Print Page Options
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 शमूएल 26-28

दाऊद र अबीशै शाऊलको छाउनीमा पसे

26 जीपीका मानिसहरू शाऊललाई भेट्न गिबा गए। तिनीहरूले शाऊललाई भने, “हकीलाको पहाडमा दाऊद लुक्दैछ। यो पहाड यशीमोन देखि पारि पर्छ।”

शाऊल जीपको मरुभूमितिर गए। शाऊलले 3,000 सेनाहरू इस्राएलबाट छानेर लगे। शाऊल र उसका सेनाहरूले जीपको मरुभूमितिर दाऊदलाई खोजे। शाऊलले उसको छाउनी हकीलाको पहाडमाथि बाटोको छेउमा यशीमोन तिर फर्काएर बनाए।

दाऊद त्यही मरुभूमिमा थिए। शाऊलले पीछा गर्दैछन् भन्ने कुरा तिनलाई थाहा थियो। यसर्थ दाऊदले चेवाहरू पठाए। दाऊदलाई थाहा लाग्यो शाऊल हकीलामा छ भनेर। दाऊद शाऊलको छाउनीमा गए। शाऊल र अबनेर कहाँ सुतिरहेका थिए दाऊदले देखे। (नेरका छोरो अबनेर शाऊलका सेनाको सेनापति थिए।) शाऊल छाउनीको बीचमा सुते। सेनाहरू शाऊलको वरिपरि सुती रहेका थिए।

दाऊदले हित्ती अहीमेलेक र सरूयाहका छोरा अबीशैसित बात गरे। (अबीशै योआबका भाइ थिए।) तिनले भने, “मसँग शाऊलको छाउनीमा को जान्छ?”

अबीशैले जवाफ दिए, “म तपाईंसँग जानेछु।”

जब रात पर्यो दाऊद र अबीशै शाऊलको छाउनीमा गए। शाऊल छाउनीको मध्य भागमा मस्त सुतिरहेका थिए। तिनको भाला तिनको शिर नेर भूँईमा गाडिएको थियो। अबनेर अरू सैनिकहरूसँगै शाऊलको वरिपरी मस्त सुतिरहेका थिए। अबीशैले दाऊदलाई भने, “आज परमेश्वरले तपाईंको शत्रुलाई तपाईंको हातमा सुम्पिनु भएकोछ उसको भालाले उसैलाई रोप्न मलाई दिनुहोस्। म एकै खेपमा काम सिध्याउँछु।”

तर दाऊदले अबीशैलाई भने, “शाऊललाई नमार! परमेश्वरले छान्नु भएको राजालाई घात गर्दा दण्ड पाइन्छ। 10 साँच्चै नै परमेश्वर जीवित हुनुहुन्छ परमप्रभु आफैंले शाऊललाई दण्ड दिनुहुनेछ। शाऊल युद्ध भूमिमा मरोस अथवा स्वभाविक मृत्यु होस्। 11 तर म परमप्रभुले उहाँका चुनिएका राजालाई केही नोक्सान नपुर्याउन भनी उहाँलाई विन्ति गर्छु। शाऊलको शिरमा भएको भाला र पानीको सुराही उठाउ अनि हामी जानेछौ।”

12 यसरी दाऊदले भाला र पानीको सुराही शाऊलको शिरकै छेउबाट लिए। त्यसपछि दाऊद र अबीशै छाउनीबाट निस्किए। तिनीहरूले के गरे कसैले पनि थाहा पाएन। न कसैले देख्यो न त कोही ब्यूँझियो। शाऊल र तिनका सैनिकहरू गहिरो निद्रामा परेको कारण परमप्रभुले नै तिनीहरूलाई गहिरो निद्रामा पारिदिनुभएको थियो।

दाऊदले फेरि पनि शाऊललाई लाजमर्दो बनाए

13 दाऊद बेंसी पार गरेर पारिपट्टि पुगे। शाऊलको छाउनीबाट पारी पहाडको टाकुरामा पुगे। दाऊद र शाऊलका छाउनीहरू धेरै टाढा-टाढा थिए। 14 दाऊदले सेना र खास गरी नेरका छोरा अबनेरलाई ठूलो स्वरमा कराएर भने, “अबनेर, मलाई जवाफ देऊ!”

