Print Page Options
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 राजा 3:1-4:17

योराम इस्राएलका राजा हुन्छन्

आहाबका छोरा योराम सामरियामा इस्राएलका राजा भए। यहोशापात यहूदाको राजा हुँदा अठाह्रौं बर्षकोसमयमा उनले शासन शुरू गरे। योरामले बाह्र बर्ष शासन गरे। योरामले ती कामहरू गरे जसलाई परमप्रभुले भूल कार्य भन्नु भएको थियो। तर योराम आफ्ना पिता र माता जस्ता थिएनन् किनभने उनले ती खाँबाहरू उखाले जसलाई उनका पिताले बालको पूजा गर्नका लागि बनाएका थिए। तर उनले नबातका छोरा यरोबामको जस्तो पाप गरिनै रहे। यारोबामले इस्राएलीहरूलाई पाप गर्न लगाए। योरामले यारोबामको पाप गर्न रोकेनन्।

मोआब इस्राएलबाट छुट्टिन्छ

मेशा मोआबका राजा थिए। मेशासँग धेरै भेंडा थिए। मेशाले एक लाख भेंडा र एक लाख भेंडाका ऊन इस्राएलका राजालाई दिए। तर जब आहाब मोआबका राजा इस्राएलका राजाको विरूद्धमा बागी भए।

तब राजा योराम सामरियाबाट निस्किए अनि इस्राएलका मानिसहरूलाई भेला गरे। योरामले यहूदाका राजा यहोशापात कहाँ दूतहरूलाई पठाए। योरामले भने, “मोआबका राजा मेरो विरूद्धमा बागी भएका छन्। के तिमी मोआबको विरूद्धमा लड्न मसँग जाने छौ?”

यहोशापातले भने, “अवश्य, म तिमीसँग जानेछु। मेरो मानिसहरू तिम्रा मानिसहरू जस्तै हुनेछन्। र मेरो घोडाहरू तिम्रा घोडाहरू जस्तै हुनेछन्।”

तीनजना राजाहरू एलीशासँग सल्लाह माग्छन्

यहोशापातले योरामलाई सोधे, “हामी कुन बाटोबाट जाऊँ?”

योरामले जवाफ दिए, “हामी एदोमको मरुभूमिबाट जानुपर्छ।”

यसकारण इस्राएलका राजा यहूदा र एदोमका राजाहरूसँगै गए। तिनीहरूलाई यात्रा गर्न सात दिन लाग्यो, त्यहाँ सेना र अरू पशुहरूका लागि पर्याप्त पानी थिएन। 10 अन्तमा, इस्राएलका राजा योरामले भने, “हाय, मेरो विचारमा मोआबीलीहरूबाट परास्त गर्नका लागि परमप्रभुले हामी तीन जना राजाहरूलाई एउटा ठाउँमा ल्याउनुभयो।”

11 तर यहोशापातले भने, “के यहाँ परमप्रभुका कुनै एकजना अगमवक्ताछन् यदि यहाँ छन भने हामी अगमवक्तालाई सोध्नु पर्छ जे परमप्रभु भन्नु हुन्छ हामीले त्यही गर्नु पर्छ।”

इस्राएलका राजाका सेवकहरूमध्ये एक जनाले भने, “शापातका छोरा एलीशा यहाँ छन्। एलीशा एलियाका सेवक थिए।”[a]

12 यहोशापातले भने, “परमप्रभुको वाणी एलीशासँग छ।”

यसकारण इस्राएलका राजा योराम, यहोशापात अनि एदोमका राजा एलीशालाई भेट्न गए।

13 एलीशाले इस्राएलका राजा (योरामलाई) भने, “तपाईं मबाट के चाहनुहुन्छ? आफ्ना माता-पिताका अगमवक्ताहरूकहाँ जानुहोस्!”

