The Daily Audio Bible
Today's audio is from the EHV. Switch to the EHV to read along with the audio.
दाऊदको सफलतामा शाऊलको ध्यान
5 शाऊलले दाऊदलाई अरू धेरै युद्धहरूमा पठाए। प्रत्येक युद्धमा दाऊदले नै सफलता पाए। त्यसपछि शाऊलले दाऊदलाई सैनिकहरूको जिम्मा दिए। यसो हुँदा सबै खुशी भए, यहाँ सम्म शाऊलका सबै अधिकारी पनि खुशी भए। 6 दाऊद पलिश्तीहरू विरूद्ध युद्ध लड्न जाने गर्थ्यो। युद्ध भूमिबाट घरतिर फर्कंदा दाऊदलाई इस्राएलको प्रत्येक शहरबाट स्त्रीहरू स्वागत जनाउन आउँथे। ती स्त्रीहरू नाँच्थे, गाउँथे, सितारा र ढोलक बजाउँथे। तिनीहरूले शाऊलकै छेउमा यसो गरे। 7 स्त्रीहरूले यसरी गाउँथे,
“शाऊलले हजार शत्रुहरू मारे
तर दाऊदले दश हजार मारे।”
8 ती स्त्रीहरूका गीतले शाऊललाई खिन्न बनाउँथ्यो र तिनी रिसाउँथे। शाऊलले सोचे, “ती स्त्रीहरूले भन्छन् दाऊदले दश हजार शत्रु मार्यो र मैले खालि हजार मात्र मारे।” 9 त्यसपछि शाऊलले दाऊदको गतिविधिलाई धेरै नजिकबाट ख्याल राख्न थाले।
शाऊल दाऊदसँग भयभीत भए
10 अर्को दिन परमेश्वरले पठाउनु भएको दुष्ट आत्माले शाऊललाई पक्रियो। शाऊलले आफ्नै घरमा अगमवाणी गर्दै थिए। दाऊदले सधैँ झै वीणा बजाए। 11 तर शाऊलको हातमा भाला थियो। शाऊलले सोचे, “म दाऊदलाई भित्तैमा टँसाई दिन्छु।” शाऊलले दुइ पल्ट भाला हाने तर दाऊद दुवै चोटि तर्किए।
12 परमप्रभु दाऊदसित हुनुहुन्थ्यो अनि परमप्रभुले शाऊललाई त्याग्नु भएको थियो। यसकारण शाऊल दाऊद सँग भयभीत थिए। 13 शाऊलले दाऊदलाई आफू देखि पर गर्न चाहे र 1,000 सैनिकका सेनापति बनाइ दिए। दाऊदले आफ्नो सैनिकलाई युद्धमा अगुवाई गरे। 14 परमप्रभु दाऊदसित हुनुहुन्थ्यो यसकारण दाऊद प्रत्येक कुरामा सफल भए। 15 शाऊलले बुझे दाऊद सफल र योग्य थिए जसको कारण शाऊल दाऊदसित झन् ज्यादा भयभीत हुनथाले। 16 तर इस्राएल र यहूदाका सबै मानिसहरूले दाऊदलाई प्रेम गर्थे किनभने उसले तिनीहरूलाई युद्धमा डोह्राए अनि तिनीहरूको निम्ति युद्ध गरे।
शाऊलले आफ्नी छोरीको विवाह दाऊदसँग गरिदिन चाहे
17 तर शाऊलले दाऊदलाई मार्नै चाहन्थे, शाऊलले दाऊदलाई एउटा जालमा पार्ने योजना सोचे। शाऊलले दाऊदलाई भने, “म मेरी जेठी छोरी मेराबको विवाह तिमीसित गरिदिने छु। त्यस पछि तिमी एउटा शक्तिशाली सैनिक हुनेछौ। तिमी मेरो छोरा जस्तै छौ। त्यस पछि तिमीले परमप्रभुको युद्धहरूमा सैनिक भएर लड्ने छौ।” यो खालि धुर्त्याईँ मात्र थियो। शाऊलले साँच्चै सोच्दै थिए, “अब मैले दाऊदलाई मार्नु पर्दैन। म उसलाई मेरो निम्ति पलिश्तीहरूलाई मार्न लगाउँछु।”