अबनेरले जवाफ दिए, “तिमी को हौ? किन महाराजलाई डाकिरहेछौ?”

15 दाऊदले भने, “तिमी मानिस हौ, कि होइनौ? अनि इस्राएल भरी सबभन्दा महान तिमी नै छौ। के यो सत्य होइन? त्यसो हो भने आफ्नो प्रभु महाराजको रक्षा किन ठिकसित गरेनौ? एउटा साधारण मानिसले तिम्रो राजालाई मार्न छाउनी भित्र आयो। 16 तिमीले एकदमै नराम्रो काम गर्यौ। जस्तो कि परमप्रभु जीवित हुनुहुन्छ, तिमी र तिम्रा मानिसहरू मर्नु पर्छ। किनभने तिमीहरूले आफ्ना परमप्रभुका अभिषिक्त राजाको रक्षा गरेनौ। अब हेर राजाको सिरानी छेउको भाला र पानी पिउने सुराही खोई, कहाँ छन्?”

17 शाऊलले दाऊदको स्वर चिने। शाऊलले भने, “मेरो छोरा दाऊद के यो स्वर तिम्रो हो?”

दाऊदले जवाफ दिए, “ज्यू, यो मेरै आवाज हो, मेरो प्रभु महाराजा।” 18 दाऊदले फेरि भने, “हे मेरा प्रभु, तपाईंले मेरो खेदो किन गर्नु हुदैछ? मैले के भूल गरें? मेरो के कसुर छ? 19 हे मेरो मालिक राजा म तपाईंको नोकरलाई सुन्नु होस् यदि परमप्रभुले नै तपाईंलाई म माथि रिस उठाउनु भएको हो भने एउटा भेट स्वीकार गरिदिनुहोस्। तर यदि मानिसले तपाईंलाई म माथि रिस उठाउनु भएको हो भने, परमप्रभुले तिमीहरूलाई केही नराम्रो गर्नुहुनेछ। परमप्रभुले दिनुभएको भूमि त्याग्न मलाई मानिसहरूले जबरजस्ती गरे। तिनीहरूले मलाई भने, ‘जाऊ र विदेशीसँग बस र विदेशी देवतालाई पूजागर।’ 20 मलाई परमप्रभुबाट टाढा मर्न नदेऊ। इस्राएलका राजा झींङ्गाको पछि लाग्दैछ। तपाईं पहाडमा भ्यागुत्ताहरूको पछि लागेको मानिस जस्तो हुनुभयो।”

21 तब शाऊलले भने, “मैले पाप गरें। मेरो छोरा दाऊद यता आऊ आज मलाई प्रमाण गरेर देखाइ देऊ। तिम्रो निम्ति मेरो ज्यान महत्वपूर्ण छ। अब म तिमीलाई चोट पुर्याउने छैन। मैले मूर्खले झैं ठूलो भूल गरें।”

22 दाऊदले जवाफमा भने, “राजाको भाला यहाँ छ। यो लिन कुनै एक जना जवानलाई पठाउनुहोस्। 23 परमप्रभुले हरेक मानिसहरूलाई उसको धार्मिकता र विश्वसनीयताको निम्ति इनाम दिनुहुन्छ। उहाँले राम्रो काम गर्ने मानिसलाई इनाम दिनुहुन्छ र नराम्रो कार्य गर्नेलाई दण्ड दिनुहुन्छ। परमप्रभुले तपाईंलाई हराउन आज मलाई मौका दिनुभयो। तर म परमप्रभुका अभिषिक्त राजालाई हानि गर्न चाहँदिन। 24 आज मैले प्रमाण गरें कि मेरो निम्ति तपाईंको जीवन महत्वपूर्ण छ। यस्तै प्रकार परमप्रभुले पनि देख्नु हुनेछ मेरो प्राण उहाँलाई महत्वपूर्ण छ। परमप्रभुले मलाई प्रत्येक खतराबाट बचाउँनु हुनेछ।”

25 त्यसपछि शाऊलले दाऊदलाई भने, “परमेश्वरले तिमीलाई आशीर्वाद दिऊन्, मेरो छोरा दाऊद। तिमीले ठूला-ठूला कार्यहरू गर्नेछौ र सफलता पनि पाउँनेछौ।”

