The Daily Audio Bible
Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.
24 यसकारण मोशा बाहिर आए अनि परमप्रभुले तिनलाई भन्नु भएको कुरा मानिसहरूलाई भने। अनि इस्राएलका बूढा-प्रधानहरूबाट सत्तरी जना भेला पारेर तिनीहरूलाई पालको वरिपरि उभ्याए। 25 तब परमप्रभु बादलमा तल आउनु भयो र मोशालाई भन्नुभयो। तब परमप्रभुले केही आत्मा जो मोशा माथि थियो लिएर ती इस्राएलीहरूको 70 जना बूढा प्रधानहरू माथि हालि दिनु भयो तिनीहरूले अगमवाणी बोल्न शुरू गरे। त्यही समय मात्र थियो कि यी मानिसहरूले यस्तो गरे, उनीहरू माथि पवित्र आत्मा आए पछि।
26 त्यहाँ छाउनी भित्र दुइजना व्यक्ति एलदाद र मेदाद थिए। तिनीहरूको नाम 70 जना बूढा प्रधानहरूको सूचीमा हालिएको थियो। तर तिनीहरू छाउनी बाहिर गएका थिएनन्। तापनि आत्मा तिनीहरूमाथि पनि आयो र तिनीहरूले अगमवाणी गरे। 27 एकजना जवान मानिस मोशा कहाँ दगुर्दै आएर भन्यो, “छाउनीमा एलदाद र मेदादले अगमवाणी गरिरहेका छन्।”
28 युवावस्थाबाट नै मोशाको सहायक रहेको नूनका छोरो यहोशूले तिनलाई भन्यो, “हे परमप्रभु! तिनीहरूलाई रोक्नु होस्।”
29 तर मोशाले उत्तर दिए, “के तिमी मेरो डाह गर्छौ? म इच्छा गर्छु कि परमप्रभुले उहाँको आत्मा सबै मानिसहरूलाई खन्याउनुँ हुनेछ अनि सबै मानिसहरू अगमवाणी गर्न सक्छन्।” 30 त्यसपछि मोशा अनि सबै इस्राएलका बूढा-प्रधानहरू छाउनीमा फर्के।
बट्टाई चराहरू आउँछन्
31 तब परमप्रभुले बतास चलाउनु भयो र बतासले समुद्रतिरबाट बट्टाई चराहरू ल्याएर छाउनीको वरिपरि छरिदियो। यसरी ती बट्टाईहरू यति बिघ्न थिए कि तिनीहरू बाटोमा एकजना मानिसले दिन भरिमा हिँडी सक्ने लम्बाईमा र जमीनदेखि तीन फुट बाक्लो थियो। 32 तिनीहरूले दिन भरि अनि रात भरि बट्टाई चराहरू बटुले अनि सब भन्दा कम्ती बटुल्नेले पनि पुग नपुग दश होमर बटुल्यो। मानिसहरूले घाममा मासु सुकाउन छाउनी वरिपरि फिंजाए।
33 यद्यपि तिनीहरूको दाँतले मासु चपाउँदै थिए र तिनीहरूले यो खाई सक्नु अघि परमप्रभु तिनीहरूसित अतिनै क्रोधित हुनुभयो र परमप्रभुले तिनीहरूमाथि डर लाग्दो हैंजा फैलाइदिनु भयो। 34 यसकारण त्यस ठाँउको नाम ‘किब्रोथ-हत्तावा’ राखियो किन भने तिनीहरू मासु खान धेरै लालची भएका थिए र हैंजाले तिनीहरू मरे।
35 किब्रोथ-हत्तावाबाट तिनीहरू हसेरोत तिर लागे र तिनीहरू त्यहाँ बास बसे।
मरियम र हारूनले मोशाको विरोधमा नालिश गरे
12 मरियम र हारूनले मोशाको विरूद्धमा आलोचना गरे किनभने तिनले एउटी कूशी महिलासित विवाह गरे। 2 तिनीहरूले भने, “के परमप्रभु मोशा मार्फत मात्र बोल्नु भयो र? के उहाँ हामी मार्फत बोल्नु भएन?”
