The Daily Audio Bible
Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.
शाऊलको परिवारमा समस्या
4 शाऊलका छोरा ईश्बोशेतले अबनेरको मृत्युको खबर सुन्छ। ईश्बोशेत र तिनका सबै मानिसहरू डराए। 2 दुइजना मानिसहरू शाऊलका छोरा ईश्बोशेतलाई भेट्न गए। ती दुवै मानिसहरू फौजका कप्तानहरू थिए। तिनीहरूका नाउँ रेकाब र बाना थियो। बेरोतका शिम्मोनका छोराहरू थिए ती दुइ। (बेरोत बिन्यामीन कुल परिवार समूहका अधिनस्त भएकोले तिनीहरू बिन्यामीनी थिए 3 तर बेरोतका सबै मानिसहरू गित्तैममा भागे र अहिले सम्म तिनीहरू त्यहीं छन्।)
4 शाऊलको छोरा जोनाथनका मपीबोशेत नामका छोरा थिए। जब मपीबोशेत पाँच बर्षको हुँदा यिज्रेलबाट शाऊल र जोनाथन मारिएको खबर उसको घरमा आयो। ती शत्रुहरू आइरहेछ भनेर डराइन् मपीबोशेतलाई स्याहार्न उसलाई समातेर टाढा भागिन्। तर जब छिटो-छिटो भाग्न थालीन् त्यो बालक भुईँमा लड्यो। यसरी उसको दुवै खुट्टा लङ्गडो भयो।
5 बेरोतीका रिम्मोनका छोराहरू रिकाब र बाना मध्यान्हमा ईश्बोशेतको घरमा गए। ईश्बोशेतमा गर्मी भएकोले आराम गरिरहेका थिए। 6-7 रेकाब र बाना त्यस घरभित्र केही गहुँ लिने निहुमा गए। ईश्बोशेत आफ्ना ओछ्यानमा पल्टिरहेका थिए। रेकाब र बानाले ईश्बोशेतलाई छुरीले घोचेर मारे। तब तिनीहरूले त्यसको टाउको काटेर तिनीहरूसितै लिएर गए। तिनीहरू रातभरि यर्दन बेंसी भएर हिंडे। 8 हेब्रोन आइपुगे अनि दाऊदलाई ईश्बोशेतको टाउको सुम्पे।
रेकाब र बानाले राजा दाऊदलाई भने, “तपाईंका शत्रु शाऊलका छोरा ईश्बोशेतको टाउको यहाँ छ। उसले तपाईंलाई मार्न चाहान्थ्यो। परमप्रभुले शाऊल र उसका परिवारका मानिसहरूलाई आज तपाईंको खातिर सजाय दिनुभयो।”
9 तर दाऊदले रेकाब र उसका भाइ बानालाई भने, “परमप्रभु शाश्वत हुनुहुन्छ, निश्चय नै उहाँले मलाई धेरै बिपत्तीहरूबाट बचाउनु भएको छ। 10 तर पहिले एकपल्ट एउटाले सोच्यो यो समचार मेरो निम्ति असल थियो र भन्यो, उसले भन्यो, ‘हेर्नु होस् शाऊल मर्यो।’ उसले सोच्यो यो खबर सुनेर म उसलाई उचित पुरस्कार दिन्छु। तर मैले त्यसलाई सिकलगमा मारिदिएँ। 11 यसैकारण तिमीहरू, दुष्ट मानिसहरूले निर्दोष मानिसलाई उसको घर भित्र सुतिरहको बेला मार्यौ, अब म तिमीहरूलाई मारेर उसको मृत्युको बद्ला लिनेछु, अनि म तिमीहरूलाई यस भूमि देखि धपाइनदिनेछु।”
12 यसकारण दाऊदले उसको सैनिकहरूलाई रिकाब र बन्नाहलाई मार्ने आदेश दिए। सैनिकहरूले रिकाबको र शरीरलाई बन्नाहका हात खुट्टाहरू काटेर हेब्रोनको पोखरीको छेउमा झुण्ड्याए। तब तिनीहरूले ईश्बोशेतको टाउकोलाई अबनेरको चिहान भित्र हेब्रोनमा गाडे।
