Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 इतिहास 31

राजा हिजकियाहले सुधार गर्छन्

31 निस्तार चाडको समारोह समाप्त भयो। इस्राएलका मानिसहरू जो निस्तार चाडका निम्ति यरूशलेममा थिए यहूदाका शहरहरूतिर गए। तब तिनीहरूले पवित्र खामाहरू तोडिदिए जो त्यो शहरहरूमा थिए। ती पवित्र खामाहरू असत्य देवताहरूको लागि अर्पण गरिएका थिए। मानिसहरूले अशेरा स्तम्भहरू पनि काटि दिए। अनि तिनीहरूले यहूदा अनि बिन्यामीन क्षेत्र भरिका उच्च-स्थानहरू अनि वेदीहरू नष्ट गरिदिए। मानिसहरूले एप्रैम अनि मनश्शे क्षेत्रमा त्यसै गरे। मानिसहरूले असत्य देवताहरूको पूजा गर्नमा प्रयोग गरिने सबै चीज-बीजहरू नष्ट नभए सम्म यस्ता कुराहरू गरिरहे। त्यसपछि सबै इस्राएलीहरू आ-आफ्ना शहरमा घर तिर फर्के।

पूजाहारी अनि लेवीहरू समूहहरूमा विभक्त गरिएका थिए अनि प्रत्येक समूहले गर्नु पर्ने आफ्नै विशेष कामहरू थिए। यसर्थ राजा हिजकियाहले यी समूहहरूलाई आफ्ना कामहरू गर्न शुरू गर्नु भने। यसर्थ पूजाहारी अनि लेवीहरूले फेरि होमबलि अनि मेलबलि चढाउने काम गर्न थाले। अनि तिनीहरूको काम मन्दिरमा सेवा गर्नु, अनि गाउनु अनि परमप्रभुको मन्दिरको द्वारमा परमेश्वरको स्तुति गर्नु थियो। हिजकियाहले तिनका आफ्नै केही पशुहरू होमबलिका निम्ति चढाउनु भनी दिए। यी पशुहरूलाई दैनिक होमबलिका निम्ति प्रयोग गरिन्थ्यो जो प्रत्येक विहान अनि प्रत्येक साँझ गरिन्थ्यो। यी पशुहरूलाई विश्रामका दिनहरूमा, औंसीका उत्सवहरूमा अनि अन्य विशेष उत्सवहरूमा चढाइन्थ्यो। यसलाई परमप्रभुको व्यवस्थामा लेखिएको जस्तै रूपमा गरिन्थ्यो।

मानिसहरूले आफ्ना फसल अनि बस्तुहरूको एक अंश पूजाहारी अनि लेवीहरूलाई दिनु पर्ने थियो। यसर्थ हिजकियाहले यरूशलेममा बस्ने मानिसहरूलाई तिनीहरूका भाग दिनु भनी आदेश गरे। यस रीतले पूजाहारी अनि लेवीहरूले आफ्ना पुरा समय त्यसो गर्नमा लगाउन सक्ने छन् जो व्यवस्थाले तिनीहरूलाई गर्नु भनेको छ। देश भरिका मानिसहरूले यो आदेशको बारेमा सुने। यसर्थ इस्राएलका मानिसहरूले आफ्ना अन्न, दाख, तेल, मह अनि तिनीहरूले आफ्ना खेतहरूमा उमारेका सबै चीजहरूको फसलको पहिलो भाग दिए। तिनीहरूले यी धेरै चीजहरूका दशौं भाग ल्याए। यहूदामा बस्ने इस्राएलीहरू अनि यहूदाका मानिसहरूले पनि आफ्ना गाई बस्तु अनि भेंडाका एक-दशौं भाग ल्याए। तिनीहरूले ती चीजहरूको एक-दशौं अंश पनि ल्याए जसलाई विशेष स्थानमा राखिन्थ्यो जो केवल परमप्रभुको निम्ति थियो। यी सबै चीज-बीजहरू तिनीहरूले आफ्ना परमप्रभु परमेश्वरको निम्ति ल्याए। तिनीहरूले ती सबै चीज-बीजहरू थाक पारेर राखे।

