The Daily Audio Bible
Today's audio is from the EHV. Switch to the EHV to read along with the audio.
दाऊद र जोनाथनले एउटा सन्धि गर्छन्
20 रामाको छेऊ डेराबाट दाऊद दगुर्दै जोनाथनकहाँ गए। दाऊदले जोनाथनलाई भने, “मैले के भूल गरें? मेरो दोष के हो? तिम्रा पिताले मलाई किन मार्न चाहनु हुन्छ?”
2 जोनाथनले भने, “त्यो सत्य हुन सक्दैन। तिमी मारिने छैनौ। मेरो पिताले मलाई नबताई कुनै काम पनि गर्नु हुँदैन। उहाँले मलाई मुख्य अनि साधारण सूचना भन्नुहुन्छ। यसकारण मेरो पिताले यदि तिमीलाई मार्ने योजना बनाएको भए मलाई किन भन्नुहुन्न र? यो हुनै सक्दैन।”
3 तर दाऊदले भने, “म तिम्रो मित्र हुँ, भन्ने कुरा तिम्रो पितालाई राम्ररी थाह छ। तिम्रा पिताले सायद सोच्नुहुन्छ होला, ‘जोनाथनले यो कुरा थाह पाउँनु हुँदैन। यदि त्यसले थाहा पायो भने दाऊदलाई भन्छ।’ परमप्रभु र तपाईं जीवित रहेसम्म, नै यो सत्य हो मेरो मृत्यु नजिकै छ।”
4 जोनाथनले भने, “तपाईंले मलाई जसो भन्नुहुन्छ म त्यसैगर्छु।”
5 त्यसपछि दाऊदले भने, “हेर भोलि औंसीको चाड छ। मैले राजासँग खाना खानुपर्छ। तर साँझ सम्म मलाई खेतमा लुकेर बस्न देऊ। 6 यदि तिम्रा बुबाले म यहाँ उपस्थित छैन भन्ने थाहा पाउनुभयो भने, त्यत्तिबेला तिमीले भन्नु, ‘दाऊद बेतलेहेम घरमा जान चाहन्थ्यो। तिनका परिवारले नै मासिक बलि चढाउने कुरा छ। यसकारण दाऊदले मलाई बेतलेहेम झर्न र परिवारसँग भेट्न देऊ भने।’ 7 यदि तिम्रा पिताले, ‘ठीक छ’ भन्नु भयो भने म बाँचे। तर रिसाउनु भयो भने बुझ्नुहोस कि उहाँले मलाई घात गर्न चाहनुहुन्छ। 8 म माथि दयागर जोनाथन, म तिम्रो सेवक हुँ। परमप्रभुको अगाडि तिमीले मसँग सम्झौता गरेका छौ। यदि म दोषी छु भने तब तपाईंले नै मलाई मार्नु होस्। तर मलाई तिम्रा बुबा कहाँ नलैजाऊ।”
9 जोनाथनले भने, “त्यसो त कहिले पनि होइन। यदि मेरा पिताले तिमीलाई घात गर्न खोज्नु, भएको मैले थाह पाएँ भने म तिमीलाई सावधान गराउनेछु।”
10 दाऊदले भने, “यदि तपाईंलाई तपाईंका पिताले गाली गरे भने मलाई सावधान कसले गराउँछ?”