इस्राएलीहरूले दाऊदलाई राजा बनाउँछन्
5 त्यसपछि इस्राएलका सबै परिवार समूहहरू हेब्रोनमा दाऊदलाई भेट्न आए। तिनीहरूले दाऊदलाई भने, “हेर्नुहोस्, तपाईं र हामी एउटै परिवारका हौं! 2 जब शाऊल हाम्रा राजा थिए, त्यस समयमा पनि तपाईं इस्राएलका सैनिक अगुवा हुनुहुन्थ्यो। तपाईंले हामीलाई युद्धमा डोर्याउँनु भयो अनि तपाईंले हामीलाई युद्धबाट पछि फर्काएर ल्याउनु भयो अनि परमप्रभुले पनि तपाइलाई घोषणा गरिसक्नु भएकै छ, ‘तिमी मेरा मानिसहरूको गोठालो हुनेछौ, र इस्राएलीहरू माथि शासक हुनेछौ।’”
3 यसरी इस्राएलका सबै अगुवाहरू हेब्रोनमा दाऊदलाई भेट्न आए। राजा दाऊदले ती सबै अगुवाहरू सँग परमप्रभुको सामुन्नेमा हेब्रोनमा एउटा सन्धि गरे। त्यसपछि ती सबै अगुवाहरूले दाऊदलाई राजाको रूपमा अभिषेक गरे।
4 जब दाऊद राजा भए उनि 30 बर्षका थिए। 40 बर्षसम्म तिनले शासन गरे। 5 हेब्रोनमा तिनले यहूदामाथि साढे सात बर्ष शासन गरे अनि इस्राएल र यहूदामाथि यरूशलेममा 33 बर्ष शासन गरे।
दाऊदले यरूशलेम शहरलाई जित्छन्
6 राजा र तिनका मानिसहरू यरूशलेममा बसिरहेका यबूसीहरूको बिरूद्धमा गए। यबूसीहरूले दाऊदलाई भने, “तिमी हाम्रा शहरमा पस्न सक्दैनौ। यहाँसम्म हाम्रा अन्धा र लङ्गडाहरू नै तिमीलाई रोक्न यथेष्ट हुनेछन।” (तिनीहरूले किन यसो भनेपछि दाऊद तिनीहरूको शहरभित्र पस्न सक्दैन भन्ने विचार थियो। 7 तर दाऊदले सियोन कै किल्ला जिते। त्यस किल्लालाई दाऊद शहर बनाइयो।)
8 त्यस दिन दाऊदले उसका मानिसहरूलाई भने, “यदि तिमीहरू यबूसीहरूलाई हराउन चाहान्छौ भने पानी बगीरहेको सुरूङको पर्खाल भित्र भएर ‘अन्धा र लङ्गडा’ शत्रु भएकहाँ पुग।” यसकारण मानिसहरूले भन्ने गर्छन्, “अन्धा र लङ्गडाहरू पवित्र स्थानहरूमा आउन पाउँदैनन्।”
9 दाऊद यहि किल्लामा बस्ने गर्थे यसकारण यो ठाउँलाई “दाऊदको शहर” नाउँ दिए। दाऊदले अर्को क्षेत्रमा उन्नति गरे अनि यसलाई मिलो नाउँ दिए। त्यस शहर भित्र उसले धेरै भवनहरू पनि बनाए। 10 दाऊद साह्रै शक्तिशाली भए त्यस कारण सर्वशक्तिमान परमप्रभुले तिनको साथ दिनुभयो।
11 सोरका राजा हीरामले दाऊदकहाँ दूतहरू पठाए। हीरामले देवदारूको काठ सिकर्मी र डकर्मीहरू पनि पठाए। तिनीहरूले दाऊदको लागि एउटा महल बनाए। 12 तब दाऊदले बुझे कि परमप्रभुले तिनलाई साँच्चै इस्राएलको राजा बनाउनु भएको छ। दाऊदले यो पनि बुझे कि परमप्रभुले उहाँको राज्य महत्वपूर्ण परमेश्वरको मानिस, इस्राएलका मानिसहरूको खातिर दिनु भएको छ।
