Print Page Options
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 शमूएल 2:12-3:39

कडा प्रतिद्वन्द

12 नेरका छोरा अबनेर र शाऊलका छोरा ईश्बोशेतका अधिकारीहरूले महनैम त्यागे र गिबोन गए। 13 सुरूयाहका छोरा योआब र दाऊदका अधिकारीहरू पनि गिबोन गए। तिनीहरूले अबनेर र ईश्बोशेतका अधिकारीहरूलाई गिबोनको पोखरीछेउमा भेट्टाए। अबनेरका मानिसहरू पोखरीको एक छेउमा थिए अनि योआबका मानिसहरू अर्को छेउमा थिए।

14 अबनेरले योआबलाई भने, “यी सैनिकहरू माझ एउटा होडबाजी गराऔं।”

योआबले भने, “ठीक छ होडबाजी होस्।”

15 यसकारण सैनिकहरू उठे। दुइ समूहमा आफ्ना आफ्ना सैनिकहरूको संख्या निर्धारण गरे। तिनीहरूले बाह्रा सैनिक बिन्यामीन समूहबाट शाऊलको छोराको पक्षमा छाने। तिनीहरूले दाऊदका अधिकारीहरूबाट बाह्र जना मानिसहरू छाने। 16 प्रत्येक मानिसले शत्रु सेनाहरूको शिर समाते अनि उसको कोखामा आफ्नो तरवार रोपिदिए। तब तिनीहरू लडे अनि एकैसाथ मरे। यसैकारणले यस ठाउँको नाउँ, “धारिलो छुरिहरूको मैदान” भनिन थालियो। त्यो ठाउँ गिबोनमा छ। 17 त्यो होडबाजीले भयंकर युद्धको रूप लियो अनि दाऊदका अधिकारीहरूले त्यस दिन अबनेर र इस्राएलीहरूलाई हराए।

अबनेरले असाहेललाई मार्छन

18 सरूयाहका तीनजना छोराहरू योआब, अबीशै र असाहेल नामका थिए। असाहेल जंगली मृग जस्तै कुद्न सक्थे। 19 असाहेल सिधा अबनेर तिर दगुरे र उसलाई खेद्न थाले। 20 अबनेर पछि फर्केर हेरे र सोधे, “अरे तिमी हौ असाहेल?”

असाहेलले भन्यो, “हो, मै हुँ।”

21 अबनेरले असाहेललाई कुनै घात गर्न चाहेका थिएनन्। यसकारण अबनेरले भने, “मलाई नखेद-बरू कुनै अर्को सैनिकलाई खेद। तिमीले उसलाई जित्ने छौ अनि उसको हतियार लैजाऊ।” तर असाहेलले अबनेरलाई खेद्न छोडेनन्।

22 फेरि पनि अबनेरले भने, “मेरो पिछा गर्न छाडि देऊ, होइन भने मेरो हातबाट तिम्रो हत्या हुन्छ। यदि तिमी मेरो हातबाट मारियौ भने मैले तिम्रा दाज्यू योआबलाई कसरी मुख देखाउनु।”

23 तर असाहेलले उसलाई पिछा नगर्न इन्कार गरे। यसकारण अबनेरले आफ्ना भालाको टुप्पोले असाहेलको भुँडीमा उनिदियो। भाला असाहेलको पछाडिपट्टि निस्कियो। अनि असाहेल त्यँही मर्यो।

योआब र अबीशैले अबनेरलाई खेदे

असाहेलको लास भुइँमा लड्‌यो। मानिसहरूले हतार-हतार गएर हेरे। 24 तर योआब र अबीशैले भने अबनेर कै पछि लागे। अम्मा पहाडको पछिल्लो तिर सूर्य अस्ताउँदै थियो। (अम्मा पहाड गीहको अगाडितिर गिबोन मरुभूमि जाने बाटो तिर पर्थ्यो।) 25 बिन्यामीन परिवार समूहका मानिसहरू पहाडमा अबनेर कहाँ आए अनि अबनेरलाई सहायता गर्न भेला भए।

