M’Cheyne Bible Reading Plan
हिजकियाह यहूदाका राजा
29 हिजकियाह जब पच्चीस बर्ष पुगे तब तिनी राजा भए। तिनले यरूशलेममा उनन्तीस बर्षसम्म राज गरे। तिनकी आमाको नाउँ अबियाह थियो। अबियाह जकर्याहकी छोरी थिइन्। 2 हिजकियाहले परमप्रभुले तिनीद्वारा गर्न चाहनु भएका कुराहरू गरे तिनले आफ्ना पुर्खा दाऊदले गरेका जस्तै सही कार्य गरे।
3 हिजकियाहले परमप्रभुको मन्दिरका ढोकाहरू लगाइ दिए अनि तिनीहरूलाई दृढ बनाए। हिजकियाहले मन्दिर फेरि खुल्ला गरि दिए। तिनले यो काम आफू राजा भएको पहिलो बर्षको पहिलो महीनामा गरे। 4-5 हिजकियाले पूजाहारीहरू अनि लेवीहरूलाई सभामा एक साथ गरे। तिनले तिनीहरूसित मन्दिरको पूर्व तफर्को खुल्ला आँगानमा सभा गरे। हिजकियाहले तिनीहरूलाई भने, “मेरो कुरा सुन, लेवीहरू। तिमीहरूले स्वयंलाई पवित्र सेवाको निम्ति तयार गर। परमप्रभु परमेश्वरको मन्दिरलाई पवित्र सेवाका निम्ति तयार पार, उहाँ तिमीहरूका पुर्खाहरूले आज्ञा पालन गर्ने परमेश्वर हुनु हुन्छ। मन्दिरबाट ती चीज-बीजहरू हटाइ देऊ जो त्यहाँको होइन। ती चीज बीजहरूले मन्दिरलाई शुद्ध तुल्याउँदैन। 6 हाम्रा पुर्खाहरूले परमप्रभुलाई त्याग गरे अनि आफ्ना अनुहार परमप्रभुको मन्दिरबाट टाढा फर्काए। 7 तिनीहरूले मन्दिरको दलानका ढोकाहरू थुनि दिए अनि दीपहरूमा बत्ती निभ्न दिए। तिनीहरूले इस्राएलका परमेश्वरलाई पवित्र स्थानमा धूप बाल्न अनि होमबलि चढाउन बन्द गरे। 8 यसर्थ परमप्रभु यहूदा अनि यरूशलेमका मानिसहरू प्रति अत्यन्त क्रोधित हुनु भयो। परमप्रभुले तिनीहरूलाई दण्ड दिनु भयो। अरू मानिसहरू भयभीत भए अनि विचलित भए जब तिनीहरूले देखे परमप्रभुले यहूदा अनि यरूशलेमका मानिसहरूलाई के गरे। ती अन्य मानिसहरूले यहूदाका मानिसहरूका निम्ति घृणा अनि लाजले आफ्ना शिरहरू हल्लाए। तिमीहरू जान्दछौ, यी कुराहरू सत्य हुन्। तिमीहरू आफ्नै आँखाले देख्न सक्छौ। 9 अनि, त्यसै कारणले गर्दा हाम्रो पुर्खाहरू युद्धमा मारिए। हाम्रा छोरा अनि छोरीहरू अनि पत्नीहरूलाई कैदी बनाइए। 10 यसकारण अब म, हिजकियाहले इस्राएलका परमप्रभु परमेश्वर सित करार गर्ने निश्चय गरेको छु। तब उहाँ हामी सित अब उप्रान्त क्रोधित हुनहुने छैन। 11 यसकारण मेरो छोराहरू, अल्छे नबन वा अझ अधिक समय खेर नफाल। परमप्रभुले उहाँको सेवा गर्नका निम्ति तिमीहरूलाई चुन्नु भएको छ। उहाँले तिमीहरूलाई उहाँको मन्दिरमा सेवा गर्न अनि धूप बाल्नका निम्ति चुन्नु भएको छ।”
12-14 यो त्यहाँ भएका लेवीहरूको सूचीहो जसले काम गर्न शुरू गरेः
कहातका परिवारबाट अमासैका छोरा महत अनि अजर्याहका छोरा योएल थिए।
