The Daily Audio Bible
Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.
हारूनले मानिसहरूलाई बचायो
41 अर्को दिन इस्राएलका मानिसहरूको सम्पूर्ण समुदाय मोशा र हारूनको विरोधमा गुनासो गरे र भने, “तिमीहरूले परमप्रभुका मानिसहरूलाई मार्यौ।”
42 सम्पूर्ण समुदाय मोशा र हारूनको विरोध गर्न भेला हुँदै गर्दा तिनीहरूले भेट हुने पाल तर्फ हेरे अनि देखे कि पाललाई बादलले ढाक्यो र त्यहाँ परमप्रभुको महिमा देखापर्यो। 43 तब मोशा र हारून भेट हुने पालको सामुन्ने आए।
44 परमप्रभुले मोशालाई भन्नुभयो, 45 “यो समुदायबाट तिमीहरू अलग हौ ताकि यिनीहरूलाई म अति शीघ्र ध्वंश पार्न सकुँ।” यसर्थ मोशा र हारूनले शिर निहुराए।
46 त्यसपछि मोशाले हारूनलाई भने, “धूपौरो ल्याऊ र त्यसकहाँ वेदीबाट आगो हालेर धूप हाल। अनि त्यो समुदाय भएकोमा झट्टै गएर तिनीहरूलाई प्रयाश्चित गराऊ। किनभने परमप्रभु क्रोधित हुनु भएको छ र महामारी शुरू भएको छ।”
47 यसर्थ मोशाले भने जस्तै हारूनले धूपौरो लिएर मानिसहरूको बीचमा पसे र चाल पाए कि महामारी शुरू भई सकेको थियो अनि धूपौरोमा धूप हाली मानिसहरूको निम्ति प्राश्चित गरे। 48 तिनी जिउँदो र मरेको मानिसहरू बीचमा उभिए अनि महामरी रोकियो। 49 कोरहको कारणले मर्नेहरूको संख्याको अतिरिक्त त्यहाँ महामारीले मरेकाहरूको संख्या 14,700 पुग्यो। 50 त्यसपछि हारून भेट हुने पालमा मोशालाई भेट्न गए। महामारी थामियो।
परमेश्वरले हारूनलाई प्रधान पूजाहारी निश्चीत गर्नुभयो
17 परमप्रभुले मोशालाई भन्नुभयो, 2 “इस्राएलका मानिसहरूलाई भन, तिनीहरूले बाह्र पुर्खाका कुल-कुलबाट बाह्रवटा लौरोहरू ल्याऊन्। प्रत्येक लौरामा आफ्नो नाम लेख। 3 लेवी कुलबाट ल्याएको लौरामा हारूनको नाम लेख। बाह्र कुल समूहको प्रत्येक कुल प्रमुख मानिसको निम्ति एउटा लौरो हुनुपर्छ। यी लौरोहरू भेट हुने पालमा करारको सन्दूक अघि राख। त्यो त्यही ठाँउ हो जहाँ म तिमीलाई भेट्छु। 4 ईमान्दार पूजाहारीको निम्ति म एकजना व्यक्तिलाई चुन्छु। म जसलाई चुन्छु त्यस व्यक्तिलाई तिमीले चिन्न सक्छौ कारण 5 उसको लौरोमा नयाँ पालुवाहरू पलाउनेछन्। यस प्रकारले तिम्रो र मेरो विरोध गर्ने मानिसहरूलाई म रोक्छु।”
6 त्यसपछि मोशाले इस्राएलका मानिसहरूलाई भने अनि तिनीहरूका बाह्र कुल नायकहरू प्रत्येकलाई एउटा-एउटा गरी बाह्रवटा लौरोहरू दिए। हारूनको लौरो पनि अरू लौरोहरूसितै थियो। 7 मोशाले लौरोहरू करारको सन्दूक राखिएको पालमा परमप्रभुको अगाडी राखे।
8 करारको सन्दूक भएको पाल भित्र मोशा अर्को दिन पसे। अनि लेवी कुल समूहका नायक हारूनको लौरोमा पालुवा पलाएको देखे। त्यति मात्र नभई त्यस पालुवाले कोपिला हालेर फूली बदाम पनि फलेको थियो। 9 मोशाले ती सबै लौरोहरू परमप्रभुको अघिबाट सबै मानिसहरूको सामुन्ने ल्याए। प्रत्येक कुल प्रमुखले आफ्नो आफ्नो लौरो चिने।
