Print Page Options
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NET. Switch to the NET to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 शमूएल 2:22-4

एलीले दुष्ट छोराहरूलाई तह लगाउन सकेनन्

22 एली साह्रै वृद्ध भएका थिए। उसले आफ्ना छोराहरू बार-बार शीलोमा इस्राएलीहरूसित गरेका व्यवहार सुने। भेट हुने पालको ढोकामा सेवा गर्ने स्त्रीहरूसँग तिनीहरूले सहवास गरेको कुरा पनि एलीले सुने।

23 एलीले आफ्ना छोराहरूलाई भने, “तिमीहरूले गरेका दुष्ट कार्य मानिसहरूले मलाई सुनाउँछन्। त्यस्ता दुष्ट कार्य किन गर्छौ? 24 छोरा हो, त्यस्तो खराब कार्य नगर। परमप्रभुका मानिसहरूले तिमीहरूका बारेमा नराम्रो कुरा गर्दैछन्। 25 मानिसले मानिसको विरूद्धमा दुष्ट कार्य गरेकोमा परमेश्वरले त्यसको न्याय गर्नु हुनेछ। तर कसैले परमप्रभुको विरूद्धमा पाप गर्छ भने, कसले उसलाईं परमेश्वरसित सहायता गर्नेछ?”

तर एलीका दुष्ट छोराहरूले पिताका कुरा सुन्न अस्वीकार गरे। तर परमेश्वरले पहिले नै निर्णय लिइसक्नु भएको थियो कि तिनीहरू मर्ने थिए।

26 बालक शमूएल भने दिन दिनै ठूलो हुँदै गयो। उसले परमेश्वर र मानिसहरूलाई प्रसन्न पार्थ्यो।

एलीको परिवारमा डरलाग्दो अगमवाणी

27 परमेश्वरका एकजना दास आएर एलीलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘म तेरो पिता-पुर्खाहरू मिश्रमा फिरऊनको दासत्वमा रहेको समयमा म तेरो पिताको परिवारमा प्रकट भएँ। 28 इस्राएल भरिका कुलहरू मध्ये तेरो पिताको कुललाई मेरो पूजाहारीको रूपमा चुनेको थिएँ। मैले तिनीहरूलाई मेरो वेदीमाथि धूप बाल्न र मेरो उपस्थितिमा एपोद लाउन छानेको थिएँ। इस्राएलीहरूले चढाएका बलिको भाग उनीहरूसित मैले बाँडे। 29 तर तैंले ती बलि र भेटीहरूमा मेरो आदेश अनुसार आदर गरिनस्। मलाई भन्दा ज्यादा तैंले तेरो छोराहरूलाई सम्मान दिइस्। इस्राएलका मेरा मानिसहरूले मलाई चढाएको पवित्र बलिको भोजन खाएर तँ मोटाएकोछस्।’

30 “परमप्रभु इस्राएलका परमेश्वरले प्रतिज्ञा गर्नुभयो तँ अनि तेरा पिताको सन्तानले सदा-सर्वदा मेरो सेवा गर्नेछन्। तर परमप्रभु अब यसो भन्नुहुन्छ, ‘यस्तो कहिले हुँदैन! मलाई जसले सम्मान गर्छन् म तिनीहरूको सम्मान गर्छु। तर जसले मेरो अनादर गर्छ ऊ अपमानित हुनेछ। 31 समय आउँदैछ जब म तेरो सन्तानलाई नष्ट गर्नेछु। तेरो परिवारमा कसैले पनि बुढो भइन्जेलसम्म जीउने छैनन। 32 इस्राएलको निम्ति असल दिन आउने छ, तर तैले घरमा खराब दिन देख्नेछस्। तेरो परिवारमा कोही पनि बुढो हुन्जेल बाँच्ने छैन। 33 तर तेरा सन्तानको एकजना व्यक्ति मेरो वेदीको पूजाहारीको रूपमा रहनेछ। उसको आँखाको शक्ति रहुन्जेल र शारीरिक शाक्ति कम्ती नहुन्जेल सम्म ऊ रहनेछ। तेरा सन्तान तरवारले काटिएको उसले देख्नेछ। 34 म तँलाई यो चिन्ह दिनेछु जसले गर्दा तैंले यो साँचो हो भनी जान्नेछस्। तेरा दुवै छोरा होप्नी र पीनहास एकै दिनमा मर्नेछन्। 35 म एउटा विश्वासयोग्य पूजाहारी नियुक्त गर्नेछु, जसलाई मैले आदेश गरे अनुसार काम गर्नेछ। म त्यस पूजाहारीको परिवारलाई शक्तिशाली बनाउनेछु। उसले जीवनभरी मैले चुनेको राजाको सामु सेवा गर्नेछ। 36 त्यसपछि तेरो परिवारमा कोही बाँचे भने तिनीहरूले पूजाहारीको अघि आएर झुक्नेछन् र भन्नेछन्, “दया गरी मलाई पूजाहारीको रूपमा नियुक्त गर्नुहोस् ताकि म सँग केही खाने चीज होस्।”’”

