Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 इतिहास 9

शबाकी रानीले सुलेमानलाई भेट्छिन्

शबाकी रानीले सुलेमानको किर्तिको विषयमा सुनिन्। तिनी सुलेमानलाई कठिन प्रश्नहरू द्वार परीक्षा गर्न यरूशलेम आइन्। शबाकी रानीका साथ एक विशाल समूह थियो। तिनीसित ऊँटहरू थिए जसले मसला, प्रचुरमात्रामा सुन अनि बहुमूल्य रत्नहरू बोकेका थिए। तिनी सुलेमान कहाँ आइन् र तिनीसित कुरा-कानी गरिन्। तिनीसित सुलेमानलाई सोध्ने अनेक प्रश्नहरू थिए। सुलेमानले तिनका सबै प्रश्नहरूका उत्तर दिए। सुलेमानका निम्ति व्याख्या गर्न वा उत्तर दिन कठिन पर्ने कुनै कुरा थिएन। शबाकी रानीले सुलेमानको ज्ञान अनि तिनले निर्माण गरेका भवन देखिन्। तिनले सुलेमानको मेचमा भोजन र तिनका अनेकौं महत्हपूर्ण अधिकारीहरू देखिन्। तिनले तिनका सेवकहरूले काम गरेको बस्त्र पहिरेको तरिका देखिन्। तिनले सुलेमानका दाखरस तयार गर्ने सेवकहरू अनि तिनीहरूले पहिरेका बस्त्रहरू देखिन्। तिनले परमप्रभुको मन्दिरमा सुलेमानले होमबलि अर्पण गरेका देखिन्। जव शबाकी रानीले यी सबै कुराहरू देखिन् तब तिनी आश्चर्य भइन्।

तब तिनले राजा सुलेमानलाई भनिन्, “मैले मेरो देशमा तपाईंको महान कार्यहरू अनि बुद्धिको विषयमा सुनेका कथाहरू सत्य रहेछन्। म यहाँ आएर आफ्नै आँखाले नदेखुन्जेल मैले ती कथाहरूमा विश्वास गरेकी थिइन। अहो, मलाई तपाईंको महान बुद्धिको आधा मात्र पनि भनिएको छैन रहेछ। तपाईं मैले सुनेका कथाहरू भन्दा महान हुनुहुन्छ। तपाईंका पत्नीहरू अनि अधिकारीहरू अति भाग्यमानी रहेछन्। तपाईंका ज्ञानका कुराहरू तिनीहरूले तपाईंको सेवा गर्दै सुन्न सक्ने छन्। परमप्रभु तिमीहरूका परमेश्वरको प्रशंसा होस्। उहाँ तपाईंसित प्रसन्न हुनुहुन्छ अनि परमप्रभु तपाईंका परमेश्वरका निम्ति शासन गर्न तपाईंलाई उहाँको सिंहासनमाथि राख्नु भएको छ। परमेश्वरले इस्राएललाई प्रेम गर्नु हुन्छ। इस्राएललाई सदा-सर्वदा सहयोग प्रदान गर्नु हुन्छ। यसकारण उहाँले तपाईंलाई इस्राएलमाथि न्याय र धार्मीकता पालन गर्ने राजा बनाउनु भयो।”

तब, शबाकी रानीले सुलेमानलाई एक सय बीस तोडा सुन, प्रचुर मात्रामा मसला, अनि बहुमूल्य रत्नहरू दिइन्। शबाकी रानीले जस्तै उत्तम मसलाहरू कसैले सुलेमानलाई दिएका थिएनन्।

10 हूरामका सेवकहरू अनि सुलेमानका सेवकहरूले ओपीरबाट सुन ल्याए। तिनीहरूले चन्दनका काठ अनि बहुमूल्य पत्थरहरू पनि ल्याए। 11 राजा सुलेमानले चन्दनका काठ परमप्रभुको मन्दिरको निम्ति सिंडी र राज भवन निर्माण गर्नमा प्रयोग गरे। सुलेमानले चन्दनका काठ गायकहरूका निम्ति बीणा र सारङ्गीहरू बनाउनमा पनि प्रयोग गरे। यहूदा देशमा चन्दनका काठद्वारा बनाइएका ती बस्तुहरू जस्ता सुन्दर बस्तुहरू कसैले कहिले देखेका थिएनन्।

12 राजा सुलेमानले शबाकी रानीलाई तिनले चाहेका अनि याचना गरेका सबै चीजहरू दिए। तिनले शबाकी रानीले आफूलाई दिएको भन्दा अधिक दिए। त्यस पछि शबाकी रानी र तिनका सेवकहरू विदा भए आफ्नै देशमा फर्की गए।

सुलेमानको अपार सम्पत्ति

13 सुलेमानले एक बर्षमा जति सुन प्राप्त गरे त्यसको तौल 666 तोडा थियो। 14 घुमन्ते पैकारीहरू अनि व्यापारीहरूले सुलेमान कहाँ अझ अधिक सुन ल्याए। अरबका सबै राजाहरू अनि देशका शासकहरूले पनि सुलेमान कहाँ सुन अनि चाँदी ल्याए।