मरारीका परिवारबाट अब्दीका छोरा कीश अनि यहल्लेलका छोरा अजर्याह थिए।
गेर्शोनका परिवारबाट जीम्माका छोरा योआह अनि योआहका छोरा एदेन थिए।
एलीसापानका परिवारहरूबाट शिम्री अनि यूएल थिए।
आसापका परिवारहरूबाट जकर्याह अनि मत्तन्याह थिए।
हेमानका परिवारहरूबाट यहूएल अनि शिमी थिए।
यदूतूनका परिवारहरूबाट शमायाह अनि उज्जीएल थिए।
15 तब, यी लेवीहरूले आफ्ना दाज्यू-भाइहरूलाई पनि तिनीहरू सित भेला गरे अनि स्वयंलाई पवित्र सेवाका निम्ति तयार पारे। तिनीहरूले राजाका आदेशको पालन गरे जो परमप्रभुबाट आएको थियो। तिनीहरूले यसलाई शुद्ध पार्नका निम्ति परमप्रभुको मन्दिर भित्र गए। 16 पूजाहारीहरू परमप्रभुको मन्दिरको भित्री भाग शुद्ध गर्न गए। तिनीहरूले भेट्टाएका सबै अशुद्ध चीज-बीजहरू निकाले। तिनीहरूले अशुद्ध चीज-बीजहरू परमप्रभुको मन्दिरको आँगनमा ल्याए। तब लेवीहरूले ती अशुद्ध चीज-बीजहरू बाहिर किद्रोन बेंसीमा लगे। 17 पहिलो महीनाको पहिलो दिनमा लेवीहरूले स्वयंलाई पवित्र सेवाका निम्ति तयार पार्न शुरू गरे। त्यो महीनाको आठौं दिनमा लेवीहरू परमप्रभुको मन्दिरको दलानमा आए। अझ आठ दिन तिनीहरूले परमप्रभुको मन्दिरलाई पवित्र प्रयोगका निम्ति तयार पार्नका निम्ति सफा गरे। तिनीहरूले पहिलो महीनाको सोह्रौं दिनमा काम पूर्ण गरे।
18 तब तिनीहरू राजा हिजकियाह कहाँ गए। तिनीहरूले तिनलाई भने, “राजा हिजकियाह, हामीले परमप्रभुको मन्दिरको, होमबलिको वेदी अनि मन्दिरका सबै चीजहरू सफा गर्यौं। हामीले रोटीका लहर राख्ने मेच त्यस मेच सित प्रयोग गरिने सबै चीहरू सहित सफा गर्यौं। 19 आहाज राजा रहेको समयमा तिनले परमेश्वरको विरूद्ध विद्रोह गरे। तिनले मन्दिरमा भएका धेरै चीजहरू फ्याँकी दिए। तर हामीले ती सबै चीजहरू राखि दियौं अनि तिनीहरूलाई तिनीहरूको विशेष प्रयोगका निम्ति तयार पार्यौं। अहिले तिनीहरू परमप्रभुको वेदी सामुन्ने छन्।”
20 राजा हिजकियाहले शहर अधिकारीहरूलाई भेला गरे अनि भोलि पल्ट बिहानै परमप्रभुको मन्दिर सम्म गए। 21 तिनीहरूले सातवटा गोरूहरू सातवटा भेंडाहरू, सातवटा भेंडाका थुमाहरू अनि सातवटा भेडका पाठाहरू ल्याए। यी पशुहरू राज्यका पापबलिको निम्ति थिए, पवित्र स्थानलाई शुद्ध तुल्याउन अनि यहूदाका मानिसहरूका निम्ति थिए। राजा हिजकियाहले ती पशुहरूलाई परमप्रभुको वेदीमाथि अर्पण गर्नु भनी पूजाहारीहरूलाई आज्ञा दिए जो हारूनका सन्तानहरू थिए, तिनीहरूलाई आदेश दिए। 22 यसर्थ पूजाहारीहरूले गोरूहरूलाई मारे अनि रगत लिए। त्यसपछि तिनीहरूले गोरूको रगत वेदीमा छर्किदिए। तब पूजाहारीहरूले भेंडाका पाठाहरू मारे अनि भेंडाका पाठाको रगत वेदीमा छर्किदिए। 