परमेश्वरले शमूएललाई बोलाउनु भयो

एलीको अधीनमा रहेर बालक शमूएलले परमप्रभुको सेवा गर्थे। त्यस बेला परमप्रभु मानिसहरूसँग सिधै धेरै जस्तो बोल्नुहुन्थेन। उहाँले धेरै मानिसहरूलाई दर्शनहरू दिनु भएन।

एली लगभग अन्धा जस्तै भइसकेका थिए। एक रात तिनी ओछ्यानमा पल्टिरहेका थिए। शमूएल चाहिँ पवित्र सन्दूक भएको परमप्रभुको मन्दिरमा सुतिरहेका थिए। परमप्रभुको बत्ती जलिरहेकै थियो। परमप्रभुले शमूएललाई बोलाउनु भयो। “म यहाँ हाजीर छु” शमूएलले उत्तर दिए। शमूएलले सोचे एलीले उसलाई बोलाएको हो। यसकारण शमूएल हतारीएर एलीकहाँ गए। शमूएलले आफ्नो उपस्थिति जाहेर गरेर भने, “तपाईंले मलाई बोलाउनुभयो, म यहाँ छु।”

तर एलीले भने, “मैले तिमीलाई बोलाएको होइनँ। आफ्नो ओछ्यानमा गएर सुत।”

शमूएल आफ्नो ओछ्यानमा गए। परमप्रभुले फेरि बोलाउनु भयो, “शमूएल!” शमूएल फेरि एलीको ओछ्यानमा गएर भने, “तपाईंले मलाई बोलाउनु भएको हो, म यहाँ छु।”

एलीले भने, “मैले बोलाएको छैन मेरो छोरा! जाऊ, गएर सुत।”

अहिलेसम्म शमूएलले व्यक्तिगत रूपमा परमप्रभुलाई चिनेका थिएनन्। परमप्रभुले शमूएल सँग सिधै बातचित गर्नु भएको थिएन।

परमप्रभुले शमूललाई तेस्रो चोटि बोलाउनु भयो। शमूएल उठेर फेरि एलीको छेउ पुगे। शमूएलले भने, “म यहाँ छु, तपाईंले मलाई बोलाउँनु भयो।”

त्यतिबेला भने एलीले बुझे कि परमप्रभुले शमूएललाई बोलाउँदै हुनुहुन्थ्यो। एलीले शमूएललाई भने, “ओछ्यानमा जाऊ! यदि फेरि बेलाउँनु भयो भने भन्नु, ‘परमप्रभु भन्नुहोस्। म तपाईंको दास हुँ र तपाईंले भन्नु भएको सुन्दैछु।’”

यसकारण शमूएल ओछ्यानमा गए। 10 परमप्रभु त्यहाँ प्रकट हुनुभयो र पहिलेको जस्तै बोलाउनु भयो, “शमूएल, शमूएल!”

