Print Page Options
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 शमूएल 1:1-2:11

दाऊदले शाऊल मरेको थाहा पाउँछन्

दाऊदले अमालेकीहरूलाई हराएर पछि सिकलग गए। यो शाऊलको मृत्यु भएको केही दिन पछिको कुरा हो। दाऊद त्यहाँ दुइ दिन बसे। तब तेस्रो दिनमा एउटा जवान सैनिक सिकलगमा आयो। त्यो मानिस शाऊलको छाउनीबाट आएको थियो। त्यसका लुगाहरू च्यतिएको र शिरमा मैला लागेको थियो। त्यसले दाऊदको अघि धोप्टो परेर उनलाई सम्मान गर्न दण्डवत् गर्यो।

दाऊदले त्यसलाई सोधे, “तिमी कहाँबाट आयौ?”

त्यस मानिसले जवाफ दियो, “म इस्राएली पालबाट आउँदैछु।”

दाऊदले भने, “मलाई भन, के भयो?”

त्यसले भन्यो, “हाम्रा सबै सैनिकहरू भागे। धेरै मानिसहरू मारिए। शाऊल र तिनका छोरा जोनाथन पनि मरे।”

दाऊदले त्यस सैनिकलाई भने, “तिमीले कसरी जान्यौ शाऊल र जोनाथन मरेको कुरा?”

त्यो सैनिकले उत्तर दियो, “म गिल्बो पर्वतमाथि थिएँ। मैले शाऊललाई आफ्नो भालामा झुकेको देखें। पलिश्ती सैनिकहरू घोडा र रथहरूमा चढेर शाऊलको नजिक आउँदै थिए। शाऊल वरिपरि घुमे अनि मलाई देखे र उनले मलाई बोलाए। तब शाऊलले मलाई को हो भनी सोधे। म अमालेकी हुँ भनि मैले उत्तर दिए। अनि शाऊलले भने, ‘म नराम्रो घाइते भएँ। दया गरी मलाई मारिदे। म अधमरो भइसकेको छु।’ 10 उनका चोटहरू अति नै खराब थिए मैले निश्चय गरें कि उनी जीउने छैनन्। यसकारण मैले रोकिएर उनलाई मारें। तब उनको शिरबाट मैले मुकुट र पाखुराबाट बाजू निकालें, अनि ती चीजहरू मेरो मालिक तपाईंको निम्ति ल्याएको छु।”

11 दाऊदले आफू साह्रै दुःखी छु भन्ने देखाउनलाई लगाएका लुगा च्याते। अरू मानिसहरूले पनि त्यसै गरे। 12 तिनीहरू दुःखले रोए। साँझसम्म तिनीहरूले केहि खाएनन्। शाऊल र तिनका छोरा जोनाथन परमप्रभुका इस्राएली मानिसहरूको मृत्युको कारण तिनीहरू साह्रै रोए।

दाऊदले त्यस अमालेकिलाई मार्ने आदेश दिन्छन्

13 तब दाऊदले शाऊललाई मारें भन्ने जवान सैनिकलाई सोध्छन्, “तिमी कहाँबाट आउँदै छौ?”

त्यस सैनिकले भन्यो, “म विदेशीको छोरा, एक अमालेकी हुँ।”

14 दाऊदले सैनिकलाई भने, “परमप्रभुद्वारा राजा बनाउन छान्नु भएका मानिसलाई मार्न तँ किन डराईनस्?”

15-16 तब दाऊदले अमालेकीलाई भने, “तेरो मृत्युको निम्ति जिम्मेवार तँ आफैं हुनुपर्छ। परमप्रभुले छान्नु भएका मानिसहरूलाई तैंले मारें भन्दैछस्। तेरो आफ्नै भनाईमा तँ दोषी छस् भन्ने बुझिन्छ।” त्यसकारण दाऊदले जवान नोकरलाई बोलाएर त्यस अमालेकीलाई मार्न लगाए। यसकारण त्यो जवान इस्राएलीले त्यस अमालेकीलाई मार्यो।