23-24 त्यस पछि पूजाहारीहरूले बाख्राहरूलाई राजा र भेला भएका मानिसहरूको सामुन्ने ल्याए। ती बाख्राहरू पाप बलि थिए। पूजाहारीहरूले आफ्ना हात बाख्रा माथि राखे अनि बाख्राहरूलाई मारे। पूजाहारीहरूले बाख्राको रगतद्वारा वेदीमा पाप बलि अर्पम गरे। तिनीहरूले यसो गरे जसद्वारा परमेश्वरले इस्राएलका मानिसहरूको पापलाई क्षमा गरिदिनुहुनेछ। राजाले भने कि त्यो होमबलि अनि पाप बलि इस्राएलका सबै मानिसहरूका निम्ति हुनु पर्छ।
25 राजा हिजकियाहले लेवीहरूलाई दाऊद, राजाका दर्शी गाद अनि अगमवक्ता नातानले आदेश गरेका प्रकारले, झ्याम्टा, सितार अनि वीणाहरू सहित परमप्रभुको मन्दिरमा राखे। यो आदेश उहाँका अगमवक्ता मार्फत परमप्रभुबाट आएको हो। 26 यसर्थ लेवीहरू दाऊदका वाद्य-यन्त्रहरू सहित अनि पूजाहारीहरू आफ्ना तुरहीहरू सहित उभिए। 27 तब हिजकियाहले वेदीमा होमबलि चढाउने आदेश दिए। जब होमबलि शुरू भयो परमप्रभुको स्तुति गान पनि शुरू भयो। तुरहीहरू फुके अनि इस्राएलका राजा दाऊदका बाजा बजाइए। 28 सम्पूर्ण सभाले शिर झुकाए, संङ्गीतकारहरूले गाए अनि तुरही बजाउनेहरूले आ-आफ्ना तुरही होमबलि पूर्ण नभएसम्म बजाए।
29 बलिदानहरू पूरा भए पछि राजा हिजकियाह अनि तिनका साथ भएका सबै मानिसहरू तल झुके र आराधना गरे। 30 राजा हिजकियाह अनि तिनका अधिकारीहरूले लेवीहरूलाई परमप्रभुको प्रशंसा गर्ने आज्ञा दिए। तिनीहरूले ती गीतहरू गाए जो दाऊद अनि दर्शी आसापले लेखेका थिए। तिनीहरूले परमेश्वरको प्रशंसा गरे अनि प्रशन्न भए। तिनीहरू सबै झुके र परमेश्वरको आराधना गरे। 31 हिजकियाहले भने, “अब यहूदाका मानिसहरू तिमीहरूले स्वयंलाई परमप्रभु प्रति अर्पण गरिसकेकाछौ। नजिक आऊ बलि र धन्यवादको भेटी परमप्रभुको मन्दिरमा ल्याऊ।” तब मानिसहरूले बलिहरू अनि धन्यवादका भेटीहरू ल्याए। कुनै पनि व्यक्ति जसले चाहन्थे, तिनीहरूले पनि होमबलि ल्याए। 32 सभाले मन्दिरमा ल्याएका होमबलिहरू यी हुन्; 70 गोरूहरू, 100 वटा भेंडाहरू अनि 200 भेंडाका थुमाहरू। यी सबै पशुहरूलाई परमप्रभुका निम्ति होमबलिको रूपमा बलिदान गरिए। 33 परमप्रभुको निम्ति पवित्र भेटीहरू 600 गोरूहरू अनि 3,000 भेंडा अनि बाख्रहरू थिए। 34 तर त्यहाँ होमबलिका निम्ति पशुहरूको छाला काढ्ने अनि पशुहरूलाई काट्ने पर्याप्त पूजाहारीहरू थिएनन्। यसर्थ तिनीहरूका आफन्तहरू, लेवीहरूले काम नसकुन्जेल अनि अन्य पूजाहारीहरूले स्वयंलाई पवित्र सेवाका निम्ति तयार नपारून्जेल तिनीहरूलाई सहायता गरे। तिनीहरू स्वयंलाई परमप्रभुको सेवाका निम्ति तयार गर्न लेवीहरू अधिक ध्यान मग्न थिए। तिनीहरू पूजाहारीहरू भन्दा अधिक ध्यान मग्न थिए। 