शमूएलले भने, “भन्नुहोस्! परमप्रभु म तपाईंको दास हुँ अनि सुन्दैछु।”

11 परमप्रभुले शमूएललाई भन्नुभयो, “म इस्राएलमा केही अचम्मको काम गर्नेछु। जसले यस विषयमा सुन्छ तिनीहरू साह्रै अचम्मीत हुनेछन्। 12 मैले एली र त्यसको परिवारको विरूद्धमा जे-जे गर्छु भनेको थिएँ ती सब गर्नेछु। म शुरू देखि अन्त्यसम्म सबै गर्नेछु। 13 मैले एलीलाई भनेकै छु कि म त्यसको परिवारलाई सधैँको लागि दण्ड दिनेछु। म त्यसो यसकारणले गर्दैछु भनि एलीलाई थाह छ। त्यसका छोराहरूले परमेश्वरलाई निन्दा गरे अनि उहाँसित खराब आचरण गरे। तर उसले तिनीहरूलाई शिक्षा दिएनन्। 14 यसैकारण मैले एलीको परिवारलाई श्राप दिएको छु कि बलिभेटी र अन्नबलिले तिनीहरूलाई पापबाट छुटकारा दिन सक्दैनन्।”

15 बिहानसम्म शमूएल आफ्नो ओछ्यानमै पल्टिरहे उज्यालो हुन साथ झट्पट् उठेर परमप्रभुका मन्दिरका ढोकाहरू खोले। दर्शनको विषयमा एलीलाई भन्न तिनी डराएका थिए।

16 तर एलीले नै शमूएललाई भने, “शमूएल, मेरो छोरा।”

शमूएलले जवाफ दिए, “भन्नुहोस्, म यहाँ छु।”

17 एलीले सोधे, “परमप्रभुले तिमीलाई के भन्नु भयो! मलाई लुकाउने काम छैन। यदि परमेश्वरको सन्देश सबैलाई नभनेर लुकायो भने परमेश्वरले दण्ड दिनुहुनेछ।”

18 शमूएलले केही पनि नलुकाई सबै बताए। शमूएलले एलीबाट केही पनि लुकाएनन्।

एलीले भने, “उहाँ परमप्रभु हुनुहुन्छ। उहाँलाई जे इच्छा लाग्छ त्यसै गर्नुहुन्छ।”

19 शमूएल अझ ठूलो हुँदै गए। परमप्रभु शमूएलसित हुनु हुन्थ्यो। परमप्रभुले शमूएलको कुनै सन्देशलाई पनि झूटो हुने मौका दिनुभएन। 20 त्यसबेला सारा इस्राएलका, (दान देखि बेर्शेबा सम्मका) मानिसहरूले शमूएल परमप्रभुका साँचो अगमवक्ता भएको चाल पाए। 21 शीलोमा परमप्रभु शमूएलकहाँ प्रकट हुनु भयो। उहाँ आफैं शमूएलको अघि परमप्रभुको वचन जस्तै प्रकट हुनु भयो।

इस्राएलभरी शमूएलको विषयमा समाचार फैलिन थाल्यो। तर एली भने साह्रै बुढो भइसकेका थिए। तर उनका छोराहरूले भने अझै पनि परमप्रभुका अघि दुष्ट कार्य गरिनै रहे।[a]

पलिश्तीहरूले इस्राएलीहरूलाई हराए

त्यस समय, इस्राएलीहरू पलिश्तीहरूका विरूद्धमा युद्ध गर्नको निम्ति तयार भए। इस्राएलीले एबेन-एजेरमा छाउनी हाले अनि पलिश्तीहरूले अपेकमा छाउनी हाले। पलिश्तीहरू इस्राएलीहरू माथि हमला गर्न तयार भए।

पलिश्तीहरूले इस्राएलीहरूलाई हराए। पलिश्तीहरूले इस्राएलका 4,000 सैनिकहरू मारिदिए। बाँकी इस्राएली सैनिकहरू फर्केर छाउनीमा पुगे। इस्राएलका बूढा प्रधानले सोधे, “परमप्रभुले पलिश्तीहरूद्वारा हामीलाई किन हराउन दिनुभयो? हामीले शीलोबाट परमप्रभुका करारको सन्दूक उठाएर ल्याऊ। यसो गरेपछि परमेश्वर हामीसँग युद्ध भूमिमा जानुहुनेछ र हामीलाई हाम्रो शत्रुबाट बचाउँनु हुनेछ।”