11 तब जोनाथनले भने, “हिंड खेततिर जाऔं।” त्यसपछि दुवैजनासँगै खेततिर लागे।
12 जोनाथनले दाऊदलाई भने, “म इस्राएलका परमेश्वर परमप्रभुको अगाडि प्रतिज्ञा गर्छु। मेरा पिताको तपाईंको बारेमा कस्तो सोचाइ छ म त्यो थाह गर्ने प्रतिज्ञा गर्छु। साँच्चै खराबै सोच्नु भएको छ कि असल सोच्नु भएको छ तीन दिनभित्र म तपाईंलाई खेतमा खबर पठाउँछु। 13 यदि मेरा पिताले तपाईंलाई चोट पुर्याउन चाहनुभएको हो भने म तपाईंलाई भन्नेछु म यहाँबाट तपाईंलाई सुरक्षित जानदिनेछु। प्रतिज्ञा गरेको काम मैले गरिन भने परमप्रभुले मलाई सजाय दिनुहुन्छ। परमप्रभु तिमीसँग रहून् जसरी उहाँ मेरा पितासँग हुनुहुन्छ। 14 जबसम्म म जीवित रहन्छु मलाई दया गर्नु अनि म मरेपछि 15 मेरा सन्तान माथि दया गर्न नछोड। परमप्रभुले पृथ्वीमा भएका तपाईंका सबै शत्रुहरूलाई नष्ट गर्नुहुनेछ। 16 त्यस समय यदि जोनाथनको परिवार दाऊदबाट अलग्गै हुन्छ भने पनि होस्। परमप्रभुले चाहिं दाऊदका शत्रुहरूलाई सजाय दिउन्।”
17 त्यसपछि जोनाथनले दाऊदलाई तिनीहरूको बीचमा भएको प्रेमको प्रतिज्ञालाई नवीकरण गर्नु भनि सोधे किनकी जोनाथनले दाऊदलाई आफू भन्दा ज्यादै प्रेम गर्थे।
18 जोनाथनले दाऊदलाई भने, “भोलि औंसीको चाड हो। तपाईंको ठाउँ रित्तो देखेर मेरा पिताले तपाईं कहाँ जानुभयो भनि सोच्नुहुनेछ। 19 तेस्रो दिनमा पनि तपाईं जानुहोस् अनि त्यही ठाउँमा लुक्नु जहाँ तपाईं पहिला लुक्नु भएको थियो जब यो समस्या शुरू हुन्छ त्यहीं पहाडको छेउमा पर्खिन्छु। 20 तेस्रो दिन म त्यही पहाडमा निशान हान्ने बहनामा आउनेछु र म काँड हान्ने छु। 21 म एउटा केटालाई काँड खोज्न पठाउँनेछु। यदि सबै ठीक-ठाक छ भने म केटोलाई भन्ने छु, ‘हेर काँड नजिकै छ! तँ धेरै पर गइस्। मेरो नजिक काँड खोज।’ त्यस बेला लुकेको ठाउँबाट तिमी निस्कन सक्छौ। शपत खाएर भन्छु कि जसरी परमप्रभु सत्य र जीवित हुनुहुन्छ, तिमी सुरक्षित छौ। त्यहाँ कुनै खतरा हुनेछैन। 22 तर यदि स्थिति ठीक छैन भने म केटोलाई भन्नेछु ‘काँड धेरै पर पुगेको छ। उता गएर खोजेर आइज्।’ यदि मैले यसो भनेर अह्राएँ भने तिमी भाग्नै पर्छ। परमप्रभुले नै तिमीलाई टाढा पठाउनु भएको हो। 23 दया गरेर तिम्रो र मेरो बीचको सम्झौता चाहि नभुल्नू। परमप्रभु सधैँ भरी हाम्रो साक्षी हुनुहुन्छ।”
24 त्यसपछि दाऊद खेतमा लुक्न गए।
उत्सवमा शाऊलको मनोभाव
औंसीको चाड आयो। अनि राजा भोजनको निम्ति आफ्ना आसनमा बसे। 25 राजा पर्खाल कै छेउमा सधैँ झैं बसे। उनको ठीक अगाडि जोनाथन बसे। अबनेर राजाको अलिक उता बसे र दाऊदको ठाउँ चाहि रित्तो थियो। 26 त्यस दिन शाऊलले केही पनि भनेनन्। उनले सोचे, “दाऊदलाई केही भयो होला अथवा रीतिपूर्वक शुद्ध छैन होला।”
27 तर भोलिपल्ट महिनाको दोस्रो दिन, दाऊदको ठाँउ अझै खाली नै थियो। त्यसपछि शाऊलले आफ्ना छोरा जोनाथनलाई सोधे, “हिजो र आज औंसीको चाडमा यिशैको छोरा किन उपस्थित भएन?”
