The Daily Audio Bible
Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.
राजा दाऊदको मृत्यु
2 दाऊदको मर्ने समय आइसकेको थियो। यसकारण दाऊदले सुलेमानसँग कुरा कानी गरे अनि उनलाई भने, 2 “सबै मानिस जस्तैं म मर्न आँटेको छु। तर तँ शक्तिशाली हुँदै जादैछस् अनि महान् व्यक्ति बनिंदैछस। 3 अब परमप्रभु तिम्रो परमेश्वरको सबै आदेशहरू सावधानीका साथ पालन गर। उहाँका सबै नियम, आदेश, निर्णय, सल्लाह र करार सावधानीका साथ पालन गर। मोशाको व्यवस्थामा लेखिएका प्रत्येक कुराको पालन गर। यदि तैंले यसो गरिस् भने तब आफूले गरेको प्रत्येक काममा अनि गएको प्रत्येक ठाउँमा सफल हुनेछस्। 4 यदि तैंले परमेश्वरको आज्ञा पालन गरिस्, भने परमेश्वरले मलाई दिनुभएको वचन पूरा गर्नुहुनेछ परमेश्वरले भन्नु भएकोछ, ‘यदि तेरा छोराहरूले मेरो आदेश अनुसार हार्दिक श्रद्धाका नियमहरू पालन गरे भने तब तेरो परिवारबाट एक जना मानिस सदा नै इस्राएलको राजा हुनेछ।’”
5 दाऊदले यो पनि भने, “तँलाई थाहै छ, सरूयाहको छोरा योआबले मसित के गरेका थिए? उसले इस्राएलीहरूको सेनाका दुइजना सेनापतिहरू, नेराको छोरा अबनेर अनि येतेरको छोरा अमासालाई मारेको थिए। याद गर, उनले तिनीहरूलाई शान्तिको समयमा मारेका थिए। यी मानिसहरूको रगतले उसको तरवारको बेंड पटुका र खुट्टाको जुत्ता रंगिएको थियो। मैले उसलाई दण्ड दिनु पर्थो। 6 तर अब राजा तँ छस्। यसकारण तैंले उसलाई आफूले सोचेर बुद्धिमत्तापूर्ण दण्ड दिनुपर्छ। तर तैंले उसलाई मार्छु नै भनेर निश्चय गर्नुपर्छ। उसलाई बूढेसकालमा शान्तिका साथ मर्ने मौका नदिनु।
7 “गिलादको बर्जिल्लैका सन्ततिप्रति दयालु हुनु। तिनीहरूलाई आफ्नो मित्र सम्झिनु अनि आफ्नो मेजमा भोजन गराउनु। तेरो दाजु अब्शालोमबाट भागी हिँड्दा तिनीहरूले मलाई सहायता गरेका थिए।
8 “अनि याद गर, गेरका छोरा शिमी अझै यहीं छन्। उनी बहूरीमको बिन्यामीन कुल समूह हुन्। याद गर, म महनेमतिर भागेको दिन उनले मेरो विरूद्धमा नराम्रो कुरा भनेका थिए। तब उनी मसित भेट गर्न यर्दन नदीमा आएका थिए। तब मैले उनलाई वचन दिएको थिएँ। मैले परमेश्वर सामु प्रतिज्ञा गरेको थिएँ म शिमीलाई मार्दिन। 9 अब उनलाई दण्ड नदिई न छोड। तिमी बुद्धिमान मानिस हौ, उनीसित के गर्नुपर्छ तिमी राम्ररी जान्दछौ। तर उनलाई बूढेसकालमा शान्तिका साथ मर्न नदेऊ।”
10 तब दाऊदको चोला उठ्यो। उनलाई दाऊदशहरमा गाडीयो। 11 दाऊदले इस्राएलमा 40 बर्ष शासन चलाए। उनले हेब्रोनमा सात बर्ष अनि यरूशलेममा 33 बर्ष शासन गरे।
सुलेमानद्वारा राज्यको शासन-नियन्त्रण
12 अब सुलेमान राजा भए। आफ्ना पिता दाऊदको सिंहासनमा उनी विराजमान भए अनि आफ्नो राज्यको शासन पूर्ण नियन्त्रणका साथ गर्न थाले।
13 तब हग्गीतको छोरा अदोनियाह सुलेमानकी आमा बतशेबा समक्ष गए। बतशेबाले उनलाई सोधिन्, “के तिमी शान्त मन लिएर आएका हौ?”