त्यसकारण तिनीहरूले शीलोमा मानिसहरू पठाए। सर्वशक्तिमान परमप्रभुको करारको सन्दूक लिएर मानिसहरू आए। सन्दूक माथि करूब स्वर्गदूत विराजमान थिए अनि तिनीहरू त्यस्तो प्रकारले बसेका छन् जसमाथि परमप्रभुले आसन लिनुहुन्थ्यो। एलीका छोरा होप्नी र पीनहास जो सन्दूकको रेखदेख गर्दथे तिनीहरू पनि उक्त सन्दूकसँगै आए।

जब परमप्रभुको करारको सन्दूक छाउनी भित्र ल्याइयो, इस्राएलीहरूले ठूलो हल्ला गरे। त्यस हल्लाले भूमि नै हल्लियो। पलिश्तीहरूले पनि इस्राएलीहरूका हल्ला सुनें। तिनीहरूले सोधे, “हिब्रूहरूका छाउनीमा यति साह्रौ हल्ला किन हुँदैछ?”

पछि पलिश्तीहरूलाई थाहा भयो कि इस्राएलीहरूका छाउनीमा करारको सन्दूक आएको छ। पलिश्तीहरू डराएर भने, “परमेश्वर नै तिनीहरूका छाउनीमा आए! अब हाम्रो के हुने हो। यस्तो पहिले कहिले भएको थिएन। हामी चिन्तित भयौ यस्तो बलियो देवताबाट अब हामीलाई कसले बचाउँछ? यी तिनै देवता हुन् जसले मिश्रीहरूलाई जंगलमा महामारी र भंयकर रोगहरू दिएका थिए। पलिश्तीहरू हो सहासी बन! मर्द झैं काम गर, नत्र ता विगतमा हिब्रूहरू हाम्रा दास थिए, भने अब लडेनौं भने तिमीहरू उनीहरूका दास हुनेछौ।”

10 पलिश्तीहरूले वीरताका साथ लडे र इस्राएलीहरूलाई परास्त पारे। प्रत्येक इस्राएली सेना भागेर आफ्ना छाउनीमा लुक्न पुगे। इस्राएलको यो साह्रै नराम्रो पराजय थियो। जम्मा 30,000 इस्राएली सैनिकहरू मारिएका थिए। 11 पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूक हात पारे र एलीका दुवै छोरा, होप्नी र पीनहासलाई मारे।

12 त्यस दिन बिन्यामिनी कूलका एकजना मानिस युद्ध भूमिबाट भागेर हारेको शोक प्रकट गर्न शरीरका बस्त्रहरू च्यातेर टाउकोभरी धूलै-धूलो खन्याए र शीलोमा पुगे। 13 त्यस समय एली शहरको फाटकहरूको मूल बाटोमा आफ्नो आसनमा बसिरहेका थिए। तिनी परमेश्वरको पवित्र सन्दूकको विषयमा ज्यादै चिन्तित थिए र समाचारको प्रतिक्षा गरिरहेका थिए। त्यो बिन्यामीनहरूले आए र दुःखी समाचार शहरलाई दियो। अनि सबै शहरवासी जोडले रून थाले। 14-15 एली अन्ठानब्बे बर्षका बूढा थिए अनि तिनी अन्धा थिए। जब एलीले रोएको स्वर सुने तिनले सोधे, “मानिसहरू किन यसरी चिच्याइ-चिच्याइ रुँदैछन्?”

उनै बिन्यामिनी मानिस एलीका सामुने पुगेर सारा घटना बताए। 16 तिनले भने, “म युद्धभूमिबाट भागेर आएको हुँ!”

एलीले फेरि सोधे, “के भयो हँ छोरा?”