15 राजा सुलेमानले पिटेका सुनको 200 वटा ठूल-ठूला ढालहरू बनाए। प्रत्येक ढाल बनाउनका निम्ति प्रायः 600 शेकेल पिटेको सुन प्रयोग गरियो। 16 सुलेमानले पिटेको सुनको 300 वटा सा-साना ढालहरू पनि बनाए। प्रत्येक ढाल बनाउनका निम्ति प्रायः 300 शेकेल सुन प्रयोग गरियो। सुलेमानले सुनका ढालहरू लबानोनको बन-महलमा राखे।

17 राजा सुलेमानले विशाल सिंहासन निर्माण गर्न हात्तीको दाँत प्रयोग गरे। तिनले सिंहासनलाई शुद्ध सुनद्वारा मोहोरे। 18 सिंहासनमा छःवटा सिंढीहरू थिए। अनि त्यसको एक पाउ-दान थियो जो सुनले बनिएको थियो। सिंहासनको आसनका दुवै तिर पाखुरा अडयाउने बाहुहरू थिए। प्रत्येक बाहुको छेउमा सिंहका मूर्ति उभिएका थिए। 19 छःवटा सिंडीमा बाह्रवटा सिंहका मूर्तिहरू उभिएका थिए। प्रत्येक सिंडीको प्रत्येक छेउमा एउटा सिंह थियो। यस प्रकारले बनाएको सिंहासन जस्तो अन्य कुनै राज्यमा थिएन।

20 राजा सुलेमानका पिउने सबै प्यालाहरू सुनद्वारा बनिएका थिए। लबानोनको बन-महलका सबै घरेलु चीज-बीजहरू शुद्ध सुनले बनिएका थिए। सुलेमानको समयमा यति विघ्न सम्पत्ति थियो कि चाँदीलाई त्यति मूल्यवान ठानिंदैन थियो।

21 किनभने राजा सुलेमानका जहाजहरू थिए जो हूरामका मानिसहरूले तर्शीश तिर चलाएर लान्थे। अनि प्रत्येक तीन-तीन बर्षमा सुन, चाँदी हस्ती-हाड अनि ढेंडु र बाँदरहरू लादिएर तर्शीशबाट फर्किन्थे।

22 राजा सुलेमान धन सम्पत्ति र बुद्धिमा संसारका अन्यक कुनै पनि राजा भन्दा महान भए। 23 संसारका सबै अन्य राजाहरू सुलेमान कहाँ तिनका बुद्धिमत्ता पूर्ण निर्णयहरू सुन्नका निम्ति भेट गर्न आउँथे। तिनीहरू सुलेमानलाई परमेश्वरले दिनु भएको ज्ञानका कुरा सुन्न आउँथे। 24 हरेक साल ती राजाहरूले सुलेमानका निम्ति भेटी ल्याउँथे। तिनीहरूले चाँदी अनि सुनले बनेका चीज बीजहरू, बस्त्रहरू, हतियारहरू, मसालाहरू, घोडाहरू अनि खच्चरहरू ल्याउँथे।

25 सुलेमान सित 4,000 घोडा अनि रथहरू राख्ने तबेला थिए। तिनका 12,000 सारथिहरू थिए। सुलेमानले तिनीहरूलाई यरूशलेममा आफूसित रथका निम्ति विशेष शहरहरूमा राखे। 26 सुलेमान यूफ्रेटिस नदी देखि पलिश्ती मानिसहरूको देश, अनि मिश्रदेशको सीमानासम्म फैलिएका क्षेत्रका राजाहरूका राजा थिए। 27 राजा सुलेमानसित यति विघ्न चाँदी थियो कि त्यो यरूशलेमका ढुङ्गाहरू जस्तै थियो। अनि तिनी सित यति धेरै देवदारका काठहरू थिए कि त्यो पार्वत्य देशहरूका अन्जीरका रूखहरू जस्तै साधरण थिए। 28 मानिसहरूले मिश्रदेशबाट अनि अन्य सबै देशहरूबाट सुलेमान कहाँ घोडाहरू ल्याउँथे।

सुलेमानको मृत्यु

29 सुलेमानद्वारा अन्य कुराहरू शुरू देखि अन्तसम्म गरिएका, अगमवक्ता नातानका लेखहरूमा, शीलोका अहियाहका अगमवाणी अनि दर्शी इद्दोका दर्शनमा लेखिएका छन्। इद्दोका दर्शनहरू नबातका छोरा यारोबामको बारेमा थिए। 30 सुलेमान चालीस बर्षसम्म यरूशलेममा सम्पूर्ण इस्राएलका राजा थिए। 31 त्यसपछि सुलेमानले आफ्ना पुर्खाहरूसित विश्राम लिए। मानिसहरूले तिनलाई तिनका पिता दाऊदको शहरमा गाडिदिए। सुलेमानका छोरा रहबाम सुलेमानको स्थानमा नयाँ राजा भए।

यहूदा

येशू ख्रीष्टको दास अनि याकूबको एक भाइ, यहूदाबाट।

ती सबै मानिसहरू प्रति जो परमेश्वरद्वारा चुनिएकाछन्। पिता परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ अनि तिमीहरू येशू ख्रीष्टको विश्वासमा सुरक्षित राखिएका छौ।