26 अबनेरले योआबलाई चिच्याएर भनें, “के हामी सधैँ एका-अर्कासँग भिडिरहने? यसबाट दुःख बाहेक केही हात लाग्दैन। मानिसहरूलाई आफ्नै दाज्यू-भाइहरूलाई नखेद्नु भनेर भन।”

27 तब योआबले भन्यो, “परमेश्वरको नाममा तिमीले जे भन्दैछौ ठीक हो। यदि तिमीले केही नभनेको भए मानिसहरूले आफ्ना दाजु-भाइलाई बिहान सम्मै खेदिरहने थिए।” 28 यसकरण योआबले उसको तुरही फूक्यो अनि मानिसहरूले इस्राएलीहरूलाई खेद्न छोडे। तिनीहरूले फेरि इस्राएलीहरूसित युद्ध गर्ने कोशिश गरेनन्।

29 अबनेर र तिनका मानिसहरू यर्दन बेंसी भएर रातभरि हिंडे। तिनीहरूले यर्दन नदी पार गरी दिनभरिमा महनैम पुगे।

30 योआबले अबनेरलाई खेद्न छोडे र फर्के। योआबले जब उसका मानिसहरू भेला गराए पछि थाहा भयो असाहेल बाहेक दाऊदका 19 जना अधिकारीहरू हराएकाछन्। 31 तर दाऊदका अधिकारीहरूले अबनेर बिन्यामीन परिवार समूहका 360 जना मानिसहरू मारेछन्। 32 दाऊदका अधिकारीहरूले असाहेलको लासलाई उसैका बाबुको चिहानको छेउ बेतेलहमा गाडे।

योआब अनि उसका मानिसहरू रातभरि हिँडे। तिनीहरू हेब्रोन पुग्दा घाम भरखर झुल्कँदै थियो।

इस्राएल र यहूदाको माझमा युद्ध

शाऊलका परिवार र दाऊदका परिवार माझ धेरै लामो समयसम्म युद्ध भयो। दाऊद दिन-दिनै बलिया हुँदैथे। उता शाऊलका परिवारहरू भने कमजोर हुँदै गए।

हेब्रोनमा दाऊदका छ जना छोराहरू जन्मिए

दाऊदका छः जना छोराहरू हेब्रोनमा जन्मे।

अम्नोन जेठो छोरा थिए, ऊ अहीनोअमको यिज्रेलीकी छोरा थिए।

माहिलो छोरो किलाब थिए। उसकी आमा कर्मेलका नावालकी विधुवी अबीगेल थिइन्।

साँहिलो छोरा अबशालोम थिए। अबशालोमकी आमा गशूरका राजा तिल्मैकी छोरी माकाह थिइन्।

काँहिला छोरा अदोनियाह थिए। अदोनियाहकी आमा हग्गीत थिइन्।

अन्तरे छोरो रापत्याह थिए। उसकी आमा अबितल थिइन्।

कान्छा छोरा यत्रो थिए। यत्रोकी आमा दाऊदकी पत्नी एग्ला थिइन।

अबनेरले दाऊदका टोलीमा सामेल हुने बिचार गरे

जब शाऊलका परिवार समूह र दाऊदका परिवार समूहका बीच युद्ध भयो अबनेर साह्रै बलिया भए। शाऊलकी एउटी नोकर्नी एयाहकी छोरी रिश्मा थिई। ईश्बोशेतले अबनेरसित भने, “तिमीले मेरा बाबुकी नोकर्नीसित किन सहवास गर्यौ?”