17 बिन्यामिनी मानिसले सार वृत्तान्त बताए, “इस्राएलीहरू पलिश्तीहरूका अघि टिक्न नसकेर भागे इस्राएली पक्षका धेरै सेना युद्धमा मारिए। तपाईंका दुवै छोरा, होप्नी र पीनहास पनि मारिए अनि परमेश्वरको पवित्र सन्दूक पनि पलिश्तीहरूले कब्जामा पारेका छन्।”

18 जब बिन्यामिनी मानिसले परमेश्वरको पवित्र सन्दूकको घटना बताए, एली ऊ बसेको कुर्सीबाट पछिल्तिर लडे, र तिनको मुन्टो भाँचियो, कारण एली साह्रै बूढा थिए र साह्रै मोटा थिए, उनी त्यही मरे। एलीले चालिस बर्षसम्म इस्राएलाई अगुवाइ गरेका थिए।

महिमाको अन्त भयो

19 एलीकी बुहारी, पीनहासकी पत्नी त्यस समय गर्भवती थिईन्। तिनीको नानी जन्माउने समय पुगिसकेको थियो, परमेश्वरको पवित्र सन्दूक कब्जा गरेको घटना साथै ससुरा र लोग्नेको पनि मृत्यु भएको खबर सुन्नेबित्तीकै प्रसववेदना शुरू भयो, यसकारण उसले घुँडा टेकी र तत्कालै एउटा छोरा जन्माईन्। 20 जब तिनी मर्नै लागेकी थिईन्, तिनलाई स्याहार्ने आइमाईहरूले तिनलाई भने, “नडराऊ! तिम्रो एउटा छोरा भयो।”

तर एलीकी बुहारीलाई त्यस दुःखको खबरले कुनै असर गरेन। 21 तर इस्राएलको महिमा हराएको सुनेर तिनले छोराको नाउँ “ईकावोद” राखिन्, जसको अर्थ “इस्राएलको महिमा लगियो!” उनले यो नाउँ राखीन् कारण परमेश्वरको पवित्र सन्दूक लुटिएको र आफ्ना ससुरा अनि लोग्नेको मृत्यु भएको कुराको संकेत गराउँछ। 22 तिनले भनिन्, “इस्राएलको महिमा हरायो।” कारण पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूक कब्जा गरे।

यूहन्ना 5:24-47

24 “म तिमीहरूलाई साँच्चो भन्दछु, यदी कुनै व्यक्तिले मेरो कुरा सुन्दछ र मेरा पितामा विश्वास गर्दछ भने उसले अनन्त जीवन पाउनेछ। त्यो मानिसलाई कहिल्यै न्याय गरिनेछैन। उनी मृत्युबाट बाहिर आएका हुन् अनि जीवनमा प्रवेश गरेकाहुन्। 25 म तिमीहरूलाई साँच्चो भन्दछु, एउटा समय आइरहेको छ। वास्तवमा त्यो सयम अहिले नै आइसकेको छ। मानिसहरू जो मरेका छन् उनीहरूले परमेश्वरको पुत्रको आवाज सुन्नेछन्। अनि जजसले ती सुनेका कुराहरू मान्नेछन् उनीहरूले अनन्त जीवन पाउनेछन्। 26 जीवन पिताबाट आउँदछ र पुत्रलाई पनि उहाँले जीवन-दान दिने अधिकार प्रदान गर्नुभएको छ। 27 अनि पिताले आफ्ना पुत्रलाई मानिसहरूलाई न्याय गर्ने अधिकार दिनुभएकोछ। किनभने उहाँ मानिसको पुत्र हुनुहुन्छ।

28 “यसमा अचम्म नमान। समय आइरहेछ जब सम्पूर्ण मानिसहरू जो मरेका छन्, तिनीहरूले उहाँको आवाज सुन्नेछन्। 29 तब तिनीहरू जजसले राम्रो कामहरू गरेका छन् बौरी उठ्नेछन् अनि अनन्त जीवन पाउनेछन्। तर तिनीहरू जजसले आफ्नो जीवनमा दुष्ट कामहरू गरेका छन्, दोषी ठहरिनको लागि बौरिनेछन्।

