Print Page Options
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the EHV. Switch to the EHV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 शमूएल 12-13

शमूएलले राजाबारे बताए

12 शमूएलले सबै इस्राएलीहरूलाई भने, “तिमीहरूले भनेको प्रत्येक कुरा मैले गरे। तिमीहरू माथि राजा नियुक्त गरें। अब तिमीहरूलाई अगुवाई गर्नको निम्ति राजा हुनुहुन्छ। म बुढो भएँ तर मेरा छोराहरू तिमीहरूसित छन्। जब म एउटा ठीटो थिएँ, त्यस बेला देखि तिमीहरूका अगुवा थिएँ, त्यस बेला देखि तिमीहरूका अगुवा भएर आएँ। अहिले म यहाँ छु। यदि मैले कुनै भूलचुक गरेको भए परमप्रभुको अघि अनि परमप्रभुले चुन्नु भएको राजाअघि तिमीहरूले भन्नुपर्छ। के मैले कसैको गाई अथवा गधा चोरें? कसैलाई ठगे वा कष्ट पुर्याएँ? के मैले पैसा अथवा एक जोडी जुत्ता कहिले घुस लिएकोछु? यदि मैले यस्तो केही गरेको भए त्यसलाई म सच्याउनेछु।”

सबै इस्राएलीहरूले जवाफ दिए, “होइन! तपाईंले हामी कसैलाई पनि केही नराम्रो गर्नुभएन। हामीलाई कहिले पनि ठग्नुभएन र केही पनि लिनुभएन।”

शमूएलले इस्राएलीहरूलाई भने, “परमप्रभु र उहाँले चुन्नु भएको राजा गवाही हुनुहुन्छ। तिमीहरूले जे-जे भन्दैछौ उहाँ दुइजनाले सुन्दै हुनुहुन्छ। उहाँहरूलाई पनि थाहा भयो तिमीहरूले मलाई कुनै दोष दिएनौ।” सबै मानिसहरूले एकसाथ जवाफ दिए, “साँच्चै हो! परमप्रभु नै गवाही हुनुहुन्छ!”

तब शमूएलले मानिसहरूलाई भने, “हो परमप्रभु हाम्रो गवाही हुनुहुन्छ। परमप्रभुले नै मोशा र हारूनलाई चुन्नुभयो। अनि उहाँ नै हुनुहुन्छ जसले तिम्रा पिता-पुर्खाहरूलाई मिश्रबाट बाहिर ल्याउनु भयो। अब तिमीहरू त्यहाँ खडा होऊ, म तिमीहरूलाई परमप्रभुले तिम्रा पिता-पुर्खाहरू र तिमीहरूका लागि गर्नुभएका ती राम्रा अर्थहरू बताउँछु।

“याकूब मिश्र गए पछि मिश्र बासीहरूले उसका सन्तानहरूको जीवनलाई धेरै कष्टमय बनाए। यसर्थ तिनीहरूले परमप्रभुलाई सहायताको निम्ति रोइकराइ गरे। परमप्रभुले मोशा र हारूनलाई पठाउनु भयो। मोशा र हारूनले तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रबाट बाहिर लिएर आए अनि यही ठाउँमा बस्ने व्यवस्था मिलाई दिए।

“तर तिम्रा पिता-पुर्खाहरूले परमप्रभु परमेश्वरलाई त्यागे। यसकारण परमप्रभुले तिनीहरूलाई सीसराका दास हुन दिनुभयो। सीसरा हासोरका सेनाका सेनापति थिए। त्यसपछि परमप्रभुले तिनीहरूलाई पलिश्ती र मोआबका राजाका हातमा सुम्पिदिनुभयो। तिनीहरू सबै तिम्रा पिता-पुर्खाहरूको विरूद्ध लडे। 10 तर तिमीहरूका पिता-पुर्खाहरूले रूँदै परमप्रभुलाई सहायता मागे। तिनीहरूले भने, ‘हामीले पाप गर्यौ। हामीले परमप्रभुलाई छाडेर झूटो देवता बाल र देवी अश्तारोतको सेवा गर्यौ। अब हामीलाई हाम्रा शत्रुहरूबाट बचाउनुहोस्, हामी तपाईंका सेवक बन्नेछौ।’

