M’Cheyne Bible Reading Plan
अब्राहाम, तेरो छोरोलाई मार
22 ती कुराहरू भइसकेपछि परमेश्वरले अब्राहामको जाँच लिने निर्णय लिनु भयो। परमेश्वरले तिनलाई भन्नुभयो, “अब्राहाम!”
अनि अब्राहामले भने, “हजुर!”
2 तब परमेश्वरले भन्नुभयो, “मोरीयाह भूमिमा तिम्रो छोरोलाई लैजाऊ। मोरीयामा मेरो निम्ति बलिदान स्वरूप तिम्रो छोरो बलि देऊ। तिम्रो छोरो चाँहि इसहाक हुनु पर्छ तिम्रो एउटा छोरा जुन छोरालाई तिमी बढी माया गर्छौ। त्यहाँको कुनै एउटा पर्वतमा तिम्रो छोरोलाई होमबलि चढाऊ। कुन चाँहि पर्वतमा बलिदान चढाउनु पर्छ त्यो म बताउनेछु।”
3 बिहान अब्राहाम उठे अनि गधामा लगाम कसे। अब्राहामले आफूसँग छोरो इसहाक र दुइ जना नोकरहरू पनि लगे। तिनले बलिको निम्ति दाउरा काटे अनि परमेश्वरले बताउनु भएको ठाउँमा गए। 4 तीन दिनसम्म यात्रा गरेपछि अब्राहामले माथितिर हेरे अनि तिनीहरू जानु पर्ने ठाउँ देखे। 5 त्यसपछि अब्राहामले कमाराहरूलाई भने, “गधासित यही पर्ख। म छोरोसित त्यस ठाउँमा जानेछु, अनि उपासना गर्नेछौं। अनि केही बेरपछि तिमीहरू भएको ठाउँमा हामी फर्कन्छौ।”
6 अब्राहामले होमबलिको निम्ति दाउरा उठाएर छोरोको काँधमा राखि दिए। तिनले एउटा विशेष काट्ने हतियार र आगो पनि लगे। त्यसपछि अब्राहाम र तिनको छोरो आराधना गरिने ठाउँमा गए।
7 इसहाकले आफ्नो पिता अब्राहामलाई सोध्यो, “बुबा!”
अब्राहामले उत्तर दिए, “भन, छोरा।”
इसहाकले भने, “म दाउरा र आगो देख्छु तर होम बलिको निम्ति दिनु पर्ने थुमाचाहिँ कहाँ छ?”
8 अब्राहामले उत्तर दियो, “छोरो परमेश्वर आफैंले बलिदानको निम्ति थुमा बन्दोबस्त गरिदिनु हुँदैछ।”
यसरी अब्राहाम र तिनको छोरो इसहाकसँगै बलिदिने ठाउँमा पुगे। 9 तिनीहरू त्यही निर्दिष्ट जग्गामा पुगे जहाँ परमेश्वरले अह्राउनु भएको थियो। त्यहाँ अब्राहामले वेदी बनाए अनि त्यसपछि वेदी माथि दाउरा राखेर आफ्नो छोरोलाई बाँधी वेदीमाथि राखिएको दाउरामाथि राखे। 10 तब तिनले काट्ने हतियार लिएर इसहाकलाई मार्न तत्पर भए।
11 तर अब्राहामलाई परमप्रभुका स्वर्गदूतले बाधा दिए। र्स्वगबाट स्वर्गदूतले बोलाए अनि भने, “अब्राहाम, अब्राहाम!”
अब्राहामले उत्तर दिए, “हजूर।”
12 स्वर्गदूतले भने, “तिम्रो छोरोलाई नमार। उसलाई कुनै प्रकारको चोट पनि नलागोस्। मैले साँच्चै नै थाहा पाएँ तिमीले परमेश्वरलाई सम्मान गर्छौ अनि उहाँको आज्ञा पालन गर्छौ। तिमीले आफ्नो एक मात्र छोरोलाई मेरो निम्ति मार्न तयार भएको पनि मैले देखें।”
13 तब अब्राहामले त्यहाँ एउटा थुमा देखे। त्यो भेंडाको पाठाको सींङ पोथ्रामा अड्किएको थियो। यसर्थ अब्राहामले त्यो थुमालाई मारे अनि आफ्नो छोराको बलिको सट्टामा त्यसलाई परमेश्वरको बलिदानको रूपमा चढाए। 14 यसकारण अब्राहामले त्यस ठाउँको नाउँ, “यहोवा यिरे” राखे। आज पनि मानिसहरूले भन्छन, “यस पर्वतमाथि परमप्रभुलाई देख्न सकिन्छ।”