मानिसहरूले ती चीज-बीजहरू तेस्रो महीना तिर ल्याउन शुरू गरे अनि सातौं महीनामा सँग्रहको काम पूरा गरे। जब हिजकियाह अनि प्रमुखहरू आए तिनीहरूले चीज-बीजका राश देखे जो सँग्रह गरिएका थिए। तिनीहरूले परमप्रभु अनि उहाँका मानिसहरूको, इस्राएलका मानिसहरूको प्रशंसा गरे।

तब हिजकियाहले पूजाहारी अनि लेवीहरूलाई चीज बीजको रासको बारेमा सोधे। 10 अजर्याह, सादोकका परिवारका प्रधान पूजाहारीले हिजकियाहलाई भने, “मानिसहरूले परमप्रभुको मन्दिरमा भेटीहरू ल्याउन थालेको समय देखि हामीले प्रशस्त खाने कुरा पाएका छौं। हामीले हाम्रो पेट नभरिए सम्म खाएका छौं अनि अझ पनि प्रशस्त मात्रमा उब्रिएका छन्। साँच्चैनै परमप्रभुले आफ्ना मानिसहरूलाई आशीर्वाद दिनु भएको छ। त्यसै कारणले हामी सित यति धेरै उब्रिएका छन्।”

11 तब हिजकियाहले पूजाहारीहरूलाई परमप्रभुको मन्दिरमा भण्डार कक्षहरू बनाउने आदेश दिए। यसर्थ यो काम गरियो। 12 तब पूजाहारीहरूले भेटीहरू, दशौं अंशहरू अनि अन्य चीज-बीजहरू ल्याए जो केवल परमप्रभुलाई अर्पण गर्नु पर्ने थियो। सँग्रह गरिएका ती सबै चीज-बीजहरूलाई मन्दिरमा भण्डार कक्षहरूमा राखियो। लेवी कोनन्याह ती सबै चीजहरूका जिम्मावार भए जो सँग्रह गरिएका चीज-बीजहरू थिए। ती चीजहरूका दोस्रो जिम्मावार व्यक्ति शिमी थिए। शिमी कोनन्याहका भाइ थिए। 13 कोनन्याह अनि तिनका भाइ शिमी यी मानिसहरूका निरीक्षक थिएः यहीएल, अज्जयाह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्मक्याह, महत अनि बनायाह। राजा हिजकियाह अनि परमप्रभुको मन्दिरको जिम्मावार रहेका अधिकारी अजर्याहले ती मानिसहरूलाई चुने।

14 ती भेटीहरूका जिम्मामा थिए कोरे जो मानिसहरूले मुक्त रूपले परमेश्वरलाई अर्पण गरेका थिए। तिनी ती सँग्रह गरिएका बस्तुहरू दिइ पठाउने जिम्मामा थिए जो परमप्रभुलाई अर्पण गरिएका थिए। अनि तिनी ती भेटीहरू दिइ पठाउने जिम्मामा थिए जो परमप्रभुका निम्ति पवित्र तुल्याईका थिए। कोरे पूर्व द्वारका द्वारपाल थिए। तिनका पिताको नाउँ लेवी यिम्ना थियो। 15 एदेन, मिन्यामीन, येशूअ, शमायाह, अमर्याह अनि शकन्याहले कोरेलाई सघाउँथे। ती मानिसहरूले शहरहरूमा विश्वास पूर्वक सेवा गर्थे जहाँ पूजाहारीहरू बस्दथे। तिनीहरूले चीज बिजहरूको सँग्रह पूजाहारीहरू को प्रत्येक समूहका आफ्ना आफन्तहरूलाई दिन्थे। तिनीहरूले त्यस्तै कुराहरू अधिक प्रमुख मानिसहरूलाई अनि अल्प प्रमुख मानिसहरूलाई दिन्थे।