इस्राएलका राजाले एलीशालाई भने, “होइन, हामी तपाईसँग भेट्न आएका छौं किनभने परमप्रभुले हामी तीन जना राजाहरूलाई सँगै भेला हुन बोलाउनु भएको छ ताकि मोआबीहरूले हामीलाई परास्त गर्न नसकोस्।”

14 एलीशाले भने, “यहूदाका राजा यहोशापातको म सम्मान गर्छु अनि म सर्वशक्तिमान परमप्रभुको सेवा गर्दछु। उनी जिउँदै छन् भनेर नै म यहोशापातसँग मात्र भेट्न यहाँ आएँ। म तिम्रो अघि साँच्चो कुरा भन्छु, यदि यहोशापात यहाँ नभए, म तिमी प्रति ध्यान दिने थिईनँ। म सम्पूर्ण रूपमा तिम्रो अवहेलना गर्ने थिएँ। 15 तर अब मकहाँ यस्तो मानिस ल्याऊ जसले वीणा बजाउँछ।”

जब मानिसले वीणा बजायो, एलीशामा परमप्रभुको आत्मा आउनुभयो। 16 तब एलिशाले भने, “परमप्रभु भन्नुहुन्छ कन्दरामा दुलो खन। 17 परमप्रभु भन्नुहुन्छः तिमीले हावा देख्ने छैनौं, तिमीले पानी परेको देख्ने छैनौं। तर त्यो बेंसी पानीले भरिने छ। तब तिमी र तिम्रा गाईहरू र अरू पशुहरूले पिउने पानी पाउने छन्। 18 परमप्रभुका लागि यो गर्न सजिलो छ। उहाँले तिमीहरूलाई मोआबीहरूलाई जिताउनुहुनेछ। 19 तिमीहरूले प्रत्येक दरिलो शहर अनि प्रत्येक राम्रो शहरमाथि आक्रमण गर्ने छौ। तिमीहरूले प्रत्येक राम्रो रूख काट्ने छौ। तिमीहरूले सबै पानीको श्रोतहरू बन्द गर्ने छौ। तिमीहरूले प्रत्येक राम्रो खेतलाई ढुङ्गाले नष्ट पार्ने छौ जुन तिमीले फ्याँक्ने छौ।”

20 बिहानै बिहानको बलि दिने समयमा एदोमतिरबाट पानी बग्न थाल्यो अनि बेंसी भरियो।

21 मोआबका मानिसहरूले सुने, राजाहरू तिनीहरूको विरोधमा लडाईँ गर्न आएका छन्। यसकारण मोआबमा मानिसहरूले ती सबै मानिसहरूलाई जो बूढो भए पनि कवच धारणगर्न सक्थे तिनीहरूलाई जम्मा गरे। तिनीहरूले तयार भएर लडाईँका लागि सीमानामा पर्खिने काम गरे। 22 मोआबका मानिसहरू त्यस बिहान सबेरै उठे। उदाउँदै गरेको घाम घाँटीको पानी माथि चम्किरहेको थियो, अनि यो मोआबका मानिसहरूको रगत जस्तो देखिन्थ्यो। 23 मोआबका मानिसहरूले भने, “रगत हेर! राजाहरूले अवश्य नै एक अर्कासँग लडाईँ गरे। तिनीहरूले एक अर्कालाई सर्वनाश पारे होलान्। हामी लाशहरूबाट बहुमूल्य वस्तुहरू लिन जाऔं।”

24 मोआबी मानिसहरू इस्राएलीहरूको शिबिरमा आए। तर इस्राएलीहरू बाहिर निस्किए अनि मोआबी सेनामाथि आक्रमण गरे। इस्राएलीहरूले मोआबीहरूलाई लखेटे। इस्राएलीहरूले मोआबीसँग लडाइँ गर्न तिनीहरूलाई मोआबसम्म पछ्याए। 25 इस्राएलीहरूले शहरहरू असल पारे। तिनीहरूले मोआबमा प्रत्येक असल खेतमा ढुङ्गा फ्याँके। तिनीहरूले पानीका सबै मुहानहरू बन्दगरे र तिनीहरूले सबै असल रूख काटेर ढालिदिए। कीरहेरशेत मात्र ढुङ्गाको पर्खालसँग छोडियो। तर घुँयेत्रो हान्ने मानिसहरूले कीरहेरशेतलाई घेरे र त्यसमाथि आक्रमण गरे।

