The Daily Audio Bible
Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.
दाऊदले शाऊललाई लाजमर्दो बनाएको
24 शाऊलले पलिश्तीहरूलाई खेदिसकेपछि मानिसहरूले शाऊललाई भने, “दाऊद त एनगदीको नजिककै मरुभूमिमा छ।”
2 सारा इस्राएलबाट शाऊलले 3,000 मानिसहरूलाई छाने। शाऊलले ती छानिएका मानिसहरू लिएर दाऊद र तिनका मानिसहरूको खोजी गर्न थाले। तिनीहरूले घोरल-चट्टानको छेउछाउमा खोजे। 3 शाऊल बाटो छेउको भेंडा गोठमा आए। त्यहाँ छेउमा एउटा गुफा थियो। शाऊल आफैंलाई लुकाउन गुफा भित्र पसे। दाऊद र तिनका मानिसहरू धेरै पर गुफाभित्र लुकिरहेका थिए। 4 मानिसहरूले दाऊदलाई भने, “आज परमप्रभुले भन्नुभएको दिन होइन? उहाँले तपाईंलाई भन्नु भएको थियो, ‘तिम्रो शत्रुलाई म तिम्रो हातमा सुम्पिदिनेछु, त्यसपछि तिम्रो इच्छानुसार तिम्रो शत्रुलाई जे गर्छौ गर।’”
त्यसपछि दाऊद घस्रँदै-घस्रँदै शाऊलको छेउ पुगे। दाऊदले शाऊलको खास्टोको एक टुक्रा चाल नपाई काटिदिए। 5 पछि दाऊदलाई शाऊलको टुक्रा खास्टो काटेकोमा नराम्रो लाग्यो। 6 दाऊदले मानिसहरूलाई भने, “परमप्रभुले मलाई आफ्नो मालिकलाई क्षति गर्नबाट रोकुन्। शाऊल परमप्रभुले छान्नु भएको राजा हुन् र मैले त्यसो नगरको भए हुने थियो।” 7 दाऊदले यसो भनेर आफ्ना मानिसहरूलाई रोकी राखे। उसले तिनीहरूलाई शाऊललाई हानि गर्न अनुमति दिएनन्।
शाऊल गुफा छोडेर आफ्नै बाटो लागे। 8 दाऊद गुफाबाट निस्किएर आए र शाऊललाई बोलाउँदै भने, “हे मेरो प्रभु! महाराजा!”
शाऊलले पछि फर्केर हेरे। दाऊदले शिर झुकाए। 9 दाऊदले शाऊललाई भने, “जब मानिसहरूले भन्छन्, ‘दाऊदले तपाईंलाई चोट पुर्याउने योजना बनाइरहेछ’? तपाईंले किन तिनीहरूको कुरा सुन्नुभयो। 10 म तपाईंलाई हानि पुर्याउने छैन। तपाईं आफ्नै आँखाले देख्न सक्नुहुन्छ। परमप्रभुले तपाईंलाई आज मेरो हातमा गुफामै सुम्पिदिनु भएको थियो। तर मैले तपाईंको हत्या गरिन। तपाईंमाथि म कृपालु भएँ। मैले भनें, ‘म मेरो मालिकलाई हानि गर्ने छैन। किनभने उनी परमप्रभुले छान्नु भएको राजा हुन्।’ 11 यो लुगाको टुक्रा मेरो हातमा हेर्नुहोस्। मैले यो टुक्रा तपाईंको खास्टोबाट काटेको हुँ। म तपाईंलाई मार्न सक्थें, तर मैले त्यसो गरिनँ। यो कुरा तपाईंलाई थाहा होस् भन्ने म चाहान्छु। म तपाईंलाई यो जनाउन चाहान्छु कि तपाईंको विरूद्धमा मैले कुनै योजना बनाएको छैन। मैले तपाईंलाई कुनै अनिष्ट गरेको छैन। तर तपाईं मेरो पछि लागेर मलाई मार्न चाहानुहुन्छ। 12 परमप्रभुले नै यसको न्याय गर्नुहुन्छ। मलाई गर्नु भएको अत्यचारको बद्ला परमप्रभुले तपाईंलाई दण्डित तुल्याउनु हुनेछ। तर म आफैं तपाईंको विरूद्धमा जाँदिन। 13 त्यहाँ एउटा पूरानो भनाइ नै छ,