शाऊल र जोनाथनको लागि दाऊदको दुःखपूर्ण गीत

17 शाऊल र तिनका छोरा जोनाथनको शोकमा दाऊदले एउटा शोक गीत गाए। 18 यहूदाका मानिसहरूलाई यो गीत गाउन सिकाउनु भनी दाऊदले तिनका मानिसहरूलाई अह्राए। यस गीतलाई “धनु” भनियो। याशारको पुस्तकमा[a] यो लेखिइएको छ।

19 “इस्राएल, कसरी तेरो महिमा तेरो आफ्नै पहाडमा नष्ट गरियो।
    साँच्चै, कसरी ती वीरहरू लडे!
20 गातमा यो समाचार नभन।
    अश्कलोनका बाटाहरूमा यो प्रचार नगर,
ती पलिश्ती शहरहरूले खुशी मनाउँछन्
    ती विदेशीहरू रमाउने छन्।

21 “म आशा गर्छु कि गिल्बोका पर्वतहरूमा
    पानी अथवा शीत झर्ने छैन।
म यो पनि आशा गर्छु
    ती खेतहरूले केही पनि भेटी स्वरूप उब्जाउने छैनन्।
ती वीरहरूका ढालमा खिया लाग्यो
    शाऊलका ढालमा तेल मोलिएन।
22 जोनाथनको धनुले आफ्नो भागमा परेको शत्रुहरू मार्यो
    अनि शाऊलको तरवारले पनि आफ्नो अंशमा परेको कर्त्तव्य पूरा गर्यो।
जबसम्म तिनीहरू मरेनन् तिनीहरूले शत्रुहरूको रगत बगाए।
तिनीहरूले बलिया मानिसहरूको बोसो काटे।

23 “शाऊल र जोनाथनले एक दोस्रोलाई प्रेम गरे
    र जीवनको आनन्द मनाए,
    अनि मृत्युले पनि तिनीहरूलाई छुट्याउन सकेन।
तिनीहरू एउटा गरूड भन्दा छिटो थिए
    र एउटा सिंह भन्दा बलिया थिए।
24 इस्राएलकी छोरीहरू, शाऊलको निम्ति रोओ शाऊलले
    तिमीहरूलाई राता लुगाहरू दिए
    र सुनका गहनाले ढाकिदिए।

25 “बलिया मानिसहरू युद्धमा ढले,
    जोनाथन गिल्बोको टाकुरामा मरे।
26 हे जोनाथन, मेरो सानो भाइ, मैले तिमीलाई साँच्चै हराएँ।
    मैले तिम्रो मित्रताको आनन्द धेरै लिएँ
तिमीले मलाई दिएको मृत्युको प्रेम साँच्चै अचम्मकै थियो,
    स्त्रीको प्रेमभन्दा पनि गहिरो थियो।
27 बलिया योद्धा रणभूमिमा नै ढले
    अब युद्धका हतियारहरू रहेनन्।”

दाऊद र तिनका मानिस हेब्रोनतर्फ लागे

पछि दाऊदले परमप्रभुसँग सल्लाह मागे। दाऊदले भने, “के म यहूदाको कुनै शहरमा जाऊँ?”

परमप्रभुले दाऊदलाई भन्नु भो, “हो जाऊ।”

दाऊदले भने, “त्यसो हो भने म कहाँ जाऊँ।”

परमप्रभुले भन्नु भो, “हेब्रोनतर्फ।”

त्यसै कारण दाऊद आफ्ना दुइवटी पत्नी लिएर हेब्रोनतिर लागे। (उसका पत्नीहरू यिज्रेलीबाटकी अहीनोअम र कर्मेलको नाबाल की विधवा अबीगेल थिए।) दाऊदले तिनका मानिस र उनीहरूका परिवारलाई पनि ल्याए। तिनी सबै हेब्रोन शहरको छेउछाउमा बसे।

यहूदाका मानिसहरू हेब्रोनमा आए र दाऊदलाई यहूदाका राजाको रूपमा अभिषेक गरे। अनि तिनीहरूले भने, “याबेश गिलादका मानिसहरूले नै शाऊलको लासलाई गाडेका हुन्।”