18 तर दाऊदले भने, “म कुनै महत्वपूर्ण सन्तानबाटको अनि महत्वपूर्ण व्यक्ति होइन। म राजाकी छोरीलाई विवाह गर्न सक्दिनँ।”
19 जब शाऊलकी छोरी मेराबको विवाह दाऊदसँग गर्ने दिन आयो तब दाऊदले महोलका अद्रीएलसँग मेराबको विवाह गरिदिए।
20 शाऊलकी अर्की छोरी मीकलले दाऊदसँग प्रेम गर्थी। केही मानिसहरूले शाऊललाई मीकल र दाऊदको प्रेमको विषयमा सुनाए। यस खबरले शाऊल आनन्दीत भए। 21 शाऊलले सोचे, “म दाऊदलाई फसाउन मीकाललाई लगाउँनेछु। म दाऊदलाई मीकलसँग विवाह गर्न दिनेछु। त्यस पछि पलिश्तीहरूद्वारा उसलाई मार्नेछु।” यसर्थ शाऊलले दाऊदलाई दोस्रो पल्ट भने, “आज नै तिमीले मेरी छोरीसँग विवाह गर्न सक्छौ।”
22 शाऊलले आफ्ना अधिकारीहरूलाई आदेश दिएर भने, “दाऊदलाई एकान्त पारेर भन्नु, ‘हेर! राजाले तिमीलाई साह्रै मन पराउँनु हुन्छ। उहाँका अधिकारीहरूले पनि तिमीलाई मन पराउँछन्। तिमीले उहाँकी छोरीलाई विवाह गर्नु पर्छ।’”
23 शाऊलका अधिकारीहरूले दाऊदलाई त्यही भने। तर दाऊदले जवाफ दिए, “के तपाईंहरू सोच्नुहुन्छ राजाको ज्वाइँ बन्न सजिलो छ? मेरो त्यत्ति धन छैन, जो म राजाकी छोरीलाई दिऊँ। म त एउटा साधारण गरीब मानिस मात्र हुँ।”
24 अधिकारीहरूले राजालाई दाऊदको सबै कुरा बताइदिए। 25 शाऊलले फेरि भने, “दाऊदलाई भन, ‘दाऊद, राजाले उसका छोरीका निम्ति तिमीबाट दुलहीको दाम लिन चाहनु हुन्न, तर राजा आफ्ना शत्रुहरूसित बद्ला लिन चाहनुहुन्छ। यसर्थ राजाले रूपियाँको सट्टा एक सय पलिश्तीहरूका खलड्डी मात्र तिमीसँग माग्नुहुन्छ।’” यो शाऊलको धुर्त षड्यन्त्र थियो। शाऊलले सोच्थे पलिश्तीहरूले दाऊदलाई मार्ने छन् भनेर।
26 अधिकारीहरूले दाऊदलाई सबै कुरो बताए। दाऊद खुशी भए। राजाको ज्वाइँ हुने यो राम्रो अवसरलाई छोपेर दाऊदले त्यो कार्य गरे। 27 दाऊद र अरू मानिसहरू पलिश्तीहरूसँग युद्ध गर्न हिँडे। तिनीहरूले 200 पलिश्तीहरूलाई मारे। दाऊदले पलिश्तीहरूका खलड्डी शाऊल कहाँ पुर्याए। राजाका ज्वाइँ हुनलाई दाऊदले यस्तो गरे।
शाऊलले मीकलको विवाह दाऊदसँग गराए। 28 शाऊलले बुझे कि परमप्रभु दाऊदसँग हुनुहुन्छ। शाऊलले यो पनि बुझे, छोरी मीकलले दाऊदलाई प्रेम गर्थिन। 29 यसर्थ शाऊल झन्-झन् दाऊदसँग डराउन थाले। शाऊल सधैँ दाऊदको विरोधी भए।
30 पलिश्ती सेनापतिले बारबार इस्राएलीहरू माथि लडाईं गर्थे। तर प्रत्येक पल्ट नै दाऊदले तिनीहरूलाई हराइदिन्थे। दाऊद शाऊलका अधिकारीहरू मध्ये सबैभन्दा सफल अधिकारी थिए यसैले दाऊद प्रसिद्ध भए।
