The Daily Audio Bible
Today's audio is from the CEB. Switch to the CEB to read along with the audio.
14 “यसकारण यो एउटा स्मरणीय दिन हुनेछ। अनि तिमीहरूको निम्ति यो एक विशेष पवित्र चाड़ हुनेछ। तिमीहरूका सन्तानहरूले सदा सर्वदा यो पवित्र चाड़लाई परमप्रभुलाई भक्ति गर्ने दिनको रूपमा मान्नु पर्छ। 15 यस चाड़मा तिमीहरूले अखमिरी रोटी सात दिनसम्म खाने छौ। यस पवित्र चाड़़को पहिलो दिन तिमीहरूले आफ्नो-आफ्नो घरबाट समस्त खमीर बाहिर निकाल्ने छौ। यो पवित्र चाड़़मा सात दिनसम्म कसैले पनि खमीर खाने छैनौ। यदि कसैले खमीर त्यस समयमा खायो भने त्यसलाई अरू इस्राएलीबाट बहिष्कृत गरिनेछ। 16 यो पवित्र चाड़को पहिलो र अन्तिम दिनमा पवित्र सभा हुनेछ। यी दिनमा तिमीहरूले केही पनि काम गर्नु हुँदैन। यी दिनमा तिमीहरूको निम्ति एउटै काम भोजन तयार गर्नु हुन्छ। 17 तिमीहरूले यो अखमिरी रोटीको पवित्र चाड़लाई सम्झना गर्नु पर्छ, कारण यही दिन मैले तिमीहरूलाई मिश्रबाट दल बनाएर बाहिर ल्याए। तिम्रा सन्तानहरू सबैमा सदा-सर्वदा यो एउटा नियम होस्। 18 यसर्थ पहिलो महिनाको चौधौं दिनको साँझ देखि तिमीहरूले खमीर बिनाको रोटी खान शुरू गर्ने छौ। तिमीहरूले खमीर बिनाको रोटी पहिलो महिनाको एक्काईसौं दिनको साँझसम्म खानेछौ। 19 सात दिनसम्म तिमीहरूका घरमा कुनै खमीर रहनु हुँदैन। कुनै पनि मानिस चाहे त्यो इस्राएली होस अथवा विदेशी यदि तिनीहरूले यस समयमा खमीर खायो भने उसलाई इस्राएलीको समुदायबाटै अलग्ग गराउनु पर्छ। 20 यी पवित्र दिनहरूमा तिनीहरू जता सुकै भए पनि खमीर भएको केही पनि खानुँ हुदैन। तिमीहरूले त्यहि खमीर बिनाको रोटी खानु पर्छ।”
21 यसर्थ मोशाले सबै बूढा-प्रधानहरूलाई बोलाए। मोशाले तिनीहरूलाई भने, “तिमीहरूका परिवारका निम्ति थुमाहरू ल्याऊ र निस्तारको निम्ति थुमाहरू मार। 22 हिसपको झुप्पा लेऊ अनि रगतले भरिएको भाँडामा डुबाऊ अनि ढोकाको चौकटकोमाथि तथा वरिपरि लगाऊ। बिहान नहुञ्जेल कसैले पनि घर छाडनु हुँदैन। 23 जब परमप्रभु मिश्रमा पहिला जन्मेको छोराहरूलाई मार्न जानुहुनेछ अनि ढोकाका फल्याक अनि खाम्बाहरूमाथि रगत पोतेको देख्नु हुनेछ। तब परमप्रभुले त्यस घरलाई रक्षा गर्नु हुनेछ। उहाँ ती ढोकाद्वारबाट जाँदा परमप्रभुले विनाशक शक्ति ती घरहरूमा पसेर नाशगर्नबाट रोक्नुहुनेछ। 24 तिमीहरूले यो आदेश याद राख्नुपर्छ। यो नियम सदा-सर्वदा तिम्रा सन्तानहरूको निम्ति हुनेछ। 25 तिमीहरू जब परमप्रभुले दिनु भएको भूमिमा जानेछौ तिमीहरूले यो चाड़ पालन गर्नुपर्छ। 26 जब तिमीहरूका नानीहरूले तिमीहरूलाई सोध्नेछन्, ‘किन हामी यो चाड़ मनाउछौं?’ 27 तब तिमीहरूले जवाफ दिनेछौ, ‘यो निस्तार चाड़ परमप्रभुको सम्मानमा मानिएको हो। नानीहरूलाई तिमीहरू भन्नेछौ, जब हामीहरू मिश्रमा थियौं, परमप्रभुले इस्राएलीको घरहरू छोडेर जानु भयो। उहाँले मिश्री मानिसहरूलाई मार्नु भयो अनि हाम्रो रक्षा गर्नुभयो।’”