दाऊदले उसका दूतहरूलाई याबेश गिलादमा पठाए। याबेशमा दूतहरूले भने, “परमप्रभुले तिमीहरूलाई आशीर्वाद दिउन्। तपाईंको स्वामी शाऊल खरानी भएको कारण परमप्रभु तपाईं प्रति दयालु र विश्वासयोग्य हुनुहुन्छ र म पनि तपाईंप्रति दयालु हुनेछु किनभने तपाईंले यस्तो दयालु कार्यहरू गर्नु भएकोछ। अब बलियो र साहसी बन्नुहोस्। तपाईंहरूका स्वामी शाऊल बित्नुभयो। तर यहूदाका परिवार समूहले मलाई तिनीहरूका राजाको रूपमा अभिषेक गरे।”

ईश्बोशेत राजा भए

नेरका छोरा अबनेर शाऊलको फौजमा कप्तान थिए, अबनेरले शाऊलका छोरा ईश्बोशेतलाई महनैम लगे। गिलाद, अशूर, यिज्रेल, एप्रैम, बिन्यामीन अनि सम्पूर्ण इस्राएलको राजा बनाए।

10 ईश्बोशेत शाऊलका छोरा थिए। उसले इस्राएलमाथि शासन गर्दा उनी 40 बर्षका थिए। उनले 2 बर्ष शासन गरे। तर यहूदाका परिवार समूहले दाऊदलाई पच्छ्याए। 11 दाऊद हेब्रोनमा राजा थिए। दाऊदले यहूदाका परिवार समूहलाई साढे सात बर्ष शासन गरे।

यूहन्ना 12:20-50

येशूले जीवन र मृत्यु विषय भन्नुहुन्छ

20 तिनीहरूमा कोही मानिसहरू ग्रीकका पनि थिए। तिनीहरू कोही ती मानिसहरू थिए जो यरूशलेममा निस्तार चाडमा आएका थिए। 21 ती ग्रीकका मानिसहरू फिलिपकहाँ गए। फिलिप गालीलमा बेत्सैदाबासी थिए। ग्रीक मानिसहरूले भने, “महोदय, हामी येशूलाई हेर्न चाहन्छौ।” 22 फिलिप गएर आन्द्रियसलाई भने। अनि फिलिप र आन्द्रियास गएर येशूलाई भने।

23 येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई महिमा ग्रहण गर्ने बेला आइपुग्यो। 24 म तिमीहरूलाई साँच्चो भन्दछु। गहुँको दाना भूइँमा झर्नु पर्छ अनि मर्छ। तब यो बढछ र धेरै बीऊहरू उब्जाउँछ। तर यो मरेन भने यो सधैँ खालि एउटै बीऊ मात्र रहन्छ। 25 जसले आफ्नो प्राणको माया गर्दछ उसले प्राण गुमाउँदछ। तर जसले आफ्नो प्राणलाई घृणा गर्दछ यस संसारमा उसले अनन्त जीवन पाउँदछ। 26 जसले मेरो सेवा गर्दछ उसले मलाई पछ्याउनु नै पर्छ। तब मात्र मेरा सेवक म जहाँ-जहाँ हुँदछु त्यतै मसँग हुँदछ। मेरो पिताले तिनीहरूलाई सम्मान दिनुहुनेछ जसले मेरो सेवा गर्छन्।

येशूले आफ्नै मृत्युको विषयमा भन्नु हुन्छ

27 “अहिले मेरो हृदय व्याकुल छ। मैले के भन्नु पर्ला र? के मैले भन्नु पर्छ, ‘पिता मलाई कष्टको बेलाबाट बचाई दिनु होस्?’ होइन, यस्तो बेलामा म आउनको कारण नै दुःखः पाउनुका निम्ति हो। 28 हे पिता, तपाईंको नामको महिमा प्रदान गराउनु होस्।”

तब स्वर्गबाट एउटा आवाज आयो, “मैले त्यो नाउँमा महिमा ल्याएकोछु। अनि म फेरि महिमा ल्याउनेछु।”

29 उभिरहेका मानिसहरूको भीडले त्यो आवाज सुने। ती मानिसहरूले त्यसलाई मेघ, गर्जन् भने।

तर अरू मानिसहरूले भने, “स्वर्गदूत उहाँसँग बोले!”