ईश्बोशेतका शब्दहरूले गर्दा अबनेर साह्रै रिसाए। अबनेरले भने, “म शाऊल र तिनका परिवारप्रति इमानदारी छु। मैले तिमीलाई दाऊदको हातमा दिइनँ। मैले दाऊदलाई तिमीलाई हराउन दिइनँ। म यहूदाको पक्षमा काम गर्ने देशद्रोही होइनँ।[a] अहिले तपाईंले यस स्त्रीको विषयमा मलाई दोष दिएर रीस उठाउनु हुन्छ। 9-10 अब म प्रतिज्ञा गर्छु म त्यो साँच्चै नै बनाउँछु कि परमेश्वर जे कुराहरू भन्नु हुन्छ त्यो हुनेछ। परमप्रभुले भन्नु भएको छ कि उहाँले शाऊलको परिवारबाट राज्य खोसेर दाऊदलाई दिन्छु। यहूदा र इस्राएलको राजा दाऊद हुन्छ भनेर परमप्रभुले सोचिसक्नु भएको छ। तिनले दानदेखि बेर्शेबा सम्म शासन गर्नेछन्। यदि मैले त्यसो हुनलाई सहयोग गरिन भने म आशा गर्छु परमेश्वरले मलाई हानि गर्नुहुन्छ।” 11 ईश्बोशेतले केही भन्नुको सट्टा डरायो।

12 अबनेरले दाऊदकहाँ दूत पठाए। अबनेरले खबर दियो, “यो भूमिमा कसले शासन गर्नु पर्छ हामी बिचमा त्यहाँ एउटा सन्धि होस् अनि म तिमीलाई इस्राएलका शासक बन्नमा सहायता गर्छु।”

13 दाऊदले जवाफ दिए, “ठीक छ! म एउटा सन्धि गर्छु। तर म तिमीलाई एउटा शर्त राख्छुः जब सम्म तिमी शाऊलकी छोरी मीकललाई लिएर मकहाँ आउँदैनौ म तिमीसित भेट गर्ने छौन।”

14 दाऊदले शाऊलका छोरा ईश्बोशेत कहाँ दूत पठाए। उसको सन्देश थियो, “मेरी पत्नी मीकल मलाई फर्काई देऊ। तिनी मेरो प्रतिज्ञा थिइन्। तिनलाई पाउँनका निम्ति मैले एकसय पलिश्तीहरू मारें।”

15 तब ईश्बोशेतले मानिसहरूलाई लैशका छोरा पलतीएल कहाँ गए र मीकल ल्याउनु भनेर अह्राए। 16 मीकलका लोग्ने पलतीएल रूँदै उसको पछि बहूरीम सम्म गए। तर अबनेरले पलतीएललाई, “उसको घर फर्केर जानु” भनेको हुनाले फर्किए।

17 अबनेरले इस्राएलका अगुवाकहाँ खबर पठाए। तिनले भनिपठाए, “तिमीहरू दाऊदलाई आफ्ना राजा बनाउन चाहिरहेका छौ। 18 अब त्यो काम गर। परमप्रभुले दाऊदका सम्बन्धमा भन्नुभएको छ, ‘म मेरा इस्राएलका मानिसहरूलाई पलिश्ती र अन्य अरू शत्रुहरूबाट बचाउने छु। म यो काम मेरो सेवक दाऊदलाई लगाएर गर्नेछु।’”

19 अबनेर बिन्यामीनहरूसित पनि यस विषयमा बोले तब उसले हेब्रोनमा इस्राएलका मानिसहरूले के गर्न चाहन्थे अनि बिन्यामीन कुल समूहले पनि के गर्न चाहन्थे भन्नलाई दाऊद भएकहाँ गए।

20 त्यसपछि अबनेर हेब्रोनमा दाऊदकाहाँ आए। तिनले बीस जना मानिसहरू लिएर आएका थिए। दाऊदले अबनेर र तिनका मानिसहरूको लागि भोज गराए।

21 अबनेरले दाऊदलाई भने, “मेरा मालिक राजा, मलाई इस्राएलीहरू तपाईं भएकाहँ ल्याउन दिनुहोस्। त्यसपछि तिनीहरूले तपाईंसँग एउटा सम्झौता गर्नेछन्। अनि तपाईंले चाहानु भए जस्तै इस्राएलमाथि शासन गर्नुहोस्।”