दाऊद आफ्नो बाटो लागे र शाऊल घरतिर फर्किए।

दाऊद पलिश्तीहरूसँग रहन थाले

27 तर दाऊदले आफैं सोचे, “शाऊलले मलाई एक दिन पक्रिएर मार्ने छ। सबभन्दा राम्रो मलाई यो हुन्छ पलिश्तीहरू भएकोमा भागेर जानु त्यसपछि शाऊलले मलाई इस्राएलमा खोज्न छोड्ने छ। त्यसरी म शाऊलबाट उम्कन सक्नेछु।”

यसरी दाऊद र तिनका 600 मानिसहरूले इस्राएल त्यागे। तिनीहरू माओकका छोरा आकीशकाँ गए। आकीश गातका राजा थिए, दाऊद, तिनका मानिसहरू र तिनका परिवार गातमा आकीशसँग बसे। दाऊदकी दुवै पत्नी तिनीसितै थिए। तिनीहरू यिज्रेली अनहीनोअम अनि कर्मेली अबीगेल थिए। अबीगेल नबालकी विधवा थिईन्। मानिसहरूले शाऊललाई भने कि दाऊद भागेर गात गए। यसर्थ शाऊलले दाऊदको पिछा गर्न छोडे।

दाऊदले आकीशसँग भने, “यदि तपाईं मसँग प्रसन्न हुनुहुन्छ भने मलाई शहरमा एउटा ठाउँ तोकिदिनुहोस्। म तपाईंको सेवक मात्र हुँ। म त्यहाँ बस्नेछु, यहाँ राजधानीमा होइन।”

त्यस दिन आकीशले दाऊदलाई सिकलग शहर दिए। सिकलग चाँहि त्यही दिन देखि यहूदा राजाहरूको वंशमा रहेकोछ। दाऊद पलिश्तीहरूसँग एक बर्ष चार महिना बसे।

दाऊदले आकीश राजालाई छक्काए

दाऊद र तिनका मानिसहरूले मिश्रमा अवस्थित तलैम देखि शूरका अमालेकी गशूर र गिज्रीहरूसित युद्ध गरे। दाऊदले तिनीहरूलाई हराएर सम्पत्ति लुटे। दाऊदले त्यस इलाकाका मानिसहरूलाई हराए अनि सबैलाई मारे दाऊदले त्यहाँ भेंडा, गाई-गोरू, गधा ऊँठ र लुगाहरू लुटे। ऊ फर्किए पछि यी लुटेकाहरू आकीशलाई दिए।

10 दाऊदले धेरै पल्ट यसो गरे। प्रत्येक चोटि नै आकीशले कता कोसँग युद्ध गर्यौ भनेर सोध्थे। दाऊदले भन्थे, “मैले दक्षिणपट्टिको यहूदमाथि” अथवा “मैले दक्षिणपट्टिको यरहमेलीमा,” अथवा “दक्षिणपट्टिको केनीहरूमाथि आक्रमण गरें[a]।” 11 दाऊदले गातमा कहिले पनि कुनै लोग्ने मानिस अथवा स्त्रीहरू जिउँदो ल्याएनन्। दाऊदले ठान्थे, “यदि मैले जिउँदो मानिस ल्याएँ भने वास्तवमा म के गर्दैछु, आकीशले थाहा पाउनेछ।”

जब सम्म दाऊद पलिश्तीको भूमिमा बसे तिनले त्यसो गरे। 12 आकीशले दाऊदलाई पत्याउन थाले। आकीशले आफैंलाई भन्थे, “अब दाऊदलाई आफ्नै मानिसहरूले घृणा गर्ने छन्। इस्राएलीहरूले दाऊदलाई साह्रै घृणा गर्नेछन्। अब दाऊदले सधैँ मेरो सेवा गर्नेछ।”

पलिश्तीहरू युद्धको निम्ति तयार

28 त्यस बेला पलिश्तीहरूले इस्राएलमाथि आक्रमण गर्न सेनाहरू भेला गराए। आकीशले दाऊदलाई भने, “तपाईंले त्यो जान्नु पर्छ तपाईं र तपाईंका मानिसहरू इस्राएलको विरूद्ध युद्धमा मसँग जानुपर्छ।”

दाऊदले जवाफ दिए, “निश्चय! तपाईंले देख्नुहुन्छ म के गर्नु सक्छु।”