जोनाथनले दाऊदलाई सहायता गरे
19 शाऊलले आफ्ना छोरा जोनाथन र उसका सबै अधिकारीहरूलाई दाऊदको हत्या गर्नु भने। तर जोनाथनले दाऊदलाई एक्दमै प्रेम गर्थे। 2-3 जोनाथनले दाऊदलाई होसियार गराए, “सावधान बस! शाऊलले तिमीलाई मार्ने मौका खेज्दैछन्। बिहानै खेतमा गएर लुक्नु। म मेरो पितासँग खेतमा आउँछु। हामीहरू तिमी लुकेकै छेउको खेतमा उभिने छौं। म पितासँग तिम्रो बारेमा चर्चा गर्छु। त्यसपछि जे थाहा पाउँछु तिमीलाई बताउँछु।”
4 जोनाथनले आफ्ना पिता शाऊलसँग कुरा गरे। जोनाथनले दाऊदको राम्रो पक्षको चर्चा गरे। जोनाथनले भने, “तपाईं राजा हुनुहुन्छ। दाऊद खालि तपाईंको सेवक मात्र हो। दाऊदले तपाईंलाई कुनै रीतिले हानि गरेको छैन। तपाईंले पनि उसको हानि गर्नु हुँदैन। दाऊदले सधै तपाईंको पक्षमा काम गरे। 5 पलिश्ती गोलियतलाई मार्दा पनि दाऊदले आफ्नो जीवन खतरामा हालेका थिए। परमप्रभुले सबै इस्राएललाई महान विजय दिलाउनु भयो। यो सब देखेर तपाईं खुशी हुनुभयो। अब दाऊदलाई किन मार्न चाहनुहुन्छ! दाऊद निर्दोष छ। दाऊदको हत्या गर्ने कुनै कारण नै छैन।”
6 शाऊलले जोनाथनको कुरा सुन्यो। शाऊलले शपथ खाए, “परमप्रभु जीवित रहनु भए झैं दाऊद मारिने छैन।”
7 यसर्थ जोनाथनले दाऊदलाई बोलाए र सबै कुरा सुनाए। त्यसपछि जोनाथनले दाऊदलाई शाऊल कहाँ लगे। यस पछि शाऊल र दाऊद पहिलेको जस्तै भए।
शाऊलले फेरि दाऊदलाई मार्न चाहे
8 युद्ध फेरि शुरू भयो अनि दाऊद पलिश्तीहरूसँग लडन गए। दाऊदले पलिश्तीहरूलाई परास्त गरे र तिनीहरू भागे। 9 परमप्रभुबाटको दुष्ट आत्माले शाऊलमा प्रेवश गर्यो। शाऊल घरैमा बसिरहेका थिए। शाऊलको हातमा भाला थियो। दाऊदले वीणा बजाउँदै थिए। 10 शाऊलले भाला हानेर दाऊदलाई भित्तैमा उनिदिने प्रयास गरे। तर दाऊद उफ्रिएर बाँचे। भाला गएर भित्तामा गाडियो। त्यही रात दाऊद त्यहाँबाट भागे।
11 शाऊलले दाऊदको घरमा मानिस पठाए! मानिसहरूले दाऊदको घरलाई पहरा दिए। तिनीहरू रातभरी त्यही बसे। बिहानी पख दाऊदलाई मारौंला भने। तर दाऊदकी पत्नी मीकलले उसलाई सावधानी गराउँदै भनिन्, “आज राती भाग्नु होस् र आफ्नो ज्यान बचाउँनु होस्। यदि भाग्नु भएन भने भोलि विहान तपाईं मारिनु हुनेछ।” 12 त्यसपछि मीकलले झ्यालबाट झरेर भाग्न लगाईन्। 13 मीकलले एउटा परिवारिक मूर्तिलाई ओध्यानमा सुताएर टाउकोमा बाख्राको रौं राखेर लुगाले ढाकिदिईन्।
14 शाऊलले दाऊदलाई बन्दी बनाउनलाई दूत पठाए। तर मीकलले भनी, “दाऊद बिरामी हुनुहुन्छ।”
