The Daily Audio Bible
Today's audio is from the NET. Switch to the NET to read along with the audio.
एल्कानाका परिवारले शीलोमा आराधाना गर्छन्
1 त्यहाँ एल्काना नाउँ भएका एकजना मानिस थिए। तिनी एप्रैमको पहाडी प्रदेश रामा शहरमा बस्थे। तिनी सूपी परिवारका थिए। तिनका पिताको नाउँ यरोहाम, बाजेको नाउँ एलीहू र बराजुको नाउँ तोहू थियो। तोहू चाहिँ सूपका छोरा थिए। सूप एप्रेम परिवार समूहबाटका थिए।
2 एल्कानाका दुइवटी पत्नी थिए। एउटीको नाउँ हन्ना र अर्कीको नाउँ पनिन्ना थियो। पनिन्नाका नानीहरू थिए, तर हन्नाका नानीहरू थिएनन्।
3 परमप्रभु सर्वशक्तिमानको अघि आराधना गर्न र बलि चढाउन प्रत्येक बर्ष एल्काना रामाबाट शीलोमा जाने गर्थे। शीलोमा परमप्रभुका पूजाहारीको रूपमा होप्नी र पीनहासले सेवा गर्थे। यी दुइ एलीका छोरा थिए। 4 जब एल्काना बलि चढाउने गर्थे, उसले उनकी पत्नी पनिन्ना र उनका छोरा-छोरीलाई भाग दिने गर्थे। 5 उनले हन्नालाई जहिले पनि बराबरी भाग भोजन दिन्थे उनले हन्नालाई बढी माया गर्थे किनभने परमेश्वरले उनको कोख बन्द गरिदिनु भएको थियो।
हन्नालाई पनिन्नाले सताउँथी
6 परमप्रभुले हन्नालाई बाँझी पार्नु भएको कारण पनिन्नाले तिनलाई रिस उठाउने गर्थी। 7 शीलोमा प्रत्येक बर्ष जब त्यो परिवार परमप्रभुलाई आराधना गर्न र बलिदान चढाउन जान्थे तब पनिन्नाहले हन्नालाई दुःख दिने गर्थिन् र खसालेर कुरा गर्ने र तिनलाई रूवाएर खाना नखानेसम्म बनाउँथिइन्। 8 यो सब देखेर एल्काना उनका पतिले भन्थे, “हन्ना तिमी किन रून्छौ? किन केही खाँदिनौ? तिमी किन यति दुःखी छौ? म तिम्रो लोग्ने हुँ र म तिम्रै हुँ। तिमीले सोच्नु पर्छ कि म दशजना छोराहरू भन्दा बढ्ता नै छु।”
हन्नाले प्रार्थना गर्छिन्
9 त्यसपछि हन्ना चुपचाप उठिन् र परमप्रभुको सामु प्रार्थना गर्न गइन्। त्यस समय पूजाहारी एली परमप्रभुको पवित्र आराधनालयको दैलोकै छेउमा एउटा कुर्सीमा बसिरहेका थिए। 10 हन्ना साह्रै नै दुःखी थिइन्। यसर्थ जब तिनले प्रार्थना गर्न शुरू गरिन तिनी साह्रै रोइन्। 11 तिनले परमेश्वरलाई भाकल गर्दै भनिन्, “हे सर्वशक्तिमान परमप्रभु म अफसोसमा छु। तपाईले मलाई दया गर्नुहोस्। ममाथि कृपालु हुनुहोस् म तपाईंकी दासी हुँ। यदि तपाईंले मलाई एउटा छोरा दिनुभयो भने त्यो बाँचुन्जेलसम्म म त्यसलाई तपाईंकै सेवामा अर्पण गर्नेछु। त्यस बालकले कहिले पनि दाखरस पिउने छैन र त्यसको कपाल पनि काटीने छैन्।”[a]
12 हन्नाले धेरै बेरसम्म परमप्रभुलाई प्रार्थना गरिरहिनन्। प्रार्थना गर्दा एलीले हन्नाका ओंठ आवाज बिनै चलिरहेका देखे। 13 हन्नाले ओठ चलाए पनि आवाज ननिकालिकन साँच्चै उनको हृदयमा प्रार्थना गरिरहेकी थिइन्। 14 हन्नाले ज्यादै मद्यपान गरेकी ठानेर एलीले भने, “तिमीले ज्यादै पिएकी छौ। यो दाखरस छोडने समय हो।”