अदोनियाहले जवाफ दिए, “ज्यू, यो शान्तिपूर्ण भेट नै हो। 14 मैले तपाईंलाई केही भन्नु छ।”
बतशेबाले, “भन भनिन्।”
15 अदोनियाहले भने, “तपाईंलाई सम्झना छ कुनै समय राज्य मेरो थियो। इस्राएलका सबै जनगण मलाई राजा ठान्दै थिए। तर स्थिति बदलियो। अहिले मेरो भाइ राजा भएको छ परमेश्वरले उसलाई राजाको रूपमा चुन्नुभयो। 16 यसर्थ अहिले म तपाईंसँग एक कुरा सोध्न चाहन्छु। कृपया मलाई हुँदैन नभन्नु होला।”
बतशेबाले भनिन्, “तिमी के चाहन्छौ?”
17 अदोनियाहले भने, “मलाई थाहा छ तपाईंले भनेको कुनै पनि कुरा राजा सुलेमान मान्नु हुन्छ। कृपया शूनम्मी युवती अबीशगसँग विवाह गर्ने अनुमति मलाई उनीबाट दिलाई दिनुहोस्।”
18 तब बतशेबाले भनिन्, “ठीक छ, म तिम्रो लागि राजासँग कुरा गर्नेछु।”
19 यसकारण बतशेबा राजा सुलेमानसँग कुराकानी गर्न गइन्। राजा सुलेमानले उनलाई देखे अनि उनीसँग कुरा गर्न उभिए। तब उनले निहुरिएर ढोग भेट गरे अनि सिंहासनमा बसे। उनले चाकरहरूलाई आमाका लागि अर्को सिंहासन ल्याउन भने। तब तिनी उनको दाहिने पट्टि बसिन्।
20 बतशेवाले उनलाई भनिन्, “म तँलाई एउटा सानो कुराका भन्छु। कृपया मलाई हुदैन नभन्नु।”
राजाले भने, “आमा, तपाईंले चाहेको कुनै पनि कुरा माग्न सक्नु हुनेछ। म तपाईंलाई नाइनास्ति गर्ने छैन।”
21 यसर्थ बतशेबाले भनिन्, “शूनम्मी अबीशगसँग विवाह गर्ने अनुमति तेरो दाजु अदोनियाहलाई दे।”
22 राजा सुलेमानले आफ्नी आमालाई जवाफ दिए, “तपाईं किन मसित अबीशगलाई दिन माग्नु हुँदैछ? यो मलाई उसलाई राज्य देऊ भनी माग्नु जस्तैं नै हो। जे भए ता पनि उनी मेरो ठूला दाज्यू हुन्। पूजाहारी एबीयातार र सरूथाहका छोरो योआबले उनलाई सघाउने छन्!”
23 तब राजा सुलेमानले परमप्रभुको नाउँमा शपथ गरे। उसले भने, “यदि मैले यसका लागि अदोनियाहलाई दण्ड दिइन भने परमेश्वरसित मलाई नराम्रो गर्नुहोस् भनी प्रार्थना गर्नेछु अनि उसले आफ्नो जीवनद्वारा मूल्य चुकाउनु पर्नेछ। 24 परमप्रभुले मलाई इस्राएलको राजा बनाउनुभयो। उहाँले मलाई मेरा पिता दाऊदको राज-सिंहासन दिनुभएकोछ परमेश्वरले आफ्नो वचन पूरा गर्नुभयो अनि राज्य म र मेरो परिवारलाई दिनुभयो। जसरी साँच्चैनै परमप्रभु जीवित हुनुहुन्छ भने अदोनिया आजनै मर्नेछ।”
25 राजा सुलेमानले यहोदाका छोरा बनायाहलाई आदेश दिए। बनायाह बाहिर निस्किए अनि अदोनियाहलाई मारे।
26 तब राजा सुलेमानले पूजाहारी एबीयातारलाई भने, “मैले तँलाई मार्नु पर्थ्यो, तर म तँलाई आफ्नो घर अनातोत फर्किने मौका दिन्छु। म तँलाई अहिले मार्ने छैन् किनभने तैंले परमप्रभु हाम्रा मालिकको पवित्र सन्दूक मेरो पिताको राजा दाऊदको निम्ति बोकेको थिइस् अनि मेरो पिताको सबै कष्ट विभाजन गरेको थिइस्।” 27 सुलेमानले एबीयातारलाई परमेश्वरको पूजाहारीको रूपमा सेवा गर्न नपाउने कुरा बताए। यो यसरी नै भयो जसरी परमेश्वरले बताउनु भएको थियो। परमेश्वरले पूजाहारी एली अनि उनको परिवारको विषयमा शीलोमा बताउनु भएको थियो। एबीयातार एली परिवारका थिए।
