The Daily Audio Bible
Today's audio is from the CEV. Switch to the CEV to read along with the audio.
सुलेमानको महल
7 राजा सुलेमानले आफ्नो लागि एउटा महल बनाए। उसको महल बनाउनका लागि 13 बर्ष लाग्यो। 2 उनले “लबानोनको वन” नाउँ भएको भवन बनाए। यो 100 हात लामो, 50 हात अनि 30 हात अग्लो थियो। यसमा चार लहर देवदारका खाम्बाहरू थिए। प्रत्येक खाम्बाको माथि देवदारको मुकुट थियो। 3 खाम्बाहरूको लहरमाथि देवदारूका दलमीहरू थिए। तिनीहरूले देवदारूको दलमीहरूको माथि छानाका लागि देवदारूको तख्ता ठोकेका थिए। खाम्बाको प्रत्येक खण्डमा 15 वटा दलमीहरू थिए। सब जम्मा 45 वटा दलमीहरू त्यहाँ थिए। 4 त्यहाँ तीनलहर एकाआर्कामा फर्किएका ढोकाहरू थिए। 5 प्रत्येक छेऊमा तीनवटा दैलाहरू थिए। सबै ढोकाहरू अनि चौखटहरू चारकुने थिए।
6 सुलेमानले “खाम्बाहरूद्वार मण्डप” पनि बनाए। यो 50 हात लामो अनि 30 हात चौंडा थियो। द्वार मण्डपको अघि खाम्बाहरूमा आधारित छानो थियो।
7 सुलेमानले एउटा सिंहासन कक्ष पनि बनाए जहाँ तिनी जनगणलाई न्याय दिने गर्दथे। उनले त्यसको नाउँ “न्यायको कक्ष” राखेका थिए। त्यो कोठा भुईंदेखि छानासम्म देवदारको काठ ठोकिएको थियो।
8 सुलेमान बस्ने महल न्यायको कक्षको भित्र थियो। यो महल न्यायको कक्ष जस्तैं बनाइएको थियो। उनले यस्तैं प्रकारको घर आफ्नी पत्नी, मिश्रका राजाकी छोरीका लागि बनाएका थिए।
9 यी सबै भवनहरू बहुमूल्य ढुङ्गाका टुक्राद्वारा बनाइएका थिए। यी ढुङ्गाहरू आराद्वारा चाहिएको आकारमा काटिएका थिए। तिनीहरू अघि अनि पछि काटिएका थिए। यी बहुमूल्य ढुङ्गाहरू जगदेखि भित्ताको माथिल्लो तहसम्म लगाइएका थिए। आँगनको वरिपरिको भित्तासम्म बहुमूल्य ढुङ्गाका टुक्राद्वारा बनाइएका थिए। 10 जग ठूला-ठूला बहुमूल्य ढुङ्गाहरूद्वारा स्थापित गरिएको थियो। केही ढुङ्गाहरू 10 हात लामा अनि अरू 8 हात लामा थिए। 11 यी ढुङ्गाहरूको माथि अरू बहुमूल्य ढुङ्गाहरू अनि देवदारका बलाहरू थिए। 12 महलको आँगन, मन्दिरको आँगन अनि मन्दिरको मण्डपको वरिपरि भित्ताहरू थिए। ती भित्ताहरू तीन लहर ढुङ्गा अनि एक लहर देवदारूका काठद्वारा मन्दिर निर्मित थियो।