यसकारण अहिले मानिसहरू उहाँलाई निहुरिएर दण्डवत गर्छन् र आराधना गर्छन्। 28 परमप्रभुले यो आदेश मोशा र हारूनलाई दिनु भएको थियो, यसर्थ इस्राएलीहरूले त्यही गरे जे परमप्रभुले आदेश दिनु भएको थियो।
29 मध्यरातमा मिश्र देशीहरूका पहिले जन्मेका सबै छोराहरू, मिश्रका शासक फिरऊनको पहिलो छोरो देखि झ्यालखानामा सजाय भोग्दै गरेको कैदीको छोरोसम्मलाई मार्नुभयो। पशुहरूमा पनि पहिले जन्मेका सबै मार्नु भयो। 30 त्यस रात मिश्रमा प्रत्येक घरको कोही न कोही मरे। फिरऊन, उसका अधिकारीहरू अनि मिश्रका सबै मानिसहरू चिच्याउँदै रोए।
इस्राएलीहरूले मिश्र छाड्छन्
31 तब त्यस राती फिरऊनले मोशा र हारूनलाई बोलाए। फिरऊनले तिनीहरूलाई भने, “तयार होऊ अनि हाम्रा मानिसहरूलाई छोडेर जाऊ। तिमी र तिम्रा मानिसहरूले त्यसै गर्न सक्छौ जो तिमी भन्छौ तिमीहरू जाऊ अनि आफ्नो परमप्रभुको आराधना गर। 32 तिमीहरूले भने झैं आफ्नो-आफ्नो भेंडा तथा गाई-वस्तुहरू लिएरै जाऊ। तिमीहरूले मलाई पनि आशीर्वाद देऊ।” 33 मिश्र देश वासीहरूले पनि भने, “तिमीहरू चाँडै गइहाल। किनभने, यदि तिमीहरू गएनौ भने हामीहरू सबै मर्न सक्छौं।”
34 इस्राएली मानिसहरू यति हतारमा थिए तिनीहरूले रोटीमा खमीर मिसाउने समय पाएनन्। यसकारण तिनीहरूले आँटा, भाँडाहरूमा आफ्नो काँधमाथि बोकेर ल्याए। 35 तब इस्राएलीका मानिसहरूले त्यही गरे जे मोशाले तिनीहरूलाई गर्नु भनेका थिए। तिनीहरूले मिश्र देशका आफ्नो छिमेकीहरूसित लुगा, अनि सुन चाँदीले बनिएको चीजहरू माँगे। 36 परमप्रभुले मिश्रका मानिसहरूलाई दयालु बनाई दिनु भयो अनि तिनीहरूले जे मांगे त्यही दिए।
37 इस्राएली मानिसहरूले रामसेसबाट, सुक्कोतसम्म यात्रा गरे। तिनीहरू लगभग 6,00,000 थिए। यस संख्यामा नानीहरूको गन्ति गरिएको थिएन। 38 तिनीहरूसित धेरै भेंडा, बाख्रा गाई-वस्तु र अरू चीजहरू थिए। तिनीहरूसित अन्य धेरै थरिका मानिसहरू यात्रा गरिरहेका थिए। 39 ती मानिसहरूसँग रोटीमा खमीर मिसाउने समय पनि थिएन अनि तिनीहरूले यात्राको निम्ति कुनै विशेष भोजन तयार पारेका थिएनन्। यसकारण तिनीहरूका साधरण खमीर बिनाको रोटी बाहेक अरू कुनै खाने कुरा थिएन।
40 इस्राएली मानिसहरू 430 बर्षसम्म मिश्रमा बसे। 41 ठीक 430 बर्षपछि परमप्रभुका समस्त सेनाहरू मिश्रबाट गए। 42 यसर्थ त्यो विशेष छ। जब परमप्रभुले गरेको मानिसहरूले सम्झने छन्। त्यो रात सबै इस्राएली मानिसहरूको हृदयमा सदा-सर्वदा रहनेछ।