‘खराब कुरा दुष्ट मानिसहरूबाट फैलिन्छ।’
“मैले कुनै नराम्रो गरिनँ। म दुष्ट मानिस पनि त होइन। म तपाईंलाई हानि गर्नेछैन। 14 तपाईंले कसलाई खेदो गर्नु भएको छ? इस्राएलका राजा कसको विरूद्धमा आक्रमणमा ओर्लिएका छन्? तपाईंले आफ्ना वास्तविक शत्रुलाई खेदिरहनु भएको छैन। तपाईं मरेको कुकुर अथवा उपियाँको पछि लाग्नु जस्तै हो। 15 परमप्रभुले यस मामलामा न्याय गर्नुहुनेछ। उहाँले नै हामी दुइ बीचमा निर्णय गरून्। जब उहाँले तपाईंबाट मलाई जोगाउनु हुन्छ परमप्रभु आफैंले देखाउनु हुनेछ कि म सही छु।”
16 दाऊद चुप्प लागे अनि शाऊलले सोधे, “यो तिम्रो आवाज हो, मेरो छोरा दाऊद?” त्यसपछि शाऊल रूनथाले शाऊल धेरै नै रोए। 17 शाऊलले भने, “तिमी म भन्दा धर्मी अनि असल छौ तिमीले म प्रति असल काम गर्यौ, तर म नै तिम्रो विरूद्धमा थिएँ। 18 मेरो लागि गरेका असल कामहरूका बारे तिमीले भन्यौ। परमप्रभुले नै मलाई तिम्रो सामु ल्याउनु भयो। तर तिमीले मलाई केही गरेनौ। 19 यसले यो देखाउँछ म तिम्रो शत्रु होइन। मानिसले शत्रुलाई सहजै पक्रन सक्दैन र सहजै छोड्दैन पनि उसले शत्रुलाई राम्रो गर्दैन। परमप्रभुले तिमीलाई इनाम दिनुहुन्छ, कारण तिमीले मलाई केही गरेनौ। 20 म जान्दछु तिमी राजा हुने नै छौ। तिमीले इस्राएल माथि शासन गर्ने नै छौ। 21 अब मलाई एउटा वचन देऊ। परमप्रभुको शपथ खाएर वचन देऊ कि मेरो सन्तानहरू कसैलाई पनि मार्ने छैनौ। मेरा पिताको परिवारबाट मेरो नाउँ निशान हटाउँने छैनौ।”
22 दाऊदले शाऊलसँग शपथ खाए। दाऊदले शाऊलका सन्ताहरू कसैलाई पनि मार्ने छैनन् भन्ने वचन सुनेर शाऊल घरतिर फर्के। दाऊद र तिनका मानिसहरू किल्लातिर लागे।
दाऊद र मूर्ख नाबाल
25 शमूएलको मृत्यु भयो। सारा इस्राएलीहरू भेला भएर शमूएलको मृत्युमा दुःख प्रकट गरे। तिनीहरूले शमूएललाई तिनको आफ्नै घर रामामा गाडे।
त्यसपछि दाऊद पारानको मरुभूमितिर लागे 2 माओनमा एकजना असाध्यै धनी मानिस थिए। ऊसित 3,000 भेंडाहरू र 1,000 बाख्राहरू थिए। उसको कर्मेलमा धन-सम्पत्ति थियो। ऊ त्यहाँ आफ्नो भेंडाको ऊन कत्रन गयो। 3 त्यस मानिसको नाउँ नाबाल थियो। ऊ कालेब सन्तानको थियो। नाबालकी पत्नी अबीगेल थिईन, ऊ सुन्दरी र बुद्धिमती थिईन्। तर नाबाल, अति निष्ठुर र नीच स्वभावको मानिस थियो।
