Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उत्पत्ति 8

जल प्रलयको अन्त

नूह र उनीसित जहाजमा जो मानिस पशु र चराहरू थिए, तिनीहरूलाई परमेश्वरले सम्झनु भयो। परमेश्वरले पृथ्वीमा हावा बहाउनु भयो। र पानी बिस्तारै घट्न थाल्यो।

आकाशबाट पानी पर्न छोडे पछि भूमि मुनिबाट पनि पानी बग्न छोड्यो। त्यसपछि बिस्तारै जमिनमा पानी घट्न थाल्यो। 150 दिन पुगेपछि पानी घटेको थियो अनि सातौं महीनाको सत्रौं दिन अरारात पर्वतमा जहाज अडियो। यसरी पानी दशौं महीना नपुगुन्जेलसम्म घटिरह्यो। महीनाको पहिला दिन पर्वतको चुचुराहरू देखिए।

त्यसपछि चालीसौं दिनको अन्तमा नूहले जहाजको ढोका खोलेर एउटा कागलाई उडाई दिए। अनि त्यो काग पृथ्वीमा पानी नसुकुन्जेलसम्म उडेर जाँदै-फर्कंदै गरिरह्यो। त्यसपछि उनले फेरि पृथ्वीको सतहमा पानी सुकीसकेको छ वा छैन जान्न जहाजबाट एउटा ढुकुर उडाइ दिए।

तर त्यस ढुकुरले पृथ्वीमा कतै आफ्नो पाऊ राख्ने ठाउँ पाएन। जमीनमा कतै पाऊ राख्ने ठाउँ नपाएर त्यो ढुकुर फर्केपछि नहुले हात फिंजाएर त्यसलाई समाती जहाजभित्र पसाए।

10 नूहले अझै सात दिन पर्खेर फेरि त्यस ढुकुरलाई जहाजबाट बाहिर उडाइदिए, 11 अनि त्यो ढुकुर साँझमा फेरि जहाजमा फर्किएर आयो। यस पल्ट नूहले पृथ्वीको सतहबाट पानी सुकेको चाल पाए कारण यस पल्ट त्यस ढुकुरले आफ्नो चुच्चोमा एउटा भद्राक्षको पात चेपेर ल्याएको थियो। 12 त्यसपछि नूहले फेरि सात दिनसम्म पर्खे र त्यही ढुकुरलाई जहाजबाहिर उडाइ दिए तर यस पल्ट त्यो ढुकुर फर्केर नूह भएको जहाजमा आएन।

13 नूहको उमेरको 601 बर्ष भएको थियो पहिलो महीनाको पहिलो दिन पृथ्वीको सतहमाथि पानी पूर्णरुपले सुक्यो। यसर्थ नूहले जहाजको ढोका खोलेर हेर्दा देख्यो पृथ्वीको सतहमा पानी सुकिसकेको थियो। 14 दोस्रो महीनाको सत्ताईसौं दिनमा पृथ्वीको सतहबाट सम्पूर्ण रूपले पानी सुकेको थियो।

15 तब परमेश्वरले नूहलाई भन्नुभयो, 16 “तँ, तेरी पत्नी, तेरा छोराहरू र बुहारीहरू लिएर जहाज बाहिर आइज। 17 जहाजमा तँसँग जे जति चराहरू, पाल्तू जनावर, वनका जनावार भूमिमा घस्रने जन्तुहरू ती सब भूमिमा ओह्राल जसले गर्दा तिनीहरूले पृथ्वीमा आफ्नो सन्तान बढाउन्, पशुहरूले तिनीहरूको संख्या पृथ्वीमा बढाउन्।”

18 यसर्थ, नूह उनका छोराहरू, उनकी पत्नी तथा बुहारीहरू जहाजबाट बाहिर भूमिमा निस्के। 19 आफ्नो-आफ्नो परिवार, प्रत्येक जनावर, घस्रने प्राणीहरू, प्रत्येक चरा जो पनि पृथ्वीमाथि हिँड़डुल गर्छन् तथा आकाशमा उड्छन् ती सबै पृथ्वीमा ओर्लिए।

20 त्यसपछि नूहले परमप्रभुको निम्ति एउटा वेदी उभ्याए र उनले केही पवित्र पशुहरू र पवित्र चराहरू परमप्रभुको निम्ति वेदीमा होमबलि चढाए।

