The Daily Audio Bible
Today's audio is from the NET. Switch to the NET to read along with the audio.
इस्राएलीहरूले राजाको माग गरे
8 शमूएल जब वृद्ध भए, तिनले आफ्ना छोराहरूलाई इस्राएलका न्यायकर्त्ता नियुक्त गरे। 2 शमूएलका जेठा छोराको नाउँ योएल थियो। माहिला छोराको नाउँ चाहिं अबियाह थियो। योएल र अबियाह बेर्शबामा न्यायकर्ता थिए। 3 तर शमूएलका छोराहरू बाबुको चालमा हिडेनन् योएल र अबियाहले घूस खाने गर्थे। चुपचाप घूस लिएर न्यायलयमा अन्याय गर्थे। 4 यसर्थ इस्राएलका सबै बूढा-प्रधानहरू शमूएललाई भेट्न रामामा भेला भए। 5 बूढा-प्रधानहरूले शमूएललाई भने, “तपाईं बूढा हुनुभयो, तपाईंका छोराहरू तपाईं जस्ता ठीक बाटामा छैनन्। अब, हामीलाई शासन अनि न्याय गर्न अरू देशहरूको जस्तै राजा दिनुहोस्।”
6 यसरी बूढा-प्रधानहरूले तिनीहरूलाई मार्ग दर्शन गर्ने एउटा राजा मागे। शमूएलले ठाने यो युक्ति गलत छ। यसर्थ शमूएलले परमप्रभुमा प्रार्थना गरे। 7 शमूएललाई परमप्रभुले भन्नुभयो, “मानिसहरूले जसो भन्छन् त्यसै गर। तिनीहरूले तँलाई अस्वीकार गरेका छैनन्। बरू मलाई अस्वीकार गर्दैछन्। तिनीहरूले मलाई तिनीहरूको राजा हुन अस्वीकार गरिरहेका छन्। 8 तिनीहरूले सधैँ जे गर्थे त्यही गर्दैछन्। मैले तिनीहरूलाई मिश्रबाट बाहिर ल्याएँ। तर तिनीहरूले आज मलाई छाडेर अन्य देवताहरूको सेवा गरे। तिनीहरूले तँलाई पनि त्यस्तै गर्दैछन्। 9 यसर्थ मानिसहरूका कुरा सुनेर तिनीहरूले भने झैं गर। तर तिनीहरूलाई एउटा चेतावनी भने दिनु। तिनीहरूलाई भनिदिनु राजाले तिनीहरूलाई के गर्छ। एउटा राजाले मानिसहरूलाई कसरी शासन गर्छन्।”
10 ती मानिसहरूले एउटा राजाको माग गरे। यसकारण परमप्रभुले भन्नु भएका सम्पूर्ण कुराहरू शमूएलले मानिसहरूलाई बताए। 11 शमूएलले भने, “यदि तिमीहरू तिमीहरूमाथि शासन गर्ने राजा चाहान्छौ भने राजाले यसो गर्नेछन्। उसले तिमीहरूको छोराहरूलाई लाने छन् अनि उसको सेवा गर्न तिनीहरूलाई विवश पार्नेछन्। राजाले तिमीहरूका छोराहरूलाई सैनिक बनाएर उनका रथ सँगसँगै दौडन लगाउँने छन् र घोडचढी बनाएर आफ्नो सैनिकमा राख्नेछन्। तिमीहरूका छोरालाई आफ्ना रथको अघि दौडने रक्षक बनाउने छन्।
12 “राजाले तिम्रो छोराहरूलाई सैनिक बन्न वाध्य गराउने छन्। त्यसमध्ये कोही 1,000 मानिसहरूका अधिकारी बन्ने छन अनि अरू 50 जना भन्दा ज्यादा मानिसका।
“राजाले तिम्रा छोरालाई उनको खेत जोत्न र फसल काट्न बाध्य गराउनेछन्। कतिलाई फेरि युद्धको निम्ति हातहतियार बनाउन लाउनेछन्। कतिलाई रथको चीजहरू बनाउँन लाउँनेछन्।
13 “राजाले तिमीहरूका छोरीहरूलाई पनि लानेछन्। तिनीहरूमध्ये कतिलाई खाना पकाउन र रोटी पकाउन विवश गर्नेछन्। अनि कसैलाई अत्तर बनाउन बाध्य गर्नेछन्।
14 “राजाले तिमीहरूको सबभन्दा असल खेतहरू, दाखको बगैंचा र भद्राक्षका रूखहरू लानेछन्। अनि तिनीहरूलाई उसको सेवकहरूको हातमा सुम्पिदिनेछन्। 15 तिमीहरूको अन्न र दाखको फसलको दशौ भाग राजाले लिनेछन्। अनि अधिकारीहरू अनि सेवकहरूको हातमा सुम्पिदिनेछन्।