10 तब परमप्रभुले मोशालाई भन्नु भयो, “हारूनको लौरो करारको सन्दूक अघि लगेर राख। यो सधैँ मेरो विरोधमा नालिश गरी रहनेहरूको निम्ति चेतावनी हुनेछ र मेरो विरोधमा नालिश गर्न बन्द हुनेछ र मैले तिनीहरूलाई ध्वंश पार्नु पर्दैन।” 11 यसर्थ मोशाले परमप्रभुको आज्ञा अनुसार काम गरे।
12 तर इस्राएली मानिसहरूले मोशालाई भने, “हामी जान्दछौ कि हामी मर्नेछौ। हामी नष्ट भइसकेका छौं। हामी ध्वंश भयौं। 13 प्रत्येक मानिस जो परमप्रभुको पवित्र पाल नजिक जान्छ त्यो मर्छ। के हामी पनि मर्छौं?”
पूजाहारीहरू र लेवीहरूको काम
18 परमप्रभुले हारूनलाई भन्नुभयो, “अब उसो तिमी, तिम्रा छोराहरू अनि तिम्रा परिवारिक समूहका मानिसहरू पवित्र स्थानमा केही खराबी गरिए जिम्मावारी हुनेछौ। तिमी र तिम्रा छोराहरू पूजाहारीहरू विरूद्ध गरिएको खराबीको निम्ति जिम्मावारी हुनेछौ। 2 तिम्रो परिवार समूहका अन्य लेवी मानिसहरूलाई तिमीसित काम गराउन ल्याऊ। करारको पालमा काम गर्दा तिम्रा छोराहरूलाई तिनीहरूले सहयोग पुर्याउने छन्। 3 लेवी कुलमा भएका ती मानिसहरू तिम्रो नियन्त्रणमा रहनेछन्। पालभित्र गरिनु पर्ने भैपरी आँउने कामहरू तिनीहरूले गर्नेछन्। तर पवित्र स्थान अथवा वेदीमा राखिएको कुनै पनि चीजको नजिक तिनीहरू जानु हुँदैन। यदि तिनीहरू गए भने तिनीहरू मर्नेछन् अनि तिमी पनि मर्ने छौ। 4 तिनीहरूले तिमीसित भेट गर्नेछन् र तिमीसितै काम गर्ने छन्। भेट हुने पालको रेख-देख गर्ने तिनीहरूको काम हुनेछ पाल भित्र गरिने सबै काम तिनीहरूले गर्ने छन्। कोही पनि तिमी जहाँ छौ त्यहाँ आउनु साहस गर्नेछैन।
5 “तिमीले पवित्र स्थान र वेदीको रक्षकको काम गर्नेछौ ताकि मैले इस्राएलका मानिसहरूसित रिसाउन नपरोस्। 6 हेर! म आफैंले ती तिम्रा दाज्यू-भाइ लेवीहरू इस्राएलका मानिसहरूको बीचबाट लिएकोछु। भेट हुने पालमा काम गर्नको निम्ति ती तिम्रो निम्ति बलि हुन्। 7 तर तिमी र तिम्रो छोराहरू मात्र पूजाहारीको रूपमा सेवा गर्नलाई अनि वेदीको छेउ र पर्दाभित्र जान अनि म तिमीलाई एउटा उपहार दिंदैछु, त्यो तिम्रो पूजाहारीत्व। तर यदि कुनै व्यक्ति पवित्र स्थानको नजिकमा आयो भने त्यो मारियोस्।”
8 तब परमप्रभुले हारूनलाई भन्नुभयो, “इस्राएलका मानिसहरूले मलाई चढाएको सबै पवित्र उपहारहरूको रक्षा गर्नका निम्ति मैले तिमीलाई नियुक्त गरें। मैले तिमी र तिम्रा छोराहरूलाई इस्राएलका मानिसहले चढाएका पवित्र बलिहरू निरन्तर अंशको रूपमा दिएको छु। 9 वेदीहरूबाट पाइने वस्तुहरूमा यो सब भन्दा पवित्र वस्तु हो। मानिसहरूले अन्नबलि, पापबलि, दोषबलिहरू ल्याउँछन्। यी बलिहरू महा पवित्र बलिहरूको र नपाकिएको भागबाट तिमीले आफ्नो अंश पाउनेछौ। ती सब तिमी र तिम्रा छोराहरूको हुनेछन्। 10 तिमीहरूले ती चीजहरू महा-पवित्र स्थानमा मात्र खानु पर्छ। तिम्रो परिवारको प्रत्येक पुरूषले खान सक्छन् तर तिमीले याद राख्नु पर्छ कि ती चीजहरू अत्यन्तै पवित्र हुन्।
