The Daily Audio Bible
Today's audio is from the CEV. Switch to the CEV to read along with the audio.
पवित्र पाल
26 “दशवटा पर्दाले पवित्र पाल बनाउनु पर्छ। यी पर्दाहरू सुती-कपडा, निलो, बैजनी अनि रातो रेशमको लुगाले बनिएको हुनुपर्छ अनि करूब स्वर्गदूतहरूको आकृति पर्दाहरूमा बनाउनु पर्छ। 2 हरेक पर्दा अठाईस हात लामो हुन पर्छ। चार हात चौंडाइको हुनुपर्छ अनि सबै पर्दाको नाप बराबरी हुनुपर्छ। 3 पाँचवटा पर्दाहरूको एउटा समूह अनि अर्को पाँचवटा पर्दाहरूको अर्को एउटा समूह बनाऊ। 4 पहिला समूह पर्दाको किनारमा निलो लुगाको एउटा सुर्काउनी बनाऊ। दोस्रो समूह पर्दाको किनारमा पनि तिमीले त्यसै गर। 5 हरेक पर्दाको हरेक किनारमा पचासवटा सुर्काउनीहरू बनाऊ। 6 त्यसपछि ती पर्दाहरूसँगै जोड्नका लागि पचासवटा सुनको मुन्द्रीहरू बनाऊ। दुइवटा समूहको पर्दालाईसँगै जोडेर एउटा पवित्र पाल बनाऊ।
7 “तब अर्को पाल पवित्र मण्डप ढाक्नका निम्ति बनाऊ। त्यो पाल बाख्राका भुत्लाले बुनेर बनाऊ। पाल एघारवटा पर्दाहरू गाँसेर बनाऊ। 8 यी प्रत्येक पर्दाहरू टुक्राका नाप तीस हात लम्बाई र चार हात चौंडाइ गरी सबै बराबर हुनुपर्छ। 9 पहिले पाँचवटा टुक्रा जोडेर एक भाग अनि अरू छःवटा टुक्राहरू जोडेर अर्को भाग तयार पार। छः वटा पर्दालाई पालभित्र प्रवेश द्वारमाथि पट्टाएर राख। 10 एक भागको आखिरी किनारमा पचासवटा सुर्काउनी बनाऊ र अर्को भागमा पनि त्यसरी नै पचासवटा सुर्काउनी बनाऊ। यी सुर्काउनीहरूले भाग भाग पर्दाहरूलाई एउटै पाल बनाउँछन्। 11 काँसाका पचासवटा मुन्द्रीहरू बनाऊ अनि दुइ समूह पर्दाहरू एउटा एकलो पाललाई जोडनको निम्ति प्रयोग गर। 12 यो पाल पहिले बनाइएको पवित्र पाल भन्दा बढी लामो हुन्छ। यसरी यस पालको पर्दाको आधा भागको किनारा पवित्र पालको पछाडी झुण्डिनेछ। 13 यो पालको पर्दा पवित्र पालको वरिपरि अन्तिम किनारमा पनि एक हात झुण्डिएर रहनेछ। यसकारण यस पालले पवित्र पाललाई पूर्ण रूपले ढाक्नेछ। 14 बाहिरबाट ढाक्नलाई अरू दुइवटा पर्दा बनाऊ। दुइवटा पर्दामा एउटा चाँहि भेंडाको छालालाई रातो रंग लगाएर बनाऊ र अर्को चाँहि नरम छालाको बनाऊ।
15 “पवित्र पाल स्थापना गर्नको निम्ति लामो बबुलको काठको फल्याकहरू प्रयोग गर। 16 अवश्यै फल्याकहरू दश हात लामा अनि एक हात आधा चौंडा हुनै पर्छ। 17 एका अर्कोलाई समान्तर गर्नको निम्ति प्रत्येक र जोडी फल्याकहरूलाई एकै साथ जोडनको निम्ति चुकुलहरू प्रयोग गर। 18 पवित्र पालको दक्षिण पट्टि जोड्न बीसवटा फल्याकहरू बनाऊ, 19 अनि यी फल्याकलाई सीधा गर्नको निम्ति चालीसवटा चाँदीका आधारहरू बनाऊ। प्रत्येक फल्याकको एउटा आधारमा लगाऊ, दुइवटा आधारहरू एउटा फल्याकमा लगाऊ। 