26 मोआबका राजाले थाह पाए, युद्ध जित्न उनकालागि साह्रै नै मुश्किल छ। यसकारण उनले तरवारसमेत सात सय मानिसहरूलाई एदोमका राजाको हत्या गर्न अनि सेनालाई परास्त गर्न पठाए। तर तिनीहरूले एदोमका राजालाई परास्त गर्न सकेनन्। 27 तब मोआबका राजाले आफ्नो जेठो छोरालाई लगे। यो त्यही छोरा थियो जो उनीपछि राजा हुनेवाला थिए। शहरको चारैतिर भित्ताहरूमाथि मोआबका राजाले आफ्नो छोरालाई होमबलिको रूपमा बलि चढाउन तयार भए। ठूलो रीस इस्राएलमाथि पर्यो। यसकारण इस्राएलका मानिसहरू मोआबका राजालाई छोडेर आफ्नो देशतिर फर्किए।

एक जना अगमवक्ताकी विधवा एलीशासित मद्दत माग्छिन्

अगमवक्ताहरूका समूह मध्ये एउटाकी पत्नीले एलीशालाई यसो भनेर बिन्ती गरिन्, “तपाईंको दास मेरो पति अहिले मरे। तपाईलाई थाहै छ कि उनले परमप्रभुको सम्मान गर्दथे। तर उनले एक जना मानिसको ऋण लिएका थिए। र अहिले त्यो मानिसले मेरो दुइजना छोराहरूलाई लिन र तिनीहरूलाई आफ्नो दास बनाउन आइरहेको छ।”

एलीशाले जवाफ दिए, “म कसरी तिम्रो मद्दत गर्न सक्छु? मलाई भन, तिमीसँग घरमा के छ?”

आइमाईले भनी, “मसित घरमा केही छैन। मसित एउटा भाँडोमा भद्रक्षको तेल मात्र छ।”

तब एलीशाले भने, “जाऊ र आफ्ना सबै छिमेकहरूबाट कचौराहरू मागेर ल्याऊ। सबै कचौराहरू खाली हुनुपर्छ। धेरै कचौराहरू ल्याऊ। त्यसपछि आफ्नो घर जाऊ अनि ढोकाहरू बन्द गर। तिमी र तिम्रा छोराहरू मात्र भित्र हुनेछौ। तब सबै ती भाँडाहरूमा तेल खन्याऊ। भाँडाहरू भर अनि तिनीहरूलाई बेग्लै ठाउँमा राख।”

यसकारण आइमाई एलीशाबाट विदा लिएर आफ्नो घर गई अनि ढोका थुनी। घरभित्र ऊ र उसका छोराहरू मात्र थिए। उसका छोराहरूले उसको नजिक भाँडाहरू ल्याए अनि उसले तेल भरी। उसले धेरै भाँडाहरू भरी। अन्तमा उसले आफ्नो छोरालाई भनी, “मलाई अर्को भाँडा देऊ।”

तर सबै भाँडाहरू भरिएका थिए। छोराहरूमध्ये एक जनाले आमालाई भन्यो, “अरू भाँडा छैन।” त्यस बेला आँङ्खोरामा तेल सकिएको थियो।

तब आइमाईले परमेश्वरका जनलाई के भयो भनी। एलीशाले उसलाई भने, “जाऊ, तेल बेच अनि बेचेपछि अफ्नो ऋण तिर्ने काम गर। तिमी र तिम्रा छोराहरू रहेको रूपियाँमा गुजारा गर्न सक्छौ।”

शुनैममा एक जना आइमाईले एलीशालाई एउटा कोठा दिन्छे

एकदिन एलीशा शुनैम तिर गए। त्यहाँ शुनैममा एक जना प्रख्यता आइमाई बस्थिइन्। यस आइमाईले एलीशालाई रोकेर आफूसँग खाना खान बिन्ती गरिन्। यसकारण एलीशा प्रत्येक पटक त्यस ठाउँ भएर जाने गर्थे त्यहाँ भोजन गर्न बस्थे।