28 योआबले यस विषयमा सुने अनि डराए। उनले अदोनियाहको समर्थन गरेका थिए, तर अब्शालोमले गरेनन्। योआब परमेश्वरको पालतिर दगुरे अनि वेदीको सींग समात्न पुगे। 29 कसैले राजा सुलेमानलाई बताए योआब परमेश्वरको पालको वेदीमा छ। यस कारण सुलेमानले यहोयादाका छोरा बनायाहलाई गएर उसलाई मार्ने आदेश दिए।
30 बनायाह परमेश्वरको पालमा गए अनि योआबलाई भने, “राजाको आदेश छ, ‘बाहिर आइज!’”
तर योआबले जवाफ दिए, “होइन, म यहीं नै मर्छु।”
यसकारण बनायाह फर्केर राजा कहाँ आए अनि उनलाई योआबले भनेको कुरा बताए। 31 तब राजाले बनायाहलाई आदेश दिए, “ऊ जसो भन्छ त्यसै गर! उसलाई त्यहीं मार अनि गाडिदे। तब मेरो परिवार अनि म योआबको दोषबाट मुक्त हुनेछौं। योआबले निर्दोष मानिसहरूको हत्या गरेको हुनाले यो दोष सृष्टि भएको थियो। 32 योआबले ऊ भन्दा धेरै निर्दोष मानिसहरूको हत्या गर्यो। तिनीहरू नेरका छोरा अबनेर अनि येतेरका छोरा अमासा थिए। अबनेर इस्राएलको सेनाका सेनापति थिए अनि अमासा यहूदाको सेनाका सेनापति थिए। मेरो पिता दाऊद यहाँ थिएनन् तिनीहरू योआबद्वारा मारिएको हो भनि यसकारण परमप्रभुले योआबलाई उसले मारेका मानिसहरूको दण्ड दिनुहुनेछ। 33 तिनीहरूको मृत्युका लागि ऊ अपराधी हुनेछ अनि उसको परिवार पनि सदाका लागि दोषी हुनेछ। तर परमेश्वरले दाऊद, उनका सन्तानहरू, उनको राज परिवार र उनको राज्यलाई सदा नै शान्ति दिनु हुनेछ।”
34 यसै कारण यहोयादाका छोरा बनायाहले योआबलाई मारे। योआबलाई मरुभूमिमा उनको घरको नजिकै नै गाडीयो। 35 तब सुलेमानले यहोयादाका छोरा बनायाहलाई योआबको ठाउँमा सेनाको सेनापति बनाए। सुलेमानले एबीयातारको ठाउँमा सादोकलाई नयाँ पूजाहारीको पदमा नियुक्त पनि गरे। 36 त्यसपछि राजाले शिमीलाई बोलाए। राजाले उनलाई भने, “यहाँ यरूशलेममा आफ्नोलागि एउटा घर बनाऊ। त्यस घरमा बस अनि शहर नछोड। 37 यदि तिमी शहर छोडछौ अनि किद्रोनको खोल्सा पारी जान्छौ भने तिमीलाई मारिने छ अनि यो नै तिम्रो आफ्नो दोष हुनेछ।”
38 यसकारण शिमीले जवाफ दिए, “महाराज, ठीकै छ। म तपाईंको आदेश पालन गर्नेछु।” यस कारण शिमी लामो अवधिसम्म यरूशलेममा बसे। 39 तर तीन बर्षपछि शिमीका दुइ जना दासहरू भागे। तिनीहरू गातका राजा, माकाका छोरा आकीश कहाँ गए। शिमीले सुने, उनका दासहरू गातमा छन्। 40 यसर्थ शिमीले आफ्नो जिन खच्चडमाथि राखे अनि गातमा राजा आकी शसमक्ष आफ्ना दासहरू लिन गएका थिए। उनले तिनीहरूलाई त्यहाँ भेटे अनि घर फर्काए।
