The Daily Audio Bible
Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.
शाऊलका परिवार प्रति दाऊद दयालु बन्छन्
9 दाऊदले सोधे, “के शाऊलका परिवारका कुनै सदस्य जीवित छन्? जोनाथनको कारणले म उ प्रति दयालु बन्न चाहान्छु।”
2 शाऊलका परिवारमा एकजना सीबा नामका नोकर थिए। दाऊदका सेवकहरूले सीबालाई दाऊदको अघि बोलाए। राजा दाऊदले सीबालाई भने, “के तिमी नै सीबा हौ?”
सीबाले भने, “ज्यू, म तपाईंको सेवक सीबा हुँ।”
3 राजाले भने, “के शाऊलका परिवारका कुनै सन्तान बाँचेका छन? यदि छन् भने म परमेश्वरको दया उसलाई देखाउन चाहान्छु।”
सीबाले राजा दाऊदलाई भने, “जोनाथनका एकजा छोरा अझै जीवित छन्। तर उसका दुवै खुट्टा लङ्गडो छन।”
4 राजाले सीबालाई भने, “त्यो छोरा कहाँ छ?”
सीबाले राजालाई भने, “उनी लो-देबारका अम्मीएलका छोरा मकीरका घरमा छन्।”
5 त्यसपछि राजा दाऊदले आफ्ना केही अधिकारीहरूलाई अम्मीएलका छोरा मकीरका घरबाट जोनाथनका छोरालाई ल्याउन लो-देबार पठाए। 6 जोनाथनका छोरा मपीबोशेत दाऊदका सामुने शिर झुकाएर दण्डवत गरे।
दाऊदले भने, “मपीबोशेथ?”
मपीबोशेतले भने, “ज्यू हजुर, मै हु, तपाईंको सेवक मपीबोशेत।”
7 दाऊदले मपीबोशेतलाई भने, “डराउने काम छैन। म तिमीलाई दया गर्छु। तिम्रो पिताको कारणले म तिमीप्रति दयालु रहनेछु। तिम्रा बाजेका जति पनि जग्गा जमिन थियो म सबै तिमीलाई फिर्ता दिन्छु। तिमी सधैँ मसँगै टेबलमा बसेर खानेछौ।”
8 मपीबोशेतले फेरि केही झुकेर दाऊदलाई भने, “म मरेको कुकुर जत्ति पनि भइन तर पनि तपाईं यति दयालु बन्नु भयो।”
9 त्यसपछि राजा दाऊदले शाऊलका नोकर सीबालाई बोलाएर भने, “शाऊलका जे जति जेथा थिए ती सब मैले तिम्रो मालिकका नाति (मपीबोशेत)लाई दिएँ। 10 तिमीले मपीबोशेतको जमीनमा तिम्रो छोराहरू अनि नोकरहरूसित खेती गर्ने छौ अनि बाली काट्ने छौ तब तिम्रा मालिकको नातिको लागि प्रचुर भोजन हुनेछ। तर तिम्रा मालिकका नातिले सधैँ मसित खाना खानेछन्।”
सीबाका 15 छोरा र 20 जना नोकरहरू थिए। 11 सीबाले राजा दाऊदलाई भने, “म तपाईंको सेवक हुँ, तपाईंले जे आदेश दिनु हुन्छ म गर्नेछु।”
यसर्थ मपीबोशेत दाऊदका छोराले जस्तै दाऊदसँगै खाना खान थाले। 12 मपीबोशेतका जवान छोराको नाउँ मीका थियो। सीबाका सबै परिवारका सदस्यहरू मपीबोशेतका सेवक बने। 13 मपीबोशेतका दुवै खुट्टा लङ्गडा थिए। मपीबोशेत यरूशलेममा बसे र प्रत्येक दिन राजासँगै खान थाले।
हानूनले दाऊदका मानिसहरूलाई लज्जित बनाउँछन्