20 पवित्र पालको उत्तरी भागमा अझ बीसवटा फल्याकहरू बनाऊ। 21 अनि यस फल्याकहरूलाई सिधा बनाउन चालीसवटा चाँदीको आधारहरू प्रत्येक फल्याकको निम्ति दुइ-दुइवटा बनाऊ। 22 अझ छवटा फल्याकहरू बनाऊ। 23 पवित्र पालको पछिल्लो भागको कुनामा दुइवटा फल्याकहरू बनाऊ। 24 कुनाको फल्याकहरू फेदसम्म फैलिएको हुनुपर्छ। टुप्पाको मुन्द्रीहरूमा फल्याकहरूसँगै जोडिएको हुनुपर्छ अनि त्यस्तै प्रकारले फेदको कुनाहरूको निम्ति गर्नु पर्छ। 25 त्यहाँ पश्चिमी किनारका निम्ति आठवटा फल्याकहरू हुनुपर्छ अनि प्रत्येकलाई दुइवटा गरी जम्मा सोह्रवटा चाँदीका आधारहरूको आवश्यकता पर्नेछन्।
26 “पवित्र पालमाथि पट्टिको पाँचवटा फल्याकको किनार बनाउनमा बबुल काठ प्रयोग गर। 27 पवित्र पालको अर्को किनारको फल्याकमाथि पाँचवटा डण्डाहरू बनाउनु पर्छ। अनि पवित्र पालको पश्चिमी किनार फल्याकमाथि पाँचवटा डण्डाहरू बनाउनु पर्छ। 28 माझको डण्डा हरेक फल्याकको मध्य भागबाट एक छेऊ देखि अर्को छेऊसम्म पुगेको हुनुपर्छ।
29 “फल्याकहरू र डण्डाहरू सुनले मोहोरी देऊ अनि सुनको मुन्द्रीहरू बनाऊ। 30 मैले तिमीलाई पर्वतमा देखाए बमोजिम नै पवित्र पाल बनाऊ।
पवित्र पालको भित्री भाग
31 “निलो, बैजनी र राता धागाले बटारेको सुती कपडाका पर्दाहरू बनाऊ। यसलाई करूब र्स्वगदूतका नक्साहरूले सुसज्जित पार। 32 बबुल काठको चारवटा खम्बाहरू बनाऊ अनि ती खम्बाहरूलाई सुनले मोहोर। प्रत्येक खम्बाको निम्ति सुनको अंकुशेहरू बनाऊ अनि सीधा पार्नका निम्ति चाँदीको आधारहरू बनाऊ। त्यसपछि ती सुनका अंकुसेमा पर्दा झुण्डाई देऊ। 33 करारको सन्दूकलाई पर्दाको पछाडी राख। यस पर्दाले पवित्र स्थानलाई महापवित्र स्थानबाट छुट्टाउँछ। 34 महापवित्र स्थानभित्र करारको सन्दूकमाथि ढकनी लगाऊ।
35 “पर्दाको बाहिर पट्टि तिमीले बनाएको विशेष टेबल राख। यो टेबल पवित्र पालको उत्तरपट्टि हुनुपर्छ। पवित्र पालको दक्षिणपट्टि सामदान यो टेबिलको सोझोमा हुनेगरि राखी देऊ।
पवित्र पालको ढोका
36 “निलो, बैजनी र रातो सुतीको धागो बाटेर एउटा पर्दा बनाएर पवित्र पालको प्रवेशद्वार पर्दा बनाऊ। 37 यस पर्दामा सुनले बनिएको अंकुसेहरू लगाऊ। अनि बबुलको काठको पाँचवटा खम्बाहरू सुनले बेरेर बनाऊ। यी पाँचवटा खम्बाको निम्ति काँसाका आधारहरू बनाऊ।
होमबलिहरूको निम्ति वेदी
27 “बबुल काठको एउटा वेदी बनाऊ। त्यो वेदी पाँच हात लामो तथा पाँच हात चौंडा र तीन हात उचाइ वर्ग आकारमा बनिनु पर्छ। 2 त्यस वेदीको चारैवटा कुनामा एक एकवटा सींग बनाऊ र प्रत्येक सींगलाई यस्तो प्रकारले जोड कि सबै एउटै टुक्राले बनिएको देखियोस्। तब वेदीलाई काँसाले मोहोरी देऊ।