16 यी मानिसहरूले चीज-बीजहरूको सँग्रह तीन बर्ष अनि त्यस भन्दा अधिक उमेरका पुरूषहरूलाई पनि दिन्थे जसका नाउँ लेवी पारिवारिक इतिहासहरूमा थिए। यी सबै पुरूषहरू तिनीहरूको जिम्माका कामहरू गर्न दैनिक सेवाका निम्ति परमप्रभुको मन्दिरमा प्रवेश गर्नु पर्दथ्यो। प्रत्येक लेवी समूहको तिनीहरूको आफ्नै जिम्मावारी थियो। 17 पूजाहारीहरूलाई सँग्रहको तिनीहरूको भाग दिइन्थ्यो। यो काम परिवारहरूद्वारा परिवारिक इतिसहासमा लेखिएका तरीकाले गरिन्थ्यो। बीस बर्ष अनि त्यस भन्दा अधिक उमेरका लेवीहरूलाई सँग्रहका तिनीहरूका अंश दिइन्थ्यो। यो काम तिनीहरूको जिम्मावारी अनि समूह अनुसार गरिन्थ्यो। 18 लेवीका नानीहरू, पत्नीहरू, छोरा अनि छोरीहरूले पनि सँग्रहका अंश पाउँथे। यसो सबै लेवीहरूका निम्ति गरिन्थे जसका नाउँ पारिवारिक इतिहासमा लेखिएका थिए। यस्तो भयो किनभने लेवीहरू सदैव स्वयंलाई पवित्र राख्न अनि सेवाका निम्ति तयार राख्नमा विश्वासी थिए।

19 हारूनका केही सन्तानहरू पूजाहारीहरूका, शहरहरूको नजिक जहाँ लेवीहरू बस्दथे, केही कृषि भूमिहरू थिए। अनि हारूनका केही सन्तानहरू शहरहरूमा पनि बस्दथे। ती प्रत्येक शहरहरूमा मानिसहरूलाई, हारूनका यी सन्तानहरूलाई सँग्रहका अंश दिनका निम्ति नाउँ द्वारा चुनिन्थे। पुरूषहरू अनि लेवीहरूको परिवारिक इतिहासहरूमा नाउँ लेखिएका ती सबैले सँग्रहका अंश पाउँथे।

20 यसरी राजा हिजकियाहले यहूदामा ती असल कार्यहरू गरे। तिनले त्यही गरे जो परमप्रभु तिनका परमेश्वरका समक्ष असल, उचित अनि विश्वास योग्य थियो। 21 तिनले शुरू गरेका हरेक काममा तिनले सफलता प्राप्त गरे—परमेश्वरको मन्दिरको सेवामा, व्यवस्था अनि आदेशहरूको पालनमा अनि आफ्ना परमेश्वरको अनुशरण गर्नमा। हिजकियाहले यी सबै कुराहरू आफ्ना सम्पूर्ण हृदयले गरे।

प्रकाश 17

रातो पशुमाथि बसेकी स्त्री

17 सातवटा कपहरू हुने स्वर्गदूतहरू मध्ये एकजना आए अनि मलाई भने, “आऊ, म तिमीलाई त्यो दण्ड देखाउँछु जो त्यस महा-वेश्यालाई दिइनेछ। ऊ धेरै पानीमाथि बसेकी छे। पृथ्वीका राजाहरूले उसित यौन पाप गरेका छन्। पृथ्वीका मानिसहरू उसको यौन-पापको दाखरस पिएर बेहोस भएका छन्।”

तब त्यो स्वर्गदूतले मलाई बोकेर मरुभूमिमा आत्माको नजिक लगे। त्यहाँ मैले एउटी स्त्रीलाई रातो पशुमाथि बसेकी पाँए। त्यो पशु जुन परमेश्वरको वदनामी लेखिएका नाउँहरूले ढाकिएको थियो। त्यो पशुका सातवटा टाउँको अनि दशवटा सीङ्गहरू थिए। त्यो स्त्रीले बैजनी अनि रातो रङ्गको बस्त्र पहिरेकी थिई। त्यो उसले लाएका सुन, रत्न अनि मोतीहरूमा चम्किरहेकी थिई। उसको हातमा एक सुनौलो प्याला थियो। त्यो प्याला भयानक वस्तुहरू अनि त्यस स्त्रीको अशुद्ध यौन-पापले भरिएको थियो। उसको निधारमा उपाधि लेखिएको थियो। त्यो उपाधिको गुप्ती अर्थ थियो:

