Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उत्पत्ति 11

संसारको विभाजन

11 यतिबेला समस्त पृथ्वीमा एउटै भाषा थियो अनि थोरै शब्दहरू थिए। जब मानिसहरू पूर्वबाट बसाइँ सर्न थाले शिनार देशमा तिनीहरूले समतल भूमि भेटे अनि तिनीहरूले त्यहाँ बसोबास शुरू गरे। तिनीहरू आपसमा कुरा गरे, “हामीले ईंटा बनाउनु पर्छ अनि त्यसलाई कडा बनाउनको लागि आगोमा पोल्नु पर्छ।” यसर्थ तिनीहरूको घर बनाउदा ढुङ्गाको सट्टामा ईंटालाई प्रयोग गरे अनि ईंटा जोड्न माटोको सट्टामा मसला प्रयोग गरे।

तिनीहरूले भने, “आऊ, हामी आफ्नो निम्ति एउटा शहर बनाऔं अनि एउटा धरहरा बनाऔं जसको शिखर स्वर्ग पुग्छ। हामी प्रख्यात हुनु पर्छ र यसले हामीलाई सँगठित राख्नेछ। नत्र हामी संसारभरि छरपष्ट हुनेछौं।”

परमप्रभु मानिसहरूले बनाउदै गरेको किल्ला र शहर हेर्न तल आउनु भयो। तब परमप्रभुले भन्नुभयो, “हेर, तिनीहरू मिलेर एक भएका छन्, तिनीहरूले एउटै भाषा बोल्दैछन्। तिनीहरूले के गर्ने छन् यो एउटा शुरू मात्र हो, अब चाँडै तिनीहरूले के गर्न खोज्छन् त्यही गर्न सक्ने हुन्छन्। यसर्थ हामी तिनीहरूको माझमा जाऔं र तिनीहरूको भाषामा खलबल पारिदिऔं जसले गर्दा तिनीहरू एक-अर्काले बोलेको भाषा बुझ्न नसकुन्।”

यसरी परमप्रभुले तिनीहरूलाई पृथ्वीको सम्पूर्ण सतहभरि छरपष्ट पारिदिनु भयो। यसर्थ उहाँले भवन निर्माणको काम रोकिदिनु भयो। त्यसकारण यो शहरको नाउँ बाबेल राखियो। यसप्रकार त्यस ठाउँबाट परमप्रभुले मानिसहरूलाई पृथ्वीको सतहभरि छरपष्ट पार्नु भएको थियो।

शेमको पारिवारिक इतिहास

10 शेमको पारिवारिक इतिहास यही हो। जल प्रलय भएको दुइ बर्षपछि शेम जब एक सय बर्ष पुगेका थिए तिनी अर्पक्षदका पिता भए। 11 अर्पक्षद जन्मेपछि शेम पाँच सय बर्षसम्म बाँचे अनि तिनका अन्य छोरा-छोरीहरू पनि जन्मे।

12 जब अर्पक्षद पैतीस बर्षका भए तिनको एउटा छोरो जन्मियो जसको नाउँ शेलह थियो। 13 शेलह पछि अर्पक्षद चार सय तीन बर्ष सम्म बाँचे अनि त्यस अवधिमा तिनका अन्य छोरा-छोरीहरू पनि भए।

14 शेलह तीस बर्ष पुगेपछि तिनको एउटा छोरो जन्मियो जसको नाउँ एबेर थियो। 15 एबेर जन्मेपछि शेलह चार सय तीन बर्षसम्म जीवित रहे। त्यस अवधिमा शेलहका अन्य छोरा-छोरीहरू जन्मे।

16 एबेर चौंतीस बर्षको भएपछि तिनको एउटा पेलेग नाउँका छोरो जन्मियो। 17 पेलेग जन्मेपछि पनि एबेर चार सय तीस बर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अन्य छोरा-छोरीहरू जन्मे।

18 पेलेगको उमेर तीस बर्ष पुग्दा तिनको रऊ नाउँका छोरो जन्मियो। 19 रऊ जन्मेपछि पेलेग अर्को दुइ सय नौ बर्षसम्म बाँचे अनि यस अवधिमा तिनका अरू छोरा-छोरीहरू पनि जन्मिए।

20 रऊको उमेर बत्तीस बर्ष पुग्दा तिनको सरूग नाउँका छोरो जन्मियो। 21 सरूगको जन्म पछि रऊ अर्को दुइ सय सात बर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू पनि जन्मिए।

22 सरूगको उमेर तीस बर्ष पुग्दा तिनको नाहोर नाउँको छोरो जन्मियो। 23 नाहोर जन्मेपछि पनि सरूग दुइ सय बर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू जन्मे।

24 नाहोरको उमेर उन्तीस बर्ष पुग्दा तिनको तेरह नाउँको छोरो जन्मियो। 25 तेरह जन्मेपछि पनि नाहोर एक सय उन्नाइस बर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू जन्मे।

26 तेरहको उमेर सत्तरी बर्ष पुग्दा तिनका अब्राम, नाहोर र हारान नाउँका छोराहरू जन्मे।