15 हन्नाले उत्तर दिइन्, “महाशय, मैले कुनै प्रकारको मद्यपान गरेकी छैन। म साह्रै दुःखमा परेकी छु। म त परमप्रभुसँग मेरो दुःखहरू पो बिन्ति गर्दैथिएँ। 16 तपाईंले मलाई नराम्री स्त्री ठान्नु हुँदैन। म साह्रै ठूलो कष्टमा परेकी छु र साह्रै दुःखी भएकी छु। मैले धेरै बेरसम्म परमेश्वरलाई प्रार्थना चढाएकी हुँ।”
17 एलीले भने, “यदि त्यसो हो भने शान्तिसित जाऊ। इस्राएलका परमेश्वरले तिम्रो प्रार्थना अवश्य सुन्नु हुनेछ, अनि तिम्रो विन्ती पूरा गर्नु हुनेछ।”
18 हन्नाले भनिन्, “म आशा गर्छु तपाईं पनि मसँग खुशी हुनुहुन्छ।” तब हन्ना गइन् र केही खाने कुरा खाइन्। तिनी फेरि दुःखीत भइनन्।
19 भोलिपल्ट बिहानै एल्कानाका परिवारका सदस्यहरू उठे अनि परमप्रभुको आराधना गरे र आफ्नो घर रामामा फर्के।
शमूएलको जन्म
एल्कानाले आफ्नी पत्नी हन्नासित सहवास गरे। परमप्रभुले पछि हन्नालाई सम्झनु भयो। 20 तिनी गर्भवती भइन्। समय पुगेपछि हन्नाले एउटा छोरो जन्माइन्। तिनले छोराको नाउँ शमूएल[b] राखिन्। तिनले भनिन्, “यसको नाउँ शामूएल हो किनभने यसलाई मैले परमप्रभुसित मागेकी हुँ।”
21 त्यस बर्ष एल्कानाले परमेश्वरसित राखेको भाकल पूरा गर्न र बलि चढाउन (शीलोमा) गए। उनका परिवारका अरू सदस्यहरू पनि गए। 22 तर हन्ना गइनन्। तिनले एल्कानालाई भनिन्, “बालकले जब दूध खान छोड्छ र ठोस आहार खान थाल्छ, म यसलाई लिएर शीलोमा जानेछु। तब म बालकलाई परमप्रभुमा अर्पण गर्नेछु। बालक सधैँलाई शीलोमा नै रहनेछ।”
23 हन्नाका लोग्ने एल्कानाले भने, “तिमीलाई जे राम्रो लाग्छ त्यही गर बालकले ठोस भोजन गर्नसक्ने नभइन्जेल तिमी घरैमा बस। परमप्रभुले तिम्रो वचन[c] पूरा गरिदिउन्।” यसर्थ तिनी छोराले आमाको दूध नछाडेसम्म घरैमा बसिन्।
हन्नाले शमूएललाई शीलोमा एली भएको ठाउँमा लैजान्छिन
24 जब नानी ठूलो भयो अनि ठोस भोजन खान थाल्यो हन्नाले नानीलाई परमप्रभुको मन्दिर शीलोमा लगिन्। हन्नाले आफूसँग एउटा तीन बर्षको साँढे, चार पाथी पीठो र एक मसक दाखरस पनि लिएर गइन्।
25 तिनीहरूले परमप्रभुको आराधना गरे। त्यसपछि साँढेलाई बलि चढाए पश्चात तिनीहरूले नानी पूजाहारी एलीलाई दिए। 26 हन्नाले बालकलाई एलीको अघिल्तिर लिएर गइन् र भनिन्, “महाशय, मलाई क्षमा गर्नु होला। म त्यही स्त्री हुँ, जो परमप्रभुलाई प्रार्थना गर्दागर्दै तपाईंका सामु उभिएकी थिएँ। मैले साँचो भनिरहेको छु। 27 मैले बालकको निम्ति प्रार्थना गरेकी थिएँ अनि परमप्रभुले मलाई बालक दिनुभयो र आभारी तुल्याउनु भयो। 28 अब यस बालकलाई परमप्रभुमा अर्पण गर्दैछु। सारा जीवन नै परमप्रभुको भएर यो यही रहनेछ।”
तब हन्नाले बालकलाई त्यही छोडीदिइन् अनि परमप्रभुको आराधना गरिन्।
हन्नाले धन्यवाद दिन्छिन्
2 हन्नाले प्रार्थना गरिन्,
“परमप्रभुमा, म खुशी छु!