13 दाऊद हेब्रोनदेखि यरूशलेम गए। यरूशलेममा उसले धेरै पत्नीहरू अनि उप-पत्नीहरू पाए। केहि सन्तानहरू यरूशलेममा जन्मिए। 14 यरूशलेममा जन्मिएका छोराहरू हुन्; शम्मू, शोबाब, नातान, सुलेमान, 15 यिमार, एलीशू, नेपेग, यापि, 16 एलीशमा, एल्यादा तथा एलीपेलेत।
दाऊद पलिस्तीहरू बिरूद्ध लडछन्
17 पलिस्तीहरूले इस्राएलको राजाको रूपमा दाऊदको अभिषेक भएको खबर सुने। यसर्थ दाऊदलाई मार्नको निम्ति पलिश्तीहरू दाऊदको खोजी गर्न थाले। तर दाऊदले यो थाहा पाएर यरूशलेमको किल्लामा गए। 18 पलिश्तीहरू आएर रपाईमको बेंसीमा डेरा जमाए।
19 दाऊदले परमप्रभुलाई सोध्दै भने, “के म पलिश्तीहरूसँग युद्ध गर्न निस्कौं? पलिश्तीहरूलाई हराउनका निम्ति मलाई सहयोग गर्नुहुन्छ?”
परमप्रभुले दाऊदलाई भन्नु भयो, “निश्चय जाऊ, म पलिश्तीहरूलाई परास्त गर्न तिमीलाई सहायता गर्नेछु।”
20 तब दाऊद बाल-पराजीम गए र पलिश्तीहरूलाई त्यहीं हराए। दाऊदले भने, “परमप्रभुले मेरा शत्रुका सेनाहरूका बाँध भत्किएर छताछुल्ल पोखिएको पानी झैं भगाउनु भयो।” यही कारण दाऊदले त्यस ठाउँको नाउँ “बाल-पराजीम” राखे। 21 पलिश्तीहरूले तिनीहरूको देवताको मूर्तीहरू त्यहीं छोडेका थिए। दाऊद र उसका मानिसहरूले तिनीहरू सबै हटाइ दिएँ।
22 फेरि पनि पलिश्तीहरूले रपाईमको बेंसीमा आएर पाल हाले।
23 दाऊदले परमप्रभुमा प्रार्थना गरे। त्यस समय परमप्रभुले दाऊदलाई भन्नुभयो, “त्यहाँ माथि नजाऊ। शत्रुका सेनाहरूलाई पछाडिबाट आक्रमण गर। पीपलका रूखको अर्को तिरबाट आक्रमण गर। 24 पीपलको रूखमाथि पलिश्तीहरू बडिरहेको आवाज सुनिनेछ। त्यसबेला चाँडो आक्रमण गर परमप्रभुले पलिश्तीहरूलाई हराउन सहयोग गर्नु हुनेछ।”
25 परमप्रभुले आज्ञा गरे जस्तै दाऊदले गरे। अनि तिनले पलिश्तीहरूलाई हराए। तिनले गेबा देखि गेजेरसम्म खेदेर मारे।
परमेश्वरको पवित्र सन्दूक यरूशलेम पुर्याइयो
6 दाऊदले इस्राएलका कुशल सेनाहरूलाई भेला गराए। त्यहाँ 30,000 मानिसहरू भेला भए। 2 तब दाऊद र तिनका मानिसहरू यहूदाको बालाथमा गए। तिनीहरूले यहूदाको बालाथबाट परमेश्वरको पवित्र सन्दूकलाई यरूशलेम पुर्याए। मानिसहरू परमेश्वरको आराधना गर्न पवित्र सन्दूकको सामुन्ने गए। पवित्र सन्दूक परमप्रभुको सिंहासन जस्तै हो। पवित्र सन्दूकको माथिल्लो भागमा करूब परीका मूर्तीहरू बिराजमान छन्। अनि परमप्रभु चाँहि यी परीहरूका माझमा राजा झैं बस्नु भएको छ। 3 पहाडमाथि भएको पवित्र सन्दूकलाई अमीनादाबको घरबाट निकाले। तब तिनीहरूले परमेश्वरको भनिएको पवित्र सन्दूकलाई नयाँ गाडीमाथि राखे। उज्जा र अहीयो नामका अबीनादाबका छोराहरूले उक्त गाडा हाँके।