महान बेविलोन

वेश्याहरूकी आमा

अनि पृथ्वीका दुष्ट कुराहरूको जननी।

मैले देखें कि त्यस स्त्री मातेकी थिई। उसले परमेश्वरको पवित्र मानिसहरू अनि जसले येशूमा आफ्नो विश्वास बताएका थिए तिनीहरूको रगत पिएर मातेकी थिई।

जब मैले त्यस स्त्रीलाई देखें, म पुरै आश्चर्य चकित भएँ। तब त्यो स्वर्गदूतले मलाई भने, “तिमी किन आश्चर्य चकित भयौ? म तिमीलाई यस स्त्रीको अनि ऊ चढेको पशुको जसको सातवटा टाउको अनि दशवटा सींङ छ गुप्ती अर्थ बताउनेछु। त्यो पशु जसलाई तिमीले देख्यौ, एक समयमा जीवित थियो। तर अहिले त्यो पशु जीवित छैन। तर त्यो पशु जीवित हुनेछ अनि अतल खाल्डोबाट निस्केर नष्ट हुनलाई जानेछ। पृथ्वीमा बस्ने मानिसहरू, आश्चर्य चकित हुनेछन्। जब तिनीहरूले त्यो पशु देख्छन् तिनीहरू आश्चर्य चकित हुनेछन् किनभने एक समयमा त्यो पशु जीवित थियो, अहिले जीवित छैन, तर त्यो फेरि आउनेछ। यी मानिसहरू ती हुन् जसका नाउँहरू संसारको सृष्टि भएदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्।

“यसलाई बुझ्नका निम्ति तिमीलाई ज्ञानपूर्ण हृदयको खाँचो छ। त्यो पशुमा भएका सात टाउकाहरू सातवटा पहाडहरू हुन् जहाँ त्यो स्त्री बस्छे। तिनीहरू सात राजाहरू पनि हुन्। 10 पाँचजना राजाहरू मरिसकेकाछन्। एकजना राजा आहिले जीवित छ। अनि अन्तिम राजा आइरहेकाछन्। जब आउँछन्, छोटो समय मात्र रहनेछन्। 11 त्यो पशु जो एक समयमा जीवित थियो, तर अहिले मरेको छ, त्यो आठौं राजा हो। त्यो आठौं राजा पनि पहिलो सात राजाहरूकै मध्येको हो र त्यो नष्ट हुनको लागि जानेछ।

12 “तिमीले देखेका दशवटा सीङ्गहरू दश राजाहरू हुन्। यी दश राजाहरूले अहिलेसम्म राज्य पाएका छैनन्। तर तिनीहरूले एक घण्टाको निम्ति त्यो पशुसित शासन गर्ने अधिकार प्राप्त गर्नेछन्। 13 यी सबै दश राजाहरूको एउटै उद्देश्य छ। अनि तिनीहरूले आफ्नो शक्ति अनि अधिकार त्यो पशुलाई दिनेछन्। 14 तिनीहरूले परमेश्वरको थुमासित लडाईं गर्नेछन्। तर परमेश्वरको थुमाले तिनीहरूलाई परास्त गर्नेछ, किनभने जहाँ प्रभुहरूका परमप्रभु अनि राजाहरूका राजा हुनुहुन्छ। उहाँले तिनीहरूलाई उहाँद्वारा चुनिएका अनि बोलाइएका विश्वासी चेलाहरूद्वारा परास्त गर्नुहुनेछ।”

15 तब स्वर्गदूतले मलाई भने, “तिमीले त्यो वेश्या जहाँ बसेकी थिई त्यो पानी देख्यौ। त्यो पानी संसारका धेरै मानिसहरू, भिन्न-भिन्न वंशहरू, राष्ट्रहरू अनि भाषाहरू, हुन्। 16 त्यो पशु अनि दश सिङ्गेहरू जसलाई तिमीले देख्यौ, त्यो वेश्यालाई तिरस्कार गर्नेछन्। त्यो सित भएका हरेक चीज तिनीहरूले लिनेछन् अनि त्यसलाई नाङ्गे पारेर छाडिदिने छन्। तिनीहरूले त्यसको मासु खानेछन् अनि आगोले डढाउनेछन्। 17 परमेश्वरले ती दश सिङ्गेलाई आफ्नो उद्देश्य पुरा गर्ने इच्छुक बनाउनु भयो। तिनीहरू शासन गर्न आफ्नो शक्ति त्यो पशुलाई दिनु राजी भए। आफ्नो शक्ति प्रदान गर्न राजी भए। परमेश्वरले भन्नु भएको कुराहरू पूर्ण नहुन्जेल सम्म तिनीहरूले शासन गर्नेछन्। 18 तिमीले देखेको त्यस स्त्री त्यो महानगर हो जसले पृथ्वीका राजाहरूमाथि शासन गर्छे।”