4 नाबालले भेंडाको ऊन कत्रँदैछ भन्ने खबर दाऊदले मरुभूमिको क्षेत्रमा नै सुने। 5 दाऊदले दशजना युवकहरूलाई नाबालकहाँ पठाए। दाऊदले तिनीहरूलाई भने, “कर्मेलम जाऊ र नाबाललाई मेरो नाउँमा ‘अभिवादन’ गर।” 6 उसलाई भन, “म आशा गर्छु कि तपाईंको परिवार र तपाईं अधिकार गर्नु भएका सबै असलै होलान्। 7 मैले थाहाँ पाएँ कि तपाईं आफ्नो भेंडाको ऊन कत्रँदै हुनुहुन्छ। तपाईंका गोठालाहरू केही समयदेखि हामीसित थिए। हामीले तिनीहरूसित खराब व्यवहार गरेनौ। जब तिनीहरू कर्मेलमा थिए तिनीहरूको केही पनि हराएन अथवा चोरेनन्। 8 तपाईंले सेवकहरूलाई सोध्नुहोस् अनि तिनीहरूले सत्य बोल्ने छन्। मेरो जवान मानिसहरूप्रति दया गर्नुहोस्। अहिले उत्सवको समय भएको कारण, तपाईंले जे गर्नु सक्नुहुन्छ मेरो सेनाहरूलाई गरिदिनुहोस्। मेरो निम्ति यति काम गरिदिनुहोस्, तपाईंको मित्र दाऊद।”
9 दाऊदका मानिसहरू नाबालकहाँ गए। तिनीहरूले दाऊदको समाचार नाबाललाई सुनाए। 10 तर नाबालले दुष्ट आचारण देखाए र भन्ने, “दाऊद को हो? यो यिशैको छोरो को हो? आज भोलि धेरै कमाराहरू आफ्ना मालिक छोडेर भाग्दैछन्। 11 मसँग रोटी-पानी छ। म सँग मासु पनि छ जुन मैले मेरो भेंडाहरूबाट ऊन कत्रँने नोकरहरूका निम्ति तयार पारेकोछु। तर म यो मासु रोटी अनि पानी नचिनेको मानिसहरूलाई दिने छैन्।”
12 दाऊदका मानिसहरू फर्केर गएर नाबालले भनेका सबै कुराहरू दाऊदलाई सुनाए। 13 त्यसपछि दाऊदले आफ्ना मानिसहरूलाई भने, “आफ्नो-आफ्नो तरवार भिर।” यसरी दाऊद र उनका मानिसहरूले तरवार भिरे। झण्डै 400 मानिसहरू दाऊदसँग गए। 200 मानिसहरू मात्र सर-सामानसँग बसे।
अबीगेलले विपत्ती टारिन्
14 नाबालको एउटा नोकरले नाबालकी पत्नी अबीगेललाई भन्यो, “दाऊदले आफ्ना समाचार-वाहकहरूलाई हाम्रा मालिक नाबाल भए ठाउँसम्म पठाए। तर नाबाल तिनीहरू प्रति तुच्छ थिए। 15 ती मानिसहरू हाम्रा निम्ति साह्रै असल थिए। जब हामी भेंडाहरू मैदानमा लिएर जान्थ्यौं। दाऊदका मानिसहरू हामीसितै दिनभरी हुन्थे। अनि तिनीहरूले हाम्रो कुनै नोक्सान गरेनन्। तिनीहरूले कहिले पनि केही चोरेनन्। 16 दाऊदका मानिसहरूले दिन रात हाम्रो रक्षा गर्थे। हामीले भेंडा चराइरहेको समयमा पनि तिनीहरूले हाम्रो चारैतिरबाट पर्खालले झैं रक्षा गर्यो। 17 यसको विषयमा सोचेर केही गर्नुहोस्। नाबाल साह्रै मूर्ख छन् ऊसित कुरा गर्न सकिंदैन अनि आउने विपत्तिको विषयमा उसलाई चेताउनी दिन सकिंदैन। अब नाबाल र तिनका सन्तानमाथि ठूलो विपत्ती आइलाग्नेछ।”
18 अबीगेलले हतार-हतार 200 वटा रोटी, दुइ मशक दाखरस पाँचवटा पकाएको भेंडा, पाँच पाथी पकाएको चिउरा 100 झुप्पा किसमिस र सुकाएको 200 झुप्पा नेभारा तयार पारी गधाहरूमा लदाइन्। 19 त्यसपछि नोकरहरूलाई भनिन्, “यो लिएर जाऊ। म पछि-पछि आउँदै छु।” तर यी सब तिनले आफ्नो लोग्नेलाई भनिनन्।
20 गधामा चढेर अबीगेल त्यस पहाडको अर्को पट्टिको पखेरामा गइन्। तिनले दाऊदलाई आफ्ना मानिसहरूसँग पहाडको अर्को पट्टिबाट आउँदै गरेका भेटिन्।