41 तर कसैले सुलेमानलाई सुनायो, शिमी यरूशलेमबाट गात गए अनि फर्केर आए। 42 यस कारण सुलेमानले उनलाई बोलाए। सुलेमानले भने, “मैले परमेश्वरको नाउँमा तँ सित शपथ गराएको यदि तैंले यरूशलेम छाडिस भने तँ मर्ने छस्। मैले चेताउनी दिएको थिएँ, यदि तँ कत्तै गइस् भने तँ मारिने छस् अनि त्यो तेरो आफ्नै दोष हुनेछ जे भनेको थिंए त्यसमा तँ समहत भइस् तैंले भनिस् तैंले मेरो आज्ञा पालन गर्नेछु। 43 परमप्रभुको नाउँमा तैंले गरेको प्रतिज्ञा किन उलंघन गरिस्? किन तैंले मेरो आज्ञा पालन गरिनस्? 44 तँलाई थाहा छ तैंले मेरा पिताको विरूद्धमा धेरै भूल कामहरू गरेको थिइस्। अब ती भूल कामका लागि परमेश्वरले तँलाई दण्ड दिनु हुनेछ। 45 तर परमेश्वरले मलाई आशीर्वाद दिनु हुनेछ। उहाँले दाऊदको राज्यलाई सधैँ नै सुरक्षित राख्ननु हुनेछ।”
46 तब राजा सुलेमानले यहोयादको छोरा बनायाहलाई शिमीको हत्या गर्ने हुकूम दिए अनि उनले त्यसै पालन गरे। अब राज्यमा सुलेमानको पूर्ण नियन्त्रण थियो।
सुलेमानलाई बुद्धिको चाहना
3 सुलेमानले मिश्रका राजा फिरऊनकी छोरीसँग विवाह गरेर उनीसँग सन्धि गरे। सुलेमानले उनलाई दाऊद शहरमा ल्याए। यस समयमा सुलेमान आफ्नो महल र परमप्रभुको मन्दिरको निर्माण गर्दै थिए। सुलेमान यरूशलेमको वरिपरि पर्खाल पनि बनाइरहेका थिए। 2 मन्दिरको निर्माण-कार्य पूरा भइसकेको थिएन। यसकारण मानिसहरू अग्लो ठाउँहरूमा बनाइका वेदीहरूमा पशु बलि दिइरहेका थिए।
हननिया र सफीरा
5 हननिया नाँउ भएको एक मानिस थिए। उनकी स्वास्नीको नाउँ सफीरा थियो। हननियाले केही सम्पिति बेचे। 2 तर उनले बेचेर पाएको पैसाको केही अंश मात्र प्रेरितहरलाई दिए। उनले बचेको पैसाको केही अंश आफ्नो लागि राखे। उनकी स्वास्नीलाई त्यो कुरा थाहा थियो तर ऊ पनि सहमत थिई।
3 पत्रुसले भने, “हननिया, तिमीले किन आफ्नो हृदय शैतानलाई नियन्त्रण गर्न दियौ? तिमीले पवित्र आत्मालाई धोका दिने प्रयास गर्यौ। तिमीले तिम्रो जमीन बेच्यौ, तर आफ्नै लागि तिमीले किन बेचेको पैसाबाट केही अंश राख्यौ? 4 जमीन बेच्न अगाडी, त्यो तिम्रो थियो। अनि त्यो बेची सेकपछि पनि, तिमी त्यो पैसा तिमीले चाहेको कुरामा चलाउन सक्थ्यौ। यस्तो नराम्रो काम गर्ने विचार तिम्रो मनमा किन आयो? तिमीले परमेश्वरलाई ढाँट्यौ हामी मानिसलाई होइन।”
5-6 जब हननियाले त्यस्तो सुने, उनी लडे र मरिहाले। केही युवाहरू आए अनि उनको शरीर ढाकिदिए। त्यसपछि उनको लाश बाहिर निकालेर गाडिदिए! अनि प्रत्येक मानिसले त्यस्तो घट्नाको विषयमा सुनेपछि भयभीत बने।
7 प्रायः तीन घण्टा पछि तिनकी स्वास्नी सफीरा भित्र आई। उसलाई आफ्नो लोग्ने प्रति त्यस्तो घट्ना घट्न गएको थाहा थिएन। 8 पत्रुसले उसलाई भन्यो, “जमीन बेचेर तिमीले कति पैसा पायौ, मलाई भन। यति पैसामै तिमीले जमीन बेच्यौ?”