28 जोनाथनले भने, “दाऊदले बेतलेहेम घर जान्छु भनेर मसित अनुमति माग्यो। 29 उसले भन्यो, ‘मेरो परिवारले हाम्रो शहरमा बलिदान चढाउँदैछन् अरे, यसकारण मलाई घरमा जान दिनुहोस्। मलाई त्यहाँ जानु भनी दाज्यूले हुकूम दिएका छन् यदि म तपाईंको साथी हुँ भने जान दिनुहोस् र दाजूहरूसँग भेट्न दिनुहोस्।’ त्यही कारणले दाऊद यहाँ राजाको भोजमा आएन।”
30 शाऊल जोनाथनसँग साह्रै क्रोधित भए। उसले जोनाथनलाई भने, “तँ दुष्ट आइमाईको छोरा होस, जसले भनेको मान्दैन। अनि त्यो तेरो स्वभाव पनि हो मलाई थाहा छ तैंले दाऊदको पक्ष लिएको छस्। तँ तेरो जन्म दिने आमा र तेरो आफ्नै लागि पनि लाज पार्छस्। 31 जब सम्म यिशैको छोरा जिउँदो छ तबसम्म तँ राजा हुने छैनस् नत तेरो राज्य पनि हुने छ। अब दाऊदलाई मकहाँ लिएर आइज। त्यो एउटा मरेको मानिस हो।”
32 जोनाथनले पितालाई भने, “दाऊदलाई चाहिं किन मार्ने? उसले के भूल गरेको छ?”
33 तर शाऊलले उसको छोरोलाई हत्या गर्नुको लागि भालाले हान्यो। यसबाट जोनाथनलाई थाहा लाग्यो कि उसका पिताले दाऊदलाई मार्ने चाहन्थ्यो। 34 जोनाथन रिसाएर टेबिल छोडेर हिँडे। जोनाथनलाई साह्रै अशान्ति लाग्यो कि आफ्नो पितासित रिसाएर दोस्रो दिनको भोजन पनि उसले खाएनन्। उसको पिताले उसलाई अपमान गरे। ती उसका पितासित साह्रै क्रोधित थिए अनि एकदमै दुःखी भए किनभने शाऊलले दाऊदलाई मार्न चाहन्थे।
जोनाथनसँग दाऊदको बिदावारी
35 भोलिपल्ट बिहान जोनाथन खेतमा गए। जब तिनीहरू एक मत भएका थिए जोनाथन एउटा केटालाई साथमा लिएर दाऊद भए कहाँ गए। 36 जोनाथनले केटोलाई भने, “कुद्दै गएर मैले हानेको काँड लिएर आउँनु।” जब केटो कुद्न थाल्यो जोनाथनले त्यस केटाको टाउको मास्तिर आकाशतिर काँड हाने। 37 काँड झरेको तिर केटो दगुर्यो। तर जोनाथनले कराएर भने, “काँड तँ भएदेखि धेरै पर पुगेको छ।” 38 फेरि जोनाथन चिच्यायो, “छिटो गर। काँड लिन जा। त्यहाँ उभिने होइन।” केटोले काँड ल्याएर आफ्नो मालिकलाई दियो। 39 यी सब के भइरहेछ केटोलाई केही थाहा भएन। खालि जोनाथन र दाऊदलाई मात्र थाहा थियो। 40 जोनाथनले धनुकाँड केटोलाई बोक्न दिए। त्यसपछि जोनाथनले केटोलाई “शहर जा” भनेर पठाए।
41 केटो गयो अनि पहाडको अर्को पट्टिबाट दाऊद आए। दाऊदले शिर भूईतिर झुकाएर तीन पटक जोनाथनलाई अभिवादन गरे। त्यसपछि दाऊद र जोनाथनले एक-अर्कामा म्वाई खाए र दुवै रोए। जोनाथन भन्दा दाऊद ज्यादा रोए।
42 जोनाथनले दाऊदलाई भने, “शान्तिसित जाऊ। हामीले परमप्रभुको नाउँमा एका-दोस्रोलाई इमानदारी साथी हौं भनि प्रतिज्ञा गरिरहेका छौ। हामी र हाम्रा सन्तानहरूका निम्ति पनि परमप्रभु सधैँ भरी साक्षी रहनु हुनेछ।”
पूजाहारी अहिमेलेकसँग दाऊदको भेट
21 त्यसपछि दाऊद गए जोनाथन शहरमा फर्किए। दाऊद पूजाहारी अहीमेलेकलाई भेट्न नोब नाउँको शहरमा गए।
अहीमेलेक दाऊदलाई भेट्न बाहिर गए। अहीमेलेक डरले कामिरहेका थिए। अहीमेलेकले दाऊदलाई भने, “तपाईं किन एकलै हुनुहुन्छ? तपाईंसित कोही पनि छैनन्?”