परमप्रभुमा म विजयको अनुभव गर्छु।
तपाईंको मुक्तिमा म खुशी छु,
अनि मेरो शत्रुहरू माथि धाक जमाउँछु।
2 परमप्रभु जस्तो पवित्र कोही छैन।
तपाईं बाहेक कोही परमेश्वर छैन।
हाम्रो परमेश्वर बाहेक यहाँ अरू कुनै आश्रय छैन।
3 अब अहंकार हुदैन!
अहंकारपूर्ण वचनहरू अब छैन,
कारण परमप्रभु परमेश्वर सर्वज्ञानी हुनुहुन्छ।
परमेश्वरले मानिसका कार्यहरू तौलनु हुन्छ।
4 शूरबीर र योद्धाहरूका धनु भाँचिएका छन्
अनि दुर्बलहरू बलिया भएका छन्।
5 विगतमा धेरै भोजन प्राप्त गर्नेहरू
अब काम नगरी भोजन नपाउने भएका छन्।
तर विगतमा जो भोक-भोकै थिए,
तिनीहरू अहिले भोजन खाएर मोटाएका छन्।
आमा बन्ने सौभाग्य नपाएकी स्त्रीहरू
अहिले सातवटाकी आमा बन्न सफल छिन्!
तर जुन स्त्रीका धेरै सन्तानहरू थिए,
तिनीहरू सबै गएकाले ती स्त्री दुःखी छिन्।
6 परमप्रभुले कुनै मानिसहरूलाई मृत्युमा पार्नुहुन्छ,
अनि परमप्रभुले नै कुनैलाई जीवन दिनुहुन्छ।
उहाँले कोही मानिसलाई तल पातालमा पठाउनुहुन्छ
अनि अरू कोहीलाई जीउनको निम्ति उठाउनुहुन्छ र जीवन दिनुहुन्छ।
7 परमप्रभुले मानिसहरूलाई गरीब तुल्याउनु हुन्छ,
अनि उहाँले नै धनी बनाउनुहुन्छ,
परमप्रभुले मानिसहरूलाई तल पार्नु हुन्छ
र फेरि उच्च आसनमा बसाउनुहुन्छ।
8 परमप्रभुले कंगालहरूलाई धूलोबाट उठाउँनुहुन्छ,
अनि दुःख हटाई दिनुहुन्छ।
परमप्रभुले कंगालीहरूलाई राजा सँग-सँगै बसाउनुहुन्छ।
परमप्रभुले कंगालीहरूलाई सम्मानको सिंहासनमा राख्नुहुन्छ।
परमप्रभु उनी हुन जसले संसारको जग बसाल्नु भयो
अनि त्यसमाथि संसार बनाउनु भयो।
9 परमप्रभुले आफ्ना पवित्र मानिसहरूको रक्षा गर्नुहुन्छ,
ठेस लागेर लड्नबाट उनीहरूलाई बँचाउनु हुन्छ,
तर पापीहरू अन्धकारमा नष्ट भएर डुब्ने छन्।
तिनीहरूका शक्ति विजय प्राप्त गर्न
सहायक सिद्ध हुनेछैन।
10 परमप्रभुले आफ्ना शत्रुहरूलाई नष्ट पार्नुहुन्छ।
सर्वोच्च परमेश्वर स्वर्गबाट उहाँको दुश्मनहरूका विरूद्ध गर्जनुहुन्छ।
उहाँले सारा पृथ्वीको न्याय गर्नुहुन्छ,
परमप्रभुले आफ्ना राजालाई बलियो पार्नुहुन्छ।
उहाँले चुनेका राजालाई बलियो पार्नुहुन्छ।”
11 एल्काना र तिनका परिवारका सदस्यहरू सबै रामामा आफ्नो घर फर्के, तर त्यो बालक चाहिँ शीलोमा नै परमप्रभुको सेवा गर्न पूजाहारीको रेखदेखमा रह्यो।
एलीका दुष्ट छोराहरू