सफीराले उत्तर दिइ, “हो, हामीले जमीन बेचेर पाएको पैसा त्यति नै हो।”
9 पत्रुसले भन्यो, “किन तिमी र तिम्रो लोग्ने प्रभुको आत्मा जाँच्न सहमत भयौ? सुन! तिमीले ती पदचापहरू सुन्यौ? यी ती मानिसहरूका हुन जो भर्खरै तिम्रो लोग्नेलाई दफन गरेर दैलोमा आइपुगेका छन्! तिनीहरूले तिमीलाई पनि त्यसै गरी बोकेर बाहिर लानेछन्।” 10 त्यति नै बेला सफीरा उसको खुट्टामा लडी र प्राण त्यागि। ती युवाहरू आए अनि उसलाई मरिसकेको भेट्टाए। तिनीहरूले उसलाई त्यसरी नै बाहिर लगे अनि उसलाई उसको लोग्नेकै छेउमा गाडिदिए। 11 जम्मै विश्वासीहरू र अन्य मानिसहरूले ती घट्नाहरू सुनेपछि सबै भयग्रस्त भए।
प्रभुका प्रमाणहरू
12 प्रेरितहरूले मानिसहरू माझ अनेक चमत्कारहरू अनि आर्श्चयमय कार्यहरू गरे। प्रेरितहरू एकैसाथ सुलेमानको दलानमा थिए। तिनीहरू सबैको एउटै उद्देश्य थियो। 13 कसैले पनि प्रेरितहरूसँग सामेल हुने आँट गरेनन् तर सबै मानसिहरूले प्रेरितहरूको विषयमा राम्रै कुरा गरे। 14 अनि धेरै मानिसहरू, पुरुषहरू र स्त्रीहरूले प्रभुमा विश्वास गरे अनि विश्वासीहरूको टोलीमा सामेल भए। 15 यसकारण तिनीहरूले बिमारी मानिसहरूलाई गल्लीहरूमा ल्याए। पत्रुस आइरहेकाछन् भन्ने मानिसहरूले सुनेका थिए। यसैले तिनीहरूले बिमारीहरूलाई ओछ्यान अनि चट्टाइहरूमा राखे। किनभने तिनीहरूले सोचे यदि पत्रुसको छाया सम्म पनि बिमारीहरूमा पर्यो भने ती बिमारीहरूलाई निको हुन यथेष्ट हुनेछ। 16 मानिसहरू यरूशलेमका वरिपरिका शहरहरूबाट आएका थिए। तिनीहरूले बिमारीहरू र साथै तिनीहरूलाई पनि ल्याए जसलाई दुष्ट आत्माले सताएको थियो। तिनीहरू सबै निको भए।
यहूदीहरूले प्रेरितहरूलाई रोक्ने प्रयास
17 प्रधान पूजाहारी र उनका साथीहरू (त्यस टोलीलाई सदुकीहरू भनिन्थ्यो) इर्ष्याले भरिए। 18 तिनीहरूले प्रेरितहरूलाई पक्रे अनि जेलमा थुने। 19 तर राती प्रभुको दूतले जेलको दैलोहरू खोलिदिए अनि तिनीहरूलाई बाहिर ल्याए अनि भने, 20 “जाऊ र मन्दिर प्राङ्गणमा उभिनू अनि मानिसहरूलाई यो नयाँ जीवनको विषयमा प्रत्येक कुरा वर्णन गर्नु।” 21 जब प्रेरितहरूले यो सुने, तिनीहरू मन्दिर प्राङ्गणमा विहानै गए अनि सिकाउन शुरू गरे।
प्रमुख पूजाहारी र उनका साथीहरू आई पुगे। तिनीहरूले यहूदी मानिसका समस्त अगुवाहरू सहित सभाघरमा सभा डाके। तिनीहरूले प्रेरितहरूलाई कैंदखानाबाट ल्याउन भनी केही मानिसहरू पठाए। 22 जब तिनीहरू जेल गए तिनीहरूले प्रेरितहरूलाई पाउन सकेनन्। तब तिनीहरू फर्केर आए अनि यस विषयमा यहूदी अगुवाहरूलाई बताए। 23 तिनीहरूले भने, “जेल बन्द र सुरक्षित रूपले ताल्चा मारेको थियो। प्रहरीहरू दैलोमा उभिरहेका थिए। तर जब हामीले दैलो खोल्यौं, जेल खाली थियो।” 24 मन्दिरका प्रहरीका कप्तान र मुख्य पूजाहारीहरूले त्यो सुने। तिनीहरू अन्योलमा परे। तिनीहरू यसबारेमा अर्श्चयचिकत भए अनि भने, “यसको परिणाम अब के हुने हो?”