16 “राजाले तिमीहरूका कमारा-कमारीहरूलाई पनि लैजाने छन्। उनले असल जातका पशु र गधाहरू पनि तिमीहरूबाट लिनेछन्। यी सबै लगेर आफ्नै प्रयोगमा लगाउँने छन्। 17 तिमीहरूका भेंडा बाख्राको दशौ भाग पनि तिनले लिनेछन्।
“अनि तिमी आफैं पनि राजाको दास बनिनेछौ। 18 तब तिनीहरू आफूले चुनेको राजाबाट छुटकाराको निम्ति रूनेछौ। तर त्यस समय परमप्रभुले कुनै जवाफ दिनुहुने छैन।”
19 तर मानिसहरूले शमूएलको कुरा सुन्दैसुनेन्। तिनीहरूले भने, “होइन! हामीलाई शासन गर्ने एउटा राजा नै चाहिन्छ। 20 तब हामी पनि अरू देश सरह हुनेछौ, हामीलाई नेतृत्व दिने, हाम्रो अघि युद्ध लड्ने, हाम्रा निम्ति युद्ध गर्ने हाम्रा राजा हुनेछन्।”
21 शमूएलले मानिसहरूको भनाइ सुने पछि शमूएलले परमप्रभुलाई तिनीहरूका कुरा दोहोर्याइदिए। 22 परमप्रभुले जवाफ दिनु भयो, “तिनीहरूले चाहे जस्तै! तिनीहरूलाई एउटा राजा देऊ।”
तब शमूएलले इस्राएलका मानिसहरूलाई भने, “ठीकै छ! तिमीहरूले एउटा राजा पाउँने भयौ। अहिले सबै तिमीहरूको शहरमा जाऊ।”
शाऊलले पिताका गधाहरूको खोजी गर्छ
9 कीश बिन्यामिनी कुलका एकजना महत्वपूर्ण मानिस थिए। कीश अबीएलका छोरा थिए। अबीएल जरोरका छोरा थिए। जरोर बकोरतका छोरा थिए। बकोरत, बिन्यामीन परिवारका मानिस ओपीहकका छोरा थिए। 2 कीशका एकजना शाऊल नाउँ गरेका छोरा थिए। शाऊल अत्यन्तै सुन्दर थिए। त्यहाँ शाऊल जस्तो सुन्दर कोही पनि थिएनन्। उभिँदा शाऊल इस्राएलमा अन्य मानिसहरू भन्दा अग्ला थिए।
3 एक दिन शाऊलका पिता कीशले आफ्ना गधाहरू हराए। यसकारण कीशले आफ्ना छोरा शाऊललाई भने, “एकजना नोकरलाई साथमा लिएर गधा खोज्न जा।” 4 शाऊलले गधाहरू खोज्न शुरू गरे। शाऊल एप्रैमका पहाडी देश हुदै शलीशको इलाकातिर पुगे। तर शाऊल र नोकरले कीशका गधाहरूको पत्तो लगाउन सकेनन्। ती दुइजना गधाहरू खोज्दै शालेमका चारैतिर घुमे। तर त्यहाँ पनि गधाहरू थिएनन्। यसकारण तिनीहरूले बिन्यामिनीको प्रदेशमा पनि गधा खोज्दै यात्रा गरे तर त्यहाँ पनि गधाहरू भेट्टाउन सकेनन्।
5 अन्त्यमा, शाऊल र उनका नोकर सूप नाउँका शहरमा पुगे। शाऊलले आफ्ना नोकरलाई भने, “हामीहरू फर्कौ। अब पिताजीलाई गधाहरूको भन्दा हाम्रो चिन्ता ज्यादा भइसक्यो होला।”
6 तर नोकरले भन्यो, “यस शहरमा परमेश्वरका एकजना मानिस हुनुहुन्छ। मानिसहरूले उहाँलाई धेरै मान्छन्। उहाँले जे भन्नुहुन्छ त्यो पुग्छ। यसकारण हामीहरू शहरमा जाऔं। हुनसक्छ परमेश्वरका मानिसले हामीलाई अब कता जानुपर्ने हो भनिदिनु हुन्छ होला।”
7 शाऊलले आफ्ना नोकरलाई भने, “ठीकै हो, हामी शहरमा जानसक्छौ। तर हामीले त्यस मानिसलाई के दिनसक्छौं र? हामीले बोकेका थैलाका भोजन पनि त सकिसक्यो। हाम्रोमा परमेश्वरका मानिसलाई दिने केही भेंटी पनि छैन। हामीसँग दिने लायकको के छ र!”