15 परमप्रभुका स्वर्गदूतले दोस्रो पल्ट अब्राहामलाई बोलाए। 16 ती स्वर्गदूतले भने, “तिमीले मेरो निम्ति आफ्नो छोरो मार्न तत्पर थियौ, यसर्थ तिमीले यस्तो गरेको हुनाले म यो प्रतिज्ञा गर्छु। 17 म तिमीलाई साँच्चो रूपले आशीर्वाद दिन्छु। म तिमीलाई आकाशका ताराहरू भन्दा धेरै सन्तान दिन्छु। तिम्रा मानिसहरू समुद्रको किनारमा भएको बालुवाको कणभन्दा पनि वेशी हुनेछन्। अनि ती तिम्रा मानिसहरू आफ्ना आफ्नो शत्रुहरूका शहरहरू जितेर बस्नेछन्। 18 अनि तिम्रा सन्तानहरूले संसारका सबै राष्ट्रहरूले आफ्ना निम्ति आशीर्वादको रूपमा पाउनेछन्। म यसै गर्नेछु किनभने तिमीले मेरा आज्ञाहरू मानेकाछौ।”
19 त्यसपछि अब्राहाम आफ्नो नोकरहरू भएको ठाउँमा गए। तिनीहरू सबै बर्शेबा फर्के अनि अब्राहाम त्यहाँ धेरै समयसम्म बसे।
20 तब अब्राहामले खबर पाए, “उनको भाइ नाहोर र उनकी स्वास्नी मिल्कासित पनि नानीहरू थिए। 21 तिनीहरूको जेठो छोराको नाउँ ऊज, माहिलो छोराको नाउँ बूज र साइलोको नाउँ कमूएल थियो। कमूएल आरामका पिता हुन्। 22 तब त्यहाँ केसेद, हजो, पिलदाश, यिदलाप र बतूएल थिए।” 23 बतूएल रिबेकाको पिता थिए। मिल्काह यी आठजना छोराहरूकी आमा थिइन्, अनि नाहोर पिता थिए। नाहोर अब्राहामको भाइ थिए। 24 नाहोरको उसकी नोकर्नी रूमबाट पनि अन्य चार छोराहरू थिए, ती छोराहरू तेबह, गहम, तहस र माका थिए।
येशू राजा झैं यरूशलेममा प्रवेश गर्नु भयो
(मर्कूस 11:1-11; लूका 19:28-38; यूहन्ना 12:12-19)
21 येशू र उहाँका चेलाहर यरूशलेम नजिक आईपुग्न लागेका थिए। तर तिनीहरू पहिले जैतुन-डाँडा को बेथफागेमा रोकिए। येशूले आफ्ना दुइ जना चेलाहरूलाई त्यहाँको एउटा नगरमा पठाउनु भयो। 2 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले देखेको शहरमा जाऊ। त्यहाँ प्रवेश गर्न साथ एउटा गधालाई बाँधिएको भेट्टाउने छौ। त्यो गधासँग एउटा बछेडो पनि हुनेछ। ती दुवै फुकालेर म कहाँ ल्याऊ। 3 यदि कसैले तिमीहरूलाई केही प्रश्न गरे उसलाई, ‘प्रभुलाई यी गधाहरूको आवश्यक परेको छ। उहाँले ती चाँडै फर्काइ दिनु हुनेछ भनी जवाफ दिनु।’”
4 अगमवक्ताले भनेको यो कुरा पूरा होस् भनेर यसो भएको थियो:
5 “सियोन नगरलाई भन,
‘अहिले तिमीहरूको राजा आउनु हुँदैछ।
उहाँ विनम्र हुनुहुन्छ अनि गधामा चढेर आउनु हुँदैछ।
उहाँ एउटा भारी बोक्ने बछेडोमाथि आउनु हुँदैछ,
जो काम गर्नकै खातिर जन्मेको पशु हो।’”(A)
6 चेलाहरू गए र येशूले बताउनु भए अनुसार गरे। 7 उनीहरू गधा र त्यसको बछेडालाई लिएर येशूकहाँ फर्की आए। तिनीहरूले आफ्ना वस्त्र गधालाई ओढाइदिए, अनि येशू त्यसमाथि बस्नु भयो। 8 येशू यरूशलेम तिर जाने बाटामा गधामा चढेर जानुभयो। धेरै मानिसहरूले येशूको निम्ति बाटोमा वस्त्रहरू ओछ्याइदिएका थिए। अरू मानिसहरूले रूखका हाँगाहरू काटे र बाटोमा ओछ्याई दिए। 9 केही मानिसहरू येशूको अधि-अधि हिंड्दै थिए। कोही मानिसहरू येशूको पछि-पछि हिंडदै थिए। मानिसहरू यसो भन्दै कराउन लागे,
“दाऊदको पुत्र होसन्ना!
‘प्रभुको नाउँमा आउने धन्यका हुन्!’(B)
स्वर्गको परमेश्वरको प्रशंसा गर।”
10 त्यसपछि येशू यरूशलेमभित्र प्रवेश गर्नु भयो। सम्पूर्ण शहरबासि अचम्मित भए। तिनीहरूले सोधे, “यो को हो?”
