। उनले येशूलाई सोधे, “तिमी कहाँबाट आएका हौ?” तर येशूले उसलाई जवाफ दिनुभएन। 10 पिलातसले भने, “के तिमी मसँग बोल्दैनौ? याद गर, तिमीलाई मुक्त पार्ने अधिकार मसित छ। अनि तिमीलाई क्रूसमा टाँग्ने अधिकार पनि मसित छ।”
11 येशूले जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट नदिइएको भए ममाथि तपाईंको केही अधिकार हुने थिएन। त्यसैले ती मानिस जसले मलाई तपाईंलाई सुम्पियो उनिहरू तपाईं भन्दा महा-पापको दोषी हुन्।”
12 त्यसपछि, पिलातसले येशूलाई मुक्त पार्ने कोशिश गरे। तर यहूदीहरूले तिनलाई कराउँदै भने, “कसैले आफैंलाई राजा बनाउँछ भने त्यो सिजर बिरोधी हो। यसर्थ उसलाई तपाईं छुट्करा दिनु हुन्छ भने तपाईं सिजरको मित्र हुनु हुन्न।”
13 पिलातसले यहूदीहरूले के भने सुने। यसैले उसले येशूलाई महल बाहिर ल्याए त्यस ठाउँलाई “ढुङ्गाको पाटी” भनिन्छ। (जसलाई हिब्रू भाषामा गब्बाथा) भनिन्छ। त्यो न्यायसनमा पिलातस बसे। 14 यो प्रायः निस्तार चाड़को तयारी गर्ने दिनको मध्यान् भएको थियो। पिलातसले यहूदीहरूलाई भने, “तिमीहरूका राजा यहाँ छन्!”
15 यहूदीहरू चिच्याए, “त्यसलाई उतै लानु होस्, लानु होस्! त्यसलाई क्रूसमा मार्नु होस्।”
पिलातसले यहूदीहरूलाई सोधे, “के मलाई तिमीहरूको राजालाई क्रूसमा टाँग्न लगाउँछौ?”
मुख्य पूजाहारीहरूले भने, “सिजर मात्र हाम्रो राजा हुनुहुन्छ।”
16 तब येशूलाई क्रूसमा झुण्ड्याएर मार्नु भनेर पिलातसले तिनीहरूलाई सुम्पे।
येशू क्रूसमा मर्नुभयो
(मत्ती 27:32-44; मर्कूस 15:21-32; लूका 23:26-39)
सिपाहीहरूले येशूलाई लगे। 17 येशूले आफ्नो क्रूस बोक्नु भयो अनि उहाँ “खोपडी ठाऊँ” तर्फ जानु भयो (हिब्रू भाषामा “गलगथा” भनिन्छ) 18 गलगथामा येशूलाई क्रूसमा टाँगे। तिनीहरूले दुइजना मानिसहरू उहाँको दुइ पट्टि अनि येशूलाई बीचमा राखे। 19 पिलातसले संकेत पटमा लेखे अनि क्रूसमा टाँसिदिए। त्यो संकेतपटमा लेखिएको थियो। “नासरतको येशू, यहूदीहरूका राजा।” 20 पिलातसले त्यो हिब्रू ल्याटिन र ग्रीक भाषामा लेखेका थिए। धेरै यहूदीहरूले त्यो संकेतपट पढे किनभने क्रूसमा येशूलाई टाँगेको ठाउँदेखि शहर नजिकै थियो।
21 यहूदीहरूका मुख्य पूजाहारीहरूले पिलातसलाई भने, “‘यहूदीहरूका राजा’ भनेर, नलेख्नु होस्, बरू लेख्नुहोस्, ‘यो मान्छेले भनेकोछ, म यहूदीहरूको राजा हुँ।’”
22 पिलातसले उत्तर दिए, “मैले जे लेखें-लेखें, बद्ली गरिनेछैन।”
समेख्
113 हे परमप्रभु, म त्यस्ता मानिसहरूलाई घृणा गर्छु,
जो तपाईं प्रति पूर्ण रूपले विश्वासी छैनन्।
तर म तपाईंको शिक्षाहरू मन पराउँछु।
114 मलाई लुकाउनु होस् र रक्षा गर्नुहोस्।
हे परमप्रभु, तपाईंले भन्नु भएका प्रत्येक कुरामा म भरोसा गर्छु।
115 हे परमप्रभु, दुष्ट मानिसहरूलाई मेरो नजीक आउन नदिनुहोस्,
अनि म परमेश्वरको आज्ञाहरू पालन गर्नेछु।
116 हे परमप्रभु, तपाईंले वचन दिए जस्तै मलाई सघाउनु होस्, अनि म बाँच्ने छु।
म तपाईंमा भरोसा राख्छु यसर्थ मलाई असन्तुष्ट नपार्नु होस्।
117 परमप्रभु, मलाई साथ दिनुहोस र म बाँच्ने छु।
म तपाईंका आज्ञाहरू अनन्त सिक्ने छु।
118 हे परमप्रभु, तपाईंका विधिहरू भङ्ग गर्नेहरूदेखि तपाईं विमुख भएर जानु हुन्छ।
किनभने तिनीहरूले तपाईंको करार अनुसार हिंडछु भनेर झूटो बोले।
119 परमप्रभु, पृथ्वीमा तपाईंले दुष्ट मानिसहरूलाई मैला पुछेको जस्तो फ्याँकिदिनु भयो।
यसैले म तपाईंको करारलाई सदा-सर्वदा मान्ने नै छु।
120 हे परमप्रभु, म तपाईंबाट भयभीत छु।
म डराउँछु र तपाईंका विधिहरूको आदर गर्दछु।
ऐन्
121 मैले के सही र के राम्रो त्यही गरेकोछु।
हे परमप्रभु, मलाई ती मानिसहरूकहाँ नदिनु होस्,
जसले मलाई आघात पुर्याउन चाहन्छन्।
122 मप्रति असल रहने कसम खानुहोस् किनकि म तपाईंको दास हुँ।
हे परमप्रभु, ती अंहकारीसहरूलाई मप्रति आघात पुर्याउन नदिनुहोस्।
123 हे परमप्रभु, तपाईंबाट सहायताको र तपाईंको राम्रो वचनको निम्ति बाटो हेर्दा हेर्दा
मेरो आँखाहरू टट्टाई सके।
124 म तपाईंको दास हुँ,
तपाईंको स्नेहपूर्ण करूणा मलाई देखाउनु होस्।
मलाई तपाईंको विधिहरू सिकाउनु होस्।
125 म तपाईंको दास हुँ, मलाई बुझ्ने सामर्थ पार्नुहोस,
ताकि तपाईंको करार-वचन म बुझ्न सकुँ।
126 हे परमप्रभु, यो तपाईंले केही गर्ने समय हो।
मानिसहरूले तपाईंको विधिहरू भङ्ग गरे।
127 हे परमप्रभु, म खाटी सुन भन्दा पनि
तपाईंको आज्ञाहरू मन पराउँछु।
128 म खुब होशियारीसँग तपाईंको आज्ञाहरू पालन गर्छु।
म झूटो शिक्षाहरूलाई घृणा गर्दछु।
10 राजाले बोलेको नै नियम बन्दछ, यसर्थ उसले न्यायसँग बोल्नु पर्छ।
11 सही तराजु र नाप परमप्रभु सित सम्बन्धित रहन्छन्। उहाँ चाहानु हुन्छ कि सबै व्यवसाय-धन्धाहरू न्याय पूर्वक रहुन्।
© 2004, 2010 Bible League International