21 अबीगेललाई भेट्न भन्दा अघि दाऊदले भन्दै थिए, “मैले त्यस मरुभूमिमा नाबालको सम्पत्ति रक्षा गरें। मैले यति सुरक्षा गरें कि नाबालले केही नोक्सान भोगेनन्। मैले गरेको सबै व्यर्थ भयो। मैले भलाई गरें तर त्यसले त दुर्व्यवहार गर्यो। 22 यदि मैले नाबालको परिवारका कुनै पनि पुरूषलाई भोलि बिहान सम्म जीवित रहन दिएँ भने मलाई परमेश्वरले दण्ड दिउन्।”
23 त्यति नै बेला अबीगेल आइपुगिन्। अबीगेलले दाऊदलाई देख्न साथ गधाबाट ओर्लिन् र दाऊदको अघि शिर झुकाईन्। 24 तिनको अनुहार दाऊदको अघि भूईँमा निहुराए र अबीगेलले भनिन्, “महाशय कृपया, मलाई केही भन्न दिनुहोस्। मैले भनेका कुरा सुनिदिनुहोस्। जे भयो त्यसका निम्ति मलाई दोषी ठहराउनुहोस्। 25 तपाईंले पठाउँनु भएका मानिसहरू मैले देखिनँ। महाशय त्यो काम नलाग्ने नाबालको कुरामा ध्यान नदिनुहोस्। जस्तो उसको नाउँ छ मानिस पनि त्यस्तै छ। उसको नाउँको अर्थ ‘मूर्ख,’ भए जस्तो ऊ पनि मूर्ख नै छ। 26 परमप्रभुले तपाईंलाई निर्दोष मानिसहरूको हत्या गर्नबाट जोगाउनु भयो। जस्तो परमप्रभु जीवित हुनुहुन्छ त्यस्तै तपाईं पनि जीवित हुनुहुन्छ। म प्रार्थना गर्छु कि तपाईंका सबै शत्रुहरू अनि जसले तपाईंलाई क्षति गराउँन चाहन्छन् तिनीहरू सबै नाबाल जस्तै होउन्। 27 मैले तपाईंलाई केही उपहार ल्याएकी छु। तपाईंका मानिसहरूलाई दिनुहोस्। 28 मेरो भूलमा क्षमा दिनु होस्। मलाई थाहा छ परमप्रभुले तपाईंको परिवारालाई शक्तिशाली तुल्याउनु हुनेछ र धेरै राजाहरू तपाईंकै परिवारबाट आउनेछन्। परमप्रभुले यसो गर्नु हुनेछ कारण तपाईंले उहाँको निम्ति युद्ध गर्नु भएको छ। यसर्थ तपाईं बाँचुन्जेल मानिसहरूले तपाईमा कुनै खोट पाउने छैनन्। 29 यदि कसैले तपाईंलाई मार्न खेदो गर्यो भने परमप्रभु तपाईंको परमेश्वरले तपाईंको जीवनलाई बचाउँनु हुनेछ। तर घुँयेत्रोबाट ढुङ्गा फ्याँकिए झैं परमप्रभुले तपाईंका शत्रुहरूलाई फ्याँक्नु हुनेछ। 30 तपाईंलाई परमप्रभुले धेरै राम्रो कार्य गर्ने वचन दिनु भएको छ। उहाँले आफ्नो वचन पूरा गर्नुहुनेछ। परमेश्वरले तपाईंलाई इस्राएलको अगुवा बनाउनुहुनेछ। 31 तर तपाईं निर्दोष मानिसहरूको हत्या गरेर भूल नगर्नुहोस्। अझै भड्खालोमा नपस्नुहोस्। परमप्रभुले तपाईंलाई जब सफलता हासिल गराउनु हुन्छ दया गरी मलाई सम्झनुहोला।”
32 दाऊदले अबीगेललाई जवाफ दिए, “परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गर। आज उहाँले तिमीलाई म भए कहाँ पठाउनु भएको निम्ति प्रशंसा गर। 33 तिम्रो सही विचारको निम्ति परमेश्वरले तिमीलाई आशीर्वाद दिऊन्। आज निर्दोष मानिसहरूको हत्या गर्नबाट तिमीले मलाई रोक्यौ। 34 साँच्चै नै परमप्रभु इस्राएलका परमेश्वर जीवित हुनुहुन्छ म त्यो भन्छु। यदि तिमी ठीक समयमा नआइपुगेका भए भोलि बिहान सम्ममा नाबालका एउटै मानिस पनि जीवित रहने थिएनन्।”