11 येशूसँगै आएका मानिसहरूले जवाफ दिए, “उनी येशू हुन्। गालील शहरको नासरतका अगमवक्ता उनी नै हुन्।”
येशू मन्दिरतर्फ जानुहुन्छ
(मर्कूस 11:15-19; लूका 19:45-48; यूहन्ना 2:13-22)
12 येशू मन्दिरतर्फ लाग्नुभयो। उहाँले किन-बेच गर्ने सबैलाई त्यहाँबाट धपाउनु भयो। अनि येशूले ढुकुर बेच्नेहरूको बेञ्चहरू पनि पल्टाई दिनु भयो। 13 येशूले त्यहाँ भएका मानिसहरूलाई भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर भनिनेछ।’(C) तर तिमीहरूले परमेश्वरको घरलाई डाकूहरूको ‘अड्डामा परिणत गरिरहेछौ।’(D)”
14 केही अन्धा र केही लङ्गडा मानिसहरू मन्दिरमा येशू कहाँ आए। येशूले ती मानिसहरूलाई निको पारिदिनु भयो। 15 मुख्य पुजाहारीहरू र शास्त्रीहरूले यो दृष्य देखे। तिनीहरूले येशूका चमत्कार कार्यहरू अनि मन्दिरमा बालकहरूले येशूलाई नै प्रशंसा गरिरहेका देखे। बालकहरू भन्दै थिए, “दाऊदका पुत्र, होसन्ना!” यसमा पूजाहरीहरू र शास्त्रीहरू क्रोधित भए।
16 मुख्य पूजाहरीहरू र शास्त्रीहरू येशूलाई सोधे, “बालकहरूले के भनिरहेका छन् तपाईंले सुन्नु भो?”
येशूले जवाफ दिनुभयो, “अवश्य। के तिमीहरूले कहिले धर्मशास्त्रहरूमा पढेका छैनौ? ‘उहाँले बालकहरूलाई स्तुति गर्न सिकाउनु भयो?’(E)”
17 त्यसपछि येशूले त्यो ठाउँलाई छोड्नुभयो र नगरदेखि बाहिर बेथानीमा जानुभयो। त्यो रात येशूले त्यहीं बिताउनु भयो।
येशूद्वारा विश्वासको शक्ति प्रदर्शन
(मर्कूस 11:12-14,20-24)
18 भोलिपल्ट बिहानै, येशू नगरतिर फर्किरहनु भएको थियो। उहाँ भोकाउनु भएको थियो। 19 उहाँले बाटोको किनारमा त्यस नेभाराको रूख देख्नु भयो। येशूले नेभाराको रूखको छेउमा गएर उहाँले केही फल खाने इच्छा गर्नुभयो। तर त्यो नेभाराको रूखमा त्यसमा खाने फल केही थिएन। त्यहाँ पातैपात मात्र थिए। अनि येशूले त्यो रूखलाई भन्नुभयो, “अब उप्रान्त तँमा फल लाग्ने छैन।” अचानक त्यो रूख ओइलायो र मर्यो।
20 चेलाहरूले त्यो देखे। तिनीहरू चकित भए। तिनीहरूले सोधो, “कसरी नेभारको रूख सुक्यो र झट्टै मरिहाल्यो?”
21 येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। यदि तिमीहरूमा विश्वास छ र त्यसमा शंका छैन भने, मैले जस्तै तिमीहरूले पनि गर्न सक्नेछौ। तिमीहरूले त्यो भन्दा धेरै गर्न सक्नेछौ। तिमीले यस पहाडलाई भन्न सक्छौ, ‘ए पहाड जा अनि समुद्रमा खस।’ यदि तिमीहरूमा विश्वास भए, तिमीहरूले भने जस्तै हुनेछ। 22 विश्वास गरेर माग्यौ भने तिमीहरूले प्रार्थनमा मागेको जुनसुकै कुरा पनि पाउनेछौ।”
येशूको शक्ति माथि यहूदी नेताहरूको शंका
(मर्कूस 11:27-33; लूका 20:1-8)
23 येशू मन्दिरतर्फ जानुभयो। र उहाँले सिकाइरहनु भएको बेला, मुख्य पुजारीहरू र जन-साधारणका अगुवाहरू येशूकहाँ आए। तिनीहरूले येशूलाई भने, “हामीलाई भन्नुहोस्। यी कार्यहरू गर्न तपाईंको के अधिकार छ? यस्तो अधिकार तपाईंलाई कसले दियो?”
24 येशूले जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्न चाहन्छु। यदि तिमीहरूले मलाई जवाफ दियौ भने, म कुन अधिकारले यी कामहरू गरीरहेछु भनी बताउनेछु। 25 मलाई भन: यूहन्नाको बप्तिस्मा परमेश्वरबाट वा मानिस कसबाट भयो?”