सम्पूर्ण कृपा, शान्ति अनि प्रेम तिमीहरूमा रहोस्।

खराब काम गर्ने मानिसहरूलाई परमेश्वरले दण्ड दिनु हुनेछ

प्रिय मित्रहरू, म तिमीहरूलाई हामी सबैले एकसाथ सहभागी भएको उद्धारको बारेमा लेख्न खूबै इच्छुक भएको छु। म तिमीहरूलाई परमेश्वरले उहाँको पवित्र मानिसहरूलाई प्रदान गर्नु भएको विश्वासको निम्ति कठिन संङ्घर्ष गर्ने उत्साह प्रदान गर्ने इच्छा गर्छु। परमेश्वरले यो विश्वास एकै पल्ट प्रदान गर्नुभयो अनि यो सबै समयको निम्ति पर्याप्त भयो। कोही मानिसहरू तिमीहरूको समूहमा सुटुक्क पसेका छन्। तिनीहरूले गरिरहेका कुराको निम्ति दोषी ठहर्याई सकिएकोछ। धेरै अघि, अगमवक्ताहरूले तिनीहरूको विषयमा लेखेका थिए। तिनीहरू परमेश्वरका शत्रुहरू हुन्। तिनीहरूले हाम्रा परमेश्वरको अनुग्रहलाई हर तरहको पापकर्म गर्ने अनुमति पत्र बनाएका छन्। तिनीहरू हाम्रा एकमात्र मालिक एवं प्रभु येशू ख्रीष्टलाई अस्वीकार गर्छन्।

तिमीहरूले जानिसकेको कुराहरू तिमीहरूलाई स्मरण गराउनमा म सहायता गर्न चाहन्छु याद गर कि प्रभुले मिश्र देशबाट बाहिर ल्याएर उहाँका मानिसहरूलाई बचाँउनु भयो। तर उहाँले ती सबै मानिसहरूको संहार गर्नु भयो जसले विश्वास गरेनन्। अनि याद गर, ती स्वर्गदूतहरूलाई जो सित अधिकार थियो तर उहाँले राख्नु भएन। तिनीहरूले आफ्नै घर त्याग गरे। यसर्थ प्रभुले ती स्वर्गदूतहरूलाई अन्धकारमा राख्नु भयो। तिनीहरूलाई सदा रहिरहने बन्धनमा बाँध्नु भयो। उहाँले त्यो महान् दिनमा न्याय गर्न तिनीहरूलाई राख्नु भयो। सदोम अनि गमोरा शहरहरू अनि वरिपरिका अन्य शहरहरूलाई स्मरण गर। तिनीहरू पनि ती स्वर्गदूतहरू जस्तै हुन्। ती शहरहरू व्यभिचार अनि अ-प्राकृतिक आनन्द मनाइरहेका थिए। तिनीहरूले अनन्त जलनको दण्ड भोग्छन्। तिनीहरूको दण्ड हाम्रो निम्ति उदाहरण हो।

ती तिमीहरूका दलमा पस्ने मानिसहरू पनि त्यही अनुशरण गर्छन्। तिनीहरूलाई तिनीहरूको सपनाले डोर्याएको छ अनि तिनीहरूले स्वयंलाई अनैतिक पारेका छन्। तिनीहरू आफैंलाई अनैतिक बनाउँछन्। तिनीहरू परमेश्वरलाई अस्वीकार गर्छन् अनि महिमामय स्वर्गदूतहरूको निन्दा गर्छन्। प्रधान स्वर्गदूत मिखाएलले पनि यसो गरेनन्। मिखाएलले शैतानसँग मोशाको शरीर छ भन्ने कुरामा मानेन। तर मिखाएलले निन्दनीय वचनहरूले शैतानलाई गाली गर्ने आँट गरेनन्। यसकारण, मिखाएलले भने, “परमप्रभुले तिमीलाई दण्डित तुल्याउने छन्।”

10 तर यी मानिसहरू जुन कुराहरू आफैंले बुझेका छैनन् त्यस बारेमा निन्दनीय शब्दहरू प्रयोग गर्छन्। अनि तिनीहरूले जे बुझ्छन् बुद्धिद्धारा होइन तर लाटा विवेक अनि शून्य पशुले भै बुझ्छन्। अनि यी कुराहरूद्वारा तिनीहरू ध्वंश हुन्छन्। 11 यो तिनीहरूका निम्ति अत्यन्तै नराम्रो हुनेछ। यी मानिसहरूले कयिन हिँडेको मार्ग अनुशरण गरेका छन्। धन कमाउन तिनीहरू बालाम हिँडेको बाटोमा हिंडिरहेका छन्। तिनीहरू परमेश्वरको विरोधमा कोरह झैं लड़छन्। यसर्थ कोरह झैं तिनीहरू पनि सड्नेछन्।