25 तब अर्को मानिस आयो र तिनीहरूलाई भन्यो, “ध्यान दिनुहोस्! जसलाई तपाईंहरूले जेलमा हाल्नुभएको थियो तिनीहरू मन्दिरको प्रागंणमा उभिरहेका छन्। तिनीहरूले मानिसहरूलाई शिक्षा दिइरहेका छन्।”
26 त्यसपछि कप्तान र उनका मानिसहरू बाहिर निस्के अनि प्रेरितहरूलाई पक्रे अनि तिनीहरूलाई ल्याए। तर सिपाहीहरूले तिनीहरूलाई केही बलजफ्ती गरेनन्, किनभने तिनीहरू जनतासँग डराउँथे। सिपाहीहरू डराए किनभने मानिसहरू क्रोधित हुनेछन् अनि तिनीहरूलाई ढुङ्गा हान्नेछन्।
27 सिपाहीहरूले प्रेरितहरूलाई यहूदी सभामा ल्याए अनि यहूदी अगुवाहरू समक्ष उभ्याए। प्रधान पूजाहारीले सोध खोज गरे। 28 उनले भने, “यस मानिसको विषयमा मानिसहरूलाई कहिले पनि केही नसिकाउनु भनी हामीले तिमीहरूलाई कडा आदेस दिएका थियौं। तर हेर, तिमीहरूले के गरेकाछौं! तिमीहरूले यरूशलेम नै तिमीहरूको शिक्षाले भरिदियौ। तिमीहरूले यस मानिसको मृत्युको जिम्मेवार हामीलाई ठहर्याउन कोशिश गरिरहेछौ।”
29 पत्रुस र अन्य प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूलाई भन्दा परमेश्वरलाई मान्नु पर्छ। 30 तिमीहरूले येशूलाई मार्यौ। तिमीहरूले उहाँलाई क्रूसमा झुण्ड्यायौ। तर परमेश्वरले जो हाम्रा पुर्खाहरूका परमेश्वर हुनहुन्छ उहाँलाई मृत्युबाट बौराउनु भयो। 31 येशूलाई परमेश्वरले अगुवा अनि मुक्ति दाताको रुपमा आफ्ना दाहिने तर्फ उठाउनु भयो। परमेश्वरले यसो गर्नुभयो ताकि सबै यहूदीहरूले आफ्ना हृदय र जीवन परिवर्तन गर्न सकुन् अनि पापहरूका निम्ति उहाँबाट क्षमा प्राप्त गर्न सकुन्। 32 हामी यी कुराका गवाही छौ। अनि पवित्र आत्मा पनि जो परमश्वरले तिनीहरूलाई दिनुभएको थियो जसले उहाँको आज्ञा पालन गरे, यी कुराहरूको लागि गवाही छन्।”
33 यहूदी नेताहरू यी कुरा सुनेपछि रिसले चूर भए। तिनीहरूले प्रेरितहरूलाई मार्न चाहन्थे। 34 फरिसीहरू मध्ये एकजना त्यस सभामा जुरूक्क उठे, उसको नाउँ गमलिएल थियो। उनी शास्त्री थिए र सबै जनताले उनलाई इज्जत गर्थे। तिनले मानिसहरूलाई केही क्षणको लागि प्रेरितहरूलाई सभागृहबाट बाहिर लैजान भने। 35 त्यसपछि उनले तिनीहरूलाई भने, “इस्राएलका मानिसहरू हो, यी मानिसहरू प्रति तपाईंहरूले जे गर्न योजना गर्नु हुँदैछ त्यसमा सावधान हुनु होस्। 