दाऊदले अबनेरलाई जानदिए। अनि अबनेर शान्तिसँग गए।

अबनेरको मृत्यु

22 योआब र दाऊदका अधिकारी युद्धबाट फर्किएर आए। तिनीहरूले धेरै बहुमूल्य चीजहरू शत्रुपक्षबाट जम्मा गरे। दाऊदले अबनेरलाई शान्तिसित पठाईसकेका थिए। त्यसै कारण अबनेर हेब्रोनमा दाऊदसँग थिएनन्। 23 योआब र तिनका सम्पूर्ण सैनिक हेब्रोन पुगे। मानिसहरूले योआबलाई भने, “अबनेर (नेरका छोरा) राजा दाऊद कहाँ आए अनि दाऊदले पनि अबनेरलाई शान्तिसित छोडि दिए।”

24 योआब राजाकहाँ आएर भने, “तपाईंले के गर्नु भयो? अबनेर तपाईंसित भेट्न आयो तर तपाईंले त्यसलाई किन केही गर्नु भएन? 25 तपाईंले अबनेरलाई (नेरका छोरा) चिन्नु हुन्छ। ती तपाईंलाई धोकादिन आएका हुन्। ती तपाईंको कामकाजहरू अध्ययन गर्न आएका हुन्।”

26 योआबले दाऊदलाई छोडेर गयो। उसले सीराको पोखरीको छेउमा भएका दूतहरूलाई अबनेरकहाँ पठायो। दूतहरूले अबनेरलाई फर्काएर ल्याए तर यो कुरा दाऊदले थाहा पाएनन्। 27 जब अबनेर हेब्रोन पुगे योआबले उसलाई मूल द्वारको छेउमा ऊ सित गोप्य कुरा गर्न भनि लागे अनि योआबले अबनेरको भुँडीमा छुरी हान्यो। अबनेर तत्कालै मरे। अबनेरले योआबका भाइ असाहेललाई मारेका थिए। यसकरण अहिले योआबले अबनेरलाई मारे।

अबनेरका मृत्युमा दाऊद रोए

28 पछि दाऊदले यो सुने। दाऊदले भने, “म र मेरो राज्य अबनेरका मृत्युबारे सदा-सर्वदा निर्दोष छ। यो परमप्रभुले जान्नुहुन्छ। 29 योआब र उसका परिवारका सदस्यहरू यसको दोषी छन्। उसका सम्पूर्ण परिवारलाई यसको दोष दिन सकिन्छ। मलाई आशा छ अब योआबका परिवारले साह्रै कठिनाइका दिन देख्नु पर्नेछ। मलाई पूरा विश्वास छ त्यसका परिवारका सम्पूर्ण सदस्यमा कोरको बिमार सल्कने छ। बैशाखी लगाएर हिंडने छन्, युद्धमा मारिने छन् अनि भोक भोकै रहनु पर्नेछ।”

30 अबनेरले तिनीहरूका भाइ असाहेललाई गिबोनको युद्धमा मारेको कारण योआब र उसको भाइ अबिशैले अबनेरलाई मार्यो।

31-32 दाऊदले योआब र तिनका सम्पूर्ण मानिसहरूलाई भने, “लगाएका लुगाहरू च्यातेर शोकाकुल वस्त्र धारण गर।” अबनेरलाई हेब्रोनमा गाडे। दाऊद पनि मलामी गए। राजा दाऊद र सम्पूर्ण मानिसहरू अबनेरको चिहानमा रोए।

33 राजा दाऊदले अबनेरको मलामी जाँदा दुःखको गीत गाएः

“के अबनेर मूर्ख अपराधी झै मरे?
34     अबनेर, तिम्रा हातहरू बाँधिएका थिएनन्।
    तिम्रा खुट्टाहरूमा साङ्गली बाँधिएको थिएन।
होइन, अबनेर, तिमीलाई दुष्ट मानिसहरूद्वारा मारीयो।”

तब सबै मानिसहरू तिनको मृत्यु शोकमा फेरि रून थाले। 35 दिनभरि नै मानिसहरू आएर दाऊदलाई भोजन ग्रहण गर्न अनुरोध गरे। तर दाऊदले प्रतिज्ञा गरेका थिए। उसले भने, “यदि घाम अस्ताउनु अघि मैले भोजन ग्रहण गरें भने परमेश्वरले मलाई धेरै दुःखहरूले दण्ड दिऊन्।” 36 सबै मानिसहरूले हेरिरहेका थिए अनि तिनीहरू राजा दाऊदले गरेका कार्यसँग सन्तुष्ट थिए। 37 यहूदा र इस्राएलका मानिसहरूले बुझे कि राजाको कुनै हात छैन नेरका छोरा अबनेरको मृत्युमा।