4 यसरी पवित्र सन्दूकलाई पहाडको अमीनादाबको घरबाट निकाले र उज्जाले गाडीमा पवित्र सन्दूक राखेर गाडा हाँके अहीओ अघि-अघि बाटोमा हिंडे र गाडीलाई मार्ग प्रदर्शन गरे। 5 दाऊद अनि इस्राएलीहरू नाच्दै र सँगीतमय बाजा-गाजाहरू बजाउँदै अघि बढे। तिनीहरूको बीचमा सँगीतमय साधनहरू वीणा, सारङ्गी, खैंजडी, शंख, काठका बाजाहरू अनि झ्यालीहरू थिए। 6 जब दाऊदका मानिसहरू नाकोन खलामा आइपुगे। गाडी तान्नेहरू ठेस् खाए। गाडीमा पवित्र सन्दूक हुत्तिएर झण्डै लड्यो। तत्कालै, उज्जाले पवित्र सन्दूकलाई लड्नदेखि रक्षा गरे। 7 तर परमप्रभु उज्जासँग रिसाउनुभयो र उज्जलाई मार्नु भयो। उज्जाले पवित्र सन्दूकलाई छोएर लापरवाही गर्यो। 8 दाऊद साह्रै क्रोधित अनि खिन्न भए किनभने परमप्रभुद्वारा उज्जा मारिए। दाऊदले उक्त स्थानको नाउँ “पेरेस उज्जा” राखे। आज पनि उक्त स्थानको नाउँ पेरेस उज्जा नै भनिन्छ।
9 त्यस दिन, दाऊद परमप्रभुसँग डराए। दाऊदले भने, “अब कसरी परमेश्वरको पवित्र सन्दूक म कहाँ ल्याउने?” 10 दाऊदले परमप्रभुको पवित्र सन्दूक दाऊदको शहर भित्र लैजान चाहेनन्। दाऊदले परमेश्वरको पवित्र सन्दूकलाई गात देखि ओबेद-एदोमको घरमा राख्ने निर्णय गरे। पवित्र सन्दूकलाई बाटोबाट ओबेद-एदोमको घरमा लगे। 11 उक्त घरमा पवित्र सन्दूक तीन महीना सम्म रह्यो। परमप्रभुले ओबेद-एदोम र तिनका परिवारलाई आशीर्वाद दिनुभयो।
12 पछि मानिसहरूले दाऊदलाई भने, “परमप्रभुले ओबेद-एदोमका परिवारालाई आशीर्वाद दिनुभएको छ किनभने उसले परमप्रभुको पवित्र सन्दूकलाई उसको घरमा राखेकोछ।” तब दाऊद गए र परमेश्वरको पवित्र सन्दूकलाई खुशी अनि आनन्दको साथमा ओबेद-एदोमको घरबाट माथि ल्याए। 13 जब मानिसहरू पवित्र सन्दूक बोकेर छ कदम अघि हिडे, दाऊदले तिनीहरूलाई रोके अनि एउटा साँढे र मोटो बाछा बलि चढाए। 14 परमप्रभुको अघि दाऊद नाचे। दाऊदले एपोद लगाएका थिए।
15 दाऊद र सारा इस्राएलीहरू दंगदास थिए परमप्रभुको पवित्र सन्दूकलाई शहर भित्र्याउँदा तुरही बजाउँदै आनन्दको आवाज निकाले। 16 शाऊलकी छोरी मीकलले झ्यालबाट हेर्दैथिइन्। जब परमप्रभुको पवित्र सन्दूकलाई शहरमा ल्याइयो दाऊद नाच्दै-उफ्रँदै गर्नथाले। मीकलले यो हेरिरहेकी थिई र दाऊदसँग रिसाईन्। तिनले सोचिन् ऊ आफैंले आफैंलाई मूर्ख बनाउँदैछ।