43 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “यहाँ निस्तारका निम्ति विधिहरू छन् कुनै पनि विदेशीले निस्तार चाड़को भोजन खान पाउनेछैन। 44 तर यदि कुनै मानिसले कमारो किन्छ र त्यसको खतना गराइदिन्छ भने, त्यो कमरोले निस्तारको भोजन खान सक्छ। 45 तर तिमीहरूको माझमा बस्ने कुनै पनि ज्यालाका मजदूर अथवा विदेशीहरूले निस्तारको भोजन खानु हुँदैन।
46 “प्रत्येक परिवारले एउटा घर भित्र नै भोजन गर्नुपर्छ, कुनै पनि भोजन बाहिर लानु हुँदैन। थुमाको कुनै हड्डी भाँच्नु हुँदैन। 47 इस्राएलका सारा समुदायले यो चाड़ मनाउनु पर्छ। 48 यदि कोही मानिस तिमीहरूसित बसो-बासो गर्छ तर त्यो इस्राएली होइन र यो परमप्रभुको निस्तार चाड़़मा भाग लिन चाहन्छ भने उसको खतना गरिनु नै पर्छ। त्यसपछि त्यो इस्राएली नागरिक बराबर हुन्छ र उसले निस्तार भोजनमा भाग लिन सक्छ। तर यदि उसको खतना गरिएको छैन भने निस्तार भोजनमा भाग लिन सक्तैन। 49 खतना नभएको कुनै पनि मानिसहरूले परमप्रभुको भोजनमा भाग लिनु हुँदैन। यो प्रत्येक मानिसहरूको लागि यो सत्य र निष्पक्ष नियम हो त्यो देशी अथवा विदेशमा जन्मेका नागरिक होस् यो नियम प्रत्येकलाई हुनुपर्छ।”
50 यसर्थ इस्राएलका सारा मानिसहरूले परमप्रभुले मोशा र हारूनलाई दिनु भएका आदेशहरू पालन गरे। 51 यस प्रकारले परमप्रभुले इस्राएलका सबै मानिसहरूलाई मिश्र देशबाट बाहिर लिएर जानु भयो। मानिसहरू झुण्ड-झुण्डमा यात्रा गरे।
13 त्यसपछि परमप्रभुले मोशालाई भन्नु भयो, 2 “तिमीले इस्राएलमा जन्मेको प्रत्येक पहिले पुरूष शिशु मलाई दिनुपर्छ। त्यसको अर्थ हुन्छ पहिला जन्मेको प्रत्येक बालक अनि पहिला जन्मेको प्रत्येक पाठो मेरो हुनेछ।”
3 मोशाले मानिसहरूलाई भने, “यस दिनलाई सम्झना गर। तिमीहरू मिश्रमा कमारा-कमारीहरू थियौ। तर आजको दिन परमप्रभुले आफ्नो महाशक्ति प्रयोग गरी तिमीहरूलाई स्वतन्त्र पार्नुभयो। तिमीहरूले खमीर मिसाएको रोटी खानै हुँदैन। 4 आज, आबीबको महीनामा तिमीहरूले मिश्र छाड्यौ। 5 परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई विशेष वचन दिनुभएको छ। उहाँले तिमीहरूलाई कनानी, हित्ती, एमोरी, हिव्वी अनि यबूसी मानिसहरूको भूमि दिने प्रतिज्ञा गर्नु भयो। परमप्रभुले तिमीहरूलाई त्यस भूमिमा लानु हुनेछ जहाँ दूध र मह बग्छन्। यसकारण तिमीहरूले यो रीति प्रत्येक बर्ष यही महीनामा पालन गर्नुपर्छ।
6 “सात दिनसम्म तिमीहरूले अखमिरे रोटी खानुपर्छ। सातौं दिनमा तिमीहरूले ठूलो भोज गरेर मनाउँनु पर्छ अनि यस भोजले परमप्रभुप्रति सम्मान जनाउँनेछ। 7 यसर्थ सात दिनसम्म तिमीहरूले अखमिरे रोटी खानु हुँदैन। तिमीहरूको भूमिमा सात दिनसम्म खमीर हुनुहुँदैन। 8 यस दिन तिमीहरूले आफ्नो नानीहरूलाई भन्नु पर्छ, ‘हामी यो भोज खाँदैछौं किनभने आजको दिन परमप्रभुले हामीहरूलाई मिश्रबाट बाहिर ल्याउनु भएको थियो।’