तेरहको पारिवारिक इतिहास्

27 तेरह परिवारको इतिहास यही हो। तेरह अब्राम, नाहोर र हारानका बुबा थिए। हारान लूतका बुबा थिए। 28 हारान बाबेलको ऊरमा मरे अनि त्यस समय तिनका बुबा तेरह जीवित नै थिए। 29 अब्राम र नाहोरले विवाह गरे, अब्रामको पत्नीको नाउँ साराई र नाहोरकी पत्नीको नाउँ मिल्का थियो। मिल्का हारानकी छोरी थिईन र हारान मिल्का र इस्काका बुबा थिए। 30 साराईबाट कुनै सन्तान भएन कारण ऊ बाँझी थिईन।

31 तेरहले आफ्नो छोरो अब्राम, उसको नाति लूत, बुहारी सराई-अब्रामकी पत्नी, लिएर कल्दीहरूको ऊर शहर छाडी कनान देशमा जान हिँडे। तर तिनीहरू हारानसम्म गई त्यहीं बसो-बास गर्न थाले। 32 तेरह दुइ सय पाँच बर्षसम्म बाँचे र हारानमा मरे।

मत्ती 10

येशूले आफ्ना प्रेरितहरूलाई प्रचार गर्न पठाउनु हुन्छ

(मर्कूस 3:13-19; 6:7-13; लूका 6:12-16; 9:1-6)

10 येशूले आफ्ना बाह्र जना चेलाहरूलाई बोलाउनु भयो। उहाँले दुष्टात्माहरूलाई धपाउने सामर्थ्य तिनीहरूलाई दिनुभयो। उहाँले हरेक प्रकारको रोग र बिमारहरू निको गर्न सक्ने सामर्थ्य तिनीहरूलाई दिनुभयो। ती बाह्र प्रेरितहरूको नाउँ यस प्रकार छ:

शिमोन (जसलाई पत्रुस पनि भनिन्छ),

अनि उसको दाज्यू अन्द्रियास,

जब्दीको छोरो याकूब,

अनि उसको भाइ यूहन्ना,

फिलिप,

बारथोलोमाइ,

थोमा,

महसूल उठाउने मत्ती,

अल्फयसको छोरो याकूब,

थेदियस,

शिमोन कनानी,

र यहूदा इस्कारयोत (यो त्यही मानिस थियो जसले येशूलाई विश्वासघात गर्यो)।

येशूले यी बाह्रजना प्रेरितहरूलाई आज्ञा दिनुभयो। त्यसपछि उहाँले तिनीहरूलाई राज्यको विषयमा प्रचार गर्न भनी पठाउनुभयो। येशूले भन्नुभयो, “गैर यहूदीहरूकहाँ नजाऊ। सामरीहरूका शहरहरूमा पनि नजाऊ। बरू इस्राएली मानिसहरूकहाँ जाऊ। तिनीहरू हराएका भेंडा़हरू झैं छन्। जब तिमीहरू जान्दछौ, ‘स्वर्गको राज्य आउनै लागेका छ भनी प्रचार गर।’ रोगीहरूलाई निको पार, मरेकाहरूलाई जिवनमा ल्याऊ। कुष्ट रोगीहरूको उपचार गर। मानिसहरूबाट भूत धपाऊ। म तिमीहरूलाई सित्तैंमा यी शक्तिहरू दिन्छु। यसर्थ सित्तैंमा तिनीहरूलाई सघाऊ। तिमी आफ्ना साथमा पैसा सुन, चाँदी र तामा नलैजाऊ। 10 झोला समेत नबोक यात्राका निम्ति लाउने लुगाफाटा वा जुत्ता नलैजाऊ। हिँड्नलाई लौरो समेत नबोक। एक कामदारलाई उसले चाहेका सबै चीजहरूको बन्दोबस्त हुनुपर्छ।

11 “जव तिमीहरू कुनै गाउँ वा शहरतिर जान्छौ त्यहाँ कुनै न कुनै योग्य मानिसलाई भेट् अनि स्थान नछाडे सम्म उसको घरमा बस। 12 तिमी घरभित्र पस्ने बित्तीकै त्यसलाई भन। ‘तपाईंलाई शान्ति होस्।’ 13 घरभित्र भएका मानिसहरूले तिनीहरूलाई स्वागत जनाए भने तिनीहरू तिम्रो शान्तिको कामना ग्रहण गर्न योग्यका छन्। यदि तिनीहरूले स्वागत नजनाए तिमीहरूको शान्तिको कामना फिर्ता लेऊ किनभने तिनीहरू तिमीहरूको शान्तिको कामनाका योग्य छैनन्। 14 यदि कुनै घर वा शहरले तिमीहरूलाई स्वागत नगरे अथवा तिमीहरूको कुरा नसुने त्यो ठाउँ छोड्दा गोडाको धुलोसम्म टक्टकाउनु। 15 तिमीहरूलाई म साँच्चो भन्दछु। न्यायको दिनमा तिनीहरूको अवस्था सोदोम र गमोराको भन्दा नराम्रो हुनेछ।

येशूद्वारा समस्याहरू बारे चेताउनी

(मर्कूस 13:9-13; लूका 21:12-17)