आकीशले भने, “राम्रो, म तपाईंलाई मेरो अंगरक्षक बनाउँछु। सधैँ मेरो रक्षा गर्नुहोस्।”

शाऊल र एउटी स्त्री एन्दोरमा

शमूएल मरे। शमूएलको मृत्युमा सम्पूर्ण इस्राएलीहरूले दुःख प्रकट गरे। तिनीहरूले शमूएललाई उनकै शहर रामामा गाडे। पहिला शाऊलले भुतप्रेत खेलाउनेहरू र ज्योतिषीहरूलाई इस्राएल छोड्न वाध्य गरेका थिए।

पलिश्तीहरू युद्धको निम्ति तयार थिए। तिनीहरू शूनेममा आएर त्यहीं छाउनी बनाए। शाऊलले पनि सबै इस्राएलीहरूलाई भेला गराएर गिल्बोमा छाउनी हाल्न लगाए। शाऊल पलिश्ती सेनाहरू देखेर डराए। तिनको मुटु नै काम्यो। शाऊलले परमप्रभुमा प्रार्थना गरे तर परमप्रभुले जवाफ दिनुभएन। परमप्रभु परमेश्वरले दर्शनमा पनि केही उत्तर दिनुभएन। परमेश्वरले न त उरीम न ता अगमवक्ताद्वारा नै शाऊललाई जवाफ दिनुभयो। अन्त्यमा शाऊलले आफ्ना अधिकारीहरूलाई भने, “मलाई एउटी तंत्र-मंत्र गर्ने महिला ल्याइदेऊ, म त्यसलाई सोध्छु यो युद्धको फल के हुन्छ।”

तिनका अधिकारीहरूले जवाफ दिए, “एन्दोरमा त्यस्ती एउटी स्त्री छे।”

शाऊलले भेष बद्लाउनको निम्ति भिन्नै लुगा लगाए यसकारण उसलाई नचिनोस्। त्यो रात शाऊल दुइजना मानिस लिएर त्यस स्त्रीलाई भेट्न गए। शाऊलले त्यस स्त्रीलाई भने, “म तिमीलाई भन्नेछु मेरो भविष्य बताउने आत्मा बोलाऊ। म जसको नाउँ दिन्छु त्यसैको आत्मा जगाउनु।”

तर त्यस स्त्रीले भनी, “तिमी जान्दछौ शाऊलले के गर्यो। सबै झाँक्री र ज्योतिषीहरूलाई उसले इस्राएलबाट धपायो। तिमीले मलाई अप्ठेरोमा पारेर ज्यान लिन चाहान्छौ।”

10 शाऊलले परमप्रभुको नाउँमा शपथ खाएर त्यसलाई भने, “तिमीले कुनै दण्ड सामना गर्नु पर्ने छैन।”

11 स्त्रीले सोधी, “तिमीले कसलाई बोलाउनु लाउँछौ?”

शाऊलले भने, “शमूएलको आत्मालाई बोलाऊ।”

12 शमूएलको आत्मा तिनको अघि देखा पर्यो। शमूएललाई देखेर त्यो स्त्रीले जोडले चिच्याई। तिनले शाऊललाई भनिन्, “मलाई धोखा दिनुभयो! तपाईं नै शाऊल हुनुहुन्छ।”

13 राजाले स्त्रीलाई भने, “नडराऊ। तिमीले के देख्यौ?”

स्त्रीले भनी, “मैले आत्मा भुइँबाट निस्किएको देखे।”

14 शाऊलले सोधे, “को जस्तो देखिन्छ?”

स्त्रीले जवाफ दिइ, “खास किसिमको लबेदा ओढेको एउटा वृद्ध मानिस जस्तो देखिन्छ।”

त्यसपछि शाऊलले थाहा पाए शमूएल नै हो भनेर। शाऊलले भूइँतिर शिर झुकाए उसलाई अभिवादन गरे 15 शमूएलले शाऊललाई भने, “मलाई किन दुःखः दिएको? मलाई किन बोलाएको?”

शाऊलले भने, “म सङ्कटमा छु। पलिश्तीहरू म सँग युद्ध गर्न आउँदैछन्, अब परमेश्वर मसित हुनुहुन्न। परमेश्वरले मलाई केही दिनुहुन्न। न त उहाँले कुनै अगमवक्ता न सपनामा केही भन्नु हुन्छ। यसकारण तपाईंलाई बोलाएको छु मलाई भन्नुहोस् म के गरौं?”