9 “यस पवित्र चाड़ले तिमीहरूलाई सम्झना गराउने छ यो हातमा बाँधेको धागो आँखाअघि राखिएको चिन्ह जस्तो हुनेछ। यस पवित्र दिनले तिमीहरूलाई परमप्रभुले दिनु भएको उपदेशहरू सम्झना गराउनेछ। यसले तिमीहरूलाई त्यही दिनको सम्झना गराउँछ परमप्रभुले आफ्नो महाशक्ति प्रयोग गरेर तिमीहरूमाथि करूणा गर्नु भएको थियो। 10 यसकारण प्रत्येक बर्ष यो दिनलाई ठीकसित सम्झना गर।
11 “परमप्रभुले तिमीहरूलाई त्यस भूमिमा लैजानु हुनेछ जसलाई उहाँले तिमीहरूलाई दिनेछु भनी वचन दिनु भएको थियो। अहिले त्यस भूमिमा कनानी मानिसहरू बस्छन्। तर परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई त्यो भूमि तिमीहरूलाई दिन्छु भनी वचन दिनु भएको थियो। परमेश्वरले जब तिमीहरूलाई त्यो भूमि दिनुहुन्छ, 12 तिमीहरूले सम्झना गर्नु पर्छ। तिमीहरूले आफ्नो पहिलो छोरो अनि पहिलो उहाँलाई समर्पण गर्नुपर्छ। 13 तिमीहरूले गधा उद्धार गर्नु एउटा थुमा समर्पण गर्न सक्छौ तर यदि गधा गराउनु सकेनौ भने त्यसलाई गर्दन फुटाएर मार्नु पर्छ। तर पहिले जन्मेको छोरो तिमीहरूले परमप्रभुबाट छुट्याएर ल्याउनु पर्छ।
14 “भविष्यमा तिमीहरूका सन्तानले सोध्न सक्छन् ‘तिमीहरूले यस्तो किन गर्छौ?’ अनि तिमीहरूको उत्तर हुनेछ, ‘हामीहरू मिश्र देशमा कमारा-कमारी थियौं अनि परमप्रभुले उहाँको शक्ति प्रयोग गरी हामीलाई यहाँ ल्याउनु भयो। 15 मिश्र देशमा फिरऊनले अट्टेरी गरेर हामीलाई त्यहाँबाट बाहिर पठाउन अस्वीकार गरे। यसर्थ परमप्रभुले त्यहाँ जन्मेका प्रत्येक मानिस र पशुका पहिले जन्मेका छोराहरू तथा बच्चाहरू मारिदिनु भयो। यही कारणले मेरा प्रथम जन्मेका छोरो परमप्रभुबाट उद्धार गर्न प्रथम जन्मेको डाँगो पशु भेटी चढाँउँछु।’ 16 यो तिमीहरूको हातमा कसेको धागो जस्तै हो र यो तिमीहरूका आँखाको सामुन्ने राखेको चिन्ह जस्तो हो। यसले हामीलाई सधैँ सम्झना गर्न सहायता गर्छ कसरी परमप्रभुले उहाँको महा-शक्ति चलाएर हामीहरूलाई मिश्रबाट ल्याउनु भयो।”
दुइजना अन्धाहरू निको भए
(मर्कूस 10:46-52; लूका 18:35-43)
29 जब येशू र उहाँका चेलाहरू जोरिकोबाट जाँदै थिए, धेरै मानिसहरूले उहाँलाई पछ्याए। 30 बाटोको किनारमा दुइजना अन्धा मानिसहरू बसिरहेका थिए। ती अन्धाहरूले येशू त्यतैतिरबाट जाँदै गर्नु भएको कुरा सुने। अनि ती अन्धाहरू चिच्याए, “प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।”
31 सबै मानिसहरूले ती अन्धाहरूलाई हप्काए। तिनीहरूले ती अन्धाहरूलाई हल्ला गरेर विन्ती गर्न दिएनन्। तर ती अन्धाहरू अझ जोडले चिच्याए, “प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।”
32 येशू रोकिनु भयो र अन्धाहरूलाई बोलाएर उहाँले भन्नुभयो, “म तिनीहरूको निम्ति के गरिदिऊ भन्ने चाहन्छौ?”