13 राजा सुलेमानले हीराम नाउँ भएको मानिसलाई एउटा सन्देश सोरमा पठाए। सुलेमानले हीरामलाई यरूशलेम बोलाए। 14 हीरामकी आमा नप्ताली कुल समूहको इस्राएली थिईन। उनका मृत पिता सोरका थिए। हीराम काँसाका जिनिसहरू बनाउँथे। तिनी धेरै नै कुशल अनि अनुभवी कारीगर थिए। यसैकारण राजा सुलेमानले आउने निम्तो पठाए अनि हीरामले स्वीकार गरे। यसकारण राजा सुलेमानले हीरामलाई काँसाको कामको प्रमुख बनाए। हीरामले काँसाद्वारा बनिने सबै जिनिसहरू बनाए।
15 हीरामले काँसाका दुइवटा खाम्बा बनाए। प्रत्येक खाम्बा 18 हात लामो अनि 12 हात गोलो थियो। खाम्बाहरू खोक्रा थिए अनि धातु 3 इञ्च[a] मोटो थियो। 16 हीरामले दुइवटा काँसाका मुकुटहरू पनि बनाए जो 5 हात अग्ला थिए। हीरामले ती मुकुटहरू खाम्बाको माथि राखे। 17 तब उनले जालीहरू मुकुटहरू ढाक्न साङ्गलीहरू बनाए। उसले प्रत्येक मुकुटमाथि सातवटा राखे। 18 त्यसपछि उनले दारीम जस्तैं देखिने दुइ लहर अलंकरण बनाए। तिनीहरूले खाम्बाहरूको माथि मुकुटलाई ढाक्नका लागि प्रत्येक खाम्बाको जाली माथि ती काँसाका दारीमलाई सजाए। 19 खाम्बमाथि स्थापित गरिएका खावाँशीरहरू 5 हात अल्गो थिए त्यो फूलहरू झैं देखिन्थे। 20 मुकुटहरू खाम्बाहरूमाथि राखिएका थिए। तिनीहरू सबै बटुका जस्तो जालीको माथि थिए। त्यस ठाउँमा प्रत्येक मुकुट वरिपरि 200 वटा दारीमहरू लहरहरू सजाएका थिए। 21 हीरामले ती दुइ काँसाका खाम्बाहरूलाई मन्दिरको मण्डपमा स्थापित गरेका थिए। एउटा खाँबो प्रवेश-द्वारको दक्षिणतिर अनि अर्को उत्तरतिर गाडिएको थियो। दक्षिणको खाँबोको नाउँ याकीन राखियो। उत्तरको खाम्बाको नाउँ बोआज राखियो। 22 तिनीहरू फूल अकारका मुकुटहरूलाई खाम्बाहरूको माथि राखे। यस प्रकार दुइवटा खाम्बाको काम सिध्याइएको थियो।
23 तब हीरामले काँसाको गोलो खड्कुँलो बनाए। तिनीहरूले त्यस खड्कुँलोको नाउँ “समुद्र” राखे। भाँडो 30 हात गोलो थियो। यो 10 हात चौंडा अनि 5 हात गहिरो थियो। 24 खड्कुँलो (घ्याम्पा) बाहिरी छेऊमा एउटा घेरा थियो। घेराको किनारमा भाँडोको वरिपरि काँसाको लौकाहरूको दुइ लहर थियो। काँसाका लौकाहरू भाँडोको चारैतिर जो राखिए एक टुक्रा घ्याम्पा सँग थियो। 25 भाँडो 12 वटा काँसाका साँढेहरूमाथि राखिएको थियो। सबै 12 वटा साँढेहरू भाँडोको बाहिर हेरिरहेका थिए। तीनवटाले उत्तर तिर हेरेका थिए, तीनवटा पूर्व, तीनवटा दक्षिण अनि तीनवटा पश्चिमतिर हेरेका थिए। 26 भाँडोको मोटाइ एक बित्ता मोटो थियो। भाँडोको घेरो प्यालाको घेरो अथवा फूलका पत्रदल जस्तैं थियो। भाँडोमा 2,000 पाथी[b] आँट्थ्यो।