21 परमप्रभुले त्यस बलिदानहरूको बास्ना लिएपछि मनमा भन्नुभयो, “फेरि पृथ्वीलाई कहिल्ये पनि सराप दिने छैन। यसर्थ अब उसो कहिले पनि यस प्रकारका जीवित प्राणीहरूलाई नष्ट पार्ने छैन। 22 जहिलेसम्म पृथ्वी रहन्छ, बिउ छर्ने र फसल काट्ने समय, जाडो र गर्मी, ग्रीष्म र शिशिर, दिन अनि रातको कहिल्यै अन्त हुनेछैन।”

मत्ती 8

येशूले कुष्टरोगीलाई निको पार्नुभयो

(मर्कूस 1:40-45; लूका 5:12-16)

येशू डाँडाबाट ओर्लनुभयो। असंख्य मानिसहरूले उहाँलाई पछ्याए। त्यसैबेला एउटा कुष्टरोगी उहाँ छेउ आइपुग्यो। येशूको अघि आफ्नो शिर निहुर्याएर त्यसले भन्यो, “हे प्रभु, तपाईंको इच्छा भए मलाई शुद्ध गर्नसक्नुहुन्छ।”

येशूले त्यो मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, “म तिमीलाई शुद्ध गर्न चाहन्छु। तिमी जाती भइजाऊ।” अनि तुरून्तै उसको कुष्ट रोग निको भइहाल्यो। तब येशूले त्यस मानिसलाई भन्नुभयो, “हेर यसबारे तिमीले कसैलाई नभन्नू। तर आफैं जाऊ अनि पूजाहारीलाई देखाऊ र प्रमाणको लागि मोशाको आज्ञानूसार, तिनीहरूका समक्ष भेटी चढाऊ। जसले गर्दा मानिसहरूले तिमीलाई निको भएको देख्न सक्ने छन्।”

येशूले अधिकारीको नोकरलाई निको पार्नुभयो

(लूका 7:1-10; यूहन्ना 4:43-54)

येशू कफर्नहुममा पुग्नुभयो। जब उहाँले शहरमा प्रवेश गर्नुभयो, एकजना सेनाका अधिकारी उहाँकहाँ आए अनि उहाँको सहयोगको निम्ति विन्ती गरे। अधिकारीले भने, “हे प्रभु! मेरो नोकर पक्षघातले थलिएर मेरो घरको पलङ्गमा लडिरहेको छ। उसले आफ्नो शरीर चलाउनसम्म सकेको छैन अनि उग्र व्यथाले पीडित छ।”

येशूले ती अधिकारीलाई भन्नुभयो, “म त्यहाँ जानेछु अनि तिनलाई निको पारिदिनेछु।”

अधिकारीले जवाफ दिए, “हे प्रभु! तपाईं मेरो घरमा पस्नु हुने त्यति योग्यको म छैन। तर तपाईंले एक वचन भनिदिनुहोस् र मेरो नोकर निको भइहालोस्। म कसैको अधीनमा छु। अनि मेरो अधिनमा अरू सैनिकरू छन्। यदि मैले कुनै एकजना सिपाहीलाई भनें, ‘जाऊ’ भन्दा उ जान्छ। अनि अर्को एक सिपाहीलाई मैले आउ भन्दा ऊ आँउछ। यदि मैले मेरो नोकरलाई भनें, ‘यो गर’ अनि उसले त्यो गर्छ। मलाई थाहा छ तपाईंसँग पनि यस्तो शक्ति छ।”

10 जब येशूले यी सबै कुराहरू भनेको सुन्नुभयो, उहाँ आश्चर्यचकित हुनुभयो। उहाँले आफ्नो साथमा भएका ती सबै मानिसहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु, इस्राएलमा पनि मैले कुनै मानिस यस्तो दृढ विश्वासी पाइनँ। 11 धेरै मानिसहरू पूर्व र पश्चिमबाट आई पुग्ने छन् अनि तिनीहरू स्वर्गको राज्यमा अब्राहाम, इसाहाक र याकूबसँग भोजन गर्नका निम्ति मेचमा बस्नेछन्। 12 तर राज्यमा मार्ग पाउनु पर्ने मानिसहरू चाहिं तिनीहरू अन्धकार भित्र फालिनेछन्। अनि त्यो ठाउँमा मानिसहरू पीडाले रूवाबासी र दाह्रा किट्ने छन्।”