33 अन्धाहरूले जवाफ दिए, “परमप्रभु हामी देख्न चाहन्छौं।”
34 येशूलाई अन्धाहरूप्रति दया जाग्यो। उहाँले ती अन्धाहरूका आँखा स्पर्श गर्नुभयो अनि तिनीहरू देख्ने सक्ने भए। त्यसपछि तिनीहरू येशूलाई पछ्याउन लागे।
येशू राजा झैं यरूशलेममा प्रवेश गर्नु भयो
(मर्कूस 11:1-11; लूका 19:28-38; यूहन्ना 12:12-19)
21 येशू र उहाँका चेलाहर यरूशलेम नजिक आईपुग्न लागेका थिए। तर तिनीहरू पहिले जैतुन-डाँडा को बेथफागेमा रोकिए। येशूले आफ्ना दुइ जना चेलाहरूलाई त्यहाँको एउटा नगरमा पठाउनु भयो। 2 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले देखेको शहरमा जाऊ। त्यहाँ प्रवेश गर्न साथ एउटा गधालाई बाँधिएको भेट्टाउने छौ। त्यो गधासँग एउटा बछेडो पनि हुनेछ। ती दुवै फुकालेर म कहाँ ल्याऊ। 3 यदि कसैले तिमीहरूलाई केही प्रश्न गरे उसलाई, ‘प्रभुलाई यी गधाहरूको आवश्यक परेको छ। उहाँले ती चाँडै फर्काइ दिनु हुनेछ भनी जवाफ दिनु।’”
4 अगमवक्ताले भनेको यो कुरा पूरा होस् भनेर यसो भएको थियो:
5 “सियोन नगरलाई भन,
‘अहिले तिमीहरूको राजा आउनु हुँदैछ।
उहाँ विनम्र हुनुहुन्छ अनि गधामा चढेर आउनु हुँदैछ।
उहाँ एउटा भारी बोक्ने बछेडोमाथि आउनु हुँदैछ,
जो काम गर्नकै खातिर जन्मेको पशु हो।’”(A)
6 चेलाहरू गए र येशूले बताउनु भए अनुसार गरे। 7 उनीहरू गधा र त्यसको बछेडालाई लिएर येशूकहाँ फर्की आए। तिनीहरूले आफ्ना वस्त्र गधालाई ओढाइदिए, अनि येशू त्यसमाथि बस्नु भयो। 8 येशू यरूशलेम तिर जाने बाटामा गधामा चढेर जानुभयो। धेरै मानिसहरूले येशूको निम्ति बाटोमा वस्त्रहरू ओछ्याइदिएका थिए। अरू मानिसहरूले रूखका हाँगाहरू काटे र बाटोमा ओछ्याई दिए। 9 केही मानिसहरू येशूको अधि-अधि हिंड्दै थिए। कोही मानिसहरू येशूको पछि-पछि हिंडदै थिए। मानिसहरू यसो भन्दै कराउन लागे,
“दाऊदको पुत्र होसन्ना!
‘प्रभुको नाउँमा आउने धन्यका हुन्!’(B)
स्वर्गको परमेश्वरको प्रशंसा गर।”
10 त्यसपछि येशू यरूशलेमभित्र प्रवेश गर्नु भयो। सम्पूर्ण शहरबासि अचम्मित भए। तिनीहरूले सोधे, “यो को हो?”
11 येशूसँगै आएका मानिसहरूले जवाफ दिए, “उनी येशू हुन्। गालील शहरको नासरतका अगमवक्ता उनी नै हुन्।”
येशू मन्दिरतर्फ जानुहुन्छ
(मर्कूस 11:15-19; लूका 19:45-48; यूहन्ना 2:13-22)
12 येशू मन्दिरतर्फ लाग्नुभयो। उहाँले किन-बेच गर्ने सबैलाई त्यहाँबाट धपाउनु भयो। अनि येशूले ढुकुर बेच्नेहरूको बेञ्चहरू पनि पल्टाई दिनु भयो। 13 येशूले त्यहाँ भएका मानिसहरूलाई भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर भनिनेछ।’(C) तर तिमीहरूले परमेश्वरको घरलाई डाकूहरूको ‘अड्डामा परिणत गरिरहेछौ।’(D)”
14 केही अन्धा र केही लङ्गडा मानिसहरू मन्दिरमा येशू कहाँ आए। येशूले ती मानिसहरूलाई निको पारिदिनु भयो। 15 मुख्य पुजाहारीहरू र शास्त्रीहरूले यो दृष्य देखे। तिनीहरूले येशूका चमत्कार कार्यहरू अनि मन्दिरमा बालकहरूले येशूलाई नै प्रशंसा गरिरहेका देखे। बालकहरू भन्दै थिए, “दाऊदका पुत्र, होसन्ना!” यसमा पूजाहरीहरू र शास्त्रीहरू क्रोधित भए।
16 मुख्य पूजाहरीहरू र शास्त्रीहरू येशूलाई सोधे, “बालकहरूले के भनिरहेका छन् तपाईंले सुन्नु भो?”