38 राजा दाऊदले उसका अधिकारीहरूलाई भने, “तिमीहरूलाई त्यो थाहा छैन आज इस्राएलका एक महत्वपूर्ण अगुवाको मृत्युभयो। 39 आज म नयाँ राजा भए तापनि, कमजोर छु अनि यी सरूयाहको छोराहरू जसले मलाई धेरै दुःख दिएका छन्। म आशा गर्छु परमप्रभुले यी दुष्ट काम गर्नेलाई तिनको दुष्टताको निम्ति सजाय दिनुहुनेछ।”

यूहन्ना 13:1-30

येशूले आफ्ना चेलाहरूको खुट्टा धुनुभयो

13 यो प्राय यहूदीहरूको निस्तार चाड आइसकेको बेला थियो। येशूले जान्नु हुन्थ्यो कि अब उहाँ को संसार छोडने समय आइपुग्कोछ। अब आफ्ना पिता कहाँ फर्की जाने समय आइपुगेकोछ। येशूले सधैँ तिनीहरूलाई प्रेम गर्नु भयो जो उहाँसँग त्यस संसारमा थिए। अब येशूले तिनीहरूलाई आफ्नो पूर्ण प्रेम देखाउने समय आएको थियो।

येशू र उहाँका चेलाहरूको, निम्ति बेलुकाको भोजन थियो। शिमोन इस्कारयोतीको छोरा यहूदालाई येशूको विरुद्ध हुने कुरा अघिबाटै शैतानले प्रेरित गराएको थियो। पिताले येशूलाई सबै कुरामाथि शक्ति दिनुभएको थियो। येशूले यी कुराहरू जान्नु हुन्थ्यो। उहाँ यो पनि जान्नु हुन्थ्यो कि उहाँ परमेश्वरबाट आउनु भएको हो। अनि परमश्वर तर्फै फर्किरहनु भएको थियो भन्ने पनि जान्नु हुन्थ्यो। जब तिनीहरूले खाई रहेका थिए, येशू उठ्नु भयो र आफ्ना पोशाकलाई पन्साउनु भयो। उहाँले तौलिया लिएर आफ्नो कम्मरमा बेह्रनु भयो। तब येशूले भाँडामा पानी खन्याउनु भयो। उहाँले तब चेलाहरू खुट्टा धुन थाल्नु भयो। र आफ्ना कम्मरमा बेहेरेको तौलियाले उनीहरूका खुट्टा पुछिदिनु भयो।

येशू शिमोन पत्रुस कहाँ आउनु भयो। तर पत्रुसले येशूलाई भने, “प्रभु, मेरो खुट्टा धुनु पर्दैन।”

येशूले जवाफमा भन्नुभयो, “अहिले मैले के गरिरहेछु तिमी जान्दैनौ। तर पछि बुझ्ने छौं।”

पत्रुसले भने, “अँहँ! तपाईंले मेरो खुट्टा कहिल्यै धुनुहुँदैन।”

येशूले भन्नुभयो, “यदि मैले तिम्रो खुट्टा धोइनँ भने, मसँग तिम्रो कुनै अंश रहने छैन।”

शिमोन पत्रुसले भने, “प्रभु, मेरो खुट्टामात्र होइन, मेरो हात र टाउँको पनि धोइदिनु होस्।”

10 येशूले भन्नुभयो, “नुहाइसके पछि एक मानिस सम्पूर्ण रूपले सफा हुँदछ। उसको खुट्टामात्र धुनु पर्दछ। तिमीहरू सबैजना शुद्ध छौ तर कोही कोही मात्र छैनौ।” 11 येशूले उहाँको विरुद्ध को जाने छ चिन्नुहुन्थ्यो। त्यसैकारणले येशूले भन्नुभयो, “तिमीहरूमा सबै शुद्ध छैनौं।”