30 येशूले मानिसहरूलाई भन्नुभयो, “त्यो आवाज तिमीहरूको लागि हो, मेरो लागि होइन। 31 अब संसार (दुष्ट) को न्याय गर्ने बेला आयो। अब यस संसारको शासक फ्याँकिनेछ। 32 म पृथ्वीबाट उचालिनेछु। अनि जब यस्तो हुँदछ, म सबै मानिसहरूलाई मकहाँ ल्याउनेछु।” 33 उहाँको मृत्यु कुन प्रकारले हुनेछ त्यो संकेत दिनलाई उहाँले त्यसो भन्नुभयो।

34 मानिसहरूले भने, “तर हाम्रा व्यवस्थाले भन्छ ख्रीष्ट अनन्त बाँच्नेछ यसर्थ तपाईं कसरी भन्नुहुन्छ, मानिसको पुत्र उचालिनु पर्छ? यो ‘मानिसको पुत्र’ भनेको को हो?”

35 तब येशूले भन्नुभयो, “ज्योति अझ केही समयको लागि तिमाहरूसँग रहनेछ। यसर्थ जति वेला सम्म उज्यालो छ त्यति वेला सम्म हिडडुल गर ताकि अँध्यारोले तिमीहरूलाई समात्ने छैन। जो मानिस अन्धकारमा हिंडछ उसले ऊ कहाँ गई रहेछ थाहा पाउँदैन। 36 यसर्थ ज्योति जब सम्म तिमीहरूसँग रहन्छ त्यसमा विश्वास राख। तब तिमीहरू ज्योतिको सन्तानहरू हुनेछौ।” यति भनिसकेर येशू जानुभयो। येशू त्यस्तो जग्गामा जानु भयो जहाँ कसैले उहाँलाई भेट्न सक्तैन।

यहूदीहरूले येशूमा विश्वास गरेनन्

37 येशूले यी धेरै चमत्कारहरू गर्नुभयो। ती मानिसहरूले त्यस्तो दोखिसके पश्चात् पनि उहाँमाथि विश्वास गरेनन्। 38 अगमवक्ता यशैयाको वचन पूरा होस् भनी यो भयोः

“हे प्ररमप्रभु, हामीले भनेका कुराहरूमा कसले विश्वास गर्यो?
    परमप्रभुको शक्ति कसले देख्यो?”[a]

39 यसकारण मानिसहरूले विश्वास गरेनन्। किनभने यशैयाले यो पनि भने,

40 “परमेश्वरले मानिसलाई अन्धा बनाइदिनु भयो।
    परमेश्वरले उनीहरूका हृदय कठोर पारिदिनु भयो।
परमेश्वरले यसो गर्नुको कारण तिनीहरूले आफ्नै आँखले नदेखोस् भनेर,
    र तिनीहरूले हृदयले बुझ्न नसकोस् भनेर हो,
नत्रता तिनीहरू मकहाँ
    निको हुन फर्कनेछन्।”[b]

41 यशैयाले यसो भनेको कारण उनले उहाँको महिमा देखेका थिए। अनि उहाँको विषयमा भने।

42 तर धेरै मानिसहरूले येशूमा विश्वास गरे। कतिपय यहूदी अगुवाहहरू सम्मले येशूमा विश्वास गरे। तर तिनीहरू फरिसीहरू देखि डराउँथे। यसैले तिनीहरूले येशूमा विश्वास गरे भनेर खुल्लम खुल्ला भनेनन्। तिनीहरूलाई सभा-घरबाट निकाली देला कि भन्ने डर थियो। 43 ती मानिसहरू परमेश्वरबाट धेरै प्रशंसा गरिनु भन्दा मानिसहरूबाटै प्रशंसा गरिएको मन पराउँथे।