येशूले जवाफ दिनुभयो, “अवश्य। के तिमीहरूले कहिले धर्मशास्त्रहरूमा पढेका छैनौ? ‘उहाँले बालकहरूलाई स्तुति गर्न सिकाउनु भयो?’(E)”
17 त्यसपछि येशूले त्यो ठाउँलाई छोड्नुभयो र नगरदेखि बाहिर बेथानीमा जानुभयो। त्यो रात येशूले त्यहीं बिताउनु भयो।
येशूद्वारा विश्वासको शक्ति प्रदर्शन
(मर्कूस 11:12-14,20-24)
18 भोलिपल्ट बिहानै, येशू नगरतिर फर्किरहनु भएको थियो। उहाँ भोकाउनु भएको थियो। 19 उहाँले बाटोको किनारमा त्यस नेभाराको रूख देख्नु भयो। येशूले नेभाराको रूखको छेउमा गएर उहाँले केही फल खाने इच्छा गर्नुभयो। तर त्यो नेभाराको रूखमा त्यसमा खाने फल केही थिएन। त्यहाँ पातैपात मात्र थिए। अनि येशूले त्यो रूखलाई भन्नुभयो, “अब उप्रान्त तँमा फल लाग्ने छैन।” अचानक त्यो रूख ओइलायो र मर्यो।
20 चेलाहरूले त्यो देखे। तिनीहरू चकित भए। तिनीहरूले सोधो, “कसरी नेभारको रूख सुक्यो र झट्टै मरिहाल्यो?”
21 येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। यदि तिमीहरूमा विश्वास छ र त्यसमा शंका छैन भने, मैले जस्तै तिमीहरूले पनि गर्न सक्नेछौ। तिमीहरूले त्यो भन्दा धेरै गर्न सक्नेछौ। तिमीले यस पहाडलाई भन्न सक्छौ, ‘ए पहाड जा अनि समुद्रमा खस।’ यदि तिमीहरूमा विश्वास भए, तिमीहरूले भने जस्तै हुनेछ। 22 विश्वास गरेर माग्यौ भने तिमीहरूले प्रार्थनमा मागेको जुनसुकै कुरा पनि पाउनेछौ।”
16 हे परमप्रभु, म पीडित र एक्लो छु,
मपट्टि फर्केर ममाथि कृपा दर्शाउनु होस्।
17 मेरा सङ्कटहरूबाट मलाई मुक्ति दिनुहोस्।
मेरो समस्याहरू समाधान गर्न साथ दिनुहोस्।
18 हे परमप्रभु, मेरा परीक्षाहरू र सङ्कटहरूमा दृष्टि राख्नुहोस्
र मैले गरेका सबै पापहरू क्षमा गर्नुहोस्।
19 मसँग भएका मेरा शत्रुहरूमा नजर परोस्।
तिनीहरूले मलाई हेला गर्छन् र कष्ट दिन्छन्।
20 हे परमप्रभु मेरो सुरक्षा गर्नुहोस् अनि बचाउँनुहोस्।
म तपाईंमाथि भरोसा गर्छु यसर्थ मलाई निराश नपार्नुहोस्।
21 हे परमेश्वर, तपाईं साँच्चै नै ईमान्दारी र धार्मिक हुनुहुन्छ
म तपाईंमा भरोसा राख्छु यसैले मेरो रक्षा गर्नुहोस्।
22 हे परमेश्वर! इस्राएल का सम्पूर्ण मानिसहरूलाई उनीहरूका शत्रुहरूदेखि बचाउनुहोस्।
दुष्ट मानिस
12 एक दुष्ट अनि नीच मानिस जहाँ गएता पनि झूटो बोल्छ अनि 13 उसले मानिसहरूलाई छक्याउनँ आँखा झिम्क्याउँछ खुट्टा हल्लाएर तथा हातको औलाद्वारा इशारा गर्छ। 14 उसको विचार छलपूर्ण हुन्छ, उसले खराब योजनाहरू बनाउँछ, उसले सबै समयमा तर्क गर्छ। 15 तर अचानक बिपदले उसलाई आघात पार्छ, उसलाई चोट लाग्छ अनि यस चोटबाट ऊ निको हुने छैन।
© 2004, 2010 Bible League International