12 एलीका छोराहरू दुष्ट थिए। परमप्रभु प्रति तिनीहरूको कुनै वास्ता थिएन। 13 यसरी तिनीहरूले मानिसहरूलाई दुर्व्यवहार गर्थे। पूजाहारीहरूको कर्त्तव्य यो थियोः जब कोही मानिस बलिदान चढाउँथ्यो तब पूजाहारीले एउटा भाँडाको उम्लीएको पानीमा मासु पकाउनु पर्थ्यो। तब पूजाहारीको सेवकले त्रिशूल लिनु पर्थ्यो। 14 पूजाहारीको सेवकले हातमा तिखो त्रिशूल लिएर भाँडाको मासुलाई काँटाले घोच्नु पर्थ्यो। सेवकहरूले काँटाले घोचे जतिमात्र मासु पूजाहारीको भाग हुन्थ्यो। पूजाहारीले उनै इस्राएलीहरूका निम्ति यसो गर्नुपर्थ्यो जो शीलोमा बलिदान चढाउन आउँथे। 15 तर एलीका छोराहरूले यसो गरेनन्। बोसोलाई वेदीमा जलाउनु अघि नै पूजाहारीका सेवक आएर बलिदानको पवित्र भेटि यसरी भनेर सोध्ने गर्थ्यो, “पूजाहारीको लागि पकाउनलाई केहि मासु देऊ, पूजाहारीले पकाएको मासु ग्रहण गर्दैनन् खाली काँचो मासु मात्र।”
16 बलि चढाउने मानिसले भन्थ्यो, “पहिले बोसोलाई जलाउँ त्यसपछि तिमीलाई चाहिए जति लैजाऊ।” यदि यस्तो परिस्थितिमा भने पूजाहारीको सेवकले भन्थ्यो, “होइन, त्यो मलाई अहिले नै मासु दिइहाल, यदि दिंदैनौ भने म खोसेर लैजानेछु।”
17 यस्तो प्रकारले ती दुइ पूजाहारी होप्नी र पीनहासले परमप्रभु प्रति चढाइएको बलिदानहरूमा श्रद्धा देखाएनन्। तिनीहरूले परमप्रभुको विरूद्धमा महा-पाप गरे।
18 तर शमूएलले एउटा सहयोगीको रूपमा परमप्रभुको सेवा गर्थ्यो। शमूएलले एउटा विशेष प्रकारको मलमलको पोशाक लगाउथ्यो जसलाई एपोद भनिन्छ। 19 प्रत्येक बर्ष शमूएलकी आमाले उसलाई एउटा सानो भोटो बनाइ दिन्थिन्। प्रत्येक बर्ष लोग्नेसित जब बलि चढाउन शीलो जान्थिन् त्यो भोटो शमूएलाई पुर्याइ दिन्थिन्।
20 एलीले एल्काना र तिनकी पत्नीलाई आशीर्वाद दिन्थे। एलीले भने, “परमप्रभुले यो बालक जसलाई तिमीले परमप्रभुको सेवाको लागि माग्यौ यसको ठाउँमा अरू धेरै नानीहरू परमप्रभु तिनीहरूका साथ आशिष दिउन्।”
एल्काना र हन्ना घर फर्किए अनि 21 परमप्रभुको निगाह हन्ना माथि थियो। तिनले तीनवटा छोरा र दुइवटी छोरी जन्माइन्। शमूएल भने परमप्रभुको सामुन्ने बढ्न थाल्यो।
जल-कुण्डको छेउमा भएको मानिसलाई येशूले निको पार्नुभयो
5 त्यसपछि येशू यहूदीहरूको विशेष चाडको लागि यरूशलेम जानुभयो। 2 यरूशलेमा पाँचवटा दलानहरूले घेरिएको एउटा जल-कुण्ड छ। यहूदीहरूका भाषामा यसलाई बेथस्दा भनिन्छ। यो जल-कुण्ड भेंडा़-ढोकाको नजीकमा छ। 3 धेरै रोगी मानिसहरू त्यही जल-कुण्डको दलानमा लडिरहेका थिए। तिनीहरूमा कोही अन्धाहरू, कोही लङ्गाडाहरू अनि कोही पक्षाघात का रोगीहरू थिए।[a] 4 [b] 5 त्यहाँ अठ्तीस वर्षदेखि रोगले ग्रस्त भएको एकजना रोगी थियो। 6 येशूले त्यस मानिसलाई त्यहाँ लडिरहेको देख्नु भयो। येशूलाई त्यो मानिस लामो समयदेखि बिमार भएको थाहा थियो। अतः येशूले त्यस मानिसलाई सोध्नु भयो, “तिमी निको हुन चाहन्छौ?”