2 दाऊदले अहीमेलेकलाई जवाफ दिए, “राजाले मलाई विशेष आदेश दिनुभएको छ। उहाँले भन्नु भएको छ, ‘यो यात्राको उद्देश्य कसैले पनि थाहा नपाओस्। कुनै पनि मानिसले थाहा नपाओस्।’ जो मैले भनें। मैले आफ्ना मानिसहरूलाई कहाँ भेट्नुपर्ने हो बताइदिएको छु। 3 अब यो भन ‘तिम्रोमा खानेकुरो के छ?’ मलाई पाँचवटा रोटी वा जे छ देऊ।”
4 पूजाहारीले दाऊदलाई भने, “मेरोमा त्यस्तो साधारण रोटी छैन। तर मसँग केही पवित्र रोटी छन्, यदि तपाईंका अधिकारीहरूले कुनै स्त्रीहरूसँग सहवास गरेका छैनन्, भने यो रोटी खान सक्छन्।”
5 दाऊदले पूजाहारीलाई जवाफ दिए, “आज भोलि हामीले कुनै स्त्री साथमा राखेका छैनौ। युद्धमा जाँदा हाम्रा मानिसहरू सधैँ पवित्र भएर जान्छन् यहाँसम्म साधारण उद्देश्य सोध्न जाँदा पनि। आज त यो कुरा झन् साँचो हो कारण अति विशेष कुरा सोध्नु छ।”
6 त्यहाँ पवित्र रोटी बाहेक अरू कुनै रोटी थिएन। यसर्थ पूजाहारीले दाऊदलाई त्यही रोटी दिए। यो त्यही रोटी थियो जो पूजाहारीले परमप्रभुमा चढाएका थिए। पूजाहारीले प्रत्येक दिन त्यो रोटी बाहिर राखेर त्यसको सट्टामा ताजा रोटी राख्थे।
7 त्यस दिन शाऊलका अधिकारीहरू मध्ये एकजना त्यहीं थिए। उनी हुन एदोमी दोएग। दोएगलाई त्यहाँ परमप्रभुको अघि राखेको थियो।[a] दोएग शाऊलका गोठालाहरूका प्रमुख थिए।
8 दाऊदले अहीमेलेकलाई सोधे, “यहाँ एउटा भाला अथवा तरवार केही छ? राजाको ज्यादै जरूरी काम छ। मलाई छिटै जानु छ। मैले तरवार अथवा अन्य कुनै शस्त्र साथमा लिएर आइनँ।”
9 पूजाहारीले भने, “यहाँ खालि एउटा तरवार छ त्यो पनि पलिश्ती गोल्यतको हो। तपाईंले एलाको बेंसीमा त्यसलाई मारेर लिएको तरवार हो। त्यो तरवार एउटा लुगामा बेह्रेर एपोदको पछाडि राखेको छ। यदि तपाईंलाई चाहिन्छ भने लिए हुन्छ।”
दाऊदले भने, “त्यो मलाई देऊ। गोल्यतको जस्तो तरवार अरू कसैको छैन।”
दाऊद गातमा भागेर शत्रु कहाँ गए
10 शाऊलबाट भागेर दाऊद गातका राजा आकीश कहाँ पुगे। 11 आकीशका अधिकारीहरूलाई यो राम्रो लागेन। तिनीहरूले भन्छन्, “यो दाऊद हो, इस्राएली भूमिको राजा। यो त्यही व्यक्ति हो जसको गीत इस्राएलीहरू गाउँछन्। तिनीहरू नाच्दै उसको बारेमा यस्तो गाउँछन्;
“शाऊलले हजार शत्रुहरू मारे,
तर दाऊदले दश हजार मारे।”