10 पछि अम्मोनीहरूका राजा नाहाश मरे। तिनको मृत्युपछि तिनका छोरा हानून नयाँ राजा भए। 2 दाऊदले भने, “नाहाश मप्रति उद्धार थिए यसैले मैले पनि तिनका छोरा हानूनप्रति उद्धार बन्नुपर्छ।” त्यसैले हानूनलाई उसका पिताको मृत्युको बारे सान्त्वना प्रदान गर्न दाऊदले आफ्ना अधिकारीहरू पठाए।
यसर्थ दाऊका अधिकारीहरू अम्मोनीहरूको देशमा गए। 3 तर अम्मोनी अधिकारीहरूले हानूनलाई भने, “दाऊदले आफ्ना मानिसहरू तपाईंको पिताको मृत्युमा तपाईंलाई सान्तवना दिन भनेर पठाएका हुन् भनी तपाईं मान्नु हुन्छ? निश्चय होइन! दाऊदले त यी मानिसहरूलाई तपाईंको शहरको जानकारी लिन पठाएका हुन्। तपाईं विरूद्ध युद्ध गर्ने योजना हो।”
4 यसकारणले हानूनले ती अधिकारीहरूलाई पक्रेर आधा दाह्री अनि कम्बरदेखि तलको लुगा काटेर खेदे।
5 जब मानिसहरूले दाऊदलाई सुनाए, उनले उसका दूतहरूलाई ती लज्जित व्यक्तिहरू कहाँ पठाए। राजा दाऊदले खबरमा भने, “दाह्री लामो नभइन्जेलसम्म तिमीहरू यरीहोमा नै बस्नेछौ। तब पछी यरूशलेम आउँछौ।”
अम्मोनीहरूको विरूद्धमा युद्ध
6 अम्मोनीहरूले त्यो सम्झे दाऊदले तिनीहरूलाई उसको शत्रु सोचे। यसकारले गर्दा तिनीहरूले बेत-शहोब र सोबाबाट अरामीहरूलाई ज्यालामा झिकाए। तिनीहरू 20,000 अरामीहरू पैदल सेनाहरू आए। अम्मोनीहरूले पनि माकाका राजासहित 1,000 मानिसहरू र तोबबाट 12,000 मानिसहरू ज्यालामा झिकाए।
7 दाऊदले यी सबै थाहा पाए। यसैले योआब र धेरै शक्तिशाली सेनालाई पठाए। 8 अम्मोनीहरू बाहिर आए अनि युद्धको निम्ति तयार भए। तिनीहरू शहरको द्वारमा खडा भए। अरामी सैनिकहरू सोबा र रहोबबाट ती तोब र माका शहरबाट बाहिरका खेतमा जम्मा भएका थिए।
9 योआबले देखे तिनीहरू दुवैतिरबाट घेर्दै आए। यसकारण योआबले केही असल इस्राएली सैनिकहरूलाई तहलगाएर अरामीहरूका विरूद्ध युद्ध गरे। 10 तब उसले बाँकी मानिसहरूलाई उसको भाइ अवीशैको अधिकारमा लगाए अनि तिनीहरूलाई अम्मोनीहरूको विरूद्धमा खटाए। 11 योआबले अबीशैलाई भने, “यदि अरामीहरू मभन्दा शक्तिशाली भए भने तैंले मलाई साथ दिनेछस् र उता अम्मोनीहरू तँभन्दा शक्तिशाली निस्किए म तँलाई सहायता पुर्याउनेछु। 12 हामी शक्तिशाली हौं, हाम्रो मानिसहरू, र परमेश्वरको शहरको बचाउका निम्ति सहासी भएर युद्ध लडौं परमप्रभुले त्यही गर्नु हुन्छ जो उहाँलाई ठीक लाग्छ।”
13 त्यसपछि योआब र तिनका मानिसहरूले अरामीहरूसँग युद्ध लडे। अरामीहरू भागे। 14 अम्मोनीहरूले अरामीहरू भागेका देखेर आफू पनि भाग्नथाले।
यसरी तिनीहरू आफ्ना शहर फर्किए। यसरी योआब अम्मोनीहरूसँग लडेर यरूशलेम फर्किए।
अरामीहरूको फेरि युद्ध लड्ने विचार