12 येशूले तिनीहरूका खुट्टा धोइसक्नु भयो। तब आफ्नो पोशाक लगाई टेबलतर्फ फर्की जानुभयो उहाँले भन्नुभयो, “तिमीहरू जान्दछौ मैले तिमीहरूलाई के गरें? 13 तिमीहरूले मलाई ‘गुरूज्यू’ र ‘प्रभु’ भनेर बोलाउँछौ। अनि यो ठीक हो किनभने म त्यही हुँ। 14 तिमीहरूका प्रभु र गुरू हुँ। किनेभने मैले तिमीहरूका खुट्टा एक नोकरले जस्तो धोएँ। यसैले तिमीहरूले पनि एकअर्काको खुट्टा धुनु पर्छ। 15 मैले तिमीहरूको अघि उदाहरणको लागि यो गरें। र तिमीहरूले एकाअर्कामा त्यसै गर्नु पर्छ जस्तो मैले गरें। 16 म सत्य भन्छु। एक नोकर उसको मालिक भन्दा ठूलो हुँदैन जसलाई केही कार्यका निम्ति पठाइएको छ ऊ ती पठाउने भन्दा ठूलो होइन। 17 यदि तिमीहरूले यी कुराहरू जान्दछौ, गर्‌यौ भने सुखी हुनेछौ।

18 “मैले तिमीहरू सबैको विषयमा भनिरहेको होइन। मैले छानेका मानिसहरू म चिन्दछु। तर धर्मशास्त्रमा जे भनिएकोछ त्यो हुन्छः ‘जसले मेरो भोजन खायो ऊ नै शत्रु भयो।’ 19 अब यसो हुन अगाडि नै म भनिरहेछु। जब यस्तो घट्नेछ तब म उही नै हुँ भनेर तिमीहरूले विश्वास गर्नेछौ। 20 यसर्थ म साँच्चो भन्छु। जसले मैले पठाएको मानिसलाई ग्रहण गर्दछ तब उसले मलाई पनि ग्रहण गर्दछ। र जसले मलाई ग्रहण गर्छ भने उसले मलाई जसले पठाउनु भयो उहाँलाई पनि ग्रहण गर्छ।”

येशूले धोखा दिनेको विषयमा भन्नुहुन्छ

(मत्ती 26:20-25; मर्कूस 14:17-21; लूका 22:21-23)

21 जब येशूले यी कुराहरू भनी सक्नु भयो, येशू आत्मामा साह्रै विचलित हुनुभयो। उहाँले खुल्लम-खुल्ला भन्नुभयो, “म साँच्चो भन्छु कि तिमीहरू मध्ये एकजना मेरो विरुद्ध हुनछौ।”

22 येशूका चेलाहरूले एक-अर्कालाई हेरे। तिनीहरूले बुझेनन् कि येशूले कसको विषयमा भनिरहनु भएको थियो। 23 उहाँका चेलाहरू मध्ये एकजना उहाँकै छेउमा बसिरहका थिए। तिनलाई येशूले अत्यन्त प्रेम गर्नु हुन्थ्यो। 24 शिमोन पत्रुसले त्यस चेलालाई इशारा गरेर सोध्नु लगाए कि उहाँले भन्नु भएको मानसि को होला।

25 त्यो चेला उहाँको छातीमा अडेस लाग्यो अनि सोध्यो, “प्रभु त्यो को होला जो तपाईंको विरूद्ध जानेछ?”