16 “सुन! म तिमीहरूलाई ब्वाँसोका बीचमा भेंडा़झैं गरी पठाउँछु। यसकारण सर्पझैं चनाखो बन। अनि ढुकुरझैं सोझो बन। 17 सबै मानिसहरूदेखि सर्तक बन। तिनीहरूले तिमीहरूलाई पक्रिने छन् अनि अदालतमा पुर्याउनेछन्। तिनीहरूले आफ्नो सभाघरहरूमा लगेर तिमीहरूलाई कोर्रा लाउनेछन्। 18 तिनीहरूले तिमीहरूलाई राज्यपाल अनि राजाहरूको अघि लानेछन्। मेरो कारणले गर्दा तिनीहरूले यसो गर्नैछन्। तिमीहरू ती हाकिम अनि राजाहरू र गैर-यहूदीहरूको समक्ष मेरो बारेमा भन्नेछौ। 19 जब तिमीहरू पक्राउ पर्ने छौ के बोल्नु पर्ने र कसरी बोल्नु पर्ने भन्ने बारेमा चिन्तित नबन। त्यसबेलामा तिमीहरूले भन्नु पर्ने कुराहरू तिमीहरूलाई बताइनेछ। 20 वास्तवमा तिमीहरू बोल्नेछैनौ परमपिताको आत्मा आफैं तिमीहरूबाट बोल्नुहुनेछ।

21 “दाज्यू-भाइहरू आफ्नै दाज्यू-भाइहरूको विरुद्द हुनेछन् तिनीहरू एकले अर्कालाई मार्न लाउनेछन्। बाबुहरूले आफ्नै छोराहरूलाई मार्न लाउनेछन्। छोराछोरीहरू आमाबाबुहरूको विरूद्ध उठ्नेछन्, र तिनीहरूलाई मार्ने षड्‌यन्त्र गर्नेछन्। 22 सबै मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन् किनभने तिमीहरूले मलाई पछ्याउँछौ। तर जसले आखिरसम्म सहन्छ उसको उद्धार हुनेछ। 23 जब एउटा शहरबाट तिमीहरू खेदिनेछौ तब अर्कौ शहरमा जाऊ। म तिमीहरूसित साँच्चो भन्दछु। मानिसको पुत्र आउन अघि नै तिनीहरू इस्राएलको सबै शहरहरू भएर गइ सकेको हुनेछैनौ।

24 “कुनै पनि चेला गुरूभन्दा श्रेष्ठ हुँदैन नता कुनै दास आफ्नो मालिकभन्दा श्रेष्ठ हुन्छ। 25 एउटा चेलाको निम्ति आफ्ना गुरू जस्तै बन्नु पर्याप्त छ। एक जना दासको निम्ति आफ्ना मालिक जस्तै बन्नु पर्याप्त छ। यदि घरका ठूलाबडालाई नै बालजिबुल अथवा शैतान भनिन्छ भने, परिवारका अरू सदस्यहरूलाई त्यस भन्दा पनि नराम्रो भनिनेछ।

मानिसको होइन परमेश्वरको डर राख

(लूका 12:2-7)

26 “यसकारण ती मानिसहरूदेखि डराउने काम छैन। छोपिएका प्रत्येक कुरा उघारिनेछ। गुप्तमा रहेका प्रत्येक कुरालाई प्रकट गरिनेछ। 27 यी सबै कुराहरू म तिमीहरूलाई अन्धकारमा भन्छु तर तिमीहरूले यो कुरा उज्यालोमा भन्नु पर्छ। यी कुराहरू म तिमीहरूका कानमा कानेखुसी गर्नेछु तर तिमीहरूले यी सबै कुराहरू सबैलाई खुल्लम-खुल्ला भन्नुपर्दछ।

28 “मानिसहरूदेखि नडराऊ। तिनीहरूले तिम्रो शरीलाई मात्र मार्नेछन्। तिनीहरूले आत्मालाई मार्न सक्ने छैनन्। तिमीहरू त्यससंग डराउनु पर्नेछ जसले तिम्रो शरीर र आत्मालाई नै नर्कमा लैजान्छ। उहाँले शरीर र आत्मालाई नरकमा पठाउनु सक्नु हुन्छ। 29 चराहरू बेच्नुपर्दा दुइवटा चराको दाम एक पैसा मात्र तिर्नु पर्नेछ। तर तिम्रा पिताको इच्छबिना एउटै चरापनि मर्ने छैन। 30 तिम्रा टाउकोमा कतिवटा केशहरू छन् उहाँले ती समेत जान्नुहुन्छ। 31 यसकारण डर नमान। तिमीहरू ती चराहरूभन्दा धेरै उत्कृष्ट छौ।

विश्वास बारेमा बहस

(लूका 12:8-9)

32 “यसैकारण हरेक जसले मानिसहरूका सामु मलाई स्वीकार गर्छ, म पनि उसलाई मेरा स्वर्गमा हुने परम पिताको सामु स्वीकार गर्नेछु। 33 तर जब कुनै मानिस अरूको सम्मुख उभिएर उसले मलाई विश्वास गर्छु भन्न सक्दैन भने त्यो मेरो आफ्नो मानिस होइन भनेर म भन्नेछु। मेरा स्वर्गमा हुने पिताको अघि पनि म यसै भन्नेछु।