मुख्य पूजारीहरू र यहूदी नेताहरूले येशूको यो प्रश्न बारे बहस गरे। तिनीहरू आपसमा बात चीत गर्न थाले, “यदि हामीले यूहन्नाको बप्तिस्मा परमेश्वरबाटै भएको थियो, भन्यौ भने उहाँले भन्नु हुनेछ ‘त्यसो भए तिमीहरूले यूहन्नालाई किन विश्वास नगरेको?’ 26 यदि हामीहरूले ‘यो बप्तिस्मा मानिसबाटै भएको थियो,’ भन्यौ भने सबै मानिसहरू हामीहरूसँग रिसाउने छन्। हामी मानिसहरूबाट सावधान हुनुपर्छ किनभने तिनीहरू सबै यूहन्नालाई अगमवक्ता हो भनेर विश्वास गर्छन्।”
27 त्यसपछि तिनीहरूले येशूलाई जवाफ दिए, “यूहन्नालाई कहाँबाट त्यो अधिकार दिइयो हामी जान्दैनौ।”
तब येशूले भन्नुभयो, “त्यसो भए म पनि भन्ने छैन कि कुन अधिकारले म यी सब कार्यहरू गरिरहेछु।
येशूद्वारा दुइ जना पुत्रको उखान
28 “तिमीहरू यसको बारेमा के सोच्छौ? एकजना मानिसका दुइ छोराहरू थिए। त्यो मानिसले आफ्नो जेठा छोरालाई भन्यो, ‘छोरा, जाऊ र गएर आज दाखबरीमा काम गर।’
29 “छोराले जवाफ दियो, ‘म जाँदिन।’ तर केही समयपछि उसले आफ्नो विचार बद्ल्यो, अनि गयो।
30 “त्यसपछि बाबु अर्को छोराकहाँ गए र भने, ‘छोरा, जाऊ अनि आज मेरो दाखबरीमा काम गर।’ छोरोले जवाफ दियो, ‘हुन्छ, बाबु, म गएर काम गर्छु।’ तर त्यो छोरा गएन।
31 “अब यी दुइ छोराहरूमा कुन चाहिँले आफ्नो बाबुको आज्ञा पालन गर्यो?”
यहूदी नेताहरूले जवाफ दिए, “जेठा चाँहिले।”
येशूले तिनीहरूलाई भन्नुभयो, “म साँच्चो कुरा तिमीहरूलाई भन्दछु। महसूल उठाउनेहरू र वेश्याहरू खराब मानिसहरू हुन् भनी तिमीहरू ठान्दछौ। तर परमेश्वरको राज्यमा तिमीहरू भन्दा पहिले तिनीहरूले प्रवेश गर्न पाउनेछन्। 32 यूहन्ना सही जीवन बाँच्ने उपाय देखाउनलाई आएका थिए। तर तिमीहरूले यूहन्नालाई पटक्कै विश्वास गरेनौ। तर महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्ना माथि विश्वास गरे। अनि महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्नालाई विश्वास गरेको तिमीहरूले देखेका थियौ। तर अझै पनि तिमीहरूले उनलाई विश्वास गर्न मन गरेनौ।
परमेश्वरले आफ्ना पुत्रलाई पठाउँनुहुन्छ
(मर्कूस 12:1-12; लूका 20:9-19)
33 “यो उखान सुन कुनै मानिसको जमीन थियो। उसले त्यो जमीनमा दाख लगायो। उसले दाखको जमीनको वरिपरि पर्खाल निर्माण गर्यो। अनि त्यसभित्र दाख पेल्ने कोलखनेको थियो। फेरि त्यो मानिसले एउटा मचान बनाचो। उसले आफ्नो खेत कोही किसानहरूलाई जिम्मा दिएर ऊ यात्रामा गयो। 34 केही समय पछि, फसल उठाउने समय भयो। अनि त्यस मानिसले आफ्नो हिस्सा ल्याउन पठायो।
35 “तर किसानहरूले ती नोकरहरूलाई समाते अनि एकजनालाई पिटे, अर्कोलाई मारिदिए अनि अर्कोलाई ढुङ्गाले हिर्काएर मारिदिए। 36 फेरि त्यो खेत-मालिकले किसानहरूकहाँ अरू नोकरहरूलाई पठायो। उसले पाहिलेभन्दा धेरै नोकरहरू पठाएको थियो। तर किसानहरूले तिनीहरूसँग पनि यस्तै नै व्यवहार गरे। 37 त्यसपछि उसले आफ्नै छोरालाई किसानहरूकहाँ पठायो। उसले भन्यो, ‘किसानहरूले मेरो छोरालाई आदर देखाउनेछन्।’
38 “तर किसानहरूले आपसमा यसो भने, ‘यो ता मालिकको छोरा हो। यो खेत उसको हुनेछ। हामीले यसलाई मार्यौ भने खेत हाम्रै हुनेछ।’ 39 अनि किसानहरूले छोरालाई समातेर, उसलाई खेत बाहिर मारेर फ्याँकिदिए।
40 “अब त्यो खेत को मालिक आएर ती किसानलाई के गर्ला?”