परमप्रभुले यो कुरा सुन्नुभयो। 3 मोशा अति नै विनम्र मानिस थिए। पृथ्वीमा तिनी कुनै पनि मानिस भन्दा अधिक विनम्र मानिस थिए। 4 परमप्रभुले तुरून्तै मोशा, हारून र मरियमलाई बोलाउनु भयो, “तिमीहरू तीनजना भेट हुने पालमा आऊ।”
यसकारण ती तीन जना त्यहाँ गए। 5 तब परमप्रभु बादलको खम्बामा आउनु भयो र पालको प्रवेशद्वारमा उभिनु भयो। उहाँले बोलाउनु भयो, “हारून र मरियम!” तब यी दुइजना बाहिरा उहाँ भएको ठाउँमा आए। 6 परमप्रभुले भन्नुभयो, “मलाई सुन! जब तिमीहरू माझ अगमवक्ता छन् म, परमप्रभु आफै दर्शनमा उसलाई परिचय दिन सक्छु। म सपनामा त्योसित कुरा गर्न सक्छु। 7 तर मोशा त्यस्तो होइन। ऊ मेरो विश्वासी दास हो र मेरो सबै घरानामा उसलाई विश्वास गर्न सक्छु। 8 जब म उनीसित बात गर्छु, म आम्ने-साम्ने बात गर्न सक्छु। जेसुकै म सोच्छु उसले जान्नु पर्छ। मैले उसलाई अड्को प्रयोग नगरी भन्न सक्छु। अनि मोशाले परमप्रभुको रूप देख्न सक्छन्। यसकारण तिमीहरू किन मेरो दासको विरूद्धमा बोल्न डराएनौ?”
9 परमप्रभु तिनीहरूसित साह्रै क्रोधित हुनुभयो र तिनीहरूलाई त्याग्नु भयो। 10 बादल पालबाटमाथि उठ्यो। हारूनले मारियमतिर हेरे अनि देखे कि तिनको छाला हिऊँ झैं सेतो भएको थियो अनि त्यो तिनलाई भयंङ्कर चर्म रोग लाग्यो।
11 तब हारूनले मोशालाई भने, “महाशय विन्ती छ, हामीले मूर्खतापूर्वक गरेको पाप दया गरी माफ दिनुहोस्। 12 कृपा गरी गर्भमा कुहेको नानीको झैं उसले आफ्नो छाला गुमाउनु नदिनुहोस्।” (कहिले काही मृत जन्मेको बच्चाको आधा छाला सडेको हुन्छ।)
13 यसकारण मोशाले परमप्रभुलाई प्रार्थना गरे, “हे परमेश्वर कृपा गरी उसलाई रोग मुक्त गराइ दिनु होस्।”
14 परमप्रभुले मोशालाई उत्तर दिनुभयो, “यदि तिनको बाबुले तिनको मुखमा थुकिदिए भने, तिनी सात दिन सम्म लज्जित हुनुपर्छ। यसकारण तिनलाई सात दिन सम्म छाउनी बाहिर राख। त्यति समय पछि, तिनी स्वस्थ हुन्छिन। त्यसपछि तिनी छाउनीमा फर्की आउन सक्छिन्?”
15 यसर्थ तिनीहरूले मरियमलाई सात दिन सम्म छाउनी बाहिर राखे अनि तिनलाई छाउनीमा फर्काई नल्याए सम्म मानिसहरू त्यस ठाँउबाट कतै गएनन्। 16 त्यसपछि मानिसहरूले हसेरोतबाट छाउनी उठाई परान मरुभूमि सम्म यात्रा गरी त्यहीं छाउनी हाले।
कनान देशको अन्वेषण
13 परमप्रभुले मोशालाई भन्नुभयो, 2 “केही मानिसहरूलाई कनान देशको जासूस गर्नु पठाऊ। त्यही भूमि म इस्राएलका मानिसहरूलाई दिनेछु। बाह्र कुल समूहहरूको प्रत्येक कुलसमूहबाट एकजना नायक पठाऊ।”
3 यसकारण मोशाले परमप्रभुको आज्ञा पालन गरे। पारान मरुभूमिमा मानिसहरू छाउनी हालेर बसेको समय मोशाले यी नायकहरू पठाए। 4 ती नायकहरूको नाम यी नै हुन्;
रूबेनको कुलबाट जक्करको छोरो शम्मू,
5 शिमोनको कुलबाट होरीको छोरो साफात,