15 शाऊलले दूतलाई फेरि दाऊद पछि पठाए र भने, “दाऊदलाई यहाँ ल्याउँनु यदि तिमीले उसलाई आफ्नो आछ्यानमा सुतिरहेको अवस्थामा ल्याऊ ता की म उसलाई मार्न सकूँ।”
16 ती दूत फेरि दाऊदको घर गए। तिनीहरू दाऊदलाई पक्रन भनेर भित्र गए। तर त्यहाँ गएर देखे ओछ्यानमा त एउटा मूर्तिको कपाल बाख्राको रौं पो रहेछ।
17 शाऊलले मीकललाई सोधे, “तैंले मलाई यसरी धोका किन दिइस्? तैंले मेरो शत्रुलाई भगाइस्। दाऊद भाग्यो।”
मीकलले शाऊललाई भनी, “यदि मैले दाऊदलाई भाग्नमा सहायता गरिन भने मलाई नै मार्छु भन्यो।”
दाऊद भागेर रामा डेरामा पुगे
18 दाऊद भागेर शमूएल भएको ठाउँ रामामा पुगे। दाऊदले तिनी माथि शाऊलले गरेको प्रत्येक कुरा शमूएललाई सुनाए। त्यसपछि दाऊद र शमूएल दुवै अगमवक्ताहरू बसेका डेरामा पुगे। दाऊद त्यहीं बस्नथाले।
19 शाऊलले सुने कि दाऊद रामाको एउटा डेरामा बस्दैछन्। 20 शाऊलले दाऊदलाई पक्रिन मानिस पठाए। तर त्यस डेरामा मानिसहरूले अगमवक्तहरू अगमवाणी गरिरहेका देखे। त्यस दलको माझमा उभिएर शमूएलले नेतृत्व दिंदै थिए। परमेश्वरको आत्मा शाऊलका दूतहरूमा उत्रियो र तिनीहरूले पनि अगमवाणी गर्नथाले।
21 शाऊलले यो खबर पनि सुने र अरू दूतहरू पठाए। तर तिनीहरूले पनि अगमवाणी गर्न थाले। तेस्रो चोटि पनि शाऊलले दूतहरू पठाए तर तिनीहरूले पहिलो तरिका अप्नाए अनि अगमवाणी गर्न लागे। 22 अन्त्यमा, शाऊल आफैं रामा गए। शाऊल सेकूको खलाको छेऊमा एउटा ठूलो कूवा भएतिर आइपुगे र “शमूएल र दाऊद कहाँ छन्” भनी सोधे।
मानिसहरूले जवाफ दिए, “रामाको छाउनी छेऊमा।”
23 त्यसपछि शाऊल रामाको त्यस डेरामा पुगे। परमेश्वरको आत्मा पनि शाऊलमा उत्रियो। शाऊलले पनि अगमवाणी गर्न थाले। शाऊलले बाटोदेखि रामाको डेरा सम्मै अगमवाणी बोले। 24 त्यसपछि शाऊलले आफ्नो लुगाहरू खोल्न थाले। शमूएलको अघि पनि शाऊलले अगमवाणी गरिरहे। शाऊल त्यहाँ दिन रात नाङ्गै लडिरहे।
यही कारणले मानिसहरू भन्ने गर्छन्, “के शाऊल पनि अगमवक्ताहरू मध्ये कै एकजना हो?”
येशूले मुक्त हुने विषय बताउनु हुन्छ
31 तब येशूले भन्नुभयो कि यहूदीहरू जसले उहाँमाथि विश्वास गरे, “यदि तिमीहरूले लगातार मेरो शिक्षाहरू पालन गरिरह्यौ भने तिमीहरू साँच्चै मेरो चेलाहरू हौ। 32 तब मात्र तिमीहरूले सत्य जान्नेछौ। अनि सत्यले तिमीहरूलाई मुक्ति गराउनेछ।”
33 यहूदीहरूले जवाफ दिए, “हामी अब्राहामका सन्तान हौ। अनि हामी कहिल्यै कसैको दास भएका छैनौ। तब किन भन्छौ, ‘तिमीहरू’, स्वतन्त्र हुनेछौ?”