12 यी मानिसहरू तिमीहरूको समूह भोजमा भएका फोहोर दागहरू जस्तै हुन्। तिनीहरू तिमीहरूको भोजनमा साथ दिन्छन् अनि निर्भय साथ खान्छन्। तिनीहरू आफ्नै स्वार्थ केन्द्रित गोठालाहरू हुन्। ती वृष्टिहीन मेघहरू हुन्। बतासले तिनीहरूलाई चारैतिर उडाउँछ। तिनीहरू ती बृक्षहरू हुन् जुन समयमा फल दिँदैनन्, अनि भूँइबाट उखेलिन्छन्। यसरी तिनीहरू पूर्णरुपले मर्छन्। 13 तिनीहरू समुद्रका भयानक छाल जस्तै हुन्। छालले फिँज सृष्टि गर्छ। यी मानिसहरूले, छालले फिँज उत्पन्न गरे भै लज्जापूर्ण कुराहरू गर्छन्। यी मानिसहरू ती ताराहरू जस्तै हुन् जो आकाशमा निरुद्देश्य घुम्छन्। तिनीहरूको निम्ति चुक झैं कालो ठाँउ सदैवको लागि राखिएको छ।

14 आदमका सातौं सन्तान हनोकले तिनीहरूको बारेमा यसो भनेका छन् “हेर, प्रभु उहाँका हजारौं-हजार पवित्र दूतहरूसँग आउँनु हुँदैछ। 15 प्रभुले हरेक मानिसको न्याय गर्नु हुनेछ। प्रभु सबै मानिसहरूको न्याय गर्न अनि जो परमेश्वरका विरुद्ध छन्, तिनीहरूलाई दण्ड दिन आउँनु हुँदैछ। परमेश्वरले तिनीहरूले गरेको परमेश्वर विरोधी जम्मै कुराहरूको निम्ति तिनीहरू सबैलाई दण्ड दिनुहुनेछ। उहाँले यी पापीहरूलाई, जो परमेश्वरका विरुद्धमा जति कर्णकदु कुरा गरे ती सबैको निम्ति दण्ड दिनु हुनेछ।”

16 यी मानिसहरू सदैव विरोध जनाउँछन् अनि अरूको त्रुटि खोज्छन्। तिनीहरूले सदैव तिनीहरूले गर्न चाहेका कुकर्महरू गर्छन्। तिनीहरू आफ्नै गर्व गर्छन्। तिनीहरूले अन्य मानिसहरूको विषयमा राम्रो कुरा भन्नुको एउटा कारण तिनीहरू जे चाहन्छन् त्यो प्राप्त गर्नु हो।

चेतावनी अनि कर्त्तव्य

17 प्रिय मित्रहरू, हाम्रा प्रभु येशू ख्रीष्टका प्रेरितले के अगमवाणी गरेका छन्, याद गर। 18 प्रेरितले तिमीहरूलाई भनेका थिए, “आखिरमा त्यहाँ मानिसहरू हुने छन् जो परमेश्वरबारे आक्षेप गर्नेछन्। तिनीहरूले आफ्नो इच्छा पूरा गर्नेछन् अनि परमेश्वर विरुद्धका कुराहरू गर्नेछन्।” 19 यी मानिसहरू तिनीहरूका पापमय आत्माले खोजेको मात्र गर्छन्। तिनीहरूको आत्मा हुँदैन।

20 तर प्रिय मित्रहरू, तिमीहरू स्वयंलाई दृढ तुल्याउनका निम्ति तिमीहरूका अति पवित्र विश्वास उपयोग गर। पवित्र आत्मासित प्रार्थना गर। 21 तिमीहरू स्वयंलाई परमेश्वरको प्रेममा राख। तिमीहरूलाई सदाको निम्ति जीवन प्रदान गर्न उहाँका कृपा सहित प्रभु येशू ख्रीष्टको प्रतीक्षा गर।

22 जो मानिसहरू सन्देह गर्छन् तिनीहरूलाई दया देखाऊ। तिमीहरूले कोही मानिसहरूलाई बचाँउनु आवश्यक छ। 23 तिमीहरू तिनीहरूलाई आगोबाट खोस। तर खुबै सावधान बन जब तिमी अन्य मानिसहरूलाई सहायता गर्छौ। तिनीहरूका वस्त्र समेतलाई घृणा गर जुन पापले फोहोर भएका छन्।

परमेश्वरको स्तुति गर

24 परमेश्वर शक्तिशाली हुनुहुन्छ अनि तिमीहरूलाई पतन हुनबाट जोगाउन सहयोग गर्ने योग्य हुनुहुन्छ। कुनै दोष अनि महा आनन्द बिनै उहाँको महिमामय उपस्थिति अघि तिमीलाई ल्याउन योग्य हुनुहुन्छ। 25 उहाँ एक मात्र परमेश्वर हुनुहुन्छ जसले हामीलाई बचाँउनु सक्नुहुन्छ। सबै बितेका समय, अहिले, अनि सदासर्वदा हाम्रा प्रभु येशू ख्रीष्ट मार्फत महिमा, महानता, शक्ति अनि अधिकार उहाँका साथ रहुन्। आमिन।

सपन्याह 1

यो वचन परमप्रभुद्वारा सपन्याहलाई प्राप्त भयो। सपन्याहले यो वचन जुन बेला प्राप्त गरे त्यस बेला अमोनको छोरा योशियाह यहूदाका राजा थिए। सपन्याह कूशीका छोरा थिए। कूशी गदल्याहका छोरा थिए। गदल्याह अमर्याहका छोरा थिए। अमर्याह हिजकियाहका छोरा थिए।