6 यहूदाको कुलबाट यपून्नेको छोरो कालेब,
7 इस्साकारको कुलबाट यूसुफको छोरो यिगाल,
8 एप्रैमको कुलबाट नूनको छोरो होशे (यहोशू),
9 बिन्यामीन कुलबाट रफूको छोरो पलती,
10 जबूलूनको कुलबाट सोदीको छोरो गद्दीएल,
11 मनश्शे कुलबाट सूसीको छोरो गद्दी,
12 दानको कुलबाट गमल्लीको छोरो अम्मीएल,
13 आशेरको कुलबाट माइकलको छोरो सतूर,
14 नप्तालीका कुलबाट वोफ्सीको छोरो नहबी,
15 गादको कुलबाट माकीको छोरो गूएल।
16 मोशाले भूमि हेर्न र अध्ययन गर्न पठाएको मानिसहरूको नाम यी नै हुन्। (मोशाले नूनको छोरो होशेलाई यहोशू भनी बोलाउँथे।)
17 यद्यपि तिनीहरूलाई कनान देश जासूस गर्न पठाउँदा मोशाले भन्यो, “तिमीहरू पहाडतिर जाऊ। 18 अनि हेर, भूमि हेर्दा कस्तो देखिन्छ। त्यहाँ बस्ने मानिसहरू बलिया छन् अथवा दुर्वल, अथवा कम्ती छन् अथवा ठूलो जनसँख्यामा तिनीहरू बस्ने जग्गा राम्रो छ अथवा खराब, हेर र बुझ। कस्तो शहरमा तिनीहरू बसेका छन्? 19 तिनीहरू राम्रो कि नराम्रो छन्? तिनीहरू कस्तो किसिमका शहर भित्र बस्छन्? शहरहरू अत्यन्तै सुरक्षित छन्। तिनीहरू खुल्ला गाउँहरूमा बस्छन् अथवा किल्लाहरूमा बस्छन् हेर? 20 अनि जमीन मलिलो छ वा रूखा छ, त्यहाँ रूखहरू छन् कि छैनन्? त्यस भूमिबाट केही फलहरू ल्याउनु जतिसक्दो कोशिस गर।” (त्यस समय दाखको प्रथम उलको कटनीको समय थियो।)
21 यसकारण तिनीहरू सीनको मरुभूमि देखि रहोबद्वारा लेबो हमात तिर चढे अनि त्यस भूमिको जाँज गरे। 22 तिनीहरू नेगेवबाट उँभो चढेर अहीमन, शैशै अनि तल्मै हुँदै हेब्रोन पुगे, जहाँ अनाकका सन्तति बस्ने गर्थे। हेब्रोन शहर मिश्रमा सोआना शहर बनिनु भन्दा सात बर्ष अघि बनिएको थियो। 23 त्यस पछि तिनीहरू एश्कोल बेंसीमा आए। तिनीहरूले त्यहाँ एक झुप्पा दाख काटी एउटा घोचोमा दुइजनाले बोकेर ल्याए। तिनीहरूले अनार र नेभारा पनि ल्याए। 24 इस्राएलका मानिसहरूले त्यस ठाँउबाट दाखको झुप्पा काटेको हुनाले त्यस ठाँउको नाम नै एश्कोल बेंसी रह्यो।
25 चालीस दिनको अन्तमा तिनीहरू त्यो भूमिको बारेमा खोजी गरी फर्के। 26 पारान मरुभूमिको कादेश भन्ने ठाँउमा जहाँ मोशा, हारून र सबै इस्राएली मानिसहरूलाई भेला भएर बसेका थिए अनि तिनीहरूको खबर तिनीहरूकहाँ ल्याए अनि तिनीहरूलाई त्यस भूमिको फल देखाए। 27 तिनीहरूले मोशालाई भने, “हामीलाई तपाईंले पठाउनु भएको भूमिमा गयौं। साँच्चै नै यो भूमि दूध र मह बगिरहेको भूमि रहेछ। अनि त्यस भूमिबाट हामीले ल्याएको फलहरू यी नै हुन्। 28 जो मानिसहरू त्यस भूमिमा बसेकाछन् तिनीहरू बलिया छन् अनि शहरहरू अत्यन्तै विशाल र पर्खालले घेरिएका छन्। त्यहाँ हामीले अनाकको सन्तानहरू अनाकीहरूलाई पनि देख्यौं। 29 नेगेव भूमिमा अमालेकीहरूले बसो-बास गरेको पायौं भने पहाडी क्षेत्रमा हित्ती, यबूसी अनि एमोरीहरू, अनि समुद्रको किनार र यर्दन नदीको किनारमा कनानीहरू बसो-बास गर्दा रहेछन्।”