41 ती यहूदी पूजाहारीहरू र नेताहरूले भने, “उसले ती दुष्टहरूलाई अवश्य नै मार्नेछ। त्यसपछि उनले आफ्नो खेत अरू किसानहरूलाई कमाउन दिनेछन्। जसले फलको समयमा मालिकलाई उसको भाग बुझाउन ल्याउँछ उनीहरूलाई त्यो खेत कमाउन दिईनेछ।”
42 येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चय नै तिमीहरूले यो धर्मशास्त्रमा पढेका छौ:
‘जुन ढुङ्गालाई डकर्मीहरूले रद्द गरे,
त्यही ढुङ्गा मुख्य कुने ढुङ्गा बन्यो।
यो परमप्रभुले गर्नु भएको हो,
र यो हाम्रो लागि अचम्मको हुनेछ।’(F)
43 “त्यसैकारण म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ। त्यस पछि परमेश्वरले यस्ता मानिसहरूलाई दिनु हुनेछ, जसले परमेश्वरले आफ्नो राज्यमा चाहनु भए अनुसारको काम उत्पन्न गर्नेछन्। 44 अनि जो कोही पनि त्यो ढुङ्गामाथि खस्नेछ ऊ टुक्रा टुक्रा बन्नेछ। यदि त्यो ढुङ्गा कसैमाथि खस्यो भने त्यसले त्यसलाई धूलोपिठो पार्नेछ।”
45 येशूले भन्नु भएको यो उखानलाई मुख्य पूजाहारीहरू र फरिसीहरूले सुने। येशूले तिनीहरूकै विषयमा बोल्दै हुनुहुन्छ भन्ने कुरा तिनीहरूले बुझे। 46 तिनीहरू येशूलाई पक्रने उपाय खोजीरहेका थिए। तर तिनीहरू मानिसहरूदेखि डराउँथे। किनभने मानिसहरूमा येशू अगमवक्ता हुन् भन्ने विश्वास थियो।
नयाँ मानिसहरू यरूशलेममा भित्र हिंडन थाले
11 मानिसका अगुवाहरू यरूशलेममा बसे अनि बाँकी रहेका मानिसहरूले प्रत्येक दशजनामा एकजनालाई यरूशलेममा बस्नका निम्ति ल्याउन चिट्टा लगाए। अनि रहेका दशै अंशमा नौ अंश अन्य शहरूमा बसे। 2 मानिसहरूले सइच्छाले यरूशलेममा बस्न चाहनेहरूलाई आशीष दिए।
3 यिनीहरू ग्रामीण अगुवाहरू हुन् जो यरूशलेममा बस्थे। तर यहूदाको शहरहरूमा, सबैजना तिनीहरूको शहरहरूमा आफ्ना सम्पत्तिमा बस्थे इस्राएलका केही मानिसहरू, इस्राएल पूजाहारीहरू, लेवीहरू, मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूका सन्तानहरू। 4 अनि कोही यहूदाका मानिसहरू अनि कोही बिन्यामीनका मानिसहरू यरूशलेममा बसे।
यी यहूदाका सन्तानहरू थिए जो यरूशलेममा बसेः
अतायाहरू, उज्जियाहका छोरा, (अमर्याहको छोरा, शपत्याहको छोरा, महलेलका छोरा पेरेसका कुलका।) 5 कोल-होजेका छोरा, हजायाहका छोरा, अदायाहका छोरा, योयारीबका छोरा, जकर्याहका छोरा एउटा शीलोनीहरूको सन्तान। 6 यरूशलेममा बस्ने पेरेसक कुलहरूमा जम्मा 468 साहसी मानिसहरू थिए।
7 यी बिन्यामीनका कुलहरू थिए जो यरूशलेममा बसेः
मशुल्लामका छोरा, सल्लू, (योएदका छोरा, पदायाहका छोरा, कोलायाहका छोरा, वासेयाहका छोरा, इतीएलका छोरा), 8 यशायियाहका छोरा अनि तिनको पछि गब्बै अनि सल्लै, 9 जिंक्रीका छोरा योएललाई तिनीहरू अनि यहूदामाथि अधिकारी नियुक्त गरियो, अनि हासेन्आका छोरा शहरका दोस्रो प्रमुख अधिकारी थिए।
10 पूजाहारीहरू मध्येबाटः
योयारीबको छोरा, यदायाह, याकिन, 11 सरायाहका, हिल्कियाहका छोरा, (मशुल्लामका छोरा, सादोकका छोरा, मरायोतका छोरा, अहीतूबका छोरा), 12 परमेश्वरको मन्दिरका निरीक्षक अनि तिनीहरूका सहयोगी भए जो परमेश्वरको मन्दिरको निरिक्षक थिए 822 अदायाह यरोहामका छोरा, जकर्या मल्कियाहका 13 अनि तिनका सहयोगीहरू जो कुलका अगुवाहरू थिएः 242 अमाशै, अजैलका छोरा, अहजैका छोरा, मेशिल्लेमोतका छोरा, इम्मेरका छोरा 14 अनि तिनका सहयोगीहरू साहसी योद्धाहरूः 128 तिनीहरू माथिका अधिकारी हग्गेदोलीमका छोरा जब्दीएल थिए।