12 तिनीहरूले के भन्दैछन् दाऊदले ध्यान दिए। दाऊद गातका राजा आकीशसँग डराए। 13 यसर्थ दाऊदले आकीश र तिनका अधिकारीहरू अघि बौलाहाको बहाना गरे। तिनीहरूका अघि दाऊदले बौलाहा भएको नाटक गरे। उनले मूल ढोकामा नै थुके र दाह्रीमा थुक चुहुनु दिए।
14 आकीशले आफ्ना अधिकारीहरूलाई भने, “हेर यो मानिसलाई! यो त पागल हो। यस मानिसलाई मेरो उपस्थितिमा पागल कार्य गर्न यहाँ ल्याउनु अवश्यक छैन। भविष्यमा फेरि यो मानिसलाई मेरो घरमा नल्याउनु। 15 मसँग यस्ता बौलाहा मानिसहरू धेरै छन्। मलाई तिमीहरूले यसलाई यहाँ ल्याउने कुनै काम थियो भन्ने लाग्दैन। फेरि-फेरि यसलाई यहाँ मेरो घरमा नल्याउनुँ!”
अन्धा जन्मेको मानिसलाई येशूले निको पार्नु भयो
9 जब येशू हिंडिरहनु भएको थियो, उहाँले एकजना अन्धो मान्छेलाई देख्नु भयो। त्यो मान्छे जन्मैदेखि अन्धा थियो। 2 येशूका चेलाहरूले सोधे, “गुरुज्यू यो मान्छे जन्मैदेखि अन्धो हो। कसको पापले उसलाई अन्धा जन्मायो? उसको आफ्नै पाप वा उसको माता-पिताको पाप?”
3 येशूले उत्तर दिनुभयो, “यो न त उसको न त उसकी माताको पापहो जसले उसलाई अन्धा जन्माइन्। ऊ जन्मैदेखिको अन्धो हो ताकि उसलाई निको पारेर मानिसहरूलाई परमेश्वरको शक्ति देखाउन सकियोस्। 4 अहिले जब दिनको समय छ हामीले उहाँको कामहरू गर्नु पर्छ जसले मलाई पठाउनु भयो। रात पर्न आँटेको छ। अनि कसैले पनि राती काम गर्दैन। 5 जब म संसारमा छु, म संसारको ज्योति हूँ।”
6 यसो भनिसकेर, येशूले भूँईंमा थुक्नु भयो र त्यसबाट केही माटोको हिलो बानाउनु भयो अनि येशूले त्यसलाई त्यस मानिसको आँखामा दलिदिनुभयो भयो। 7 येशूले त्यस मानिसलाई भन्नुभयो, “जाऊ सिलोआमाको तलाउमा गएर पखाल।” (सिलोआमको अर्थ हुन्छ “पठाउनु”) तब त्यो मानिस तलाउमा गयो र धोयो। अब ऊ देख्ने लायकको भयो।
8 कोही मानिसहरूले पहिले त्यस मानिसलाई भीख मागिरहेको देखेका थिए। ती मानिसहरू र उनको छिमेकीहरूले भने, “हेर! यो त्यही मान्छे होइन जो सधैँ बसेर भिख माग्दथ्यो?”
9 कोही मानिसहरूले भने, “हो! त्यो त्यही हो।” तर अन्य मानिसहरूले भने, “अँहँ, ऊ त्यो मान्छे होइन, ऊ त्यस्तै देखिएको मात्र हो।”
तब त्यस मानिसले भन्यो, “म त्यही मानिस हुँ जो पहिले अन्धो थिएँ।”
10 मानिसहरूले जान्न चाहन्थे, “के भयो? तिमीले कसरी दृष्टि प्राप्त गर्यौ?”