17 दाऊदले पवित्र सन्दूकको निम्ति एउटा छाउनी बनाए। इस्राएलीहरूले परमप्रभुको उक्त सन्दूकलाई त्यस छाउनीमा राखे। त्यसपछि दाऊदले होमबली र मेलबली चढाए।
18 होमबली र मेलबली चढाइसके पछि दाऊदले सर्वशक्तिमान परमप्रभुको नाममा मानिसहरूलाई आशीर्वाद दिए। 19 प्रत्येकलाई रोटी, किशमिश र खजूरको रोटी दिएका थिए। तब सबै मानिसहरू घर फर्के।
मीकलले दाऊदलाई गाली र्गछिन्
20 दाऊद आफ्नो घरमा आशीर्वाद दिन गए। तर शाऊलकी छोरी मीकल तिनलाई भेट्न आइनन्। मीकलले भनिन्, “इस्राएलका राजाले आज आफैंलाई सम्मान गरेनन्। आफ्नै नोकर्नीहरूका अघि तपाईंले आफ्नो लुगा खोल्नु भयो। तपाईं त्यही मूर्ख मध्येको एक हुनुभयो जसले नलजाई कपडाहरू खोल्छन्।”
21 तब दाऊदले मीकललाई भने, “परमप्रभु आफैंले मलाई चुन्नु भयो। न त तिम्रा बाबु न उनका परिवारबाट कसैले परमप्रभुले मलाई इस्राएल अनि उहाँका मानिसहरूमाथि शासन गर्न चुन्नु भयो। त्यसै कारण म अझ पनि परमप्रभुको अघि नाचिरहनेछु। 22 म यी कुराहरू गर्नेछु त्यसले सबैलाई धेरै छक्क पार्नेछ। तिमीले मलाई सम्मान गर्ने छैनौ, तर स्त्रीहरू जसको विषयमा तिमी बात गरिरहेकाछौ। मेरो गर्व हुनेछ।”
23 शाऊलकी छोरी मीकलको एउटा पनि नानी भएन। तिनी नानी नजन्माई मरीन्।
येशूले आफ्नो मृत्यु विषय भन्नु हुन्छ
31 यहूदा जब गइसकेको थियो, तब येशूले भन्नु भयो, “अब मानिसको पुत्रले महिमा प्राप्त गर्छ अनि परमेश्वरले मानिसको पुत्रबाट महिमा प्राप्त गर्नुहुन्छ। 32 यदि परमेश्वरले पनि उसको माध्यमबाट महिमा प्राप्त गर्दछ भने, उहाँले छोरोलाई स्वयंबाट महिमा तुरून्तै दिनुहुनेछ।”
33 येशूले भन्नुभयो, “मेरा छोरा-छोरीहो, अब म तिमीहरूसँग केही समय सम्म मात्र रहनेछु। तिमीहरूले मलाई खोज्नेछौ। अनि यहूदीहरूलाई मैले जे भने त्यो तिमीहरूलाई भन्नेछु, अब जहाँ म गइरहेछु त्यहाँ तिमीहरू जान सक्तैनौ।
34 “म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिन्छु: एकअर्कामा प्रेम गर। तिमीहरूले मैले जस्तो एकाअर्कामा प्रेम गर्नु पर्छ। 35 यदि तिमीहरूले आपसमा प्रेम गर्यौ भने यस तरिकाबाट सबै मानिसहरूले जान्नेछन् कि तिमीहरू मेरा चेलाहरू हौ।”
येशूले भन्नुहुन्छ कि पत्रुसले उहाँलाई इनकार गर्नेछ
(मत्ती 26:31-35; मर्कूस 14:27-31; लूका 22:31-34)
36 शिमोन पत्रुसले येशूलाई सोधे, “प्रभु, तपाईं कहाँ जानु हुँदैछ?”