11 “यो पनि तिम्रै हुनेछ कुनै पनि विशेष उपहार इस्राएलका मानिसहरूले मलाई चढाउँछन्, तिमीसित भएका तिम्रा छोरा-छोरीहरू र तिम्रो निम्ति स्थायी अंशको रूपमा दिन्छु। तिम्रो परिवारका प्रत्येक शुद्ध व्याक्तिले त्यो खान सक्छन्।
12 “इस्राएलका मानिसरूको कुनै पनि पहिलो बाली अथवा उब्जनी जस्तै अन्न, भद्राक्षको तेल र दाखरस, जो तिनीहरूले परमप्रभुमा समर्पण गर्छन, म ती सब तिमीलाई दिन्छु। 13 तिनीहरूको खेतमा पाकेको कुनै पनि अन्न जो तिनीहरूले परमप्रभुलाई चढाउन ल्याउँछन् त्यो तिम्रो हो र तिम्रो परिवारको कुनै पनि शुद्ध व्याक्तिले त्यो खान सक्छ।
14 “इस्राएलमा प्रत्येक चीज जो परमेश्वरलाई पूर्णरूपले समर्पण गरिन्छ त्यो तिम्रो हो।
15 “प्रत्येक जेठो चाहे व्यक्ति होस अथवा पशु जो आफ्नो आमाको प्रथम गर्भमा आँउछ र परमेश्वरलाई समर्पण गरिन्छ भने त्यो तिम्रो हुनेछ। तर जेठो जन्मेको पशु होस् अथवा मानिस त्यसको तिमीले मोल तिर्नु पर्छ। 16 जब नानी एक महीनाको हुँदा तिनीहरूले यसको मोल तिर्नु पर्छ। एक महिनाको नानीहरूको मोल पवित्रस्थानको शेकेल परिमाण अनुसार पाँच सेकेल हुन्छ। एक शेकेल बीस गेराको हुन्छ।
17 “तर पहिले जन्मेको गाई, भेंडा अथवा बाख्राको मोल तिर्नु पर्दैन। यी पशुहरू पवित्र हुन र यिनीहरूको रगत वेदीमा छर्किईन्छ अथवा बोसो पोलिन्छ। यो उपहार आगोमा पोलेर दिइन्छ र यसको सुगन्धले परमप्रभुलाई सन्तुष्ट पार्छ। 18 तर यी पशुहरूको मासु भने तिम्रो हुनेछ अनि डोलाइने बलिको ह्याकुलो तिम्रो हुनेछ र अरू बलिको दाहिने सर्प्रा पनि तिम्रो हुनेछ। 19 मानिसहरूले चढाएको कुनै पनि पवित्र उपहारहरू म, परमप्रभुले तिमीलाई दिनेछु। म तिम्रो छोरा-छोरीहरू र तिमीलाई दिनेछु र यो नियम सदासर्वदाको निम्ति लागू हुनेछ। यो परमप्रभुसित गरिएको करार हो र भङ्ग गर्न सकिंदैन। म यो प्रतिज्ञा तिमी र तिम्रा सन्तानहरूसित गर्छु।”
20 परमप्रभुले हारूनलाई पनि भन्नुभयो, “तिमीले भूमि पाउनेछैनौं। अनि अरू मानिसहरूले झैं तिमीले त्यहाँ केही आफ्नो बनाउनु पाउने छैनौ। म परमप्रभु नै तिम्रो हुनेछु। प्रतिज्ञा गरिएको अनुसार इस्राएली मानिसहरूले जग्गाजमीनहरू पाउनेछन् तर तिम्रो निम्ति म नै उपहार हुँ।