15 अरामीहरूले इस्राएलीबाट हारेको थाहा गर्न थाले। यसकारण तिनीहरूले फेरि ठूलो फौज भेला गरे। 16 हददेजेरले युफ्रेटिस नदी पारी टाढा पठाएर अरामीहरूलाई बोलाउन पठाए। ती अरामीहरू हेलाममा आए। शोबक तिनीहरूका अगुवा थिए जो हददेजेरका सेनाका कप्तान थिए।
17 दाऊदले यी सब सुने। यसर्थ तिनले सबै इस्राएलीहरूलाई भेला गराए। तिनीहरू यर्दन नदी तरेर हेलम पुगे।
अरामीहरू तयारै थिए र धावा बोले। 18 तर दाऊदले अरामीहरूलाई हराए अनि अरामिहरू भागेर गए। दाऊदले 700 रथका चालक र 40,000 घोडसवार सैनिकलाई मारे। दाऊदले शोबाक, अरामी सैनिकहरूका कप्तानलाई पनि मारे।
19 हददेजेरलाई सेवा पुर्योइरहेको राजाहरूले देखे इस्राएलीहरूद्वारा परास्त भएको कुरा। यसैले तिनीहरूले इस्राएलीहरूसँग शान्ति सम्झौता गरे र इस्राएलीहरूका सेवक बने। अरामीहरूले फेरि-फेरि अम्मोनीहरूलाई सहयोग पुर्याउन डराए।
दाऊद बेतशेबासँग मिल्छन्
11 बसन्त ऋतुको समय जब राजाहरू युद्धका निम्ति बाहिर आए र दाऊदले योआब, तिनका अधिकारीहरू र सारा इस्राएली सैनिकहरूलाई अम्मोनीहरू नष्ट गर्न पठाउनु भयो। योआबका सेनाहरूले तिनीहरूको राजधानी रब्बा शहरमा पनि आक्रमण गरे।
तर दाऊद यरूशलेममा नै बसे। 2 साँझमा तिनी ओछ्यानबाट उठे र राजभवनको कौशिमा टहल्नथाले। त्यहि समय दाऊदले कौशिबाट एउटी स्त्रीलाई नुहाउँदै गरेको देखे। तिनी साह्रै सुन्दरी थिईन्। 3 त्यसैकारण दाऊदले तिनको विषयमा जान्नका निम्ति आफ्ना अधिकारीहरू पठाए। एकजना अधिकारीले बुझेर खबर दिए, “त्यो स्त्री एलीआमको छोरी र हित्तीका उरियाहकी पत्नी बेतशेबा हुन्।”
4 दाऊदले उसका दूतहरूलाई त्यो स्त्री बोलाउन पठाए। जब ती स्त्री आइन्, दाऊदले तिनीसँग सहवास गरे। तिनको मासिक धर्मको समय शेष भयो। तब तिनी गइहालीन्। 5 र बेतशेबा गर्भबती भइन्। तिनले दाऊदलाई, “म गर्भवती भएँ” भनेर खबर पठाइन्।
दाऊदले आफ्नो पाप लुकाउन चाहे
6 दाऊदले योआबकहाँ खबर पठाए, “हित्तीका उरिहालाई मकहाँ पठाउँनु।”
यसैले योआबले ऊरियालाई दाऊदकहाँ पठाए। 7 उरियाह दाऊदकहाँ आए। दाऊदले उरियाहसँग योआबको विषयमा सोधे। सैनिकहरूको हाल खबर सोधे र युद्धको विषयमा जान्न चाहे। 8 तब दाऊदले उरियाहलाई भने, “आराम गर र आनन्दित हौ।”
उरियाहले राजभवन छोडे। राजाले उसलाई उपहारहरू पनि दिए। 9 तर उरियाह उसको घरमा गएनन्। उरियाह राजभवनको बाहिर दैलोमा सुते। राजाका अन्य नोकर चाकर झैं तिनी सुते। 10 नोकर चाकरले दाऊदलाई भने, “उरियाह घर गएनन्।”
त्यसपछि दाऊदले उरियाहलाई भने, “तिमी टाढाबाट आएका थियौ किन घर गएनौ?”