11 “यसकारण परमप्रभुले यरूब्बाल, बाराक, यिप्तह अनि शमूएललाई त्यहाँ पठाउनुभयो। परमप्रभुले तिमीहरूको चारैतिरका शत्रुहरूबाट तिमीहरूलाई रक्षा गर्नुभयो यसकारण तिमीहरू सुरक्षित रह्यौ। 12 त्यस समयमा पनि अम्मोनीको राजा नाहाश तिमीहरूको विरूद्ध लड्न आएको देख्यौ। तिमीहरूले भन्यौ, ‘होइन, हामीहरूमाथि शासन गर्ने राजा नै चाहिन्छ।’ तिमीहरूले यही भन्यौ यद्यपि परमप्रभु तिमीहरूका परमेश्वर नै राजा हुनुहुन्थ्यो। 13 अब तिमीहरूले चुनेका राजा यहाँ छन्। परमप्रभुले तिमीहरूमाथि राजालाई नियुक्ति गर्नुभयो। 14 यदि तिमीहरूले उहाँलाई सम्मान गर्यौ भने परमप्रभुले तिमीहरूको रक्षा गर्नु हुन्छ। तर तिमीहरूले परमप्रभुको डर राख्दै सम्मान गर्नु पर्नेछ। आदेश पालनगर्दै सेवा गर्नुपर्ने छ। उहाँको विरूद्धमा जाने छैनौ। तिमीहरूका साथै तिमीहरूलाई शासन गर्ने राजाले पनि परमप्रभु तिमीहरूका परमेश्वरको अनुशरण गर्नुपर्छ। यदि तिमीहरूलाई भनेका कुराहरू पालन गर्छौ भने परमेश्वरले तिमीहरूलाई रक्षा गर्नुहुनेछ। 15 तर यदि परमप्रभुले भनेका तिमीहरूले मानेनौ र उहाँको विरूद्धमा गयौ भने, उहाँ पनि तिमीहरू र तिमीहरूका शासकको विरूद्धमा जानुहुनेछ।

16 “अब अझै चुपचाप उभिएर त्यो अचम्मको कामलाई हेर, जुन परमप्रभुले तिमीहरूका आँखा अगाडि गर्नुहुनेछ। 17 यो गहुँको फसल काट्ने समय हो। म परमप्रभुसँग प्रार्थना गर्नेछु। म उहाँसँग बिजुली चम्कँदै पानी पार्ने बिन्ती गर्नेछु। तब तिमीहरूलाई यो थाहा लाग्ने छ कि तिमीहरूले परमप्रभुको विरूद्धमा राजा मागेर भूल काम गरेका छौ।”

18 यसकारण शमूएलले परमप्रभुसँग प्रार्थना गरे। त्यही दिन परमप्रभुले मेघ गर्जनसित पानी बर्षाउनु भयो। यसकारणले गर्दा मानिसहरू परमप्रभु र शमूएलसँग साह्रै डराए। 19 सबै मानिसहरूले शमूएललाई भने, “दया गरेर परमप्रभु तपाईंका परमेश्वरलाई हाम्रो निम्ति प्रार्थना गरिदिनु होस्, तपाईंका सेवकहरूका निम्ति हामीहरूलाई नष्ट हुन नदिनु होस्। हामीले धेरै चोटी पाप गरेका छौ। हामीले राजा मागेर फेरि अर्को पाप थपेका छौं।”

20 शमूएलले जवाफ दिए, “नडराऊ! यो सत्य हो! तिमीहरूले त्यस्ता नराम्रा कामहरू गर्यौ। तर परमप्रभुलाई पछ्उन नछोड। हृदय देखि नै परमप्रभुको सेवा गर। 21 देवताका मूर्तिहरू केवल मूर्ति मात्र हुन्। त्यसले तिमीहरूलाई सहायता गर्दैन। यसर्थ त्यसको पूजा नगर। देवताका मूर्तिहरूले न त तिमीहरूलाई सहायता गर्न सक्छन् न त रक्षा नै गर्न सक्छन्। तिनीहरू केहि होइनन्।