16 शमूएलले भने, “परमप्रभु तिमीसित हुनुहुन्न। उहाँ तिम्रो छिमेकी दाऊदसँग हुनुहुन्छ। यसकारण मलाई किन झन्झट दिएको? 17 परमप्रभुले के गर्नु हुनेछ त्यो भन्न उहाँले मलाई एकपटक आज्ञा गर्नुभयो। अहिले परमप्रभुले त्यही गर्दै हुनुहुन्छ। परमप्रभुले तिम्रो हातबाट राजधानी खोस्दै हुनुहुन्छ। अनि उहाँले तिम्रो छिमेकीको हातमा सुम्पिदिनुहुनेछ। त्यो छिमेकी चाहिं दाऊद हो। 18 तिमीले परमप्रभुको आज्ञा पालन गरेनौ। तिमीले अमालेकीहरूलाई पूर्ण नष्ट गरेनौ तिनीहरूलाई यो कुरा देखाउन कि तिनीहरूसँग परमेश्वर कति क्रोधित हुनुहुन्थ्यो। यसकारण आज परमप्रभुले तिमीलाई यसो गर्नु हुँदैछ। 19 परमप्रभुले पलिश्तीहरूद्वारा तिमीलाई र इस्राएलका सेनालाई आज हराउनु हुन्छ। अनि भोलि, तिमी र तिम्रा छोरा मसित हुनेछौ।”

20 शाऊल तत्कालै लडे र भूइँमा पसारिए। शमूएलको कुरा सुनेर शाऊल साह्रै डराए। शाऊल कमजोर भइसकेका थिए कारण हिजो देखि रात-दिन उनले केही खाएकै थिएनन्।

21 स्त्री शाऊलको छेउमा आईन। शाऊल साह्रै डराएको देखी। तिनले भनी, “हेर्नुहोस् म तपाईंकी सेविका। मैले तपाईंको आज्ञापालन गरें। मैले मेरो ज्यानलाई जोखिममा हाले र तपाईंले भने झैं गरें। 22 अब मेरो कुरा सुन्नुहोस्। म तपाईंलाई खाने कुरा दिन्छु। तपाईंले खानैपर्छ। त्यसपछि आफ्नो कार्य गर्न शक्ति पाउनु हुनेछ।”

23 तर शाऊलले मानेनन्। तिनले भने, “मलाई खान चाहींदैन।”

शाऊलका अधिकारीहरूले पनि स्त्रीसँगै केही खानु भनी अनुरोध गरे। अन्त्यमा शाऊलले तिनीहरूका कुरा माने। भुइँबाट उठेर बिस्तरामा बसे। 24 त्यस स्त्रीले आफूसँग भएको बलियो बाछो मारी। त्यस स्त्रीले अलिकति पिठो मुछी र खमीर बिनाको रोटी पकाई। 25 र त्यस स्त्रीले भोजन शाऊल र तिनका अधिकारीहरूलाई पस्कि। तिनीहरूले भोजन खाए र त्यही रात तिनीहरू उठेर गए।

यूहन्ना 11:1-54

लाजरसको मृत्यु

11 त्यहाँ लाजरस नाउँ गरेका एकजना मानिस थिए जो बिमार थिए। उनी बेथानी भन्ने शहरमा बस्थे। यो त्यो शहर थियो जहाँ मरियम र उनको बहिनी मार्था बस्थे। मरियम त्यही नारी थिईन् जसले प्रभुलाई अत्तर लगाई दिएकी थी र आफ्ना कपालले उहाँको खुट्टा पुछेकी थिई। लाजरस मरियमको भाइ हुन्। जो हालमा बिमार थिए। मरियम र मार्थले येशूकहाँ समाचार पठाए, “हे प्रभु, तपाईंको प्रिय मित्र लाजरस बिमार छ।”