11 उरियाहले दाऊदलाई भने, “परमप्रभुको पवित्र सन्दूक अनि इस्राएलका सैनिकहरू र यहूदाका सैनिक सबै तम्बूमा बस्छन्। मेरा स्वामी योआब, अनि राजा दाऊदका अधिकारीहरू सबै खुल्ला मैदानमा डेरा गरेर बस्छन्। यसैले म घर गएर खाई पिई पत्नीसँग सुत्नु ठीक हैन।”
12 दाऊदले उरियाहलाई भने, “आज यहीं बस। भोलि म तिमीलाई युद्ध भूमिमा पठाउँछु।”
उरियाह त्यस दिन रातभरि यरूशलेममा नै बसे। 13 त्यसपछि दाऊदले उरियाहलाई उनलाई भेट्नु भने। उरियाहले दाऊदसँगै खान-पिन गरे। दाऊदले उरियाहलाई धेरै मताए। तरै पनि उरियाह उसको घरमा गएनन्। तिनी अन्य सेवकहरू झैं राजमहलको प्रवेशद्वार बाहिर सुते।
दाऊदको उरियाहलाई मार्ने योजना
14 अर्को बिहान दाऊदले योआबलाई पत्र लेखे। दाऊदले उरियाहलाई नै पत्र थमाए। 15 पत्रमा दाऊदले लेखेका थिएः “उरियाहलाई जहाँ घमासन युद्ध हुन्छ त्यही पठाउनु। एक्लो छोडिदिनु अनि युद्धमा नै मरोस्।”
16 जब योआबले शहरलाई कब्जा गरे, उसले जहाँ साहसी अम्मोनीहरू थिए ती भेट्टाए। उनले उरियाहलाई त्यही ठाउँमा जान छाने। 17 रब्बाका मानिसहरू योआबको विरूद्ध युद्ध गर्न आए। दाऊदका कतिपय मानिसहरू मरे। मर्नेहरूमा उरियाह पनि थिए।
18 तब योआबले दाऊदलाई युद्धको विषयमा खबर पठाए। 19 योआबले दूतलाई युद्धमा के भएको थियो भन्नु भनेर पठाए। 20 योआबले भने, “हुनसक्छ राजा रिसाउनु हुनेछ अनि सोध्नु हुनेछन्, ‘योआबका सेनाहरू शहरका पर्खाल नजिक किन लडे? साँच्चैनै योआबलाई थाहा हुनुपर्ने पर्खालमाथिबाट मानिसहरूले तल वाण चलाउन सक्छन्। 21 के उसलाई थाहा छैन यरूब्बेशेतका छोरा अबीमेलेकलाई कसले मार्यो? एउटी आइमाईले जाँतोको ढुङ्गाले हानेर अबीमेलेक मरेका थिए। त्यस्तो जान्दा-जान्दै पनि किन पर्खालकै नजिक गएको?’ यदि राजाले यी कुराहरू सोधे भने भन्नु, ‘तपाईंको अधिकारी उरियाह पनि मरे।’”
22 दूत गएर योआबले आज्ञा दिएका कुरा सबै दाऊदलाई सुनाए। 23 दूतहरूले दाऊदलाई भने, “अम्मोनका मानिसहरूले हामीलाई मैदानमा धावा बोले। हामी लड्यौं र शहरको फाटकसम्म खेद्दै भगायौं। 24 तब शहरको पर्खालबाट तपाईंका अधिकारीहरूलाई मानिसहरूले बाण चलाए। तपाईंका केही अधिकारीहरू मरे। तपाईंका अधिकारी उरियाह पनि यसरी मरे।”