आइमाईले आफ्नो लोग्नेलाई भनी, “हेर, म बुझ्न सक्छु एलीशा परमेश्वरका पवित्र जन हुन्। उनी सबै समय हाम्रो घर भएर जान्छन्। 10 एलीशाका लागि छानामाथि एउटा सानो कोठा बनाई दिउँ। त्यस कोठामा एउटा ओछ्यान राखिदिउँ। त्यहाँ एउटा चौकी, एउटा कुर्सि अनि एउटा बत्तीदानी राखिदिउँ। त्यसपछि जब तिनी हाम्रो घरमा आउँछन्, उनले आफ्नो लागि यो कोठा पाउने छन्।”

11 एकदिन एलीशा आइमाईको घरमा आए। उनी त्यस कोठामा गए अनि त्यहाँ विश्राम गरे। 12 एलीशाले आफ्नो सेवक गेहजीलाई भने, “यस शुनैमेली आइमाईलाई बोलाऊ।”

सेवकले शुनैमेली आइमाईलाई बोलायो र उ एलीशाको सामु उभियो। 13 एलीशाले आफ्नो सेवकलाई भने, “अब यस आइमाईलाई भन, ‘हेर तिमीले हाम्रो हेरचाह गर्ने ठूलो कार्य गरेकी छौ। तिम्रो लागि म के गर्न सक्छु? के तिमी चाहन्छौ, हामीले तिम्रो लागी राजालाई भन्नु पर्छ अथवा सेनाका कप्तानलाई?’”

आइमाईले भनी, “म यहाँ आफ्ना मानिसहरूको माझ मा बसेर सुखी छु।”

14 एलीशाले गेहजीलाई भने, “हामी उसका लागि के गर्न सक्छौं?”

गेहजीले उत्तर दिए, “मलाई थाह छ। उसको छोरा छैन अनि उसको लोग्ने बूढो भएको छ।”

15 तब एलीशाले भने, “उनलाई बोलाऊ।”

यसकारण गेहजीले आइमाईलाई बोलाए। ऊ आई अनि दैलौमा उभिई। 16 एलीशाले आइमाईलाई भने, “अर्को बसन्तमा यस समय तिमीले आफ्नो छोरालाई अंङ्गालेको हुने छौ।”

आइमाईले भनी, “होइन महाशय! परमेश्वरका जन, मसित ढाँट्ने काम नगर्नुहोस्।”

शुनैममा आइमाईको छोरा हुन्छ

17 तब आइमाई गर्भवती भई। एलीशाले भने जस्तै अर्को बसन्तमा आइमाईले छोरा जन्माई।

प्रेरित 14:8-28

पावल लिस्त्रा र डर्बीमा

लिस्त्रामा एकजना लङ्गडो मानिस थियो। ऊ जन्मै देखि लङ्गडो थियो अनि कहिले पनि हिंडेको थिएन। उसले पावलले भनेका कुराहरू सुन्यो। पावलले उसलाई सोझै हेरे अनि यो थाहा पाए कि उसमा जाति हुन्छु भन्ने प्रशस्त विश्वास थियो। 10 यसर्थ पावल जोडले चिच्याए, “आफ्नो खुट्टामा उभि!” त्यो मानिस उफ्रियो र वरिपरि हिँड्न थाल्यो।

11 जब पावलले जे गरे त्यो मानिसहरूले देखे तिनीहरू लाइकाओनिया भाषामा चिच्याए। तिनीहरूले भने, “देवताहरू मानिसहरू जस्तै भएका छन् अनि तिनीहरू हामीकहाँ आएका छन्!” 12 मानिसहरूले बर्णाबासलाई “जिउस”[a] र पावललाई “हर्मेस”[b] भन्न लागे किनभने उनी प्रमुख वक्ता थिए। 13 जिउसको मन्दिर शहरको नजिकमा थियो। त्यस मन्दिरका पूजाहारीले शहरका द्वारहरूमा केही साँढेहरू अनि फूलका मालाहरू ल्याए। त्यो पूजाहारी र त्यहाँ बस्ने मानिसहरूले पावल र बर्णाबासलाई बलि अर्पण गर्न चाहन्थे।