35 त्यहाँ अनेक होमबलि, अनि मेलबलिको बोसो अनि अर्घबलिहरू थिए। यसरी परमप्रभुको मन्दिरमा सेवा कार्य फेरि शुरू भयो। 36 हिजकियाह अनि मानिसहरू अति प्रशन्न थिए परमेश्वरले मानिसहरूका निम्ति प्रस्तुत गर्नु भएका कुराहरूको बारेमा अनि तिनीहरू उहाँले यति चाँडो गर्नु भएकोमा खुशी थिए।
आखिरी महामारीहरू सहित स्वर्गदूतहरू
15 तब मैले स्वर्गमा अर्को संकेत देखे। यो महान अनि अद्भूत थियो। त्यहाँ सात विपत्ती ल्याउने सात स्वर्गदूतहरू थिए। ती अन्तिम विपत्तीहरू थिए। किनभने यी विपत्तीहरू पछि परमेश्वरको क्रोध समाप्त हुनेछ।
2 मैले आगोसित मिसिएको काँचको समुद्र जस्तै केही चीज देखेँ। समस्त मानिसहरू जसले त्यो पशु अनि त्यसको मूर्ति अनि त्यसको नाउँका संख्याहरूमाथि विजय प्राप्त गरेका थिए, समुद्रको छेउमा उभिरहेका थिए। यी मानिसहरूसित वीणा थियो जो परमेश्वरले दिएका थिए। 3 तिनीहरूले परमेश्वरको सेवक मोशा अनि परमेश्वरको थुमाको गीत गाए:
“परमप्रभु-परमेश्वर, सर्व-शक्तिमान्,
तपाईंले जे गर्नु हुन्छ, महान् अनि आश्चर्यपूर्ण छन्।
राष्ट्रहरूका राजा,
तपाईंका विचार सबै सही अनि सत्य छन्।
4 हे परमप्रभु, समस्त मानिसहरू तपाईंसित भयभीत हुनेछन्।
सबै मानिसहरूले तपाईंको नाउँको स्तुति गर्नेछन्।
किनभने तपाईं मात्र पवित्र हुनुहुन्छ।
सम्पूर्ण मानिसहरू आउनेछन् अनि तपाईंको सामुन्ने प्रशंसा गर्नेछन्,
किनभने यो स्पष्ट छ कि तपाईं त्यो कुरा गर्नुहुन्छ जो सही छन्।”
5 तब मैले स्वर्गमा साक्षीको मन्दिर देखें जुन खुल्ला थियो। 6 अनि सात विपत्तीहरू ल्याउने स्वर्गदूतहरू मन्दिर बाहिर आए। तिनीहरूले सफा चम्किलो मलमलको लुगा लगाएका थिए। तिनीहरूले आफ्नो छाती सुनौंला पट्टीले बाँधेका थिए। 7 तब चार मध्ये एक सजीव वस्तुले ती सात स्वर्गदूतहरूलाई सातवटा सुनौला कचौरा दिए। ती कचौराहरू सदा-सर्वदा जीवित रहनु हुने परमेश्वरको क्रोधले भरिएको थियो जो सदा सर्वदा बस्नेछन्। 8 मन्दिरमा परमेश्वरको महिमा अनि शक्तिको धुवाँले भरिएको थियो। सात स्वर्गदूतका सात विपत्तीहरू पुरा नहुन्जेलसम्म मन्दिरभित्र कसैले पनि प्रवेश गर्न सक्तैनथ्यो।
परमेश्वरले यहूदाको चारैतिर भएका देशहरूलाई दण्ड दिनुहुनेछ
11 लबानोन, आफ्नो दैलोहरू खोल! किनभने आगो भित्र आउँछ,
अनि तिमीहरूका देवदारका रूखहरू भस्म पारिदिन्छ।
2 बाशानका सल्लोको रूखहरू रूनेछन्,
किनकि देवदारका रूखहरू लडे।
महान् रूखहरू नष्ट गराइए।
बाशानका फलाँटका रूखहरू
त्यो जङ्गलको निम्ति रोऊ जुन काटिएकाछन्।
3 गोठालाहरू रूएको सुन!