30 “म एक्लै केही गर्दिनँ। म परमेश्वरबाट जस्तो सुन्छु त्यही प्रकारले न्याय गर्छु। यसैले मेरो निर्णय ठीक हुन्छ। किनभने म आफैंलाइ खुशी पार्ने कोशिश गर्दिन। तर म उहाँलाई खुशी पार्न चाहन्छु जसले मलाई पठाउनु भयो।

येशूले यहूदीहरूसँग लगातार वार्तालाप गरिरहनु भयो

31 “यदि मैले आफ्नो साक्षी आफैंले दिन्छु तब मेरो साक्षी समर्थित हुँदैन। 32 तर त्यहाँ अन्य मानिस छ जसले मेरो विषयमा मानिसहरूलाई बताउँदछ। अनि म जान्दछु, उनले जे भन्छन् ती सबै कुराहरू सत्य हुन्।

33 “तिमीहरूले यूहन्ना समक्ष मानिसहरू पठायौ। अनि उनले तिमीहरूलाई सत्य कुरा भने। 34 मलाई मेरो विषयमा भन्नलाई मान्छेको आवश्यकता छैन। तर म तिमीहरूलाई ती कुराहरू भन्नेछु ताकि तिमीहरू बाँच्न सक्छौ। 35 यूहन्ना एक बत्ती थियो जुन बलेको थियो र प्रकाश दियो। अनि अल्प समयको लागि मात्र पनि त्यो ज्योति पाँउदा तिमीहरू आनन्दित भयौ।

36 “तर मसँग मेरै विषयमा जुन साक्षी छ त्यो यूहन्नाको भन्दा महान छ। जुन कामहरू म गरिरहेकोछु त्यही नै मेरो साक्षी हो। पिता जसले मलाई पठाउनु भयो त्यो कामहरू शेष गर्नलाई दिनु भयो। 37 पिता जसले मलाई पठाउनु भयो उहाँले मेरो बारेमा साक्षी पनि दिनुभयो। तर तिमीहरूले उहाँको आवाज कहिले सुनेनौ र तिमीहरूले उहाँलाई कहिले देखेनौ। 38 पिताको वचनले पनि तिमाहरूमा काम गरिरहेको छैन। किनभने जसलाई पिताले पठाउनु भयो उहाँलाई विश्वास गर्दैनौ। 39 तिमीहरूले धर्मशास्त्र सावधानसित अध्ययन गर किनभने तिमीहरू सोच्दछौ कि ती धर्मशास्त्रद्वारा तिमीहरूले अनन्त जीवन पाउनेछौ अनि यिनै धर्मशास्त्रले मेरो विषयमा गवाही दिन्छ। 40 तर तिमीहरू जीवन पाउनलाई मकहाँ आउँन चाँहदैनौ।

41 “म मानिसहरूबाट प्रशंसा चाहन्न। 42 तर म तिमीहरूलाई जान्दछु तिमीहरूमा परमेश्वरको प्रेम छैन। 43 म मेरो पिताबाट आएको हुँ-अनि म उहाँकै निम्ति बोल्दछु। तर तिमीहरूले मलाई ग्रहण गर्दैनौ। तर यदि कुनै मानिस आँउछ अनि आफ्नै विषयमा बोल्छ भने, उसलाई तिमीहरू ग्रहण गर्नेछौ। 44 तिमीहरू एकाअर्कामा प्रशंसा गरेको रूचाउँछौ। तर तिमीहरूले त्यो प्रशंसाको खोजी गर्दैनौ जो एक परमेश्वरबाट मात्र आँउछ। तब तिमी कसरी विश्वास गर्न सक्छौ? 45 नसम्झ कि म पिता समक्ष तिमीहरूको विरोधदमा भन्नेछु। मोशा ती मानिस हुन् जसले तिमीहरू विरूध्य बोल्छन्। अनि उनै एक हुन जसमाथि तिमीहरूले बचाऊको आशा गर्यौ। 46 यदि तिमीहरूले साँच्ची नै मोशालाई विश्वास गरेको भए, तिमीहरूले मलाई पनि विश्वास गर्ने थियौ? किनभने मोशाले मेरो विषयमा लेख्नु भएकोछ। 47 तर तिमीहरूले मोशाले के लेखे त्यसलाई विश्वास गर्दैनौ भने तब म जे भन्छु तिमीहरूले कसरी विश्वास गर्न सक्छौ?”