7 त्यस रोगीले उत्तर दियो, “महाशय, मलाई त्यो पानी चलिरहेको बेला त्यहाँ पस्न सहायता गर्ने कोही छैन्। मैले कोशिश गर्दा-गर्दै मेरो अघि जल-कुण्डमा मानिस पसि हाल्छ।”
8 तब येशूले भन्नुभयो, “उठ! तिम्रो ओछ्यान उठाउ र हिंड” 9 तब तुरन्तै त्यो मानिस निको भयो। त्यो मानिसले आफ्नो ओछ्यान उठायो र हिँड्न थाल्यो।
त्यस्तो घट्ना भएको दिन विश्रामको दिन[c] थियो। 10 तब यहूदीहरूले त्यस मानिसलाई भने, “आजको दिन विश्रामको दिन हो। विश्रामको दिन यसरी ओछ्यान बोकेर जानु हाम्रो व्यवस्थाका विरुद्ध हो।”
11 तर त्यस मानिसले भन्यो, “जुन मानिसले मलाई निको तुल्याउनु भयो, उनैले भन्नुभयो, ‘तिम्रो ओछ्यान उठाउ र हिँड।’”
12 यहूदीहरूले सोधे, “तिमीलाई त्यसरी ओछ्यान बोकेर जाऊ भन्ने मानिस को हो?”
13 तर त्यो मानिसले जसद्वारा आफू निको भएको थियो, उहाँ को हुनुहुन्थ्यो चिनेन। त्यस बेला त्यहाँ धेरै मानिसहरू थिए र येशू सुटुक्क गइसक्नु भएको थियो।
14 केही समय पछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्नु भयो। येशूले उनलाई भन्नु भयो, “हेर, अब तिमी ठीक भयौ। तर अब पाप नगर, तिमीमाथि अझ खराब घट्नाहरू नघटोस्।”
15 तब त्यो मानिस यहूदीहरूकहाँ गयो र तिनीहरूलाई भनिदियो कि जसले तिनलाई निको पार्नु भयो उहाँ येशू हुनु हुँदोरहेछ।
16 येशूले त्यस्ता कामहरू विश्रामको दिनमा गर्नु भएको थियो। यसैले यहूदीहरूले येशू विरूद्ध नराम्रा कामहरू गर्न थाले। 17 तर येशूले यहूदीहरूलाई भन्नुभयो, “मेरो पिताले कहिल्यै काम रोक्नु भएन। अनि यसैले म पनि काम गर्न रोकिँदिन।”
18 येशूले यी कुराहरू भन्नु भए पछि, यहूदीहरूले उहाँलाई मार्ने अझ निश्चय गरे। किनभने, “येशूले विश्रामको दिनमा व्यवस्था मात्र भङ्गा गरेनन्। उहाँले परमेश्वर नै उहाँको आफ्नो पिता हुन् पनि भन्नु भयो। अनि यसप्रकारले येशूले आफूलाई परमेश्वरको समान तुल्याउनु भयो।”
येशूमा परमेश्वरको अधिकार छ
19 तर येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्छु। पुत्रले एक्लै केही गर्न सक्तैन। पिताले गरेको कामहरू देखे पछि मात्र पुत्रले त्यसै गर्दछ। पिताले जे गर्दछ पुत्रले त्यही गर्दछ। 20 पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ अनि आफूले गरेको सम्पूर्ण कार्यहरू पुत्रलाई देखाउनु हुन्छ। यो मानिस निको भयो। तर पिताले यो भन्दा पनि महान कार्य पुत्रलाई देखाउनु हुन्छ। तब तिमीहरू सबै छक्क पर्नेछौ। 21 पिताले मरेका मानिसहरू उठाउनु भयो र तिनीहरूलाई जीवन दिनु भयो। त्यस्तै प्रकारले पुत्रले पनि जसलाई चाहानु हुन्छ तिनीहरूलाई जीवन दिनु हुन्छ।