3 “वेदी सफा गर्न चाहिने सामग्रीहरू करूवा, मासु उठाउने काँटाहरू, तावाहरू कोप्रे भाँडाहरू यी सबै काँसाको बनाउनु पर्छ। 4 वेदीको निम्ति एउटा काँसाको जाली जस्तै कोरेसो बनाऊ। त्यस कोरेसोको चारै कुनामा काँसाको चारवटा कुण्डलहरू लगाई देऊ। 5 त्यो कोरेसो चाँहि वेदीको तहको मुनि टँसिएको हुनुपर्छ। अनि वेदीको तल आधा भागसम्म फैलिएको हुनुपर्छ।
6 “वेदीको निम्ति डण्डाहरू बबुल काठको बनाऊ र त्यसलाई काँसाले मोहोर। 7 वेदीमा भएका कुण्डलहरूमा दुइतिरबाट यी डण्डाहरू पसाउँनु र वेदी बोक्नु पर्दामा यी डण्डाहरू प्रयोग गर्नु पर्छ। 8 वेदी बनाउँदा एउटा खाली सन्दूक जस्तो फल्याकबाट बनाउनु पर्छ। त्यो मैले तिमीलाई पर्वतमा देखाए जस्तै हुनुपर्छ।
पवित्र पाल वरिपरिको आँगन
9 “पवित्र पालको आँगन हुनपर्छ। एक सय हात लामो एउटा पर्दा लगाएर आँगन बनाऊ यो दक्षिण भागमा हुनुपर्छ। त्यो पर्दा राम्रोसँग बुनेको सुतीको लुगाले बनाउनु पर्छ। 10 र बीसवटा खम्बाहरू बनाऊ अनि ती बीसवटा खम्बाहरूको लागि बीसवटा काँसले बनिएका आधारहरू प्रयोग गर। डण्डाहरूको निम्ति अंकुसे र बन्धनहरू चाँदीको बनाउनु पर्छ। 11 उत्तर तिर पनि एक सय हात लामो पर्दा अनि त्यो पर्दाको निम्ति पनि बीसवटा खम्बाहरूसँग बीसवटा काँसाको आधारहरू हुनुपर्छ। तिनीहरूको निम्ति अंकुशे र बन्धन चाँदीको बनाउनु पर्छ।
12 “पवित्र पालको पश्चिम तिरको आँगनमा पचास हात लामो पर्दा होस्। त्यस पर्दाको निम्ति दशवटा डण्डाहरू र दशैवटा आधारहरू लगाऊ। 13 पवित्र पालको पूर्वपट्टि आँगनमा पनि पचास हात लामो पर्दा लगाऊ। 14 एकापट्टि पन्ध्र हात लामो पर्दा हुनुपर्छ अनि त्यसमा तीनवटा खम्बा र तीनैवटा आधारहरू हुनुपर्छ। 15 यसको अर्कोपट्टि पनि पन्ध्र हात लामो पर्दा, तीनवटा डण्डा र तीनैवटा आधारहरू हुनुपर्छ।
16 “आँगनको प्रवेशद्वार ढाक्नको निम्ति बीस हात लामो निलो, बैजनी र रातो धागोले मसिनो बुनेको सुती कपडाको पर्दा लगाऊ। पर्दामा बेलबुट्टा काढेर नक्सा बनाउनु पर्छ। त्यस पर्दाको निम्ति चारवटा डण्डाहरू र चारवटा आधारहरू लगाउनु पर्छ। 17 आँगनका चारैतिरका पर्दाहरूको अंकुसे र त्यसलाई अड्याउने सबै खम्बाका आधार पीतलले मोहरेको हुनुपर्छ। 18 आँगन एक सय हात लामो अनि पचास हात चौंडा हुनुपर्छ। आँगन वरिपरिको पर्दाको उचाइ चाँहि पाँच हात हुनुपर्छ। पर्दा मसिनो सुती कपडाको हुनुपर्छ। डण्डा तथा खम्बाको निम्ति लगाइने आधार काँसाको हुनुपर्छ। 19 पवित्र पालमा प्रयोग गरिने सबै आँगन वरिपरिका वस्तुहरू अनि पालका चुकुलहरू अनि आँगन काँसाको हुनुपर्छ।