येशूले जवाफ दिनुभयो, “जहाँ म गइरहेछु त्यहाँ तिमी पछ्याउन सक्तैनौ अब। तर पछि मात्र पछ्याउनु सक्ने छौ।”
37 पत्रुसले सोधे, “प्रभु, अहिले म तपाईंलाई किन पछ्यान सक्तिन? म तपाईंका निम्ति मर्न तयार छु!”
38 येशूले जवाफ दिनुभयो, “साँचि नै तिमी आफ्नो जीवन मेरा निम्ति त्याग्न सक्नेछौ? म साँच्चो भन्छु। भाले बास्नु अघि, तिमीले तिनपल्ट भन्नेछौ कि तिमीले मलाई चिन्दैनौ।”
येशूले आफ्ना चेलाहरूलाई ढाडस दिनुहुन्छ
14 येशूले भन्नुभयो, “आफ्ना हृदयलाई दुःखी हुन नदेऊ। परमेश्वरमा भरोसा गर। अनि ममा भरोसा गर। 2 त्यहाँ मेरा पिताको घरमा धेरै कोठाहरू छन्। यदि यो सत्य नभएको भए म तिमीहरूलाई भन्ने थिईनँ। म त्यहाँ तिमीहरूको व्यवस्था मिलाउन गइरहेछु। 3 म गए पछि तिमीहरूको लागि सबै व्यवस्था मिलाइसके पछि म फर्की आउनेछु। तब म तिमीहरूलाई त्यहाँ लानेछु। तब तिमीहरू म जहाँ छु त्यहीं हुनेछौ। 4 म जुन ठाउँमा गइरहेछु तिमीहरू त्यो बाटो जान्दछौ।”
5 थोमाले भने, “प्रभु, तपाईं कहाँ गइरहनु भएको छ हामी जान्दैनौ। तब हामीले बाटो कसरी जान्ने?”
6 येशूले भन्नुभयो, “म नै बाटो हुँ, सत्य र जीवन म नै हुँ। पिताकोमा जाने माध्यम हुँ। 7 यदि तिमीहरूले मलाई चिनेको भए तब मेरो पितालाई पनि चिन्ने थियौ। तर अब तिमीहरू पितालाई जान्नेछौ। तिमीहरूले उहाँलाई देखेकाछौ।”
8 फिलिपले येशूलाई भने, “प्रभु, हामीलाई पिता देखाइदिनु होस्। त्यही हामीलाई पर्याप्त हुनेछ।”
9 येशूले जवाफ दिनु भयो, “फिलिप धेरै समयदेखि म तिमीहरूसँगै छु र पनि मलाई चिन्दिन भन्छौ? जसले मलाई देखेकोछ उसले मेरो पितालाई पनि देखेकोछ। यसर्थ तिमी कसरी भन्छौ, ‘हामीलाई पिता देखाउनु होस्?’ 10 के तिमीहरू विश्वास गर्छौ कि म पिताभित्र छु र पिता मभित्र हुनुहुन्छ भनेर? जुन कुराहरू मैले भने त्यो मबाट आएको होइन। पिता मभित्र बाँच्नु हुन्छ अनि उहाँले आफ्नो काम आफैं गर्नुहुन्छ। 11 मैले पहिल्यै भनि सकें कि विश्वास गर, ममा पिता र पितामा म हुन्छु। अथवा मैले गरेको कामहरूको कारणले गर्दा पनि विश्वास गर।
12 “म तिमीहरूलाई सत्य भन्छु। जसले ममा विश्वास गर्छ उसले पनि त्यस्तै काम गर्नेछ जो म गर्छु। उसले वास्तवमा त्यो भन्दा पनि महान काम गर्नेछ। किनभने म पिताकहाँ गइरहेछु। 13 अनि मेरो नाममा केही पनि माग्यो भने, म त्यो तिमीहरूको लागी गरिदिनेछु। तब पिताको महिमा पुत्रको माध्यमाबाट देखिनेछ। 14 यदि तिमीहरूले मेरो नाममा केही माग्यौ भने, म दिनेछु।