13 तब येशूले त्यस अधिकारीलाई भन्नुभयो, “तिम्रो घरमा जाऊ। तिमीले विश्वास गरे जस्तै तिम्रो नोकर निको भइसकेको हुनेछ।” अनि ठीक त्यसैबला उसको नोकर निको भयो।

येशूद्वारा धेरै मानिसहरू निको पारिएका

(मर्कूस 1:29-34; लूका 4:38-41)

14 येशू पत्रुसको घरमा जानुभयो। त्यहाँ येशूले उसकी सासूलाई कड़ा ज्वरोले थलिएर पलङ्गमा लडिरहेको पाउनु भयो। 15 तब येशूले तिनको हात छुनुभयो तिनी निको भइन्। अनि तिनी उठिन् र उहाँको सुसार गरिन्।

16 त्यसै साँझ मानिसहरूले भूत लागेका धेरै जनालाई लिएर येशूकहाँ आए। येशूले भूतहरूलाई खेदनु भयो। जो-जो बिमारी परेका थिए ती सबै ठीक भए। 17 यशैया अगमवक्ताले भनेका सबै कुरा येशूले पूरा गर्नुभयो:

“उहाँले हाम्रा यातनाहरू हटाइदिनु भयो,
    अनि हाम्रा रोगहरू उहाँले बोक्नुभयो।”(A)

येशूका चेलाहरू

(लूका 9:57-62)

18 येशूले देख्नुभयो आफूलाई धेरै मानिसहरूले घेरेका थिए। अनि आफ्ना चेलाहरूलाई झीलको अर्को तिर जान लगाउनु भयो। 19 त्यसबेला एकजना शास्त्री उहाँकहाँ आए अनि भने, “हे गुरूज्यू। तपाईं जता-जता जानुहुन्छ, म तपाईंको पछि-पछि लाग्नेछु।”

20 येशूले तिनलाई भन्नुभयो, “स्यालहरूका बस्ने प्वाल हुन्छन्। आकाशका चराचुरूङ्गीको बस्ने गुँड हुन्छ। तर मानिसको पुत्रको लागि ता शिर अडाउने ठाउँ सम्म छैन।”

21 अर्को एकजना मानिस, जो येशूको चेलाहरूमध्ये एकजना थिए तिनले येशूलाई भने, “हे प्रभु, पहिला गएर मलाई मेरो बाबुलाई गाड्न दिनुहोस्। त्यसपछि म तपाईंलाई पछ्याउनेछु।”

22 तर येशूले ती मानिसलाई भन्नुभयो, “मेरोपछि लाग, मरेका मानिसहरूले तिनीहरूको आफ्नो मुर्दाहरूलाई आफैं गाडुन्।”

येशूले आँधीलाई शान्त गराउनु हुन्छ

(मर्कूस 4:35-41; लूका 8:22-25)

23 येशू एउटा डुङ्गामा चढनुभयो र उहाँको चेलाहरू पनि उहाँको पछि लागे। 24 जब डुङ्गाले किनार छाड्यो, त्यसैबेला झीलमा अचानक एक भयङ्कर आँघी चल्न थाल्यो। छालहरूले डुङ्गालाई ढाक्न लाग्यो। तर येशू सुतिरहनु भएको थियो। 25 चेलाहरू गए र उहाँलाई ब्यूँझाए र भने, “हे प्रभु, हामीलाई बँचाउनुहोस् हामी डुब्न लागिरहेछौं।”

26 येशूले भन्नुभयो, “तिमीहरू किन डराउँछौ? तिमीहरू सित त्यत्ति विश्वास छैन?” तब येशू उठ्नुभयो अनि आँधी र छालहरूलाई आज्ञा गर्नु भयो। आँधी थामियो, अनि झीलमा पूरा शान्ति छायो।

27 सबै मानिसहरू छक्क परे। तिनीहरू भन्नलागे, “उहाँ कस्तो मानिस हुनुहुन्छ? किनभने हावा र बतासले पनि उहाँको आज्ञा मान्दो रहेछन्।”

येशूले भूत लागेको दुइजना मानिसहरूलाई चंगाई गर्नु भयो

(मर्कूस 5:1-20; लूका 8:26-39)