25 दाऊदले दूतहरूलाई योआब कहाँ खबर पठाएः “दुःख मान्ने केही कारण छैन। तरवारले एकजना मानिस पनि मार्न सक्छ अर्को पनि। रब्बाको बिरूद्धमा शक्तिशाली आक्रमण चलाएर विजय प्राप्त गर। यी शब्दहरूले योआबलाई उत्साह प्रदान गर।”
दाऊदले बेतशेबालाई विवाह गर्छन
26 बेतशेबाले आफ्ना पति उरियाह मरेको थाहा पाउँछिन्। आफ्ना लोग्नेको निम्त रोइकराई गर्छिन्। 27 तिनले शोकाकुल अवस्था पार गरेपछि दाऊदले नोकरलाई बोलाउन पठाउँछन्। तिनी दाऊदकी पत्नी बन्छिन् र दाऊदको छोरा जन्माउँछिन्। तर परमप्रभुलाई दाऊदको कु-कर्म ठीक लागेको थिएन।
येशू दाखको बोट
15 येशूले भन्नुभयो, “म साँच्चो दाखको बोट हुँ, मेरो पिता माली हुनुहुन्छ। 2 म मेरो प्रत्यके हाँगा जसमा फल फल्दैन त्यो उहाँले काटिनदिनु हुन्छ। अनि उहाँले प्रत्येक हाँगाहरू छाँस्नु र सफा गर्नुहुन्छ ताकि त्यसले फल फलाउन, सकोस्; त्यसो गर्दा यसले अझ बढता फल दिनेछ। 3 मेरो उपदेशको कारणले गर्दा तिमीहरू पहिल्यै शुद्ध भइसकेकाछौ। 4 मभित्र बस, म तिमीहरूभित्र रहनेछु। कुनै पनि एक्लो हाँगाले फल दिंदैन। त्यो मूल बोटमा अतर्निहित भएको हुनै पर्छ। तिमीहरूसँग पनि यही कुरा लागू हुँदछ। तिमीहरू एक्लै फल फलाउन सक्तैनौ। तिनीहरू ममा हुनु पर्छ।
5 “म दाखको बोट हुँ र तिमीहरू त्यसका हाँगाहरू हौ। यदि जो कोही ममा रह्यो भने त्यसले धेरै फल दिनेछ। किनभने म बिना तिमीले केही गर्न सक्तैनौ। 6 यदि कोही ममा रहँदैन भने तब ऊ त्यो हाँगा जस्तो हुन्छ जो फ्याँकिएर जान्छ। त्यो हाँगा मर्दछ। मानिसहरूले त्यस्तो मरेको हाँगाहरू टिपेर आगोमा हालिदिन्छन् र तिनीहरू जल्छन्। 7 यदि तिमीहरू ममा रह्यौ र मेरो वचनहरू तिमीहरूमा रह्यो भने तब तिमी जे पनि चाहन्छौ माग अनि त्यो तिमीलाई दिइनेछ। 8 तिमीले अधिक फलहरू फलाऊ र सिद्ध गर कि तिमीहरू मेरा चेलाहरू हौ। यसले मेरो पितालाई महिमा दिदँछ।
9 “म तिमीहरूलाई प्रेम गर्दछु जसरी मलाई पिताले गर्नुहुन्छ। अब मेरो प्रेममा निरन्तर रहौ। 10 मैले मेरा पिताको आज्ञा पालन गरें र निरन्तर उहाँको प्रेममा रही रहेकोछु। यस्तै प्रकारले यदि तिमीहरूले मेरो आज्ञा पालन गर्यो भने तिमीहरू मेरो प्रेममा निरन्तर रहने छौ। 11 मैले यी कुराहरू भनिसकेकोछु, यसैले तिमीहरूले त्यस्तै आनन्द पाउन सक्नेछौ जुन मसँग छ। म तिमीहरूको आनन्द एक पूर्ण आनन्द भएको देख्नु चाहन्छु। 12 यसैकारणले म तिमीहरूलाई आज्ञा गर्दछुः एकअर्कामा प्रेम गर जसरी मैले तिमीहरूलाई प्रेम गरें। 