येशूलाई पछ्याउनाले दु:ख उठाउनु पर्छ

(लूका 12:51-53; 14:26-27)

34 “म पृथ्वीमा शान्ति ल्याउन आएको भनी नसम्झ म पृथ्वीमा शान्ति ल्याउनलाई आएको होइन। तर म तरवार चलाउन आएको हुँ। 35 म यो उद्देश्यले आएको हुँ:

‘एउटा छोरो बाबुको विरुद्ध हुन्छ।
    एउटी छोरी उसकी आमाको विरुद्ध हुन्छे।
एउटी बुहारी उसकी सासूको विरूद्ध हुन्छे।
36     कुनै मानिसको आफ्नो परिवरको मानिस इच्छा पत्रमा नाउँ भएका उसको बिरुद्ध शत्रु बन्दछ।’[a]

37 “जसले मलाई भन्दा आफ्ना बाबु-आमालाई धेरै माया गर्छ उ मलाई पच्छ्याउने योग्यको हुँदैन। जसले आफ्नो छोरा-छोरीलाई मलाई भन्दा धेरै माया गर्छ, ऊ मेरो पछिलाग्ने योग्यको हुँदैन। 38 यदि कुनै मानिसले मलाई अनुशरण गरेको बेला उसलाई दिएको क्रूस स्वीकार गर्दैन भने ऊ मलाई अनुशरण गर्ने योग्यको हुँदैन। 39 जसले आफ्नो जीवनलाई बचाउन खोज्छ उसले त्यो गुमाउनेछ। तर जसले आफ्नो जीवन मेरो निम्ति गुमाउँछ उसले त्यो प्राप्त गर्नेछ।

तिमीलाई ग्रहण गर्नेलाई परमेश्वरले आशिष दिनुहुन्छ

(मर्कूस 9:41)

40 “तिमीहरूलाई जसले ग्रहण गर्छ मलाई पनि ग्रहण गर्दछ। अनि जसले मलाई ग्रहण गर्छ मलाई पठाउनेलाई पनि ग्रहण गर्दछ। 41 अगमवक्तालाई भेट्ने उसलाई स्वागत गर्नेले असल मानिस भएको कारणले इनाम पाउँछ। एउटा असल मानिसलाई भेटेर उसलाई स्वागत गर्नेले ऊ असल मानिस भएको कारणले उसले असल मानिसको इनाम पाउँछ। 42 यदि कसैले मलाई पछ्याउनेले यी सानाहरू मध्ये कसैलाई सहायता गर्ला, उसले आफ्नो इनाम पाउनेछ। त्यस मानिसले एक मात्र दिए पनि मबाट ठूलो इनाम पाउनेछ।”

एज्रा 10

मानिसहरूले आफ्ना पापहरू मानिलिए

10 जब एज्राले स्वयं रूँदै परमेश्वरको मन्दिर अघि बसेर प्रार्थना गरे र दोष स्वीकार गरे त्यसबेला इस्राएली पुरूष, स्त्री र केटा-केटीहरूको ठूलो भिड तिनीकहाँ भेला भए। किनभने मानिसहरू जोडले रोइरहेका थिए। शकन्याह, यहीएलको छोरा, एलामका कुलहरू मध्ये एक-ले एज्रालाई भने, “हामी हाम्रा परमेश्वरप्रति विश्वासहीन भएको छौं। त्यस भूमिका विदेशी स्त्रीहरूसित विवाह गरेर। अब, यस विषयमा इस्राएलका निम्ति अझ आशा छ। यसर्थ अब यी समस्त पत्नीहरू अनि तिनीहरूका छोरा-छोरीहरूलाई मेरा मालिक एज्रा को अनि हाम्रा परमेश्वरको आदेश र आदर गर्नेहरूको सल्लाह अनुसार पठाउनका निम्ति व्यवस्था अनुसार हाम्रा परमेश्वर सित हामी एक करार गरौं। उठ, किनभने यो तिम्रो जिम्मेवारिको कुरा हो अनि हामी तिम्रोसाथ छौं। यसो गर्ने साहस गर।”

यसर्थ एज्रा उठे र उनले पूजाहारीहरू लेवीहरू अनि इस्राएलका समस्त मानिसहरूका अगुवाहरूलाई, जे गर्ने सल्लाह भएको छ। त्यही गर्ने शपथ दिलाए। तिनीहरूले त्यसै गर्ने शपथ गरे। त्यसपछि एज्रा परमेश्वरको मन्दिर सामुनेबाट पर गए अनि उनी एल्यासीबका छोरा योहानानको कोठामा गए अनि उनले त्यहीं रात बिताए। उनले त्यहाँ रोटी खाएनन्, अनि पानी पनि पिएनन्, किनभने कैदी बाट फर्केर आउनेहरूको अविश्वासीपनले गर्दा उनी अझ आफशोस गर्दै थिए। तिनीहरूले कैदीबाट फर्केर आउने सबैलाई यरूशलेममा भेला हुनु भनि यहूदा अनि यरूशलेम भरि घोषणा गरे। तीन दिन भित्रमा जो आउदैन, अधिकारी अनि धर्मगुरूको निर्णय अनुसार उसले आफ्नो सम्पूर्ण सम्पत्ति गुमाउन सक्ने छन्। अनि उसलाई फर्केर देशनिकालाहरूको समूहबाट अलग गरिनेछ।