27 तब हीरामले दशवटा काँसाको ठेलागाडाहरू बनाए। प्रत्येक 4 हात लामो, 4 हात चौंडा अनि 3 हात अग्ला थिए। 28 ठेलागाडाहरू चौखटमा चारकुने पाटा ठोकेर बनाइएका थिए। 29 ती लौका अनि घेराहरूमाथि पाटा अनि चौखटहरूमा काँसाका सिंह, साँढे अनि करूब स्वर्गदूतहरू कुँदिएका थिए माथि अनि तल सिंगहरू र साँढेहरू फूलहरू कुँदेर काँसालाई मार्तोलले पिटेर बनाएका थिए। 30 प्रत्येक ठेला-गाडीमा चारवटा काँसाका चक्काहरू धुराहरू समेत थिए। कूनामा ठूलो भाँडोको आधारकालागि काँसाको टेकुआ बनाइएको थियो। टेकुवाहरूमा काँसालाई पिटेर बनाइएका फूलका आकारहरू थिए। 31 त्यहाँ बटुकाको मथिल्लो खुल्ला भागको वरिपरिको निम्ति एउटा आधार थियो, आधार एक हात अग्लो अनि व्यासको खोल्ने डेढ हातहरू थिए। 32 चौखटको तल चारवटा चक्काहरू थिए। चक्काहरू, डेढ हात व्यास भएका थिए। चक्काहरूको माझ धुराहरू ठेलागाडासँग जोडिएको थियो। 33 चक्काहरू रथका चक्काहरू जस्तैं थिए। चक्काको जम्मै जिनिस-धुरी, घेरो, डन्डीहरू तथा धुराहरू काँसाको बनाइएको थियो।
34 प्रत्येक ठेलागाडाको चार कुनामा चारवटा आधारहरू थिए। तिनीहरू सबै ठेलागाडासँग जोडिएका थिए। 35 प्रत्येक ठेला गाडाकोमाथि वरिपरि आधा हात अग्लो गोलो घेरा थियो। त्यसलाई एउटै बनाउनलाई त्यो त्यसका आधारहरूसित जोडिएको थियो। 36 ठेलागाडाको बगल अनि चौखटमा करूब स्वर्गदूतहरू, सिंह अनि ताड़को रूखहरूको काँसाको चित्रहरू थिए। यी चित्रहरू ठेलगाडीको सबै ठाउँमा अंकित गरिएका थिए जहाँ-जहाँ कोठाहरू थिए। ठेलागाडाको वरिपरि भएको चौखटमा फूलहरूका नक्सा कुँदिएका थिए। 37 हीरामले एकै प्रकारका दशवटा ठेलागाडाहरू बनाए। प्रत्येक गाडा गलेको काँसाबाट अनि ढालेरे बनाएको थियो। यसकारण सबै गाडाहरू एउटै नाप अनि आकारमा बनाएको थियो।
38 हीरामले दशवटा बटुकाहरू पनि बनाए। दशवटा ठेलागाडा मध्ये प्रत्येकका लागि एउटा बटुको थियो। प्रत्येक बटुको चार हात चौंडा थियो। बटुकोमा लगभग 40 पाथी क्षमता थियो। 39 हीरामले मन्दिरको दक्षिणतिर पाँचवटा अनि उत्तरतिर अरू पाँचवटा ठेलागाडीहरू स्थापित गरेका थिए। 40-45 हीरामले भाँडाहरू, बेल्चा अनि स-साना बटुकाहरू बनाए। हीरामले सबै जिनिसहरू राजा सुलेमानले मागे अनुसार बनाए। परमप्रभुकोको मन्दिरका लागि हीरामले बनाएका सामानहरूको सूची यस्तो छः
2 खाम्बाहरू;
खाम्बाहरूको माथि बटुका जस्ता 2 मुकुटहरू;
वरिपरि ढाक्ने जालीहरू;
2 जालीका लागि 400 वटा दारीमहरू;
खाम्बाहरूको माथि दुइवटा बटुकाहरूलाई ढाक्ने प्रत्येक जालीका दुइलहर दारीमहरू थिए।