11 त्यस मानिसले जवाफ दिए, “त्यो मानिस जसलाई येशू भन्दछौ उहाँले धुलोबाट हिलो बनाउनु भयो। उहाँले त्यो मेरो आँखामा राखिदिनु भयो। तब उहाँले मलाई भन्नुभयो, ‘सिलोआममा जाऊ र पखाल।’ तब म सिलोआममा गएँ र पखालें। अनि तब मैले देख्न थालें।”
12 मानिसहरूले त्यस मानिसलाई सोधे, “त्यो मान्छे कहाँ छ?”
त्यस मानिसले भन्यो, “मलाई थाहा छैन।”
येशूले निको पार्नु भएको त्यस मान्छेलाई यहूदीहरूले प्रश्न गरे
13 त्यसपछि मानिसहरूले त्यस मान्छेलाई फरिसीहरूकहाँ ल्याए। यो त्यही मानिस थियो जो पहिला अन्धो थियो। 14 येशूले धुलोको हिलो बनाएर त्यस मानिसको आँखा निको पारिदिनु भयो। जुन दिन येशूले त्यस्तो काम गर्नुभयो त्यो दिन विश्रामको दिन थियो। 15 फरिसीहरूले पनि त्यस मानिसलाई सोधे, “कसरी तिमीले तिम्रो दृष्टि पायौ?”
त्यस मानिसले उत्तर दियो, “उहाँले धूलोको हिलो मेरो आँखामा राखिदिनु भयो। मैले मेरो आँखा पखालें र अब मैले देख्नु सकें।”
16 कोही फरिसीहरूले भने, “त्यस मानिसले विश्रामको दिन पालन गर्दैन। यसैले ऊ परमेश्वरबाट आएको होइन।”
अन्य मानिसहरूले भने, “तर जो मानिस पापी छ उसले यस्तो चमत्कारहरू गर्न सक्तैन।” ती यहूदीहरू आपसमा सहमत हुन सकेनन्।
17 यहूदी अगुवाहरूले फेरि त्यस मानिसलाई सोधे, “यो मान्छेले तिमीलाई निको पार्यो अनि तिमीले देख्न सक्यौ। तिमी उसको बारेमा के भन्छौ?”
त्यस मानिसले उत्तर दिए, “उहाँ एउटा अगमवक्ता हुनुहुन्छ।”
18 यहूदीहरूले त्यस मानिस त्यसरी निको भएको घट्नामा विश्वास गरेनन्। तिनीहरूले त्यो मान्छे पहिले अन्धा र पछि निको भएको विश्वासै गरेनन्। यसर्थ तिनीहरूले उसको आमा बाबुलाई बोलाए। 19 अनि यहूदीहरूले त्यसको आमा बाबुलाई सोधे, “यो तिमीहरूको छोरो हो? तिमीहरू भन यो जन्मै अन्धो थियो। तब अहिले उसले कसरी देख्न सक्यो?”
20 त्यसको आमा-बाबुले उत्तर दिए, “हामी जान्दछौ यो मेरो छोरो हो। अनि हामी जान्दछौ यो जन्मन्दै अन्धो थियो। 21 तर अहिले उसले कसरी देख्न सक्छ हामी जान्दैनौं। अनि हामी जान्दैनौं कसले उसलाई दृष्टि दियो। उसैलाई सोध्नुहोस्। ऊ अहिले ठूलो भएको छ अनि आफ्नो विषयमा उत्तर आफैंले दिने छ।” 22 उनको आमा-बाबुले यहूदी अगुवाहरूको डरले गर्दा त्यसो भनेको हुन्। यहूदी अगुवाहरूले पहिल्यै निर्णय लिइसकेका थिए कि ज-जसले येशूलाई ख्रीष्ट भन्छन् तिनीहरू दण्डित हुनेछन्। अनि ती मानिसहरूलाई सभा-घरबाट निकलिदिनेछन्। 23 यसैकारणले गर्दा उसको आमा-बाबुले भने, “ऊ ठूलो भएकोछ उसैलाई सोघ्नु होस्।”
24 तब यहूदी अगुवाहरूले त्यस मानिस जो पहिला अन्धो थियो फेरि दोस्रोपल्ट बोलाएर भने, “तिमीलाई परमेश्वरको महिमा राख्न सत्य बोल्नु पर्छ। हामी जान्दछौ कि यो मानिस पापी हो।”
25 त्यस मानिसले उत्तर दियो, “उहाँ पापी हुन भनेर म जान्दिन। तर म यति मात्र जान्दछुः म अन्धो थिएँ र अहिले देख्न सक्ने भएँ।”
26 यहूदीहरूले सोधे, “उसले के गर्यो? तिम्रो आँखा कसरी निको पार्यो?”