8 फेरि पनि त्यस नोकरले शाऊललाई भन्यो, “हेर्नुहोस्, मसँग अलिकति धनको रूपमा चाँदीको एक चौथाइ शेकेल छ। यही हामीले ती परमेश्वरका मानिसलाई चढायौं भने उहाँले हामीलाई कता जानुपर्ने हो बताउनुहुन्छ।”
9-11 शाऊलले आफ्ना नोकरलाई भने, “त्यो असल सुझाव हो! हामी जाऔं!” यसरी तिनीहरू शहरमा गए जहाँ परमेश्वरका मानिस थिए।
शाऊल र तिनका नोकर पहाड उक्लँदै शहरतिर जाँदै थिए। तिनीहरूले केही जवान स्त्रीहरूलाई बाटोमा भेटे जो पानी भर्न आएका थिए। शाऊल र तिनका नोकरले ती ठिटीहरूलाई सोधे, “के दर्शी घरैमा हुनुहुन्छ?” (प्राचीन समयमा अगमवक्तालाई “दर्शी” भन्थे।)
12 ठिटीहरूले जवाफ दिए, “ज्यू, उहाँ हुनुहुन्छ। उहाँ तपाईंहरू भन्दा अघि जादै हुनहुन्छ। उहाँ आजै शहरमा आउनुभयो। मानिसहरूले भेला भएर उच्च स्थानहरूमा मेलबलि चढाउने भएका छन्। 13 कृपया जानुहोस् र उहाँलाई शहरमा भेट्नुहुन्छ। यदि तपाईंहरूले चाँडो गर्नुभयो भने उहाँ दर्शीलाई आराधनालयमा खान जानुभन्दा पहिले भेटिहाल्नुहुन्छ। किनभने दर्शीले बलिदानलाई आशीर्वाद दिनुपर्छ। मानिसहरूले उहाँ त्यहाँ नपुगन्जेल भोजन ग्रहण गर्दैनन्। यसकारण चाँडो जानुहोस्।”
14 शाऊल र तिनका नोकर शहर पुग्न पहाडको बाटो उक्लन थाले। जस्तो तिनीहरू शहरभित्र पस्दै थिए, त्यस्तै शमूएल उनीहरूका अघिल्तिर देखा परे। शमूएल आराधना स्थानतिर जानलाग्दै थिए।
15 एक दिन अगाडि परमप्रभुले शमूएललाई भन्नुभएको थियो, 16 “भोलि म यही समय पारेर एउटा मानिसलाई तँ कहाँ पठाउनेछु। यो मानिस बिन्यामिनी कुलको सदस्य हो। तैंले त्यसलाई अभिषेक गरिदिनुपर्छ। त्यसपछि त्यो मानिस मेरा इस्राएली मानिसहरूका प्रमुख हुनेछ। त्यस मानिसले हाम्रा मानिसहरूलाई पलिश्तीहरूबाट बचाउँने छ। मैले मेरा मानिसहरूको कष्ट देखे र रोदन सुनेकोछु।”
17 शमूएलले शाऊललाई देखे अनि परमप्रभुले भन्नु भयो, “मैले तँलाई भनेको मानिस यही हो। यसले नै मेरो मानिसहरूलाई शासन गर्नेछ।”
18 शाऊलले मूल-द्वारमा शमूएल कहाँ आएर भने, “कृपया दर्शी कहाँ हुनुहुन्छ, बताइ दिनुहुन्छ कि?”