21 “इस्राएलका मानिसहरूले तिनीहरूसित भएको प्रत्येक चीजको दशांश मलाई दिन्छन्। यसकारण त्यो एक दशांश भाग म लेवीका सन्तानहरूलाई दिन्छु। यो तिनीहरूले भेट हुने पालमा छँदा त्यहाँ काम गरे बापत पारिश्रमिक हो। 22 तर अन्य मानिसहरू भेट हुने पालको नजीक जानु हुँदैन। यदि गए तिनीहरू मारिनु पर्छ। 23 लेवी मानिसहरू काम गरिरहेको समयमा भेट हुने पालको विरोधमा कुनै पाप कार्य हुन गए त्यस पापको उत्तरदायी तिनीहरू हुनेछन्। यही नियम सदासर्वदाको निम्ति लागू रहनेछ। मैले अरू मानिसहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको भूमि लेवी मानिसहरूले पाउने छैनन्। 24 तर तिनीहरू सँग भएको प्रत्येक चीजको दशांश इस्राएली मानिसहरूले मलाई चढाउनेछन् र त्यो दशांश म लेवी मानिसहरूलाई दिनेछु। त्यही कारणले लेवी मानिसहरूको विषयमा मैले यस्तो भनेः मैले इस्राएलका मानिसहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको भूमि तिनीहरूले पाउने छैनन्।”
25 परमप्रभुले मोशालाई भन्नुभयो, 26 “लेवी मानिसहरूसित कुरा गर अनि भन, इस्राएलका मानिसहरूले तिनीहरूसित भएको प्रत्येक चीजको दशांश मलाई दिनेछन् तर त्यसबाट दशांश उपहार स्वरूप परमप्रभुलाई चढाउनु पर्छ। 27 अनि यो दशांश परमप्रभुको उपहार हो, यो तिमीहरूले कोल अथवा खलाबाट चढाएका बलि झैं हुन्। 28 यस्तै प्रकारले इस्राएली मानिसहरूले तिमीहरूलाई दशांश दिए जस्तै तिमीहरूले पनि परमप्रभुलाई उपहार चढाउनु पर्छ अनि त्यसबाट तिमीहरूले पनि परमप्रभुलाई उपहार दिनु पर्छ अनि यो हारूनलाई दिनु पर्छ। 29 जब इस्राएलका मानिसहरूले तिनीहरूको उपहारहरू परमप्रभुलाई दिन्छन्, तिमीहरूले तिनीहरूमा सबै भन्दा असल अनि महा-पवित्र परमप्रभुलाई चढाउनु पर्छ कारण त्यो सबै उहाँको हुनेछ।
30 “मोशा, लेवी मानिसहरूलाई भन जब तिमीहरूले प्रत्येक असल चीज परमप्रभुलाई चढाउँछौ जे इस्राएली मानिसहरूले दिएका थिए, तब यो सम्झिन्छ कि लेवीहरूको आफ्नै अन्न र अर्धबलि हो। 31 त्यसबाट रहेको अंश तिमीहरू र तिमीहरूका परिवारले खानेछन्। यो तिमीहरूले भेट हुने पालमा काम गरे वापत मूल्य हो। 32 अनि यदि तिमीहरूले यसको असल सधैँ परमप्रभुलाई चढायौ भने तिमीहरू कदापि दोषी हुने छैनौ। तिम्रो आफ्नै निम्ति इस्राएलका मानिसहरूद्वारा चढाएका ती पवित्र उपहारहरूको भाग नलैजाऊ नत्र भने तिमीहरू मर्ने छौ।”
येशू मृत्युबाट बौरी उठेको समाचार
(मत्ती 28:1-8; लूका 24:1-12; यूहन्ना 20:1-10)
16 विश्राम दिनको अर्कोदिन, मग्दलिनी मरियम, सुगन्धित द्रव्यहरू किने। तिनीहरूले ती सुगन्धित द्रव्यहरू येशूको शरीरमा लगाइनदिन चाहन्थे। 2 हप्ताको पहिलो दिनको बिहानै, तिनीहरू चिहानमा गइरहेका थिए। यसबेलासम्म घाम झुल्केकै थिएन। 3 ती स्त्रीहरू एक अर्कामा कुरा गर्दै थिए, “चिहानको ढोकामा एउटा ठूलो ढुङ्गा छ। कसले त्यो ढुङ्गा हाम्रो निम्ति पल्टाइदेला?”