26 येशूले जवाफ दिनुभयो, “म यो रोटी प्यालामा चोब्नेछु र जसलाई म त्यो चोबेको रोटी दिन्छु ऊ नै मेरो विरुद्ध हुनेछ।” यसर्थ येशूले रोटीको एक टुक्रा लिनु भयो। उहाँले त्यो चोब्नु भयो र शिमोनको छोरो यहूदा इस्करियोतलाई दिनुभयो। 27 जब यहूदाले त्यो रोटीको टुक्रा लियो शैतान उसकोभित्र पस्यो, येशूले यहूदालाई भन्नु भयो, “तिमीले जे गर्नु छ त्यो झट्टै गरिहाल!” 28 भोजनमा बसिरहेकाहरू कसैले येशूले यहूदालाई त्यसो भन्नुभएको तात्पर्य बुझेनन्। 29 यहूदा मात्र एक त्यस्तो चरित्रको थियो जसले पैसाको थैली राख्दथ्यो। अरूहरूले के सोचे भने येशूले यहूदालाई भोजको निम्ति आवश्यक चीजहरू किन्न पठाउनु भयो। अर्थात् यसो पनि अरूहरूले सम्झे कि येशूले गरिबहरूका लागि केही किन्न यहूदालई पठाउनु भयो।

30 यहूदाले येशूले दिनुभएको त्यो रोटीको टुक्रा ग्रहण गर्यो र तुरुन्तै बाहिर निस्की हाल्यो। त्यसबेला रात परिसकेको थियो।

भजनसंग्रह 119:1-16

अलिफ्

शुद्ध जीवन जिउने मानिसहरू खुशी हुन्छन्।
    ती मानिसहरूले परमप्रभुको उपदेशहरू पछ्याउँदछ।
परमप्रभुको करार जसले पालन गर्छ ती मानिसहरू सुखी हुन्छन्।
    तिनीहरूले परमप्रभुलाई आफ्ना सम्पूर्ण हृदयबाटै खोज्दछन्।
ती मानिसहरूले अनुचित कामहरू गर्दैनन्,
    तिनीहरूले परमप्रभुको आज्ञा पालन गर्दछन्।
परमप्रभु, तपाईंले आफ्ना आज्ञाहरू हामीलाई दिनु भयो
    अनि ती आज्ञाहरू पूर्ण हृदयले पालन गर्नु भनेर बताउनु भयो।
परमप्रभु, यदि सधैँ तपाईंको
    विधिहरू पालन गरें भने,
तब म कहिल्यै पनि लज्जित हुने छैन
    जब म तपाईंको आज्ञाहरू पालन गर्छु।
जस्तो म तपाईंको न्याय र सद्गुणको अध्ययन गर्छु
    म साँच्चो रूपमा तपाईंको सम्मान गर्नेछु।
परमप्रभु, म तपाईंका आज्ञाहरू पालन गर्नेछु,
    कृपया मलाई नत्याग्नु होस्!

बेथ्

तपाईंको विधिहरू अपनाएर
    कसरी एउटा युवा मानिस साँच्चो जीवन जिउन सक्छ?
10 म सम्पूर्ण हृदयबाट परमेश्वरको सेवा गर्ने कोशिश गर्दछु।
    परमेश्वर, तपाईंका आदेशहरू पालन गर्नलाई मलाई साथ दिनुहोस्।
11 मैले तपाईंको उपदेशहरू होशियारी साथ कण्ठस्थ गरें।
    किनभने तपाईंको विरूद्धमा म पाप नगरूँ।
12 हे परमप्रभु, तपाईंको प्रशंसा होस्।
    मलाई तपाईंको विधिहरू सिकाउनु होस्।
13 म तपाईंको ज्ञानपूर्ण विधिहरूको बारेमा बताउने छु।
14 म अरू केही भन्दा तपाईंको करार नै अध्ययन गर्दा
    आनन्द पाउँछु।
15 म तपाईंको विधि विषयमा चर्चा गर्नेछु।
    म तपाईंको जिउने पथको अनुशरण गर्नेछु।
16 म तपाईंको नियमहरूमा रमाउने छु
    म तपाईंका वचनहरू भुल्ने छैन।

हितोपदेश 15:29-30

29 परमप्रभु दुष्ट मानिसबाट टाढा बस्नु हुन्छ, तर उहाँले धर्मी मानिसहरूको प्रार्थना सुन्नु हुन्छ।

30 एउटा उज्यालो अनुहारको हेराइले मनलाई खुशी पार्छ, अनि शुभ-समाचारले हड्डी भित्र पनि खुशी संचार गर्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International