14 तर जब ती प्रेरितहरू पावल र बर्णाबासले त्यस्तो कुरा थाह पाए, तिनीहरूले आफ्नै लुगाहरू च्याते।[c] मानिसहरू तिर दौडे अनि चिच्याएः 15 “हे मानिसहरू हो! तिमीहरूले किन यसो गरिरहेकाछौ? हामी देवताहरू होइनौं! हामी तिमीहरू जस्तै मानिसहरू मात्र हौं! हामी तिमीहरूलाई सुसमाचार भन्न आयौं ताकि तिमीहरू यस्ता बेकारका कुराहरूबाट हट्न सक्छौ अनि जीवित परमेश्वर तर्फ फर्कन्छौ। उहाँ नै एक हुनुहन्छ जसले आकाश, पृथ्वी, समुद्र अनि यिनीहरूमा भएका हरेक थोक बनाउनु भयो।

16 “बितेका दिनहरूमा उहाँले सबै जातिहरूलाई आफ्नो इच्छा अनुसार बाँच्न दिनुभयो 17 तर पमेश्वरले गर्नु भएको कार्यले उहाँको वास्तविकताको प्रमाण गर्यो। उहाँले तिमीहरूका लागि असल कामहरू गर्नुभयो उहाँले तिमीहरूलाई आकाशबाट वर्षा दिनुभयो। उहाँले ठीक समयमा नै तिमीहरूलाई फसल दिनुभयो। उहाँले तिमीहरूलाई प्रशस्त आहार दिनुभयो र साथै तिमीहरूका हृदय आनन्दले परिपूर्ण पारिदिनु भयो।”

18 पावल र बर्णाबासले तिनीहरूलाई ती कुराहरू भने। तरै पनि तिनीहरूले ती भीडलाई तिनीहरूको बलिहरू अर्पण गर्न नदिनलाई निकै संघर्ष गर्नु पर्यो।

19 त्यसपछि एन्टिओक र आइकोनियमाबाट केही यहूदीहरू आए। तिनीहरूले पावल र बर्णाबासको विरुद्ध मानिसहरूलाई भड्काए अनि त्यसैकारणले तिनीहरूले पावलमाथि ढुङ्गा होने र शहरदेखि बाहिर तानी निकाले। मानसिहरूले पावललाई मारियो भनी सोचे। 20 येशूका चेलाहरू (विश्वासीहरू) पावलको वरिपरि जम्मा भए। अनि उनी उठे र शहरतिर फर्किए। अर्कोदिन उनी र बर्णाबसले त्यो शहर छाडे अनि डर्बी तिर लागे।

एन्टिओक तिर फर्काई

21 पावल र बर्णाबसले डर्बीमा सुसमाचार प्रचार गरे। धेरै मानिसहरू येशूका चेला भए। पावल र बर्णाबास लिस्त्रा, आइकोनियम र एन्टिओक शहर तिर फर्किए। 22 ती शहरहरूमा तिनीहरूले चेलाहरूलाई आत्मिकरूपले पराक्रमी तुल्याए। तिनीहरूले उनीहरूलाई विश्वासमा दृढ रहन सहायता गरे। तिनीहरूले भने, “हामी परमेश्वरको राज्यमा अनेक यातनासहेर प्रवेश गर्नु पर्छ।” 23 तिनीहरूले हरेक मण्डलीको निम्ति अग्रजहरू नियुक्त गरे। तिनीहरूले ती अग्रजहरूका निम्ति उपवास र प्रार्थना गरे। ती अग्रजहरूले प्रभुमा आफ्ना विश्वास सुम्पे अनि यसैकारणले पावल र बर्णाबासले तिनहरूलाई उहाँको देखरेखमा छाडे।

24 पावल र बर्णाबास पिसिदिया देश भएर प्यामफिलिया भन्ने देशमा आए। 25 तिनीहरूले सन्देश पर्गा शहरमा प्रचार गरे अनि अटालिया भन्ने शहर तर्फ गए। 26 अनि त्यहाँबाट समूद्र यात्रा गरेर तिनीहरू सिरिया अन्तर्गत एन्टिओकतिर गए। यही एउटा शहर हो जहाँ विश्वासीहरूलाई परमेश्वरको अनुग्रहमा सुम्पिएर यो काम गर्न पठाए। अब तिनीहरूले त्यो काम सिद्धयाएका थिए।