28 गदरिनीहरूको मुलुकको एउटा झीलको अर्कोतर्फ येशू आइपुग्नु भयो। त्यहाँ दुइजना मानिस येशू कहाँ आए। तिनीहरूलाई भूत लागेको थियो। तिनीहरू चिहानको गुफामा बस्दथे। तिनीहरू अत्यन्तै डरलाग्दा थिए। यसले गर्दा मानिसहरू त्यो बाटो हिँड्ने आँट गर्दैनथे। 29 ती दुइजना येशूकहाँ आए अनि चिच्याउन थाले, “परमेश्वरको पुत्र तपाईं हामीबाट के चाहानु हुन्छ? के समय आउनु भन्दा अघि हामीलाई दण्ड दिनु आउनु भएको हो?”

30 छेउको क्षेत्रमा सुँगुरहरूको बथान चरिरहेको थियो। 31 भूतहरूले येशूलाई बिन्ती गर्न लागे, “यदि तपाईंले हामीलाई यी मानिसहरूबाट धपाउन चाहनुहुन्छ भने, दयागरी हामीलाई ती सुँगुरहरूको बथानमा पस्न दिनुहोस्।”

32 येशूले तिनीहरूलाई भन्नुभयो, “जाऊ!” तब ती भूतहरूले मानिसहरूलाई छाडे र सुँगुरहरूमा पसे। त्यसपछि ती सम्पूर्ण बथानहरू डाँडाको भिरालो धारबाट झील तिर ओर्लिए। ती सबै झीलमा डुबे। 33 ती सुँगुर चराउनेहरू भागे, र शहरतिर गए अनि सबैलाई सुँगुरहरू र भूतहरूले सताएको विषयमा सुनाउन थाले। 34 तब शहरका सबै मानिसहरू येशूलाई हेर्न आए। जब मानिसहरूले येशूलाई देखे, तिनीहरूले त्यस मुलुकलाई छोडेर जानुभनी निवेदन गरे।

एज्रा 8

एज्रासँग फर्केर आउने अगुवाहरूको सूची

यी तिनीहरूका विस्थापित कुल वंशाका अगुवाहरू हुन् जो राजा आर्ट-जारसेज को शासनकालमा मसँग बाबेलदे आएकाथिए।

पीनहासका कुलका; गेर्शोम, ईतामारका कुलबाट; दानियेल दाऊदका कुलबाटः हात्तूश;

शकन्याहका कुलबाट; परोश, जकर्याह, अनि तिनीसित सूची भएका 150 मानिसहरू थिए;

पहत-मोआबका कुलबाट; जरहियाहका छोरा एल्याहोएनै अनि तिनीसित 200 मानिसहरू;

जत्तूका कुलहरूबाटः यहजीएलका छोरा शकन्याह अनि तिनीसित 300 मानिसहरू।

आदीनका कुलबाटः जोनाथनका छोरा एबेद अनि तिनीसित 50 मानिसहरू।

एलमाका कुलबाटः अतल्याहका छोरा यशयियाह अनि तिनीसित 70 मानिसहरू।

शपत्याहका कुलबाटः मीकाएलका छोरा जबदियाह अनि तिनीसित 80 मानिसहरू।

योआबका कुलबाटः यहीएलका छोरा ओबदिया अनि तिनीसित 218 मानिसहरू।

10 बानीका कुलबाटः योसिपियाका छोरा शलोमीत अनि तिनीसित 160 मानिसहरू।

11 बेबैका कुलबाटः बेबैका छोरा जकर्याह अनि तिनीसित 28 मानिसहरू।

12 अज्गादका कुलबाटः हक्कातानका छोरा योहानान अनि तिनीसित 110 मानिसहरू।

13 आखिरी चाँहि अदोनीकाम, सन्तानबाट थिए तिनीहरूका नाउँ: एलीपेलेत, यीएल र शमायाह तिनीसित 60 मानिसहरू थिए।