22 “तर परमप्रभुले आफ्ना मानिसहरूलाई छोडनु हुँदैन। परमप्रभु तिनीहरूलाई आफ्नो मानिस बनाएर प्रसन्न हुनुहुन्थयो। यसर्थ उहाँले आफ्नो नाउँको खातिर तिनीहरूलाई त्याग्नु हुनेछैन। 23 अनि म तिमीहरूका निम्ति प्रार्थना गर्न छोड्ने छैन। यदि मैले तिमीहरूका लागि प्रार्थना गरिनँ भने परमप्रभु विरूद्ध मेरो पाप हुनेछ। म तिमीहरूलाई शिक्षा दिइरहन्छु ताकि तिमीहरूले राम्रो र सही जीवन जिउनेछौ। 24 तर तिमीहरूले परमप्रभुको डर अनि आदर गर्नैपर्छ। तिमीहरूको सम्पूर्ण हृदयले परमप्रभुको सेवा हुनुपर्छ। उहाँले तिमीहरूका निम्ति गर्नुभएको अचम्मका कार्यहरूलाई सम्झौं। 25 तर यदि तिमीहरूले हठी र लगातार दुष्ट कार्य गरिरह्यौ भनेः परमेश्वरले तिमीहरू र तिमीहरूका राजालाई नष्ट गर्नु हुनेछ।”

शऊलले पहिलो भूल गर्छन्

13 त्यसबेला शाऊलले राजाको रूपमा एक बर्ष विताइसकेका थिए। जब इस्राएलमा शासन गरेको दुइ बर्ष भएको थियो, तिनले इस्राएलबाट 3,000 पुरूषलाई छाने। त्यसमध्ये 2,000 पुरूष मिकमाशमा बेतेलको पहाडी प्रदेशमा रहनथाले। त्यहाँ 1,000 मानिसहरू बिन्यामीनको अन्तरगत गिबामा जोनाथनसित रहनथाले। बाँकी रहेका सैनिकहरूलाई घर पठाइदिए।

जोनाथन गिबामा गए र पलिश्तीहरूलाई तिनीहरूकै छाउनीमा हराए। पलिश्तीहरूले यो सुने। तिनीहरूले भने, “हिब्रूहरूले विद्रोह गरे।”

शाऊलले मानिसहरूलाई सारा इस्राएल भरी तुरही फुक्न आज्ञा गरे र भने, “जे भएको छ हिब्रूहरूले सुनोस्।” सबै इस्राएलीहरूले यो खबर सुने। तिनीहरूले भने, “शाऊलले पलिश्तीका अगुवाहरूलाई मारे। अब भने पलिश्तीहरूले साँच्चै इस्राएलीहरूलाई घृणा गर्नेछन्।”

इस्राएलीहरूलाई शाऊलसँग भेट्नका निम्ति गिलगालमा बोलाइयो। पलिश्तीहरू इस्राएलसित लड्नलाई भेला हुनथाले। पलिश्तीहरूसँग 3,000 रथ र 6,000 घोडसवारी थिए। बालुवाका कण किनारमा थुप्रिए झैं पलिश्ती सैनिकहरू थुप्रिएका थिए। मिकमाशमा पलिश्तीहरूले छाउनी हालेका थिए। (मिकमाश बेत-आवेनको पूर्वतिर पर्छ।)

इस्राएलीहरूले बुझे कि तिनीहरू खतरामा थिए। तिनीहरूलाई पलिश्तीहरूले धेरा हालेका थिए अनि तिनीहरू गुफा चर्कीएको चट्टानमा दगुरेर गए कुवा र अरू दुलोहरू तिर लुके। कोही हिब्रूहरू त यर्दन नदी पार गरेर गाद अथवा भागेर गिलाद तिर पुगे। शाऊल भने गिलगालमा नै थिए। तिनका सम्पूर्ण सैनिकहरू डरले कामिरहेका थिए।