27 जब पावल र बर्णाबास त्यहाँ आईपुगे तिनीहरूले मण्डलीका सदस्यहरूको एउटा सभा बोलाए। परमेश्वरले तिनीहरूसँग जे गर्नु भयो सो वृतान्त तिनीहरूले विश्वासीहरूलाई बताइदिए। तिनीहरूले भने, “परमेश्वरले ढोका उघारिदिनु भयो ताकि अन्य जातिहरूले पनि विश्वास गर्न सकुन्!” 28 पावल अनि बर्णाबास चेलाहरूसित धेरै लामो समय सम्म एण्टिओकमा बसे।

भजनसंग्रह 140

प्रमुख संगीतकारलाई: दाऊदको भजन।

हे परमप्रभु, मलाई दुष्ट मानिसबाट बचाउनु होस्,
    क्रुर मानिसहरूबाट मेरो रक्षा गर्नुहोस्।
तिनीहरू पापपूर्ण कामहरू गर्नलाई योजना बनाउँछन्।
    तिनीहरू युद्ध गर्नलाई सधैँ नै तयार हुन्छन्।
तिनीहरूका जिब्राहरू विषालु सर्पहरूका जस्तै छन्।
    त्यो सर्पको विष तिनीहरूको जिब्रो मुनि रहे जस्तै हो।

हे परमप्रभु, मलाई दुष्ट मानिसहरूबाट जोगाई दिनुहोस्,
    क्रुर मानिसहरूबाट मेरो रक्षा गरिदिनु होस,
    तिनीहरू मेरो पछि लागेर खोज्दछन् र कष्ट दिने प्रयास गर्दछन्।
ती अहङ्कारीहरूले मेरो निम्ति पासो थापे।
    तिनीहरूले मलाई पक्रन भनी जाल फिँजाए।
    तिनीहरूले मेरो बाटोमा पासो थापे।

हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
    हे परमप्रभु, मेरो प्रार्थना सुनी दिनुहोस्।
हे परमप्रभु, तपाईं मेरो बलवान स्वामी हुनुहुन्छ।
तपाईं मेरो मुक्तिदाता हुनुहुन्छ।
    तपाईं मेरो मुकुट सरह हुनुहुन्छ,
    जसद्वार युद्धमा मेरो शिर सुरक्षित पारिन्छ।
हे परमप्रभु, ती मानिसहरू दुष्ट छन्।
    तिनीहरूले चाहेका कुराहरू नपाऊन्।
    तिमीहरूका योजनाहरू सफल नहोस्।

परमप्रभु, कुनै पनि शत्रुहरूलाई जित्न नदिनुहोस्।
ती मानिसहरूले दुष्ट योजना बनाँउछन्।
    तर ती दुष्ट कार्यहरू उनीहरूमाथि नै परून्।
10 जल्दै गरेको कोईलाहरू उनीहरूकै शिरमा बर्षोस्,
    मेरो शत्रुहरूलाई आगोमा फ्याँकियोस्,
तिनीहरूलाई चिहानमा फ्याँकिदिनु होस्
    ताकि उनीहरू चढेर आउनु कहिल्यै नसकुन्।
11 परमप्रभु, ती झूटाहरूलाई बाँच्न नदिनुहोस्।
    नराम्रा कुराहरू ती नराम्रा मानिसहरूमा नै घटोस्।
12 म जान्दछु कि परमप्रभुले दीन-दुःखी मानिसहरूलाई,
निष्पक्ष रूपले न्याय गर्नुहुनेछ
    परमेश्वरले असहाय मानिसहरूलाई साथ दिनुहुनेछ।
13 धर्मी मानिसहरूले, तपाईंको नाउँको गुण-गान गर्नेछन् परमप्रभु।
    सोझा मानिसहरूले तपाईंलाई पूज्ने छन्।

हितोपदेश 17:22

22 आफ्नो मनलाई प्रसन्न राख्नु नै सब भन्दा असल औषधी सेवन गर्नु हो। दुःखेको मनले हड्डीहरू पनि नरम पारिदिन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International