14 बैग्बै कुलबाटः उत्तै, जब्बूद अनि तिनीहरू सित 70 मानिसहरू थिए।

यरूशलेमा फर्कीएका

15 मैले तिनीहरूलाई नदीको छेउमा भेला गरें जो अहवातर्फ बग्छ, हामी त्यहाँ छाउनी लगएर तीन दिनसम्म बस्यौं। मैले ती मानिसहरू अनि पूजाहारीहरूलाई हेरे तर मैले त्यहाँ कुनै लेवीहरूलाई देखिनँ। 16 यसकारण मैले एलाजार, अरीएल, शमायाह, एल्नातान, यारीब, एल्नातान, नातान, जकर्याह र अश्शूलाम, जो अगुवाहरू अनि योयारीब र एल्नातानहरूलाई बोलाएँ तिनीहरू बुज्झकि मानिस थिए। 17 अनि मैले तिनीहरूलाई कासिपियाह नामक स्थानमा अगुवा इद्दो कहाँ पठाएँ। इद्दो र तिनका दाज्यू-भाइहरू अनि कसिपियाह स्थानको मन्दिरका सेवकहरूलाई के भन्नु पर्ने सो भने जसद्वारा तिनीहरूले हामी कहाँ हाम्रा परमेश्वरको मन्दिरको निम्ति कर्मीहरू ल्याउन सकोस्। 18 किनभने हाम्रा परमेश्वरले हामीलाई सहयाता गर्नु भयो, तिनीहरूले हामीकहाँ एक वुद्धिमान मानिस, लेवीको छोरा महलीका कुलहरूका। इस्राएलका छोरा जस्तै शरेबियाह र तिनका छोराहरू भाइहरू एवं अन्य मानिसहरू। 19 अनि शरेबियाह तिनीसित मरारीका सन्तानहरूका यशैयार तिनका भाइ र छोराहरू। 20 अनि मन्दिरका सेवकहरू जसलाई दाऊद अनि राजकुमारहरूले लेवीहरूलाई सहायता गर्न नियुक्त गरेका थिए। 220 जना मन्दिरमा सेवकहरू पठाए। ती सबै का नाउँ सूचीमा लेखिए।

21 त्यहाँ अहवा नदीको छेउमा, हामीहरू अनि हाम्रा केटा-केटीहरू र हाम्रा सबै सम्पत्तिहरूको निरापद यात्राको निम्ति उहाँसित विन्ती गर्नलाई हामी परमेश्वरको समक्ष स्वयंलाई विनम्र तुल्याउन सकौं भनी उपवासको घोषणा गर्यौं। 22 किनभने यात्रामा हामीलाई शत्रुहरूबाट सुरक्षित राख्नको निम्ति राजासँग सैनिक अनि घोडसवारहरूको माग गर्नमा लज्जित थियौं। किनभने हामीले राजालाई भनेको थियौं, “हाम्रा परमेश्वरले ती सबैलाई सहायता गर्नु हुन्छ, जो उहाँ प्रति विश्वास गर्छन् तर उहाँ तिनीहरू प्रति अति क्रोधित हुनुहुन्छ, जो उहाँदेखि टाढा हुन्छन्।” 23 यसर्थ हामीले यसका निम्ति उपवास बस्यौं र हाम्रा परमेश्वर प्रति प्रार्थना गर्यौं अनि उहाँले हाम्रो प्रार्थनाको उत्तर दिनु भयो।

24 त्यसपछि मैले शेरेब्याह र हबिशयाह अनि तिनीहरूका भाइहरू मध्ये दशजना पूजाहारीहरू सहित 12 जना अगुवाहरूलाई चुनें। 25 त्यसपछि राजा र तिनका सल्लाहकारहरू र अधिकारीहरू त्यहाँ उपस्थित भएका इस्राएलका सबै मानिसहरूले हाम्रा परमेश्वरको मन्दिरका निम्ति अर्पण गरेका सुन, चाँदी र भाँडा-वत्तर्नहरू तौलेंर मैले तिनीहरूलाई दिएँ। 26 मैले तौलिएँ र तिनीहरूलाई 22,100 किलो ग्राम चाँदी 100 चाँदीका भाडाहरू 3,400 किलो ग्राम ओजनको, 3,400 किलोग्राम सुन 27 सुनका 20 वटा कचौराहरू जसको ओजन 8 1/2 किलो ग्राम थियो। 28 तब मैले ती बाह्र पूजाहारीहरूलाई भनें, “तिमीहरू अनि यी चीजहरू परमप्रभुको निम्ति पवित्र छौ। मानिहरूले तिमीहरूका पिता-पुर्खाका परमेश्वरलाई सुन र चाँदीहरू दिए। 29 यिनीहरू को खूबै होशियारी सित रक्षा गर। जब सम्म तिमीहरूले पूजाहारीहरू अनि लेवीहरूका अगुवाहरू अनि यरूशलेममा इस्राएल कुलका प्रमुखहरू समक्ष परमप्रभुको मन्दिरको कोठाहरू भित्र तौलँदैनौं।”