यसर्थ तीन दिन भित्रमा यहूदा अनि बिन्यामीनका समस्त मानिसहरू यरूशलेममा भेला भए। यो नवौं महिनाको बिसौं दिन थियो। समस्त मानिसहरू परमेश्वरको मन्दिरको खुल्ला स्थानमा बसेका थिए। अनि त्यस वृष्टिको कारणले तिनीहरू डरले काम्दै थिए। 10 तब पूजाहारी एज्रा उठे अनि तिनीहरूलाई भने, “विदेशी स्त्रीहरू विवाह गरेर तिमीहरू अविश्वसनीय भएका छौ यसरी इस्राएलमा अपराध बढाएका छौ। 11 यसर्थ अब हाम्रा पिता-पुर्खाका परमेश्वर प्रति अपराध स्वीकार गर अनि उहाँको इच्छा अनुसार कार्य गर। तिमीहरूले स्वयंलाई त्यस भूमिका मानिसहरूबाट अनि तिमीहरूका विदेशी पत्नीहरूबाट अलग गर।”

12 सम्पूर्ण सभाले उच्च आवाजमा उत्तर दिए, “हजूर, तपाईंले भन्नु भए अनुसार हामीले गर्नु पर्छ। 13 तर यहाँ धेरै मानिसहरू छन् अनि यो बर्षा ऋतु हो। यसर्थ हामी बाहिर उभिन सत्तैनौं। यो काम एक वा दुइ दिनको होइन, किनभने हामीले धेरै ठूलो अपराध गरेका छौं। 14 हाम्रा अधिकारीहरू, प्रमुखहरूले सम्पूर्ण सभाको प्रतिनिधित्व गरून् अनि हाम्रा शहरका सबैजना जसले विदेशी स्त्रीहरू विवाह गरेका छन्। तिनीहरूसित प्रत्येक शहरका धर्मगुरू अनि त्यहाँका न्यायकर्त्ताहरू नियोजित समयमा आउन्, जब सम्म यस विषयमा हाम्रा परमेश्वरको जल्दो क्रोध हामीबाट टाढा हट्दैन।”

15 केवल असाहेलका छोरा जोनाथन अनि, टिकभाहका छोरा याजयाहले विरोध गरे। अनि मशुल्लाम, शब्बतै लेवीले तिनीहरूलाई समर्थन गरेनन्।

16 फर्केका कैदीहरूले यसो गरे। पूजाहारी एज्राले कुलका प्रमुखहरूलाई आफ्ना कुलका विभागको प्रतिनिधित्व गर्नका निम्ति थरि-थरिका मानिसहरू चुने अनि ती सबैलाई नाउँद्वारा पदस्थ गरेका थिए। दशौं महिनाको को पहिलो दिन तिनीहरू विषय अध्ययन गर्न बसे। 17 तिनीहरूले ती सबै मानिसहरू, जसले विदेशी स्त्रीहरू विवाह गरेका थिए। त्यो काम अर्को बर्षको पहिलो महिनाको पहिलो दिन सम्ममा पुरा गरे।

मानिसहरूको सूची जसले विदेशी स्त्रीहरू सँग विवहा गरेका थिए

18 विदेशी स्त्रीहरू विवाह गर्ने पूजाहारीका सन्तान मध्ये यिनीहरू भेट्टीएः

योशादाकका छोरा येशुअको सन्तान अनि तिनका भाइहरूका सन्तानबरूः मासेयाह, एलाजार, यारीब अनि गदल्याह। 19 तिनीहरू सबैले आफ्ना पत्नीहरूलाई छो़ड-पत्र दिने वचन दिए अनि तिनीहरू प्रत्यकले आफ्ना बथानबाट एउटा भेंडा आफ्ना दोषका निम्ति दोष बलि अर्पण गरे।

20 इम्मेरका कुलहरूबाटः हनानी अनि जबदियाह।

21 हारीमका कुलहरूबाटः मासेयाह, एलियाह, शमायाह, यहीएल, र उज्जियाह।

22 पशहूरका कुलहरूबाटः एल्योएनै, मासेयाह, इश्माएल, नतनेल, योजाबाद अनि एलासा।

23 लेवीहरू मध्येः

योजाबाद, शिमी, केलायाह, पतहियाह, यहूदा अनि एलाजार।

24 गवैयाहरू मध्येः एल्याशीब।

द्वारपालहरू मध्येः शल्लूम, तेलेम अनि ऊरी।

25 अनि रहेका, अन्य इस्राएली मध्येः

परोशका कुलहरूकाः सम्याह, यिज्याह, मल्किया, मिय्यामीन, एलाजार, मल्कियाह, बनायाह।

26 एलामका कुलहरूबाटः मत्तन्याह, जकर्याह, यहीएल, अब्दी, यरेमोत अनि एलिया।

27 जत्तूका कुलहरूबाटः एल्योएनै, एल्याशीव, अत्तन्याह, यरेमोत, जरबाद अनि अजीजा।

28 बेबैका कुलहरूकाः यो मानिसहरू येहोहानान, हनन्याह, जब्बै अनि अत्लै।

29 बानीका कुलहरूबाटः मशूल्लाम, मल्लूक, अदायाह, याशूब, शाल अनि यरेमोत।

30 पहत-मोआबका कुलहरूबाटः अद्ना, केलाल, बनायाह, मासेयाह, मत्तन्याह, बज्लेल बिन्नूई अनि मनश्शे।