4 जब स्त्रीहरूले देखे, तिनीहरूले ढुङ्गा हटाईएको पाए। त्यो ढुङ्गा अति ठूलो थियो, तर ढोकाबाट यसलाई पल्टाईको थियो। 5 तिनीहरू चिहान भित्र गए। त्यहाँ तिनीहरूले एकजना सेतो वस्त्र लाएको जवान मानिस लाई चिहानको दाहिने पट्टि बसिरहेको देखे। ती स्त्रीहरू डराए।
6 उनले भने, “डराउनु पर्दैन। तिमीहरूले नासरतको येशूलाई, खोजिरहेछौ जसलाई क्रुसमा टाँगेका थिए। उहाँ मृत्युबाट बौरी उठनु भएको छ। उहाँ यहाँ हुनुहुन्न। हेर, यहाँ त्यो स्थान छ जहाँ उहाँलाई मृत्यु पछि राखिएको थियो। 7 अब जाऊ अनि उहाँका चेलाहरूलाई खबर गर। अनि पत्रुसलाई पनि भनिदेऊ। तिनीहरूलाई भनिदेऊ, येशू गालील जानु भइरहेकोछ। तिनीहरू पुग्नु भन्दा अघिनै उहाँ त्यहाँ हुनुहुनेछ। उहाँले अघिबाटै तिमीहरूलाई भने झैं उहाँलाई त्यहाँ देख्न पाउने छौ।”
8 ती स्त्रीहरू खुबै डाराए अनि अल्मलमा परे। तिनीहरूले चिहान छोडे, अनि दगुरे। डरको कारणले के घट्ना भएको थियो त्यस बारे तिनीहरूले कसैलाई केही भनेनन्।
(प्रस्तुत पुस्तकमा मर्कूसको केही पुराना यूनानी प्रतिलिपीहरू यहाँ शेष हुन्छ।)
केही चेलाहरूले येशूलाई देख्छन्
(मत्ती 28:9-10; यूहन्ना 20:11-18; लूका 24:13-35)
9 हप्ताहको पहिलो दिनमा येशू मृत्युबाट बौरी उठ्नु भयो। उहाँ पहिले मरियम मग्दलिनीसित देखापर्नु भयो। जसबाट उहाँले सात भूतहरू निकाल्नु भएको थियो। 10 जब उनले येशूलाई देखिन्, तिनी गईन् अनि उहाँका चेलाहरूलाई भनिन्। उहाँका चेलाहरू उहाँका निम्ति दुःखी भएर विलाप अनि रोई-कराई गरिरहेका थिए। 11 मरियमले येशू जीवित नै हुनुहुन्छ भनेर खबर गरिन् अनि उनीले उहाँलाई देखें भनी तिनीहरूलाई भनिन्। तर चेलाहरू उनलाई विश्वास गरेनन्।
12 त्यसपछि ती दुइ बाहिर खेतमा हिंडिरहेका बेला उहाँ तिनीहरूकहाँ अघि अर्को रूपमा देखा पर्नुभयो। तर उहाँलाई मारिनु अघिको समयको जस्तो देखिनुहुन्थेन। 13 ती चेलाहरू फर्केर गए, अनि अरू चेलाहरूलाई यी कुराहरू वर्ण गरे। तर तिनीहरूले पनि विश्वास गरेनन्।
येशूले प्रेरितहरूसँग कुराकानी गर्नु भयो
(मत्ती 28:16-20; लूका 24:36-49; यूहन्ना 20:19-23; प्रेरित 1:6-8)
14 त्यसपछि आफ्ना एघारजना चेलाहरूको अघि देखापर्नु भयो जब तिनीहरू खाँदैथिए। येशूले तिनीहरूमा विश्वास कम भएकोमा अनि जसले उहाँलाई बौरी उठेको देखेर दिएको समाचारमा विश्वास नगरेकोमा तिनीहरूलाई हप्काउनु भयो।