दियोको निम्ति तेल
20 “भद्राक्षको शुद्ध तेल ल्याई निरन्तर दियाहरू बाल्न इस्राएलीहरूलाई आदेश देऊ। 21 हारून र उसका छोराहरूले दियोहरूको ध्यान राख्नेछन्। तिनीहरू भेट हुने पालको प्रथम कक्षामा जानेछन् अनि यो कक्षा पर्दाको पछाडी बाहिर जसले दुइटा कोठाहरूलाई छुट्याउँछ। तिनीहरूले परमप्रभुको सम्मुख दियोहरू निरन्तर बाली राख्नकालागि प्रत्येक साँझ विहान हेरचाह गर्नेछन्। इस्राएली मानिसहरू तथा तिनीहरूका सन्तानहरूले यो नियमका सदा-सर्वदा पालन गर्नु पर्छ।”
दशवटी कन्याहरूको उखान
25 “त्यसबेला स्वर्गको राज्य दशजना कन्याहरू जस्तै हुनेछ, जो आ-आफ्ना दियो लिएर दुलहा पर्खन गए। 2 पाँचवटी कन्याहरू मूर्ख थिए। अनि पाँचवटी कन्याहरू बुद्धिमती थिए। 3 ती पाँचवटी मूर्ख कन्याहरूले आफ्ना दीयो लिए तर आफूसित जोगेडा तेल लगेनन्। 4 तर पाँचवटी बुद्धिमती कन्याहरूले आफ्ना-आफ्ना दीयोहरू लिए अनि तिनीहरूले जगमा जगेड़ा तेल पनि बोकेका थिए। 5 तर दुलहा आउन एकदमै ढीलो भयो। सबै कन्याहरू थकित भए र निदाउन थाले।
6 “मध्यरातमा कोही करायो, ‘दुलहा आउँदैछन्। उनलाई भेट्न बाहिर आऊ।’
7 “तब सबै कन्याहरू ब्युँझिए। तिनीहरूले आ-आफ्ना दीयोहरू तयार पारे। 8 तब बुद्धिहीन कन्याहरूले बुद्धिमती कन्याहरूलाई भने, ‘हामीलाई तिमीहरूको केही तेल देऊ किनभने हाम्रोमा भएको तेल सकियो अनि हाम्रा दीयोहरू निभ्दैछन्।’
9 “बुद्धिमती कन्याहरूले जवाफ दिए, ‘होइन! किनभने हाम्रोमा भएको तेल तिमीहरू सबैका लागी पर्याप्त हुँदैन। बरू, तिमीहरू आफैं पसलमा गएर आफ्नो लागि तेल किन, त्यो असल हुन्छ।’
10 “त्यसपछि ती पाँचजना बुद्धिहीन कन्याहरू तेल किन्न गए। जब तिनीहरू जाँदै थिए, त्यसैबेला दुलहा आइपुगे अनि तयार रहेका सबै कन्याहरू दुलहासंग विवाहको भोजमा सामेल भए। त्यसपछि ढोका थुनियो अनि ताला लगाइयो।
11 “केही समयपछि अरू कन्याहरू आए। तिनीहरूले भने, ‘स्वामी, हामीलाई ढोका खोलिदिनु होस् हामीलाई पनि भित्र पस्न दिनुहोस्।’
12 “दुलहाले जवाफ दिए, ‘तिमीहरूलाई साँच्चो भन्दछु। म तिमीहरूलाई चिन्दिनँ।’
13 “यसकारण सधैँ सर्तक बस। तिमीहरू जान्दैनौ कि मानिसको पुत्र कुन दिन वा कुन समयमा आउने हुन्।
तीनजना नोकरको कथा
(लूका 19:11-27)