जकरिया 13:2-9

झूटा अगमवक्ता ज्यादा छैनन्

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “त्यस समय पृथ्वीबाट सबै मूर्तिहरू हटाईदिनेछु। मानिसहरूले तिमीहरूको नामहरू पनि याद राख्ने छैनन्, म झूटा अगमवक्ता अनि अशुद्ध आत्मालाई पृथ्वीबाट हटाई दिनेछु। यदि कुनै मानिसले अगमवाणी गरे त्यसले दण्ड पाउँनेछ। यहाँ सम्म कि त्यसको आफ्नो आमा-बाबुले पनि भन्नेछन्, ‘तैंले परमप्रभुको नाउँमा झूटो बोलिस्। यसकारण तँ मर्नु पर्छ।’ त्यसको आमा-बाबुले अगमवाणी गरेकोमा त्यसलाई छुराले रोपिदिनेछन्। त्यस समाय अगमवक्ता आफ्नो अगमवाणी र दर्शनको निम्मति लज्जित हुनेछ। मानिसहरूलाई झूटो अगमवाणी भनेर धोका दिनलाई तिनीहरूले त्यस प्रकारको बाक्लो पोषाक लगाउँने छैनन्। तिनीहरूले भन्नेछन्, ‘म अगमवक्ता हैन। म एउटा किसान हुँ। किनभने एउटा मानिसले मलाई मेरो बाल्य अवस्थामा नै दासलाई जस्तै बेच्यो।’ अरू मानिसहरूले भन्नेछन्, ‘तिम्रो हातको यो चोट केहो?’ उसले भन्नेछ, ‘यो मेरो साथीको घरमा लागेको चोट हो।’”

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तरवार मेरो गोठालालाई हिर्काऊ, मेरो साथीलाई हिर्काऊ। मेरो गोठाला अनि भेंडा़लाई प्रहार गर! भेंडा़ भागेर जानेछ र साना-सानाहरूलाई म दण्ड दिनेछु।” परमप्रभु भन्नुहुन्छ, “देशका दुइ तिहाईं मानिसहरूलाई चोट लगाईंने छ अनि मारिने छ। तर एक तिहाईं बाँच्नेछन्। त्यपछि म ती बाँचेकालाई जाँच्नेछु। म तिनीहरूलाई अत्यन्तै कष्ट दिनेछु। त्यो कष्ट आगो जस्तै हुनेछ जुन आगोले चाँदीको शुद्धता जाँच्छ। म तिनीहरूको जाँच त्यसरी नै गर्नेछु जसरी मानिसहरूले सुनको शुद्धता जाँच गर्छन्। तब तिनीहरूले मलाई सहायताको निम्ति बोलाउँनेछन् अनि म सहायता गर्नेछु। म भन्नेछु, ‘तिमीहरू मेरो प्रजाहरू हौ।’ अनि उनीहरूले भन्नेछन्, ‘परमप्रभु मेरो परमेश्वर हुनुहुन्छ।’” ग्रेट होप मिनिष्ट्रीज च्यारेटेवल रिलिजियस ट्रष्ट

यूहन्ना 16

16 “मैले यी कुराहरू तिमाहरूलाई भनें ताकि तिमीहरूले आफ्नो विश्वास हराउने छौनौ। तिनीहरूले तिमीहरूलाई सभा घरहरूबाट बाहिर निकालिदिने छन्। समय आँउदैछ ताकि मानिसहरूले तिमीहरूलाई मारेर परमेश्वकरको सेवा गर्दैछौ भन्ने सोच्नेछन्। मानिसहरूले यी सबै कुराहरू गर्नेछन् कारण न त तिनीहरूले पितालाई चिनेका छन् न त मलाई नै चिन्दछन्। यी कुराहरू म तिमीहरूलाई अहिले भन्दैछु। अतः जब यी कुराहरू हुने समय आउनेछ, तब तिमीहरूले मैले होशियारी गराएको समझ्नेछौं।