13 महान प्रेम त्यस मानिसले देखाउन सक्छ जसले आफ्नो मित्रको लागि आफ्नो जीवन बलिदान दिनसक्छ। 14 तिमीहरू मेरा मित्र हौ यदि तिमीहरूले मेरो आज्ञ अनुसार काम गरयौ भने। 15 म तिमीहरूलाई नोकरहरू भनेर डाक्ने छैन। एक नोकरले उसको मालिकले के गर्छ भनेर केही पनि जान्दैन अब म तिमीहरूलाई मित्र भनेर बोलाउँछु किनभने मेरा पिताले मलाई जे-जे भन्नुभयो ती सबै तिमीहरूलाई भनिसकेकोछु।
16 “तिमीहरूले मलाई चुनेनौ; मैले तिमीहरूलाई चुने। अनि मैले तिमीहरूलाई नियुक्ति गरेकोछुः जाऊ अनि फल फलाऊ। म यो फल तिमीहरूको हृदयमा फलिरहेको देख्न चाहन्छु। तब पिताले तिमीहरूले जे पनि चाहन्छौ त्यो मेरो नाममा दिनुहुनेछ। 17 यही मेरो आज्ञा होः एकाअर्कालाई प्रेम गर।
येशूले आफ्ना चेलाहरूलाई सावधान गर्नुहुन्छ
18 “यदि यो संसारले तिमीहरूलाई घृणा गर्छ भने याद गर कि संसारले मलाई प्रथम घृणा गर्यो भनेर। 19 यदि तिमीहरू संसारकै थियौ भने तिमीहरूलाई उसकै आफ्नै मानिसहरू सरह प्रेम गर्ने नै छ। तर मैले तिमीहरूलाई संसारबाट छानें। यसैले तिमीहरू संसारसँग सम्बन्धित छैनौ। यसैकारणले संसारले तिमीहरूलाई घृणा गर्दछ।
20 “मैले तिमीहरूलाई भनेका कुराहरू सम्झः एक नोकर उसको मालिक भन्दा श्रेष्ट हुँदैन। यदि मानिसहरूले मलाई सताए भने तिमीहरूलाई पनि सताउनछन् यही मानिसहरूले मेरो शिक्षा पालन गरे भने तिनीहरूले तिमीहरूको आज्ञा पालन गर्नेछन्। 21 मानिसहरूले यी सबै कुराहरू मेरो कारणले गर्दा तिमीहरूलाई गर्नेछन्। उहाँलाई तिनीहरूले चिन्दैनन् जसले मलाई पठाउनु भयो। 22 यदि म नआएको भए र संसारका मानिसहरूलाई नबताएको भए तब तिनीहरू पापका-दोषी हुने थिएनन्। तर अब मैले तिनीहरूलाई जनाएँ र अब तिनीहरू पापबाट माफी हुने छैन।
23 “जसले मलाई घृणा गर्दछ, उसले मेरो पितालाई पनि घृणा गर्दछ। 24 मैले ती मानिसहरू माझ जस्तो कुराहरू गरे अन्य कुनै मानिसले कहिल्यै गरेन। यदि मैले त्यस्तो कुराहरू नगरेको भए, तिनीहरू पापको-दोषी हुने नै थिएनन्। तर मैले जे-जे गरें ती सबै तिनीहरूले देखी सकेका छन्। तथापि तिनीहरूले मलाई र मेरा पितालाई घृणा गर्छन्। 25 तर यस्तो भयो किनकि उनीहरूको व्यवस्थामा लेखिएको कुरा सत्य हुने भयोः यस्तो लेखिएको छ ‘कुनै कारण बिना नै तिनीहरूले मलाई घृणा गरे।’