मानिसहरूलाई न्याय गर्नका निम्ति परमप्रभुको दिन

परमप्रभु भन्नुहुन्छु, “म पृथ्वीका प्रत्येक चीज नष्ट गरिदिन्छु। म सबै मानिसहरू अनि सबै पशुहरूलाई नष्ट पार्नेछु। म आकाशमा उड्ने चराहरू अनि समुद्रका सबै माछालाई नष्ट गरिदिन्छु। दुष्ट मानिसहरू र सबै कुराहरू नष्ट गरिदिनेछु जसले तिनीहरूलाई पाप गराउँछ। यो पृथ्वीबाट मानिसहरूको अस्तित्व नै मेटाई दिनेछु,” परमप्रभुले भन्नुभयो।

परमप्रभु भन्नुहुन्छ, “म यरूशलेम अनि यहूदाका बासिन्दाहरूलाई दण्ड दिनेछु! म ती सबै चीजहरू त्यस स्थानबाट हटाउँनेछु। म बाल पूज्ने अन्तिम चिन्ह हटाउँनेछु। म पूजारीहरूलाई हटाई दिनेछु अनि ती मानिसहरू जसले नक्षत्रहरू पूज्नलाई तिनीहरूको घरको छाना माथि जान्छन्। मानिसहरूले ती झूटा पूजाहारीहरूलाई बिर्सनेछन्। कतिले भन्ने छन् तिनीहरूले मेरो पूजा गर्थे भनेर, तर तिनीहरूले मेरो पूजा गर्ने प्रतिज्ञा गरे ता पनि अब तिनीहरूले झूटो देवता मल्कामको पूजा गर्न थाले। यसकारण म तिनीहरूलाई त्यो स्थानबाट हटाउँछु। कतिपय मानिसहरू परमप्रभुबाट टाडिए। तिनीहरूले परमप्रभुको अनुशरण गर्न छोडे। तिनीहरूले परमप्रभुसँग सहायता माग्न पनि छोडे। यसकारण म तिनीहरूलाई त्यस स्थानबाट हटाउँनेछु।”

मेरो मालिक परमप्रभुको अघि चूपचाप बस! किनभने मानिसहरूलाई न्याय गर्ने परमप्रभुको दिन नजिक आउँदैछ। परमप्रभुले उहाँको बलि तयार पार्नु भएकोछ अनि उहाँको पाहुनाहरूलाई तयार रहनु भन्नु भएको छ।

परमप्रभु भन्नुहुन्छ, “परमप्रभुको बलिदानको दिन, म राजाका छोराहरू अनि अन्य भारादारहरूलाई दण्ड दिनेछु। म अरू देशको लुगा लगाउँने सबै मानिसहरूलाई पनि दण्ड दिनेछु। त्यसदिन म त्यो सङ्घारमाथि उफ्रने सबै मानिसहरूलाई दण्ड दिनेछु,[a] अनि ती जसले तिनीहरूका स्वामीको घर झूटो अनि हिंसाले भरि दिन्छन्।”

10 परमप्रभु यसो भन्नुहुन्छ, “त्यस समय मानिसहरू यरूशलेमको माछा ढोकामा सहायताको निम्ति रूँदै बोलाई रहेका हुनेछन्। तिनीहरू शहरको अरू भागमा पनि रोइरहेका हुनेछन्। अनि सामानहरू भत्किरहेको भयानक आवाज जस्तै पहाडबाट शहर वरिपरि सुनिने छ। 11 शहरको तल्लो भागमा बस्ने मानिसहरू पनि चिच्याउनेछन्। किनकि व्यापारीहरू अनि धनी व्यापारी नष्ट हुनेछन्।

12 “त्यस समय, म एउटा बत्ती लिएर यरूशलेममा गएर खोज्नेछु। म ती सबैलाई खोज्नेछु जो आफ्नो तरीकाले बाँच्नमा सन्तुष्ट छन्। उनीहरू भन्छन्, ‘परमप्रभुले केही गर्नुहुन्न। उहाँले न त सहायता नै गर्नु हुन्छ न चोट नै पुर्याउनु हुन्छ।’ म तिनीहरूको खोजि गर्नेछु, उहाँले ती सबैलाई दण्ड दिनु हुन्छ। 13 तब तिनीहरूको सबै सम्पत्ति लुटिनेछन्, अनि घरहरू नष्ट हुनेछन्। तिनीहरूले घर बनाए तापनि त्यसमा बस्न पाउँने छैनन्। तिनीहरूले दाखको बोट रोपे पनि त्यसको दाखरस खान पाउने छैनन्।”