27 त्यस मानिसले उत्तर दियो, “मैले तपाईंहरूलाई पहिल्यै भनिसकेको छु। तर तपाईंहरूले सुन्नु नै भएन। किन तपाईंहरू फेरि सुन्न चाहनु हुन्छ? के तपाईंहरू पनि उहाँको चेलाहरू हुन चाहनु हुन्छ?”
28 यहूदी अगुवाहरू एकदम रीसले चूर भए अनि त्यस मानिसलाई अप-शब्दद्वारा गाली गरे। तब तिनीहरूले भने, “तिमी त्यस मानिसको चेला हौ। हामी मोशाका चेलाहरू हौं। 29 हामी जान्दछौं कि परमेश्वर मोशासँग बोल्नु भयो। तर हामी त्यस मानिसको विषयमा चाहिँ एकदमै जान्दैनौं, ऊ कहाँबाट आएको हो।”
30 त्यस मानिसले उत्तर दियो, “यो कस्तो अचम्मको कुरा हो। येशू कहाँबाट आउनु भयो, तपाँईहरू जान्नु हुन्न। तर उहाँले मेरो आँखालाई निको पारी दिनु भयो। 31 हामी सबै जान्दछौं कि परमेश्वरले पापीहरूको कुरा सुन्नु हुन्न। तर परमेश्वरले चाहे जस्तै गर्नु हुन्छ। 32 यस्तो कहिल्यै पनि सुनिएको थिएन कि कसैले एक जन्मेको अन्धा मानिसलाई दृष्टि दियो। 33 त्यो मान्छे परमेश्वरबाटै आएको हुनपर्छ। यदि उनी परमेश्वरबाट नआएको भए उसले यस्तो कुनै कुरा गर्नसक्ने थिएनन्।”
34 यहूदी अगुवाहरूले उत्तर दिए, “तिमी पापैपापले भरिएर जन्मिएको रहेछौ। तिमीले हामीलाई सिकाउन खोज्छौं?” तिनीहरूले त्यस मानिसलाई घच्याडेर निकालिदिए।
आत्मिक अन्धोपन
35 यहूदी अगुवाहरूले त्यस मानिसलाई निकालीदिएको येशूले चाल पाउनु भयो। येशूले त्यस मानिसलाई भेटेर भन्नुभयो, “तिमी मानिसको पुत्रमाथि विश्वास गर्छौ?”
36 त्यस मानिसले सोध्यो, “प्रभु, मानिसको पुत्र को हुन्? मलाई बातउनु होस्, तब म उहाँमा विश्वास गर्न सक्छु।”
37 येशूले त्यस मानिसलाई भन्नुभयो, “तिमीले उसलाई देखिसकेकाछौ। मानिसको पुत्र उही हुन् जो तिमीसँग अहिले बोलिरहेकोछ।”
38 त्यस मानिसले भन्यो, “हो प्रभु, म विश्वास गर्छु।” त्यसपछि उसले येशूलाई दण्डवत् गर्यो।
39 येशूले भन्नुभयो, “म यस संसारमा न्याय गर्न आएको हुँ। म त्यसकारण आएको हुँ कि अन्धा मानिसहरूले देख्न सकोस्। म त्यसकारणले आएको हुँ कि देख्न सक्नेहरू अन्धा होउन्।”
40 कोही फरिसीहरू येशूको नजिकै थिए। तिनीहरूले येशूले त्यसो भन्नु भएको सुने। तिनीहरूले सोधे, “हामी पनि अन्धा छौं भनेर तिमी भनिरहेछौ?”