19 शमूएलले भने, “म नै दर्शी हुँ। म भन्दा पहिले नै आराधनाको ठाउँमा जाऊ। तिमी र तिम्रा सेवकले आज मसित खाना खानेछौ। म तिमीलाई भोलि बिहान घर जानदिनेछु र जे सोध्नु छ बिहानै सोध्नु। 20 ती गधाहरूको चिन्ता नगर जो तीन दिन पहिले हराएका थिए। ती गधाहरू फेला परिसकेका छन्। अब तिमीलाई सारा इस्राएलले नै खोजिरहेकोछ। तिनीहरूले तिमी र तिम्रा पिताका परिवारलाई नै चाहान्छन्।”
21 शाऊलले जवाफ दिए, “तर म त बिन्यामिनी कुलको सदस्य हुँ। हाम्रो परिवार इस्राएलको सबै भन्दा सानो परिवार समूह हो। त्यस माथि पनि बिन्यामिनी कुलभित्र पनि हाम्रो परिवार समूह सबैभन्दा सानो छ। तपाई किन भन्नुहुन्छ कि इस्राएलले मलाई चाहन्छ?”
22 त्यसपछि शमूएलले शाऊल र तिनका नोकरलाई भोजनालयतिर लिएर गए। लगभग तीस जना मानिसहरू एकसाथ खाना खान र बलिदानमा भाग गर्न निम्त्याइएका थिए। शमूएलले शाऊल र तिनका नोकरलाई महात्वपूर्ण स्थानमा बसाए। 23 शमूएलले भान्सेलाई भनें, “जो मैले तिमीलाई दिएको थिएँ त्यो मासु ल्याउ जुन मासुको अंश मैले तिमीलाई सुरक्षित राख्न भनेंको थिएँ।”
24 भान्सेले फिला ल्यायो अनि शाऊलको अघि टेबलमा राख्यो। शमूएलले भने, “यो त्यही मासु हो जुन मैले तिम्रो निम्ति सुरक्षित राखेको थिएँ। यो खाऊ कारण यो यस्तै विशेष दिनको निम्ति तिम्रो सम्मानको लागि सुरक्षित राखेको थियो।” यसरी त्यस दिन शाऊलले शमूएलसँगै खाना खाए।
25 खाना खाइसके पछि आराधनालयबाट झर्दै तिनीहरू शहरतिर लागे। शमूएलले शाऊलका निम्ति कौसीमा ओछ्यान लगाए शाऊल त्यहीं सुतें।
26 भोलिपल्ट बिहानै शमूएलले शाऊललाई उठाउँदै भनें, “उठ, म तिमीलाई बाटो देखाइदिन्छु।” शाऊल उठे अनि शमूएलकासाथ घरबाट बाहिरिए।
27 शहरको किनारतिर शाऊल, तिनका नोकर र शमूएल अघि बढ्दै थिए। शमूएलले शाऊललाई भने, “तपाईंको नोकरलाई हामी भन्दा अघि हिँड्न भन्नुहोस्। मैले तपाईंलाई परमेश्वरको संदेश सुनाउन बाँकी नै छ।” नोकर तिनीहरू भन्दा केही अघि हिँड्न थाल्यो।
मानिसहरूले येशूलाई खोजे
22 अर्को दिन आई पुग्यो। कोही मानिसहरू समुद्रको अर्को किनारतिर बसेका थिए। येशू अब आफ्ना चेलाहरूसँग जानु भएन भन्ने कुरा ती मानिसहरूले थाहा पाए, तर तिनीहरू आफैं छोडीए। तिनीहरूले पनि थाहा पाए त्यहाँ एउटा मात्र डुङ्गा थियो। 23 तर तिबेरियासबाट केही डुङ्गाहरू आए। ती डुङ्गाहरू त्यही ठाँउ नजिक थामिए जहाँ परमप्रभुले परमेश्वरलाई धन्यवाद दिनु भए पछि त्यो भीडले रोटी खाएको थियो। 24 ती मानिसहरूले त्यहाँ अब न त येशू न उहाँका चेलाहरू नै देखे। यसर्थ तिनीहरू डुङ्गाहरू लिएर कफर्नहुमतिर लागे। किनभने तिनीहरू येशूलाई भेट्न चाहन्थे।
येशू जीवनको रोटी हुनुहुन्छ
25 मानिसहरूले येशूलाई समुद्र पट्टि देखे। तिनीहरूले उहाँलाइ सोधे, “रब्बि, तपाईं यहाँ कहिले आई पुग्नु भयो?”