शमूएलले भने उनी शाऊलसित गिलगालमा भेट्ने छन्। शाऊलले सात दिनसम्म पर्खे। तर शमूएल गिलगाल जाँदै गएनन् यसर्थ शाऊललाई सैनिकहरूले छोड्न शुरू गरे। त्यति बेला शाऊलले भने, “मेरो निम्ति होमबलि र मेलबलि जुटाइदेऊ।” त्यसपछि शाऊलले होमबलि चढाए। 10 तब शाऊलले बलि भेटी चढाऊन सके, शमूएल पनि त्यहाँ आइपुगे। शाऊल तिनीलाई भेट्न गए।

11 शमूएलले सोधे, “तपाईंले यो के गर्नुभयो?”

शाऊलले जवाफ दिए, “धमाधम सैनिकहरूले मलाई छोड्नलागे। तपाईं पनि यहाँ हुनुहुन्न थियो, अनि पलिश्तीहरू मिकमाशमा भरिएका थिए। 12 मैले सोचें, ‘पलिश्तीहरू यहाँ गिलगालमा आएर मलाई आक्रमण गर्नेछन्। मैले अहिलेसम्म परमप्रभुलाई सहायताको निम्ति बिन्ती पनि गरिन। अन्त्यमा बाध्य भएर मैले होमबलि चढाएँ।’”

13 शमूएलले भने, “तपाईंले मूर्खता पूर्ण काम गर्नुभयो। तपाईंले परमप्रभु तपाईंका परमेश्वरको आदेशको पालन गर्नुभएन! यदि तपाईंले परमेश्वरको आदेशको उङ्घन नगरेको भए परमेश्वरले तपाईंको परिवारलाई सदाको निम्ति इस्राएलको शासन दिनुहुन्थ्यो। 14 अब तपाईंको शासन अझ अघि बडने छैन। परमप्रभुले यस्तो मानिस खोज्नु भएको थियो जसले उहाँको आदेश पालन गर्छ। परमप्रभुले उहाँले चाहेको जस्तो मानिस भेट्टाउनु भएको छ र परमप्रभुले त्यही मानिसलाई आफ्ना मानिसहरूको प्रमुख बनाउँनु हुनेछ। तपाईंले परमप्रभुको आदेश पालन गर्नु भएन यसकारण उहाँले अर्को नया राजा छान्नु हुनेछ।” 15 त्यसपछि शमूएल उठे र गिलगाल छाडेर गए।

मिकमाशको युद्ध

शाऊल र उसका केही बँचेका सैनिकहरूले गिलगाल छोडे। तिनीहरू बिन्यामीनको गिबातिर गए। शाऊलले अहिलेसम्म आफ्ना साथ नछोडने मानिसहरूको गन्ती गरे। तिनीहरू प्रायः 600 जति रहेछन्। 16 शाऊल, तिनका छोरा जोनाथन र उनीसित भएका सैनिकहरू बिन्यामीन कहाँ गिबामा गए।

पलिश्तीहरूले मिकमाशमा छाउनी हालेका थिए। 17 पलिश्तीहरूले त्यहाँ रहेका इस्राएलीहरूलाई दण्ड दिने निश्चय गरे। तिनीहरूका शक्तिशाली सैनिकहरूले आक्रमण शुरू गरे। पलिश्ती सैनिकहरू तीन भागमा बाँडिएका थिए। पहिलो दल उत्तरतिरको ओप्रा जाने सडकबाट शूआल तर्फ लागे। 18 दोस्रो दक्षिण पूर्व बेथ-होरोन जाने सडक तर्फ लागे तेस्रो दल चाहि पूर्वतिरको सीमासम्म पुग्ने सडकतिर लागे। यो सडक सबोइमको बेंसीमा मरुभूमि तर्फ फैलिएर गएको थियो।