41 येशूले भन्नुभयो, “यदि तिमीहरू साँच्चि नै अन्धा भएको भए तिमीहरू पापको दोषी हुने थिएनौं। तर अहिले तिमीहरूले देख्छु भन्यौ, यसकारण तिमीहरूको दोष रहिरहन्छ।”
1 परमप्रभुको प्रशंसा गर!
परमप्रभुका दासहरू उहाँको प्रशंसा गर!
परमप्रभुको नाउँको प्रशंसा गर।
2 परमप्रभुको नाउँ अहिले
र सदा-सर्वदालाई धन्य बनी रहोस्।
3 परमप्रभुको नाउँको प्रशंसा
पूर्वमा सूर्य उदय हुने ठाउँदेखि पश्चिममा सूर्य अस्ताउने ठाँउ सम्म भइरहोस्।
4 परमप्रभु सबै जातिहरूभन्दा उच्च हुनुहुन्छ।
उहाँको महिमा माथि स्वर्ग सम्म जान्छ।
5 कुनै मानिस पनि हाम्रो परमप्रभु परमेश्वर जस्तो छैन।
परमेश्वरमाथि स्वर्गमा बस्नु हुन्छ।
6 परमेश्वर हामी भन्दा नित्तान्त माथि हुनुहुन्छ।
उहाँले आकाश र पृथ्वी देख्न तल हेर्नुपर्छ।
7 परमेश्वरले हीन अवस्थाबाट गरीबहरूलाई माथि उठाउनु भयो।
परमेश्वरले भिखारीहरूलाई मैला फ्याँक्ने ढवाङ्गबाट निकाल्नु भयो।
8 अनि परमेश्वरले ती मानिसहरूलाई मुल्यवान बनाउनु भयो।
परमेश्वरले तिनीहरूलाई महत्वपूर्ण नेताहरू बनाउनु भयो।
9 एउटी स्त्रीको नानीहरू नहुन सक्लान
तर परमेश्वरले तिनलाई छोरा-छोरीहरू दिएर सुखी तुल्याउनु हुनेछ!
परमप्रभुको प्रशंसा गर!
1 इस्राएल ले मिश्र त्यागेर गए।
याकूबले त्यो विदेशलाई त्यागेर गए।
2 यहूदा परमेश्वरको खास मानिस भए।
इस्राएल उसको राज्य हुन गयो।
3 लाल समुद्रले यो देखेर भाग्यो,
यर्दन नदी उल्टा बग्न थाल्यो।
4 पर्वतहरू भेंडाहरूझै वरिपरि नाच्न थाले।
पहाडहरू भेंडाका पाठाहरू जस्तै उफ्रन थाले।
5 लाल समुद्र, तिमी किन भागेर गयौं?
यर्दन नदी, तिमी किन फर्केर भागी गयौ?
6 हे पर्वतहरू! तिमीहरू भेंडाहरू झैं किन खुशीले उफ्रियौ?
अनि पहाडहरू! तिमीहरू किन भेंडाका पाठाहरू झै बुथ्रुक-बुथ्रुक उफ्रियौ?
7 हे पृथ्वी, याकूबको परमप्रभु परमेश्वर
स्वामीको सामने थरहरी होऊ।
8 परमेश्वर नै हुन् जसले चट्टानबाट पानी बग्ने बनाउनु भयो।
परमेश्वरले कडा चट्टानबाट झरना बहाउनु भयो।
15 गरीब मानिसहरूको समय सधैँ दुःखमय हुन्छ, तर सुखी हृदय लगातार उत्सव जस्तै सुखमय हुन्छ।
16 धेरै धन हुनु र त्ययसबाट दुःख पाउनु भन्दा थोरै हुनु तर परमप्रभुलाई सत्कार गर्नु उत्तम हो।
17 घृणाले भरिएको ठाउँमा धेरै खानु भन्दा, प्रेमले भरिएको ठाउँमा अलिकति खानु उत्तम हो।
© 2004, 2010 Bible League International