26 उहाँले उत्तर दिनु भयो, “तिमीहरूले मलाई किन खोजिरहेछौ? के मेरो चमत्कारहरू जसले मेरो शक्तिको प्रमाण दिन्छ देखे पछि मलाई खोजिरहेकाछौ? अँहँ! म सत्य भन्छु, तिमीहरूले मलाई खोजेको कारण के हो भने तिमीहरूले रोटी खोयौ र पुरा अघायौ। 27 जुन खाद्य नष्ट हुन्छ त्यसको निम्ति काम नगर तर जुन खाद्य नष्ट हुँदैन अनि अनन्त जीवन दिन्छ त्यसको निम्ति काम गर। मानिसको पुत्रले तिमीहरूलाई त्यस्तो खाद्य दिनु हुन्छ। पिताले देखाएका छन् कि उनी मानिसका पुत्र सँग छन्।”
28 मानिसहरूले येशूलाई सोधे, “परमेश्वरले हामीबाट कस्तो प्रकारको काम चाहनु हुन्छ।”
29 येशूले उत्तर दिनुभयो, “परमेश्वरले तिमीहरूबाट कस्तो काम चाहनुहुन्छ भने तिमीहरू उहाँले पठाउनु भएको एकमाथि विश्वास गर्नु पर्छ।”
30 तब मानिसहरूले सोधे, “तपाईं परमेश्वरले पठाएको प्रमाण दिनलाई एक हो भन्ने के चमत्कार गर्नु सक्नु हुन्छ? यदि हामीले तपईंको चमत्कार देख्यौं भने तब तपाईमाथि विश्वास गर्नेछौं। तपाईं के गर्नु हुनेछ? 31 मरूभूमिमा हाम्रा पिता पुर्खाहरूले मन्न खाए। यो धर्माशास्त्रमा लेखिएको छ, ‘परमेश्वरले स्वर्गबाट रोटी खानलाई दिनुभयो।’”
32 येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्छु। मोशा तिनी एक होइनन् जसले तिमीहरूलाई स्वर्गबाट रोटी दिए। तर मेरा पिताले तिमीहरूलाई स्वर्गबाट साँच्चो रोटी दिनुहुन्छ। 33 परमेश्वरको रोटी के हो? परमेश्वरको रोटी भनेको त्यो चीज हो जुन स्वर्गबाट ओर्लेर संसारलाई जीवन दिनुहुन्छ।”
34 मानिसहरूले भने, “प्रभु, त्यो रोटी हामीलाई सधैँ दिनुहोस्।”
35 तब येशूले भन्नुभयो, “म त्यो रोटी हुँ जसले जीवन दिंदछ। जुन मानिस मेरोमा आउँदछ ऊ कहिल्यै भोको हुँदैन। जुन मानिसले ममाथि विश्वास गर्दछ ऊ कहिल्यै तिर्खाउँदैन। 36 तर मैले तिमीहरूलाई भनिसकेको छु कि यद्यपि मलाई देखेकाछौ तापनि तिमीहरूले मलाई विश्वास गर्दैनौ। 37 जुन मानिसहरू पिताले मलाई दिनुहुन्छ मकहाँ आउनेछन्। मकहाँ जो आँउछन् म कसैलाई पनि फर्काउने छुइन। 38 परमेश्वरले जे चाहनु हुन्छ त्यो काम गर्न म स्वर्गबाट आएको हुँ। मैले चाहेको काम गर्नलाई म आएको होइन। 39 मैले कसैलाई पनि गुमाउनु हुँदैन जुन परमेश्वरले मलाई दिनुभयो अनि अन्तिम दिनमा मैले तिनीहरूलाई जीवनमा उठाउनु पर्छ। उहाँ एक जसले मलाई पठाउनु भयो, उहाँको यही इच्छा हो। 40 प्रत्येक मानिस जसले परमेश्वरका पुत्रलाई चिने र विश्वास गरे तिनीहरूले अनन्त जीवन पाए। म तिनीहरूलाई अन्त्यको दिनमा जीवित पार्नेछु। यो मेरा पिता परमेश्वरको इच्छा हो।”
41 यहूदीहरूले येशूको विषयमा गुनासो प्रकट गर्न शुरू गरे। येशूले भन्नु भएको थियो, “म नै रोटी हुँ जुन स्वर्गाबाट तल आएकोछ।” 42 यहूदीहरूले भने, “यो येशू हो। हामी उहाँका बाबु-आमा चिन्दछौ। ऊ यूसुफको छोरो हो। उसले कसरी भन्न सक्छ, ‘म स्वर्गबाट ओर्लि आएको हुँ?’”