19 इस्राएलका मानिसहरूले फलामका हात हतियार बनाउन जान्दैनथे। त्यस समय इस्राएलमा लोहार पाइँदैनथ्यो। पलिश्तीहरूले इस्राएलीहरूलाई फलामको हात हतियार बनाउन सिकाएनन् कारण इस्राएलीहरू आफैंले फलामको हात हतियार बनाए भने पलिश्तीहरूलाई खतरा हुन्छ। 20 पलिश्तीहरूले मात्र हात हतियारमा उध्याउँथे। यदि इस्राएलीहरूलाई आ-आफ्ना हात हतियार जस्तै, फाली, कोदालो, बञ्चरो र हँसिया उध्याउँनु पर्यो भने तिनीहरू पलिश्तीहरू भएको मै जानुपर्थ्यो। 21 पलिश्ती लोहारहरूले फाली र कोदालोमा साँध लगाउन शेकेलको दुइ-तिहाई चाँदी लिन्थे भने बञ्चरो र गोरू धपाउने अंकुसे मिलाउनलाई शेकेलको एक-तिहाईं लाग्थ्यो। 22 यसर्थ युद्धका दिनहरूमा शाऊलका सैनिकसित न त फलामको तरवार थियो न त भाला नै। खालि शाऊल र तिनका छोरा जोनाथनसित फलामको हतियार थियो।

23 पलिश्तीहरूको एक दल सैनिकले मिकमाशको बेंसीलाई पूर्ण सुरक्षित तुल्याइरहेका थिए।

यूहन्ना 7:1-30

येशू र उहाँका भाइहरू

यो घट्ना पछि, येशूले गालील देशको चारैतिर यात्रा गर्नुभयो। येशूले यहूदियामा भ्रमण गर्न चाहनु भएन किनभने यहूदीहरूले उहाँलाई मार्ने मौका खोजी रहेका थिए। त्यसबेला यहूदीहरूको छाप्रो वासको चाड थियो। तब येशूका भाइहरूले उहाँलाई भने, “तपाईंले यता छोडेर यहूदाको पर्वमा जानुपर्छ। तब तपाईंका चेलाहरूले त्यहाँ तपाईंले गर्नु भएको महान कार्य देख्न सक्नेछन्। यदि कसैले आफूलाई जनसमूह माझ प्रकाश गर्न चाहन्छ भने, उसले आफ्नो काम गुप्तीरूपले गर्नु हुँदैन। संसारलाई आफू स्वयंले देखाऊ। तिमीले गरेका चमत्कारहरू तिनीहरूले देखुन्।” (येशूका भाइहरूले सम्म उहाँमाथि विश्वास गर्दैनथिए।)

येशूले उहाँका भाइहरूलाई भन्नुभयो, “मेरो निम्ति ठीक समय अझै आइपुगेको छैन। तर कुनै समय पनि तिमीहरूको लागि जाने बेला आउँछ। संसारले तिमीहरूलाई घृणा गर्न सक्तैनन्। तर यो संसारले मलाई घृणा गर्छ। किनभने मैले तिनीहरूलाई तिनीहरूका कामहरू दुष्ट छन् भनी देखाएँ। यसर्थ तिमीहरू चाडमा जाऊ। म चाडमा यस पल्ट जाँदिन। मेरा निम्ति ठीक समय अझै आएको छैन।” त्यति भनिसके पछि, उहाँ गालीलमा नै बस्नु भयो।

10 तब येशूका भाइहरू चाडतिर गए। तब उहाँ पनि चाडमा जानुभयो। तर येशू खुल्लम खुल्ला त्यहाँ जानु भएन, तर गुप्तीरूपले जानुभयो। 11 त्यो चाडमा यहूदीहरूले येशूलाई खोजे। तिनीहरूले भने, “त्यो मानिस कहाँ छ?”