15 लेवीहरूबाट यिनीहरू यरूशलेममा बसेः
शमायाह हश्शूबका छोरा, अज्रीकामका छोरा हशबियाहका छोरा बुन्नीका छोरा। 16 अनि शब्बतै र योजाबाद, लेवीहरूका दुइजना अगुवाहरू जो परमेश्वरको मन्दिरको बाहिर कामका जिम्मामा थिए 17 अनि मतन्याह मीकाका छोरा, जब्दीका छोरा आसापका छोरा, स्तुतिका अगुवा जसले प्रार्थनामा धन्यवाद ज्ञापन गरे, अनि बकबुक्याह तिनका सहयोगीहरूमा दोस्रो अनि अब्दा शम्मूअका छोरा गालालका छोरा यदूतूनका छोरा। 18 पवित्र शहर यरूशलेममा भएका समस्त लेवीहरू जम्मा 284
19 यी यरूशलेममा बस्ने द्वारपालकहरू थिए।
अक्कूब, तल्मीन अनि तिनीहरूका आफन्तहरू जसले द्वारको हेरचाह गर्थे 172 जना थिए।
20 इस्राएलका रहेका मानिसहरू, पूजाहारीहरू अनि लेवीहरू यहूदाका सबै शहरहरूका आफ्ना पुर्खाका भूमिमा बसे। 21 मन्दिरका सेवकहरू ओपेल पहाडमा बसे अनि सीहा र गिश्पा मन्दिरका सेवकहरूको जिम्मा मा थिए।
22 यरूशलेममा मुख्य अधिकारी लेवीहरू उज्जीय बानीको छोरा, हशबियाहका छोरा, मतन्याहको मीकाका छोरा, आसापका सन्तानहरू, गवैयाहरू थिए जो परमेश्वरको मन्दिरको कामहरूका जिम्मामा थिए। 23 किनभने तिनीहरूको सम्बन्धमा राजकीय आदेश थियो अनि प्रतिदिन गायकहरूको सेवाको आवश्यक्ता थियो। 24 पतहियाह मशजबेलका छोरा, यहूदाका छोरा जेरहको कुल मानिसहरू सम्बन्धी सबै कुरामा राजाका सल्लाहकार थिए।
25 गाउँहरूमा तिनीहरूमा खेतहरू सहितः यहूदाका केही मानिसहरू किर्यत-अर्बा र त्यसका वरिपरिका स-साना गाउँहरू, दीबोन अनि त्यसका वरिपरिका स-साना गाउँहरू अनि यकब्सेल अनि यसका वरिपरिका स-साना गाउँहरू 26 येशूअमा, मोलादा, बेत्पलेत। 27 हसर्शूआल, बेर्शेवा अनि त्यसका वरिपरिका स-साना गाउँहरू। 28 सिकलगा, मकोना अनि त्यसका वरिपरिका स-साना गाउँहरू। 29 एरिमोन, सोराह, यर्मूत, 30 जानोह, अद्दूलाम अनि तिनीहरूका गाउँहरू लाकीश अनि त्यसका खेतहरू अजेका अनि त्यसका वरिपरिका स-साना गाउँहरू। यसरी तिनीहरू बेर्शेबा देखि लिएर हिन्नोमको बेंसीसम्म अधिकार गरेर बसे।
31 बिन्यामीनका केही मानिसहरू गेबा, मिकमाश, अय्या, बेतेल अनि त्यसका वरिपरिका स-साना गाउँहरूमा बसे। 32 अनातोत, नोब, अनन्याह, 33 हासीर, रामा, गित्तैम, 34 हादीद, सबोईम, नबलत, 35 लोद र ओनो, गे-हाराशिम ओनोमा बसे, 36 केही यहूदाय लेवी समूह बिन्यामीनलाई सुम्पियो।
पावल यरूशलेम जाँदछन
21 हामीले अग्रजहरूबाट बिदा लिए पछि जहाज चल्न शुरू भयो। हामी समुद्र यात्रा गरेर सोझै कस टापू गयौं। अर्को दिन रोडसको टापूमा आयौ। त्यहाँदेखि पटारा पुग्यौं। 2 पटारामा हामीले एक जहाजमा समुद्र यात्रा गरेर गयौं।
3 हामी साइप्रस टापूको छेउमा पुग्यौं। हामी त्यसलाई उत्तर दिशा तर्फ हेर्न सक्दथ्यौ तर हामी रोकिएनौ। हामी सिरिया देशमा गयौं। हामी टायर शहरमा थामियौं किनभने जहाजले बोकेको माल वस्तु झार्नु थियो। 4 हामीले टायर शहरमा येशूका चेलाहरू भेट्यौं र उनीहरूसँगै सात दिन बस्यौं। तिनीहरूलाई पवित्र आत्माले दिएको खबरको आधारमा तिनीहरूले पावललाई यरूशलेम नजानु भनी चेतावनी दिए। 5 तर जब हामीले त्यहाँको भ्रमण शेष गर्यो, विदा लियौं र यात्रा जारी नै राख्यौ। सबै येशूका चेलाहरू यहाँ सम्म कि स्वास्नीमानिसहरू र केटाकेटीहरूले पनि हामीलाई बिदा दिन शहर बाहिरसम्म आए। हामी सबैले किनारमा घूँडा टेक्यौ अनि प्रार्थना गर्यौ। 6 त्यसपछि हामीले विदा लिएर जहाजमा चढ्यौ। चेलाहरू घर फर्के।