तिनीहरूको महिमा नष्ट भएको छ।
जवान सिंहको गर्जन सुन,
यर्दन नदीको किनारको तिनीहरूको
बाक्लो जङ्गल उजाड़ गराइएको छ।
4 परमप्रभु मेरा परमेशवर भन्नुहुन्छ, “ती भेंडा़हरूको रक्षागर, जसलाई मार्नेका निम्ति पालिएको छ। 5 तिनीहरू जसले भेंडा़ किन्छन् तिनीहरूले भेंडा़लाई मार्छन्, अनि तिनीहरू दण्डित हुँदैनन्। ब्यापारीले भेंडा़लाई बेच्छ अनि भन्छ, ‘परमप्रभुको प्रशंसाहोस् किनभने म धनी भएँ।’ गोठालाहरू अफ्ना भेंडा़हरूका निम्ति शोक मनाउँदैनन्। 6 अनि म यो देशका बासिन्दाको निम्ति दुःखी हुनेछैन।” परमप्रभुले यो सबै भन्नुभयो, “हेर म प्रत्येकलाई उसको छिमेकी अनि राजाको हातमा सुम्पि दिनेछु। म तिनीहरूलाई उनीहरूको देशमा नष्ट पार्न दिनेछु, म तिनीहरूलाई रोक्नेछैन।”
7 त्यसरी मैले ती भेंडा़हरूको रेखदेख गरें, बिशेष कष्टमा परेका बथान जसलाई मार्नकालागि पालिएको थियो। मैले दुइवटा लौरो लिएँ र मैले एउटा लौरोको नाउँ अनुग्रह राखें र अर्कोको नाउँ एकता अनि मैले भेंडा़हरूको रेखदेख आरम्भ गरें। 8 मैले तीनजना गोठालाहरूलाई एकै महीनामा नष्ट गरिदिएँ। म भेंडा़हरू प्रति क्रोधित भएँ अनि तिनीहरूले मलाई घृणा गर्न थाले। 9 त्यपछि मैले भनें, “म तिमीहरूको हेरचाह गर्दिनँ! म तिमीहरूलाई मर्न दिन्छु जो मर्न चाहन्छन्। अनि तिनीहरू जो नष्ट हुन चाहन्छन् नष्ट होऊन्। अनि जो बाँच्छन् तिनीहरूले एक-अर्काको मासु खानेछन्।” 10 त्यपछि मैले अनुग्रह नामको लौरो लिएँ अनि त्यसलाई टुक्रा-टुक्रा पारिदिएँ। मैले सबै मानिसहरूसँग मेरो करार रद्द गर्न यसो गरें। 11 यसकारण त्यसदिन करार भङ्ग भयो अनि पीडित बगाल जसले मतिर हेरिरहेका थिए, उनीहरूले पनि बुझे, यो परमप्रभुको समाचार थियो।
12 तब मैले तिनीहरूलाई भनें, “यदि तिमी ज्याला दिन चाहन्छौ भने देऊ। यदि चाहँदैनौ भने नदेऊ!” यसैले मलाई उनले तीसवटा चाँदीका टुक्रा दिए। 13 त्यसपछि परमप्रभुले मलाई भन्नु भयो, “त्यसलाई कोष-भण्डारमा फ्याँकिदेऊ। तिनीहरूले सोच्छन कि त्यो महत्वपूर्ण रकमको लागि म योग्यको छु। त्यो पैसालाई परमप्रभुको मन्दिरको भण्डारमा हालिदेऊ।” यसकारण चाँदीको तीसवटा टुक्रालाई परमप्रभुको मन्दिरको भण्डारमा हालिदिएँ। 14 तब मैले एकता नाउँको लौरोलाई दुइ टुक्रा पारें मैले यी कुरा साबित गर्नको लागि गरें कि इस्राएल अनि यहूदाको बिचको एकता समाप्त भयो।
15 तब परमप्रभुले मलाई भन्नुभयो, “अब मूर्ख गोठालाको लौरोको खोजी गर। 16 म यस भूमिमा एउटा नयाँ गोठालो उठाउँनेछु। उसले नष्ट भईसकेको भेंडा़हरूको हेरचाह गर्ने छैन, उसले चोट लागेको भेंडा़हरूलाई निको पार्नेछैन। उसले ती जो अहिले जिउँदो छन् तिनीहरूलाई खुवाउँने छैन। अनि सबै स्वास्थ्य भेंडा़हरू खाईसकिन्छ र खूरहरू मात्र बाँकी रहनेछ।”