प्रत्येक ठेलागाडामा बटुका भएको 10 ठेलागाडाहरू;
तल बाह्रवटा साँढेहरू माथि ठूलो भाँडो;
भाँडाहरू, स-साना बेल्चाहरू, स साना बटुकाहरू;
अनि सबै भाँडा-कुँडाहरू परमप्रभुको मन्दिरकालागि।
हीरामले यी सबै सामानहरू राजा सुलेमानले चाहे अनुसार नै बनाए। तिनीहरू सबै पालिस लगाएको काँसाको बनाइएका थिए। 46-47 सुलेमानले यी चीजहरू बनाउनमा प्रयोगगरिएको काँसा कहिले पनि जोखेनन्। जोख्नु उचित थिएन। यस कारण काँसाको सम्पूर्ण ओजन थाह भएन। राजाले यी चीजहरू सुक्कोत र शरतानबीच यर्दन नदीको छेऊमा बनाउने आदेश दिएका थिए। तिनीहरूले यी जिनिसहरू काँसा गलाएर अनि भूईंमा बनाइएको साँचोमा ढालेर बनाए।
48-50 सुलेमानले धेरै सुनका सामानहरू मन्दिरका लागि बनाउने आदेश पनि दिए। सुलेमानले मन्दिरका लागि सुनद्वारा बनाउन लगाएका सामानहरू यी हुन्;
सुनको वेदी; सुनको टेबल,
परमेश्वरलाई चढाइएको विशेष रोटी यहाँ राखिन्थ्यो।
सुनको सामादान (महापवित्र स्थानको अघि उत्तरतिर पाँचवटा अनि दक्षिणतिर पाँचवटा थिए);
सुनका फूलहरू, दियोहरू अनि चिम्टाहरू;
शुद्ध सुनका कचौराहरू, बाती छिमल्ने कैंचीहरू, स-साना कचौराहरू, थालहरू अनि कोइला बोक्ने धूपौराहरू;
मुख्य कक्षका दैलाहरूका लागि तथा भित्री कोठा (अति पवित्रस्थल) को दैलाहरूका लागि सुनका कब्जाहरू बनाए।
51 यस प्रकार राजा सुलेमानले परमप्रभुको मन्दिरका लागि आफूले चाहे अनुरूप काम पूरा गरे। तब राजा सुलेमानले ती सबै जिनिसहरू जम्मा गरे जो उनका पिता दाऊदले यस उदेश्यका लागि जोगाएर राखेका थिए। उनले यी चिजहरू मन्दिरमा ल्याए। उनले चाँदी र सुन परमप्रभुको मन्दिरको भण्डारमा थन्काए।
30 “चालिस वर्ष पछि मोशा सीनै पर्वतको मरूभूमिमा थिए। बलिरहेको पोथ्राको ज्वालामा एकजना स्वर्गदूत तिनको अघाडि देखा परे। 31 जब मोशाले यस्तो देखे, उनी अचम्मित भए। जब उनी नियालेर हेर्न नजिक गए, मोशाले परमप्रभुको आवाजले भन्दै गरेको सुने। 32 परमप्रभुले उनलाई भन्नुभयो, ‘म तिम्रा पिताहरूको परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर, याकूबका परमेश्वर हुँ।’(A) मोशा डरले काम्न थाले। उनलाई त्यस बल्दै गरेको पोथ्रामा हेर्ने साहस भएन।
33 “परमप्रभुले उनलाई भन्नुभयो, ‘तिम्रा जुत्ताहरू खोल, किनभने जुन ठाउँमा तिमी उभिरहकाछौ त्यो पवित्र ठाँउ हो। 34 मैले मेरा मानिसहरूलाई मिश्र देशमा अत्यन्तै कष्ट पाइरहेको देखें। मैले तिनीहरूको विलाप सुने। म तिनीहरूलाई बचाउन तल झरें। अब आऊ, म तिमीलाई मिश्र देश पठाउँछु।’(B)