35 त्यसपछि दाऊदले उपहार स्वीकार गरे। दाऊदले भने, “शान्तिसित घर जाऊ। मैले तिम्रा सबै कुरा सुने र म तिमीले भने जस्तै गर्नेछु।”
नाबालको मृत्यु
36 अबीगेल घर फर्किन्। नाबाल घरैमा भोज मनाइरहेका थियो। नाबाल राजाले जस्तै भोजन खाँदै थिए। ऊ मग्न थिए अनि खूबै पिएका थिए। यसर्थ भोलि बिहान नहुन्जेल अबीगेलले केही भनिन। 37 भोलि पल्ट बिहान नाबाल शान्त थियो। यसर्थ उसकी पत्नीले सबै बताइन्। त्यत्ति नै बेला नाबाल मुटुको वेदनाले पीडित भयो। 38 झण्डै दश दिनपछि परमप्रभुले नाबाललाई मृत्यु दण्ड दिनुभयो।
39 दाऊदले नाबालको मृत्युको खबर सुने। दाऊदले भने, “परमप्रभुको महिमा होस्। नाबालले मेरो विषयमा दुष्ट कुरा गरे, तर परमप्रभु परमेश्वरले मेरो पक्ष लिनुभयो। परमप्रभुले मलाई पाप गर्नबाट बचाउँनु भयो अनि परमप्रभुले नाबाललाई उसका अपराधको निम्ति मृत्यु दण्ड दिनुभयो।”
त्यसपछि दाऊदले अबीगेललाई समाचार पठाउनु भयो अनि दाऊदले उनलाई आफ्नी पत्नी हुने प्रस्ताव राख्नुभयो। 40 दाऊदका नोकरहरू कर्मेलमा आएर अबीगेललाई भने, “दाऊदले हामीलाई पठाउनु भएको छ। तपाईं उहाँकी पत्नी हुनुहोस् भन्नु भनी उहाँले समाचार पठाउनु भएको छ।”
41 अबीगेलले शिर झुकाइन् र भनिन्, “म तपाईंको दासी हुँ। म तपाईंको सेवा गर्न राजी छु। म मेरो स्वामी दाऊदका सेवकहरूका खुट्टा धुन तयार छु।”
42 हतार-हतार तयार भएर गधामा चढी ती दूतहरूसँग अबीगेल बाटो लागिन्। अबीगेलले आफूसित पाँचजना सहेंलीहरू लगिन् र आफू दाऊदकी पत्नी भइन्। 43 दाऊदले यिज्रेलकी अहीनोमलाई पनि विवाह गरेका थिए। दाऊदका अहीनोम र अबीगेल दुवै पत्नी भए। 44 दाऊदले शाऊलकी छोरी मीकललाई पनि विवाह गरेका थिए। तर शाऊलले तिनलाई दाऊदबाट खोसे। शाऊलले गल्लीमको लेशको छोरा पलिश्तीलाई मीकल दिएका थिए।
येशूको विरुद्ध यहूदीहरू
22 यरूशलेममा हिउँदको बेला थियो साथै समर्पणको चाड़[a] पनि आयो। 23 येशू मन्दिरको प्राङ्गाण अन्तर्गत सुलेमानको दलानमा टहलिरहनुभएको थियो। 24 यहूदीहरूले येशूलाई वरिपरि घेरे। तिनीहरूले भने, “कहिले सम्म तिम्रो विषयमा हामीलाई रहस्यमा राख्छौ? यदि तिमी ख्रीष्ट नै हौ भने, हामीलाई स्पष्ट पार।”
25 येशूले उत्तर दिनुभयो, “मैले तिमीहरूलाई पहिल्यै भनिसकेको छु, तर तिमीहरूले विश्वास गरेनौ। म चमत्कारहरू गर्छु, मेरो पिताको नाममा। ती चमत्कारहरूले मेरो बारेमा प्रमाण दिन्छ। 26 तिमीहरू तर विश्वास गर्दैनौ। किनभने तिमीहरू मेरा भेंडा़हरू होइनौ। 27 मेरो भेंडा़हरू मेरो आवाज सुन्दछन्। म तिनीहरूलाई जान्दछु र तिनीहरूले मलाई पछ्याउँदछन्। 28 म मेरा भेंडा़हरूलाई अनन्त जीवन दिंदछु। तिनीहरू कहिल्यै मर्ने छैनन्। अनि कसैले पनि तिनीहरूलाई मेरो हातबाट खोसेर लान सक्तैन। 29 मेरा पिताले मेरो भेंडा़ मलाई दिनु भयो। उहाँ सबैभन्दा महान हुनुहुन्छ। कसैले पनि मेरो पिताको हातबाट भेंडा़ खोसेर लान सक्तैन। 30 पिता र म एकै हौं।”