17 हे मेरो बेक्कामको गोठालो तिमीले
मेरा भेंडा़हरूलाई त्यागिदियौ।
एउटा तरवारले उसको दाहिने पाखुरा
अनि उसको दाहिने आँखामा हिर्काउनेछ।
उसको पाखुरा बेक्कामको हुनेछ
अनि उसको दाहिने आँखा अन्धा हुनेछ।
येशूले आफ्ना चेलाहरूलाई ढाडस दिनुहुन्छ
14 येशूले भन्नुभयो, “आफ्ना हृदयलाई दुःखी हुन नदेऊ। परमेश्वरमा भरोसा गर। अनि ममा भरोसा गर। 2 त्यहाँ मेरा पिताको घरमा धेरै कोठाहरू छन्। यदि यो सत्य नभएको भए म तिमीहरूलाई भन्ने थिईनँ। म त्यहाँ तिमीहरूको व्यवस्था मिलाउन गइरहेछु। 3 म गए पछि तिमीहरूको लागि सबै व्यवस्था मिलाइसके पछि म फर्की आउनेछु। तब म तिमीहरूलाई त्यहाँ लानेछु। तब तिमीहरू म जहाँ छु त्यहीं हुनेछौ। 4 म जुन ठाउँमा गइरहेछु तिमीहरू त्यो बाटो जान्दछौ।”
5 थोमाले भने, “प्रभु, तपाईं कहाँ गइरहनु भएको छ हामी जान्दैनौ। तब हामीले बाटो कसरी जान्ने?”
6 येशूले भन्नुभयो, “म नै बाटो हुँ, सत्य र जीवन म नै हुँ। पिताकोमा जाने माध्यम हुँ। 7 यदि तिमीहरूले मलाई चिनेको भए तब मेरो पितालाई पनि चिन्ने थियौ। तर अब तिमीहरू पितालाई जान्नेछौ। तिमीहरूले उहाँलाई देखेकाछौ।”
8 फिलिपले येशूलाई भने, “प्रभु, हामीलाई पिता देखाइदिनु होस्। त्यही हामीलाई पर्याप्त हुनेछ।”
9 येशूले जवाफ दिनु भयो, “फिलिप धेरै समयदेखि म तिमीहरूसँगै छु र पनि मलाई चिन्दिन भन्छौ? जसले मलाई देखेकोछ उसले मेरो पितालाई पनि देखेकोछ। यसर्थ तिमी कसरी भन्छौ, ‘हामीलाई पिता देखाउनु होस्?’ 10 के तिमीहरू विश्वास गर्छौ कि म पिताभित्र छु र पिता मभित्र हुनुहुन्छ भनेर? जुन कुराहरू मैले भने त्यो मबाट आएको होइन। पिता मभित्र बाँच्नु हुन्छ अनि उहाँले आफ्नो काम आफैं गर्नुहुन्छ। 11 मैले पहिल्यै भनि सकें कि विश्वास गर, ममा पिता र पितामा म हुन्छु। अथवा मैले गरेको कामहरूको कारणले गर्दा पनि विश्वास गर।
12 “म तिमीहरूलाई सत्य भन्छु। जसले ममा विश्वास गर्छ उसले पनि त्यस्तै काम गर्नेछ जो म गर्छु। उसले वास्तवमा त्यो भन्दा पनि महान काम गर्नेछ। किनभने म पिताकहाँ गइरहेछु। 13 अनि मेरो नाममा केही पनि माग्यो भने, म त्यो तिमीहरूको लागी गरिदिनेछु। तब पिताको महिमा पुत्रको माध्यमाबाट देखिनेछ। 14 यदि तिमीहरूले मेरो नाममा केही माग्यौ भने, म दिनेछु।
पवित्र आत्माको प्रतिज्ञा
15 “यदि तिमीहरूले मलाई प्रेम गर्यौ भने, तब तिमीहरूले मेरो आज्ञा पालन गर्नेछौ। 16 म मेरो पितालाई माग्नेछु र उहाँले तिमीहरूलाई अर्को सहायक[a] दिनुहुनेछ। उहाँ तिमीहरूसँग सधैँ रहने सहायक दिनुहुनेछ। 17 सहायक सत्यको आत्मा[b] हो। संसारले उहाँलाई देख्दैन र बुझ्दैन। तर तिमीहरू उहाँलाई जान्दछौ। उहाँ तिमीहरूसँग बाँच्नु हुन्छ र उहाँ तिमीहरूभित्र नै हुनु हुनेछ।