35 “यो मोशा त्यही मानिस थिए जसलाई यहूदीहरूले चाहिंदैन भनेका थिए। तिनीहरूले उनलाई भनेका थिए, ‘कसले तिमीलाई हाम्रो शासक र न्यायकर्त्ता बनायो?’ त्यही मानिसलाई परमश्वरले शासक र उद्धारकको रूपमा पठाउनु भएको थियो। परमेश्वरले मोशालाई स्वर्गदूतको माध्यम पठाउनु भएको थियो जो जल्दै गरेको पोथ्रामा उनी अघि देखापरेको थियो। 36 तब मोशाले मानिसहरूका अगुवाई गरे। उनले आश्चर्यमय कुराहरू अनि चमत्कारहरू मिश्र देशमा लाल सागरमा अनि मरुभूमिमा चालीस वर्ष सम्म गरे।
37 “उनी त्यही मोशा थिए जसले यहूदीहरूलाई भनेका थिए, ‘परमेश्वरले तिमीहरूको लागि तिमीहरूकै माझबाट एक अगमवक्ता पठाउनु हुनेछ। उनी म जस्तै नै हुनेछन्।’ 38 उनी त्यही मोशा हुन जो यहूदीहरूकै जमघटमा एकत्रित भएर मरूभूमिमा सँगै थिए। तिनी त्यो स्वर्गदूतसँग जो सीनै पर्वतमा तिनीसित बोले अनि तिनी हाम्रा पुर्खाहरूसँग थिए। मोशाले परमेश्वरबाट आदेशहरू प्राप्त गरे जसले जीवन दिन्छ। मोशाले हामीलाई ती आदेशहरू दिए।
39 “तर हाम्रा पुर्खाहरूले मोशाका आज्ञा पालन गर्न चाहेनन्। तिनलाई स्वीकार गरेनन्। अनि तिनीहरूले मिश्रदेश फर्की जाने इच्छा गरे। 40 हाम्रा पुर्खाहरूले हारूनलाई भने, ‘मोशाले हामीलाई मिश्र देश बाहिर निकालेर ल्याए। तर उनलाई के भयो हामी जान्दैनौ। हाम्रा निम्ति केही देवताहरू सृष्टि गरिदेऊ जो हाम्रो अघि जानेछन् अनि हामीलाई अगुवाइ गर्नेछन्।’(C) 41 यसकारणले मानिसहरूले बाछो जस्तो देखिने एउटा मूर्ति बनाए। त्यसपछि तिनीहरूले त्यसलाई बलिहरू चढाए। मानिसहरू आफ्नै हातले त्यस्तो चीज बनायौं भनेर अत्यन्त खुशी थिए। 42 तर परमेश्वर तिनीहरूबाट टाढा जानु भयो अनि तिनीहरूलाई आकाशको झूटो देवताहरूको पूजा गर्न छाडिदिनु भयो। अगमवक्ताहरूका पुस्तकमा लेखिए जस्तै यो घट्योः
‘तिमी यहूदीहरूले चालीस वर्षसम्म यो मरूभूमिमा मेरा निम्ति पशु-बलि अनि भेटीहरू अर्पण गरेनौं;
43 तिमीहरूले तिनीहरूसित मोलेकको पाल
अनि तिम्रो देवता रिफमका तारा ल्यायौ।
तिनीहरू मुर्तिहरू थिए जो तिमीहरूले पुज्नलाई बनायौ।
ती मूर्तिहरू थिए जसलाई आराधनाका निम्ति बनाइएको थियो।
यसैकारण म तिमीहरूलाई बेबिलोन देखि निक्कै टाढा पठाउनेछु।’(D)