22 “अनि पिताले कसैको न्याय गर्नु हुन्न। न्याय गर्ने सम्पूर्ण अधिकार पिताले पुत्रलाई सुम्पनु भएको छ। 23 परमेश्वरले यसो गर्नु भएको छ, ताकि सबै मानिसहरूले पुत्रलाई आदर गर्नेछन् जसरी पितालाई आदार गरेकाछन्। यदि कसैले पुत्रलाई आदर गर्दैन उसले पितालाई पनि आदर गर्दैन जसले उहाँलाई पठाउनु भयो।
37 त्यसपछि उहाँले आफ्ना मानिसहरू मिश्रबाट निकाल्नु भयो।
तिनीहरूले आफूसँग सुन र चाँदीहरू लिएर आए।
परमेश्वरका मानिसहरू कोही पनि ठोकिएनन् र लडेनन्।
38 परमेश्वरका मानिसहरू गएका देखेर मिश्रवासीहरू खुशी भए
किनभने तिनीहरूबाट उनीहरू भयभीत थिए।
39 परमेश्वरले कम्बल जस्तो बादल फिंजाई दिनुभयो।
परमेश्वरले आफ्नो आगो राती उज्यालो पार्नलाई तिनीहरूलाई दिनुभयो।
40 मानिसहरूले भोजन मागे अनि परमेश्वरले तिनीहरूलाई वट्टाई चरा ल्याइदिनु भयो।
परमेश्वरले स्वर्गबाट तिनीहरूलाई प्रशस्त खानेकुरा र रोटीहरू दिनुभयो।
41 परमेश्वरले चट्टानलाई खण्डित पार्नु भयो।
अनि त्यहाँबाट भल-भल पानी निस्क्यो।
मरुभूमिमा नदी बग्न थाल्यो।
42 परमेश्वरले उहाँको वचन सम्झनु भयो।
परमेश्वरले आफ्ना दास अब्राहामसँग गर्नु भएको वचन सम्झनुभयो।
43 परमेश्वरले आफ्ना मानिसहरू मिश्रबाट निकालेर ल्याउनु भयो।
मानिसहरू खुशी र आनन्दले गाउँदै, गाउँदै निस्किए!
44 तब परमेश्वरले तिनीहरूलाई देश दिनुभयो, जहाँ अन्य मानिसहरू बस्दै गरेका थिए।
परमेश्वरका मानिसहरूले अन्य मानिसहरूले गर्नु परेका परिश्रमका चीजहरू पाए।
45 परमेश्वरले त्यसो गर्नुभयो, किनकि उहाँका मानिसहरूले उहाँका नियमहरू पालन गर्न सकुन।
यसकारण तिनीहरूले होशियारीसाथ उहाँका व्यवस्थाहरू पालन गर्न सकुन।
परमप्रभुको प्रशंसा गर!
28 यदि धेरै मानिसहरू माथि राजाले शासन चलाउँछ भने त्यो महान हो, तर प्रजा बिनाको राजा तुच्छ हो।
29 धैर्यशील मानिसले धेरै विचार गरी काम गर्छ, तर जो मानिस चाँडै रिसा उँछ, उसले धेरै मूर्खतापूर्ण कामहरू गर्छ।
© 2004, 2010 Bible League International