येशूको उपदेशले मानिसहरूलाई न्याय गर्नेछ

44 तब येशूले जोडले काराएर भन्नुभयो, “जसले मलाई विश्वास गर्दछ उसले मलाई मात्र विश्वास गर्दैन जसले मलाई पठाउनु भयो उहाँलाई पनि विश्वास गर्छ। 45 जसले मलाई देख्दछ उसले उहाँलाई देख्दछ जसले मलाई पठाउनु भयो। 46 म ज्योति हुँ र यस संसारमा आएँ र जसले मलाई विश्वास गर्दछ उसले अन्धकारमा बस्नु पर्दैन।

47 “म मानिसहरूलाई न्याय गर्न यस संसारमा आएको होइन। म संसारमा मानिसहरूलाई बचाउन आएकोहुँ। म मानिसलाई न्याय गर्ने न्यायकर्ता हैन। जसले मेरो वचन सुन्दछ तर पालन गर्दैन। 48 जसले मलाई अस्वीकार गर्छ र मैले भनेका कुराहरू मान्दैन उसको लागि न्यायकर्त्ता छँदैछ। मैले जुन संदेश भने त्यसैले अन्तिम दिनमा त्यस मानिसको निम्ति न्याय गर्नेछ। 49 किनभने जुन कुराहरू मैले बताँए त्यो मेरो आफ्नै थिएन। पिता जसले मलाई फठाउनु भयो र के भन्नु र के शिक्षा दिनु भन्नु भयो त्यही गरें। 50 र म जान्दछु कि अनन्त जीवन उहाँकै आज्ञाबाट आउनेछ। यसकारण म जे बोल्दछु पिताले भन्नुभए अनुसार बोल्दछु।”

भजनसंग्रह 118:19-29

19 असल प्रवेशद्वारहरू, मेरो निम्ति खोलियो
    अनि म भित्र आउने छु र परमप्रभुलाई पूज्ने छु।
20 तिनीहरू परमप्रभुको प्रवेशद्वारहरू हुन्।
    विशेष धर्मी मानिसहरू मात्र त्यहाँबाट जान सक्छन्।
21 परमप्रभुले, मेरो प्रार्थनाको जवाफ दिनु भएकोमा धन्यवाद प्रकट गर्दछु।
    मलाई बचाउनु भएकोमा धन्यवाद प्रकट गर्छु।

22 जुन ढुङ्गा निर्माणकर्ताहरूले लिन चाहेनन्।
    त्यही मूल ढुङ्गा[a] हुन गयो।
23 परमप्रभुले यस्तो बनाउनु भयो।
    अनि हामीले यसलाई आश्चर्यजनक भनेर सोच्यौं।
24 आज त्यो दिन हो जुन परमप्रभुले बनाउनु भयो।
    फेरि आज प्रफुल्लित र खुशी हौं!

25 मानिसहरूले भने, “परमप्रभुको प्रशंसा गर!
    परमप्रभुले हामीलाई बचाउनु हुन्छ!
26 परमप्रभुको नाउँ गरेर आउने मानिसहरूलाई स्वागत छ।”

    पूजाहारीहरूले जवाफ दिए, “हामी तपाईँलाई परमप्रभुको मन्दिरमा स्वागत गर्दछौं!
27 परमप्रभुनै परमेश्वर हुनुहुन्छ।
अनि उहाँले हामीलाई ग्रहण गर्नु हुन्छ।
    भेंडाका पाठालाई बलिदानको लागि बाँध,
    अनि यसलाई वेदीको सींङ तर्फ ल्याऊ।”

28 परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
म तपाईंलाई धन्यवाद दिन्छु।
    परमप्रभु, म तपाईंको प्रशंसा गर्छु।
29 परमप्रभुको प्रशंसा गर किनभने उहाँ भलो हुनुहुन्छ।
    उहाँको स्नेहपूर्ण करूणा सदा-सर्वदा रहेनेछ।

हितोपदेश 15:27-28

27 लोभी मानिसले आफ्नै घरमा आपत बोलाउँछ, तर घूसलाई घृणा गर्ने मानिस बाँची रहन्छ।

28 एउटा धर्मी मानिसले प्रत्येक शब्द तौलँदै बोल्छ तर दुष्ट मानिसहरूको मुखबाट दुष्ट कुराहरू निस्कन्छन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International