भजनसंग्रह 106:1-12

परमप्रभुको प्रशंसा गर!
परमप्रभुलाई धन्यवाद चढाओ किनभने उहाँ असल हुनुहुन्छ।
    परमेश्वरको प्रेम अनन्त छ!
कुनै मानिसले पनि उहाँ कति महान् हुनुहुन्छ, भनेर वर्णन गर्न सक्दैन्।
    कसैले पनि परमप्रभु पराक्रमको घोषणा गर्न सक्दैन्।
मानिसहरू जसले परमेश्वरको आज्ञाहरू पालन गर्दछन् उनीहरू धन्य हुन्छन्।
    ती मानिसहरूले सधैँभरि असल कामहरू गर्दछन्।

हे परमप्रभु, याद गर्नुहोस् जब तपाईं आफ्ना मानिसहरूको लागि कृपालु हुनुहुन्छ।
    मलाई पनि बचाउनु पर्छ भन्ने सम्झनु होस्।
हे परमप्रभु, मलाई राम्रो कुराहरूमा सहभागी हुन दिनुहोस्
    जुन तपाईंले आफ्ना रोजेको मानिसहरूको निम्ति गर्नुभयो।
मलाई तपाईंका मानिसहरूसित प्रफुल्लित हुन दिनुहोस्।
    मलाई तपाईंका मानिसहरूसँग गुण-गान गर्न दिनुहोस्।

हामीले त्यस्तै पाप गर्यौं जस्तो हाम्रा पुर्खाहरूले गरेका थिए।
    हामी अन्योलमा थियौं, हामीले अधर्म कामहरू गर्यौं!
हे परमप्रभु, तपाईंले गर्नु भएका आश्चर्य कामहरूबाट
    मिश्रमा हाम्रो पुर्खाहरूले केही पनि सिकेनन्।
त्यहाँ लाल समुद्रद्वारा, हाम्रा पुर्खाहरू
    तपाईंका विरूद्ध उपस्थित भए।

तर परमेश्वरले आफ्नो नाउँको खातिर हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो।
    परमेश्वरले तिनीहरूलाई बचाएर आफ्नो महान् शक्ति देखाउनु भयो।
परमेश्वरले आज्ञा दिनुभयो, अनि लाल समुद्र सुख्खा भयो।
    परमेश्वरले हाम्रो पिता-पुर्खाहरूलाई गहन समुद्र भएर मरुभूमि जस्तै सुख्खा धर्ती सम्म अगुवाई गर्नुभयो।
10 परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई उनीहरूका शत्रुहरूबाट बचाउनु भयो!
    परमेश्वरले तिनीहरूलाई शत्रुहरूबाट मुक्ति दिनुभयो।
11 परमेश्वरले तिनीहरूका शत्रुहरूलाई समुद्रले ढाकिदिनु भयो।
    तिनीहरूका एउटै शत्रुहरूले पनि बाँच्न पाएनन्।

12 तब हाम्रा पिता-पुर्खाहरूले परमेश्वरमा विश्वास गरे।
    तिनीहरूले उहाँप्रति गुण-गान गरे।

हितोपदेश 14:30-31

30 शान्ति हृदयले शरीरलाई जीवन दिन्छ, तर डाहाले शरीरको हड्डी सम्म मक्काउँछ।

31 जो मानिसले गरीबलाई दुःख दिन्छ उसले सृष्टिकर्तालाई अपमान गर्छ, तर जसले उहाँलाई आदर गर्छ उसले गरीबलाई दया देखाउँछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International