34 येशूले जवाफ दिनुभयो, “म साँच्चो भन्दछु। प्रत्येक मानिस जसले लगातार पाप गर्छ ऊ पापको दास हो। पाप उसको मालिक हो। 35 दास सदैव मालिकको परिवारसँग बस्दैन। तर छोरो सधैँ परिवारसँग बस्छ। 36 यसर्थ जब पुत्रले तिमीहरूलाई स्वतन्त्र पार्दछ, तब तिमीहरू सत्यरूपमा स्वतन्त्र हुनेछौ। 37 म जान्दछु तिमीहरू अब्राहामका सन्तान हौ। तर तिमीहरू मलाई मार्न चाहन्छौ। किनभने तिमीहरू मेरो वचन स्वीकार गर्न चाहँदैनौ। 38 म भनिरहेछु कि जे पिताले मलाई देखाउनु भयो तर तिमीहरूले त्यो काम गर्दछौ जो तिम्रा पिताबाट तिमीहरूले सुन्यौ।”
39 यहूदीहरूले भने, “हाम्रा पिता अब्राहाम हुन्।”
येशूले भन्नुभयो, “यदि तिमीहरू साँच्चि नै अब्राहामका सन्तान हुँदा हौ त तिमीहरूले त्यही कुराहरू गर्ने थियौ जुन कुरो अब्राहामले गरे। 40 म मानिस हुँ जसले परमेश्वरबाट सुनेको सत्य बताएँ। तर तिमीहरू मलाई मार्ने प्रयास गर्छौ। अब्राहमले त्यस्ता कुरा गरेनन्। 41 तब तिमीहरूले त्यही कुराहरू गरिरहेकाछौ जो तिम्रा आफ्नै पिताले गर्छन्।”
तर यहूदीहरूले भने, “हामी त्यस्ता अवैद्य बालहरू होइनौं जसले कहिल्यै पनि आफ्ना पिता को थिए जानेनौ। परमेश्वर नै हाम्रा पिता हुन्। हाम्रा अरू पिता छैनन्।”
42 येशूले ती यहूदीहरूलाई भन्नुभयो, “यदि परमेश्वर साँच्चै तिमीहरूका पिता भएको भए तिमीहरूले मलाई प्रेम गर्ने थियौ। म परमेश्वरबाटै आएको हुँ, र म यहाँ छु। म आफ्नै अधिकारबाट आएको होइन। परमेश्वरले मलाई पठाउनु भयो। 43 तिमीहरूले यी कुराहरू किन बुझदैनौ, जो म सिकाउँछु? किनभने तिमीहरूले मेरो शिक्षा स्वीकार गर्न सक्तैनौ। 44 तिमीहरूका पिता शैतान हो। तिमीहरू उसका सन्तान हौ। उसले जे चाहन्छ तिमीहरू त्यही गर्दछौ। शैतान आदिकालदेखि नै हत्यारा थियो। उ सधैँ सत्यको विरुद्धमा छ अनि उभित्र सत्य छैन। जब ऊ झूटो बोल्छ तब उसले त्यो झूटो स्वभाविक रूपले बोल्छ। हो शैतान असत्यवादी अनि असत्यको पिता हो।
45 “म साँच्चो भन्दछु। त्यसैले तिमीहरू मलाई विश्वास गर्दैनौ। 46 म पापको दोषी छु भनेर तिमीहरूमा कसले प्रमाण दिन सक्छौ? म तिमीहरूलाई सत्य भन्दछु किन तिमीहरू मलाई विश्वास गर्दैनौ? 47 जो परमेश्वरको हो उसले परमेश्वरले भन्नु भएका कुरा मान्दछ। तर तिमीहरू परमेश्वरले जे भन्नु हुन्छ त्यो स्वीकार्दैनौ, किनभने तिमीहरू परमेश्वरका होइनौ।”
येशूले आफ्नै र अब्राहामको विषयमा भन्नुहुन्छ
48 यहूदीहरूले उत्तर दिए, “हामीहरूले भन्यौ तिमी सामरी हौ। अनि भूतात्मा तिमीभित्र छ। के यस्तो भन्नु हामी सही छैनौं?”
49 येशूले उत्तर दिनुभयो, “म भित्र भूतात्मा छैन। म आफ्ना पितालाई सम्मान गर्छु तर तिमीले मलाई सम्मान गर्दैनौ। 50 म आफ्नै सम्मान पाउने कोशिश गरिरहेको छुँइन उहाँ एक हुनुहुन्छ जसले मेरो निम्ति सम्मान चाहनु हुन्छ। उहाँ न्यायकर्ता हुनुहुन्छ। 51 म साँच्चो भन्छु। यदि कुनै मानिसले मेरो वचन पालन गर्छ भने, त्यो मानिस कहिल्यै मर्ने छैन।”
52 यहूदीहरूले येशूलाई भने, “अब हामी पक्का भयौं कि तिमीभित्र भूतात्मा छ अनि अगमवक्ताहरू अनि अब्राहाम पनि मरे। तर तिमी भन्छौ, ‘जुन मानिसले तिम्रो वचन पालन गर्दछ ऊ कहिल्यै मर्ने छैन।’ 53 के तिमी आफैंलाई हाम्रा पिता अब्राहामभन्दा महान सोच्छौ? अब्राहाम मरे। अनि अगमवक्ताहरू पनि मरे। तिमी आफूलाई के सम्झन्छौ?”