44 “हाम्रा पुर्खाहरूसँग मरूभूमिमा पवित्र मण्डप थियो। कसरी तम्बू बनाउनु मोशालाई परमेश्वरले बताउनु भयो। तिनले परमेश्वरले देखाउनु भएको योजना अनुसार बनाए। 45 तब यहोशूले हाम्रा पुर्खाहरूलाई अरू राष्ट्रहरूको जमीन हत्याउनुमा अगुवाइ गरे। हाम्रा मानिस जमीनभित्र पसे अनि परमेश्वरले अन्य राष्ट्रहरूलाई बाहिर खेद्नु भयो। जब हाम्रा मानिसहरू त्यस नयाँ जमीनमा गए, तिनीहरूले आफूसित त्यही मण्डप लगेर गए। हाम्रा मानिसहरूले त्यो मण्डप आफ्ना पुर्खाहरूबाट प्राप्त गरेका थिए, अनि तिनीहरूले त्यसलाई दाऊदको समय सम्म जोगाएर राखे। 46 परमेश्वर दाऊदसँग अत्यन्त खुशी हुनुभयो। दाऊदले परमेश्वरलाई याकूबको परमेश्वरका निम्ति भवन निर्माण गर्न दिनुहोस् भनी परमेश्वरलाई आग्रह गरे। 47 तर सुलेमान (दाऊद का पुत्र) एक मानिस थिए जसले उहाँको लागि मन्दिर निर्माण गरे।
48 “तर मानिसको हातले बनाएको मन्दिरमा सर्वोच्च परमेश्वर बस्नु हुन्न। जस्तो अगमवक्ताले भन्छन्:
49 ‘परमप्रभु भन्नुहुन्छ,
स्वर्ग मेरो सिंहासन हो।
पृथ्वी त्यो ठाउँ हो जहाँ मेरा खुट्टाहरू आराम गर्छन्।
कस्तो प्रकारको घर तिमी मेरो लागि बनाउन सक्छौ?
मैले आराम गर्न सक्ने स्थान त्यहाँ कहाँ छ?
50 के मेरा हातहरूले यी सबै कुराहरू बनाएको होइनन्?’”(E)
मन्दिरतर्फ जाँदैगर्दा गाएको स्तुतिगान।
1 परमप्रभुको सबै भक्तजनहरू खुशी छन्।
ती मानिसहरू परमप्रभुले रूचाएको तरिकामा बस्दछन्।
2 तिमीले गरेको कार्यको निम्ति तिमी खुशी हुनेछौ।
तिमी खुशी हुनेछौ, अनि हितकारी कुराहरू तिमी तिर घट्नेछन्।
3 घरमा, तिम्री पत्नी अङ्गुरको विरूवा जस्तो फलदायक हुनेछ।
तिम्रा छोरा-छोरीहरू टेबल वरिपरि,
तिमीले रोपेको फलदायक जैतूनको झ्याङ्गहरू झैं हुनेछन्।
4 परमप्रभुले आफ्ना भक्तजनहरूलाई यस्तै प्रकारले साँच्चो रूपमा आशीर्वाद दिनुहुनेछ।
5 सियोनबाट परमप्रभुले तिमीलाई आशीर्वाद दिऊन्।
तिमीहरूको जीवनभरि यरूशलेममा आशीर्वादको आनन्द उपभोग गर्न सक।
6 अनि भरोसा गर्दछु कि तिमीहरू आफ्ना नाति-पनातिहरू जन्मरून्जेल सम्म बाँच्नेछौ।
इस्राएल मा शान्ति कायम रहोस्।
31 फूलेको केश ईमान्दार जीवन जीउने मानिसहरूको गरीमाको मुकुट हुन्छ।
32 मानिस धैर्यवान् हुनु लडाकु योद्धा भन्दा पनि उत्तम हो, जसले आफ्नो क्रोधलाई नियन्त्रणमा राख्छ, त्यो शहर जित्ने मानिस भन्दा पनि राम्रो मानिस हो।
33 चिट्ठा, मानिसहरूद्वारा फ्याँकिन्छ तर त्यसको निर्णय परमप्रभुले गर्नु हुन्छ।
© 2004, 2010 Bible League International