30 त्यसपछि कालेबले मोशाकै नजीक मानिसहरूलाई शान्त गराएर भने, “हामी त्यहाँ तुरून्त जानु पर्छ र यसलाई लिनु पर्छ। किनभने निश्चय नै त्यसमाथि हामीले विजय हासील गर्नेछौं।”
31 तर मानिसहरू जो ऊसित गएका थिए भने, “तिनीहरू माथि आक्रमण गर्नु हामी सक्षम हुनेछैनौं किनभने तिनीहरू हामी भन्दा बलिया छन्।” 32 यसकारण तिनीहरूले त्यस भूमिको विषयमा खोजी गरेर नैराश्यपूर्ण वृतान्त इस्राएली मानिसहरूको निम्ति ल्याएका थिए। तिनीहरूले भने, “त्यस भूमिमा धेरै बलिया-बलिया मानिसहरू रहेछन् र त्यस भूमिमा जाने कुनै पनि मानिसहरूलाई तिनीहरूले सजिलै जित्न सक्छन्। 33 हामीले त्यहाँ नपीलीहरू अनाकका सन्तान देख्यौं र तिनीहरूको अगाडी हामीहरू त मसिनो फट्यांग्राहरू झैं देखिन्थ्यौं। साँच्चै तिनीहरूको सामुन्ने हामी फट्यांग्राहरू झैं लाग्थ्यौं।”
प्रभु-भोज
(मत्ती 26:26-30; लूका 22:15-20; 1 कोरिन्थी 11:23-25)
22 जब उनीहरू खाँदै थिए, येशूले केही रोटी लिनुभयो अनि त्यसको निम्ति परमेश्वरलाई धन्वाद दिनुभयो। तब उहाँले त्यसलाई टुक्रा-टुक्रा पार्नुभयो, अनि आफ्ना चेला हरूलाई दिनुभयो। उहाँले भन्नुभयो, “यो लेऊ यो मेरो शरीर हो।”
23 त्यसपछि येशूले कचौरा लिनुभयो अनि यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो। तब उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो। तिनीहरूले कचौराबाट पिए। 24 त्यसपछि येशूले भन्नुभयो, “यो नयाँ करारको मेरो रगत हो। यो रगत धेरै मानिसहरूका निम्ति पोख्याएको हो। 25 म तिमीहरूलाई साँच्चो भन्दछु। म यो दाखको रस फेरि त्यसबेलासम्म पिउँदिन जुनबेला सम्म म परमेश्वरको राज्यमा यसलाई नयाँ पिएको हुँदिनँ।”
26 तब तिनीहरूले भजन गाए अनि उहाँहरू निस्केर जैतून डाँडातिर जानुभयो।
येशूका सबै चेलाहरूले उहाँलाई छोडे
(मत्ती 26:31-35; लूका 22:31-34; यूहन्ना 13:36-38)
27 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू सबैले आफ्ना विश्वास हराउनेछौ। यो कुरा धर्मशास्त्रहरूमा लेखिएको छ,
‘म गोठालोलाई मार्नेछु,
अनि भेंड़ाहरू तितरबितर हुनेछन्।’(A)
28 तर म मरेपछि, फेरि मृत्युबाट बौरीनेछु। त्यसपछि म गालील जानेछु। तिमीहरू त्यहाँ पुग्न अघि नै म त्यहाँ पुगेको हुनेछु।”
29 पत्रुसले भने, “यदि सबैले आफ्नो विश्वास हराए पनि म कहिल्यै मेरो विश्वास हराउने छैन।”
30 येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्चो भन्दछु। आजकोरात दोस्रोपल्ट भाले बास्नुअगि तिमीले मलाई तीनपल्ट ईन्कार गर्ने छौ।”