पवित्र-आत्माका काम

“मैले यी कुराहरू तिमीहरूलाई शुरूमा भनिन, किनभने म त्यस बेला तिमीहरूसँगै थिएँ। अब म उहाँकैमा गइरहेकोछु जसले मलाई पठाउनुभयो। तर तिमीहरू कसैपनि मलाई सोधेनौ, ‘तपाईं कहाँ गइरहुन भएको छ?’ तिमीहरूका हृदय उदासिनताले भरिएको छ किनभने मैले तिमीहरूलाई ती कुराहरू भने। तर म तिमीहरूलाई साँच्चो भन्दछु। तिमीहरूको भलाईको निम्ति म टाढिनु नै राम्रो छ। किनभने जब म जानेछु तिमीहरूका लागि सहायक पठाइदिने छु। तर यदि म गइन भने, सहायक तिमीहरूकहाँ आउने छैन।

“जब सहायक आउँछन्, उहाँले संसारलाई यी विषयहरूमा प्रमाण दिनु हुनेछः पापको विषय, धार्मिकताको विषय र न्यायको विषयमा। सहायकले मानिसहरूको जीवनमा पाप छ भनेर प्रमाण गर्नेछन् किनभने तिनीहरूले ममा विश्वास गर्दैनन्। 10 उसले मेरो धार्मिकताको प्रमाण तिनीहरूलाई गराउनेछन्, किनभने म पिताकहाँ नै गई रहेछु। तब तिमीहरूले मलाई फेरि देख्नेछैनौ। 11 अनि सहायकले न्यायको विषयमा सत्य कुराको प्रमाण संसारलाई गराउने छ, किनभने यस संसारको शासकलाई पहिल्यै नै जाँची सकेकोछ।

12 “मलाई अझ तिमीहरूसँग धेरै कुराहरू भन्नु छ। तर अहिले ती कुराहरू तिमीहरूलाई अधिक हुनेछ र ग्रहण गर्न साह्रो पर्नेछ। 13 तर जब सत्यको आत्मा आउँदछ, उहाँले भविष्यका कुराहरू घोषणा गर्नु हुनेछ। उहाँले आफ्नो कुराहरू भन्नु हुनेछैन उहाँले जे सुन्नु हुन्छ त्यही बताउनु हुन्छ। 14 सत्यको आत्माले मकहाँ महिमा ल्याउनु हुनेछ। कसरी? उसले मबाट कुराहरू पाउने छन् र तिमीहरूलाई ती सबैकुरा व्याख्या गर्नेछन्। सबै कुराहरू जो पितासँग छन् ती सबै मेरा हुन्। 15 त्यसैकारणले म भन्दैछु त्यस आत्माले जे कुराहरू मबाट पाउने छन् र ती सबै तिमीहरूलाई घोषणा गर्नेछन्।

शोक खुशीयालीमा परिवर्तन

16 “केही बेरपछि तिमीहरूले मलाई देख्नेछैनौ। अनि अर्को केही बेर पछि मलाई फेरि तिमीहरूले देख्नेछौ।”

17 कोही चेलाहरूले आपसमा भने, “येशूले जब त्यसो भन्नु हुन्छ त्यसको मतलब के हो? ‘केही बेरपछि तिमीहरूले मलाई देख्नछैनौ अनि तब केही बेरपछि मलाई फेरि देख्नेछौ?’ त्यसो जब भन्नुहुन्छ, ‘म पिताकहाँ जादैछु।’ त्यसको अर्थ के हो?” 18 चेलाहरूले सोधे, “‘केही बेरपछि’ भन्नुको तात्पर्य के हो? उहाँले के भनिरहनु भएको छ हामीले केही बुझेनौ।”