31 फेरि यहूदीहरूले येशूलाई मार्न ढुङ्गा टिपे। 32 तर येशूले तिनीहरूलाई भन्नुभयो, “मेरा पिताबाट तिमीहरूलाई मैले धेरै राम्रा कामहरू देखाइसकेको छु। ती चीजहरू मध्ये कुन चाँहि कामको लागि मलाई ढुङ्गाले हिर्काउन खोज्छौ?”
33 यहूदीहरूले भने, “तिमीले कुनै राम्रो काम गरेकोमा तिमीलाई हामी ढुङ्गाले हानेर मार्ने छैनौं। तर तिमीले भनेका ती कुराहरू परमेश्वरको विरूद्ध छन्। तिमी खाली मान्छे मात्र हौ, तर तिमी भन्छौ तिमी परमेश्वर समान हौ। त्यही कारणले गर्दा हामीले तिमीलाई ढुङ्गाले हिर्काएर मार्न खोजेका हौं।”
34 येशूले उत्तर दिनुभयो, “यो तिमीहरूको व्यवस्थामा लेखिएको छ, ‘मैले भनें, तिमीहरू देवहरू हौ।’(A) 35 यो धर्माशास्त्रले तिनीहरूलाई देवहरू भन्यो। मानिसहरू जसले परमेश्वरको सुसमाचार ग्रहण गरे। अनि धर्मशास्त्र सधैँ सत्य छ। 36 यसर्थ तिमीहरू मलाई किन भन्छौ, तिमी परमेश्वरको निन्दा गर्छौ, किनभने मैले भने, ‘म परमेश्वरको पुत्र हुँ?’ पिताले मलाई चुन्नु भयो अनि संसारमा पठाउनु भयो। 37 यदि मैले मेरा पिताको कामहरू गर्दिन भने मलाई विश्वास नगर। 38 तर यदी मैले मेरा पिताका कामहरू गरें भने तिमीहरूले मलाई विश्वास गर्नु पर्छ। यदि तिमीहरूले मलाई विश्वास गरेनौ भने, म जे गर्छु मेरो काममा विश्वास गर। तब तिमीहरूले थाहा पाउनेछौ अनि बुझ्नेछौ कि म परमेश्वरमा छु औ परमेश्वर ममा हुनुहुन्छ।”
39 यहूदीहरूले येशूलाई फेरि पक्रने प्रयास गरे। तर येशू तिनहरूबाट उम्कनु भयो।
40 त्यसपछि येशू फेरि यर्दन नदीको क्षेत्र पार गरेर जानु भयो। येशू त्यस ठाउँ जानु भयो जहाँ यूहन्नाले पहिला बप्तिस्मा दिएका थिए। 41 येशू त्यहाँ बस्नु भयो र उहाँ-कहाँ धेरै मानिसहरू आए। मानिसहरूले भने, “यूहन्नाले कहिल्यै चमत्कार देखाएनन्। तर यूहन्नाले जुन मानिसको विषयमा जो सबै भन्नुभयो त्यो साँच्चो थियो।” 42 अनि त्यहाँ धेरै मानिसहरूले येशूमा विश्वास गरे।
1 जब परमप्रभुले मेरो प्रार्थना सुन्नु हुँदछ,
त्यो मलाई मन पर्दछ।
2 जब मैले गुहार माग्दा उहाँले मलाई सहाएता दिनुहुन्छ,
त्यो मलाई मन पर्छ।
3 म मर्न आटेको थिएँ, मृत्युको डोरीहरूले मलाई वरिपरि बाँधिएको थियो।
चिहान मेरो वरिपरि थियो
म भयभीत र चिन्तित थिएँ।
4 तब मैले परमेश्वरको नाउँको पुकारा गरें।
मैले भने, “परमप्रभु, मलाई बचाउनु होस्!”