30 यसर्थ पूजाहारीहरू र लेवीहरूले जोखिएका ती सुन-चाँदी र अरू महत्वपूर्ण सामानहरू यरूशलेममा, हाम्रा परमेश्वरको मन्दिरमा ल्याउनका निम्ति प्राप्त गरे।

31 हामीले यरूशलेम जानका निम्ति पहिलो महिना[a] को बाह्रौं दिनमा अहावा नदी छोड्यौं। अनि हाम्रा परमेश्वर हामीसित हुनुहुन्थ्यो र उहाँले हामीलाई शत्रुहरूको शक्ति र चोरहरूबाट बाटोमा सुरक्षित गर्नुभयो। 32 अनि हामी यरूशलेम आइपुग्यौं। त्यहाँ हामीले तीनदिन विश्राम गर्यौ। 33 चौथो दिनमा हामीले हाम्रा परमेश्वरको मन्दिरमा ती चाँदी अनि सुन अनि सामानहरू जोख्यौं र ती पूजाहारी उरियाहका छोरा मरेमोत साथै पीनहासका छोरा एलाजार अनि तिनीहरूसित लेवीहरू, येशूअका छोरा योजाबाद अनि बिन्नुईका छोरा नोअदियाहलाई दियौ। 34 हरेक वस्तुको संख्याद्वारा ओजन जाँच गरि अनि त्यस समयमा ठोस ओजन टिपियो।

35 तब कैदबाट फर्केर आउने यहूदीहरूले इस्राएलका परमेश्वरलाई समस्त इस्राएलका निम्ति होमबलि अर्पण गरे 12 वटा साँढे, 96 वटा भेंडा, 77 वटा थुमा अनि पाप बलिका निम्ति 12 वटा बोकाहरू यी सबै परमप्रभुका निम्ति होमबलि थिए।

36 तिनीहरूले राजाका आदेश पनि राज अधिकारीहरू अनि नदीपारीका प्रशासकहरूलाई दिए। तब तिनीहरूले यी अधिकारीहरूले प्रशासकहरू अनि इस्राएलका मानिसहरूले परमेश्वरको मन्दिरलाई सहयोग दिए।

प्रेरित 8

1-3 शावलले स्तिफनसलाई मार्न आफ्नो सहमती दिए। केही भक्त-जनहरूले स्तिफनसलाई गाडे। तिनीहरूले उनको निम्ति शोक गरे।

विश्वासीहरूलाई सताइ

त्यही दिनदेखि यहूदीहरूले यरूशलेममा विश्वासीहरूलाई खुबै यातना दिन थाले। शावलले पनि मण्डली ध्वंश गर्ने प्रयास गरिरहेका थिए। ऊ तिनीहरूको घरमा गए। उसले पुरूष र स्त्रीहरूलाई समाते, तान्दै बाहिर निकाले अनि जेलमा थुने। सम्पूर्ण विश्वासीहरूले यरूशलेम छोडेर गए। त्यहाँ प्रेरितहरू मात्र बसे। विश्वासीहरू यहूदिया र सामरिया भरि फैलिएका थिए। विश्वासीहरू जो चारैतिर छरिएका थिए, जहाँ तिनीहरू गए, परमेश्वरको सुसमाचार मानिसहरूलाई सुनाए।

फिलिपले सामरियामा प्रचार गर्दछ

फिलिप सामरिया शहरमा गए अनि ख्रीष्टको विषयमा प्रचार गरे। मानिसहरूले त्यहाँ फिलिपले चमत्कारहरू गरेका सुने अनि देखे। फिलिपले भनेको कुराहरू मानिसहरूको भीडले एक मनले ध्यान लगाएर सुने। धेरै जसो मानिसहरू दुष्ट आत्माहरूले भेट्टाएका थिए। तर दुष्ट आत्माहरू जोडले चिच्याएर मानिसहरूबाट बाहिर निस्के। पक्षाघात लागेको र लङ्गडो मानिसहरू निको भए। त्यही कारणले गर्दा त्यस शहरमा मानिसहरू अत्यन्त आनन्दित थिए।