31 हारीमको कुलहरूबाट यी मानिसहरूः एलाजार, यिश्शियाह, मल्कियाह, शमायह, शिमेओन। 32 बिन्यामिन, मल्लूह, अनि शमर्याह।

33 हाशूमका कुलहरूबाट यी मानिसहरू मत्तनै, मत्तता, जाबाद, एलीपेलेत, येरेमै, मनश्शे अनि शिमी।

34 बानीका कुलहरूबाट यी मानिसहरूः मादे, अम्राम, अनि ऊएल। 35 बनायाह, बेदयाह कलूही। 36 बन्याह, मरेमोत, एल्याशीब। 37 मत्तन्याह, मत्तनै अनि यासू।

38 बिन्नूईको कुलहरूबाट यी मानिसहरूः 39 शिमी, शेलेम्याह, नातान, अदाया, 40 मक्नादबै, शाशै, शारै, 41 अज्रेल शेलेम्याह, शमर्याह, 42 शल्लूम, अमर्याह अनि योसेफ।

43 नेबोका कुलहरूबाट यी मानिसहरूः यीएल, मत्तियाह जाबाद, जीबना, इद्दै योएल अनि बनायाह।

44 यी सबै मानिसहरूले विदेशी स्त्रीहरूलाई विवाह गरेका थिए, अनि तिनीहरू कसैको पत्नीहरूसँग छोरा-छोरीहरू थिएनन्।

प्रेरित 10

पत्रुस र कर्नीलियस

10 सिजरिया भन्ने शहरमा कर्नीलियस नाउँ भएको एकजना मानिस थिए। उनी रोमन एकाईका पल्टनका एकजना कप्तान थिए जसलाई “इटालियन” भनिन्थ्यो। कर्नीलियस एक जना धार्मिक मानिस थिए। उनी र अन्य मानिसहरू जो उनकै घरमा बस्थे साँच्चो परमेश्वरलाई आराधना गर्थे। उनले गरीबहरूलाई यथाशक्य पैसा-रूपिया दिन्थे कर्नीलियसले नित्य परमेश्वरको प्रार्थना गर्थे। एक पल्ट अपरान्ह तीन बजेतिर, कर्नीलियसले स्पष्ट एउटा दर्शन देखे। त्यहाँ तिनले एक स्वर्गदूत आफूतिरै “कर्नीलियस!” भन्दै आइरहेको देखे।

कर्नीलियसले स्वर्गदूतलाई डराएर हेरे अनि भने, “तपाईं के चाहनु हुन्छ, प्रभु?”

स्वर्गदूतले भने, “परमेश्वरले तिम्रो प्रार्थना सुन्नु भयो अनि गरीब, दुःखीहरूप्रति गरेको दया देख्नु भयो। परमेश्वरले तिम्रो सम्झना गर्नु हुँदैछ। केही मानिसहरू जोप्पा शहरमा पठाऊ। शिमोनलाई फर्काई ल्याउन तिम्रा केही मानिसहरू पठाऊ जसलाई पत्रुस पनि भनिन्छ। शिमोन जुन मानिसकोमा बस्दैछ उसको नाउँ पनि शिमोन नै हो। उसले छालाको काम गर्छ। उसको घर समुद्रको नजिकमा छ।” कर्नीलियससँग बोल्ने स्वर्गदूत गए कर्नीलियसलले आफ्ना दुइजना नोकरहरू र एकजना सिपाहीलाई बोलाए। त्यो सिपाही धार्मीक प्रवृतिका मानिस थिए। तिनी कर्नीलियसको मानिसगत सहयोगी थियो। कर्नीलियसले ती तीनैजनालाई राम्ररी गरेर कुरा सम्झाए। त्यसपछि तिनीहरूलाई जोप्पा पठाइदिए।

अर्को दिन ती तीनैजना जोप्पा शहर नजीक आईपुगे। त्यसबेला पत्रुस छानामाथि प्रार्थना गर्न भनी गए। त्यो मध्याह्रको बेला थियो। 10 पत्रुस भोको थिए। तिनी खान चाहन्थे। तिनीहरूले भोजन तयार गरिरहेको बेला दर्शन देखे। 11 उनले आकाश खुल्ला देखे अनि ठूलो लुगाको टुक्रा जस्तो केही तल खसिरहेथ्यो। त्यो ठूलो लुगा त्यसका चार कुना द्वारा अडिएको थियो अनि भूइँमा झरिरहेको थियो। 12 नाना किसिमका प्राणीहरू त्यहाँ थिए- हिँड्ने प्राणीहरू, धस्रिने प्राणीहरू, अनि हावामा उड्ने चरा-चुरूङ्गीहरू। 13 त्यसपछि एउटा आवाजले पत्रुसलाई भन्यो, “उठ पत्रुस, कुनै पनि एउटा सजीव प्राणी मारेर खाऊ।”