जब येशूले त्यस्तो सुन्नुभयो, उहाँले भन्नुभयो, “यो बिमारले उसलाई मृत्यु गराउनेछैन। तर यो बिमारी परमेश्वरको महिमाका निम्ति हो। यस्तो घट्ना परमेश्वरको पुत्रको महिमा ल्याउनलाई भएको छ।” येशूले मरियम, मार्था र लाजरसलाई प्रेम गर्नु भयो। जब येशूले लाजरसको बिमारीको विषयमा सुन्नु भयो, उहाँ जहाँ हुनुन्थ्यो त्यहाँ अझ दुइ दिन सम्म बस्नु भयो। तब येशूले उहाँका चेलाहरूलाई भन्नुभयो, “हामी यहूदिया जानु पर्छ।”

चेलाहरूले उत्तर दिए, “तर गुरूज्यू यहूदियामा यहूदीहरू तपाईंलाई ढुंगाले हिर्काउन चाहन्छन्। जो केही अघि भएको थियो। तपाईं त्यहाँ किन जानु चाहनु हुन्छ्?”

येशूले उत्तर दिनुभयो, “दिनमा बाह्रघण्टा प्रकाश रहन्छ होइन? यदि कुनै मानिस दिनको समयमा हिंडछ भने ऊ ठोक्किने छैन र लड्ने छैन। किनभने उसले यो संसारको ज्योतिले देख्न सक्छ। 10 तर जो मान्छे राती हिंडछ ऊ ठोकिन्छ। किनभने देख्नको लागि उसकोमा कुनै ज्योति हुँदैन।”

11 येशूले ती कुराहरू भनिसके पछि, उहाँले भन्नुभयो, “हाम्रा मित्र लाजरस सुतिरहेछन्। तर म त्यहाँ उसलाई उठाउनँ जानेछु।”

12 चेलाहरूले उत्तर दिए, “हे प्रभु यदि ऊ सुतेको हो भने, ऊ निको हुनेछ।” 13 येशूको मतलब थियो लाजरस मरिसकेको थियो भनेर। तर चेलाहरूले भुझे कि उहाँले भन्नु भएको अर्थ उनी स्वाभाविक निद्रामा थिए।

14 त्यसपछि येशूले स्पष्ट प्रकारले भन्नु भयो, “लाजरस मरिसक्यो। 15 अनि म खुशी छु कि म त्यहाँ थिइनँ। म तिमीहरूको लागि खुशी छु किनभने तिमीहरूले ममा विश्वास राख्नेछौ अब हामी उनीकहाँ जाँऊ।”

16 तब थोमाले (जसलाई “दिदिमस” भनिन्थ्यो) अन्य चेलाहरूलाई भने, “हामी पनि जानेछौं अनि येशूसँगै यहूदियामा मर्नेछौं।”

बेथानिमा येशू

17 येशू बेथानीमा आइपुग्नु भयो। त्यहाँ येशूले लाजरस पहिल्यै मरिसकेको र चार दिन देखि चिहानमा परेको चाल पाउनु भयो। 18 बेथानी यरूशलेमको नजीक प्रायः तीन किलोमीटर टाढामा थियो। 19 धेरै यहूदीहरू मार्था र मरियम कहाँ आएका थिए। यहूदीहरू उनीहरूलाई भाइ लाजरसको मृत्युमा सान्तवना दिनलाई आएका थिए।

20 मार्थाले सुनी कि येशू तिनीहरूलाई भेट्न आई रहनु भएकोछ। तिनी येशूलाई अभिनन्दन गर्नु गइन्। तर मरियम चाँहि घरमा नै बसी। 21 मार्थले येशूलाई भनी, “प्रभु, यदि तपाईं यहाँ हुनु भएको भए, मेरा भाइ मर्ने थिएन। 22 तर अहिले पनि म जान्दछु कि तपाईंले परमेश्वरसँग जे मागे पनि उहाँले तपाईंलाई दिनु हुनेछ।”

23 येशूले भन्नुभयो, “तिम्रो भाइ जीउँदो हुनेछ।”

24 मार्थाले उत्तर दिइन, “म जान्दछु कि ऊ फेरि जाग्ने छ र जीउँदो हुनेछ जब मानिसहरू अन्तिम दिनमा पुनरूत्थान हुनेछन्।”

25 येशूले उनलाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ। जुन मानिसले ममा विश्वास गर्दछ ऊ मरे पनि उसले जीवन पाउने छ। 26 अनि जुन मानिस ममा बाँच्छ अनि ममा विश्वास गर्छ उ वास्तवमा कहिल्यै मर्ने छैन। मार्था, तिमी यसमा विश्वास गर्छ्यौ?”