54 येशूले जवाफ दिनुभयो, “यदि मैले आफूलाई सम्मान दिएको भए, त्यो सम्मान व्यर्थ हो। जसले मलाई सम्मान दिनुभयो उहाँ मेरा पिता हुनुहुन्छ। अनि जसलाई तिमीहरू आफ्नो परमेश्वर भन्छौ। 55 तिमीहरू वास्तवमा उहाँलाई चिन्दैनौ। म उहाँलाई चिन्दछु। यदि मैले मेरा पितालाई चिनिनँ भने म तिमीहरू जस्तै झूटो हुनेछु। तर म उहाँलाई चिन्दछु। अनि म उहाँले जे भन्नुहुन्छ पालन गर्छु। 56 तिम्रा पिता अब्राहाम म आउने दिन हेर्नलाई हर्षित थिए। उनले त्यो दिन देखे र हर्षित भए।”
57 यहूदीहरूले येशूलाई भने, “तिमीले अब्राहामलाई देखेकाछौ? तिमी 50 र्वष पनि पुगेका छैनौ!”
58 येशूले उत्तर दिनुभयो, “म तिमीलाई साँच्चो भन्छु। अब्राहाम जन्मनु भन्दा पनि अघिबाट म छँदै छ्।” 59 जब येशूले त्यसो भने, मानिसहरूले उहाँमाथि ढुङ्गाहरू टिपेर हाने। तर येशू लुक्नु भयो र मन्दिर छाडेर जानुभयो।
1 परमप्रभुको प्रशंसा गर!
कुनै मानिसले परमेश्वरको डर र आदर राख्दछ।
त्यस मानिसले परमेश्वरका आज्ञाहरू मन पराउँदछ र ऊ सुखी हुनेछ।
2 उनका सन्तानहरू पृथ्वीमा महान् हुनेछ।
असल मानिसका सन्तानहरूलाई साँच्चो रूपमा आशीर्वाद दिइनेछ।
3 त्यस मानिसको परिवारहरू अति सम्पन्न हुनेछ
अनि उसको भद्रता सदा-सर्वदा रहने छ।
4 सोझा मानिसहरूको लागि, परमेश्वर अन्धकारमा चम्किरहने ज्योतिको स्वरूप हुनुहुन्छ।
परमेश्वर धर्मी, दयालु र करूणामय हुनुहुन्छ।
5 मानिसको लागि दयालु र उद्धार हुनु उत्तम हो।
एक मानिसको लागि आफ्नो व्यापारमा स्पष्ट हुनु असल हो।
6 त्यो मानिसको पतन कहिल्यै पनि हुनेछैन,
असल मानिसको सधैँ स्मरण गरिन्छ।
7 उनी कुनै पनि नराम्रो समाचारले डराउनु हुँदैन।
त्यो मानिसमा आत्मविश्वास छ किनभने उसले परमप्रभुमाथि विश्वास गर्दछ।
8 त्यो मानिसमा आत्मविश्वास छ, ऊ भयभीत हुनेछैन।
उसले आफ्नो शत्रुहरूलाई परास्त गर्नेछ।
9 त्यस्तो मानिस जसले आफ्नो इच्छा अनुसार
गरीब मानिसहरूलाई चीजबीजहरू दिंदछ।
अनि उसको उपकार सर्वदा रही रहने छ।
10 दुष्ट मानिसहरू त्यस्तो देखेर क्रोधित हुन्छन्।
तिनीहरूले रीसमा आफ्ना दाँतहरू कड्कडाउँछन्।
तर त्यसपछि तिनीहरू अल्पिने छन्।
दुष्ट मानिसहरूले आफूले चाहेका कुराहरू पाउने छैनन्।
12 मूर्खले उसलाई कसैले सुधारेको मन पराउँदैन। यसर्थ त्यो बुद्धिमान मानिसबाट सल्लाह लिन जाँदैन।
13 एउटा खुशी हृदयले अनुहारमा उज्यालो झल्यकाई दिन्छ, तर कसैको हृदयको शोकले आत्मालाई दुःखी र खिन्न बनाउँछ।
14 विवेकशील हृदयले अझ ज्ञान पाउने चेष्टा गर्छ, तर मूर्खले खाली मूर्खता मात्र खोजि रहन्छ।
© 2004, 2010 Bible League International