तर त्यस शहरमा शिमोन नाउँ गरेको एकजना मानिस थिए। फिलिप त्यहाँ आउन भन्दा अघि तिनी जादू गर्दै थिए अनि सामरियाका मानिसहरूलाई चकित पारेका थिए। शिमोनले घमण्ड साथ आफूलाई महान-मानिस दावी गर्थे। 10 निम्नस्तरका देखि अति प्रमुख मानिसहरूले शिमोन प्रति खूबै ध्यान दिए। तिनीहरूले भने, “यस मानिसकोमा ईश्वरीय शक्ति छ त्यसैलाई ‘महान शक्ति’ भनिन्छ!” 11 शिमोनले आफ्ना जादू-कलाद्वारा मानिसहरूलाई धेरै समयदेखि प्रभावित पारेका थिए अनि तीनीहरू उनका भक्त भएका थिए। 12 तर फिलिपले मानिसहरूलाई परमेश्वरको राज्यको विषयमा सुसमाचार एवं येशू ख्रीष्टको नाउँको विषयमा बताइदिए। पुरुष-स्त्रीहरू जसले विश्वास गरे तिनीहरूले बप्तिस्मा लिए। 13 शिमोन स्वंयले विश्वास गरे अनि बप्तिस्मा लिए। फिलिप एकदम नजिकमा बसे। उनले फिलिपले गरेका चमत्कारहरू अनि महान कार्यहरू देखे। शिमोन छक्क परे।

14 प्रेरितहरू अझ सम्म यरूशलेमा नै थिए। तिनीहरूले सामरियाका मानिसहरूले परमेश्वरको वचनलाई स्वीकार गरे भन्ने बारेमा सुने। यसैकारणले तिनीहरूले पत्रुस र यूहन्नालाई सामारिया पठाए। 15 जब तिनीहरू सामारिया पुगे, तिनीहरूले सामरियाका विश्वासीहरूले पवित्र-आत्मा पावोस् भनेर प्रार्थना गरे। 16 ती मानिसहरू प्रभु येशूको नाउँमा बप्तिस्मा भएका थिए, तर पवित्र-आत्मा तिनीहरू कसैमाथि पनि आइपुगेको थिएन। यही कारणले गर्दा पत्रुस र यूहन्नाले प्रार्थना गरे। 17 तब ती प्रेरितहरूले तिनीहरूका हात मानिसहरूमा राखी दिए तब तिनीहरूले पवित्र-आत्मा प्राप्त गरे।

18 प्रेरितहरूले मानिसहरूलाई हात राखिदिंदा तिनीहरूमाथि पवित्र आत्मा दिइएको शिमोनले देखे। यसकारण शिमोनले प्रेरितहरूलाई पैसा देखाउदै। 19 अनि भने, “यो शक्ति मलाई पनि दिनुहोस् ताकि जब मैले कसैमाथि हात राख्दा उसले पवित्र आत्मा प्राप्त गरोस्।”

20 पत्रुसले तिनलाई भने, “तिमी र तिम्रो पैसा दुवै नष्ट भई जाओस्! किनभने तिमीले सोच्यौ कि प्रभुको उपहार पैसाले किन्न सक्छौ। 21 यस काममा हामीसँग अंश ग्रहण गर्न सक्तैनौ। किनभने तिम्रो हृदय परमेश्वर समक्ष सही छैन। 22 तिम्रो हृदय बद्ली गर अनि यी कुकर्महरूदेखि टाडो भई हाल। प्रभुलाई प्रार्थना गर। हुनसक्छ तिम्रो यस्तो सोचाइलाई उहाँले क्षमा गरिदनु हुन्छ। 23 किनभने तिमी कटुता इर्ष्याले भरिएको अनि पापको अधीनमा भएको म देख्दछु।”

24 शिमोनले जवाफ दिए, “तिमीहरूले मेरो लागि प्रभुलाई प्रार्थना गरिदेऊ। प्रार्थना गरिदेऊ कि तिमीहरूले भनेका कुनै पनि कुरा म माथि नघटोस्।”