7 हामी टायरदेखि आफ्नो यात्रा जारी राख्दै टोलेमाइस शहरमा गयौं। हामीले चेलाहरूलाई स्वागत गरयौं र उनीहरूसँग एकदिन बस्यौं। 8 अर्को दिन टोलेमाइस शहर छाड्यौ अनि सिजरिया शहरमा गयौं। हामी फिलिपको घरमा गयौं र बस्यों। फिलिप सुसमाचर प्रचार गरेर पमेश्वरको सेवा गरिरहेका थिए। 9 उनका चारजना अविवाहित छोरीहरू थिए र तिनीहरूले अगामवाणी गर्ने प्रतिभा पाएका थिए।
10 त्यहाँ धेरै दिन बसेपछि, एकजना अगमवक्ता अगाबस यहूदियाबटा आए 11 तिनी हामीकहाँ आए र पावलको पेटी मागे। त्यसपछि अगाबसले त्यो पेटीले हात र खुट्टा बाँधे अनि भने, “पवित्र आत्माले, भन्नुहुन्छ, ‘यो पेटी जसको हो उसलाई यसरी यरूशलेमा यहूदीहरूले बाँध्नेछन्। त्यसपछि तिनीहरूले उसलाई गैर-यहूदी मानिसहरूकहाँ सुम्पिन्छन्।’”
12 हामी सबैले ती शब्दहरू सुन्यौं। यसैले हामीहरू र येशूका अरू स्थानीय चेलाहरूले पावललाई यरूशलेम नजानु भनेर बिन्ती गर्यौं। 13 तर पावलले भने, “तिमीहरू किन रोई रहेछौ? किन मलाई यति साह्यो खिन्न पारी रहेछौ? म यरूशलेममा बाँधिन तयार छु। म प्रभु येशूको नाउँको निम्ति मर्न सम्म तयार छु!”
14 हामीले उनलाई यरूशलेमबाट टाढा राख्न सकेनौं। यसकारण हामीले उनलाई बिन्ती गर्न छोडी दियौं र भन्यौं, “हामी प्रार्थना गर्छौं कि जे प्रभुले चाहनु हुन्छ त्यही हुनेछ।”
15 त्यसपछि हामी यरूशलेममतिर जान तयार भयौं 16 सिजरियावासी येशूका कतिपय चेलाहरू हामीसँग गए। ती चेलाहरूले हामीलाई साईप्रसका मानिस मनासोनको घरमा लगे। मनासोन येशूका एकजना एकदम पुरानो चेला थिए। तिनीहरूले हामीलाई उनको घरमा लगे र हामी त्यहीं बस्यौं।
पावल याकूबलाई भेट गर्न जाँन्छन्
17 यरूशलेममा विश्वासीहरू हामीलाई देखेर अत्यन्त खुशी भए। 18 अर्कोदिन, याकूबलाई भेट्न पावल हामीसँग गए। सबै अग्रजहरू पनि त्यहाँ थिए। 19 पावलले प्रत्येकलाई अभिवादन गरे अनि परमेश्वरले अयहूदीहरूको बीचमा उहाँको सेवकहरूको माध्यमले के-के कामहरू गर्नुभयो एक-एक गरी वृतान्त सुनाए।
20 जब अग्रजहरूले यी कुराहरू सुने, तिनीहरूले परमेश्वरको प्रशंसा गरे। त्यसपछि तिनीहरूले पावललाई भने, “भाइ! तिमीहरूले देख्छौ कि कति हजारौं यहूदीहरू विश्वासी भए। तर तिनीहरू सबैले सोच्छन् कि मोशाको व्यवस्था खुबै महत्वको छ। 21 अरू देशहरूमा गैर-यहूदीहरू माझमा बस्ने यहूदीहरूलाई तिमीले मोशाको व्यस्था पालन नगर्नु भनी शिक्षा दियौ भन्ने तिनीहरूले सुनेकाछन् कि यहूदीहरूका छोरा-छीरीहरूलाई खतना गर्नु पर्दैन र हाम्रो रीति-रिवाज मान्नु पर्दैन भनी तिमीले शिक्षा दियौ।
22 “के गर्नु पर्ने? यहाँ यहूदी विश्वासीहरूले तिमी आएको निश्चय चाल पाउनेछन्। 23 यसर्थ के गर्नु पर्ने हो हामी बताउँछौं हाम्रा चारजना मानिसहरूले परमेश्वरलाई वाचा गरेका छन्। 24 यिनीहरूलाई लिएर जाऊ र तिनीहरूसँगै आफू पनि चोखिनु। तिमीले तिनीहरूको केश खोरने पैसा देऊ यसो गरे यो प्रमाण हुनेछ कि तिम्रो विषयमा तिनीहरूले जे सुने त्यो सत्य होइन। तिनीहरूले तिमीले मोशाको नियम तिम्रो आफ्नै जीवनमा पालन गरेको देख्नेछन्।
25 “गैर-यहूदी विश्वासीहरूको विषयमा हामीले तिनीहरूलाई चिट्ठी यसो भन्दै पठाएका छौः