18 “म तिमीहरूलाई आफ्ना आमा-बाबुले अनाथहरू छोडे जस्तो एक्लै छाड्नेछैन। म तिमीहरूकहाँ फर्की आउने छु। 19 केही समय पछि बाटै मलाई संसारमा मान्छेहरूले फेरि देख्नेछैन। तर तिमीहरूले मलाई देख्नेछौं। तिमीहरू बाँच्नेछौं किनभने म बाँच्छु। 20 त्यस दिनमा तिमीहरूले जान्नेछौं कि म पितामा छु। तिमाहरूले जान्नेछौ कि तिमीहरू ममा र म तिमीहरूमा हुनेछु। 21 यदि कसैले मेरो आज्ञाहरू ग्रहण गर्छ र यसलाई पालन गर्दछ, त्यस मानिसले मलाई प्रेम गर्दछ। अनि मेरा पिताले तिनलाई प्रेम गर्दछन्। जसले मलाई प्रेम गर्दछ। अनि म त्यस मानिसलाई प्रेम गर्छु। म उमाथि प्रकट हुनेछु।”
22 तब यहूदाले (इस्करियोत यहूदा होइन) भन्यो, “तर प्रभु किन तपाईंले आफूलाई हामी समक्ष प्रकट गर्नुहुन्छ र संसार समक्ष किन गर्नुहुन्न?”
23 येशूले भन्नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, उसले मेरो शिक्षा पालन गर्दछ। अनि मेरो पिताले पनि तिनलाई प्रेम गर्नुहुन्छ। म र मेरा पिता तिनीकहाँ आउनेछौं र तिनीसँगै बस्नेछौं। 24 तर जसले मलाई प्रेम गर्दैन उसेल मेरो शिक्षाहरू पालन गर्दैन। यो शिक्षाहरू जुन तिमीले सुन्दैछौ वस्तवमा मेरो होइन। यो पिताबाट आएको हो जसले मलाई पठाउनु भयो।
25 “मैले यी सबै कुराहारू भनिसकेकोछु तिमीहरूसँग रहँदा नै। 26 तर सहायकले सबै कुराहरूको शिक्षा दिनेछन्। सहायकले मैले जे भने ती सबै कुराहरू सम्झना गराउनेछ। त्यो सहायक नै पवित्र आत्मा हो जसलाई पिताले मेरो नाममा पठाउनु हुनेछ।
27 “म तिमीहरूलाई मेरो शान्ति छोड्दछु, यो मेरो आफ्नै शान्ति तिमीहरूलाई दिंदछु। म तिमीहरूलाई शान्ति दिन्छु, यो त्यो शान्ति होइन जुन संसारले दिन्छ। यसकारण तिमीहरूको हृदय विचलित नहोस् अनि कुनै विषयमा पनि नडराऊ। 28 म गइरहेछु भनेको तिमीले सुन्यौ, तर फेरि तिमीहरूकहाँ आउनेछु। यदि तिमीहरूले मलाई प्रेम गरेको भए तिमीहरू खुशी हुने थियौ कि म पिताकहाँ गइरहेछु। किनभने पिता म भन्दा महान हुनुहुन्छ। 29 यो हुनु भन्दा पहिल्यै मैले यो कुरा भनिसकेकोछु। जब यी सबै हुनेछ अनि तिमीहरूले विश्वास गर्नेछौ।
30 “तिमीहरूसँग कुरा गर्ने समय छैन। यो संसारको शासक आइरेहछ। तर ममाथि उसको अधिकार चल्दैन। 31 तर संसारले जान्नै पर्छ कि मैले मेरा पितालाई प्रेम गर्छु। यसैले म त्यही जस्ताको तस्तै गर्दछु, जुन उहाँले मलाई गर्नु भन्नु भयो।
“आऊ अब, हामी यस ठाऊँलाई छोडी जाऊँ।”
© 2004, 2010 Bible League International