14 परमप्रभुको न्यायको दिन चाँडै आउँदैछ। त्यो दिन नजिकै छ र झट्टै आउँदैछ। परमप्रभुको न्यायको विशेष दिनमा मानिसहरूको रूवाबासीको आवाज सुनिने छ। यहाँ सम्म कि वीर योद्धाहरू पनि रूनेछन्। 15 त्यसदिन परमेश्वरले उहाँको क्रोध प्रकट गर्नु हुनेछ। यो अत्यन्तै दुःखको दिन हुनेछ, यो विध्वंसको दिन हुनेछ। यो अँध्यारो र विरक्तको दिन हुनेछ। यो एउटा कालो, अँध्यारो, धुमिएको अनि आँधी चलिरहेका दिन हुनेछ। 16 यो युद्धको समय जस्तो हुनेछ, जब मानिसहरूले सींङहरू अनि तुरहीहरूको आवाज सुरक्षित किल्लाहरू अनि सुरक्षित शहरहरूमा सुन्नेछन्।

17 परमप्रभु भन्नुहुन्छ, “म मानिसहरूको जीवन सङ्कटमय बनाई दिनेछु। मानिसहरू अन्धा जस्तै जता ततै जानेछन् तिनीहरूकहाँ गइरहेकाछन् तिनीहरू आफैं जान्ने छैनन्। किनभने मानिसहरूले परमप्रभुको विरूद्ध पाप गरेकाछन्। धेरै मानिसहरू मारिने छन्। तिनीहरूको रगत जमीनमा बग्नेछ अनि लाश गोबर जस्तै जमीनमा छरिएर सडनेछ। 18 जब परमप्रभुले उहाँको रिस धेरै देखाउनुहुनेछ तिनीहरूको सुन र चाँदीले तिनीहरूलाई सहायता गर्ने योग्य हुने छैनन्। त्यस समय परमप्रभु एकदमै क्रोधित हुनुहुनेछ। परमप्रभुले उहाँको रिसको आगोद्वारा सारा संसारलाई जलाई दिनुहुनेछ। परमप्रभुले पृथ्वीका सम्पूर्ण चीज-बीज नष्ट गरिदिनु हुनेछ।”

लूका 23

बडा़ हाकीम पिलातसद्वारा येशूलाई प्रश्न

(मत्ती 27:1-2,11-14; मर्कूस 15:1-5; यूहन्ना 18:28-38)

23 त्यसछि तिनीहरू सबै उठे अनि येशूलाई पिलातसकहाँ पुर्योए। तिनीहरूले उहाँलाई दोष दिन थाले। तिनीहरूले पिलातसलाई भने, “उहाँले हाम्रा मानिसहरूलाई पथ भ्रष्ट गराँउदै थिए र हामीले उहाँलाई पक्रेकाछौं। उहाँले सिजरलाई कर तिर्नु विरोध गर्नुहुन्छ। उहाँ दावी गर्नु हुन्छ, उहाँ ख्रीष्ट राजा हुनुन्छ।”

पिलातसले येशूलाई भने, “के तपाईं यहूदीहरूका राजा हुनुहुन्छ?”

येशूले उत्तर दिनुभयो, “हो, त्यो सही हो।”

पिलातसले मुख्य पूजाहारीहरू अनि अग्रज मानिसहरूलाई भने, “मैले यो मानिसमाथि आरोप थोप्न कुनै दोष पाइन।”

तिनीहरूले घरि-घरि भने, “तर यो मानिसले! यहूदियाभरि मानिसहरूलाई उहाँको शिक्षाले उत्तेजित पारी रहेकोछ। उहाँले गालीलमा शुरू गर्नुभयो, अनि अहिले यहीं हुनुहुन्छ।”

पिलातसद्वारा येशूलाई हेरोदकहाँ पठाइन्छ

यो सुने पछि यो मानिस गालीलबाट आएको हो होइन पिलातसले सोधे। पिलातसले चाल पाए कि येशू हेरोदको क्षेत्रका थिए। त्यस समय हेरोद यरूशलेममा नै थिए। त्यसैले पिलातसले उहाँलाई हेरोदकहाँ पठाए।

जब हेरोदले येशूलाई देखे, उनी अत्यन्त खुशी भए। हेरोदले येशूको विषयमा सबै सुनेका थिए। यसैले धेरै दिनदेखि येशूलाई भेट्ने उनको इच्छा थियो। येशूले केही चमत्कार देखाउन् भन्ने हेरोदले आशा गरे। हेरोदले उहाँलाई अनेकौं प्रश्नहरू गरे, तर येशूले कुनै उत्तर दिनुभएन। 10 मुख्य पूजाहारी र व्यवस्थाका शास्त्रीहरू त्यहीं उभिरहेका थिए। तिनीहरू येशूको विरुद्ध दोष लगाएर कराइरहेका थिए। 11 तब हेरोद र तिनका सिपाहीहरूले येशूलाई खिसी गरे। तिनीहरूले येशूलाई राजाको पोशाक पहिराइ दिएर पिलातस भएकहाँ नै पठाए। 12 बितेका दिनाहरूमा हेरोद र पिलातस माझ शत्रुता थियो। तर त्यस दिन ती दुइमाझ मित्रता शुरू भयो।

येशूको प्राणान्त

(मत्ती 27:15-26; मर्कूस 15:6-15; यूहन्ना 18:39–19:16)