15 येशूले चेलाहरूलाई भन्नुभयो, “सारा संसारको हरेक स्थानमा जाऊ र प्रत्येकलाई सुसमाचार प्रचार गर। 16 जसले विश्वास गर्छ अनि बप्तिस्मा लिन्छ त्यो बाँच्ने छ। तर जसले विश्वास गर्दैन भने दोषी हुनेछ। 17 अनि विश्वास गर्ने मानिसहरूले प्रमाणका निम्ति यी कुराहरू गर्नेछन्। तिनीहरूले भूतहरू मेरो नाउँमा भगाउने छन्। तिनीहरूले कहिल्यै नसिकेका भाषाहरू बोल्नेछन्। 18 तिनीहरूले यदि सर्पहरू समाते पनि तिनीहरूलाई त्यसको विष लाग्नैछैन। यदि तिनीहरूले घात विष पिए पनि तिनीहरूलाई कुनै हानि हुनेछैन। यदि तिनीहरूले आफ्ना हात रोगीहरू माथि राखे भने तिनीहरू निको हुनेछन्।”
येशूको स्वर्गारोहण
(लूका 24:50-53; प्रेरित 1:9-11)
19 यी सबै तिनीहरूसित बोलीसक्नु भएपछि प्रभु येशूलाई स्वर्गतिर लगियो। त्यहाँ येशू परमेश्वरको दाहिनेपट्टि बस्नु भयो। 20 चेलाहरू पृथ्वीको सबै कुनामा गए, अनि सु-समाचार प्रचार गरे। अनि प्रभुले तिनीहरूलाई सहायता गर्नुभयो अनि आश्चर्यकर्म गर्ने शक्ति चेलाहरूलाई दिइएकाले सुसमाचारको प्रमाण भयो।
प्रमुख संगीतकारलाई: वाद्य वादन सहित गाउने दाऊदको “मस्किल” भन्ने भजन।
1 हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्।
कृपया मेरो प्रार्थनालाई अनुग्रहको निम्ति अवहेलना नगरीदिनु होस्।
2 परमेश्वर, मलाई सुनिदिनोस् र जवाफ दिनुहोस्,
मलाई तपाईं प्रति बोल्न दिनुहोस् अनि मभित्रका पीडा र व्यथा, सुनिदिनुहोस्।
3 मेरो शत्रुहरूले मप्रति अनुचित कार्यहरू गरे।
त्यो दुष्ट मानिसले मसित चिच्यायो।
मेरो शत्रुहरू क्रोधित थिए र मलाई आक्रमण गरे।
तिनीहरूले मलाई सम्पूर्ण प्रकारले तहस-नहस गर्ने विघ्न-वाधाहरू सृष्टि गरे।
4 मेरो हृदय भित्रभित्रै जोडले धड्किरहेको छ।
मलाई मृत्युसित डर लाग्यो।
5 म डरले गर्दा र थर-थर कामी रहेकोछु,
म ती विघ्न-वाधाहरूको तूफानबाट भाग्न चाहन्छु।
6 ओ हो! ढुकुरको जस्तो पखेंटाहरू भए म उड्ने थिएँ।
अनि विश्राम गर्ने ठाउँ खोज्ने थिएँ।
7 म धेरै टाढा, एकदम टाढा निर्जन ठाउँमा जाने थिएँ।
8 म भागेर बाँच्ने थिएँ।
म दुःखको तूफानबाट भाग्ने थिएँ।
9 मेरो स्वामी, तिनीहरूका झूटो कुराहरू बन्द गर्नुहोस्।
मैले यस शहरमा उपद्रो र झगडा़हरू देखें।