27 मार्थाले उत्तर दिई, “हो, प्रभु म विश्वास गर्छु तपाईं नै ख्रीष्ट हुनुहुन्छ, परमेश्वरको पुत्र। तपाईं मात्र एक हुनुहुन्छ जो संसारमा आउनु भएको थियो।”

येशू रूनु हुन्छ

28 मार्थाले त्यसो भनी सके पछि उनी आफ्नो बहिनीकहाँ गईन् अनि गुप्तरूपमा मार्थाले मरियमलाई भनी, “गुरुज्यू यहाँ हुनहुन्छ। उहाँले तिमीलाई सोधी रहुनभएकोछ।” 29 जब मरियमले त्यस्तो सुनी, तिनी जुरूक्क उठिन् र येशूकहाँ गईन। 30 येशू गाँउ भित्र आइसक्नु भएको थिएन। उहाँ अझ सम्म त्यही ठाउँमा हुनुहुन्थ्यो जहाँ मार्थासँग भेट भएको थियो। 31 यहूदीहरू मरियमसँग घरमा थिए। तिनीहरूले उनलाई सान्त्वना दिइरहेका थिए। तिनीहरूले मरियमलाई छिट्टै उठेर गएको देखे। तिनीहरूले सोचे कि तिनी लाजरसको चिहानमा गएकी हुन्। तिनीहरूले सोचे कि उनी त्यहाँ रून गएकी हुन्। तिनीहरूले उनलाई पछ्याए। 32 मरियम त्यस ठाउँमा गइन् जहाँ येशू हुनुहुथ्यो। जब उनले येशूलाई देखिन् उनले झुकेर चरणमा ढोगिन्। मरियमले भनिन्, “हे प्रभु, यदि तपाईं त्यहाँ हुनु भएको भए, मेरा भाइ मर्ने थिएन।”

33 येशूले मरियमलाई रोएकी देख्नु भयो। येशूले उनको पछि यहूदीहरू आइरहेको देख्नु भयो। तिनीहरू पनि रोई रहेका थिए। येशू एकदम उदास अनि विचलित हुनु भयो। 34 येशूले सोध्नुभयो, “तिमीले उसलाई कहाँ राखेकाछौ।”

तिनीहरूले भने, “प्रभु, आउनु होस् अनि हेर्नुहोस्।”

35 येशू रुनुभयो।

36 अनि यहूदीहरूले भने, “हेर! येशूले लाजरसलाई खुबै माया गर्नु हुन्थ्यो।”

37 तर कोही यहूदीहरूले भने, “येशूले अन्धा मान्छेको आँखा निको पारिदिनु भयो। के उहाँले उसलाई बचाँउन केही गर्न सक्नु हुने थिएन उसलाई मर्नुबाट रोक्न हुने थिएन?”

येशूले लाजरसलाई फेरि जीउँदो पार्नुहुन्छ

38 येशू फेरि हृदयभित्रबाट अति शोकित हुनुभयो। येशू चिहानमा जानु भयो जहाँ लाजरसलाई राखिएको थियो। चिहान ओडार जस्तो बनाइएको थियो जो ढुङ्गाले ढाकिएको थियो। 39 येशूले भन्नुभयो, “ढुङ्गा हटाऊ।”

मार्थाले भनिन्, “तर प्रभु लाजरस मरेको चार दिन भइसक्यो तपाईंलाई नराम्रो गन्ध आउनेछ।” मार्था लाजरसको बहिनी थी।

40 तब येशूले मार्थालाई भन्नुभयो, “के मैले तिमीलाई भनेको थिइन? कि यदि तिमाले विश्वास गरयौ भने परमेश्वरको महिमा देख्नेछौ?”