14 “स्वर्गको राज्य त्यो मानिस जस्तै हुन्छ जो आफ्नो घर देखि अर्को स्थान तर्फ यात्रा गर्छ। घरबाट निस्कनु भन्दाअघि उसले आफ्नो नोकरहरू बोलाउँछन् र आफ्ना चीजहरूको जिम्मा तिनीहरूलाई दिन्छन्। 15 कुन चाहिं नोकरले के कति गर्न सक्छ भनी उसले विचार गर्यो। उसले एकजना नोकरलाई पाँच तोड़ा दियो। अर्कोलाई दुइ तोड़ा दियो। अनि तेस्रोलाई एक तोड़ा दियो। त्यसपछि उसले आफ्नो यात्रा शुरू गर्यो। 16 नोकर जसलाई पाँच तोडा दिइएको थियो त्यो तुरन्त व्यापार गर्न त्यो स्थान छोडेर हिँड्यो। उसले अरू पाँच तोड़ा बढाउने काम गर्यो। 17 दुइ तोड़ा पाउनेले पनि त्यसै गर्यो। उसले पनि आफ्नो सबै रूपियाँ व्यापारमा लगायो अनि दुइ तोड़ा कमायो। 18 तर एक तोड़ा मात्र पैसा पाउने नोकर गयो र भूईमा खाल्डो खन्यो। त्यसले त्यो पैसा खाल्डामा पुर्यो।
19 “धेरै समयपछि मालिक घर फर्कियो। उसले नोकरहरूलाई ती रूपियाँहरू तिमीहरूले के-के गर्यौ भनेर सोध्यो। 20 पाँच तोडा पाउने नोकर पैसा लिएर मालिककहाँ आयो। त्यसले भन्यो, ‘महाशय, तपाईंले मलाई पाँच तोडा विश्वास गरेर जिम्म दिनुभएको थियो। यसकारण अरू पाँच तोडा कमाउनलाई मैले ती रूपियाँ काममा लगाएँ।’
21 “मालिकले जवाफ दिए, ‘तिमीले राम्रो गर्यौ। तिमी असल नोकर हौ जसलाई विश्वास गर्न सकिन्छ। त्यति धेरै पैसा लिएर तिमीले धेरै उन्नति गर्यौ। यसकारण म तिमीलाई अरू धेरै जिम्मावारी दिन सक्छु। आऊ र मसित खुशी मनाऊ।’
22 “त्यसपछि दुइ तोडा पाउने नोकर मालिक कहाँ गयो। त्यसले भन्यो, ‘महाशय तपाईंले मलाई दुइ तोडा जिम्मा दिनुभएको थियो। यसकारण मैले त्यो पैसा उपयाग गरें र अरू दुइ तोडा कमाएँ।’
23 “मालिकले जवाफ दिए, ‘तिमीले राम्रो गर्यौ। तिमी असल नोकर हौ जसलाई विश्वास गर्न सकिन्छ। त्यति थोरै पैसा लिएर तिमीले धेरै उन्नति गर्यौ। यसकारण म तिमीलाई अरू धेरै जिम्मावारी दिनेछु। आऊ र म सित खुशी मनाऊ।’
24 “त्यसपछि एक तोड़ा पाउने नोकर मालिककहाँ आयो। त्यसले भन्यो, महाशय ‘मैले तपाईंलाई धेरै कठोर मानिसको रूपमा जान्न पाएँ। बिऊ नै नरोपी तपाईंले अन्न बटुल्न चाहनु भयो। 25 यसकारण म धेरै भयभित भएँ। मैले तपाईंको पैसा जमीनमा लुकाएँ तपाईंले दिनुभएको त्यो थौलो यही हो।’
26 “मालिकले जवाफ दिए, ‘तँ दुष्ट र अल्छे नोकर होस्। बिरूवा नरोपेको ठाउँमा बाली उठाउन आउने र बीरूवा नछरेको ठाउँमा अन्न बटुल्ने भनेर तैंले मलाई भनिस्। त्यसो भए। 27 तैले मेरो पैसा बैंकमा जम्मा गर्नु पर्दथ्यो। म जब फर्केर आएको हुन्थें त्यसबेला ती सबै पैसा पाउन सक्थें। साथै त्यो पैसा माथि ब्याज पाउँन सक्थें।’
28 “यसकारण मालिकले अरू नोकरहरूलाई भन्यो, ‘त्यो नोकरबाट पैसाको थैला खोस र जोसित दश तोडा छ उसैलाई देऊ। 29 जो सित जति धेरैछ उसले अरू धेरै पाउनेछ। तर जोसित केही छैन, उसित भएको पनि उबाट खोसिनेछ।’ 30 त्यसपछि मालिकले भन्यो, ‘यो बेकामे नोकरलाई बाहिर अँध्यारोमा निकलि देऊ। जहाँ मानिसहरू दुःख र कष्टमा दाह्रा किट्दै रूवाबासी गरिरहेका छन्।’