19 येशूले जान्नु भयो कि चेलाहरूले त्यस विषयमा उहाँलाई सोध्न चाहन्छन्। तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू आपसमा सोधिरहेछौ मेरो भन्नुको तात्पर्य जब मैले भने, केही बेरपछि तिमीहरूले मलाई देख्ने छैनौ। तिमीहरूले यो जान्नलाई आपसमा बहस गरेकाछौ। त्यसपछि फेरि अर्को केही बेरपछि देख्नेछौ? 20 म तिमीहरूलाई साँच्चो भन्छु। तिमीहरू रूनेछौ र दुःखी हुनेछौ तर संसार प्रसन्न हुनेछ। तिमीहरू दुःखी हुने छौ तर तिमीहरूका दुःख आनन्दमय हुनेछ।

21 “जब एक नारीले बालकलाई जन्म दिने समय हुन्छ, उसलाई पीडा हुँदछ, किनभने उसले जन्माउने समय आएको हुँदछ। तर जब बालक जन्मिसक्दछ, उनले अघिका पीडाहरू भुल्छिन्, किनभने उनले बालक संसारमा जन्मिएको खुशीमा अघिका पीडाहरू त्यसै भुल्दछिन्। 22 तिमीहरूसँग पनि ठीक त्यस्तै हुनेछ। अहिले तिमीहरू दुःखीछौ। तर म तिमीहरूलाई फेरि देख्नेछु र तिमीहरू खुशी हुनेछौ। अनि कसैले पनि तिमीहरूको खुशी खोसेर लानेछैन। 23 त्यस दिन तिमीहरूले मलाई केही पनि सोध्ने छैनौ। म तिमीहरूलाई साँच्चो भन्दछु। मेरो नाममा जे मागे पनि मेरा पिताले तिमीहरूलाई दिनुहुनेछ। 24 तिमीहरूले अझ सम्म मेरो नाममा केही पनि मागेकै छैनौ। माग अनि तिमीहरूले पाउनेछौ। अनि तिमीहरूको आनन्द पूर्ण हुनेछ।

संसार माथि विजय

25 “यी कुराहरू मैले तिमीहरूलाई अर्थ लुकाएर भनिसकेकोछु। तर समय आउँदैछ म तिमीहरूसँग खुल्ला पारेर यी कुराहरू भन्नेछु। मेरा पिताको विषयमा म तिमीहरूलाई सरल भाषामा भन्नेछु। 26 त्यस समय मेरो नाममा मेरा पितालाई बिन्ती गर्नेछौ। तर मैले भनिरहेकोछैन कि तिमीहरूको निम्ति म मेरा पितालाई भन्नेछु। 27 किनभने पिता आफैंले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। उहाँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ किनभने तिमीहरूले मलाई प्रेम गरेकाछौ। त्यसकारणले तिमीहरूले विश्वास गर्छौ कि म परमेश्वरबाट आएको हुँ। 28 म पिताबाट संसारमा आएँ। अब म यो संसार छोडेर पिता कहाँ फर्केर जाँदैछु।”

29 तब येशूका चेलाहरूले भने, “तपाईंले अहिले हामीलाई खुलस्त भन्नुभयो। त्यस्तो बुझ्नै नसक्ने अप्ठेरो नबनाई तपाईंले भन्नु भएन। 30 हामीले अब बुझ्न सक्छौ कि तपाईंले प्रत्येक कुरा जान्नु हुन्छ। तपाईंले सोध्नु अगाडि नै कुनै पनि मानिसको उत्तर दिनु सक्नुहुन्छ। यही कारणले हामीलाई विश्वास दिलाउँछ कि तपाईं परमेश्वरबाटै आउनु भएको हो।”

31 येशूले भन्नुभयो, “यसर्थः अब तिमीहरूले विश्वास गर्यौ? 32 ध्यानले सुन, तिमीहरू छरिएर बस्ने समय आइरहेछ। तिमीहरू प्रत्येक आफ्नै घरमा छरपष्ट हुनेछौ। त्यो समय अब आएको छ। तिमीहरूले मलाई छाडनेछौ। म एकलो रहनेछु। तर म वास्तवमा एक्लो रहनेछैन किनभने पिता मसँग रहनु हुनेछ।

33 “मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ताकि तिमीहरूलाई ममा शान्ति रहोस्। यस संसारमा तिमीहरूलाई संकट हुनेछ। तर साहसी बन। मैले संसारलाई पराजित गरेको छु।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International