32 मरीबामा मानिसहरूले परमेश्वरलाई क्रोधित बनाए।
अनि तिनीहरूले मोशालाई अधर्म काम गर्न लगाए।
33 ती मानिसहरूले मोशालाई दुःखीत गराए।
नसोचिकन मोशा बोले।
34 परमप्रभुले अन्य जातिहरूलाई नष्ट पार्न मानिसहरूलाई आज्ञा दिनु भयो।
तर इस्राएल का मानिसहरूले उहाँको आज्ञा पालन गरेनन्।
35 तिनीहरू अरू जातिहरूसँग मिसिए,
अनि अरू जातिहरूले जे गर्दै थिए त्यही गरे।
36 ती मानिसहरू परमेश्वरका मानिसहरूका लागि एक पासो नै भए।
उहाँका भक्तजनहरूले पनि अन्य मानिसहरूले जस्तै कृत्रिम देवताहरू पूज्न थाले।
37 उहाँका भक्तजनहरूले आफ्ना नानीहरू सम्म मारे,
अनि त्यो भूतहरूलाई बलि चढाए।
38 उहाँका भक्तजनहरूले निर्दोष मानिसहरू मारे।
तिनीहरूले आफ्नै छोरा-छोरीहरू मारे
अनि ती कृत्रिम देवताहरूलाई भोग चढाए।
39 यसकारण परमेश्वरका मानिसहरू अरूजातिहरू जस्तै पापहरूले दूषित भए।
उहाँका मानिसहरू परमेश्वर प्रति आज्ञाकारी भएनन्,
अनि अरू जातिहरूले जे अधर्म सिकाए त्यही कामहरू गरे।
40 परमेश्वर आफ्ना भक्तजनहरूमा क्रोधित हुनु भयो।
उहाँ तिनीहरूसँग दिक्क हुनुभयो!
41 परमेश्वरले आफ्ना मानिसहरू अन्य जातिहरूलाई सुम्पनु भयो।
शत्रुहरूले नै उनीहरूमा राज गरोस्-भनेर उहाँले छोडी दिनुभयो।
42 उहाँका मानिसहरूका शत्रुहरूले तिनीहरूलाई नियन्त्रणमा राखे
अनि तिनीहरूको जीवन कठिन पारिदिए।
43 परमेश्वरले आफ्ना मानिसहरूलाई धेरै पल्ट बँचाइदिनु भयो।
तर तिनीहरू उहाँकै विरूद्ध उठे अनि आफ्ना इच्छा अनुसार काम गरे।
तिनीहरूले धेरै भन्दा धेरै अनुचित कामहरू गरे।
44 तर जब-जब परमेश्वरका मानिसहरूमा सङ्कट आई पर्यो,
तिनीहरूले परमेश्वरलाई सहायता माग्दथे,
अनि उहाँले प्रत्येक पल्ट तिनीहरूको प्रार्थना सुनीदिनु हुन्थ्यो।
45 परमेश्वरले आफ्ना करार सधैँ याद गर्नुहुन्थ्यो
र तिनीहरूलाई स-प्रेम सान्त्वना दिनु हुन्थ्यो।
46 अन्य जातिहरूले तिनीहरूलाई कैदीहरू जस्तो लगे
तब परमेश्वरले तिनीहरू प्रति टिठाउने बनाई दिनुभयो।
47 हे परमप्रभु, हाम्रा परमेश्वर, हाम्रो उद्धार गर्नुहोस्।
परमेश्वरले ती राष्ट्रहरूबाट फर्काई हामीलाई ल्याउनु भयो।
यसकारण हामीले उहाँको पवित्र नाउँको गुण-गान गर्न सक्यौं।
यसकारण हामीले उहाँ प्रति गुण-गान गर्न सक्यौ।
48 इस्राएल का परमप्रभु परमेश्वरको प्रशंसा गरौं।
परमेश्वर सधै रहनु हुन्छ, उहाँ सधै नै रहनुहुने छ।
अनि सारा मानिसहरूले भने, “आमेन!”
परमप्रभुको प्रशंसा गर!
34 धार्मिकताले राष्ट्रलाई महान तुल्याँउछ तर पाप भनेको सबैको लागि लज्जाजनक हो।
35 ज्ञानी सेवकले राजाको अनुग्रह पाउँदछ, तर एक जसले झमेला उत्पन्न गर्छ तिनले क्रोध पाउँछ।
© 2004, 2010 Bible League International