26 “म तिमीहरूलाई पिताबाट सहायक पठाइदिनेछु। सहायक सत्यको आत्मा हो जो पिताबाट आउँदछ। जब उनी आउँछन्, उसले मेरो विषयमा बताउनेछन्। 27 अनि तिमीहरूले मेरो विषयमा मानिसहरूलाई भन किनभने तिमीहरू शुरुदेखिनै मसँग छौ।
जाइन्
49 हे परमप्रभु, मप्रति गर्नु भएको प्रतिज्ञा याद गर्नुहोस्।
त्यो प्रतिज्ञाले मलाई आशा दिएकोछ।
50 म पीडित् थिएँ, र तपाईंले मलाई सान्त्वना दिनुभयो।
तपाईंका वचनहरूले मलाई फेरि एकपल्ट जीवित तुल्यायो।
51 ती घमण्डीहरूले मलाई लगातार अपमान गरे,
तर मैले तपाईंका शिक्षाहरूको अनुशरण गर्न छोडिनँ।
52 हे परमप्रभु, म सधैँ तपाईंको बुद्धिमानी निर्णयहरूले
मलाई सान्त्वना दिंदछ।
53 जब मैले ती दुष्ट मानिसहरूले तपाईंको उपदेशहरू
मान्न छाड्दै गएको देखें र म क्रोधित भएँ।
54 मेरो प्रवासको घरमा तपाईंका नियमहरू नै
मेरो गीतहरू भएका छन्।
55 हे परमप्रभु, मैले रातमा तपाईंको नाउँ स्मरण गरेको छु।
अनि मैले तपाईंको उपदेशहरू पनि याद गरेको छु।
56 किनभने म सतर्कतासाथ तपाईंको आज्ञाहरू पालन गर्दछु।
हेथ्
57 हे परमप्रभु, मैले मेरो कर्त्तव्य नै तपाईंको आज्ञाहरू पालन गर्नु हो भनेर निर्णय लिएँ।
58 हे परमप्रभु, म सम्पूर्ण रूपले तपाईंमाथिनै आश्रित छु
मप्रति सधैँ तपाईंले वचन दिए झै, कृपादृष्टि रहोस्।
59 मैले आफ्नो जीवनलाई खुब होशियारिसँग सोचें।
अनि म तपाईंको करार प्रति फर्किएर आएँ।
60 कुनै विलम्ब नगरीकन हतारिन्दै
म तपाईंको आज्ञाहरूलाई पालन गर्नलाई फर्कें।
61 केही दुष्ट मानिसहरूका झुण्डले मेरो बारेमा नीच कुराहरू गरे।
तर परमप्रभु, मैले तपाईंको उपदेशहरू भुलिनँ।
62 तपाईंको धार्मिक निर्णयहरूको निम्ति
धन्यवाद दिन म रातमा उठें।
63 ज-जसले तपाईंलाई पूज्दछन् म ती सबै मानिसहरूको साथी हुँ।
ज-जसले तपाईंको आदेशहरू मान्दछन,
म ती सबै मानिसहरूको साथी हुँ।
64 हे परमप्रभु, पृथ्वी तपाईंको स्नेहपूर्ण करूणाले भरिन्छ।
मलाई तपाईंको नियमहरू सिकाउनुहोस्।
16 मानिसले भन्न चाहन्छ त्यो आफूले निर्णय गर्छ तर त्यो कुरा व्यक्त गर्नु चाहिने ठीक शब्दहरू चुन्नमा ऊ परमप्रभुमा भर पर्छ।
2 मानिसले सोच्छ कि उसले गरेको प्रत्येक कुराहरू सही हो तर परमप्रभुले उसका अभिप्रायहरू जाँच्नु हुन्छ।
3 तिनीले जे सुकै गर त्यसलाई परमप्रभुमा सुम्पिदेऊ, अनि तिम्रो योजना सफल हुनेछ।
© 2004, 2010 Bible League International