31 तर पत्रुसले जोर दिएर भने, “यदी म तपाईंसँगै मर्नु परेता पनि म कहिल्यै तपाईंलाई इन्कार्ने छुईंन!” त्यसरी नै अरू चेलाहरूले पनि त्यही कुरा भने।
येशूद्वारा एकान्तमा प्रार्थना
(मत्ती 26:36-46; लूका 22:39-46)
32 येशू अनि उहाँका चेलाहरू गेतसमनी नाऊँ भएको एउटा ठाउँमा जानुभयो, र उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “मैले प्रार्थना गरून्जेल यहाँ बस।” 33 येशूले पत्रुस, याकूब र यूहन्नालाई आफूसँग लैजानभयो। त्यसपछि उहाँ अत्यन्त दुःखी र खिन्न हुनुभयो। 34 उहाँले पत्रुस, याकूब र यूहन्नालाई भन्नुभयो, “मेरो आत्मा दुःखै-दुःखले भरिन लागेको छ। मलाई यहीं पर्ख अनि सर्तक बस।”
35 अनि येशू तिनीहरू भएदेखि केही परसम्म जानुभयो र त्यसपछि भूइँमा लड्नु भयो अनि प्रार्थना गर्नुभयो कि यदि सम्भव भएमा यही बेला उहाँको कष्टका घडी उहाँबाट बितेर जाओस्। 36 उहाँले प्रार्थना गर्नुभयो, “अब्बा, पिता सबै कुराहरू तपाईंमा सम्भव छ। कृपया मबाट यो कचौरा हटाईदिनुहोस्। तर मेरो इच्छा बमोजिम होइन, तर तपाई जे जस्तो चाहनुहुन्छ त्यही गर्नुहोस्।”
37 तब येशू आफ्ना चेलाहरू भएको ठाउँमा फर्की आउनुभयो। उहाँले तिनीहरूलाई सुतिरहेको पाउनु भयो। उहाँले पत्रुसलाई भन्नुभयो, “सिमोन, तिमी सुतिरहेका छौ? के मेरो निम्ति एकघण्टासम्म पनि जागा रहन सक्तैनौ 38 जागा रहो, अनि प्रार्थना गर, जसमा कि तिमी प्रलोभनमा पर्ने छैनौ। आत्मा राजी छ तर शरीर कमजोर छ।”
39 फेरि येशू केही परसम्म जानुभयो अनि त्यही प्रार्थना गर्नूभयो। 40 फेरि उहाँ आफ्ना चेलाहरू भएको ठाउँमा फर्कनु भयो। उहाँले तिनी हरूलाई सुतिरहेकै पाउनुभयो। तिनीहरूका आँखाहरू थकित देखिन्थे। तिनीहरूले जान्दैन थिए कि येशूलाई के भन्नु पर्ने हो।
41 येशूले तेस्रो पटक प्रार्थना गरिसकेपछि, उहाँ आफ्ना चेलाहरू भएको ठाउँमा आउनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै सुतिरहेको अनि विश्राम गरिरहेका छौ अति भयो! मानिसको पुत्रलाई पापी मानिसहरूको हातमा सुम्पिने समय आइपुग्यो। 42 उठ! हामी जानैपर्छ। यहाँ त्यो एकजना आउँदैछ जसले मलाई विश्वासघात गर्नेछ।”
येशू पक्राउ पर्नुभयो
(मत्ती 26:47-56; लूका 22:47-53; यूहन्ना 18:3-12)
43 जब येशू बोलिरहेको हुनुहुन्थ्यो, यहूदा त्यहाँ आइपुगे। यहूदा बाह्रजना चेलाहरू मध्ये एकजना थियो। यहूदासँग थुप्रै मानिसहरू थिए। ती मानिसहरूलाई मुख्य पूजाहारीहरू, शास्त्रीहरू र यहूदी अग्रजहरूले पठाएका थिए। ती मानिसहरूका साथमा तरवार र घोंचाहरू थिए।
44 यहूदाले उनीहरूलाई यो संकेत दिएका थिए। “म जुन मानिसलाई म्वाईं खान्छु उही नै येशू हुन्। उनैलाई पक्रनु र उसलाई लानु अनि रक्षा गर्नु।” 45 यहूदा आउन साथ येशू कहाँ गयो अनि भन्यो, “गुरूज्यू!” त्यसपछि उसले उहाँलाई म्वाईं खाए। 46 तब मानिसहरूले झम्टेर येशूलाई पक्रे। 47 कुनै एकजना उभिरहेको चेलाले आफ्नो तरवार निकाल्यो अनि त्यसले प्रधान पूजाहारीको एउटा नोकरलाई हान्यो र उसको कान काटिदियो।