36 याद गर केही समय अघि के भएको थियो जब थ्यूदास प्रकट भयो? तिनले आफू मुख्य मानिस भएको दावी गरे। झण्डै चार सय मानिसहरूले उनलाई साथ दिए। तर उसलाई मारियो। उसको चेलाहरू छरपष्ट भए अनि आन्दोलन त्यसै शेष भयो। 37 त्यसपछि गालीलवासी यहूदा नाउँ भएको एकजना मानिस आए। यो जनगणनाको समय थियो। उसले केही मानिसहरूलाई आफूपछि लाग्न पनि लगाए र अगुवाई गरे। ऊ पनि मारिए। अनि तिनका पछि लाग्नेहरू छरपष्ट भए। 38 यसर्थ अब म तिमीहरूलाई भनिरहेछुः ती मानिसहरूबाट टाढ रहौ। तिनीहरूलाई एक्लै छाडिदेऊ। यदि तिनीहरूको योजना मानिसहरूबाट अथवा जे तिनीहरूले गरिरहेका छन् त्यो मानिसहरूबाट हो भने यो असफल हुनेछ। 39 तर यदि यो परमेश्वरबाट भएको हो भने, तब तिमीहरूले तिनीहरूलाई रोक्नु सक्ने छैनौं। तिमीहरूको लडाँई परमेश्वर स्वयंको विरुद्धको लडाईं भएर समाप्त होला।”
गमलिएलले भनेको कुरामा यहूदी अगुवाहरू सहमत भए। 40 तिनीहरूले प्रेरितहरूलाई फेरि बोलाए। तिनीहरूले तिनीहरूलाई कुट-पिट गरे अनि येशूको विषयमा मानिसहरूलाई केही अझ अरू नबताउनु भने। त्यसपछि तिनीहरूले तिनीहरूलाई छाडी दिए। 41 प्रेरितहरू त्यो सभा छाडेर गए। येशूको नाउँमा यसरी अपमानित पाइनु योग्य भएकोमा उनीहरू खुशी भए। 42 तिनीहरूले मानिसहरूलाई शिक्षा दिन छाडेनन् अनि “येशू” नै “ख्रीष्ट” हुनुहुन्छ भन्ने सुसमाचार मानिसहरूलाई भन्न छाडेनन्। तिनीहरूले प्रत्येक दिन मन्दिरमा, घर-घरमा त्यसरी नै प्रचार गरे।
यात्राको गीत।
1 मानिसहरू जसले परमप्रभुमाथि भरोसा राख्दछन्,
तिनीहरू सियोन पर्वत जस्तो हुनेछन्।
तिनीहरू कहिल्यै पनि हल्लिने छैनन।
तिनीहरू सदा-सर्वदा रहनेछन्।
2 पर्वतहरू सारा यरूशलेम वरिपरि छन्।
अनि परमप्रभु आफ्ना मानिसहरूको वरिपरि हुनुहुन्छ,
उहाँले आफ्ना मानिसहरूलाई सदा-सर्वदा रक्षा गर्नुहुनेछ।
3 दुष्ट मानिसहरूले धर्मी मानिसहरूको देशलाई अधीन गर्न कहिल्यै सक्दैन।
यदि त्यस्तो भयो भने, असल मानिसहरूले पनि अनुचित कामहरू गर्न थाल्दछन्।
4 हे परमप्रभु, धर्मी मानिसहरू प्रति हितकारी बन्नुहोस।
पवित्र हृदय भएकाहरू प्रति हितकारी बन्नुहोस्।
5 दुष्ट मानिसहरूले कपटपूर्ण कामहरू गर्दछन्।
परमप्रभुले ती दुष्टहरूलाई दण्ड दिनुहुनेछ।
त्यहाँ इस्राएल मा शान्ति छाओस्।
25 कहिले काही यस्तो लाग्छ कि बाटो सही छ, तर अन्त्यमा त्यस बाटोले मृत्यु तिर पुर्याउँछ।
© 2004, 2010 Bible League International