5 परमप्रभु धार्मिक र करूणामय हुनुहुन्छ।
हाम्रा परमेश्वर कृपालु हुनुहुन्छ।
6 परमप्रभुले असहाय मानिसहरूको हेरचाह गर्नु हुन्छ।
म असहाय थिएँ अनि परमप्रभुले मलाई बचाउनु भयो।
7 हे मेरो प्राण, विश्राम गर!
परमेश्वरले तिमीलाई हेरचाह गरिरहनु भएको छ।
8 हे परमेश्वर, तपाईंले मेरो प्राणलाई मृत्युबाट बँचाउनु भयो।
तपाईंले मेरो आँसुहरू थामिदिनु भयो।
तपाईंले मलाई पतन हुनदेखि जोगाउनु भयो।
9 जीवितहरूको देशमा पनि
म परमप्रभुको सेवा अनवरत गर्नेछु।
10 यद्यपि मैले भने अझ पनि मेरो विश्वास थियो,
“म सर्वनाश भएँ!”
11 हो, मलाई विश्वास थियो, जब म डराएको थिएँ,
मैले भने, “सबै मानिसहरू झूटा छन्!”
12 म परमप्रभुलाई के दिन सक्छु र?
ममा भएका सबै कुराहरू परमप्रभुले नै दिनु भएको हो।
13 उहाँले मलाई बचाउनु भयो,
यसकारण म उहाँलाई अर्घ बलि चढाउनेछु।
अनि म परमप्रभुको नाउँ बोलाउनेछु।
14 परमप्रभुलाई प्रतिज्ञा गरेको कुराहरू म उहाँलाई दिनेछु।
म अब सम्पूर्ण मानिसहरूका समक्षमा जानेछु।
15 परमेश्वरका भक्तजनहरू मध्ये एउटै पनि मर्यो भने त्यो उहाँको निम्ति महत्वपूर्ण हुनेछ।
परमप्रभु तपाईंको दासहरू मध्ये म एक हुँ।
16 हे परमप्रभु, म तपाईंको दास हुँ।
म तपाईंकी एकजना सेविकाको बालक हुँ।
परमप्रभु, तपाईं नै मेरो प्रथम गुरू हुनुहुन्थ्यो।
17 म तपाईंलाई धन्यवादको भेटी टक्र्याउँने छु।
म परमप्रभुको नाउँ पुकार्नेछु।
18 आफूले वचन दिएको कुराहरू म परमेश्वरलाई दिनेछु।
अब म सम्पूर्ण मानिसहरूको समक्ष जाने छु।
19 म यो सव यरूशलेमको मन्दिरमा गर्नेछु,
र परमप्रभुको मन्दिरको आँगनमा गर्नेछु।
परमप्रभुको प्रशंसा गर!
20 एक बुद्धिमानी छोरोले बाबुको निम्ति खुशीयाली ल्याउँछ भने, मूर्ख छोरोले उसको आमालाई हेला गर्छ।
21 मूर्खलाई दुष्ट कामले खुशी तुल्याउँछ तर ज्ञानी मानिसले के सही हो त्यो गर्छ।
© 2004, 2010 Bible League International