14 तर पत्रुसले भने, “म त्यस्तो कहिल्यै गर्नै छैन, प्रभु! मैले त्यस्तो कुनै पनि अशुद्ध र अपवित्र खाना खाएको छैन।”

15 तर आवाजले उसलाई दोस्रो पलट भन्यो, “परमेश्वरले ती सबै कुराहरू शुद्ध भएको घोषणा गर्नु भएको छ। यसर्थ तिमी त्यसलाई ‘अपवित्र’ नसोच!” 16 यस्तो घट्ना तीनपल्ट भयो। त्यसपछि सबै चीजहरू आकशतिरै फर्काएर लग्यो। 17 यस्तो दर्शनको मतलव के होला भनेर पत्रुस छक्क परे।

यसबेला कार्नीलियसले पठाएका मानिसहरूले शिमोनको घर पत्ता लगाए। तिनीहरू दैलोमा उभिरहेका थिए। 18 तिनीहरूले जोडले बोलाए अनि सोधे, “के शिमोन पत्रुस यहाँ बस्छन्?”

19 पत्रुस त्यही दर्शनको विषयमा सोचिरहेका थिए। तर आत्माले उनलाई भन्नुभयो, “हेर! तीनजना मानिसहरूले तिमीलाई खोजिरेहछन्। 20 उठ अनि तल्लो तलामा जाऊ। ती मानिसहरूसँग अप्ठेरो, नमानी जाऊ। मैले तिनीहरूलाई तिमीकहाँ पठाएको हुँ।” 21 तब पत्रुस ती मानिसहरू भएकहाँ तल्लो तलामा ओर्ले। उनले भने, “तिमीहरूले खोजिरहेको मानिस म हुँ। तिमीहरू किन यहाँ आयौ?”

22 ती मानिसहरूले भने, “कर्नीलियस एक सैनिक अधीकारी हुन्। उनी धार्मिक प्रवृतिका मानिस हुन् उनी परमेश्वरको आराधना गर्दछन्। सम्पूर्ण यहूदीहरूले उहाँलाई सम्मान गर्दछन्। एक पवित्र स्वर्गदूतले उहाँको घरमा तपाईंलाई निमन्त्रणा गर्नु भन्नु भएथ्यो ताकि उहाँले तपाईंबाट केही सन्देशहरू सुन्न सकुन्।” 23 पत्रुसले तिनीहरूलाई भित्र आउने र आज राती त्यही बस्ने आग्रह गरे।

अर्कोदिन पत्रुस तयार भएर ती तीनजना मानिसहरूसँग गए। केही जोप्पाका चेलाहरू पनि पत्रुससँग गए। 24 अर्कोदिन तिनीहरू सिजरिया भन्ने शहरमा आइपुगे। कर्नीलियसले तिनीहरूलाई पर्खिरहेका थिए। उनले पहिल्यैबाट आफ्ना सन्तानहरू र आफ्ना साथीहरूलाई घरमा भेला गरिसकेका थिए।

25 जब पत्रुस घरभित्र पसे, कर्नीलियसले उनीसँग भेट गरे अनि पत्रुसको पाउमा निहुरिएर श्रद्धा गरे। 26 तर पत्रुसले उनलाई उठ्ने आग्रह गरे। पत्रुसले भने, “उठ! म केवल तिमी जस्तै मानिस हुँ।”

27 पत्रुस कर्नीलियसँग वार्तालाप गर्दै भित्र पसे अनि त्यहाँ धेरै मानिसहरू भेला भएका देखे।

28 उनले तिनीहरूलाई भने, “तिमीहरूले जान्दछौ कि यहूदी भएर अरू वंशका मानिसहरूसँग यसरी सँगत गर्नु अथवा मानिसहरूकोमा जानु यहूदीहरूको व्यवस्थाको विरुद्ध हो। तर परमेश्वरले मलाई देखाई सक्नु भएको छ कि मैले कसैलाई ‘अपवित्र’ अथवा ‘अशुद्ध’ भनेर भन्नु हुँदैन। 29 त्यसैकारणले म यहाँ कुनै आक्षेप विनै आएँ। अब मलाई भन, के कारणले मलाई यसरी बोलाएको हो”