10 प्रत्येक रात-दिन, हरेक छिमेकीपनमा, यो शहर
अपराध र बर्बरताले भरिपूर्ण भयो।
11 त्यहाँका गल्लीहरूमा अधिक भन्दा अधिक अपराधहरू भए।
मानिसहरूले चारैतिर झूटा बोलेर ठगिरहेका थिए।
12 यदि यो शत्रु भएको भएता,
म हेला गरेको पनि सहन सक्थें।
यदि यो मेरो शत्रु भएता
म उनीहरूको आक्रमणदेखि लुक्न सक्थें।
13 तर तिमी नै एक हौ, मेरो साथी मेरो सहकर्मी।
मेरो साथीहरूले नै मलाई कष्टहरू दिइरहेकाछन्।
14 हामी आपसमा आफ्ना गुप्त कुराहरूको सहभागी हुने गर्दथ्यौ,
अनि हामी सँगै भीड-भाडमा छिर्दै-छिर्दै परमेश्वरको मन्दिरमा जाने गर्दथ्यौं।
15 मेरो शत्रुहरूलाई मृत्युले अचानक लैजाओस्!
म कामना गर्दछु कि पृथ्वीको मुख खुलियोस् र तिनीहरूलाई जिउँदै निली दिओस्।
किनभने तिनीहरूले परस्परमा त्यस्तो डरालाग्दो योजनाहरू बनाइरहेछन्।
16 म सहयोगको लागि परमेश्वरलाई पुकार्ने छु,
अनि परमप्रभुले मलाई जवाफ दिनु हुनेछ।
17 म परमेश्वरसँग बिहान, दिउँसो र बेलुकी कुरा गर्दछु।
मेरो अस्तव्यस्त उहाँलाई बताउँछु।
अनि उहाँले मेरो कुरा सुन्नु हुन्छ!
18 मैले धेरै युद्धहरू लडी सकेको छु।
तर परमेश्वरले मलाई सधैँ बचाउनु भएको छ साथै सकुशल फर्काउनु भएको छ।
19 परमेश्वरले मेरा कुरा सुन्नु हुनेछ।
सदा-सर्वदा रहने राजाले मलाई साथ दिनुहुनेछ।
मेरा शत्रुहरूले आफ्नो जीवन शैली सुधार्ने छैनन्।
तिनीहरू डराउँदैनन् र परमेश्वरलाई आदर गर्दैनन्।
20 मेरा शत्रुहरूले आफ्नै मित्रहरूमाथि पनि आक्रमण गर्छन्।
तिनीहरूले सबै सहमत भएको कामहरू गर्दैनन्।
21 मेरा शत्रुहरू वास्तवमा चिप्लो घस्नेहरू हुन्,
तिनीहरू शान्तिका कुराहरू गर्छन्, वास्तवमा तिनीहरू युद्धको तयारी गरिरहेका हुन्छन्।
तिनीहरूका शब्दहरू तेल जस्त चिप्लो हुँदछ,
तर तिनीहरूले छुरीले झैं काट्ने गर्छन्।
22 तिम्रो चिन्ताहरू परमप्रभुलाई देऊ
अनि उहाँले तिम्रो हेरचाह गर्नुहुनेछ।
परमप्रभुले कहिले पनि धर्मात्माहरूलाई परास्त हुन दिनुहुन्न।
23 हे परमेश्वर तपाईंको करार अनुसार,
ती झूटोहरू र हत्याराहरूलाई आधा जीवन नबित्दै चिहानमा पठाउनु हुनेछ,
मेरो पक्षको करार अनुसार म तपाईंमा भरोसा गर्नेछु।
7 जब एकजना दुष्ट मानिस मर्छ उसको कुनै आशा हुँदैन। उसले आशा गरेका प्रत्येक चीज सकिन्छ र यसको मुल्य हुँदैन।
© 2004, 2010 Bible League International