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
1 हे परमप्रभु, म तपाईंमाथि आश्रित हुन्छु
मलाई निराश नपार्नुहोस्।
मप्रति कृपालु हुनुहोस् र मेरो रक्षा गर्नुहोस्।
2 हे परमेश्वर, मप्रति ध्यान दिनुहोस्।
चाँडै आउँनु होस् अनि मलाई बचाउनु होस्।
मेरो चट्टान हुनुहोस्।
मेरो सुरक्षाको ठाउँ भइदिनु होस्।
मेरो किल्ला बनिनुहोस् मेरो रक्षा गर्नुहोस्।
3 हे परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ अनि तपाईं मेरो किल्ला हुनुहुन्छ।
यसर्थ, तपाईंको सुरक्षाको निम्ति मेरो अगुवाइ गर्नुहोस् र मलाई निर्देशन गर्नुहोस्।
4 मेरा शत्रुहरूले मेरै समक्ष पासो थापे।
मलाई तिनीहरूको पासोबाट बचाउँनु होस्।
तपाईं मेरो सुरक्षाको स्थान हुनुहुन्छ।
5 हे परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्छ, जसमाथि हामी भरोसा गर्न सक्छौं।
मैले आफ्नो जीवन तपाईंको हातमा राखिदिएँ,
मलाई बचाउनु होस्!
6 म ती झूटा देवताहरू मान्नेहरूलाई घृणा गर्छु।
म परमप्रभुमा मात्र भरोसा गर्छु।
7 हे परमेश्वर, तपाईंको विश्वासपूर्ण प्रेमको आनन्दमा म खुशी हुनेछु अनि नाँच्नेछु।
तपाईंले मेरो पीरहरू देख्नु भएको छ।
मलाई भएका दुःख कष्टहरू तपाईं जान्नुहुन्छ।
8 तपाईंले मेरा शत्रुहरूलाई मलाई लिएर जानु दिनु भएन।
तपाईंले तिनीहरूको पासोबाट मलाई बचाउँनु भयो।
ज्ञान नै असल स्त्री हुन्
8 के ज्ञानले तिमीलाई बोलाउँदैन र?
के समझशक्तिले तिमीलाई ठूलो स्वरमा बोलाएको छैन र?
2 ऊ अग्लो ठाउँहरू माथि उभिन्छे,
जहाँबाट दोबाटो देखिन्छन्।
3 ऊ शहरको प्रवेशद्वार नजिक छे,
उनले खुल्ला ढोकाहरूबाट बोलाइरहेकी छे।
4 ज्ञानले भन्छे, “हे मानिस हो, म तिमीहरूलाई आह्वान गर्दछु,
म सबै मानिसहरूलाई बोलाउँदैछु।
5 तिमीहरू जो अनुभवी छैनौ भने ज्ञानी हुन सिक।
हे मूर्खहरू हो, बुझ्न सिक।
6 तिमीहरू सुन, म जुन कुराहरू सिकाउँछु, तिनीहरू महत्वपूर्ण छन्।
जुन कुराहरू सही हुन, तिनीहरू नै भन्छु।
7 मेरा वचनहरू सत्य हुन।
किनभने मेरा ओंठहरूले मिथ्यालाई घृणा गर्छन्।
8 मेरो मुखबाट निस्केका सबै वचनहरू सही तथा न्यायपूर्ण हुन्छन्
अनि कुनै पनि भ्रमित तथा झूटो हुँदैनन्।
9 यी सब भनाईहरू समझ हुने मानिसहरूको लागि स्पष्ट छन्
अनि ज्ञानी मानिसहरूको निम्ति तिनीहरू सरल छन्।
10 मैले दिएका उपदेशहरू स्वीकार गर, कारण तिनीहरू चाँदी भन्दा असल छन्,
अनि बहुमूल्य सुन लिनु भन्दा ज्ञान र बुद्धि लिनु नै उत्तम हो।
11 ज्ञान मोतीहरू भन्दा अझ उत्तम हो।
ज्ञान मानिसले चाहने ती सवै चिजहरू भन्दा असल हो।”
© 2004, 2010 Bible League International