30 कर्नीलियसले भने, “चार दिन अघि, म घरमा प्रार्थना गरिरहेको थिएँ। त्यसबेला अपरान्ह तीन बजेको थियो। अचानक एकजना स्वर्गदूत चम्किलो लुगा लगाएर मेरो सामुन्ने उभिए। 31 तिनले भने, ‘कर्नीलियस! परमेश्वरले तिम्रो प्रार्थाना सुन्नु भयो अनि गरीब दुःखीहरूलाई तिमीले दान दिएको देख्नु भयो। परमेश्वरले तिमीलाई याद गर्नु हुन्छ। 32 त्यसैले शहर जोप्पामा मानिसहरू पठाऊ र शिमोन जसलाई पत्रुस पनि भनिन्छ यहाँ आउने निवेदन गर। पत्रुसलाई आउने आग्रह गर। उनी सिमोन छालाको कर्मीको घरमा बसेकाछन्। उसको घर समुद्रको छेउमा छ।’ 33 यसकारण मैले तपाईंलाई तुरून्त लिएर आउन भनि मानिस पठाएँ। तपाईं आइदिनु नै हाम्रो लागि राम्रो भयो। यहाँ हामी अब परमेश्वर समक्ष छौं ती सबै कुराहरू सन्नुलाई जो प्रभुले भन्नु भनि तपाईंलाई आदेश दिनु भएकोछ”

कर्नीलियसको घरमा पत्रुसको भाषण

34 पत्रुसले बोल्न शुरू गरे, “अब मैले साँच्चै बुझ्नु कि परमेश्वरको निम्ति सबै मानिसहरू एक समान हुन्। 35 अनि हरेक राष्ट्रमा परमेश्वरले त्यसलाई स्वीकार गर्नुहुन्छ, जसले उहाँको आराधाना गर्छ अनि जे सही छ त्यो गर्छ। 36 परमेश्वर यहूदीहरूसँग बोल्नु भएको छ। परमेश्वरले येशू ख्रीष्टको जो सबै मानिसहरूका परमप्रभु हुनुहुन्छ उनको माध्यमद्वारा शान्तिको सुसमाचार उनीहरूका लागि पठाउनु भयो।

37 “यहूदिया भरि के भयो भन्ने कुरा तिमीहरूलाई थाहा होला। यो गालीलमा यूहन्नाले बप्तिस्माको बारेमा मानिसहरूलाई प्रचार गरे पछि शुरू भएको हो। 38 तिमी नासरतका येशूको विषयमा जान्दछौ। परमेश्वरले उहाँलाई पवित्र-आत्मा र शक्ति प्रदान गरेर ख्रीष्ट बनाउनु भयो। येशू चारैतिरका मानिसहरूको लागि राम्रो काम गर्दै जानुभयो अनि प्रेतात्मा वा दुष्टात्मा लागेका मानिसहरूलाई उहाँले निको पार्नुभयो। यसले परमेश्वर येशूको साथमा भएको प्रमाण दिँदछ।

39 “हामीले उहाँले यहूदिया र यरूशलेममा गर्नु भएका सम्पूर्ण कार्यहरू देख्यौं। हामी त्यो देखिरहेका छौ। त्यसको गवाही बनिरहेछौ। तर तिनीहरूलले उहाँलाई काठले बनाएको क्रूसमा झुण्ड्याएर मारे। 40 तर, उहाँको मृत्यु भएको तीन दिन पछि परमेश्वरले उहाँलाई बौराउनु भयो अनि मानिसहरूलाई छर्लक्क येशूलाई देखाइदिनु भयो। 41 तर येशूलाई सबै मानिसहरूले देख्न सकेनन्। जजसलाई परमश्वरले गवाहीको रूपमा छान्नु भएको थियो तिनीहरूले मात्र येशूको दर्शन पाए। हामी ती गवाहीहरू हौं उहाँ मृत्युबाट बौरे पछि हामीले येशूसँगै खाना-पिना गर्यौं।

42 “येशूले हामीलाई प्रचार गर्नु अनि मानिसहरूलाई भन्नुभयो कि उहाँलाई मात्र परमेश्वरले जीउँदो मानिसहरू अनि मृतहरूको पनि न्याय गर्नका निम्ति छान्नु भएको हो। 43 प्रत्येक मानिस जसले येशूमाथि विश्वास गर्दछ येशूको नाउँमा उसले पापहरू माफ पाउनेछ। सम्पूर्ण अगमवक्ताहरूले उनको सत्यता सावित गरे।”

गैर-यहूदीहरूसँग पवित्र-आत्मा

44 पत्रुस बोलिरहेको बेला सन्देश सुन्ने ती सबै मानिसहरूमा पवित्र आत्मा उत्रनु भयो। 45 यहूदी विश्वासीहरू जो पत्रुससँग त्यहाँ आएका थिए तिनीहरू छक्क परे किनकी गैर-यहूदीहरूमा पनि पवित्र-आत्माको उपहार बर्षिएको थियो। 46 यहूदीहरूले ती गैर-यहूदीहरूले विभिन्न भाषाहरू बोलेका र परमेश्वरको स्तुति गरेको सुने। त्यसपछि पत्रुसले भने, 47 “के कसैले पानीलाई रोक्न सक्छ जसद्वारा यी मानिसहरूलाई बप्तिस्मा लिनबाट रोक्न सकिन्छ? तिनीहरूले पनि हामीहरूले जस्तै पवित्र आत्मा प्राप्त गरेका छन्।!” 48 तब पत्रुसले कर्नीलियस, उनका सन्तानहरू अनि साथीहरूलाई येशू ख्रीष्ट को नाउँमा बप्तिस्मा दिने आज्ञा दिए। तब मानिसहरूले पत्रुसलाई केही दिन सम्म त्यही बसिदिने बिन्ती गरे।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International