13 पिलातसले मुख्य पूजाहारीहरू र यहूदी शासकहरू लगायत सबै मानिसहरूलाई बोलाए। 14 पिलातसले तिनीहरूलाई भने, “तिमीहरूले यो मानिसलाई मकहाँ ल्यायौ। तिमीहरूले भन्यौ कि यो मानिसले मानिसहरूलाई मकहाँ उत्तेजित गराइरहेकोछ। तर मैलै तिमीहरूकै अघि उहाँलाई जाँचे। तर तिमीहरूले लगाएको कुनै पनि दोषारोपणमा मैले उहाँमाथि कुनै दोष पाईंन। 15 त्यसरी नै हेरोदले पनि उहाँमा कुनै दोष देखेनन्। तिनले त्यसैले गर्दा उहाँलाई हामीकहाँ पठाएका हुन्। हेर, येशूले कुनै दोष गर्नु भएको छैन कि उहाँले मृत्यु दण्ड पाउन्। 16 यसकारण, म उहाँलाई हलुका सजाय दिएर छोडिदिनेछु।” 17 [a]

18 तर सबै मानिसहरू चिच्याए, “उसलाई मार्नै पर्छ। बरू बरब्बासलाई छोडिदिनुहोस्।” 19 बरब्बासले शहरमा दङ्गा फैलाएको कारण झयालखानमा परेका थियो। त्यसले हत्या पनि गरेको थियो।

20 पिलातसले येशूलाई मुक्त गर्न चाहान्थे। फेरि उनले येशूलाई छोडिदिने बारे तिनीहरूसँग कूरा गरे। 21 तर तिनीहरू चिच्याइरहे, “उसलाई क्रूसमा झुण्ड्याऊ, उसलाई क्रूसमा झुण्ड्याऊ।”

22 तेस्रोपल्ट पिलातसले मानिसहरूलाई भने, “किन उहाँले त्यस्तो के गल्ती गर्नु भएको छ? उहाँ दोषी हुनुहुन्न। उहाँलाई मार्नै पर्ने केही कारण भेट्टाइनँ। यसकारण सामान्य सजाय दिएर म उहाँलाई छोडिदिनेछु।”

23 तर येशूलाई क्रूसमा झुण्ड्याएर मार्नू पर्छ भन्ने विन्ती गर्दै मानिसहरू चिच्याइ रहे। 24 तिनीहरू यति साहो चिच्याए कि पिलातसले तिनीहरूको निवेदन पूरा गर्ने निर्णय लिए। 25 मानिसहरू बरब्बासलाई मुक्त गराउन चहान्थे। बरब्बासले मानिसहरूको हत्या गरेको र आतङक फैलाएको आरोपमा कैदमा परेको थियो। पिलातसले बरब्बासलाई मुक्त गिरदिए। तिनीहरूको इच्छा अनुसार जे गर्नु चाहन्थे त्यही गर्नु तिनीहरूलाई येशूलाई तिनले सुम्पिए।

येशूलाई क्रूसमा झुण्ड्याएर मारियो।

(मत्ती 27:32-44; मर्कूस 15:21-32; यूहन्ना 19:17-19)

26 सिपाहीहरूले येशूलाई मार्न टाढा लगेर गए। त्यसैबेला एउटा मानिस खेतबाट आफ्नो शहरतिर फर्किरहेको थियो। त्यसको नाम शिमोन थियो। शिमोन साइरेनीवासी थिए। सिपाहीहरूले शिमोनलाई येशूको पछि पछि क्रूस बोकेर हिँड्न बाध्य गराए।

27 धेरै मानिसहरू येशूको पछि लागे। कोही स्त्रीहरू दुःखी भएर विलाप गरिरहेका थिए। 28 तर येशूले फर्केर ती स्त्रीहरूलाई भन्नुभयो, “ए यरूशलेमका स्त्रीहरू हो, मेरो निम्ति नरोओ। तिमीहरू आफ्नै निम्ति र आफ्नो छोरा-छोरीको निम्ति विलाप गर! 29 समय त्यस्तो आइरहेकोछ कि मानिसहरूले भन्नेछन्, ‘धन्य हुन ती स्त्रीहरू जसले कहिल्यै पनि बालकहरूलाई दूध चुसाएन।’ 30 त्यसपछि मानिसहरूले पर्वतहरूलाई भन्नेछन्, ‘हामीमाथि खस्!’ अनि पहाडलाई भन्नेछन्, ‘हामीलाई छोप!’(A) 31 जब जीवन सुखी हुँदा यदि मानिसहरूले यस्तो कर्म गर्छन् भने, जब नराम्रो समय आएको बेला के हुने होला?”

32 दुइजना अरू अपराधीहरूलाई पनि उहाँसँग मार्न अघि लगाइएको थियो। 33 येशू र ती दुइ अपराधीहरूलाई “खप्परे” भन्ने ठाँउमा लगियो। सिपाहीहरूले येशूलाई काँटी ठोकेर क्रूसको दुइ छेउमा तिनीहरूले ती दुइ अपराधीहरूलाई पनि टाँगे। तिनीहरूले एकजनालाई येशूको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि राखे।

34 येशूले भन्नुभयो, “हे पिता, तिनीहरूलाई माफ दिनुहोस् किनभने तिनीहरू के गरिरेहछन्, जान्दैन्।”

सिपाहीहरूले चिट्ठा उढाएर उनको लुगाहरू बाँडे। 35 मानिसहरू येशूलाई हेरेर उभिए। यहूदी प्रमुखहरू येशूलाई यसो भन्दै निन्दा गरे, “यदि ऊ नै परमेश्वरले छान्नु भएको, ख्रीष्ट हो भने, जसरी उसले अरूलाई बचायो उसले आफैंलाई बचाउने काम गरोस्?”