12 त्यहाँ धेरै मात्रामा मानिसहरूको घुइँचो थियो। तिनीहरू मध्ये कसै-कसैले येशूको विषयमा गुप्त प्रकारले कुरा गरिरहेको थिए। कतिपय मानिसहरूले भने, “उहाँ एक असल मानिस हुनु हुन्छ।” तर कतिपयले भने, “होइन, मानिसहरूलाई मूर्ख बानउँदछ।” 13 तर कसैको पनि येशूको विषयमा खुल्लमखुल्ला प्रकारले कुरा गर्ने आँट थिएन। मानिसहरू यहूदी अगुवाहरूसँग डराउँदथे।

येशूले यरूशलेममा शिक्षा दिनुभयो

14 त्यो पर्व आधा जस्तो सिद्धिन थालेको थियो। तब येशू मन्दिरको प्राङ्गाणमा जानुभयो अनि मानिसहरूलाई सिकाउन शुरू गर्नुभयो 15 यहूदीहरू छक्क परे। तिनीहरूले भने, “यो मानिस कहिल्यै स्कूलमा पढेन उसले कसरी यति विघ्न कुराहरू जान्यो?”

16 येशूले जवाफमा भन्नुभयो, “जुन कुराहरू म पढाइरहेछु त्यो मेरो आफ्नै होइन। मेरो शिक्षा उहाँबाट आउँदछ जसले मलाई पठाउनु भयो। 17 यदि कुनै मानिसले परमेश्वरको इच्छा अनुसार काम गर्न चाहन्छ भने तब उसले मेरो शिक्षण परमेश्वरबाटै आँउछ भनी बुझ्नेछ। यो मेरो आफ्नै शिक्षण होइन भनेर उसले जान्दछ। 18 कुनै मानिस जसले आफ्नो विचार मात्र बताउँदछ उसले आफैं मात्र सम्मान पाउनलाई प्रयास गर्दछ। तर जुन मानिस जसले आफूलाई पठाउनेको सम्मान ल्याउने प्रयास गर्दछ उसले सत्य बोल्दछ। अनि उसकोमा केही असत्य रहनेछैन। 19 के मोशाले तिमीहरूलाई व्यवस्था प्रदान गर्नु भएन? तर तिमीहरू कसैले ती व्यवस्था पालन गरेनौ। किन तिमीहरू मलाई मार्न चाहन्छौ?”

20 मानिसहरूले जवाफ दिए, “एक भूतात्मा तिमीभित्र छ र त्यसले तिमीलाई बौलाहा बनाएको छ। कसले तिमीलाई मार्न चाहन्छ?”

21 येशूले तिनीहरूलाई भन्नुभयो, “मैले एउटा चमत्कार गरें र तिमीहरू सबै छक्क पर्यौ। 22 मोशाले तिमीहरूलाई खतनाको बारेमा नियम प्रदान गर्नुभयो। तर खासमा खतनाको नियम मोशाबाट आएको होइन। खतना हाम्रो पिता-पुर्खाबाट आएको हो जो मोशा भन्दा अगाडि थिए कहीले काँही विश्रामको दिनामा तिमीहरू शिशु को खतना गर्छौ। 23 यसले के देखाउँछ भने एकजना मानिसले मोशाको व्यवस्था उलङ्घन नहोस् भनी विश्रामको दिनमा खतना लिन सक्छ। तब मैले विश्रामकै दिनमा एकजना मानिसको सम्पूर्ण शरीर निको पार्दा तिमीहरू मसित किन रिसाउँछौ? 24 बाहिरी रूपलाई जाँच गर्न छाडी देऊ। निष्पक्ष बन र सत्य अनुसार जाँच गर।”

येशू नै ख्रीष्ट हो भनेर मानिसहरू छक्क परे

25 यरूशलेमका कोही बासिन्दाहरूले भने, “यो त्यही मानिस होइन जसलाई मानिसहरूले मार्ने चेष्टा गरिरहेकाछन्? 26 हेर, तिनी खुल्लम-खुल्ला शिक्षा दिइरहेका छन्। यद्यपि कसैले उहाँलाई शिक्षा दिन रोक्ने चेष्टा गरिरहेका छैनन्। के अग्रजहरूले उनी नै ख्रीष्ट हुन भन्ने निर्णय गरे? 27 तर हामी जान्दछौ उहाँ कहाँ बाट आएका हुन्। जब ख्रीष्ट आउनु हुनेछ, उहाँ कहाँबाट आउनु हुन्छ कसैलाई थाहा हुँदैन।”