48 तब येशूले मानिसहरूलाई भन्नुभयो, “तिमीहरू तरवार र घोचाँहरू लिएर म कहाँ, एक अपराधी झैं मानेर आएको छौ? 49 प्रत्येकदिन म मन्दिर इलाकामा तिमीहरूसित सिकाइरहेको थिएँ। त्यहाँ तिमीहरूले मलाई पक्रेनौ। तर धर्मशास्त्रमा लेखिएका कुराहरू पूरा हुनै पर्छ।” 50 त्यसपछि सबै चेलाहरूले उहाँलाई छोडेर भागे।
51 एउटा जवान मानिसले येशूलाई पछ्याइरहेको थियो। उसले खालि एउटा मलमलको वस्त्र मात्र लगाएको थियो। तिनीहरूले उसलाई पनि पक्रने कोशिश गरे। 52 तर त्यसले त्यो मलमलको बस्त्र छाड्यो अनि बस्त्र विहीन् भएर भाग्यो।
प्रमुख संगीतकारलाई: दाऊदको “मस्किल” भन्ने भजन। जब एदोमी दोयेग शाऊल कहाँ गए र उनलाई भने, “दाऊद अहिमेलेको घरमा छ”।
1 हे वीर मानिस, किन तिमी आफ्नो अधर्म कामहरूमा घमण्ड गर्दछौं?
तिमी परमेश्वरको नजरमा अपमानित मानिस हौ।
2 तिमीले सधैँ मूर्ख योजनाहरू तयार पाछौं अनि तिम्रो जिब्रो धारिलो छुरा जस्तो डर लाग्दो छ।
तिमीले सधैँ झूटो बोल्छौ अनि मानिसहरूलाई ठग्छौ।
3 तिमीले असलभन्दा दुष्ट्याँई नै मन पराउँछौ।
तिमी सत्य बोल्नु भन्दा झूटो बोल्नु नै मन पराउँछौ।
4 तिमी र तिम्रो झूटो बोल्ने जिब्रोले मानिसहरूलाई कष्ट दिन मन पराँउछन्।
5 यसैले परमेश्वरले तिमीहरूलाई सदा-सर्वदाको निम्ति नाश गर्नुहुनेछ।
उहाँले तिमीहरूलाई पक्रनु हुनेछ अनि तिम्रो घरबाट[a] धकेल्दै तान्नु हुनेछ,
जसरी मानिसहरूले उद्भिद्लाई जमीनबाट जरैसँग तानेर निकाल्दछ।
6 धर्मात्माहरूले यो देख्नेछन् र परमेश्वरको डर मान्ने छन्।
परमेश्वरको आदर गर्नेछन्।
तिनीहरू तिमीमाथि हाँस्ने छन् र भन्नेछन्।
7 “हेर, परमेश्वरमाथि जो भर पर्दैन त्यस मानिसको गति कस्तो हुन्छ।
उसले सोच्यो कि सम्पत्ति र झूटो कुराहरूले उसलाई रक्षा गर्नेछ।”
8 तर म परमेश्वरको मन्दिरमा उम्रिने हरियो धुपीको रूख जस्तै हुँ।
म सदा-सर्वदा परमेश्वरको स्नेहपूर्ण करूणामा भरोसा गर्नेछु।
9 हे परमेश्वर, जुन कामहरू तपाईंले गर्नुभयो म ती कुराहरूको सदासर्वदा स्तुति गर्नेछु।
म भक्तजनहरूका समक्ष तपाईंको नाउँ लिनेछु किनभने यो अति राम्रो छ!
11 केही ठग मानिसहरू त्रुटिपूर्ण तराजुहरू प्रयोग गर्छन्। परमप्रभुले त्यस्तो व्यवहार गर्नेहरूलाई घृणा गर्नु हुन्छ तर सही ओजन गर्नेहरूलाई उहाँले मन पराउनु हुन्छ।
2 अपमान घमण्डसँग आँउछ, तर ज्ञान नम्रतासँगै आउँछ।
3 ईमानदार मानिसहरूलाई आफ्नो ईमान्दारीले पथ-प्रदर्शन गराउँछ, तर विश्वासघातीहरूलाई तिनीहरूको दुष्टताले नै सर्वनाश गराउँछ।
© 2004, 2010 Bible League International