25 त्यसपछि, ती दुइ प्रेरितहरूले आफ्नो गवाही दिए अनि प्रभुको सन्देश सुनाए। त्यसपछि तिनीहरू यरूशलेम फर्के। तिनीहरू जाँदा हुँदी सामरीयाका धेरै शहरहरू भएर गए अनि जता-जता पस्दै गए। त्यतातिर मानिसहरूलाई सुसमाचार प्रचार गरे।

एथियोपियावासीलाई फिलिपले शिक्षा दिए

26 परमेश्वरको एकजना दूतले फिलिपलाई भने, “झट्ट तयार होऊ र दक्षिणतर्फ जाऊ। यरूशलेमदेखि गाजातर्फ जाने बाटो जाऊ- त्यो बाटो मरूभूमि भएर जान्छ।”

27 यसकारण फिलिप तयार भए अनि गए। बाटोमा उनले एकजना एथियोपियावासी मानिसलाई देखे जो नपुंसक थिए। उनी एथियोपिया देशकी रानी कन्दकीको ठूला अधिकारी थिए। उनी रानीका जम्मै पैसा-रूपियाँका जिम्मेवार थिए। त्यो मानिस आराधना गर्न यरूशलेम गएका थिए। 28 अहिले ऊ आफ्नो रथमा बसेर घर तर्फ गइरहेका थिए। तिनी अगमवक्ता यशैयाको पुस्तक पढिरहेका थिए।

29 आत्माले फिलिपलाई भने, “त्यस रथमा जाऊ र त्यसको छेउमा बस्।” 30 तब फिलिप रथको छेउमा दगुरे अनि त्यो मानिसले पढी रहेको सुने। उसले यशैया अगमवक्ताको पुस्तक पढिरहेको थियो। फिलिपले उसलाई भने, “के तिमीले पढेको कुरा बुझ्दैछौ?”

31 त्यस मानिसले भन्यो, “म कसरी बुझ्न सक्छु? मलाई त्यस्तो मानिसको खाँचो छ जसले मलाई यो व्याख्या गरिदिन सक्छ।” त्यसपछि उसले फिलिपलाई उसको छेउमा आएर बस्न निमन्त्रणा गर्यो। 32 उसले पढ्दै गरेको धर्म शास्त्रको अंश यस्तो थियोः

“जसरी भेंडा़ काटिन लगिन्छ, भेंडा़को पाठा कत्रनेको सामु चुपचाप उभिन्छ,
त्यसरी नै उनी रहे।
    त्यसरी नै उहाँ उभिई रहनु भयो।
33 उहाँको उपहाँस गरियो अनि उहाँका अधिकारहरू खोसियो।
पृथ्वीमा उहाँको जीवन समाप्त भयो।
    अनि उहाँको पुस्ताको बिषयमा भन्न को सामर्थ हुनेछ।”(A)

34 त्यस अधिकारीले फिलिपलाई भने, “दया गरेर मलाई भन्नुहोस् अगमवक्ताले कसको विषयमा भनेका हुन्? उनले आफ्नै विषयमा कि अन्य कसैको विषयमा भनेका हुन?” 35 फिलिपले बताउन थाले। उनले त्यही धर्मशास्त्रको अंशबाट शुरू गरे अनि उसलाई येशूको विषयमा सुसमाचार भने।

36 उनीहरू बाटोमा गइरहेको बेला पानी भएको ठाउँमा पुगे। अधिकारीले भन्यो, “हेर! यहाँ पानी छ! कसले मलाई बप्तिस्मा लिन देखि रोक्न सक्छ?” 37 [a] 38 त्यसपछि अधिकारीले रथ थाम भनेर आदेश गर्यो। दुवै फिलिप र अधिकारी पानी भए तिर ओर्लिए अनि फिलिपले तिनलाई बप्तिस्मा दिए। 39 जब तिनीहरू पानी बाहिर आए प्रभुको आत्मा फिलपबाट खोसियो अधिकारीले उनलाई फेरि कहिल्यै पनि देखेन्। अधिकारी आफ्नो घरको बाटो लागे। उनी खुशी थिए। 40 तर फिलिप अश्दोदको शहरमा देखा परे। उनी सिजरियाको शहर तिर गइरहैका थिए। अश्दोददेखि सिजरिया जाँदा बाटामा पर्ने प्रत्येक शहरमा उनले सुसमाचार प्रचार गरे।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International