28 येशूले मन्दिरको प्राङ्गाणमा शिक्षा दिइरहनु भएको थियो। येशूले ठूलो स्वरमा भन्नुभयो, “हो, तिमीहरू म को हुँ र कहाँबाट आएको हो भनेर जान्दछौ। तर म आफ्नै अधिकारबाट आएको भने होइन। मलाई कसैले पठाएका हो जो सत्य हुनुहुन्छ। तिमीहरू उहाँलाई जान्दैनौ। 29 तर म मात्र उहाँलाई जान्दछु अनि म उहाँबाटै आएको हुँ। उहाँले नै मलाई पठाउनु भएको हो।”

30 जब येशूले त्यसो भन्नुभयो, मानिसहरूले उहाँलाई पक्रन चाहन्थे तर कसैले पनि उहाँलाई छुन सम्म सकेनन्। येशूलाई अहिले नै मारि हाल्नु पर्ने ठीक समय भएको थिएन।

भजनसंग्रह 108

दाऊदको एउटा स्तुतिगीत।

हे परमेश्वर, म आत्मा र हृदय सहित
    स्तुति-गीतहरू गाउँन तयार छु।
हे मेरो आत्मा, तँ उठ!
    साङ्गीतहरू वीणाहरू उठ!
    अनि अरूहरूलाई उठाऊ!
हे परमेश्वर, हामी तपाईंलाई
    जातिहरू माझ गुण-गान गर्नेछौ।
परमप्रभु! तपाईंको प्रेम आकाशभन्दा पनि उच्च छ।
    तपाईंको सत्यता उच्चतम बादल भन्दा पनि उच्च छ।
हे परमेश्वर, आकाशभन्दा पनि माथि उठ्नुहोस्!
    सारा संसारले तपाईंको महिमालाई देखोस्।
हे परमेश्वर, आफ्ना मित्रहरू बँचाउनलाई मेरो प्रार्थनाको प्रत्युत्तर दिनुहोस।
    अनि तपाईंको महान् शक्ति बँचाउनलाई प्रयोग गर्नुहोस्।

परमेश्वर उहाँको मन्दिरमा बोल्नु भयोः
    “म युद्ध जित्ने छु अनि विजयी भएर प्रफुल्लित हुनेछु!
म यो धर्ती आफ्ना मानिसहरूको माझमा भाग गरेर बाँडिदिने छु।
    शेकेम तिनीहरूलाई दिनेछु।
    म तिनीहरूलाई सुक्कोत बेंसी दिनेछु।
गिलाद र मनस्से मेरो हुनेछ।
    एप्रैम मेरो शिरकवज हुनेछ,
    यहूदा मेरो राजदण्ड हुनेछ।
मोआब मेरो खुट्टा धुने ठूलो गर्दुवा हुनेछ,
    एदोम मेरो जुत्ताहरू बोक्ने दास हुनेछ,
    म पलिस्तिलाई परास्त गर्ने छु अनि विजय भएको खुसीमा कराउने छु।”

10-11 तर तपाईंले हामीलाई त्यागेर जानु भयो!
    तपाईं हाम्रा सेनाहरूसँग जानु भएन!
कसले मलाई शत्रुहरूको किल्लातिर लैजाने हो?
    कसले मलाई एदोमको विरूद्ध लडाइँ गर्न लैजाने हो?
12 हे परमेश्वर, हाम्रा शत्रुहरू नाश गर्नलाई साथ दिनुहोस्।
    मानिसहरूले हामीलाई सघाउन सक्दैनन्!
13 परमेश्वरले मात्र हामीलाई बलियो बनाउन सक्नु हुन्छ।
    परमेश्वरले हाम्रा शत्रुहरू पराजित गर्न सक्नु हुन्छ।

हितोपदेश 15:4

जुन वचनले मनको घाउ शान्ति पार्छ त्यो जीवन बृक्ष हो, तर छलपूर्ण वचनले आत्मालाई आघात पुर्याउँछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International