36 सिपाहीहरूले पनि येशूको खिल्ली उडाए। तिनीहरू येशूको नजीक गए अनि उहाँलाई दाखरसको सिर्का-दिए। 37 ती सिपाहीहरूले भने, “यदि तिमी यहूदीहरूको राजा हौ भने आफैंले आफैंलाई बचाउ।” 38 क्रूसको माथिल्लो भागमा यी शब्दहरू लेखिएको थिए “यो यहूदीहरूको राजा हो।”

39 एकजना अपराधीले येशूलाई अपमान गर्दै भन्यो, “के तपाईं ख्रीष्ट हुनुहुन्न? त्यसो हो भने आफूलाई बँचाउनु होस् अनि हामीलाई पनि बचाउनुहोस्।”

40 तर अर्को अपराधीले गाली गर्यो अनि भन्यो, “के तिमी परमेश्वससँग डराउँछौ? हामी चाँडै मर्नेछौं। 41 तिमी र म अपराधी हौं हामीले मर्नै पर्छ किनभने हामीले अपराध गरेका छौं। तर यस मानिसले केही भूल गरेको छैन!” 42 त्यसपछि उसले येशूलाई भन्यो, “हे येशू! जब तपाईं राजा भएर शासन गर्नुहुन्छ त्यसबेला मलाई सम्झनु होस्।”

43 तब येशूले त्यसलाई भन्नुभयो, “सुन! जे भन्दछु त्यो साँच्चो होः आज नै तिमी पनि मसँग स्वर्ग-लोकमा हुनेछौ!”

येशूले प्राण त्याग्छन्

(मत्ती 27:45-56; मर्कूस 15:33-41; यूहन्ना 19:28-30)

44 अत प्राथः मध्यदिन समय भएको थियो, र सारा देश-भरि नै तीन बजे सम्म अन्धकार छायो। 45 सूर्यको उज्यालो थिएन! मन्दिरको पर्दा दुइटुक्रा भएर वारपार च्यातियो। 46 येशू चिच्याउनुभयो, “हे पिता, म तपाईंलाई मेरो आत्मा दिँदैछु।” यति भनेर उहाँले आफ्नो प्राण त्यागनुभयो।

47 सैनिक अधिकारीले के भएको थियो देखे। तिनले परमेश्वरको प्रशंसा गर्दै भने, “निश्चय यी मानिस धार्मिक मानिस हुन्।”

48 धेरै मानिसहरू यो दृश्य हेर्न त्यहाँ भेला भएका थिए। जब तिनीहरूले के भयो, देखे तिनीहरूले आफ्नो हृदय गहौं गराए अनि गए। 49 येशूका घनिष्ट सबै साथीहरू त्यहीं थिए। गालीलदेखि येशूलाई पछ्याएर आउने केही स्त्रीहरू पनि त्यहाँ थिए। तिनीहरू क्रूसदेखि धेरै टाढा़ थिए अनि हेरिरहेका थिए।

अरमथियाका योसेफ

(मत्ती 27:57-61; मर्कूस 15:42-47; यूहन्ना 19:38-42)

50-51 यहूदीहरूको अरमथिया शहरबाट आएको एकजना मानिस थिए। तिनको नाउँ यूसुफ थियो। तिनी असल र धार्मीक मानिस थिए। ऊ परमेश्वरको राज्य आउने भनी र्पखिरहेका थिए। यूसुफ यहूदी महासभाका सदस्य थिए। तर तिनले येशूलाई मार्ने अरू यहूदी अगुवाहरूको निर्णयलाई तिनले सहमती दिएका थिएनन्।

52 तिनी पिलातसकहाँ येशूको शरीर माग्न गए। पिलातसले तिनलाई येशूको शरीर दिन राजी भए। 53 अनि यूसुफले क्रूसबाट शरीरलाई तल ओह्रालेर एउटा लुगाले बेह्रे। अनि तिनले येशूको शरीर लगे अनि चट्टानमा खनिएको चिहानमा राखे। यो चिहान अघि कहिल्यै चलाईएको थिएन। 54 त्यो तयारीको दिन थियो। जब सूर्य अस्ताउँदै थियो, विश्रामको दिन शुरू हुनेवाला थियो।

55 गालीलबाट येशूसँगै आएका स्त्रीहरूले यूसुफलाई पछ्याउन लागे। तिनीहरूले चिहान अनि त्यस भित्र शरीर कसरी राखिएको थियो देखे। 56 त्यसपछि तिनीहरू सुगन्धित मसाला तयार पार्न घर गए। विश्रामको दिन मोशाको नियमको आज्ञा अनुसार तिनीहरूले विश्राम गरे।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International