41 तब तिनीहरूले प्रवेशद्वारको ढुङ्गा हटाई दिए। तब यशूले आफ्ना आँखा उठाउनु भयो र भन्नुभयो, “पिता, तपाईंले मलाई सुन्नु भएकोमा म धन्यवाद प्रकट गर्छु। 42 म जान्दछु कि तपाईंले सधैँ मलाई सुन्नुहुन्छ। तर मैले यो कुराहरू भनें किनभने मानिसहरू मेरो वरिपरि छन्। म तिनीहरूलाई विश्वास दिलाउन चाहन्छु। कि तपाईंले मलाईं पठाउनु भएको हो।” 43 येशूले यति भनिसकेपछि उहाँले जोड आवाजमा डाक्नुभयो, “लाजरस निस्क, बाहिर आऊ!” 44 मृत मान्छे बाहिर निस्क्यो। उसका हात र खुट्टाहरू मलमलका लुगाका टुक्राहरूले बेह्रिएका थिए। उसको अनुहार रूमालले ढाकिएको थियो।

येशूले मानिसहरूलाई भन्नुभयो, “उसको लुगाहरू कात्रो खोलिदेउ र उसलाई जान देऊ।”

यहूदी अगुवाहरूले येशूलाई मार्ने योजना गरे

(मत्ती 26:1-5; मर्कूस 14:1-2; लूका 22:1-2)

45 मरियमलाई हेर्नु भनी त्यहाँ धेरै यहूदीहरू आए। तिनीहरूले येशूले गर्नु भएका अचम्मको काम देखे। अनि ती मध्ये धेरै यहूदीहरूले येशूमा विश्वास गरे। 46 तर कोही यहूदीहरू फरिसीहरू भएकाहाँ गए। येशूले गर्नुभएको कुरा फरिसीहरूलाई बताइदिए। 47 तब मुख्य पूजाहारीहरू र फरिसीहरूले यहूदी परिषद्को सभा डाके। तिनीहरूले भने, “हामीले के गर्नु पर्ने? यो मानिसले धेरै चमत्कारहरू गरिरहेछ। 48 यदि हामीले उनलाई त्यस्तो गर्न दिइरह्यौं भने सबै मानिसहरूले ऊमाथि विश्वास गर्नेछन्। तब रोमीहरू आउनेछन् र हाम्रा मन्दिर अनि जाति लानेछन्।”

49 तिनीहरूमध्ये कयाफा भन्ने एकजना मानिस थिए। उनी त्यस वर्षको प्रधान पूजाहारी थिए। कयाफाले भने, “तिमीहरू केही पनि जान्दैनौ। 50 सम्पूर्ण जाति ध्वंश हुनु भन्दा मानिसहरूका निम्ति एक जना मर्नु उत्तम हो। तर तिमीहरू यो बुझ्दैनौ।”

51 कयाफाले जे भने त्यो तिनले आफ्नै भनेनन्। त्यस वर्षको उनी प्रधान पूजाहारी थिए। यसर्थ ऊ वास्तवमा आगमवाणी गर्दै थिए कि येशू यहूदी मानिसहरूका निम्ति मर्नु हुनेछ। 52 तर, येशू यहूदी मानिसहरूका निम्ति मर्नेछन्। तर येशू उहाँ ती छिरिएकाहरूलाई एक बनाउनका लागि मर्नुहुनेछ।

53 त्यस दिन यहूदी अगुवाहरूले येशूलाई मार्ने योजना शुरू गरेका थिए। 54 यसैले खुल्ला भएर येशू यहूदीहरूका माझमा हिँड्न बन्द गर्नुभयो। येशू यरूशलेम छोडेर मरूभूमि छेउकै स्थानमा जानु भयो। उहाँ इफ्राइम भन्ने शहरमा जानु भयो। येशू आफ्ना चेलाहरूसँग त्यहाँ बस्नु भयो।

भजनसंग्रह 117

हे सबै जातिका मानिस हो, परमप्रभुको प्रशंसा गर।
    हे सबै मानिसहरू हो, परमप्रभुको प्रशंसा गर।
परमेश्वरले हामीलाई असाध्यै प्रेम गर्नुहुन्छ।
    अनि परमेश्वर सदा-सर्वदाको निम्ति हाम्रो विश्वासयोग्य हुनुहुनेछ।

परमप्रभुको प्रशंसा गर!

हितोपदेश 15:22-23

22 चाँहिदो परामर्श नपाएर एकजना मानिस आफ्नो योजनामा विफल हुन सक्छ, तर धेरै परामर्शदाताहरूको सल्लाहले ऊ आफ्नो योजनामा सफल हुन सक्छ।

23 सही जवाफ दिन सके मानिस खुशी हुन्छ, र ठीक समयमा सही जवाफ अत्यन्तै राम्रो हो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International