‘मूर्तिहरूमा चढाएको खाद्य नखानु।
निमोठेर मारेका पशू नखानु, रगत नखानु।
र कुनै प्रकारको व्यभिचार नगर्नु।’”
पावलको पक्राऊ
26 पावल ती चारजना मानिसहरू आफ्नो साथ लिएर गए र तिनीहरूका चोखिने उत्सवमा भाग लिए। त्यसपछि चोखिने दिनको समापन कहिले हुने अनि तिनीहरू प्रत्येकलाई भेटी दिइने त्यसको उद्घोषण गर्न तिनी मन्दिरभित्र गए।
27 जब सात दिन बित्न लागेको थियो कतिपय एशियाका यहूदीहरूले पावललाई मन्दिर प्रागंणमा देखे। तिनीहरूले सबै मानिसहरूलाई उत्तेजित बनाए अनि पावललाई पक्रे। 28 तिनीहरू जोडले चिच्याए, “यहूदीहरू हो, हामीलाई सघाऊ। यही मानिस हो जसले मोशाको व्यस्थाको विरूद्ध, आफ्नै मानिसहरूका विरुद्ध, यी मन्दिरको विरुद्ध, शिक्षा दिइरहेछ। यो मानिसले यी कुराहरू सबै मानिसहरूलाई चारैतिर सिकाइरहेछ। अनि उसले कतिपय गैर-यहूदीहरूलाई मन्दिरको प्राङ्गणमा ल्याएकोछ। उसले यस पवित्र ठाउँलाई अशुद्ध पारेको छ!” 29 यहूदीहरूले यसो भनेको कारण उनीहरूले एफिससका त्रोफिमसलाई पावलसँग यरूशलेमा देखेका थिए अनि सोचे कि उनलाई पावलले मन्दिर क्षेत्रभित्र ल्याएको छ।
30 यरूशलेममा खलबल मच्चियो। मानिसहरू सबै तिरबाट दौडेर आए अनि पावललाई पक्रे अनि तानेर मन्दिरको क्षेत्रबाट बाहिर निकाले। मन्दिरको प्रवेशद्वारहरू तुरुन्तै बन्द भए। 31 जब मानिसहरूको भीडले पावललाई मार्न तरखर गर्दै थिए रोमन सेनापतिले सम्पूर्ण शहरमा गण्डागोल भइरेको सूचना पाए। 32 सेनापति तुरन्त त्यस ठाउँमा केही सेना अधिकारीहरू र सेनाहरू साथमा लिएर पुगे। मानिसहरूले सेनापति र सेनाहरू आएका देखे, तिनीहरूले पावललाई कुटपिट गर्न छोडे।
33 तब सेनापति पावलको छेउमा गएर पक्राउ गरे। सेनापतिले आफ्ना सेनाहरूलाई पावललाई दुइवटा साङ्लाहरूले बाँध्नु भनी हुकूम दिए। त्यसपछि सेनापतिले सोधे, “यो मानिस को हो? उसले के गल्ती गरेको छ?” 34 कतिपय मानिसहरूले एक थरीका कुराहरू गरिरहेका थिए अनि अन्य कतिपय मानिसहरूले अर्को थरीका कुराहरू गरिरेहका थिए। यस्तो अन्योलका कुराहरूले गर्दा सेनापतिले सत्य कुरा पत्ता लगाउन सकेनन्। तसर्थ, सेनापतिले सेनाहरूलाई सेना भवनमा पावललाई लैजान भन्ने हुकूम गरे। 35-36 सम्पूर्ण जनसमूह तिनीहरूका पछि आए। जब सिपाहीहरू सिँढीका छेउमा आइपुगे, तब तिनीहरूले मानिसहरूको हिंसाको कारणले पावललाई बोकेर लगे। मानिसहरू तिनीहरूलाई पछ्याउदै कराए, “त्यसलाई मार!”
37 सेनाहरू पावललाई सैन्य भवनमा लैजान तयार थिए। तर पावल सेनापतिसँग बोले। उनले सोधे, “तपाईंलाई केही भन्न सक्छु?”
सेनापतिले भने, “अरे! तिमी ग्रीक भाषा बोल्छौ? 38 मैले सोचेको मानिस तिमी होइन रहेछौ? मैले तिमीलाई मिश्रदेशवासी सम्झिरहेको थिएँ जसले (सरकाको विरुद्ध) केही अघि विद्रोह गर्न थालेको थियो। र ऊ मरुद्यानमा चार हजार ज्यानमाराहरूका अगुवा भएका थिए।”
39 पावलले भने, “म सिलिसियाका देशबाट आएको यहूदी हुँ म त्यहाँ प्रसिद्ध शहर टार्ससको नागरिक हुँ। दया गरेर मलाई मानिसहरूसँग बोल्न दिनुहोस्।”
40 सेनापतिले पावललाई मानिसहरूसँग बोल्नु अनुमति दिए। यसकारण उनी सिँढीमा उभिए अनि उनले हातको इशाराले मानिसहरू शान्त हुन भने। जब मानिसहरू शान्त भए पावल तिनीहरूसँग बोले। उनले यहूदी भाषामा तिनीहरूसँग बोले।
© 2004, 2010 Bible League International