गिमेल्
17 मेरो निम्ति राम्रो गर्नुहोस्, ताकि म बाँच्न सकौं
अनि तपाईंको आज्ञा पालन गर्नसकौं।
18 हे परमप्रभु, मेरो आँखाहरू उघारी दिनुहोस्,
ताकि तपाईंका शिक्षाहरू हेर्न सकुँ
अनि तपाईंका चमत्कारी कार्यहरू अध्ययन गर्न सकुँ।
19 म यस पृथीवीमा भौतारी हिँड्ने परदेशी जस्तै हुँ।
मैले तपाईँका आज्ञाहरू जान्नु परेको छ।
परमप्रभु, तपाईंका उपदेशहरू मबाट नलुकाउनुहोस्।
20 म सारा समय तपाईंको विधिहरू
अध्ययन गर्न चाहन्छु।
21 हे परमप्रभु! तपाईंले अहंकारी मानिसहरूलाई निन्दा गर्नुभयो।
अनुचित घटनाहरू तिनीहरूतर्फ घट्नेछन्,
किनकि तिनीहरूले तपाईंका आज्ञाहरू पालन गर्न अस्वीकार गरे।
22 मलाई लज्जित र व्याकुल हुन नदिनुहोस्।
मैले तपाईंको करार पालन गरेको छु।
23 अगुवाहरूले पनि मेरो बिरोधमा कुरा गरे।
तर म तपाईंको दास हुँ, हे परमप्रभु!
अनि मैले तपाईंको नियमहरू पढेकोछु।
24 तपाईंको करार मेरो सल्लाहाकार हो।
यसले मलाई हितकारी परामर्श दिंदछ।
दालथ्
25 म चाँडै मर्नेछु, हे परमप्रभु!
तपाईंको प्रतिज्ञा बमोजिम मलाई बाँच्न दिनु होस्।
26 मैले आफ्नो जीवनको बारेमा तपाईंलाई बताएँ।
अनि तपाईंले त्यसको प्रत्युत्तर दिनुभयो।
अब, तपाईंका नियमहरू सिकाउनु होस्।
27 हे परमप्रभु, तपाईंका नियमहरू बुझ्न मलाई साथ दिनुहोस्।
तपाईंले सृजना गर्नु भएका आश्चर्यजनक कुराहरूको विषयमा मलाई अध्ययन गर्न दिनुहोस्।
28 म दुःखीत र थकित छु।
आज्ञा दिनुहोस् अनि मलाई फेरि बलियो बनाई दिनुहोस्।
29 हे परमप्रभु! मलाई कठिन जीवन बाँच्न नदिनुहोस्।
तपाईंको शिक्षाहरूले मलाई बाटो देखाउनु होस्।
30 हे परमप्रभु! म तपाईं प्रति उदार भई बसौं भनेर रोजेको छु।
मैले सचेतपूर्ण तपाईंका निर्णयहरू मनन गरेको छु।
31 म तपाईंको करार-वचनमा अडिग भएर बस्नेछु।
मलाई असन्तुष्ट नबनाउनु होस्।
32 म खुशीले तपाईंको आज्ञाहरू पालन गर्नेछु।
परमप्रभु, तपाईंका आज्ञाहरूले मलाई आनन्द दिन्छ।
31 जसले जीवनदायी झपेडाईको अवहेलना गर्दैन, ऊ बुद्धिमान मानिसहरूको बीचमा बस्नेछ।
32 जुन मानिसले अनुशासनलाई अस्वीकार गर्छ, उसले आफ्नो जीवनमा कष्ट ल्याउँछ, तर जसले हप्काइलाई स्वीकार गर्छ उसले समझशक्ति पाँउछ।
© 2004, 2010 Bible League International